संस्कृति, साहित्य, भाषा र माटो जानेर–नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौँ मुटुमा समर्पण गरिएको शीतल गिरीको जीवाश्म ओरिएन्टल पब्लिेकेशसन, काठमाडौँले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आँकलन गर्न सकिन्छ र कृतिको उद्देश्य बुझ्न सकिन्छ ।
आख्यानको तुलनामा निबन्ध बढी स्वतन्त्र हुन्छ । आख्यानमा केही बन्धन कसिला हुन्छन् तर निबन्धमा स्वच्छन्दता बढी हुन्छ । निबन्धमा हुने आख्यानात्मकता र आख्यानमा हुने निबन्धात्मकतामा भिन्नता हुन्छ । यसकारण कतिपय अवस्थामा निबन्धात्मक तत्व भएको आख्यान र आख्यानात्मक तत्व भएको निबन्ध कहिलेकाहीँ निकटको जस्तो भएर पनि निकट हुन सकेको हुँदैन । आखिरमा निबन्धको आयाम वृद्धि हुँदै जाँदा आख्यानकै स्वरुप ग्रहण गर्ने हुन्छ । यसकारण पनि लघु आयामका कतिपय आख्यान र निबन्धमा कहिलेकाहीँ असमञ्जयस उत्पन्न हुन्छ ।
राष्ट्रियताको दृष्टिकोणले पनि जीवाश्म महत्वपूर्ण कृति हो । यस करिब सम्पूर्ण निबन्धले ऐतिहासिक विषयवस्तुमा भौगोलिक राष्ट्रियतालाई वर्णन गरेका छन् । वर्तमानमा भूगोलसित राष्ट्रियता अत्यधिक घुलमिल देखिएको विश्व परिदृश्यको आलोकमा यो कृति निकै चहकिलो देखिन्छ । गर्विलो, दर्विलो प्रागऐतिहासिक विषयवस्तुमा माटोको सुगन्ध पाइनु यस कृतिको विशेषता बनेको छ । इतिहासलाई पनि कतै आख्यान र कतै निबन्ध तथा कतै दुवैको स्वादमा प्रस्तुत गरेर गिरीले तथ्य र तर्कको मिश्रणमात्र गरेका छैनन्, अनुमानको पनि सही निकास दिएका छन् । कृतिको तौल निबन्धहरुको निष्कर्षले बढाएका छन् ।
अधिकांश निबन्ध काठमाडौं केन्द्रित ऐतिहासिक तथा पुरातात्विक विषयवस्तुमा आधारित छन् । काठमाडौँ उपत्यकाको सम्भवतः पहिलो बासिन्दा भेडापाल हुन् । उनीहरुको आफ्नै विशिष्ट संरचना र जीवनशैली थियो । भारतको विभिन्न ठाउँसम्म समृद्ध व्यापार थियो, आफ्नै संगठन थियो र संस्कृति थियो । महिषपाल शासकको विषयमा त नेपालको औपचारिक इतिहासले पनि धेरै कुरा भनेको छ । यद्यपि महिषपाल शासनको धेरै पक्षमाथि अझै प्रकाश पर्न बाँकी नै छ, तर पनि यस वंशको बारेमा कतिपय कुरा ज्ञात हुन्छ । काठमाडौँ उपत्यकामा भेडापालभन्दा उन्नत र धेरै संख्यामा महिषपालको प्रवेशले पुरानो जाति नयाँमा समाहित भयो भनिएको छ । यी दुवै जाति गणप्रधान र गणको प्रमुख महिला हुने किसिमका थिए ।
विक्रमको ४५६० वर्ष पूर्वताका उपत्यका आसपास माछामार जातिको आगमन भएको मानिएको छ । साँगाबाट सिन्धुली, रामेछाप आदि ठाउँतिर माछामारहरु लागे । यिनीहरु उपत्यका छेउछाउमा बाक्लै संख्यामा रहेका थिए । कीर्तिपुर भेगमा रहेको मत्स्यगाउँभन्दा बाहेक अहिले कुनै प्रमाण छैन । यसो भन्नुको तात्पर्य यो पनि हो कि मत्स्यगाउँ माछामार जातिले बसालेको गाउँ हो जसले आज उनीहरुको परिचय खोजिरहेको छ ।
