साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पासवर्ड – हर्दा बोल !

धारावाहिक उपन्यास फन्टुस फिक्सन भाग २

Chovar Blues Mobile Size

‘हे भगवान् ! हे कृष्ण !’
कोसीको भुमरिएको पानीमा खस्दै गर्दा र भुक्लुक्क डुब्दै–उत्रिँदै गर्दा मैले सुवानी चिच्याएको यति मात्र सुनेको थाहा छ । त्यसपछि पुल्ठेगौँडामा के भयो ? केही थाहा छैन ।
म डुबेर बेहोस भइसकेको रहेछु ।
मलाई पौडी खेल्न आज पनि आउँदैन । सानोमा स्कुलबाट भागेर हामी सुनसरी खोलामा पौडी खेल्न जान्थ्यौँ । पानी उस्तो धेरै हुँदैनथ्यो । तर, चाहँदा डाइभ हान्न, नाक थुनेर डुबुल्की मार्न पुग्थ्यो । म, दिवाकर सापकोटा, कुबेर बज्राचार्य, अजय मण्डल, हेमनारायण पोद्दार, सुरज सुब्बा, राजकुमार शाही, सञ्जय लुइँटेल, हरिकृष्ण पोखरेल, सन्तोष तिवारी, विष्णु भट्टराई, सतनारायण महतो लगायत साथीहरू हुन्थे । यीमध्ये अहिले मैले सम्झिन खोजेको चाहिँ कुबेर बज्राचार्य हो ।
त्यो दिन हामी पुल वरपर त्यस्तै डुबुल्की मार्दै पानीभित्र लुकीडुम खेल्दै थियौँ । कुबेरको डुम हुने पालो आयो । ऊबाहेक सबै डाइभ हानेर पानीमा लुक्न थाल्यौँ । पानीभित्र डुबुल्की मार्न सक्ने डुबेर, नसक्ने खुट्टैले टेकेर डुमबाट परपर तर्किर्दै खेल्दै थियौँ । म एउटा हातले नाक थुनेर भित्रभित्रै हेलिन के लागेको थिएँ, कताबाट कुबेर आएर मलाई च्याप्प कम्मरमा समातिहाल्यो ।
‘हुडुक…हुडुक…भयो–भयो छोड–छोड’ च्याप्प समातेर पानीमा गोडेपछि म अत्तालिएछु ।
‘विद्याधर आउट… विद्याधर आउट…!’
‘ल–ल आउट… हर्दा–हर्दा…!’
पानीभित्र नाक थुनेर कति बस्न सकिन्छ र ! छोड्छ भन्छु, छोड्दैन । अब त छोड्छ होला भन्छु, फेरि पनि छोड्दैन । त्यसरी लुकीडुम खेल्दा, बुढी कबडी वा सादा कबडी खेल्दा ‘भयो, भयो छोडिदे, आत्मसमर्पण गरेँ,’ भन्ने भाव जनाउने पासवर्ड थियो – हर्दा !
‘हर्दा… ह… ह…!’
बोल्न पनि नसक्ने भइसकेँ । धन्न ईश्वरको कृपा भनौँ, मेरो बाँच्ने दिन । यत्रो दिन बाँच्नु पर्ने रै’छ, अझ कति बाँच्नु पर्ने हो ! के मर्थें ! कसोकसो गरेर कुबेरको हात फुस्कियो र सन्तोषलाई खेद्न थाल्यो । म त एकैचोटि अत्तालिएर, नर्भस भएर, खोलाको पिँध टेकेर जुरुक्क उठेछु ।
संसारै अर्को देखेँ ।
पूरै नर्भस । जसोतसो किनारको डिलमा पुगेर डङ्ग्रङ्ग लडेँ, उत्तानोचित । आधा घण्टा त बोली पनि आएन । सन्तोषले थाहा पाएछ ।
‘ए, विद्याधर के–भो, के–भो,’ भन्दै छेउमा आएर बस्यो । दस मिनेट जति त्यत्तिकै भो ।
‘केही होइन,’ जसोतसो सासले यति शब्द भनेछु । अनि घाम ताप्न पल्टिए जस्तो बहाना बनाएँ । के भन्नु ? उसले जानी–जानी गरेको भए पो । खेलमा ऊ पनि कुन सुरमा थियो, मारौँ भनेर त पक्कै समातेको थिएन ।
कसैद्वारा समातिएपछि वा बेसरी ङ्याकिएपछि समात्नेले चाँडै हार स्वीकार गरोस् र समातिनेले एकछिन अरू टिकिराखुँ, सजिलै हार किन स्वीकार गर्ने भन्ने बाल मनोविज्ञान हुन्छ । यस्तोमा समात्नेले ‘हर्दा बोल !’ भनेर खेलमा हार स्वीकार गर्न पर्याप्त मौका दिने अलिखित आचारसंहिता हुन्छ । ‘सडेल’ भनेर काम थाल्दा अलिअलि गल्ती भए पनि भुलचुक लिनेदिने हुन्थ्यो । तर, कुबेरले न सडेल भनेको थयो, न हर्दा बोल !
