भागः १७
छौ . .।” त्यसैले हामी अर्थात् मेरौ छोरो र म काशारी इलाकातर्फ रवाना भइरहेका छौं ।
जे -होस्, हाम्रो यस सफरको सम्बन्ध त्यस दुर्घटनासित कत्ति पनि छैन । गाईसँग ट्रकले ठक्कर खाएको दुर्घटना नघटेको भए पनि म उर्यूपिन्स्कबाट रवाना भैहाल्थेँ । मनको पीरले गर्दा म एकै ठाउँमा धेरै समयसम्म जमेर बस्न सक्तिनँ । हुन सक्छ, जब मेरो छोरो भान्या हुर्कने छ र उसलाई कतै स्कूलमा भर्ती गर्ने बेला आउने छ, त्यतिखेर म पनि शायद कतै एक ठाउँमा जमेर बसिहाल्छु कि ! तर अहिले भने हामी रूसी धरतीमा पाइला चालिरहेका छौं।
“के बच्चा यसरी हिंड्नु पर्दा थाकेको नहोला र ?” मैले प्रश्न गरेँ।
“आफ्नो गोडाले त उ एकदमै कम हिँड्ने गर्छ। अक्सर त उ ममाथि नै सवारी चलाउँछ ! म उसलाई काँधमा बसालिदिन्छु र बोकेर हिंड्छु । जब उ आफ्नो गोडालाई केही कसरत गराउन चाहन्छ, मेरो काँधबाट तल उत्रिहाल्छ र बोकाको सानो पाठो झैं उफ्री उफ्री सडकको किनारकिनारा आगाडितिर दगुर्छ। यो सबै कुरा त भाइ, केही थिएन । हामी जसरी-तसरी संगसंगै बाटो पार गरिहालौंला !, तर कुरा त के हो भने मेरो भित्री दिलमा कुनै कुराले च्वास्स च्वास्स घोच्ने गर्छ र यस इन्जिनको पिस्टन फेर्नु जरूरी नै हुन गएको छ…। कहिलेकाहीं त यसरी मुटु गाँठो पर्न थाल्छ कि आँखा नै तिर्मिराउन थाल्छ। मलाई के डर लाग्छ भने कतै म सुतेको सुत्यै सास फेर्न समेत नछोडिदिउँ ! यसरी त म मेरो छोरोको सातोपुत्लो नै उडाइदिन सक्छु। फेरि अर्को पनि एउटा अपशकुन छ। झण्डै हरेक रात सपनामा म आफ्नो कलेजाका ती टुक्राहरूलाई देख्न लागेको छु जो यस संसारबाट मरेर गैसकेका छन् । अक्सर कस्तो सपना देख्छु भने म काँढादार तारको बारभित्र परिरहेको हुन्छु । तर उनीहरू चाहिँ पारिपट्टि स्वतन्त्र हुन्छन् । म आफ्नो केटाकेटीहरूसंग कुराकोनी त गर्ने गर्छु, तर जसै यी काँढादार तारलाई हातले पन्छ्याउन खोज्छु, उनीहरू मबाट टाढिंदै जान्छन् र मेरो आँखा अगिल्तिर नै पग्लेर गएको जस्तो लाग्न थाल्छ मलाई… । अर्को एउटा कुरा पनि अनौठो लाग्छ। त्यो के त भने दिउँसो सधैं म आफूलाई काबूमा राख्ने गर्छु । यसैले गर्दा न त आँखा रसाउँछ, न त मुखबाट नै “उहु ! ” भन्ने शब्द उचारण गरिन्छ । तर राति अक्सर म जव ब्युँझन्छु त आफ्नो तकिया नै पूरै आँसुले निथ्रुक्क भिजिरहेको पाउँछु. . . । ”
त्यतिखेरै नदीतर्फबाट पानीमा बहनाले छ्याप्प छ्याप्प गरेको आवाज र मेरा मित्रको आवाज पनि सुनियो ।
त्यो अपरिचित मान्छेले, जो अरब मलाई निकै आत्मीय लाग्न थालिसकेको थियो, बन्दुकको कुन्दा जस्तो अनुभव हुने कठोर हात मतिर पसार्यो ।
“लौ त, बिदा हुन्छु, भाइ। सुखी रहुँ ! ” त्यसले आफ्नो ठाउँबाट उठ्दै मलाई भन्यो ।
“मेरो पनि शुभकामना तिमीलाई ! .. काशारीको यात्रा सुखमय होस् !”
“धन्यवाद ! .. ए छोरा, सुनिस् ?.. आइजा यता डुंगामा चढौं !”
केटो दगुरेर आफ्नो बाबुको दायाँतिर बगलमा आइपुग्यो । बाबुले लगाइराखेको तकुवा ज्याकेटको फेर समातेर उ पनि लामो लामो पाइला सार्दै डुंगातर्फ लम्किरहेको मान्छेलाई आफ्ना साना साना पाइलाले पछ्याउँदै हिँड्यो ।
दुई जना टुहुरिएका मान्छे ! बालुवाका दुई कण ! लडाइँको भयंकर तूफानले उडाएर कुन ठाउमा उनीहरूलाई फ्याँकिदियो .. ? अब उनीहरूको भविष्य कस्तो होला ? मेरो अन्तस्करणमा विचार फूर्यो यो रूसी मान्छे, यो अदम्य ,झच्छा शक्ति भएको मान्छे, सारा यातना सहन समर्थ हुने छ। उसले कहिल्यै पनि हरेस खाने छैन। अनि यो सानो केटो पनि आफ्नो बाबुको स्नेह पाएर हुर्कने छ। उ यस्तो मान्छे बन्ने छ जो मातृभूमिको पुकार सुनेर जस्तै कडा कष्ट पनि झेल्न समर्थ्य हुने छ र आफ्नो बाटोमा आइपर्ने जस्तोसुकै बाधा-अड्चन पनि पन्छ्याउन सफल बन्ने छ।
अगाडि लम्किरहेका बाबुछोरालाई मैले उदास भएर हेरिरहेँ…। सके यो बिछोडको क्षण यतिबिध्न नियास्रोलाग्दो नहुँदो हो, यदि आफ्नो सानो सानो पाइला अगाडि सार्दै हिँडिरहेको भान्याले केही परबाट पछिल्तिर फर्केर मतर्फ नहेरेको भए र आफ्नो मसिनो गुलाफी हात हल्लाउँदै बिदा नमागेको भए। अनि एकाएक एउटा मुलायम तर नंग्रादार पंजाले मेरो मुटु आँठ्याइरहेको जस्तो मलाई लाग्यो र मैले तुरूनत नै आफ्नो मुख अर्कोतिर फर्काएँ। अहँ ! ती अँधबैसे मान्छेहरू, जसको कपालका रौं लडाइँका वर्षहरूमा सेतै फुलिसकेका छन्, राति निदाइरहेको बेलामा मात्रै होइन, दिउँसो हिँडडुल गरिरहँदा समेत, विपनामा पनि रून्छन् । परन्तु यथासमय नै आँखाबाट झर्नै आँटेको आँसु पुछ्न सक्नु नै ठूलो कुरा हो । मुख्य कुरा के हो भने कुनै प्रकारले पनि बालकको चित्त नदुखोस् र उसले लोग्नेमान्छेको गालामा टलपलाइरहेको र टल्किरहेको आँसुको थोपा देख्ने, मौका नै कतै नपाओस् !
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।