१०
त्यो हुस्सार अफिसर ग्राफ म्योदोर तुर्बीनको छोरो हो भन्ने थाहा पाउने बित्तिकै आन्ना फ्योदोरोभ्ना हर्षविभोर भई ।
“धन्य भगवान ! कस्तो सौभाग्य !.. ए, दानिलो ! जा, छिटै गएर भन्- मालिक्नीबाट आफूकहाँ नै बोलावट भएको छ भनेर !”-उसले अह्राई । अनि दगुर्दै गएर लीजाको कोठामा पसी ।-“लीजोच्का ! उस्त्युश्का ! तेरै यही कोठा छिटै तयार पार्नु पर्यो है, लीजा ! आजको एक रात मामाकै कोठामा सुत्नु पर्ला तैँले । अँ, दाजु ! तपाईंले चाहिं बैठक कोठामा सुत्ने तरखर गर्नु ठिक होला !”
“के को अप्ठेरो र बैनी ? म त यहीं तल भुइँमै पनि सुत्न सक्छु ।”
“बाबुको बान्कीकै अनुहार छ भने त त्यो जरुर पनि निकै नै सुन्दर होला ! ओ ! उसको मुख हेर्न पाइने भयो ।…हेर्, लीजा, तँ पनि हेर् ! उसका पिताजी असाध्यै सुन्दर थिए ।…टेबुल कता लग्न खोज्या नि ? यहीं रहोस् !”-आन्ना फ्योदोरोभ्ना हस्याङफस्याङ गर्दै थिई ।-“दुईटा खाट ल्याओ ! एउटा खाट रेखदेखकर्ताकहाँ होला ! त्यो बिल्लौरको पानस पनि ल्याऊ जुन मेरो जन्मदिनको उपलक्ष्यमा दाजुले मलाई उपहार दिबक्स्या थियो । किताब दानमाथि छ त्यो । एउटा मैनबत्ती राखिदेऊ त्यसमा !”
आखिर सबै कुराको चाँजोपाँजो मिलाइयो । आमा चाहिले बेला-बेलामा अह्रोट-पह्रोट गर्दै रहे तापनि लीजाले दुई जना अफिसरहरूको निम्ति आफ्नो कोठा आफ्नै रूचिअनुसार नै सजाएकी थिई । उसले बिछ्यौनामाथि ओछ्याउँन सफा तन्ना पनि ल्याई । त्यसबाट अत्तरको मगमग बास्ना आइरहेको थियो । अनि आफ्नै हातले उसले दुवै पलङ्ग सजाई । पलङ्गको छेउनेर एउटा टेबुलमा पानीको झारी र पानस पनि राख्न लगाई । अनि धूप बेह्रिएको कागज सल्काई र आफ्नो डसना-ससना बोकेर मामाको कोठामा पुर्याई । आन्ना फ्योदोरोभ्नाको मानमा केही शान्ति छायो र ऊ आफ्नो नियमित ठाउँमा गएर बसी । उसले तासको बट्टा पनि झिकी, तर तासका चक्कीहरू फैलाउनतर्फ चाहिं लागिन । आफ्नो मासु लागेको कुहिनो टेकाएर ऊ विचारमग्न भइइहालीः ‘समय बित्न पनि कति बेर लाग्दो रहेछ र ? कति छिटो बित्छ यो समय !’ ऊ गुनगुनाउँदै मनमनै सोचिरहेकी थिई ।-‘धेरै कहाँ भयो र ? अहिले पनि म उसलाई झल्झल्ती देख्दैछु ।…अहो ! कस्तो मनमौजी मान्छे थियो ऊ !”-अनि आन्ना फ्योदोरोभ्नाका आँखा आँसुले रसाए । -‘अब त लीजोच्काको पो पालो हो ।…तर यो त्यस्ती छैन जस्तो म उसको उमेरमा थिएँ ।…हुन त मेरी छोरी नराम्री छैन, तर यो त्यस्ती पटक्कै होइन जस्ती म थिएँ ।…’
“लीजोच्का ! आज त तैंले रेशमी कपडाको नयाँ जम्फर लगाउनु बेस होला !”
“के उनीहरूलाई निम्त्याउन चाहनुहुन्छ र तपाईं, मुमा ? यसको जरुरत नै किन ?”-लीजाले भनी, तर अफिसरहरूलाई भेट्न पाइने विचारले गर्दा एक प्रकारको उत्तेजनाको उ अनुभव गर्दैथिई । “मेरो विचारमा यो अनावश्यक छ, मुमा !”
