साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द काइट रनर, भागः २०

1        बीस

फरिदले मलाई सावधान गाराइसकेको थियो । उसले त्यो गराइसकेको थियो, तर घटना यसरी अघि बढ्यो कि उसले आफनो बोली मात्र बेकारमा खर्च गरेको रहेछ ।

हामी जलालाबाददेखि काबुल जाने त्यही घुमाउरो, उकालो र ओरालो बाटो हुँदै तलतिर झर्दै थियौँ । म अन्तिम पटक त्यो बाटोमा यात्रा गरेको भनेको त्यही अर्को बाटो हुँदै गैरहेको प्लास्टिकको त्रिपालले ढाकेको ट्रकमा चढेर हो | बाबा झन्डै त्यही गीत गाइरहेको निष्ठुरी रूसी सैनिक अधिकारीबाट मारिनुभएको थियो | बाबाले त्यस रात मलाई साह्रै पागल, साह्रै त्रसित र अन्तिममा गौरवान्वित बनाउनुभएको थियो । काबुल र जलालाबाद बीचको आङ सिरिङ हुने अग्लो पास बाट चट्टानी प्रहराहरूको छेउबाट नागबेली घुम्तिहरू पार गर्दै तल झर्नु पर्ने, हड्डी पनि गलाउने खालको कठिन यात्रा दुईबटा युद्ध पश्चात पनि अहिले यथावत नै थियो । जलेर ध्वस्त भएका शोभियत ट्याँकहरू, खियाले खाँदैगरेका उत्तानो परेका मिलीटरी ट्रकहरू, पहराबाट गुल्टेर कच्याककुचुक परेका रसियन जिपहरू जस्ता त्यो त्रासदीपूर्ण युद्धको याद दिलाउने अवशेषहरू बाटोभरि नै दायौँ वायौँ छरिएर बसेका थिए | दोस्रो चाहिँ युद्ध त मैले मेरो टिभीको स्क्रीनमा हेरेको थिएँ र म अहिले त्यो फरिदका आँखाहरूको साहारामा देखिरहेको थिएँ ।

बाटोको बीच बीचमा भत्केर बनेका खाल्टाहरू छल्नलाई सजिलै दायाँ र बायाँ ट्रक दौडाइरहेको फरिद आफ्नै तालमा मस्त थियो । हाम्रो एक रातको वाहिदको घरको बसाइँपछि र धेरै फरासिलो भएको थियो | उसले मलाई प्यासेन्जर सिटमा बस्न लगायो र बोल्दा मलाई हेर्थ्यो । एक दुईपटक मुसुक्क हाँस्थ्यो पनि । डुँडे औँलाहरू भएको हातले स्ट्रीङ्ग सम्हाल्दै उसले मलाई सडक छेउका माटोले बनेका छाप्राहरू देखायो जहाँका मान्छेलाई धेरै बर्ष अघि उसले चिनेको रहेछ । उसको अनुसार धेरै जसो ती मान्छेहरू अहिले या त मरिसकेका रहेछन्‌ या त पाकिस्तानमा शरणार्थी शिविरमा रहेछन्‌ ।” र कहिले काहीँ त मरेर जाने भाग्यमानी हुन्छन्‌, उसले भन्यो ।

उसले डडेर कालैकालो भएको एउटा सानो गाउँको भग्नावशेष देखायो । यो अहिले मात्र छानो नभएको कालो भुल्का भुल्की देखिने भत्केका पर्खालको थुप्रो थियो । मैले एउटा पर्खालको छेउमा एउटा कुकुर सुतिरहेको देखेँ । एक ताका त्यहाँ मेरो एउटा साथी थियो,“ फरिदले भन्यो । र बडो सिपालु साइकलको मिस्त्रि थियो । उसले तबला पनि राम्रो बजाउँथ्यो ।

हामी त्यो डढेको गाउँ पछि छोडेर अघि बढ्यौँ, तर त्यो कुकुर हलचल पनि गरेन ।

पुराना ती दिनहरूमा गाडीमा जलालाबाददेखि काबुलसम्म दुई घन्टाभन्दा सायद अलिकति बढी लाग्थ्यो । फरिदलाई र मलाई काबुल पुग्न चार घन्टा पनि बढी लाग्यो । र, जब हामी जाँदै थियौँ -__ महिपार ड्यामपछि छोडेर अघि बढेको ठीक पछि फरिदले मलाई सावधान गरायो ।

“काबुल तपाईंले सम्झे जस्तो छैन,” उसले भन्यो ।
“म पनि त्यस्तै सुन्छु ।”

फरिदले मलाई यसरी हेर्यो मानौं त्यस हेराइले भन्दै थियो, सुन्नु भनेको आफ्नै आँखाले देखे सरह होइन ।” र उसले भनेको कुरा ठीकै थियो । किनभने जब काबुल हाम्रो आँखा अघि देखापपर्यो म पूरै आश्वस्त भएको थिएँ कि काबुलको बारेमा उसले भनेको कुरा कहीँ कतै मिलेको थिएन । काबुल जाने आउने गरेको मान्छे बाटोमा देखेर म तिनछक्क परेको थिएँ भन्ने कुरा उसले मेरो मेरो अनुहारमा पक्कै देखेको हुनुपर्थ्यो । ऊ मेरो अनुहारको त्यो भावसँग परिचित थियो होला जुन भाव लामो अन्तरालमा काबुल देखेको मान्छेको अनुहारमा झल्किन्छ ।

