– रत्न प्रजापति
हरेक मान्छेसँग कथा हुन्छ । कथा आफ्नै अथवा अरूका । तर सबैले कथा लेख्दैनन् । त्यसैले सबै कथाकार हुँदैनन्, बन्दैनन् । कथा लेख्नेहरू कथाकारका रूपमा चिनिन्छन् । नचिनिएका कथाकार पनि प्रशस्त छन् समाजमा । कथा लेख्दैनन्, तर सुनाउँछन् । कथा लेख्नेले पनि सबैले आफ्नो कथा लेख्दैनन् । धेरैले अरूकै कथा लेख्छन् । थोरैले मात्रै आफ्नै कथा लेख्छन् । आफ्नो कथा सार्वजनिक गर्न नचाहनु स्वाभाविक हो । कथाभित्र व्यथा पनि हुन्छन् । ती व्यथा अरूलाई सुनाउन नचाहनु पनि स्वाभाविक नै हो । सुनाउनुचाहिँ राम्रै हो । किनभने दुख बाँडे घट्छ, सुख बाँडे बढ्छ ।
कथा लेख्नेले घरदेशमा बसेर लेखेका छन् । परदेशमा बसेर पनि कथा लेखेकै छन् । लेख्नेका लागि धेरै कथा छन् घरदेशमा र परदेशमा पनि । आफ्नै जिन्दगीका कथा, समाजका कथा र देशदुनियाँका कथा धेरै लेखेका छन् कथा लेख्नेहरूले । अझ विभिन्न कारणले परदेशमा पुगेका र त्यहीं कर्म गरी बसेका कथाकारले पनि उतैको घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशमा धेरै कथा लेखेका छन् । यसरी परदेशमा बसेर उतैका घटना, दुर्घटना, पात्र, चरित्र र परिवेशलाई कथावस्तु बनाएर लेखिएका कथाहरूको एकमुष्ट सँगालो हो ‘परदेशका कथा’ । विशेषगरी उत्तरी अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूले लेखेका दुई दर्जन कथाहरू यो सङ्ग्रहमा समेटिएका छन् । कथाकारमा वरिष्ठदेखिे कनिष्ठसम्म छन् । फरक–फरक भावभूमिका मीठा कथानुभूतिले सङ्ग्रहलाई पठनीय र सङ्ग्रहणीय बनाएका छन् ।
यन्त्रले चल्ने र यन्त्रझैं चल्नुपर्ने देशमा रहेर काम गरिरहेका नेपाली कथाकारले कथा लेख्ने फुर्सदचाहिँ कतिखेर पाउँछन् ? कथासङ्ग्रह पढ्नुअघि पाठकको मनमा यस्तो प्रश्न उब्जिन सक्छ । मासिक तलबभन्दा पनि दैनिक अझ घण्टे ज्याला थाप्ने श्रमजीवीहरूले श्रम गर्ने समय उबारेर कथा लेख्नुलाई आफ्नो भाषा र साहित्यप्रतिको माया र लगावको रूपमा लिनुपर्छ हामीले । यसरी विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यलाई माया गरेकैले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन मद्दत पुगेको छ । यसमा हामीले गर्व गर्नुपर्छ ।
‘परदेशका कथा’ डायस्पोरामा बसेर लेखिएका डायस्पोरिक कथाहरूको सँगालो हो । कथाकार जुन स्थानमा बसेका छन् त्यही सेरोफेरोका कथा छन् सङ्ग्रहमा । अर्थात् फरक भावभूमिका फरक कथानुभूतिहरू छन् । जुन कथानुभूतिहरूले पाठकलाई फरक–फरक स्वादको रसास्वादन गराउने छन् । जुन स्थान र परिवेशमा बसेर कथा लेखे पनि कथाभित्रका सुख, दुख, आँसु, हाँसो, प्रेम र पीडाको अनुभूति त उस्तै नै हुँदारहेछन । ‘परदेशका कथा’ पढेपछि यस्तै महसुस हुन्छ ।
पुस्तक : परदेशका कथा
विधा : कथा
सम्पादक : कृष्ण कुसुम\गणेश घिमिरे
प्रकाशक : शिखा बुक्स
संस्करण : प्रथम, २०७६ माघ
पृष्ठ : २३९
मूल्य : ३७५\-
