११

अफिसरहरू कोठामा पस्ने बित्तिकै लीजाको मुख लाजले गर्दा रातो भयो । उनीहरूतर्फ आँखा उठाएर हेर्न समेत डराउँदै ऊ चिया बनाउनमा नै तल्लीन रहेको जस्तो स्वाङ पारेर बसी । यसको विपरीत आन्ना फ्योदोरोभ्ना जुर्मुराएर उठी, उनीहरूको स्वागत गर्न अलिकति झुकी र ग्राफको मुखमा सोझै ताकेर उससँग कुराकानी गर्न लागी । ग्राफको अनुहार पनि दुरुस्तै बाबुकै जस्तो रहेछ भनेर उसले बताई र आफ्नी छोरीसित उसलाई परिचित गराइदिई । ग्राफको सामुन्ने चिया, जैम र फलफूलको भाँडा पनि राखियो । कोरनेट ज्यादै सोझो खालको थियो त्यसैले गर्दा उसतर्फ कसैले ध्यान दिएन । यसबाट खुशी नै थियो, किनभने यसरी चूपचाप बसेर शिष्टतापूर्वक लीजाको रुपलावण्य चियाएर हेर्ने उसले राम्रो मौका पाइरहेको थियो । लीजामा नजर पर्नासाथै त्यो केटी असाधारण खालकी छे भन्ने उसले ठम्याइहाल्यो । मामा चाहिँ कहिले बहिनीको फतफत रोकिएला र आफूले पनि एकाध लवज बोल्न पाइएला भन्ने प्रतीक्षा गर्दै थियो । ऊ अश्वारोही सेनामा आफ्नो सेवाकालको संस्मरण सुनाउन चाहन्थ्यो र उसले भन्न खोजेका कुरा ओठमै झुण्डिरहेको जस्तो प्रतीत हुन्थ्यो । ग्राफले चिया खाँदाखाँदै एउटा सिगार सल्कायो । त्यसको कस कतिसम्म खरो थियो भने लीजाले रोक्दा रोक्दै पनि आफ्नो खोकी रोक्न सकिन । ऊ गफी हुनुको साथसाथै विनम्र स्वभावको पनि थियो । शुरुमा त आन्ना फ्योदोरोभ्नाको धाराप्रवाह फतफतमा उसले एक-दुई शब्द मात्र जोड्ने गरेको थियो, तर पछि त आफैँले गफको फोहरा छोड्न थालिहाल्यो । श्रोताहरूलाई एउटा कुरा चाहिं ज्यादै विचित्र लागिरहेको थियो । ऊ आफ्ना किस्साहरूमा यस्ता शब्दहरूको पनि प्रयोग गर्दै थियो जुन उसको मित्रमण्डलीमा अश्लील मानिदैनथे होलान्‌, तर त्यहाँ चाहिँ निकै खड्किरहेका थिए । आन्ना फ्योदोरोभ्ना उसको कुरा सुनेर अलि हच्किइन्‌ पनि । लाजले गर्दा लीजाको चाहिं कान समेत रातै भैसकेका थिए । परन्तु ग्राफलाई उसको कत्तिपनि अत्तोपत्तो थिएन र ऊ उसै गरी बेफिक्रीसित बडो विनम्रतापूर्वक गफ चुट्दैथियो । लीजाले चूपचाप गिलास भरी र पाहुनाहरूको हातैमा दिनुको सट्टा उनीहरूको छेवैमा थपक्क राखिदिई । अझै पनि उ ज्यादै व्यग्र थिई र ग्राफको एक एक शब्द ध्यान दिएर सुनिरहेकी थिई । ग्राफको कुरा एकदमै सरल थियो र बोल्दाबोल्दै ऊ केही बेर पनि गर्थ्यो । यसले गर्दा लीजा बिस्तार-बिस्तार निश्चिन्त हुँदै गई । जस्तो विद्वतापूर्ण कुरा सुन्ने उसले चाहना राखेकी थिई त्यस्तो त एकदमै सुन्न पाइएन, न त ग्राफको चालढालमा नै यस्तो कुनै सौम्यताको झलक पाइन्थ्यो । उसले मधुरो आशा राखेकी थिई । चियापानको तेस्रो क्रम चलिरहेको थियो । लीजाले केही लज्जालु आँखा उठाएर ग्राफतर्फ हेरी । ग्राफको आँखासित उसका आँखा जुधे र उसले त्यो नजरलाई मानौं आफ्ना आँखामा तानेर राखिछोडेको जस्तो लाग्यो । ऊ आँखा नै झिमिक्क नगरीकन गफ हाँक्दैथियो र एकटक लगाएर हेरेको हेर्यै हलुका मुस्कान पनि छोड्दैथियो । लीजाको मनमा उसप्रति एक प्रकारको विरोधभाव उत्पन्न भयो र त्यस मान्छेमा कुनै विशेष कुरा पटक्कै छैन भन्ने समेत तुरुन्तै उसलाई लाग्न थाल्यो । अझ जसलाई ऊ चिन्दथी ती मानिसहरूमा र उसमा कुनै अन्तर उसले भेट्टाउन सकिन । त्यसैले उससित डराउनुपर्ने पनि उसले कुनै कारण देखिन । हो, ग्राफको नङ सफा र लामा अवश्य नै थिए, तर उसमा कुनै खास सौन्दर्य भने छँदै थिएन । यसरी आफूले कल्पना गरे जस्तो कुरा त्यहाँ नपाउँदा अचानक लीजाको मन क्षुब्द भयो र उसलाई ज्यादै नरमाइलो लाग्यो, तर यसको साथै उसको व्यग्रता पनि हटेर गयो । अब उसलाई एउटै कुराले मात्र बेचैन तुल्याउन थाल्यो । कारण, कोरनेट चूपचाप बसेर क्वारक्वार्ती उसलाई नै हेरिरहेको थियो । उसको तीखो नजर आफूमाथि परिरहेको लीजा राम्रै अनुभव गर्दै थिई । ‘सके त्यो होइन, यो चाहिँ होला कि ?’-उसले मनमनै सोची !