उसले मेरो कुममा थपथपायो | “पुन स्वागत छ,” उदाश मुद्रामा उसले भन्यो ।

घर भत्केका भग्नावशेष र मगन्तेहरू । जतातिर हेरे पनि त्यही देखिन्थ्यो । मलाई ती पुराना दिनहरूका मगन्तेहरूको सम्झना आयो | बाबाले सधैँ तिनीहरूकै लागि भनेर बगलीमा मुठी अफगानी पैसा लिएरै हिँड्नुहुन्थ्यो । बाबाले ती अबैध लागु औषध बेच्नेलाई नाई नास्ती गरेको मैले कहिल्यै पनि देखेको थिइन । अहिले तिनीहरू भाङ्ग्रो ओढेर प्रत्येक गल्लीको चोक चोकमा बसेर एउटा सिक्का माग्न मैला हातहरू फैलाउँदै थिए र अहिले धेरै जसो भिखारीहरू निन्याउरो अनुहार लिएका, ख्याउटे केटाकेटीहरू थिए | केही त पाँच ५ बर्षभन्दा बढीका थिएनन्‌ । तिनीहरू नालीको छेउछाउ र व्यस्त गल्लीका चोकहरूमा बुर्का लगाएका आमाहरूको काखमा बसेर “बक्सिस”, “बक्सिस’ भन्दै चिच्च्याउँदै थिए र अर्को एउटा कुरा पनि जुन मैले त्यति बेला तुरून्तै ख्याल गरेको थिइन : त्यो के भने मुस्किलले कुनै एउटा बच्चा वयस्क पुरूषको काखमा बसेको थियो । युद्धले गर्दा आफगानि वस्तु बनिसकेका थिए ।

हामी पश्चिमतिर सोझिँदै कार्तेह-सेह जिल्लातिर जाँदै थियौ । मलाई सम्झना भो कि जादेह मेवान्ड (Jadeh Maywand) सत्तरीको दशकतिर एउटा मुख्य हाटकजार थियो । दक्षिण पट्टिका पहाडहरूमा पुरानो सहरको भत्केको पर्खाल उभिएको थियो | हामीभन्दा ठीक उत्तरपट्टि सुख्खा नदी थियो । यसको ठीक पूर्वपट्टि शिरदारवाजा हिम श्रृङ्खलामा महान्‌ योद्धा दोस्तमले सन १९९२ मा विजय गरेको एउटा प्राचीन गढी थियो जसलाई बाला हिसार फोर्ट भनिन्थ्यो । यो त्यही पहाडहरू हुन जहाँबाट मुजाहिद्दिनका लडाकुहरूले सन् १९९२ देखि १९९६ सम्म लगातार भारी
रकेट बर्षा गराएर धेरै क्षति पुर्याएका थिए जुन म अहिले प्रतक्ष देखिरहेको थिएँ ।

शिरदारवाजा पहाडको श्रृङ्खला धेरै परसम्म पश्चिमतिर तन्किएको छ | म सम्झन्छु तोपेह चास्हत (Topeha Chasta) मतलब ‘मध्यान्हको तोप” तिनै पहाडहरूबाट पड्काइन्थ्यो । मध्यान्ह भएको जनाउन यो प्रत्येक दिन दिउसो पड्किन्थ्यो र रमादानको महिनामा घाम झुल्केपछिको उपवासको अन्त्य भएको जनाउ दिन पनि पड्किन्थ्यो । त्यति बेला तोप पङ्केको थर्कोले पुरै सहर हल्लाउँथ्यो ।

“म बच्चा छँदा यहाँ जादेह मेवान्डमा आउने गर्थें,“ मैले सुस्तरी भनेँ । “त्यहाँ पसल र होटेलहरू हुने गर्थे । नियन बत्तीले झलमल्ल रेष्टुरेन्टहरू | मैले साइफो नाम गरेको बूढोसँग चङ्गाहरू किन्ने गर्थे । त्यो पुरानो पुलिस हेडक्वाटरको छेउमा उसले एउटा सानो चङ्गाको पसल चलाउँथ्यो ।’

“त्यो पुलिस हेडक्वार्टर त अझसम्म त्यहीँ छ,” फरिदले भन्यो | “सहरमा पुलिसको कुनै कमी छैन तर तपाईंले जादेह मेवान्ड वा अन्त कतै पनि यो काबुल सहरमा चङ्गा वा चङ्गा पसल देख्नु हुन्न । ती दिनहरू गए ।’

जादेह मेवान्ड ठूलो बालुवाको गढी भएको रहेछ | रकेटको बर्षाले भित्तो र छानाहरू प्वालैप्वाल पारेका, तर लडी नसकेका घरहरू मुस्किलले उभिएका थिए | पुरै ब्ल्कहरू नै माटो, ढुङ्गा, इँटाको थुप्रोमा परिणत हुने गरी ध्वस्त पारिएको रहेछ । मैले एउटा थुप्रोको कुनापट्टि गोलीले छेडेर प्वालैप्वाल पारेको माटोको थुप्रोमा आधा गडेका साइनवोर्ड देखेँ । यसमा ‘ड्रिङ्क कोका को___” लखेको थियो | मैले कटाकेटीहरू बिनाझ्यालको भत्केको घरको दाह्रे इँटा र ढुङ्गाको थुप्रोमाथि खेलिरहेको देखेँ । साइकल यात्रीहरू र खच्चरले तान्ने गाडाहरू, बच्चाहरू, भुस्याहा कुकुरहरू र ढुङ्गा माटोको थुप्रो छेउ हुँदै सुइँकिएका थिए । शहरमाथि आकाशमा धूलो तैरिएर धमिलो भएको थियो भने नदी पारिपट्टि एउटा मात्र धुवाँको मुस्लो आकाशतिर सोझिँदै थियो ।