उपत्यकामा गोपालहरुको पनि लामो समय शासन चलेको पाइन्छ । गोपालहरुको ठूलो समूहले यस क्षेत्रको वातावरणमा गरेको सिंचाइले उनीहरुलाई इतिहासको अमर पात्र बनाइदिएको छ । तथागतको उपत्यका आगमनपछि नै बौद्धधर्मको प्रचार भएको हो ? तथागत र उनको धार्मिक यात्रा उनको जीवनमा व्यापक विस्तार भइसकेको थियो । अनेकन अनुयायीहरु थिए । विरुपाक्षलाई नेपाल उपत्यकाको प्रथम उपासक भनिएको छ । कलिंगको युद्धपछि सम्राट अशोकमा आएको परिवर्तनको कथा इतिहासमात्र होइन । यसको महत्व अनेक कोणबाट केलाइएको पाइन्छ । सम्राट अशोकले आफ्नो राज्य परित्याग गरे । भिक्षु बने । सिद्धार्थ गौतम युवराज भएर राज्यत्याग गरेका थिए र अशोक चाहिँ सम्राट भएर बुद्धपथगामी भएका थिए । उनी काठमाडौँ आउँदा छोरी चारुमतीलाई पनि लिएर आएका थिए । नेपालको इतिहासमा पनि सम्राट अशोकको नाम श्रद्धाले लिइन्छ । चारुमतीले बसोबास गरेको क्षेत्र अचेलको चावहिल (चावेल) हो भन्दै एउटा सुन्दर चित्रण गरिएको छ यस विषयवस्तुलाई ।
भौगोलिक परिवेश पटना (पाटलीपुत्र)को भए पनि सन्दर्भ नेपाल र नेपालीको छ । त्यहाँको अशोक वाटिकामा लाग्ने हाटमा नेपाली सामानको ठाँट आफ्नै हुन्छ । र त सम्राट चन्द्रगुप्त मौर्यले मुक्तकण्ठले सामानको प्रशंसा गर्दछन् र नेपालीको इमानदारीपनको आफैँले बखान गर्दछन् ।
सधैँ बहस र चर्चामा आइरहने नेपालको राष्ट्रिय सम्वत् विक्रम सम्वत् हो । कतिपयले यसलाई नेपालको मौलिक सम्वत् मानेका छन् त कपियले बाहिरबाट आएको ठानेका छन् । जीवाश्मले नेपालकै सम्वत् रहेको किटान गरेको छ । पुनर्जन्मा र प्रतिभा पढेपछि याज्ञवल्क्यप्रति पहिलेको धारणा नै बदलिन्छ । पुनर्जन्माको प्रतिभाको विषयमा यसले धेरै कुरा खोलेको छ । जनकको सभामा पनि कहिलेकाहीँ अन्याय हुन्थ्यो भन्ने भाव यसले दिएको छ ।
आभीरलाई मुलतः ग्वाला जाति भनिएको छ । समयक्रममा आभीरहरु पहाडका विभिन्न ठाउँमा विभिन्न थरले चिनिएको आभीर निबन्धले मानेको छ । मातृभक्त मानदेवलाई इतिहासले असल राजाको रुपमा स्वीकार गरेको छ । यसै गरी भृकुटीबारे पनि नवीन किसिमले अन्वेषण गरिएको छ । भृकुटीमाथिका केही परम्परागत धारणामा यस कृतिले नवीन प्रकाश पारेको छ । लिच्छविकालीन एकजना कवि बुद्धकीर्तिको विषयमा सोधखोज गरिएको रचना हो कवि बुद्धकीर्तिको सत्य । पशुपति क्षेत्रमा एउटा शिलालेखमा प्राप्त कविताले बुद्धकीर्तिको कवित्वको परिचय दिएको र उनीबारे धेरै सोधखोज गर्नुपर्ने बताइएको छ । काठमाडौँबाट एउटा निबन्ध डोटीतिर मोडिएको छ । स्वतन्त्र र शक्तिशाली राज्यको रुपमा रहेको सिंहपुरमा प्रतिभाको कदर हुन्थ्यो । निबन्धको आख्यानको प्रस्तुति बडो मिठो छ ।