चियापान सकिएपछि अधबैंसे महिलाले आफ्ना पाहुनाहरूलाई अर्को कोठामा लिएर गई । त्यहाँ ऊ आफ्नो नियमित ठाउँमा गएर बसी ।

“सके तपाईं आराम गर्न चाहनुहुन्छ होला ! हैन त, ग्राफ ?”-उसले सोधी । ग्राफबाट यस प्रश्नको नकारात्मक उत्तर पइएपछि उसले अगाडि थपी-“खै, तपाईहरूको मनोरञ्जनको के प्रबन्ध गरूँ ? ग्राफ, के तास त खेल्नुहुन्छ तपाईं ? दाजु, तासको कुनै खेल शुरु गरिस्योस्‌ न !”

तिमी आफै पनि त ‘प्रोफेरेन्स’ खेल्छौ नि, बहिनी !”-भूतपूर्व रिसल्ला अफिसरले जवाफ दियो ।-“एक हात खेलिहाल न ! कसो त, ग्राफ ? खेल्ने हैन त ?”

अतिथ्य सत्कारी आतिथेयहरूलाई जस्तो चाहना होला त्यसमा नै अतिथिहरूले पनि खुशीसाथ भाग लिनेछन्‌ भनेर युवा अफिसरहरूले सहमति जनाए ।

लीजाले आफ्नो कोठाबाट पुराना तासको एक क्याँट ल्याई । ती तासका चक्कीहरूद्वारा ऊ जोखाना हेर्ने गर्थी- आन्ना फ्योदोरोभ्नाको दन्तशूल छिटै बिसेक होला कि नहोला ? शहरतिर गएका मामा कहिले गाउँमा फर्कलान्‌ ? कुनै छिमेकी उनीहरूलाई भेट्न आउला कि नआउला ? आदि, आदि । तासको यस क्याँटका चक्कीहरूको प्रयोग दुई महिना यतादेखि हुँदैथियो, तर पनि तासका ती चक्कीहरूभन्दा त कता हो कता सफा थिए जुन आन्ना फ्योदोरोभ्ना जोखाना हेर्नमा प्रयोग गर्थी ।”