साँच्चै भन्ने हो भने उनीहरूलाई भेट्न ऊ जति उत्सुक थिई त्यसभन्दा बढ्ता त त्यस उत्तेजनापूर्ण सुखबाट भयभीत थिई जुन उसले पाउनै आँटेकी छे भन्ने ऊ ठानिरहेकी थिई ।
“हुन सक्छ, उनीहरू आफैँ पनि भेटघाट गर्न चाहलान्, लीजोच्का ।”-आन्ना फ्योदोरोभ्नाले छोरीको कपाल मुसार्दै भनी । यसको साथै ऊ सोचि पनि रहेकी थिई; “यसको कपाल पनि त त्यस्तो छैन जस्तो उसको उमेरमा मेरो कपाल थियो ।…ओह, लीजोच्का ! म चाहन्छु कि तिमी…तिमी…’ र उसले वास्तवमा नै आफ्नी छोरीको लागि मनमनै कुनै कुराको कामना गरी । परन्तु तन्नेरी ग्राफसँग लीजाको बिहे हुने कुराको ऊ आशा राख्न सक्तैनथी र स्वर्गीय ग्राफसँग आफ्नो जुन किसिमको सम्बन्ध थियो त्यस्तै सम्बन्धको चाहिँ ऊ कामना गर्न चाहँदैनथी । तर पनि ऊ मनमनै आफ्नी छोरीको लागि कुनै उत्कट कामना गरिरहेकी थिई । सके उसले के आशा राखेकी होली भने आफ्नी छोरीको अन्तरात्मामा पनि ऊ त्यही भावना पुन: जागृत गर्न सक्षम होली जुन कुनै जमानामा स्वर्गीय ग्राफप्रति उसको मनमा उब्जेको थियो ।
ग्राफ आइपुगेपछि रिसल्ला सेनाको बूढो अफिसर पनि अलिअलि उत्तेजित भएको थियो । आफ्नो कोठामा गएर उसले भित्रबाट चुकुल लगायो । पन्द्र मिनेटपछि नै ऊ जंगी वर्दी र नीलो पतलून लगाएर बाहिर निस्कियो । त्यस रिसल्ला अफिसरको स्थिति पनि त्यस्तै नै थियो, जस्तो नाचमा जान भनेर पहिलोपल्ट नृत्य-पोशाक लगाउने युवतीको हुन्छ- केही प्रसन्न र केही लज्जीत मुहार । ऊ त्यस कोठामा दाखिल भयो जुन पाहुनाहरूको लागि तैयार पारिएको थियो ।
“बहिनी, हेरिहालौं ! आजकलका हुस्सारहरू कस्ता हुँदा रहेछन् ? स्वर्गीय हुस्सार त सच्चा हुस्सार हुनुहुन्थ्यो । हेरौं, यी कस्ता छन् ?”
दुवै अफिसरहरू पछिल्तिरको द्वार-मण्डपबाट उनीहरूकै लागि तयार पारिएको कोठामा पुगे ।
हो “मैले त भनेकै हुँ नि ! -ग्राफले भन्यो र धूलो लागेको बूट लगाएको लगायै भर्खरै सजाइएको पलङमा पल्टिहाल्यो ।-“के यो ठाउँ त्यस कटेरोको भन्दा बेस छैन र ? छि; त्यहाँ त साङलाहरूकै बिगबिगी थियो ।”
बेस त बेस छ नाइँ । तर बित्थामा घरवालाहरूको सत्कारको भारा पनि बोकियो !”
“के कुरा गर्छौं ? सबै कुरामा व्यावहारिक हुनुपर्छ मान्छेले । पक्का नै पनि उनीहरू हाम्रो आगमनबाट खुशी भएका होलान् !..ए ! कोही छ यहाँ ?”-उसले जोडले कराएर भन्यो ।-“यस झ्यालमा पनि कुनै पर्दा-सर्दा टाँग्नलाई भनियोस् न ! नत्र त राति हावा चलेर बसिनसक्नु हुनेछ !”
