भागः चौबिस, अंशः तीन 

उसको अनुहार कुच्चियो र उसले आफूलाई सम्हाल्नलाई बल गर्यो ।

“मेरो बुबाले भन्ने गर्नु हुन्थ्यो कि खराब मान्छेको पनि मन दुखाउनु राम्रो काम हैन । किनभने तिनीहरूले राम्रो नराम्रो जानेको हुन्नन्‌ र नराम्रा मान्छे पनि कहिले काहीँ सुध्रेर असल मान्छे बन्छन्‌ ।’

“तर सधैँभरि होइन, शोहरब ।”

उसले मलाई प्रश्न भरिएका आँखाले हेर्यो ।

‘जो मान्छेले तँलाई चोट पुर्याएको छ, म उसलाई धेरै बर्ष अघिदेखि चिन्दथेँ”, मैले भनेँ । “मलाई लाग्छ त्यो कुरा तैँले ऊ र म बोलेको सुनेपछि नै थाहा पाएको थिइस्‌ होला । उसले ___ उसले म तेरो उमेरको छँदा मलाई घाइते बनाउन खोजेको थियो, तर तेरो बाबुले जोगायो | तेरो बाबु साह्रै बहादुर थियो र जहिले पनि उसले मेरा लागि काँध थापेर मलाई अपातबाट मुक्ति दिलाउँथ्यो । त्यसैले त्यो बदमासले मेरो साटो तेरो बाबुलाई घाइते बनायो । उसले तेरो बाबुलाई साह्रै घिनलाग्दो गरी घाइते बनायो र मैले ___ मैले तेरो बाबुलाई जोगाउन सकिनँ जसरी उसले मलाई जोगाएको थियो ।

“मान्छेले मेरो बुबालाई किन घाइते बनाउन चाहन्थे त ?” मसिनो रून्चे स्वरमा शोहरबले भन्यो । “उहाँले अरूको कुभलो कहिल्यै पनि गर्नु हुन्थेन ।’

“तैले भनेको ठीक हो । तेरो बुबा एउटा असल मान्छे थियो । शोहरब मैले तँलाई भन्न खोजेको कुरा पनि त्यही हो । कुरा के भने यो संसारमा खराब मान्छे धेरै छन्‌ र कहिले काहीँ खराब मान्छे खराबै भएर बस्छन्‌ । कहिलेकाहीँ तैँले तिनीहरूको विरूद्धमा उभिनुपर्छ । तैँले त्यो मान्छेलाई जे गरिस्‌ त्यो काम मैले धेरै बर्ष अघि गरिसक्नु पर्ने थियो । ऊ जे पाउन लायक थियो तैँले त्यो दिएको होर उसलाई त्यतिले मात्रै अझ पुगेको थिएन ।”

“के मेरो बुबा म प्रति निराश हुनुहुन्छ होला जस्तो लाग्छ, तपाईंलाई ?”

“छैन । त्यो मलाई थाहा छ,” मैले भनेँ । “काबुलमा तैंले मेरो ज्यान बचाइस्‌ । म जान्दछु यसका लागि उसले तँमाथि गर्व गरेको छ ।”

उसले सर्टको बाहुलाले आफ्नो अनुहार पुछ्यो । मुखभरिको र्यालको एउटा फोको फुट्यो । फेरि बोल्नु अगाडि उसले दुई हातले मुख छोपेर धेरै बेर रोयो । “मलाई पनि मेरो बा-आमाको अत्यार लागेको छ, उसले रुँदै भन्यो । ‘र मलाई सासा र रहिम खानको पनि न्यास्रो लाग्छ, तर कहिलेकाँही म खुसी हुन्छु, किनकी तिनीहरू
— तिनीहरू अब यहाँ छैनन्‌ ।”

“किन ?” मैले उसको पाखुरामा छोएँ । ऊ पन्छियो ।

“किनभने ___“ घुँक्क घुँक्क गरेर लामो सास तान्दै उसले भन्यो ।

“किनभने म चाहन्छु कि उनीहरूले मलाई नदेखून्‌ -। घिनलाग्ने भएको छु ।’ उसले लामो सास तान्यो र फेरि लामो लेघ्रो तानेर रोयो । “म घिनलाग्दो भएको छु र पापै पापले भरिएको छु ।”