‘जाऊँ हिडौँ अब, पुग्दापुग्दा पाँच घन्टीको बेला ठिक्क हुन्छ,’ सन्तोषले भन्यो ।
म पनि जुरुक्क उठेँ र भिजेको कट्टु खोलेर नीलो हाफ–पेन्ट लगाएँ । कुबेरले यो कुरा थाहा पायो कि पाएन, थाहा छैन । तर, त्यही दिन हो मैले पानीभित्र सास थुनेर, आँखा चिम्लेर पनि अलिकबेर बाँच्न सकिन्छ भन्ने थाहा पाएको । त्यसपछि म अरू–अरु पटक पनि सुनसरी वा कक्रु–कुरुवामा पौडी खेल्न जाँदा नाक थुनेर सास रोकेर कतिबेरसम्म पानीभित्र बाँच्न सकिन्छ भनेर समय लम्ब्याउने अभ्यास गरिरहन्थेँ ।
०००
बाल बेलामा पौडी खेल्न सिक्न खोजेको अनुभव पुल्ठेगौँडामा प्रयोग गर्नुबाहेक मेरो जिन्दगीमा त्यतिखेर अर्को कुनै विकल्प थिएन । आँखा चिम्लेको थिएँ । अन्धकार बढ्दै थियो । म किनारतिर पुगिन्छ कि भनेर हातखुट्टा पनि चाल्दै थिएँ ।
धमिलो–चिसो पानीले पनि आफ्नो काम गर्दै थियो । घरि भुमरीमा घुमाउँदै, घरि तलतिर हुत्याउँदै, मलाई जानु पर्ने बाटो देखाउँँदै थियो ।
तर, जारी कथा अनुसार म मर्ने बेला भएको थिएन ।
मात्रै बेहोस भएको थिएँ । यतिबेला भन्दा ठ्याक्कै स्वस्थानी कथाकी छिछि दूर–दूर गर्ने चन्द्रावतीको स्थिति ।
बग्दै दलदलमा लट्पटिँदै म यति पर पुगेर अड्किएँछु, जहाँ दिनभरि मलाई खोज्नेहरूको आँखा परेनछ । बुधबारको दिन थियो । राति एकाबिहानै जाल थाप्न आएका गुलाबी मुखियाको जालमा अल्झिएर म बाहिर आएँछु । हुने दिन । सोस माछा पर्यो, आज चाहिँ मधुवन हाटमा बेचेर रजियाको सबै उधारो तिर्छु भन्ने सोचेर जाल तानेको, हिलोले लत्पतिएको म बाहिर आएछु । मलाई केही थाहा छैन ।
यही पनि पछि मलाई गुलाबीले भनेको ।
त्यसपछिका पाँच वर्ष मैले बेहोस भएर बिताएँ । ठ्याक्कै त्यो फिलिमहरूमा हुन्छ नि ! कुनै ठूलो दुर्घटनामा परेर नायकले आफ्नो पुरानो कुराहरू सबै बिर्सिन्छ । र, त्यस्तो स्मृति फिर्ता नहुञ्जेलसम्म नयाँ परिवेशमा अर्कै बिन्दास जिन्दगी बाँच्छ । तपाईंलाई पत्यार लाग्दैन होला, भन्नका लागि भने जस्तो लाग्छ होला तर ठ्याक्कै त्यस्तै भयो मेरो जीवनमा पनि । शिवको लीला !