ठीक त्यसै बखत तन्नेरी अफिसरहरूसँग चिनापर्ची गर्न भनेर बूढो भूतपूर्व अफिसर पनि भित्र पस्यो । उसले के पनि नभनेर बस्न सकेन भने उ स्वर्गीय ग्राफको साथी रहेको थियो र आफूप्रति उनको ठूलो मैत्रीभाव पनि रहने गरेको थियो । बेलाबेलामा स्वर्गीय ग्राफले आफूप्रति ठूलो अनुग्रह राख्ने गरेको कुरा पनि उसले बतायो । यस्तो कुरा सुनाउँदा बूढो अफिसरको अनुहारमा हलुका -लाली पनि दौड्ने गर्थ्यो । अनुहारको तात्पर्य सके त्यो एक सय रुबल थियो कि त जुन स्वर्गीय ग्राफले उसलाई फिर्ता गरेका थिएनन् ? वा त्यो घटना त थिएन जतिखेर ग्राफले उसलाई हिउँको रासमा धकेलिदिएका थिए अथवा बेस्मारी गाली गर्दै झाँटेका थिए ? बूढाले यी सबै कुराहरूको चाहिं कुनै व्याख्या गरेन । युवा ग्राफले बूढा रिसल्ला अफिसरप्रति ठूलो सम्मानको भाव दर्शायो र बास बस्ने ठाउँको बन्दोबस्त मिलाइदिएवापत् कृतज्ञता ज्ञापन गर्यो ।
“ग्राफ, माफ गरिबक्सेला ! यो कोठा उतिसारो आरामदायक छैन !” (माथिल्लो ओहोदाका मान्छेहरूसँग कुराकानी गर्ने, उसको बानी छुटिसकेको थियो र यहाँ पनि ग्राफलाई ‘हजूर’ भनेर सम्बोधन गर्नै आँटिसकेको थियो ।) “मेरी बैनीको घर निकै सानो छ । यस झ्यालमा चाहिँ अहिले नै कुनै पर्दा टाँगिदिनुपर्ला, जसले गर्दा हावा भित्र आउने छैन !”-बूढाले भन्यो र पर्दा लिएर आउने बहाना बनाउँदै कोठाबाट बाहिरियो । वास्तविक कुरा त के थियो भने अफिसरहरूको बारेमा छिटै नै घरका अन्य मानिसहरूलाई खबर गरिहाल्न हतारिएको थियो
त्यसपछि हिसी परेकी उस्त्युश्का झ्यालमा पर्दा हाल्न भनेर मालिक्नीको शाल-पछेउरा हातमा लिएर आई । अफिसरहरू चियापान गर्न पनि चाहन्छन् कि भनेर सोध्ने पनि उसले मालिक्नीबाट उर्दी पाएकी थिई ।
कोठा राम्रो थियो, सफा-सुग्घर पनि थियो । ग्राफमाथि पनि यसको असर पर्यो । उसको उदासीनता बिलाएर गैसकेको थियो र उस्त्युश्कासँग ऊ ख्यालठट्टा पनि गर्न लाग्यो । मुसुक्क हाँस्दै कतिसम्म धक नमानेर ऊ कुरा गरिरहेको थियो भने उस्त्युश्का उसलाई नकचरो समेत भन्न पुगेकी थिई । ग्राफले तरुनी मालिक्नीको पनि सोधपुछ गर्यो । जब उस्त्युश्काले चियाको कुरा चलाई, त्यतिखेर उसले खुशीसाथ चियापान गर्न सकिने उत्तर दियो र आफ्नो नोकरले अझै साँझको खाना तयार पारिनसकेको हुँदा छ भने अलिकति भोड्का
केही सितन-सातन र सकिन्छ भने थोरबहुत गुलियो मदिरा पनि चियाको साथै पठाइयोस् भनेर अनुरोध गन्यो ।
लीजाको मामा चाहिँ त युवा ग्राफको बोलीवचनबाटै दङ्ग परिसकेको थियो र ऊ नयाँ पुस्ताका अफिसरहरूको प्रशंसाको पुल बाँध्न लागिहाल्यो । पुराना पुस्ताका मान्छेहरूसँग त यिनीहरूको तुलना नै गर्न मिल्दैन, किनभने नयाँ पुस्ताका मान्छेहरू बढी रवाफिला हुन्छन् भन्ने उसको भनाई थियो ।
आन्ना फ्योदोरोभ्ना चाहिँ यो कुरा मान्न तयार । थिइन । ग्राफ फ्योदर इभानिच भन्दा रवाफिलो अरु कोही हुन सक्दैन भन्ने उसको मत थसयो । कहाँ सम्म भने ऊ एकदमै रिसाइहाली र रुखो स्वरमा भन्न लागी; “तपाईंको त कुरा नै के गर्नु र दाजु ! कसैले अलिकति आफूलाई स्नेहभाव देखायो कि त तपाईं उसको वाह वाह गर्न लागिहाल्नुहुन्छ ! आजकल मानिसहरू बढी बाठा भैसके भन्ने पनि थाहा नभएको हो र ? परन्तु ग्राफ फ्योदोर इभानिचसित दाँजिनु कसको तागत ? उनले जस्तरी एकोसायज-नाच को नाच्न सक्छ ? जो कोही पनि उनीप्रति आकृष्ट नभएर रहन सक्दैनथ्यो । तैपनि मबाहेक अरु कसैतर्फ ध्यान नै दिनेगरेका थिएनन् उनले ! पुरानो पुस्तामा
पनि असल मान्छेहरूको कमी थिएन भन्ने तपाईंले मान्नैपर्छ !”
त्यसै बेला भोड्का, सितन र गुलियो मादिराको फर्माइस पनि आइपुग्यो ।
“देख्नुभो त, दाजु ! जहिले पनि तपाईं यस्तै ढङ्गको काम गर्नुहुन्छ ! खानपीनको बन्दोबस्त मिलाउनुपर्थ्यो नि तपाईंले ?” -आन्ना फ्योदोरोभ्नाले भनी ।-“ए लीजा ! जा, छोरी, तँ नै अह्वाउने-पह्राउने सब काम गर् अब !”