“सके तपाईंहरू सानोतिनो दाउ थापेर त खेल्न रुचाउनुहुन्न होला ?”-मामा चाहिले सोध्यो ।-“आन्ना फ्योदोरोभ्ना र म त आधा कोपेकको दाउ थापेर खेल्ने गछौं ।…तैपनि उनी हामी सबलाई लुट्छिन्‌ ।”

“हैन, जुन दाउमा तपाईंहरू चाहनुहुन्छ त्यसैमा खुशीसाथ खेलुँला !”-ग्राफले भन्यो ।

“लौ त, एक कोपेकको नै दाउ भयो ! भुक्तानी चाहिँ नोटद्वारा ! यस्ता प्यारा पाहुनाहरूको निम्ति खेल हुँदैछ त ! मेरो सर्वस्व नै जितेर लग्छन्‌ भने पनि राजी छु !”-आन्ना फ्योदोरोभ्नाले भनी र गजक्क पर्दै आराम कूर्सीमा बसेर आफ्नो दोसल्ला मिलाउन लागी ।

“हुन सक्छ, यिनीहरूबाट एक रुबलसम्म त जित्न पाइन्छ होला !”-आन्ना फ्योदोरोभ्नाले मनमनै सोची । बुढेस कालमा उसलाई जुवाको पनि केही लत लागिसकेको थियो ।

“यो खेल अर्कै तरीकाले पनि खेल्न सकिन्छ । चाहनुहुन्छ भने सिकाइदिन तयार छु । तुरुपचाल खेल्ने भने पनि लौ ! बन्दचाल खेल्ने भने पनि लौ ! ज्यादै रमाइलो पो हुन्छ त !”-ग्राफले भन्यो ।

पिटर्सबर्गमा खेलिने यो नयाँ ढंगको खेल सबैलाई औधी नै मन पनि पर्यो ग्राफले पनि यस तरीकाले खेल्नेगरेको कुरा मामा चाहिले विश्वास पार्न खोज्यो । यो पनि ‘बोस्टन’ जस्तै हो, तर अब त्यो खेल केही बिर्सिन पुग्यो भनेर उसले बतायो । आन्ना फ्योदोरोभ्नाले भने पटक्कै बुझ्न सकिन, तर टाउको हल्लाउँदै र मुसुमुसु हाँस्दै के भन्नु ठीक ठानी भने उसले सबै राम्रोसँग बुझेकी छे र सबै कुरा उसको लागि स्पष्ट छ । खेलको बीचमा एक्का बादशाह हातमा बाँकी राखेर आन्ना फ्योदोरोभ्नाले “चालबन्द’ भनी र छक्काको चक्की चाली । सबै खित्का छोडेर हाँस्न लागे । उसलाई ज्यादै असजिलो लाग्यो । ऊ बिस्तारै मुस्कुराई र यति छिटो कसैले नयाँ तरीका कसरी सिक्नु सक्छ र भनेर विश्वास पार्न थाली । परन्तु उसले हारीसकेकी थिई र उसको नामअगिल्तिर यो कुरा अंकित पनि गरियो । ऊ धमाधम हार्दै गई । ठूलो दाउ थापेर
खेल्ने त ग्राफको बानी नै थियो र यसपल्ट पनि ऊ ज्यादै सतर्क भएर खेल्दै थियो