तपाईंलाई विश्वास लाग्दैन भने मैले जो–जो मेरा साथी भनेर अघि भनेँ, तिनीहरूमध्ये कसैलाई पनि म बीचमा पाँच वर्ष हराएको कुरा सोध्नुहोला । साला बहुलाहा भइसकेको छ, जे पनि भन्छ, भन्छन् । तिनीहरूले पनि पत्याउँदैनन् भने तपाईंलाई त विश्वास लाग्ने कुरै भएन । विश्वास नलागेर के गर्नु ? मैले जे भोगेँ, जे देखेँ, त्यो म क्रमशः भन्दै जान्छु । अनि पत्यार लाग्ला तपाईंलाई ।
अघि म पुल्ठेगौँडामा त्यसपछि के भयो भनेर भन्दै थिएँ । एक्चुअल्ली मलाई केही थाहा छैन, म पानीमा खसेपछि त्यहाँ के भयो ?
यद्यपि विभिन्न फिल्महरू हेरेको आधारमा, उपन्यासहरू पढेको आधारमा म कल्पना गर्न सक्छु, एउटी प्रेमिकालाई आफ्नै कारणले प्रेमी त्यसरी आफ्नै आँखा अगाडि मरेको वा मर्दै गरेको देखेपछि के हुन्छ ? प्रहरीले लास पनि नभेटिएकाले बेपत्ताको सूचीमा राखेपछि त्यो दिन के भयो होला ? त्यसपछिका दिनहरू के भए होलान्, कसरी बिते होलान्, त्यो अहिले हामी कल्पना गर्न सक्छौँ । तर, सुवानीलाई नभेटी यसै भो भनेर भन्न सकिन्न ।
सिम्पल छ, त्यो कोसीमा खस्नुभन्दा अघि उनी म बुढेसकालको मायालाई कति माया गर्छिन् र त्यसका लागि उनी कति हदसम्म जान सक्छिन् भनेर थाहा पाउने प्रयास गरिरहेको थिएँ । र, त्यो प्रयास मेरो आजसम्म यथावत् छ ।
सुवानीको हालत त्यो दिन के भयो ?
०००
हराएका दिनहरूमा म विष्णुप्रसाद भएँ ।
ती दिनहरूमा मैले जति पनि लेख लेखेँ, खोज अनुसन्धान गरेँ ती सबै विष्णुप्रसादका नाममा सार्वजनिक नै छन् । मेरो नाम विष्णुप्रसाद हुनुमा पनि एउटा विचित्रको संयोग छ । जसले मलाई जालमा पारेका थिए, उनी विष्णुका परमभक्त थिए । महाकवि देवकोटालाई लक्ष्मीको प्रसाद माने जस्तो उनले मलाई विष्णुको प्रसाद ठानेँ । र, रक्सी लागेका साथीहरूलाई जबर्जस्ती ताली बजाउन लगाएर मेरो नाम अनुमोदन गराए । भला, अहिले सोच्छु उनले त्यो नाम राखेर पनि राम्रै काम गरेछन् । किनकि मेरो टिप्पनको नाम पनि विष्णुप्रसाद नै थियो ।
चिसो छिप्पिसकेको थिएन । तर, कोसीबाट पानीको हरक आएर साँझ–बिहान चिसै हुन्थ्यो ।
पर्सिपल्ट गुलाबी मुखिया र उनका दुई जना दरपिया साथीहरू क्याम्प–फायर जस्तो बीचमा घुर बालेर बसेका थिए । म पूर्व फर्केर एउटा कर्चीले एउटा प्लास्टिक जस्तो केही कोट्याउँदै थिएँ ।
भर्खर छ बजेको थियो । उनीहरू शून्य समयपछि जाल लिएर पूर्वी डुबानतिर जानेवाला थिए । पुतपुताउँदो धूँवा आगो भएर हुर्रर बल्न खोज्दै थियो तर सकिरहेको थिएन ।
एकचोटि फू गरेर फुकेको त धूँवा म भएतिर बटारिएर आयो । भिक्स दले जस्तो पिरपिर गर्दै आँखाभरि आँसु भयो ।
‘क्या हो, विष्णुप्रसाद सर ! सानोमा खोलातिर फर्केर खुब पिसाब फेर्नुभएको रै’छ । त्यही भएर धूँवाले निकै माया गर्दो रै’छ तपाईंलाई,’ राजन चन्द्रवंशीले मलाई जिस्क्याए ।
सबै गललल हाँसे । मलाई हाँस उठेन ।
सानोमा कुन खोलातिर फर्केर मैले पिसाब फेरेको थिएँ ? कहाँ बितेको थियो मेरो बालककाल ? को हुँ म ? कोसीको भङ्गालोले मलाई कहाँबाट बगाउँदै गरैयाटप्पु ल्याइपुर्याएको हो ? कति घण्टासम्म म बगे हुँला ? केही थाहा थिएन कसैलाई । मलाई जिस्क्याउने राजनलाई त झन् के थाहा !