“ती रूखहरू कता गए त ?” मैले भनेँ ।

“जाडोको समयमा मान्छेले दाउराको लागि रूख काट्छन्‌ ,“ फरिदले भन्यो । “शोरावीले पनि थुप्रै रूखहरू काटे ।”
“किन ?”
“लुकेर गोली हान्नेहरू रूखमा आड लागेर लुकेर गोली हान्ने गर्थे ।”

मलाई फेरि दुःखको तरङले छोप्यो । मेरो काबुल फर्काइ एउटा पुरानो बिर्सिसकेको साथीसँग जम्का भेट हुन आएजस्तो , उसको जीवन कष्टकर बितेको रहेछ भनेर देख्न आएजस्तो रहेछ भनेर र ऊ घरवार बिहीन, साह्रै गरिब भएको रहेछ भनेर त्यो देख्न आएजस्तो भएको थियो ।

“मेरो बुबाले यहाँबाट दक्षिणतिर पर्ने त्यो शार-ए-कोहना भन्ने पूरानो सहरमा एउटा अनाथालय बनाउनु भएको थियो,“ मैले भनेँ ।
मलाई त्यो सम्झना छ, फरिदले भन्यो । त्यो केही बर्ष अगाडि ध्वस्त पारिएको थियो ।”

“के तिमी गाडी रोक्न सक्छौ ?’ मैले भनेँ ।”म यहाँ छिटोछिटो एकैछिन हिँड्न चाहन्छु ।”

फरिदले गाडीलाई विस्तारै नियन्त्रणमा लियो र मान्छे नबस्ने, ढोकै नभएको एउटा थोत्रो भवनको पछाडिको सानो बाटो छेउमा पार्क गर्यो । ‘त्यो पैले एउटा फार्मेसी थियो,” हामी ट्रकबाट निस्कँदै गर्दा मसिनो स्वरमा फरिद बोल्यो । हामी हिँडेर जादेह मेवान्डको पछाडि गयौँ, दाहिने घुम्यौँ र पश्चिमतिर सोझियौँ । ‘त्यो के को गन्ध हो हँ ?” मैले भनेँ । केही चीजले पोलेर मेरो आँखामा पानी आउँदै थियो ।

“डिजेल” फरिदले उत्तर दियो । “सहरका सबै जेनरेटरहरू सधैँ बिग्रन्छन्‌, त्यसैले बिजुलीको भर छैन र मान्छेले डिजेलको प्रयोग गर्छन्‌ ।”
“डिजेल । ती पुराना दिनहरूमा यो गल्लीमा केको वास्ना आउँथ्यो याद छ ?”
फरिद मुस्कुरायो । “काबोब ।’
“ल्याम्ब काबोब,” मैले भनेँ ।
“ल्याक्ब, र्याल काड्दै फरिदले भन्यो । “आजभोलि त काबुलमा ल्याम्ब खान सक्ने मान्छे भनेका तालिबान हुन्‌ ।’

उसले मेरो सर्टको बाहुलामा समातेर तान्यो । “जसको बारेमा कुरा गर्दा…………….. ।”

एउटा गाडी हामी नजिक आउँदै थियो । “दाडिवालाको गस्ती,” फरिद फुस्फुसायो ।

मैले तालिवानलाई देखेको त्यो पहिलो पटक थियो । मैले तालिवानलाई टिभीमा, ईन्टरनेटमा, पत्रिकाको बाहिरी खोलमा र पत्रिकामा देखेको थिएँ, तर अहिले यहाँ म तिनीहरूबाट पचास फुटभन्दा पनि कम दूरीमा थिएँ र म आफैँलाई भन्दै थिए कि अचानक मेरो मुखमा आइरहेको स्वाद विशुद्ध नाङ्गो डरको स्वाद चाहिँ थिएन । मैले आफैँलाई भन्दै थिए कि आङ्ग डरले सिरिङ भएको थिएन र मुटुको धड्कन बढेको थिएन । यहाँ तिनीहरू आइपुगे | बडो गर्वका साथ ।

त्यो रातो टोयोटा पिक-अप-भ्यान हामीलाई पछि छोड्दै अघि बढ्यो । क्याबमा हेर्दै डरलाग्दो अनुहार भएका केही युवाहरू काँधमा क्लास्निकोभ (Klashnikovs) झुन्डाएर टुसुक्क बसेका थिए | तिनीहरू सबैको लामो दाह्री थियो र कालो फेटा । तिनीहरू मध्ये एकजना बीस बर्ष, झ्याप्प घुम्रेको आँखीभौँ भएको कालो रङको मान्छेले एकनासले कोर्रा हल्लाउँदै ट्रकको साइडमा साँठ्याउँदै थियो । उसको शंकालु नजर म माथि पर्यो । एकछिनसम्म मेरो आँखामा परिरह्यो । मेरो जीवनमा आजसम्म यसरी सर्बाङ्ग नाङ्गो मैले कहिल्यै अनुभव गरेको थिइन । अनि त्यो तालिबानले सुर्तिको रस प्याच्च थुक्यो र परतिर हेर्यो । मलाई बल्ल बाँचे जस्तो भयो । पछाडि धुलोको लामो लहरो छोड्दै ट्रक जादेह मेवान्डबाट तलतिर झर्यो ।

“के भयो तपाईंलाई ?” फरिदले साउती गर्यो ।
“के ?”