लीजा केही च्याउ र ताजा नौनी लिन भन्डारतिर दगुरी र भान्सेलाई केही भुटुवा तयार पार्न पनि अह्राई ।
“केही गुलियो मदिरा त बाँकी छ, दाजु ?”
“छैन, बहिनी ! गुलियो मदिरा राख्ने गरेकै छैन मैले त !”
“कस्तो कुरा गर्नुहुन्छ हँ तपाईं ? चियासँग पिउने गर्नुभएको के हो नि त्यो ?”
“रम पिउने गर्याछु, आन्ना फ्योदोरोभ्ना !”
“के एउटै कुरा होइन र ? के फरक पर्छ र ? पठाइदिनोस् त्यही रम ! के उनीहरूलाई यतै डाँक्नु मुनासिब नपर्ला र दाजु ? भन्नोस्, के गर्नु ठीक होला ? यहाँ बोलाउँदा उनीहरू रिसाउने त होइनन् कतै ?”
बूढा रिसल्ला अफिसरलाई कुन कुरामा पूरा विश्वास थियो भने ग्राफ ज्यादै उदारहदयी मान्छे हुँदा यतैतिर आउन पनि राजी भैहाल्नेछन् र उनीहरूलाई ऊ जरुर नै डाकेर ल्याउने छ । आन्ना फ्योदोरोभ्ना कुन्नि किन हो आफ्नो “ग्रो-ग्रो” पोशाक र नयाँ तनेटोपी लगाउन गई । लीजा चाहिँ कतिसम्म व्यस्त थिई भने उसलाई लुगा फेर्ने त सम्झना समेत थिएन । उसले हवार्लाङ्गे बाहुला भएको गुलाफी रंगको छीटको जुन जम्फर लगाइराखेकी थिई त्यही नै उसको आङमा थियो । उ असाध्य हड्बडाएकी थिई । कुनै अनौठो कुरा हुँदैछ भन्ने भन्ने उसको मनमा लागिरहेको थियो । कुनै घनाघोर कालो बादलले उसको आत्मालाई छोपिराखेको जस्तो उसलाई अनुभव भइरहेको थियो । यो युवा ग्राफ अर्थात् सुन्दर हुस्सार कुनै ज्यादै नै शानदार मान्छे होला र उसको हरेक कुरा नौलो तथा अबोधगम्य पनि हुनेछ भन्ने ऊ ठानिरहेकी थिई । उसको चालचलन, बानीबेहोरा र कुरा गराई सबै नै लीजाले पहिले कहिल्यै पनि नदेखेको र नसुनेको किसिमबाट एकदमै अनौठा होलान् । जुन कुरा ऊ सोच्छ वा भन्छ त्यो सत्यता र विद्वताले भरिपूर्ण होला । उसको हरेक क्रियाकलापमा छलकपटको गन्ध पनि होवैन । उसको सम्पूर्ण व्यक्तित्व अति नै सुन्दर होला । लीजालाई यस कुरामा रत्तीभर पनि शंका थिएन । ग्राफले अलिकति गुलियो मदिरा र केही खानेकुराको जुन माग गरेको थियो त्यो त के भयो र, यदि उसले अत्तरको पोखरीमा नुहाउने नै माग गरेको भए पनि उसलाई आश्चर्य लाग्ने थिएन । यसको लागि ऊ ग्राफलाई कत्ति पनि दोष दिन्नथी, बरु यो नै उचित र आवश्यक हो भन्ने समेत दृढ निश्चय गर्ने थिई ।
बहिनीको इच्छा बूढा अफिसरले सुनाउ नेबित्तिकै ग्राफले तुरुन्त स्वीकार गरिहाल्यो । उसले झटपट कपाल कोर्यो, बर्दी लगायो र सिगारको बट्टा पनि टिप्यो ।
“हिँड, जाऔं !” उसले पोलोजोभलाई भन्यो ।
“मेरो विचारमा त जानु ठीक नहोला !”-कोरनेटले जवाफ दियो ।
“वाहियात ! यनीहरू त खुसी पो हुनेछन् । घर पट्टिनीकी छोरी त निकै हिसी परेकी राम्री छे भन्ने पनि मैले सुइँको पाइरहेको छु । … हिँड, गैहालौं !” ग्राफले फ्रान्सेली भाषामा नै भन्यो ।
“…. आफूलाई पनि फ्रान्सेली भाषाको ज्ञान छ र तन्नेरी अफिसरहरूले भनेको पनि बुझ्छु भन्ने आसय झल्काउने हेतुले मात्र भूतपूर्व अफिसरले भन्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।