
चौबिस
पहिलेका दिनहरूमा काबुल कस्तो थियो भन्ने झल्को मलाई पेशावर सहरले दिन्थ्यो भने आउँदा दिनमा काबुल पनि कस्तो सहर हुन सक्छ भन्ने कुराको झल्को ईश्लामावादले दिन्थ्यो । ईश्लामाबादका सडक गल्लीहरू पेशावरको भन्दा चौडा र सफा थिए भने दायाँ-बायाँ हिविस्कस र फूलेमका रूखहरू । बजारहरू पनि अलि बढी व्यवस्थित र बटुवा र रिक्साहरूको भीडभाड पनि कम | वास्तुकला पनि अति सुन्दर र आधुनिक र रूखको छायाँमा गुलाब र चमेली लटरम्म फुलेका पार्कहरु देखियो ।
फरिदले मारगल्ला हिल्सको फेदी भएर जाने एउटा साखा गल्लीमा एउटा सानो होटेल फेला पार्यो । ठूला ठूला कंक्रिटको दलिन र गगनचुम्बी बुर्जाहरू भएको संसारमै सबैभन्दा ठूलो भनेर कहलिएको साह फैसल मस्जिद बाटैमा पर्दो रहेछ ! हामी त्यसलाई छोडेर अघि बढ्यौँ । मस्जिद देखेर शोहरबले अचम्मै मान्यो र झ्यालबाट टाउको बाहिर निकालेर फरिदले एउटा मोड नलिउन्जेल हेरीरह्यो ।
फरिद र म बसेको त्यो काबुलको होटेलभन्दा यो होटेल कता हो कता बढी सुविधाजनक थियो । तन्नाहरू सफा थिए भने कार्पेट भ्याकुम क्लीनरले सफा गरिएको थियो र बाथरूम चिटिक्क सफा थियो | बाथरूममा बाथटब, कागतीको बास्ना आउने टावेल, स्याम्पू, साबुन, दाह्री बनाउनलाई रेजर आदि सबै थियो । एउटा अर्को चीज पनि रहेछ | त्यो के भने दुईवटा सिङ्गल बेडको सामुन्ने ड्रेसरमाथि टिभी सेट |
“ए हेर त !” मैले शोहरबलाई भने | रिमोट थिएन | त्यही भएर मैले हातैले टिभी अन गरेँ र डायल घुमाएँ । मैले बाल कार्यक्रम फेला पारेँ जसमा पुक्लुक्क परेको दुईटा भूडा पुतलीले उर्दुमा गीत गाउँदै थिए । शोहरब एउटा बेडमा घुँडा खुम्च्याएर ढुसुक्क बस्यो । ऊ जिल्ल परेर टाउको अघि पछि हल्लाउँदै हेरिरहँदा उसका हरियो आँखाहरूमा टिभीका दृश्यहरू चम्किए । मलाई त्यो समयको सम्झना भयो जतिबेला मैले हसनलाई हामी दुबै ठूलो भएपछि मैले उसको परिवारका लागि एउटा टिभी किनिदिने छु भनेर वाचा गरेको थिएँ ।
“म अब लाग्न पर्छ होला, अमीर अगा,” फरिदले भन्यो |
“आजको रात त बस न,” मैले भनेँ । “बाटो लामो छ | भोलि जाउँला ।
“तासाकोर,” उसले भन्यो ‘तर म आज रातमै फर्किन चाहन्छु । मलाई मेरा बच्चाहरूको अत्यास लागेको छ ।” र कोठाबाट ऊ निक्लँदै गर्दा ढोकामा टक्क अडियो । गुड बाई, शोहरब जान” उसले भन्यो । उसले जवाफ केही आउँछ कि भनेर यसो पर्खियो, तर शोहरबले उसको कुनै वास्ता गरेन । ऊ त टाउको हल्लाएर टिभी हेर्न मै मस्त थियो । टिभी स्क्रीनमा झल्याक झुलुक निस्कने दृश्यहरूको उज्यालोले उसको अनुहार पनि उज्यालो भएको थियो ।