“तिनीहरूलाई बिर्सेर पनि त्यसरी क्वारक्वार्ती नहेर्नू ! मैले भनेको बुझ्नुभयो ? कहित्यै पनि त्यसो नगर्नू !

मैले चाहेर त्यसो गरेको त होइन,“ मैले भनेँ ।

“तपाईंको साथीले भनेको ठीक हो, अगा । तपाईले त्यसो गर्नुभयो भने टोक्ने कुकुरलाई लौरोले घोचेँ सरह हुन सक्छ ।” एकजनाले भन्यो । त्यो नयाँ स्वर एउटा गोलीले छियाछिया पारेको भवनको अगाडि खुड्किलामा नाङ्गै खुट्टामा माग्न बसेको मगन्तेको थियो । उसले कामै नलाग्ने गरी धुजा-धुजा भएको चपान र सात पत्र मयल परेको फेटा गुथेको थियो । रित्तो सकेटमाथि देब्रे आँखाको ढकनीले लत्रक्क ढाकेको थियो । आर्थराइटिसले थरथरी कामेको हातले उसले त्यो रातो ट्रक गएको दिशातिर देखायो ।

‘तिनीहरू हेर्दै – चियो गर्दै सहर वरिपरि घुमिरहन्छन्‌ । कसै न कसैले त पक्कै पनि रिस उठाउला भन्ने आशामा हेर्दै हिँड्छन्‌ । ढिलो चाँडो प्राय जसो कुनै न कुनै त्यसो गर्ने बाध्य हुन्छ । कुकुरहरू सिकारमा रमाउँछन्‌ र बल्ल अन्तिममा दिनभरिको दिकदारीको अन्त्य हुन्छ र एकै स्वरमा सबैले भन्छन्‌ “अल्लाह-छ-अकबर र ती दिनहरूमा जब तिनीहरूलाई कसैले रिस उठाइदिँदैन, अँ त्यसो त कताकति हिँसा त भइरहन्छ हुन्न त ?”

“जब, तालिबहरू नजिकै हुन्छन्‌, सीधा होइन, आफूनो गोडातिर हेर्नुहोला,” फरिदले भन्यो ।

“तपाईंको साथीले दिएको राम्रो सल्लाह हो,” त्यो बूढो भिखारीले बीचैमा थप्यो । उसले खकार खोक्यो र मैलो रूमालमा थुक्यो । “मलाई माफ गर्नुहोला, तर अलिकति अफगानी दया गर्न सक्नुहुन्छ कि ?” एकै सासमा भन्यो |

“भयो अब | अब जाऔँ,“ मलाई पाखुरा समातेर तान्दै फरिदले भन्यो ।

मैले त्यो बूढोलाई एकलाख अफगानी थमाइदिएँ जुन लगभग तीन डलर बराबर हुन्थ्यो । जब ऊ पैसा हात थाप्न अगाडि ढल्कियो, उसको शरीरबाट फाटेको दूध र हप्तौ नधोएका गोडाहरू जस्तै यस्तो नराम्रो ह्वास्स गनायो, कि मेरो आन्द्रा भुँडी नै मास्तिर फर्केला जस्तो भयो । एउटा आँखाले घरि यता घरि उता हेर्दै उसले हतार हतार त्यो पैसा कम्मरमा घुसार्यो । “दया गर्नुभएकोमा मुरीमुरी धन्यवाद, अगा साहेब ।”

“कार्तेह – सेहमा त्यो अनाथालय कतापट्टि छ तिमीलाई थाहा छ ?’ मैले भनेँ ।
“त्यो पत्ता लगाउन सजिलो छ | त्यो दारूलामान बुलभामर्डको ठीक पश्चिमतिर छ,” उसले भन्यो । “यो पुरानो अनाथालयमा रकेटहरू खस्न जोगाएर त्यहाँबाट कार्तेह-सेह सारियो । त्यो काम भनेको कसैलाई सिंहको खोरबाट जोगाएर बाघको खोरमा फ्याँक्नु जस्तै हो ।”

“धन्यवाद अगा,” मैले भनेँ । म जानलाई एकातिर फर्किएँ ।
“त्यो तपाईको पहिलोपटक थियो, होइन त ?”
“मैले कुरो बुझिनँ ।’

“तपाईंले तालिबलाई देखेको पहिलो पाली हो है?”

मैले केही पनि जवाफ दिइनँ | बूढो मगन्ते मुसुक्क हाँसेर टाउको तल माथि हल्लायो । दुईचारवटा बाँकी बँचेका पहेँला छड्के दाँत देखायो ।

“पहिलो पटक काबुलमा तिनीहरूलाई घुम्दै गरेको देखेको म सम्झन्छु । त्यो दिन कति खुसीको दिन थियो ।” उसले भन्यो | “हत्याको अन्त्य ! वाह वाह ! ‘कति विशुद्ध देखिन्थ्यो प्रेम र अनि आयो समस्या’ भनेर त्यो कविले भनेजस्तै भयो !”

मेरो अनुहारमा खुसीको मुस्कान अँकुरायो । “मलाई त्यो गजल आउँछ | त्यो हाफेजको गजल हो ।”

‘हो ठीक हो । साँच्चै ,’ बूढोले भन्यो । “मलाई पनि त्यो पक्कै आउन पर्छ । मैले त्यो विश्वविद्यालयमा पढाउने गर्थे ।”

“ए हो र ?”