एक एक चालको ठीक ठीक हिसाब राख्दैथियो ऊ । टेबुलमुनि गोडाले बारम्बार ठक्कर दिँदै कोरनेटले उसलाई केही सम्झाउने कोसिस गरेको अर्थ पनि ऊ, पटक्कै बुझ्न सकिरहेको थिएन, न त तासको खेलमा उसबाट ठूल्ठूला गल्तीहरू भैरहेको कारण नै ऊ बुझिरहेको थियो ।

लीजाले फलफूलको माडा, तीन थरीका जैमहरू र विशेष किसिमले रसमा डुबाएर सुरक्षित राखिएको एक दाना स्याउ फेरि ल्याई । अनि ऊ आमा चाहिंको कुर्सीपछिल्तिर उभिएर खेल हेर्न लागी । कहिलेकाही ऊ अफिसरहरूतर्फ पनि पल्याकपुलुक हेर्दै थिई – खास गरी ग्राफको गोरो चिटिक्क परेको हात र गुलाफी पालिसदार नङतर्फ उसको नजर पर्ने गर्थ्यो । ग्राफ बडो आत्माविश्वास र अति चतुरतापूर्वक तासका चक्की फाल्दै र हातमा लिंदै ज्यादै मनमोहक ढंगले खेल्दै थियो ।

आन्ना फ्योदोरोभ्ना फेरि एकपल्ट निकै जोसमा आई र दाउ जित्ने प्रयास गर्दै सात चालसम्म सुरिदै खेल्दैरही, तर तीन चाल त गुमिहाल्यो । दाजुले सम्झाएपछि उसले कागजमा आफूले जितेको अंक त लेखी, तर यति हतासिएकी र हड्बडाएकी थिई कि उसले लेखेको कसैले पनि पढ्न सक्तैनथ्यो ।

“धन्ना मान्नुपर्दैन, आमा ! तपाईंकै जीत हुनेछ !”-लीजाले मुस्कुराउँदै भनी ।

उ आमालाई यस्तो अपठ्यारो स्थितिबाट कसै गरी छुट्कारा दिन चाहन्थी । -“तपाईले मामाको तासका चक्कीहरू लिनुभो भने उनीहरू बल्झिहाल्ने छन्‌ !”

“लौ, अलिकति मद्दत गर न, लीजा !”-आन्ना फ्योदोरोभ्नाले छोरीतर्फ हेरेर भनी । -“कुन चाल चाल्नुपर्ने हो, मलाई त थाहै हुन सकेन !..”

“म पनि त यसरी खेल्न जान्दिनँ !”-लीजाले भनी र आमा चाहिले हारिसकी भनेर मनमनै हिसाब गर्न थाली ।-“यसरी खेल्ने हो भने त तपाईं निकै पैसा हार्नुहुनेछ मुमा ! पीमोच्कालाई जम्फर किन्ने समेत पैसा बाँकी रहने छैन है ।”-उसले ठट्टा गर्दै भनी ।

“हो कुरा ठिकै हो ! यसरी खेल्दै रहनुभो भने त कम्तीमा पनि चाँदीका दस रुबल त जरूर हार्नुहुनेछ !”-कोरनेटले लीजातर्फ हेरेर भन्यो । लीजासँग कुराकानी गर्ने उसलाई कुतकुती लागिरहेको थियो ।

“के हामी नोटको भुक्तानी दिने गरी तास फ्योदोरोभ्नाले भनी र सबैतर्फ नजर फिराई ।

“खै, थाहा छैन कसरी ?”-ग्राफले भन्यो ।-“मलाई त नोटको हिसाब नै गर्न

आउँदैन ! यो कसरी ? भनाइको मतलब, यो नोटको हिसाब भनेको के हो ?”

