“थर कुन होला ?”

“बानियाँ ।”

“बानियाँ थर कुन जातमा पर्छ ?!”

“खोई, हामीले आफूलाई क्षत्री मान्छौं क्या रे ।”

“जनै लगाउनु हुन्छ ?”

“जनै त हालेकै हो, अहिले भने मेरो घाँटीमा छैन ।”

संवाद पोखराको हो । संयोवश मेरा नयाँ घरपति खाँट्टी पुरेत परेछन् । पहिलो भेटमै उनीसँग भएको संवादको अंश हो यो । पहाडी बानियाँ ‘क्षत्रीवंशी’ हो भन्ने मान्यता समाजमा स्थापित गराउन बानियाँहरूको सङ्गठन “बानियाँ बन्धु समाज” ले विगत तीन दशकदेखि निरन्तर प्रयत्न गरिरहेको छ । मेरा घरपति दाइले मसँग प्रकट गरेको जिज्ञासाले देशका सबै कुनाकन्दरामा आफ्नो सन्देश सम्प्रेषण गर्ने बानियाँ बन्धुहरूको प्रयत्न असफल भएको प्रमाणित गरिदियो भन्दा फरक नपर्ला । त्यसको अर्थ यो एक्काईसौं शताब्दीमा पनि ठूलो–सानो जात वर्णले कुनै तात्विक अर्थ राख्छ भन्ने त होइन तर “बानियाँ वंश” गौरवशाली खसवंशकै रगत हो भन्ने कुरा सबै खसवंशीहरूमा जानकारी नरहनु भने अवश्य दुःख मान्नुपर्ने विषय हो । हुन त मेरा घरपतिलाई आफू खसवंशी रहेको तथ्यको जानकारी नहुन पनि सक्छ । उनमा पनि विद्वान्् पण्डित तथा एमाले नेता मोदनाथ प्रश्रितमा जस्तै आफू “वैदिक ब्राह्मण भएको भ्रम” बाँकी होला । “आफ्नो धर्म र संस्कार छोड्नु हुँदैन” भनेर मलाई अर्ती दिँदै गर्दा उनी आफैंंले धारण गरेको धर्म–संस्कार उनको मौलिक होइन, त्यो त आयातित, सापटी लिइएको र नक्कल गरिएको वैदिक संस्कार हो भन्ने वास्तविकताको ज्ञान थिएन होला, बिचरा !

मेरा घरपतिलाई धेरथोर संस्कृत श्लोकहरू कण्ठस्थ रहेछन् । आफ्नो धर्म–संस्कारको महिमा मण्डन गर्ने सिलसिलामा “……….परधर्म भयावहः” भन्ने गीतावचन सुनाइरहँदा बिचरोलाई परचक्री धर्म–संस्कारको पक्षपोषण गर्दैछु भन्ने कुराको भेउ थिएन । त्यो उनको गल्ती पनि थिएन । गल्ती थियो भने आफ्नो मौलिकतालाई लत्याएर अर्कैको धर्म, संस्कार र परम्परा अपनाउने उनका पुर्खाहरूको गल्ती थियो । खस र वैदिक आर्यबीचको जातिगत, नस्लगत र संस्कारगत पृथकता बिर्सेर अर्काको धर्म र संस्कार निःशर्त अवलम्बन गर्ने अनि आफूलाई सभ्य र सुसंस्कारीत भएको ठान्ने पुर्खाहरूको गल्ती थियो । वास्तविकताको जानकारी राख्ने तर आग्रहवश मुख नखोल्ने विद्वान्, पण्डित र गुरुहरूको गल्ती थियो । सिङ्गोे जातिले इतिहासमा गरेको भयङ्कर भूल थियो ।

चन्द्रप्रकाश बानियाँ

खस जाति प्रकृतिपूजक समुदाय हो । ब्रह्मा, विष्णु, महेश्वर, देवीलगायत तेत्तीसकोटी देवता खस जातिका आफ्ना होइनन् । ती विजातीय हुन् । मातृशक्ति र पितृशक्तिलाई सृष्टिको कारक मान्दै आएको खस जातिले अरूको सङ्गतमा परेर विभिन्न देवीदेवता मान्न थालेको हो । देवीमाता र मष्टलाई “देवता” मान्ने मौलिक खस परम्परा हो । प्रारम्भमा खस जातिले सृष्टिकर्ताको रूपमा प्रकृति र पुरुष तङ्खवलाई मान्थ्यो होला । मष्टलाई पितृशक्ति र देवीलाई मातृशक्तिको रूपमा मान्ने खस जातिको मौलिक र वैज्ञानिक परम्परा रहेको थियो होला । यतिबेला मस्जिद र चर्च देखेर तर्सने मेरा घरपतिका पुर्खाहरू ब्रह्मा, विष्णु, महेश्वरका मन्दिर र मूर्तिहरू देखेर उसैगरी तर्सन्थे भन्ने कुराको जानकारी नभएरै आफ्नो धर्म, संस्कार, रीतिरिवाज छोड्न हुँदैन भनेर अर्ती दिन अघि सरेका हुनन् बिचरा !