सकेसम्म अरनिकोमाथि न्याय गरिएको छ र अरनिकोमाथि प्रकाश पारिएको छ । नेपालदेखि चीनसम्मको यात्रा र सफलताको गाथालाई सम्मानपूर्वक प्रस्तुत गरिएको छ अरनिको र आदर्श भन्ने निबन्धमा । अर्को निबन्ध मोडिएको छ सिञ्जातिर । क्राचल्लको उदारता र बुद्धिमानी तथा वीरताले गर्दा उनको यश सर्वत्र फैलिएको बताइएको छ रुद्र सिंहको मुक्तिमा । रुद्र सिंहलाई पराजित गरी फेरि राजा बनाएको र रुद्र सिंहले पनि धर्मको निर्वाह गरेको आख्यानात्मक प्रस्तुतिमा मौलिकता रहेको छ । देउसी भैलोको गीतमा आउने बलिराजको खोजी गरिएको निबन्ध हो – देउसी–भैलो, बलिराज र इतिहास । निबन्धकारले जुम्लाका राजा बलिराज भएको ठम्याएका छन् । रौतहटको राजदेवी मन्दिरको स्थापनाको सेरोफेरोमा केन्द्रित छ – राजदेवी र नर्मदा । नर्मदा विलक्षण प्रतिभा भएकी नर्तकी हुन् । यी नृत्यांगनाले गर्दा तत्कालीन मकवानपुर र कान्तिपुर राज्यमा मनोमालिन्य भएको उद्घाटना गरिएको छ । टिस्टुङ कोटमा प्रचलित बार वर्षे नाचको इतिहास कोट्याइएको छ ।
शुद्ध ऐतिहासिक विषयवस्तु हो – लाचार महारानी । महारानी राजराजेश्वरीप्रति सहानुभूति राखेर मूल्यांकन गरिएको र उनी कसरी अन्यायमा पर्न विवश भइन् भन्ने बताइएको छ । जोसमनी सम्प्रदाय र लखन थापामा राणा शासनका संस्थापक जंगबहादुर राणाको विरुद्ध एक किसिमको आन्दोलन गर्ने पात्रको रुपमा लखन थापालाई चिनाइएको छ । उनलाई फाँसी दिइएको थियो ।
विवाह र व्यक्तित्वभित्रको आख्यान बडो सुन्दर छ । दुई संस्कृतिका दुई पात्रहरु भीमसेन र हिडिम्बाबीच भएको प्रेम र विवाहलाई रोचकतासाथ प्रस्तुत गरिएको छ । हिडिम्बपुर नेपालको कुनै ठाउँ भएको बताइएको छ । यो ठाउँ सम्भवतः वर्तमान हेटौँडा हो । यसै गरी साहित्य र सहिदमा मकैखेतीका सर्जक कृष्णलाल अधिकारीमाथि न्याय गरिएको छ । उनलाई प्रथम साहित्यिक सहिद मानिएको छ । पूर्वी नेपालको विद्रोहिणी योगमायाको चरित्र, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको निबन्ध हो – योगमाया र जलसमाधि । उनको जलसमाधिप्रति सहानुभूति त छैन तर उनको जुनीलाई नै विद्रोहको पर्यायको रुपमा स्वीकार गरिएको छ यसमा । र, सहिद गंगालालको सहादतको इतिवृत्तमा केन्द्रित निबन्ध मृत्युको वरदानमा उनीप्रति सहानुभूति प्रकट गरिएको छ । श्रद्धा र सम्मान व्यक्त गरिएको छ । वर्तमानको उनको त्यागप्रति गर्व भएको बताइएको छ । उनीप्रति श्रद्धाले शिर निहुराइएको छ । सलाम अर्पण गरिएको छ ।
यसरी ऐतिहासिक भूगोल, ऐतिहासिक पात्र, संस्कृति आदिलाई विषयवस्तु बनाइएको पच्चीसवटा निबन्धको कृति जीवाश्म आफैंमा महत्वपूर्ण छ । इतिहास, संस्कृति, दर्शनमा रुचि हुनेका लागि यसले धेरै खुराक दिनेमात्र होइन, अनुमानको तथ्यगत पुनर्सिर्जन र तथ्यको अनुमानगत पुनर्सिर्जन गर्नुपर्ने पनि यसले बताउँछ । अन्धताभन्दा वैज्ञानिक चिन्तन र प्रामाणिक तर्कले कतिपय पुरातन रुढ चिन्तनमा पुनर्विचार गर्ने विषय पनि यसको उपलब्धि हो ।
साहित्यको एउटा विधा निबन्ध हो र यस कृतिको मूल्यांकन ऐतिहासिक आलोकमा नै गरिनु पर्दछ । प्रागऐतिहासिक विषयवस्तुको चिरफार गर्ने कला र क्षमतामा निपुणतातर्फको कृतिकार शीतल गिरीको यात्राको यो एउटा महत्वपूर्ण उपलब्धि हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।