‘नेपालका सम्पदाको महत्व कति भव्य रहेछ भन्ने यथार्थले मेरा आँखा खुलेका छन् ।’ झन्डै डेढ दसकपछि भेट भएका बालसखा एक प्रसंगमा भन्दै थिए, ‘जुन दिन एक पर्यटकले चाँगुनारायण मन्दिर मात्र पाउने हो भने त्यो बराबर काठमाडौं उपत्यका जस्तै र जत्रै अर्को सहर बसाउने खर्च गर्न तयार छौं भने, त्यस दिन पो सम्पदाको महत्व बुझें ।’ एसएलसीपछि छुटेका हामी पहिलोपटक भेटिनुभित्र म नेपालका सम्पदाको गहन मूल्य बुझ्ने अवसरमा थिएँ । उसले भन्यो, ‘पर्यटकलाई घुमाउँदा प्राकृतिक दृष्टिले नेपाल सुन्दर र लोभलाग्दो छ भन्ने त पहिल्यै बुझेको थिएँ तर यत्तिका वर्ष उपत्यकाका सम्पदाहरूको व्याख्या गर्दा पहिलोपटक गतवर्ष झसंग भएँ ।’ संस्कृति र सम्पदामा चासो दिने मेरा लागि पनि ‘ब्रेकिङ न्यूज’ पाए झैं भयो । गम्भीर भएर मुलुकभरका मूर्त र अमूर्त सम्पदाको मनमनै भ्रमण र अवलोकन गरें, हो हामी नेपाल र नेपाली आफूसँग भएका सम्पत्ति नचिनेरै गरिब भएका रहेछौं ।

विदेशीले देखेको मूल्य त नेपालीले देखेका छौं छैनौं यसै भन्न सक्दिनँ । तर सम्पदाहरूको आवश्यक संरक्षण र सम्वद्र्धन गर्न नसकेरै हामी लथालिंग बनेका छौं । यदि विकसित देशको जस्तो जे जति छन् ती सबै सम्पदा र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गरी आवश्यक प्रचार प्रसार मात्र गर्ने हो भने विश्वका पर्यटकको ध्यान नेपालमा हुनेछ । नेपालले आफ्नो परिचय खोज्न कतै जानै पर्दैन । यस्तै परिवेशमा पाशुपत क्षेत्रका अमूल्य मूर्त र अमूर्त सम्पदाहरूको अनुसन्धान र अभिलेखीकरण गर्ने काम भएको छ, पशुपति क्षेत्र विकास कोषबाट । सात सय पृष्ठको ऐतिहासिक ग्रन्थको नाम हो, ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ । ग्रन्थमा डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापा प्रधान सम्पादक छन् भने कार्यकारी सम्पादकको भूमिकामा प्रा. डा. सोमप्रसाद खतिवडा र गोेपीकृष्ण ढुंगाना छन् ।

कार्यक्षेत्र र आम्दानीका दृष्टिले सम्पदा र संस्कृतिको क्षेत्र रुखोसुखो हो । त्यसैले पनि दक्ष जनशक्तिको अभाव छ, अर्थ मात्र होइन इच्छाशक्तिको पनि अभाव प्रष्ट देखिन्छ । यसैले पनि नेपालका संस्कृति र सम्पदा हराउँदै र नासिँदै जान थालेका छन् । नेपाली पूर्खाले बनाएका र संरक्षण गरेर हामीलाई हस्तान्तरण गरेका सम्पदा र संस्कृति जोगाउन असमर्थ बनिसकेका छौं । कम्तिमा कोषले अनुसन्धानात्मक यो ग्रन्थमा पाशुपत क्षेत्रमा रहेका सम्पदाको अभिलेखीकरण गर्ने काम गरेर आफूलाई उदाहरणीय बनाएको छ । सरकार र नागरिकको सम्पत्ति संरक्षण गरेको छ । अझ भन्ने हो भने नेपालको परिचय इतिहासमा उतारेको छ । कोषले के भनूँ, यो त पदाधिकारी र विज्ञको इच्छा र जाँगरले सम्भव भएको हो । ढकाल, थापा, खतिवडा र ढुंगाना धन्यवादका विशेष पात्र हुन् । अनुसन्धान अझ गहन कार्य हो । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागका प्राध्यापक र डाक्टरहरू जो यसमा खटिए उनलाई पनि धन्यवाद ।