बूढाले खोक्यो | “१९५८ देखि १९९६ सम्म | मैले हाफेज, रूमि, खैय्याम, बेइदेल, जामी, सादी पढाएँ । एक पटक त म तेहरानमा अतिथी लेक्चरर पनि भएको थिएँ । त्यो १९७१ ताका हो | मैले रहस्यवादी बेइदेलको बारेमा एउटा लेक्चर दिएको थिएँ । सबै जना उभिएर ताली पड्काएको म सम्झन्छु | “आह !” उसले टाउको हल्लायो | ‘तर ती ट्रकमा चढेका ठिटाहरूलाई तपाईंले देख्नुभयो हैन त ? तपाईंको विचारमा तिनीहरूलाई सुफिजमको के महत्त्व छ त ?

“मेरी आमाले विश्वविद्यालयमा अध्यापन गर्नुहुन्थ्यो ।’ मैले भनेँ ।

“उहाँको नाम के थियो ?”

“सोफिया अकामी ।”

जलबिन्दुको पर्दामा छोपिएको उसको एउटा आँखा पनि जसोतसो चम्किलो भयो । “मरूभूमिको झार बाँचिरहन्छ तर बर्षामा फूल फुल्छ र ओइलाउँछ ।’ यस्तो सौन्दर्य, यस्तो गरिमा र यस्तो वियोगान्त ।”

“तपाईंले मेरी आमालाई चिन्नुभएको थियो ?” बूढोको अगाडि निउरिएर मैले सोधेँ ।

“हो त,” बूढो भिखारीले भन्यो । “हामी क्लास सकिएपछि सँगै बस्थ्यौँ र कुरा गर्थ्यौं । मैले उहाँलाई अन्तिम पटक देखेको अन्तिम परीक्षाभन्दा ठीक अगाडि एउटा पानी परेको दिनमा हो जति बेला हामी एउटा गजबको मीठो बदाम केकको टुका आपसमा बाँडेर खाँदै थियौं । बदाम केकसँगै तातो चिया र मह । त्यति बेला उहाँ प्रस्टै देखिने गरी दुईजीउकी भइसक्नुभएको थियो र झन्‌ राम्री देखिनुभएको थियो । त्यो दिन उहाँले मलाई के भन्नुभएको थियो मैले कहिल्यै बिर्सने छैन ।”

“के भन्नुभएको थियो ? कृपया मलाई बताउनुस्‌ त ।” बाबाले सधैँ आमाको बारेमा मलाई बताउँदा बढाइचढाइ गरेर भन्नुहुन्थ्यो । जस्तो कि “उनी एक महान्‌ । महिला थिइन्‌” आदि, तर म उहाँको बारेमा विस्तृत वर्णन जान्नलाई व्याकुल थिएँ |

घाममा उहाँको कपाल कसरी टल्कन्थ्यो ? उहाँलाई सबैभन्दा मनपर्ने आइसक्रिमको स्वाद कुन हो ? उहाँलाई गुनगुनाउन मनपर्ने गीत कुन थियो ? के उहाँले नङ्ग टोक्ने गर्नु हुन्थ्यो ? आदि | बाबाले आमासँगका आफ्ना सम्झनाहरू आफैसँग चिहानमा लिएर जानुभयो । सायद बाबालाई उहाँको नाम लिँदाखेरि आफूले गरेको गल्तीको झल्को आउँदो हो । त्यो गल्ती जुन बाबाले उहाँ स्वर्गे हुने वित्तिकै गर्नुभएको थियो वा जे गुमाउनुभएको थियो त्यो यति ठूलो थियो, पीडा यति गहिरो थियो कि आमाको बारेमा बोल्दा बाबालाई असह्य हुन्थ्यो । सायद दुबै हुन्थ्यो |

उहाँ भन्नुहुन्थ्यो “मलाई त एकदम डर लागिराख्या छ ।’ र, मैले भनेँ “किन ?’ र फेरि उहाँले भन्नुभयो, “किनभने म असाध्य धेरै खुसी छु, डा. रसुल | यस्तो खालको खुसी डरलाग्दो हुन्छ ।” मैले उहाँलाई किन भनेर सोधेँ र उहाँले भन्नुभयो, भभगवानूले तपाईंलाई यति खुसी हुन त्यतिबेला दिन्छन्‌ जति बेला उनले तपाईंबाट केही कुरा छिनेर लैजाने तैयारी गरिरहेका हुन्छन्‌’ र मैले भनेँ, ‘बढी भो अब चुप लाग्नु । यो पागलपन अति भो !’

फरिदले मेरो पाखुरामा समात्यो । “हामी जानुपर्छ, अमीर अगा,“ उसले मधुरो स्वरमा भन्यो । मैले झड्कारेर मेरो हात फुत्काएँ ।

अरू केके रे ? उहाँले अरू के के भन्नुभाथ्यो ?”