“अचेल त कोही पनि कागजी नोटद्वार खेल्दैन !”-मामा चाहिंले सही थाप्यो । ऊ दाउ जित्दै थियो ।

आन्ना फ्योदोरोभ्नाले फलको रस मगाई र आफैँले पनि दुई गिलास रस टन्न पिई । उसको अनुहार रन्किएर रातै भैसकेको थियो । अब मेरो केही जोर चल्दैन भन्ने भाव उसको अनुहारबाट झल्किरहेको जस्तो लाग्यो । अझ उसको तनेटोपी मुन्तिरबाट फुलेको कपालको एक लर्कन बाहिर निस्किरहेको थियो । तर ऊ त्यो मिलाउनपट्टि पनि लागिन । उसलाई यस्तो लागिरहेको थियो, मानौं लाखौंको रकम हारिरहेकी होस्‌ र उसको टाट पल्टनै आँटेको होस्‌ ! कोरनेट बारम्बार टेबुलमुनि ग्राफलाई गोडाले ठक्कर दिएर इशारा गरिरहेको थियो । बुढिया हार्दै गइरहेकी थिई र ग्राफ चाहिँ त्यसको हिसाब लेख्तै गइरहेको थियो । अन्त्यमा खेल समाप्त भयो । आन्ना फ्योदोरोभ्नाले केही पैसा आफ्नो हिसाबमा जोड्ने कोशिश गरी र हिसाब लेख्ता गल्ती भएको समेत बहाना गरी र आफूलाई हिसाब जोड्न नै आउँदैन भन्ने पनि निहुँ झिकी । आफ्नो नाउँअगिल्तिर आफूले हारेको रकम लेखिएको देख्दा त झस्कि पनि हाली । जे होस्‌, हिसाब जोडियो र उसले नौ सय बीस प्वाइण्ट हारेको पत्ता लाग्यो । “के यो नोटको हिसाबले नौ रुबल भएन र ?”-उसले धेरै पल्ट सोधपूछ गरी । उसको दाजुले उसलाई सारा हिसाब नबुझाएसम्म उसले आफ्नो नोक्सानको अनुमान नै लगाउन सकिन । नोटको हिसाबले पूरै बत्तीस रुबल उसले हारेको कुराउसलाई बताइयो र यो रकम तुरुन्तातुरुन्तै तिरिदिनु राम्रो हुन्छ भनेर पनि दाजुले भन्यो । हिसाब सुनेर त बुढियाको सातोपुत्लो नै उड्यो । ग्राफले चाहिं जितेको पैसाको हिसाब जोड्ने समेत वास्ता गरेन । खेल समाप्त हुनेबित्तिकै ऊ जुरुक्क उठेर झ्यालनेर गैहाल्यो । त्यहाँ लीजा साँझको खाना सजाउँदै थिई र तारेको च्याउँ रिकापीमा हाल्दै थिई । कोरनेट पूरै साँझभरि लीजासँग कुराकानी गर्न छट्पटाइरहेको थियो तर धक मान्दैरहयो । ग्राफ चाहिँ लीजाको नजिकै गएर निर्धक्क भई उससँग मौसमबारे कुरा गर्न थालिहाल्यो ।

त्यतिखेर कोरनेट भने बडो अप्ठेरो अवस्थामा परिरहेको थियो र आफूलाई सान्त्वना दिँदै हँसिलो मनोभावना बनाइराख्न सघाउ पुग्याउने लीजा पनि हिंडिसकेकी थिई । बुढिया रीसले चूर भैसकेकी थिई ।

“तपाईलाई हार्न लगाएर हामीले पैसा जितेकोमा मलाई ठूलो खेद छ !”-पोलोजोभले भन्यो । आखिर उसले केही न केही त भन्नै पर्थ्यो । -“यो त ज्यादै नै नकाम पो हुन गयो ।”

“हो त नि ! तुरुपचाल र बन्दचाल रे ! के के हो के के नयाँ खेल अजमाउनुभो तपाईहरूले ! मलाई के थाहा होस्‌ र ? अँ, नोटको हिसाबले कति पुग्यो नि सबै प्वाइन्ट जोडेर ?”-उसले प्रश्न गरी ।

“बत्तीस रुबल ! ठ्याम्मै साढे बत्तीस रुबल !”-वृद्ध रिसल्ला अफिसरले जवाफ दियो । उसले पनि केही, रकम जितेको थियो र ऊ असाध्यै खुशी पनि थियो ।-“लौ त, बहिनी, ल्याऊ पैसो पनि ! लौ, लौ, झिकिहाल !”