“तँ घिनलाग्दो छैनस्‌ शोहरब,” मैले भनेँ ।
“ती मान्छेले…”
“तँ कत्ति पनि घिनलाग्दो छैनस्‌ ।”
“_ तिनीहरूले त्यो गरे ___ त्यो बदमास मान्छे र अरू दुईजनाले ___ त्यो गरे ___ मलाई त्यो गरे ।“

“तँ घिनलाग्दो पनि छैनस्‌ र पापै पापले भरिएको पनि छैनस्‌ ।” मैले फेरि पनि उसको पाखुरामा छोएँ तर ऊ पर पन्छियो | मैले फेरि हात लम्काएँ र विस्तारै तानेर मेरो छेउमा राखेँ । “मैले तँलाई चोट पुर्याउने छैन,” म सासले बोलें । “म बाचा गर्छु ।’ उसले तर्कनलाई बल गर्यो । अनि जिऊ छोडिदियो । उसले नाइनास्ती गरेन । मैले उसलाई तानेर मेरो छेउमै राखेँ । उसले टाउको मेरो छातीमा टेकायो । प्रत्येक पटक सुँक्क सुँक्क गर्दा उसको त्यो सानो शरीर मेरो अङ्गालोमा हल्लियो ।

एउटै आमाको दूध चुसेको मान्छेहरूको बीचमा एउटा नाता हुन्छ । अहिले जसरी त्यो फुच्चेको पीडाले मेरो सर्ट भिज्यो, मैले देखेँ कि हामी दुई बीचमा पनि एउटा नाताको जरो गडेको थियो । असिफसँग त्यो कोठामा जुन घटना घटेको थियो त्यसले हामी दुईलाई छुट्याउनै नसकिने गरी जोडेको थियो । मलाई रातमा निद्रा पर्न नदिएर मेरो दिमागमा गुन्गुनी कराइरहने त्यो प्रश्न सोध्नलाई म सही समय र उपयुक्त मौकाको खोजी गरिरहेको थिएँ | मैले निर्णय गरेँ कि त्यो समय यही समय थियो, ठीक यति नै बेला अहिले नै जति बेला हामी त्यो भगवानको घरबाट आएको उज्यालोमा बसिरहेका थियौँ ।

तँलाई मसँगै अमेरिका गएर म र मेरी श्रीमतीसँगै बस्न मन छ ?”

उसले उत्तर दिएन । उ मेरो सर्टमा टाँसिएर सुँक्क सुँक्क गर्यो र मैले पनि आरामले त्यो गर्न दिएँ ।

मानिलिऊँ केही पनि सोधिएकै थिएन जस्तो गरी एक हप्तासम्म हामी दुई कसैले पनि मैले उसलाई के सोधेको थिएँ भन्ने कुराको कुनै उल्लेख गरेनौं । अनि एक दिन शोहरब र म एउटा ट्याक्सी क्याब लिएर दमान-ए-कोह भ्यूपोइन्ट गयौं, जसलाई “द होम अफ द माउन्टेन’ पनि भनिन्छ । मारगल्ला हिल्सको बीचमा अवस्थित यो ठाउँबाट दोहोरै रूखहरू भएको सफा एभेन्यू र सेता घरहरू लगायत ईस्लामाबादको बिहंगम दृश्य देख्न सकिन्छ । ड्राइभरले हामीलाई बतायो कि त्यहाँमाथिबाट राष्ट्रपति भवन पनि देख्न सकिन्छ । “पानी परेर मौसम सफा भएको भए तपाईंले यहाँबाट रावलपिन्डी भन्दा पनि पर सम्म देख्न सक्नुहुन्छ,” उसले भन्यो । रियरभ्यू मिररमा मैले देखेँ कि उसले घरि मलाई घरि शोहरबलाई पालैपालो हेर्दै थियो । मैले मेरो आफ्नै अनुहार पनि देखेँ । अनुहार पहिला जस्तो सुनिएको थिएन तर सुक्दै गरेका ती घाउहरूको पंहेलो दाग बसेको थियो ।