कमला अत्री

वर्षौं लगाएर बनेका सम्पदा हाम्रा सम्पत्ति बनेका छन् । संस्कृति, सम्पदा र जात्रा अनि चाडपर्व जोगाउनु नागरिकको जिम्मेवारी हो । सबैले आआफ्नो ढंगले जोगाउन सकिन्छ, तिनैमध्येको एक हो अभिलेखीकरण अर्थात् पुस्तक प्रकाशन । विदेशी नागरिकले बुझेका छन्, नेपालका सम्पदा र संस्कृतिको महत्व । तर उनीहरू कुन सम्पदाको के महत्व हो र यसको इतिहास के हो ? अनभिज्ञ होलान् त्यसैले अभिलेखीकरणको जरुरी छ । यसको अवलोकन भ्रमण र अध्ययन अनुसन्धानका लागि पाशुपत क्षेत्रले वर्षेनी लाखौं पर्यटक तान्नेमा दुई मत छैन । तर कोष (सरकार) ले पशुपतिनाथको ब्रान्डलाई विश्वभर फैलाउन सक्नुपर्छ । किनकि पूर्वीय दर्शन र सभ्यताको एउटा महत्वपूर्ण हिस्सा हो पाशुपत क्षेत्र । पशुपतिनाथ मन्दिर जसलाई नेपालकै परिचायक मानिन्छ । विश्वमा नेपाल चिनाउने एउटा बिम्ब हो पशुपतिनाथ । ग्रन्थले पाशुपत क्षेत्र घुमाउने छ, त्यहाँका मूर्त र अमूर्त सम्पदाबारे बुझाउने छ । अनुसन्धानका लागि सयौं वर्षसम्मलाई सहयोगी हुनेछ ।

ग्रन्थलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा मूर्त र अमूर्त सम्पदाहरूको परिचय र पाशुपत क्षेत्रको भौगोलिक विवरण छ । दोस्रो खण्डमा मूर्त सांस्कृतिक सम्पदा र तेस्रोमा अमूर्त सांस्कृतिक सम्पदा समेटिएको छ । खण्ड एकमा प्रा.डा. वीणा पौडेल र प्रा.डा. कृष्ण पौडेल, खण्ड दुईमा निर्मला पोख्रेल र खण्ड तीनमा डा. सन्ध्या खनालको खोज÷अनुसन्धान छ । मूर्त सांस्कृतिक सम्पदामा पशुपतिनाथ मन्दिर, पशुपतिनाथ मन्दिर प्रांगणका कलाकृति, कोटिलिंगेश्वर प्रांगण, आगमघर प्रांगण, नासननी र आसपासका क्षेत्र, बद्रीनाथ मन्दिर, रुद्रागारेश्वर, शंकराचार्य मन्दिर र मठ क्षेत्र, भकुनटोल क्षेत्र, कैलाश क्षेत्र र गौरीघाट, सूर्यघाट, आर्यघाट, वत्सलेश्वरी, भष्मेश्वर, राजराजेश्वरी, पञ्चदेवल, वनकाली, तिलगंगा र पिंगलास्थान, भुवनेश्वरी मन्दिर, दथुटोल, पाँचुटोल र इँटापाखा क्षेत्र, जयवागीश्वरी मन्दिर, नवालीटोल, सिफल र चाबहिल क्षेत्र, मृगस्थली, गुह्येश्वरी क्षेत्र र विविध कलाकृतिका बारेमा खोज गरिएको छ ।