कोठा बाहिरपट्टि मैले फरिदलाई एउटा खाम दिएँ । जब उसले खाम च्यातेर हेर्यो, मुख आँ गरेर ट्वाँ पर्यो । ‘तिमीलाई के भनेर धन्यवाद दिनु मलाई थाहै भएन,“ मैले भनेँ । “तिमीले मेरो लागि यति धेरै गरेका छौ ।’
“यस भित्र कति पैसा छ ?” अलिकति छक्क पर्दै फरिदले भन्यो ।
“दुई हजार डलरभन्दा अलिकति बढी छ ।’
“दुई ह… उसले भन्यो । उसका तल्ला ओठ अलिकति हल्लिँदै थिए । अलि बेर पछि जब उसले कर्बबाट गाडी अघि बढायो, दुई पटक टिँ पारेर बाई बाई गर्यो ! मैले पनि बाई बाई गरेँ । त्यसपछि फेरि मैले उसलाई कहिल्यै देखिनँ ।
म फर्केर होटेलको कोठामा आउँदा शोहरब ठूलो ‘सी’ आकारमा गुडुल्किएर बेडमा पल्टिएको थियो । उसका आँखाहरू त बन्द थिए, तर चिम्लिएको हो वा निदाएको म जान्दैनथेँ । उसले टिभी बन्द गरिसकेको रहेछ । म मेरो बेडमा बसेँ, दुखाइले अरमरिएँ र निधारको चिसो पसिना पुछेँ । बस्दा, उठ्दा, ओछ्यानमा यता उता फर्किँदा अब कति लामो समयसम्म दुखी रहने होला भनेर सोचिरहेँ । म ठोस खानेकुरा खान सक्ने कहिले हुन्छु होला भनेर गमे । मेरो मनको एउटा पाटोलाई त्यो पहिल्यै थाहा थियो तैपनि त्यो बेडमा पल्टिरहेको घाइते सानो फुच्चे केटोलाई अब के गर्ने होला भनेर मनमा तर्कना चल्यो ।
ड्रेसरमा एउटा सिसाको जगमा पानी रहेछ । मैले गिलासमा पानी सारेर दुखाई कम गर्न अरम्यान्डले दिएको दुई चक्की औषधि खाएँ । पानी तातो र टर्रो रहेछ । मैले पर्दा झारेँ, सजिलोसँग ओछ्यानमा बसेँ र पल्टिएँ । मेरो छाती चिरिएर फुट्ला जस्तो लाग्यो । जब दुखाई अलिकति कम भयो र म सास फेर्न सक्ने भए छातीसम्म ब्ल्यांकेट तानेँ र अरम्यान्डको ओखतीले कतिखेर छोला भनेर कुरी बसेँ ।
जब म बिउँझिएँ कोठा अँध्यारो थियो । पर्दाको बीचबाट देखिएको आकाशको सानो टुक्राको गोधुलि रङ अँध्यारो हुँदै थियो । तन्नाहरू भिजेछन् र मेरो टाउको फुट्लाजस्तो भड्किरह्यो । मैले फेरि सपना देख्दै थिएँ, तर के सपना देखेँ सम्झिन सकिनँ ।
शोहरबको ओछ्यान रित्तै देख्दा मेरो मुटु गह्रुङ्गो भयो । म आफै बोलेको आवाजले म तर्सिएँ । भाँचिएको शरीर बोकेर, घरबाट हजारौ माइल पर, होटेलको अँध्यारो कोठामा बसेर दुई चार दिन अघि मात्र भेटेको सानो उसको नामले बोलाउनु पर्दा दिमागले राम्रोसँग सोच्नै सकिरहेको थिएन | मैले फेरि उसलाई बोलाएँ तर क्यै जवाफ आएन | म बल्लबल्ल गरेर ओछ्यानबाट ओर्ले, बाथरूममा हेरें ऊ कोठा बाहिरको त्यो साँगुरो हलवेमा हेरेँ । ऊ कहीँ थिएन ।