बूढोको मन पग्लियो । “तपाईंका लागि मैले उहाँले भनेका कुरा सम्झिन सके त हुन्थ्यो, तर म सक्दिनँ । तपाईंकी आमा धेरै अगि स्वर्गे भैसक्नुभयो र मेरो स्मृति पनि यी भवनहरू जस्तै छियाछिया भैसकेको छ । मलाई माफ गर्नुहोला ।

तर सानै भएपनि केही कुरा । यदि त्यस्तो केही छ भने । बूढो मुस्कुरायो । “म बाचा गर्छु कि म सम्झने कोसिस गर्ने छु । फर्केर आउनुस्‌ र मलाई भेट्नुस्‌ ।

“तपाईलाई धन्यवाद,” मैले भने । “तपाईंलाई मुरीमुरी धन्यवाद र मैले चाहेको पनि त्यही थियो | अब मैले थाहा पाएँ कि मेरी आमाले बदाम केकसँग मह र तातो चिया मन पराउनुहुन्थ्यो, उहाँले एकपटक “असाध्य शब्द प्रयोग गर्नुभएको थियो र आफ्नो असिम खुसीको बारेमा चिन्तित हुनुहुन्थ्यो । मैले बाबासँगबाट आमाको बारेमा कहिल्यै पनि नसुनेका कुराहरू अहिले आएर त्यो सडक पेटीमा बसेको बूढो मान्छेबाट सुनेको थिएँ ।

एउटा सडक पेटीमा बस्ने भिखारीले पनि मेरी आमालाई चिनेको रहेछ भन्ने कुरालाई धेरै जसो गैर-अफगानीले मात्र एउटा असम्भव संयोग ठान्थे होलान्, तर ट्रकतिर फर्केर आउँदा हामी कसैले पनि त्यसको बारेमा टिका टिप्पणी गरेनौं, यस्ता हामी दुवैलाई थाहा थियो कि अफगानिस्तान र अझ विशेष तल नचाहिने, हास्यास्पद कुराहरू त सामान्य नै थिए । बाबा भन्ने गर्नुहुन्थ्यो कहिल्यै देखभेट नभएका दुईजना अफगानीलाई लगेर एउटा कोठामा राखिदियो भने एकैछिनमा तिनीहरूले पत्ता लगाइछाड्छन्‌ कि उनीहरू आफन्त नै रहेछन् ।

हामीले त्यो बूढोलाई त्यही भवनको सिढीमा छोडेर गयौं । कहीँ उसले मेरी आमाको बारेमा अझै केही कथाहरू पो थाहा पायो कि भनेर जान्नलाई उसले गरेको अफर अनुसार मलाई त फर्किंदाखेरि उसलाई भेट्ने विचार थियो तर फेरि मैले उसलाई कहिल्यै देखिन !

हामीले त्यो अनाथालयलाई सुख्खा काबुल नदीको किनारमा कार्तेह सेह (Karteha -Seh) को उत्तरी भागमा फेला पार्यौं । यो एउटा फराकिलो खालको ब्यारेक जस्तै भवन रहेछ जसका भित्ताहरू चर्किएका थिए र झ्यालहरूमा काठको फलेक ठोकिएको थियो । फरिदले मलाई बाटोमै बताइसकेको थियो कि काबुलका वस्तीहरूमध्ये सबैभन्दा बढी युद्धले क्षति पुन्याएको कार्तेह सेहलाई नै थियो र जब हामी ट्रकबाट ओर्लियौँ त्यसको प्रमाण अत्यासलाग्दो देखिन्थ्यो । ठूल्ठूला खाल्टा परेका सडकहरूको दायाँबायाँ बम बर्षाले भत्केका भवनहरूका भग्नावशेष र मान्छेले
छोडेर हिँडेका घरहरूभन्दा बढी केही पनि थिएन | हामी खियैखिया लागेको उत्तानो परेको कारको अस्थिपञ्जर, स्क्रीन नै फुटेको र आधा भाग फोहरमा गडेको टीभी र कालो रङमा ‘तालिबान जिन्दावाद !” लेखिएको पर्खाल छोडेर अघि बढ्यौँ ।

झ्यामल्याङ्ग खैरो दाह्री, खुईलिँदै गरेको तालु, दुब्लो, एकजना पुड्के मान्छेले ढोका खोल्यो | त्यो मान्छेले एकापट्टिको सिसा फुटेको चस्मा नाकको टुप्पोमा अड्याएको, बिर्के टोपी टाउकोमा अनि थोत्रो ट्वीङ ज्याकेट लगाएको थियो । चस्माको सिसा पछाडिका कालो केराउजत्रा साना आँखाहरू म पछि फरिदतिर घुमे । “सलाम अल्लाएकुम” उसले भन्यो ।

“सलाम अल्लाएकुम’ मैले भनेँ । त्यो रङीन फोटो मैले उसलाई देखाएँ र भने, “हामी यो केटालाई खोज्दै छौँ ।’

उसले फोटोलाई सरसर्ती हेर्यो । “मलाई माफ गर्नुहोला । “मैले त उसलाई कहिल्यै पनि देखेको छैन ।”

“तपाईंले फोटो राम्रोसँग हेर्नुभएकै छैन, साथी,” फरिदले भन्यो ।

“अलि राम्रोसँग नजिकबाट हेर्नुस्‌ न ।”

“लोतफान (Lotfan) ,” मैले थपे । कृपया ।

त्यो ढोका पछाडि उभिएको मान्छेले फोटो हातमा लियो । नियालेर हेर्यो । र मलाई फिर्ता दियो । “म चिन्दिनँ, माफ गर्नुहोला । म यस संस्थाका प्रत्येक बच्चालाई राम्ररी चिन्दछु, तर त्यो एउटा मैले चिने जस्तो लाग्दैन । मलाई अनुमति दिनुहुन्छ भने मेरो काम छ |” उसले ढोका बन्द गर्यो । छेस्किनी लगायो ।

