
७
साश्का कमरपेटी बाँधेर भित्र पस्यो र घोडाहरू तैयार भैसकेको खबर गर्यो । अनि ग्राफसँग आफ्नो वर्दी पनि फिर्ता मगाउनुपर्ला भनेर उसले अनुरोध गर्यो । त्यस वर्दीको मोल तीनसय रुबलभन्दा कम त जरुर पनि हुँदैन होला, किनभने त्यसमा कलर समेत भुवादार हालिएको छ भन्ने तर्क झिक्दै त्यो नीलो ओभरकोट चाहिं त्यसै बदमाशलाई फिर्ता गर्नुपर्छ जसले सरदारसाहेबको घरमा ग्राफको वर्दीको बदलामा त्यो सट्टापट्टा गरेको थियो भन्ने निर्णय दियो । वर्दीको खोजीनीती गर्नुपर्ने कुनै जरूरत छैन भन्ने जवाफ दिएर तुर्बीन लुगा फेर्न भनी कोठामा पसे ।
रिसल्ला अफिसर जिप्सिनी ठिटीको बगलमा चुपचाप बसेर बेला बेलामा हिक्का लिँदै थियो । पुलिस-इन्सपेक्टरले चाहिं भोड्काको अर्डर दियो र सबै महानुभावहरूलाई बिहानको खाना आफ्नो घरमा खानको निम्ति निम्त्यायो । “म वचन दिन्छु, मेरी स्वास्नी जिप्सिनीहरूको साथमा जरुर नाच्ली !”- ऊ भन्दै थियो । सुन्दर युवक तन्मयताका साथ इल्यूश्कालाई के सम्झाउने प्रयास गर्दैथियो भने पेनोबाजा ज्यादै नै सजीव बाजा हो र गितारमा चाहिं पञ्चम स्वर बजाउनै सकिदैन । सरकारी अधिकृत एक कुनामा बसेर खिन्न हुँदै चिया खाँदै थियो र दिनको उज्यालोमा आफ्नो दुराचारको विषयमा लज्जित देखिन्थ्यो । जिप्सीहरू आफ्नै भाषामा एक अर्कासँग बाझिरहेका थिए र रईसहरूको सम्मानमा एउटा गीत अरु गाउनुपर्छ भनेर जिद्दी गर्दै थिए, किन्तु स्तेशा चाहिँ ‘बडोराय’ (अर्थात् जिप्सी भाषामा ‘रजौटा’ वा ‘ग्राफ’ अथवा ठीक ठीक अर्थमा “बडा राजा’) रिसाउनेछन् भनेर आपत्ति झिकिरहेकी थिई । कुरा के त भने रसरङ्गको टिलपिलाउँदो झिल्को पनि अब निभ्नै आँटेको थियो ।
“लौ, एउटा बिदाई गीत होस् ! अनि सबै आ-आफ्नो घर जाओ !”- सफरी पोशाक लगाइराखेका ग्राफले कोठामा पदार्पण गर्दै भने । उनी पहिलेभन्दा पनि बढ्ता ताजा, हँसमुख र सुन्दर देखिन्थे ।
जिप्सीहरू अन्तिम गीत गाउन भनेर फेरि घेरा लगाएर बसे । ठीक त्यसै बेला इल्यीन हातमा नोटको एक क्याँट लिएर भित्र पस्यो र ग्राफलाई एकातिर बोलाएर लग्यो ।
“मसँग सरकारी रकम त पन्ध्र हजार रुबल मात्रै थियो । तिमीले मलाई सोह्र हजार तीन सय रुबल दियौ ।” – उसले भन्यो ।- “यो बाँकी रकम त तिम्रै हुनुपर्छ ।”
“ठीक छ ! त्यसो हो भने ल्याऊ !”