मैले ढोका बन्द गरेँ र सहाराका लागि वाकवेको रेलिङ्ग समातेर लडखडाउँदै त्यो लबीमा रहेको म्यानेजरको अफिसमा गएँ । लबीको कुनामा धुलैधुलो टाँसिएको एउटा नक्कली पामको रूख थियो भने वालपेपरमा गुलाबी रङका उडिरहेको फूलेमिङ्गो चराहरू थिए | मैले म्यानेजरलाई चेक ईन काउन्टरको सनमाइका लगाएको टेबलको पछाडि बसेर पत्रिका पढिरहेको फेला पारेँ | मैले उसलाई शोहरबको हुलिया बताएँ र उसले कतै देखेको पो थियो कि भनेर सोधेँ । उसले पत्रिका फ्यात्त तल राख्यो र रिडिङ्ग ग्लास फुकाल्यो । तिलचामल जस्ता उसका जुँगा हिटलरका जस्ता थिए भने कपाल चिल्लो थियो । उसको शरीरबाट कुनै उष्णप्रदेशिय फलफूलको जस्तो हल्का बास आइरहेको थियो, जुन के को हो मैले छुट्याउन सकिनँ ।
“केटाहरू ! तिनीहरूलाई दौडेर वरिपरि चाहर्न मन पर्छ,” सुईअँ गर्दै उसले भन्यो । “मैले तीनजना छोराहरू छन् | दिनभरि तिनीहरू आफूना आमालाई दिक्क कटाएर घरि यता घरि उता दौडिरहन्छन् ।“ मेरो च्यापुलाई ट्वाँ परेर हेर्दै उसले पत्रिकाले अनुहार हम्किरह्यो ।
मलाई त लाग्दैन कि उसले बाहिर कतै चाहर्दै छ,” मैले भने । हामी यही ठाउँको मान्छे पनि होइन । कतै उ हराउने त होइन भनेर मलाई डर पो लाग्याछ ।’
उसले दायाँबायाँ टाउको हल्लाइरह्यो ! “अनि तपाईंले त्यो केटोको अलि ख्याल गर्न पर्दैनथ्यो त, मिस्टर ?”
“त्यो मलाई था छ, मैले भनेँ । “तर म भुसुक्कै निदाएछु र जब म बिउँझैं र थिएन ।’
“ससाना केटाहरूलाई अलि बढी ख्याल राख्नपर्छ, बुझ्नुभो ?”
“बुझेँ मुटुको ढुकढुकीसँगै मैले भनेँ । उसलाई क्यै होला कि भनेर म कति डराउँछु भन्ने कुरा उसले कसरी बिर्सन सकेको होला ? उसले पत्रिका अर्को हातमा सार्यो र फेरि हम्किन थाल्यो । “अब तिनीहरू साइकल चढ्ने रहर गर्छन ।
“कसले ?”
मेरा छोराहरू,” उसले भन्यो । “तिनीहरूले ड्याडी, ड्याडी कृपया हामीलाई साइकल किन्दिनोस् अनि बल्ल हामी तपाईंलाई सताउँदैनौँ भन्दै छन् । कृपया ड्याडी !” ऊ नाक बजाएर छोटो हाँस्यो ।
“साइकल । म तपाईंसँग जे कसम पनि खान सक्छु कि यदि मैले साइकल किनिदिएँ भने तिनीहरूकी आमाले मारेर छाड्ने छिन् ।’
क्रमश……
नोटः उपन्यासको चौबिसौं भाग निकै लामो भएको हुनाले यस भागलाई अंश अंशमा विभाजन गरेर राखेका छौ, धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