त्यही बेला गुलाबीले एउटा सानो–सानो खरको मुठो घुरमा हाले । आगो ह्वार्रर हुर्केर झलमल्ल भयो ।
उज्यालोमा देखियो गुलाबी मुखियाको कान्छी पट्टिको जेठो छोरो – माछा इन्जिनियर !
उसको वास्तविक नाम विजयकुमार मुखिया थियो । चानचुन १० वर्ष । पहिलो दिन मैले यो भाइको नाम के हो ? भनेर सोध्दा गुलाबीले ‘माछा इन्जिनियर’ भनेर चिनाएका थिए । सिमसारमा, पोखरीतिर माछा मार्न, गङ्गटा समाउन सानैदेखि सिपालु भएकाले त्यसो भनेका रे ! स्कुलमा नाम लेख्न त लेखाइएको थियो तर उसको दुई–तिहाइ समय पानीमै बित्थ्यो ।
‘माछामा पिएचडी गरेको छ यसले,’ गुलाबीले छोराको परिचयमा यस्तै शब्द प्रयोग गरेका थिए । कुरा सुनेर म फिस्स हाँसेको थिएँ ।
तर यतिखेर हाँस्नुपर्ने परिस्थिति थिएन ।
देब्रे हातमा एउटा चरो, दाहिने हातमा एउटा किताब र बाइनाकुलर समातेर माछा इन्जिनियर उभिएको थियो । चरो जिउँदै थियो । उँधोमुन्टो पारेर खुट्टा समातिराखेको थियो ।
‘दिउँसो मधुवन गएको थिएँ । फर्किँदा आँपगाछीदेखि अलि वर खर–घारीमा पाँच–छ वटा चरा रहेछन् । समाउन खोजेको भागी हाले । यो सानो चाहिँ अत्तालिएर घारीमा अल्झियो । समाएर आउँदै थिएँ, घाटनेर ढुङ्गामा यो किताब र यो क्यामेरा राखेको रहेछ,’ कसैले केही सोध्नुअघि माछा इन्जिनियरले स्थानीय लवजमा बेलीबिस्तार लगायो ।
‘धुर… क्यामेरा नै छे, दुरबिन छे,’ कैलु मलाहा बोल्यो ।
मैले सुरुमा बाइनाकुलर त्यसपछि चरा भएको हाततिर हेरेँ ।
चरो सानो–सानो, छिर्केमिर्के, लामो खुट्टा भएको अलि फरक खालको थियो । चुच्चो हेर्दा हाँस जस्तो, जीउ हेर्दा कुखुराजस्तो । तर, न हाँस न कुखुरा ।
‘कुन चरा हो यो ?’ मैले सोधे ।
‘बच्चा तित्रा,’ गुलाबीले भने ।
‘ल, यो किताब तपाईंलाई काम लाग्ने रै’छ । चरो चाहिँ पोलेर खानुपर्छ । खोइ ल्या त हेरौँ के रै’छ यो,’ गुलाबीले छोराको हातमा झुन्डिरहेको बाइनाकुलर तान्दै भने, ‘हो त नि, दुरबिन त रै’छ नि । अस्ति राजकुमारको हातमा पनि यस्तै देखेको थिएँ ।’
त्यसपछि सुरु भयो मिसन खरमयुर । दुर्लभ सानो खरमयुरको खोजी ।

प्रतिक्रिया
Loading...