नढाँटीकन भन्नुपर्दा जीवनको सन्ध्याकालमा आइपुग्दा जनै लगाउने र गायत्री जप्ने कुराप्रति आस्था र रुचि दुवै बाँकी रहेन । तैपनि हरेक ऋषितर्पणीका दिन नाडीमा मन्त्रपुत रक्षाबन्धन र घाँटीमा एकथान जनै बाँधिन भने छोडिएको छैन भन्दा फरक पर्दैन । सधैं त्यस्तो त हुँदैन तैपनि सम्पूर्णरूपमा टुटिसक्यो भन्नु बढ्तै हुन्छ । मन्दिर गइँदैन र पनि कुनै धर्मभीरु आफन्तले प्रसाद भनेर दिएको लड्डु लुड्याइन्छ र निधारमा टीका लगाइदिन खोजे इन्कार गरिँदैन । हो, जनैलाई पनि अबीरको टीका जस्तै ठानिन्छ । जनै र जनैसँग जोडिएर आउने गायत्री दुवै महङ्खवहीन लाग्छन् । जनै भिर्नु र गायत्री मन्त्र जप्नुको कुनै औचित्य देख्दिनँ । गायत्री वास्तवमा सङ्कल्प हो, प्रार्थना हो । अवश्य, मानव स्वास्थ्यका लागि योग र साधना उपयोगी हुन्छ । “ध्यान” पनि योगको एउटा विधा हो । हो त्यही ध्यानमा लाग्ने सङ्कल्प नै गायत्री मन्त्र हो । एकाग्रता प्राप्त होस् भन्ने मनोकामना हो । ध्यान सफल होस् भन्ने प्रार्थना हो । ध्यानको अभ्यास गर्नु स्वास्थ्यको लागि राम्रो होला तर गायत्री जप्नुको कुनै अर्थ छ जस्तो लाग्दैन ।

मेरो व्रतमन (व्रतबन्ध) संस्कार १७ वर्षको उमेरमा गरिएको हो । पढलेखको नाममा भर्खर एसएलसी गरिएको थियो । संस्कार, धर्म, मन्त्र, जनै आदिको बारेमा कुनै जानकारी थिएन । गुरुले सिकाइदिएको मन्त्र कण्ठस्थ गरियो । गुरुले भनेबमोजिम नाकको टुप्पो छोएर, टुपी समातेर, जनैलाई हातका औंलामा बेरेर गायत्री जपको अनुष्ठान र अभ्यास पनि गरेकै हो । पछि विस्तारै त्यो बानी छुट्यो । खास गरेर, पढाइ सकेर माष्टरी गर्न थालेपछि, टाइमपासकै लागि घरमा भएका (पिताजीले सङ्कलन गरेका) धार्मिक पुस्तकहरू पढ्न थालियो । किताबहरू पढ्दै जाँदा नयाँ नयाँ तथ्यहरू खुल्दै गए । धर्मग्रन्थहरूको अध्ययनमा रुचि बढेको थियो तर संस्कृत पढलेख गर्न जानिदैनथ्यो । त्यसैले वनारसबाट भाषाटीका सहितको वेदका पुस्तकहरू मगाएर हेरियो ।

नवप्रकाशित कृति भाैज्याहा

वेद पढ्न थालेपछि गायत्री मन्त्रको वास्तविकता खुल्यो । गायत्री मन्त्रका द्रष्टा (रचयिता) राजर्षि विश्वामित्र रहेछन् । मैले पनि गायत्रीको नाममा मन्त्र जप्दै आएको थिएँ । दैनिक मन्त्र जप नगर्ने हो भने बाबाको खप्की खानुपर्ने डरले मन्त्र जापले निरन्तरता पाएको थियो । मैले जप्ने गरेको र मेरा गुरुले गायत्री भनेर सिकाएको मन्त्र वास्तवमा गायत्री होइन रहेछ । त्यो त नक्कली पो परेछ । उसै पनि करकाप र डरत्रासमा परेर जप्ने गरेको मन्त्र त्यही पनि नक्कली हो भन्ने जानकारी प्राप्त भएपछि स्वभावतः मन्त्रप्रति वितृष्णा उब्जनु स्वाभाविक भयो । अर्थात्् नक्कली भन्ने जान्दाको दिनदेखि गायत्री जपको नौटङ्की समाप्त गरियो । बाबाको तर्फबाट उठ्न सक्ने किन भन्ने प्रश्नको जवाफ आफूसँग भएपछि डर स्वतः भागेको थियो । नियतवश हो कि आफैंंले नजानेर हो कुन्नि, मेरा गुरुले मलाई नक्कली गायत्री सिकाएका रहेछन् ।