हामी त्यो बनभोज खाने ठाउँहरू मध्येको एउटा चाहिँ मा गमको रूखको छायाँमा बेन्चमा बस्यौं । दिन न्यानो थियो किनभने टोपाज जस्तै सफा नीलो आकाशमा छर्लङ्ग घाम लागेको थियो । हाम्रै छेउछाउका बेन्चहरूमा आ-आफ्नो परिवारजनसँग बसेर मान्छेहरू समोसा र पकौडा खाँदै थिए । त्यतै कतै रेडियोमा एउटा पुरानो हिन्दी फिलिमको गीत घन्केको थियो । मलाई लाग्थ्यो त्यो गीत पाकीजा भन्ने एउटा पुरानो फिलीमको थियो | बच्चाहरू जो धेरै जसो शोहरबकै उमेरका थिए, खितिति हाँस्दै, हल्ला खल्ला गर्दै एउटा फुटबलको पछि पछि दौडिरहेका थिए । मलाई कार्तेह शेहको त्यो अनाथालय र जमानको अफिसमा बस्दा मेरो गोडाको बीच बाट खुर्र दौडिएर गएको त्यो मुसाको सम्झना आयो । जुन पारामा मेरा देशवासीले आफ्नै मातृभूमिलाई ध्वस्त पार्दै थिए त्यो सम्झँदा त्यसै त्यसै नसोचेको रिस उठेर मेरो छाती अरट्ठ भयो । “के भो ?” शोहरबले सोध्यो । म बल गरेर हाँसे जस्तो गरेँ र उसलाई भने कि त्यो कुनै काम लाग्ने कुरो थिएन ।

हामीले त्यही होटेलको बाथरूमको एउटा टावेल पिकनिक टेबलमा ओछ्यायौँ र त्यसैमाथि पन्जपार खेल्यौँ । त्यहाँ घामको उल्टो दिशातिर फर्केर घाम ताप्दै त्यो न्यानो ठाउँमा बसेर मलाई आफूनो सौताने भाइको छोरोसँग तास खेल्दा आनन्द आयो | त्यो पुरानो गीत बज्न बन्द भयो र फेरि अर्को, मलाई कुन चाहिँ फिलिमको हो भन्ने थाहा नभएको चाहिँ बज्यो ।

“हेर्नुस्‌ त शोहरबले भन्यो | उसले तासका चक्कीले नै आकाशतिर देखाउँदै थियो । मैले माथितिर हेरेको त त्यो चौडा अनन्त आकाशमा एउटा काकाकुली उडिरहेको देखेँ । ईस्लामाबादमा पनि काकाकुली पाइन्छ भन्ने कुरा त मलाई थाहै थिएन,” मैले भनेँ ।

“मलाई पनि त थिएन नि, चराको त्यो बृत्ताकार उडानलाई आँखाहरूले पछ्याउँदै उसले भन्यो । “तपाईं जहाँ बस्नुहुन्छ त्यहाँ ती चराहरू पाईन्छ त ? सान फ्रान्सिसको मा ? मलाई त पाइन्छ जस्तो लाग्छ । त्यति धेरै संख्यामा देखेको छु त म भन्न सक्दिनँ तैपनि हुन चाहिँ हुन्छ ।

“ए हो र ?“ उसले भन्यो । म चाहन्थेँ कि उसले अझ अरू बढी सोधोस, तर उसले अर्को हातको इसाराले “अब खाने बेला भएन ?” भनेर सोध्यो । मैले पेपर व्याग खोलेँ र उसलाई मिटबल स्यान्डविच दिएँ । लन्चका लागि मैले अझै एक कुरा केरा र सुन्तलाको जुस खान बाँकी नै थियो । हप्ता भरिको लागि मैले फैयाजको ब्लेन्डर भाडामा लिएको थिएँ । मैले पाइप लगाएर चुसेँ र मेरो मुख मीठो फलफूलको रसले भरियो । अलिकति जुस त मेरो ओठको कुनाबाट चुहियो । शोहरबले मलाई एउटा न्यापकिन दियो र मैले ओठ पुछेको हेरि बस्यो | म मुसुक्क हाँसे र ऊ पनि मलाई हेरेर मुसुक्क हाँस्यो ।