इल्यीनले नोटको बीटा दियो । अनि लज्जाएर ग्राफतर्फ पुलुक्क हेर्यो । उसले केही भन्न खोज्दै मुख बाएको मात्र के थियो, ऊ फेरि लाजले रातो भयो । कहाँसम्म भने उसका आँखामा आँसु समेत छचल्कियो । उसको बक नै फुट्न सकेन । उसले ग्राफको हात समातेर जोडले मिच्यो ।
“जाऊ, गैहाल ! अँ, इल्यूश्का ! … सुन् त ! … ला, यो पैसा ले ! तिमीहरूले गीत गाउँदै मलाई शहरबाहिरसम्म पुर्याउनू !”- यति भनेर उनले इल्यीनले दिएको एक हजार तीन सय रूबल जिप्सीको गितारमाथि फालिदिए । तर हिजो मात्रै रिसल्ला अफिसरसँग उनले जुन एकसय रूबल सापटी लिएका थिए त्यो चाहिं फिर्ता गर्ने त उनलाई सम्झना नै भएन ।
बिहानको दश बजिसकेको थियो । घाम पनि घरका धुरीहरूमाथि पुग्न लागिसकेको थियो र सडकहरूमा मानिसहरूको चहल पहल पनि शुरु भैसकेको थियो । व्यापारीहरूले पसल खोलेको त निकै समय बितिसकेको थियो । ठूलाबडाहरू र सरकारी कर्मचारीहरू गाडीमा ओहोरदोहोर गर्दै थिए । महिलाहरू एउटा पसलबाट अर्को पसल चाहार्दै थिए । त्यत्तिकैमा जिप्सीहरूको जमात, पुलिस-इन्सपेक्टर, रिसल्ला अफिसर, सुन्दर युवक, इल्यीन र भालुको छालाको भित्री हालिएको नीलो ओभरकोट लगाइराख्ने ग्राफ होटल बाहिर सिंढीमा देखा परे । टहटह घाम लागिरहेको थियो र हिउँ पग्लँदै थियो । तीनवटा स्लेजगाडीहरू हिलोमा छ्यापछ्याप गर्दै होटलको ढोकैनेर टक्क रोकिए । हरेक गाडीमा तीन-तीन वटा घोडाहरू नारिएका थिए र घोडाको पुच्छर चाहिँ छोटो पारेर बाँधिएको थियो । हँसीठट्टा गर्दै सबै मानिसहरू स्लेजमा सवार भए । ग्राफ , इल्यीन, स्तेश्का, इल्यूश्का र ग्राफको टहलुवा साश्का पहिलो गाडीमा चढे । ग्राफको कुकुर ब्यूलहर चाहिँ असाध्य नै उत्तेजित थियो । त्यो पुच्छर हल्लाउँदै आयो र बीचको मूली घोडालाई लक्ष्य गर्दै भुक्न लाग्यो । जिप्सी र, जिप्सिनीहरूको साथै अन्य भलादमीहरू अरु गाडीहरूमा सवार भए । होटलदेखि नै गाडीहरू लहरै चल्न थाले र जिप्सीहरू मिलेर सहगान गाउन लागे ।
गीतको गुञ्जन । घुँगुराहरूको टिनटिनका साथै स्लेज गाडीहरू पूरै शहर पार गरेर शहरको ढोकासम्म नै पुगे । सडकमा अर्कोतर्फबाट आउने गाडीले चाहि मूलबाटो छोडेर पेटीमा चढ्न समेत बाध्य हुनुपरेको थियो ।
रक्सीको मात लागेर चूर भएका जिप्सीहरू र जिप्सिनीहरूको गाजाबजानासहित कुलघरानाका भद्रभलादमीहरू एकाएक मध्य दिनको झकमक समयमा शहरका सडकहरूमा यसरी त्यहाँ घुमिरहेको देखेर के पसल ढुक्ने व्यापारी र के बाटो हिंड्ने बटुवा सबै अपरिचितहरू र झन जो परिचित थिए ती मानिसहरू त झन् बिलखबन्दमा परिरहेका थिए ।
शहरको ढोकाबाहिर पुगेपछि स्लेजगाडीहरू रोकिए । सबै नै पालैसान्ती ग्राफसँग बिदाबारी हुन लागे ।
इल्यीनले बिदाईको उपलक्ष्यमा अलि बड्ता रक्सी घुट्क्याइसकेको थियो र उसले स्वयं नै लगाम हातमा लिइराखेको थियो । ऊ एक्कासि निदाउरो देखियो र ग्राफसित एक दिन अझ त्यहाँ रोकिनको निम्ति अनुनय-विनय गर्न थाल्यो । यस्तो बिन्तीभाउको कुनै असर नपरेको कुरा बुझेपछि उसले रुँदै आफ्नो नयाँ मित्रलाई अँगालो मारेर चुम्बन लिन लाग्यो र आफ्नो फौजमा फर्किनासाथै आफूलाई तुर्बीनको रिसल्ला फौजको सरुवा गराउने हेतुले