“यसपल्ट त पूरै तिरिदिउँला, तर पछि एक चुनदाम पनि भेट्टाउनुहुने छैन ! यत्तिको पैसा त जीवनभरिमा पनि जित्न गाह्रो पर्ला !”

आन्ना फ्योदोरोभ्नाले फटाफट पाइला सारी र ढल्मलाउँदै कोठाबाट बाहिर निस्की । केही बेरपछि एक एक रुबलका नौ थान नोट लिएर ऊ आइपुगी । तर दाजु चाहि आफ्नो मागमा अड्डी जमाएर बसिरहयो र लाचार भएर बुढियाले सारा रकम चुक्ता गरिदिनै पर्ने भयो पोलोजोभ मनमनै डराइरहेको थियो, किनभने आन्ना फ्योदोरोभ्नासँग कुरा गर्ने हो भने उसको सारा रीस त उसैमाथि पोखिने सम्भावना थियो । उसले चूपचाप त्यहाँबाट टाप कस्यो र त्यही खुला झ्यालनेर पुगिहाल्यो जहाँ ग्राफ र लीजा उभिएर कुरा गरिरहेका थिए ।

खाना सजाइएको टेबुलमा दुइटा मैनबत्ती बालिएका थिए । वसन्तको ताजा र न्यानो बतास सिरसिर चलिरहेको थियो जसले गर्दा दीपशिखा कामिरहेको थियो । बगैँचातर्फ फर्केको खुला झ्यालमा पनि उज्यालो देखिन्थ्यो, तर कोठाभित्रको उज्यालोभन्दा त्यो एकदमै बेग्लै किसिमको थियो । झण्डै पूर्णचन्द्र जस्तै देखिने जूनले त्यतिञ्जेलसम्ममा आफ्नो सुनौला आभा गुमाइसकेको थियो र लाइमका अग्ला अग्ला रुखहरूको टुप्पामाथि तैरिरहेको जस्तो प्रतीत हुन्थ्यो कहिलेकाही स्वच्छ र सेता बादलका टुक्राहरू जूनलाई ढाक्दै उड्ने गर्थे र झलमल चम्किएका देखिन्थे । तल पोखरीमा भ्यागुताहरू ट्यार्र ट्यार्र कराइरहेका थिए । त्यसको सतहमा परेर रुखहरूको पछिल्तिरबाट एक ठाउँ टल्किरहेको देखिन्थ्यो । झ्यालकै मुन्तिर लटरम्म फुलेर मगमग बास्ना आउने हसिनाको झ्याङमा साना साना चराहरू भुर्र भुर्र उडिरहेका थिए र पखेटा फटफटाउँदै थिए । शीतले भिजेका फूलका गुच्छाहरू बिस्तारै बिस्तारै हल्लिरहेका थिए ।

“कस्तो रमाइलो मौसम !”-लीजाको नजिकै गएर झ्यालको ठेलामा बस्दै ग्राफले भन्यो ।-“मलाई लाग्छ, तपाईं त अक्सर घुम्न निस्कनुहुन्छ होला, हैन ?”

“हो, घुम्छु !”-लीजाले जवाफ दिई । किन हो कुन्नि, ग्राफसँग कुरा गर्दा उसलाई कत्ति पनि धक लागिरहेको थिएन । -“घर-व्यवहारको चाँजोपाँजो मिलाउन पनि हरेक बिहान सात बजे बाहिरतिर निस्कन्छु । पीमोच्कालाई लिएर पनि घुम्न जानेगर्छु । पीमोच्कालाई मुमाले पालनपोषण गर्नुहुन्छ !”