मैले औंलाको जोर्नीले जोडसँग ढोका ढकढकाएँ | “अगा ! अगा कृपया ढोका खोल्नुस्‌ न । हाम्रो उद्देश्य उसलाई केही हानि पुन्याउने होइन ।”

“मैले तपाईंलाई भनिसकेँ । ऊ यहाँ छैन,“ ढोकाको पल्लोपट्टि बाट उसको आवाज आयो “कृपया तपाईंहरू जानोस्‌ त ।”

फरिद ढोकासम्मै पुग्यो र ढोकामै निधार टेकायो । ‘ए साथी, हामी तालिबान समर्थक होइनौं के,” उसले डराइडराइ मधुरो स्वरमा भन्यो । “जो व्यक्ति मसँग छन्‌ उनले यो केटालाई सुरक्षित ठाउँमा लैजान चाहन्छन्‌ ।’

“म पेशावरबाट आएको हो,” मैले भनेँ । “मेरो एक जना घनिष्ट साथीलाई थाह छ कि त्यहाँ एक जोडी अमेरिकनले बच्चाहरूका लागि च्यारिटी होम चलाएका छन्‌ । मलाई लाग्यो त्यो मान्छे ढोकाको पल्लोपट्टि छेउमै उभिएको थियो | मैले बुझेँ कि ऊ ढोकाको छेउमै उभिइरहेको थियो । सुन्दै, हिच्किचाउँदै, ऊ शंका र आशाको बीचमा अल्झिएको थियो । “यता सुन्नोस त मैले शोहरबको बाबुलाई चिन्दथेँ, मैले भनेँ । “उसको नाम हसन थियो । उसकी आमाको नाम फारजाना थियो | उसले आफ्ना हजुरआमालाई सासा भन्थ्यो । ऊ पढ्न लेख्न जान्दछ र उसलाई गुलेली पनि राम्रो खेलाउन आउँछ । यो केटोको लागि एउटा आशा अनि उपाय जीवितै छ, अगा । कृपया ढोका खोल्नोस्‌ न ।

ढोकाको पारिपट्टि साइँसुइँ छैन ।

“म उसको सौताने काका हुँ,” मैले भनेँ ।

“ क्षणभर घर्क्यो । अनि ताल्चामा साँचो छिराएको आवाज आयो | ढोकाको चरमा त्यो मान्छेको चुस्स परेको अनुहार फेरि देखियो । उसले मलाई र फरिदलाई पालै पालो हेर्यो । “तपाइँले भनेको एउटा कुरा मिलेन ।

“के कुरा ?”
“क राम्रो गुलेली चलाउँछ भन्ने कुरा ।’

म मुसुक्क हासेँ ।

“ऊ छ कि गुलेली छ । उसलाई गुलेलीबाट अलग्याउ नै सकिन्नँ । ऊ जता गए पनि आफ्नो पायन्टको कम्मरमा गुलेली सिउरेकै हुन्छ ।’

त्यो हामीलाई भित्र पस्न दिने मान्छेले आफ्नो नाम जमाम र ऊ आफैँ अनाथालयको निर्देशक भएको कुरा बताउँदै आफ्नो परिचय दियो । “म तपाईंहरूलाई आफ्नो अफिसमा लिएर जाने छु,” उसले भन्यो ।

हामी अँध्यारो, उराठलाग्दो हल वे हुँदै उसको पछि लाग्यौँ जहाँ च्यातिएका स्वीटर लगाएका नाङ्गै गोडा लिएका बच्चाहरू यताउता सल्याङ्ग मल्याङ्ग गर्दै थिए । हामी भुइँमा फूलोर कभरिङ नभएको तर थोत्रो कार्पेट ओछ्याएको र झ्यालहरूमा प्लास्टिक ठोकेका कोठाहरू पछि छोड्दै अघि बढ्यौँ । कोठाभरि धेरै जसो डसना नै नओछ्याइएका फलामे पत्तिका अस्थितिपञ्जर खाटहरू थिए ।

“यहाँ कति जना अनाथहरू बस्छन्‌ ?” फरिदले भन्यो ।

हामी कहाँ अटाउन सक्नेभन्दा धेरै । लगभग दुई सय पचास जना, हात उठाएर इसारा गर्दै जमामले भन्यो । “तर तिनीहरू सबै यतिम (Yateem) होइनन्‌ । तिनीहरू धेरैजसोले आफ्नो बाबुहरू युद्धमा गुमाएका छन्‌ र तिनका आमाहरूले उनीहरूलाई ख्वाउनै सक्दैनन्‌ किनभने उनीहरूलाई काम गर्न अनुमति

दिँदैन । त्यसैले उनीहरूले आफ्ना बच्चा यहीँ लिएर आउँछन्‌ ।’ उसले हातले “भएजति सबै“ भन्ने इसारा गर्दै पश्चाताप मान्दै थप्यो, “यो ठाउँ सडकभन्दा त राम्रो छ, तर त्यति साह्रै राम्रो चाहिँ छैन । यो भवन मान्छे बस्नलाई भनेर बनाएकै होइन | यो पैला त कार्पेट उत्पादन गर्ने साहुको सामान स्टोर गर्ने गोदाम थियो । त्यसैले न त्यहाँ पानी छ न हिटर छ र ईनार सुक्दा पनि कुनै वास्ता छैन ।’ उसले स्वर घटायो । “मैले तालिबानसँग यो इनार खन्नलाई पैसा त कति पाली मागेँ कतिपाली मलाई सम्झना छैन, तर तिनीहरू मात्र त्यही माला घुमाउँछन्‌ र पैसा छैन भन्छन्‌ | पैसै छैन ।’ ऊ उपहासको हाँसो हाँस्यो ।