कथामा कल्पनाका उडन्ते गफभन्दा कथाकारले देखेका र भोगेका यथार्थलाई कथाको विषयवस्तु बनाइएकाले कथामा काल्पनिकता भन्दा यथार्थता झल्किन्छ । कल्पनाको रोमाञ्चभन्दा यथार्थको युगवोध गराउने क्षमता हरेक कथाले बोकेका छन् । द्वन्द्वको पीडा सबैतिर छन् भन्ने यथार्थलाई धेरैवटा कथाले बोलेका छन्, चाहे त्यो नेपालको होस् वा साल्भाडोरको । सबै खालका पीडितहरूको सपनाको देशचाहिँ अमेरिका नै बनेको यथार्थ पनि धेरैवटा कथाहरूले बोलेका छन् । नेपालको पूर्वलडाकूदेखि साल्भाडोरकी लडाकूसमेत अन्ततः अमेरिका नै पुगेका छन् ।
डायस्पोरिक जीवनशैली बुझ्न मद्दत गर्छ यो कथासङ्ग्रहले । प्रारब्ध अथवा नियति र कर्मले डायस्पोरामा बस्न पुगेका नेपालीका कथा र व्यथा पनि छन् सङ्ग्रहभित्रका कथाहरूमा । प्रेम, पीडा, विछोड, बाध्यता, बन्धन, यौन, शोषण, एकाकीपन, पहिचानको खोजी, अर्थमोह र जिजीविषा कथाहरूका मुख्य विषयवस्तु हुन् । सङ्ग्रहका कथाहरूले पाठकलाई रोमाञ्चित बनाउँछ । संवेदित बनाउँछ । सुखी बनाउँछ । दुखी बनाउँछ । कतैकतै यौनको आवेगले उत्तेजित पनि बनाउँछ । अनि धेरै पात्रहरूप्रति सहानुभूति पनि जगाउँछ । पाठकलाई अन्त्यसम्म तानिराख्न सफल छन् कथाहरू । पाठकको मनमा उत्सुकता जगाउँदै अन्त्यसम्म डो¥याउन सफल भएकैले पाठकीय अभिरुचिका दृष्टिकोणले कथाहरू सफल छन् ।
एउटै कथासङ्ग्रहबाट भिन्नभिन्न स्वादका कथाहरूको रसास्वादन गर्न पाउनु र डायस्पोराका विविध जीवनका पाटा र जीवनशैली बुझ्न पाउनु यो कथासङ्ग्रहको विशेषता हो । सङ्ग्रहका कथाहरूमा अग्रज कथाकारसँगै अनुज कथाकाका कथा पनि समेटिएका छन् । तर अनुज कथाकारका कथा अग्रज कथाकारका कथाभन्दा कुनै पनि कोणमा कम्तिका चाहिँ छैनन् है । बरु उम्दा पनि छन् कुनै–कुनै कथा । यो निकै सुखद पक्ष हो । कथा पढ्दै गर्दा अनुज कथाकारले नै कथा लेखनमा बढी मिहिनेत गरेको महसुस हुन्छ ।
सङ्ग्रहका केही कथाहरूले ‘हामी त यहाँ आएर फस्यौँ–फस्यौँ, अब तिमीहरूचाहिँ यहाँ नआओ है’ भनेर भन्न खोजेजस्तो अनुभूति पनि पाठकहरूले गर्नेछन् । धेरैजसो कथामा विदेशमा बस्दाका चुनौतीका कुरा मात्रै आएका छन् । त्यहाँ उपलब्ध हुने अवसर र त्यहाँका सकारात्मक पक्षहरूको चित्रण कथामा त्यति भएको पाइँदैन । कथामा दुखका कुरा मात्रै भनेर संवेदना र सहानुभूतिको अपेक्षा राख्ने होइन । सुखका कुरा पनि भन्नुपर्छ । यस्तो चाहिँ भएको देखिंदैन ।
सम्भवतः फन्ट परिवर्तन गर्ने क्रममा ध्यान नपुगेर होला, धेरै शब्दहरू बिग्रिएका छन् । यसले गर्दा पाठकलाई दाँतमा ढुङ्गा लागेको महसुस हुनसक्छ । कतैकतै त अर्थको अनर्थ लाग्नसक्ने सम्भावना पनि छन् । विशाल देशमा छरिएर रहेका नेपाली कथाकारका कथा सङ्ग्रह तयार पार्ने सम्पादकद्वय कृष्ण कुसुम र गणेश घिमिरेको प्रयत्न प्रशंसनीय र सराहनीय छ । कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।