“गाउँघरतिर बस्नु रमाइलै हुन्छ !”-एउटा आँखामा चश्मा लगाउँदै कहिले बगैंचातिर त कहिले लीजातर्फ हेर्दै ग्राफले भन्यो ।-“के तपाईं यस्तो जुनेली रातमा डुल्न निस्कनुहुन्न र ?”

“अहँ ! तर तीन वर्षअघि म र मामा जुनेली रातमा हरेकपल्ट घुम्न निस्कने गर्थ्यौ उनमा एउटा अनौठो रोग थियो- राति सुत्नै नसक्ने ! पुर्णेको रातमा त उनी पटक्कै निदाउन सक्तैनथे । उनको यो कोठा सोझै बगैंचातर्फ खोलिएको छ र झ्याल पनि होचो छ । जूनको टक सोझै उनको मुखमा नै पर्छ !”

“अचम्म ! मैले त यो तपाईंको कोठा पो भन्ठानेको त !” ग्राफले भन्यो ।
“म त आजको एक रात मात्रै यस कोठामा सुत्नेछु । मेरो कोठामा त तपाईंहरू पो सुत्नुहुनेछ ।”

“साँच्चै ? … हे भगवान्‌ ! … हामीले त तपाईंलाई दुःख दिएका रहेछौं ! यसको लागि म आफूलाई कहिल्यै पनि क्षमा गर्न सक्तिनँ !” ग्राफले भन्यो र सद्भभावना दर्शाउन आँखाको चश्मा खुकुलो पारिदियो, जसले गर्दा त्यो तल खस्यो । मेरो कारणले गर्रदा तपाईंलाई तक्लीफ हुनेछ भन्ने पहिलेबाटै थाहा हुँदो हो त …”

“के को तकलीफ र ? बरु मलाई त खुसी पो लागेको छ । मामाको कोठा निकै राम्रो छ । झ्याल पनि निकै होचो छ । म त्यही बसिरहनेछु । कथंकदाचित निद्रा परेन भने हाम्फालेर बगैंचामा पुग्नेछु र राति केही बेर घुमफिर गर्नेछु !”

“कति फरासिली केटी !’- ग्राफ सोच्दैथियो । उसको अनुहार बढी राम्रोसँग देखियोस्‌ भनेर उसले फेरि आँखामा चश्मा लगायो र झ्यालमा बस्ने तरखर गरेर आफ्ना गोडाले उसको गोडा छुने कोशिश गर्यो । ‘बाठी पनि कति बाठी नि ! यदि मैले चाहेँ भने उससित झ्यालनेरै भेट गर्न सकिनेछ भनेर कस्तो चलाकीकासाथ उसले मलाई इशारा गरी हँ ।’ लीजाको मन जित्नु त वास्तवमा ज्यादै सजिलो रहेछ भन्ने उसलाई लाग्यो र यसले उसको नजरमा युवतीको आकर्षण समेत निकै कम भएर गयो ।

“आफ्नो प्रियतमसँग यस्तो रमाइलो रात बगैंचामा नै छर्लङ्ग काट्नु क्या मजा हुँदो हो !” – अँध्यारो उद्यानपथतर्फ विचारमग्न नजर दिदै ग्राफले भन्यो ।

यस्तो कुरा सुनेर लीजा निकै लज्जाई । अचानक दोस्रोपल्ट पनि उसको खुट्टामा ग्राफको खुट्टाले स्पर्श गरेको जस्तो उसलाई लाग्यो । लज्जाभाव लुकाउने प्रयास गर्दै कुनै सोचविचार नै नगरेर उसले झटपट भनी : “हो, जुनेली रातमा घुम्नु निकै रमाइलो हुन्छ !” तैपनि उसको संकोच हटेन र उसलाई ज्यादै अप्ठ्यारो लागिरहयो । उसले च्याउको भाँडो बिर्कोले झटपट छोपिदिई र झ्यालबाट हटेर पल्तिर जान पाइला सारी । ठीक त्यसैबेला कोरनेट त्यहाँ पुगेको थियो । यो कस्तो मान्छे रहेछ, हेरिहालौं भन्ने कौतुहल लीजाको मनमा एक्कासि जागेर आयो ।