यस्तै, अमूर्त सांस्कृतिक सम्पदामा पशुपतिनाथको पूजापरम्परा, पाशुपत क्षेत्रका चाडपर्व र पर्वपूजाहरू, यस क्षेत्रका जात्रापर्वहरू, पशुपतिनाथको परिक्रमा, वासुकिनाथको नित्य र पर्वपूजा, पशुपति भेगका घाट, घाटे वैद्य र अन्तेष्टि क्रिया, पाशुपत क्षेत्रका गुठीहरू, गुह्येश्वरीको नित्य र पर्वपूजा, गोरखनाथ मन्दिरको नित्य र पर्वपूजा, अन्य देवीदेवताकाको नित्य र पर्वपूजा, मूर्त कलाका अमूर्त सांस्कृतिक पक्ष, पूजाआजामा बजाइने बाजाहरू, मठ अखडा र आश्रम, र परम्परागत रैरकमीहरूबारे लेखिएको छ । डा. दिनेशचन्द्र रेग्मीको पाशुपत क्षेत्रका अभिलेखहरू शीर्षकमा परिशिष्ट छ । मूर्त र अमूर्त सम्पदा मानव संस्कृतिका महत्वपूर्ण दुई पक्ष हुन्, दुवै एकअर्काका पूरक मानिन्छन् । क्रमशः भौतिक र अभौतिक यी सम्पदाको संरक्षणले नेपालको अस्तित्व र परिचय बोकेको छ ।

पाशुपत क्षेत्र भनेको मूर्त र अमूर्त सम्पदाको अथाह भण्डार हो । ढकाल र थापाले ग्रन्थमा मूर्त र अमूर्त संस्कृतिको अध्ययन अनुसन्धान गरी अभिलेखीकरण गर्न अति आवश्यक भएको र लोप भएका अनि हुन लागेकासमेत सम्पूर्ण पक्ष समेटेर ग्रन्थ प्रकाशन गरेको भूमिकामा उल्लेख गरेका छन् । सचिव ढकाल र कोषको प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजकसमेत रहेका थापाले सम्पादकीयमा लेखेका छन्, ‘पाशुपत क्षेत्र नै नेपाली इतिहास र धर्मसंस्कृतिको मूल केन्द्रका रूपमा रह्यो । यो क्षेत्र युगौंयुगको नेपाली कला, धर्म, संस्कृति र अन्य सम्पदा प्रत्यक्ष र परोक्ष रूपमा जीवित छन् ।’ कोषले स्थापनाको चार दसकपछि अनुसन्धान गराएर पाशुपत क्षेत्रका सम्पदाबारे प्रकाशन गरेको ग्रन्थ यो नै पहिलो हो । महत्वपूर्ण मूर्त सम्पदाका तस्वीर रंगीन पृष्ठमा राखेकाले ग्रन्थले उचाइ पाएको छ ।

ग्रन्थमा समेटिएका शीर्षक र उपशीर्षकले लगभग खुराक दिएकै छन् । कहीकतै भने केही अधुरो लाग्छ । पूर्णताको खोजी गर्ने ठाउँ नराखिदिएको भए अनुसन्धाताले थप प्रसंशा पाउने थिए । हुनत, अध्ययन र अनुसन्धानको भोक जगाउन सफल भएको छ भनेर बुझे पनि हुन्छ । एउटै अध्ययन अनुसन्धान काफी हुँदैन, क्रमशः संस्करणहरूमा थप्दै र अनावश्यक भाग झिक्दै जानुपर्छ भन्ने पनि हो । ग्रन्थमा जेजति शीर्षकमा जेजति र जसरी अनुसन्धान गरिएको पाइन्छ, त्यसलाई पूर्णता दिएको भए अब गरिने अनुसन्धानमा ती सबै पाटा समेटिन्थे भन्ने चाहिँ पाठकलाई लाग्छ नै । पुराना ग्रन्थ अध्ययन गरिसकेका पाठकले भने पाशुपत क्षेत्रका सबै सम्पदालाई अनुसन्धानले समेट्न सकेन भन्ने लाग्छ नै । कोषले ग्रन्थ प्रकाशनमा भने गुणस्तरीय काम गरेको देखिन्छ । तब ग्रन्थ सुनमा सुगन्ध हुने थियो, जब त्यसमा प्रयोग गरिएका सम्पदाका तस्वीर व्यावसायिक फोटोग्राफरले खिचेको हुन्थ्यो । भाषिक पक्षमा खासै खोट लगाइहाल्ने देखिँदैन तर पनि ठाउँठाउँमा शुद्धाशुद्धि बिग्रिँदा सामान्य पाठकलाई होइन, भाषाकै विद्धान्लाई खड्किन सक्छ । सार्वजनिक गर्न नमिल्ने तस्वीरलाई स्केच बनाएर ग्रन्थमा राख्दा ग्रन्थ गहकिलो भएको छ ।