निवेदनपत्र हाल्ने प्रतीज्ञा गर्दै किरिया खान लाग्यो । ग्राफ खास गरी निकै मस्त थिए । जो बिहानदेखि नै घनिष्टता जनाउन ग्राफलाई “तिमी” भनेर सम्बोधन गर्दै थियो त्यस रिसल्ला अफिसरलाई उनले सडकको छेउमा थुपारिएको हिउँको रासमा धकेलिदिएका थिए भने पुलिस-इन्सपेक्टरमाथि आफ्नो कुकुर छोडिदिएका थिए । स्तेश्कालाई चाहिं उनले हातमा उठाएर लिए र मास्को लिएर जाने इच्छा जाहेर गरे । आखिर उफ्रेर उनी स्लेजगाडीमा चढे र ब्ल्यूहरलाई आफ्नै बगलमा बसाले, यद्यपि ब्ल्यूहरलाई उभिइरहन नै बढी मन परेको थियो । साश्काले फेरि एकपल्ट रिसल्ला अफिसरसँग ग्राफको वर्दी खोजेर पठाइदिने अनुरोध गर्यो र उफ्रेर कोचवानको आसनमा बस्यो । ग्राफले टोपी फुकालेर | हावामा त्यसलाई हल्लाउँदै भने: “जाउँ है !” अनि कोचवानले जस्तै गरी घोडाहरूलाई सुसेलेर संकेत गरे । तीनघोडे स्लेजगाडीहरूले विभिन्न दिशातर्फ प्रस्थान गरे ।
परसम्म हिमाच्छादित फाँट फैलिएको थियो र एक तमासको उराठ लागिरहेको थियो । त्यसैले बीचमा मैलो धरो झै पहेलो बाटो तन्किरहेको देखिन्थ्यो । पग्लिरहेको हिउँमाथि जमेको कडा बरफको पत्रमाथि घाम टल्किरहेको थियो र पिठ्यूँ तथा मुखमा सुखद न्यानो अनुभव भइरहेको थियो । घोडाहरूको आङ पसीनाले भिजिरहेको थियो र त्यसबाट बाफ उड्न लागिरहेको थियो । स्लेजगाडीको घुँगुराहरू छनछन बज्दै थिए । कुनै एक किसान मालसामान लादिएको स्लेजगाडी हाँक्दैथियो । लगामको काम उसले डोरीबाटै चलाइराखेको थियो । एकाएक उ डोरी तान्न लाग्यो जसले गर्दा ग्राफको स्लेजगाडी बिनारोकटोक अगाडि बढ्न पाउने थियो ।
यसरी छेउ लाग्दा सडकको किनारामा जमेको पानीमा उसको नालुको जुत्ता निथ्रुक्कै भिज्यो । अर्को चाहिँ एउटा स्लेजगाडीमा भेडाको छालाबाट बनेको कोट लगाइराख्ने एउटी मोटी खेतीवाल्नी आफ्नो सानो बालकलाई काखमा लिएर बसिरहेकी थिई र लगामको टुप्पोले घोडालाई बारम्बार धपाउँदै थिई । सेतो रङ्गको घोडा सुस्त-सुस्त जाँदै थियो । ग्राफलाई अचानक आन्ना फ्योदोरोभ्नाको सम्झना भएर आयो ।
“फर्काऊ !”- उनले कराएर भने ।
कोचवानले केही पनि बुझ्न सकेन ।
“गाडी मोड ! शहरतर्फ फर्क ! छिटो गर !”
तीनघोडे स्लेजगाडीले फेरि शहरको ढोका पार गर्यो र बेगसित मैडम जाइत्सेभाको घरको द्वारमण्डपसामु पुग्यो । ग्राफ गाडीबाट उत्रिए, दगुरेर फ्ल्याक ठोकिइको सिंढी चढे र लामो-लामो पाइला सार्दै दलान र बैठक पनि उनले पार गरे । तरूनी बिधवा अझै सुतिरहेकी नै थिई । लम्केर उनले उसलाई अँगाले, पलङ्गबाट उठाए, उसको निद्राले लट्ठ परेका आँखामा चुमे र दौडेर बाहिर निस्किए । आन्ना फ्योदोरोभ्ना त्यस बेलासम्म अझै पूरा ब्यैँझिसकेकी नै थिइन । उसले आफ्नो ओंठ जिव्रोले चाटी र गुनगुनाउँदै सोधी : “के भयो हँ ?”
ग्राफ उफ्रेर स्लेजगाडीमा चढिहाले, अनि गाडी हाँक्न कोचवानलाई अह्राए र रोकिदा पनि नरोकिएर याने लुखनोभ या तरुनी विधवा या स्तेशाको विषयमा कत्ति पनि सोच्दै नसोचेर
सदाको लागि ‘ऊ’ शहरबाट हिंडिहाले । त्यतिखेर त उनी केवल मास्कोको बारेमा र त्यहाँ के हुने हो भन्ने बारेमा मात्र विचार गरिरहेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