जब असली गायत्री मन्त्र फेला पारियो र भाष्यको सहारामा त्यसको अर्थबोध भयो । त्यतिबेला गायत्री जापको औचित्य देखिएन । जतिञ्ज्याल लाजगाज र डरकरमै गायत्री जपियो । गायत्रीको अर्थ बुझिएन । जब गायत्री मन्त्रको अर्थबोध भयो नियमित जापको औचित्य देखिएन । अर्थात् जिन्दगीमा एकै दिन पनि गायत्री जपिएनछ । किनकि गायत्री भनेर जे जपियो त्यो गायत्री थिएन । जुन गायत्री थियो त्यसको अर्थबोधले मन्त्र जापको औचित्य सिद्ध गर्न सकेन । असली गायत्री फेला पार्न झण्डै आधा दशक खर्च भएछ । बरु त्यो आधा दशकको मन्त्र जापको नौटङ्कीमा बितेको समय व्यर्थ खेर फालियो जस्तो लाग्छ । थकथकी लाग्छ । समय फेरिएको छ । अब गायत्री मन्त्र उ जमानाको जस्तो रहस्यको विषय रहेन । आजकाल गायत्री मन्त्र खोज्न मैले झैं वेद पल्टाइरहन पर्दैन । रेडियो, टिभी आदिमा त्यही मन्त्र बिहान–बेलुकै गुञ्जन्छ । मोबाइलको रिङटोनमा मात्रै होइन डोरबेल र कलबेलमा पनि गायत्री मन्त्र सुन्न पाइन्छ ।

“ॐ भूः भूवः स्वः तत्सवितुर देवस्य वरेण्यं भगोः धीमहिः याः न धियः प्रचोदयात् ।”

यो मन्त्रलाई यसरी पनि गाउने चलन छः–

(ॐ भूः भूवः स्वः, तत्सवितुर वरेण्यं, भगोः देवस्य धीमहिः, याः न धियः प्रचोदयात् ।)

राजर्षि विश्वामित्रले रचना गरेको गायत्री मन्त्र यही हो । अर्थात् सक्कली गायत्री हो यो । मलाई जस्तै तपाईंहरूका गुरुहरूले नक्कली मन्त्र दिनुभएको हुनसक्छ । यदि त्यसो हो भने तपाईंले जप्ने गायत्री पनि फरक होला । मन्त्र दान गर्ने अधिकार ब्राह्मणलाई मात्र छ भनिएको छ । अर्थात् सबै वर्ण–जातका साझा गायत्रीदाता ब्राह्मण नै मानिन्छन् । आजका मितिसम्म हाम्रो घरगाउँतिर क्षत्रीहरूलाई दिइने मन्त्रसँग गायत्रीको गोरु बेचेको सम्बन्ध रहँदैन । अरूको कुरा मैले जान्दिनँ, कमसेकम मेरा तीन चार पुस्ताले गायत्रीको नाममा गलत र अशुद्ध मन्त्रको जप गर्दै आएको थियो ।

मैले आफूले पाएको मन्त्र गलत भएको ठम्याएपछि “मैले त बिर्सेछु” भन्ने निहुँमा मेरा बाबाले जप्ने गरेको गायत्री मागेको थिएँ । त्यो पनि गलत थियो । दाजुहरूले जप्ने गायत्री पनि गलत थियो । वास्तवमा गायत्री छँदै थिएन त्यो । त्यतिबेला गायत्री होइन भनेर पोल खोल्नु पर्ने आवश्यकता मैले देखिनँ । गायत्री मन्त्र जापको महङ्खवको भ्रमबाट म मुक्त भइसकेको थिएँ । शुद्ध होस् कि अशुद्ध गायत्री जप्नुको कुनै तात्विक महङ्खव छैन भन्ने जानकारी भइसकेपछि बाबाको गायत्रीको शुद्धीकरण गर्नुको पनि कुनै औचित्य थिएन । बाबाले जेलाई गायत्री ठानेर जप्दै आउनुभएको थियो त्यसप्रति अपार आस्था र विश्वास थियो । बाबाको आस्था र विश्वास भत्काउनुको कुनै अर्थ थिएन ।