“तेरो बुबा र म त दाजुभाइ हौँ ,” मैले भनेँ । अनायास मलाई यो भन्न आयो । म उसलाई त्यस रात हामी त्यो मस्जिदको छेउमा बसेको बेला भएका कुरा बताउन चाहन्थेँ तर, बताएको चाहिँ थिइन । तर उसलाई त्यो जान्ने अधिकार चाहिँ थियो । म अब कुनै पनि कुरा लुकाएर राख्न चाहन्थिनँ । “साँच्चिकै हामी सौताने भाइहरू हौँ । हाम्रो बुबा चाहिँ एउटै हो । ”

शोहरबले चपाउँन बन्द ,गर्यो । स्यान्डविच तल राख्यो | “बुबाले त आफ्नो भाइ थियो भनेर कहिल्यै पनि भन्नुभएन ।“

“त्यो किनभने उसलाई यो कुरा थाहै थिएन ।”

“उहाँलाई त्यो किन थाहा थिएन त ?”

“उसलाई त्यो कसैले भनेकै थिएन,“ मैले भनें । “न त त्यो मलाई पनि कसैले भनेको थियो | त्यो मैले हालै आएर मात्र थाहा पाएको थिएँ ।”

शोहरबले नजर झुकायो | लाग्थ्यो साँच्चिकै उसले पहिलो पटक मलाई हेरिरहेको थियो ।

“तर मान्छेले यो कुरा तपाईं र मेरो बुबाबाट किन गुपचुप राखेको त?”

“तँलाई थाहा छ, हिजो मात्र त्यही प्रश्न मैले आफैँलाई सोधेको थिएँ । त्यसको उत्तर त छ, तर सुन्दा त्यति राम्रो छैन । हामी मात्र यति बुझौं कि तिनीहरूले हामीलाई भनेनन्‌ किनभने तेरो बुबा र म ___ हामी दाजुभाइ हुनुहुँदैन भन्ने थियो ।”

“किनभने उहाँ हजारा, हुनुहुन्थ्यो, त्यही भएर हो ?”

म चाहन्थेँ मैले उसलाई हेरिरहुँ र भनुँ “हो” ।

“के तपाईंको बुबाले, उसले आफ्नो खानेकुरातिर हेर्यो र भन्यो, “के तपाईंको बुबाले तपाईंलाई र मेरो बुबालाई बराबर माया गर्नुहुन्थ्यो ?”

मलाई धेरै पहिले त्यो घाघरा तालमा घटेको एउटा घटना याद आयो । डुङ्गा पानीमा तार्ने खेलमा जब हसनको डुङ्गा मेरोभन्दा पर पुग्यो बाबाले हसनको ढाडमा धाप मारेर स्याबासी दिनुभएको थियो | हसनको ओठबाट पट्टि उप्काउँदा खेरि त्यो हस्पिटलको कोठामा बाबाको अनुहार उज्यालो भएको तस्विर मेरो आँखा अघि उभियो । “मलाई लाग्छ उहाँले हामीलाई बराबर माया गर्नुहुन्थ्यो, तर फरक तरिकाले ।”

“के उहाँलाई मेरो बाबा देख्दा लाज लाग्थ्यो ?”

“लाग्थेन, मैले भनेँ । “मलाई लाग्छ उहाँलाई आफैँसँग लाज लागेको थियो ।’ उसले स्यान्डविच टिप्यो र चुपचाप कुत्रुकुत्रु टोक्न थाल्यो ।

क्रमश…..

 नोटः उपन्यासको यो भाग धेरै लामो भएको हुँदा यस्लाई अंश अंशमा विभाजन गरिएको हो, धन्यवाद ।