“कस्तो रमाइलो रात !”- कोरनेटले भन्यो ।

यी मान्छेहरू त मौसमको बाहेक अरु कुनै कुरा पनि गर्दा रहेनछन्‌ !”-लीजाले मनमनै विचार गरी ।

“क्या मजाको दृश्य देखिंदो रहेछ !” – कोरनेटले अगाडि थप्यो । – “हुन सक्छ, तपाईंलाई त यसबाट वाक्कै पनि लागिसक्यो होला !”- जो मान्छे आफूलाई ज्यादै मन पर्थे तिनको सामु जरुर पनि कुनै अप्रिय कुरा गर्ने त कोरनेटको बानी नै थियो ।

“किन र ? के कारणले तपाईं यसो भन्नुहुन्छ ?” – लीजाले जवाफ दिई । “हरेक दिन एकै किसिमको खाना खाँदा वा एउटै लुगा हररोज लगाउँदा त मान्छेलाई वाक्क लाग्नु स्वाभाविकै होला ! तर राम्रो बगैंचा कसरी वाक्क लाग्न सक्छ र ? खास गरी त्यस बेला जब आकाशमा टहटह जून लागेको हुन्छ र जब घुमफिर गर्ने रहर पनि हुन्छ । मामाको कोठाबाट तलाउको दृश्य पूरै देखिन्छ । आज राति म त्यो दृश्य अघाउन्जी हेरुँला !”

“शायद तपाईंहरूकहाँ बुलबुल चरा छैन क्या रे ?”- ग्राफले, सोध्यो । पोलोजोभ यस्तो बेला त्यहाँ आइपुगेकोमा ऊ अलि झर्केको थियो, किनभने उसले लीजासँग भेट्ने समय र ठाउँ निश्चित गर्न पाइसकेको थिएन ।

“हैन, हामीकहाँ जहिले पनि हुन्थे । पोहोर साल शिकारीहरू आए र एउटालाई समातेर लगे । यस साल पनि गएको हप्ता मैले एउटा बुलबुल चरीले गाएको सुनेकी थिएँ । उसको चिर्बिर ज्यादै मीठो थियो । त्यसै बेला कताबाट हो कुन्नि कन्स्टेबल आइपुग्यो । उसको गाडीमा घुँगुरा लगाइएका थिए र त्यसको टिनटिन सुनेर बुलबुल चरी तर्सेर उडीहाली । परार सालको कुरा हो, मामा र म रुखमुनि बसेर घन्टौंसम्म बुलबुल चराको गाना सुन्दैथियौं … ।”

“यो कुरौटे के सुनाउँदै छे नि तपाईंहरूलाई ?” – मामा चाहिले पनि त्यहाँ पुगेर भन्यो । – “हिंड्नोस्‌, केही खानपीन गरिहालौं ।”

ओजनको समयमा ग्राफले परिकारहरूको खुब तारीफ गर्यो र आफ्नो भोकको पनि राम्रो प्रदर्शन गर्यो । आन्ना फ्योदोरोभ्नाको मनोभावना पनि केही ठीक भयो । साँझको खाना खाइसकेपछि दुबै अफिसरहरू बिदाबारी भए र आफ्नो कोठामा फर्के । ग्राफले मामा चाहिसँग हात मिलायो । त्यसपछि आन्ना फ्योदोरोभ्नासँग पनि हात मिलायो र सोझै उसको आँखामा आँखा जुधायो । उसका ओठमा मृदु मुस्कान झल्किरहेको थियो । उसको कटाक्षले गर्रदा लीजा फेरि लज्जित भई ।

‘जिउडाल त नराम्रो छैन !’ लीजाले मनमनै सोची । तर आफूलाई खूब मै हुँ भन्ठान्दो रहेछ ।