गायत्री भनेको वेदका ऋचामा प्रयुक्त भएको एउटा छन्द हो । ऋग्वेदमा मात्र गायत्री छन्दमा रचिएका २४५० मन्त्रहरू परेका छन् । तिनीहरूमध्येको एउटा परम्परादेखि सावित्री मन्त्रका नामले जपिने मन्त्र हो– गायत्री । गायत्री मन्त्र जपको महिमा मण्डन मनुस्मृति, पराशरस्मृति लगायत अनेक ग्रन्थहरूमा भएकोे भेटिन्छ । मनुस्मृति दोस्रो अध्यायको ७७ देखि १०४ सम्म गायत्रीको गुणगान गरिएको छ । सोही अध्यायको ८२ औं श्लोक यस्तो छः

योऽधीतेऽहन्यहन्येतांस्त्रीणि वर्षण्यतन्द्रितः ।
स ब्रह्म परमभ्येति वायुभूतः खमूर्तिमान् ।।

अर्थात् तीन वर्षसम्म साँझ बिहान गायत्री मन्त्र जप्नाले मानिसलाई ब्रह्म प्राप्त हुन्छ र वायुसमान आकाश मार्गमा विचरण गर्न सक्तछ ।
आकाशमा उड्न सक्ने शक्ति गायत्री मन्त्रबाट प्राप्त हुने भइदिएका भए विमानहरूको आविष्कार गर्नुपर्ने आवश्यकतै पर्दैनथ्यो ।

विभिन्न विद्वान्हरू गरेको गायत्री मन्त्रको भाष्यमा विविधता देखिन्छ । गायत्री मन्त्रमा प्रयोग भएका शब्दहरू वेदभाषाका हुन् भनिन्छ । त्यसैले जसरी अन्य वेदका ऋचाहरूको विविध भाष्यमा समानता रहँदैन त्यसैगरी गायत्रीको शब्दार्थ र भावार्थ पनि विद्वानैपिच्छे फरक फरक रहन्छ । तल दिइएको परिभाषा भगवान् ओशो अर्थात्् आचार्य रजनिशको हो ।

परमात्मा परमेश्वर (ॐ), प्राणप्रिय (भूः), दुःख नाशक (भूवः), सुखरूप (स्वः), सृष्टिकर्ता (तत्सवितुर), दिव्यगुणयुक्त (देवस्य), जस्को एक झलक सवभन्दा प्यारो छ (वरेण्यं भगो), ध्यान गरौं (धीमहिः) । उही परमात्माले (याः) ध्यानगर्ने क्षमता बढाई दिउन् (न धियोः प्रचोदयात्) ।

वास्तवमा असली गायत्री मन्त्र यही हो । गायत्रीको अर्थ पनि यही हो । गायत्री मन्त्रको आशय मानिसहरूलाई योग तथा साधनातिर प्रवृत्त गराउने रहेको देखिन्छ । अवश्य, योग मानव स्वाथ्यका लागि हितकारी छ । तर मन्त्र जपेर योगको उद्देश्य प्राप्ति हुन सक्दैन । योग अभ्यास गर्ने कुरा हो । मन्त्र जप्नु योग साधना होइन । न त योग भनेको रामदेव ढाँचाको कसरत मात्र हो । योग गुरु महामुनि पतञ्जलीले आफ्नो पुस्तक योगदर्शनम्को प्रथम समाधिपादको दोस्रो सूत्रमा “योगश्चित्तवृत्तिनिरोधः” भनेका छन् । आशय बुझ्दा जनै साँक्षी राखेर जप्नुपर्ने विषय गायत्री हो भन्न मिल्दैन । जीवनमा योग अपनाउनु होस् । व्यवहारमा योगविधि अवलम्बन गर्नुहोस् । अवश्य लाभ होला । तर बिहान बेलुका एकाध पटक वा हजारौं पटक गायत्रीको जप गर्नुको कुनै अर्थ छैन । त्यसैले गायत्री जप्न छोडेको आफूले त उहिल्यै हो ।

(बानियाँकाे नयाँ कृति ‘भाैज्याहा’ शिखा बुक्सले बजारमा ल्याएकाे छ । यसअघि मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास महारानी पनि शिखा बुक्सले नै प्रकाशन गरेकाे थियो ।)