उसले भित्ताको छेउमा लहरै राखिएको ओछ्यानहरू देखायो | “हामीसँग पुग्ने जति खाटहरू पनि छैन र जतिवटा खाटहरू छ त्यति वटा डसना पनि छैन । सबभन्दा दुखलाग्दो त के भने हामीसँग पर्याप्त ब्ल्यांकेट पनि छैन ।’ उसले हामीलाई दुई जना साथीहरू सँगै डोरी नाघिरहेकी एउटी केटीलाई देखायो | “त्यो केटीलाई तपाईंले देख्नुभयो ? यो गएको जाडोमा दुईजनाको भागमा एउटा ब्ल्यांकेट परेको थियो | उसको भाइ ठन्डी लागेर मर्यो ।” ऊ भन्दै गयो । अन्तिम पटक मैले चेक गर्दा गोदाममा हामीलाई एक महिनासम्मलाई पनि नपुग्ने चामल बाँकी थियो र जब त्यो सकिन्छ बच्चाहरूले बिहानको खाजा र साँझको खानामा चिया र रोटी खानुपर्ने हुन्छ ।’ मैले ख्याल गरेँ कि उसले दिउसोको खानाको त उच्चारण पनि गरेको थिएन ।

ऊ एकछिन रोकियो र मतिर फर्कियो । “यहाँ बस्ने ठाउँ पनि एकदक थोरै छ, खाना पनि छैन भन्दा हुन्छ, लुगाफाटा पनि छैन र सफा पिउने पानी पनि छैन । यहाँ म कहाँ प्रशस्तै आउने भनेको बच्चाहरू मात्र हुन्‌ जसले बाल्यावस्थामै आफ्नो अभिभावक गुमाएका छन्‌, तर दुःखलाग्दो कुरा के छ भने यिनीहरू भाग्यमानी मध्ये पर्छन्‌ । हामीकहाँ हाम्रो क्षमताभन्दा बढी भइसकेको छ र प्रत्येक दिन आफ्ना बच्चाहरू लिएर यहाँ आउने आमाहरूलाई मैले फर्काइदिने गरेको छु । ऊ एक कदम मतिर बढ्यो । “तपाईंले शोहरबका लागि सुरक्षित भविष्यको सम्भावना छ भन्नुभएको होइन ? मलाई विश्वास छ तपाईं झूटो बोल्नुहुन्न, अगा तर _.__ तपाईं आउन अलि ढिलो भए जस्तो छ ।’

“मैले त तपाईंको कुरै बुझिन नि ?”

जमामका आँखाहरू मबाट अर्को पट्टि सरे | “मसँग हिँड्नुस्‌ ।”

यो कुरा स्वीकार्नै पर्छ कि डाईरेक्टरको अफिसमा त चारवटा नाङ्गा चिरा परेका पर्खाल, भुइँमा एउटा चकटी, एउटा टेबल र दुईवटा फोल्डिङ्ग कुर्चिहरू मात्रै थिए | जब जमान र म बस्यौं, मैले एउटा मुसोले भित्तोको प्वालबाट फुत्त टाउको देखाएर खुर्र पल्लो छेउ गएको देखेँ | जब मुसोले मेरो जुत्ता सुँघ्यो, मलाई सिरिङ भो | अनि जमानको जुत्ता सुँघ्यो र खुर्र दौडिएर कोठा बाहिर गयो ।

“ढिलो भइसक्यो भनेर तपाईंले के भन्न खोज्नुभएको थियो ?’ मैले भनेँ ।

तपाईँ चिया पिउनुहुन्छ ? पिउने भए म बनाउँछ ।”

“होस्‌, धन्यवाद । बरू हामी कुरै गरौँ ।’
जमाम कुर्चीमा पछाडि ढल्केर अडेस लाग्यो र छातीमाथि दुई हात बाँधेर बस्यो । “मैले तपाईंलाई जे भन्नुपर्छ खतरायुक्त छ भन्ने त झन् कुरै नगरौं ।”

“कसका लागि ?”

“तपाईंलाई, मलाई र शोहरबको लागि पनि हुन सक्छ । यदि यो धेरै ढिलो भैसकेको छैन भने मात्र क्यै उपाय लाग्ला ।”
“मलाई यो जान्न जरूरी छ, मैले भनेँ ।
उसले टाउको हल्लाएर “हुन्छ” भन्यो । “तपाईं त्यसो भन्नुहुन्छ भने ठीक छ तर सबैभन्दा पहिला म तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु । तपाईं आफ्नो भतिजो खोज्न के कति त्याग गर्न सक्नुहुन्छ ?”

मलाई हामी बच्चा छँदा सडकमा लडाई गरेका याद आयो । सँधै मेरो साटो हसन नै लड्थ्यो । कहिलेकाहीँ एक्लै दुईजनासँग त कहिले तीनजनासँग । म “आत्थो भन्दै अनुहार खुम्च्याएर हेरिबस्थैं । जाउँजाउँ भन्ने जस्तो लाग्थ्यो र कै त केही कुराले म थामिन्थेँ ।

मैले हल वे तिर हेर्दा एउटा केटाकेटीहरूको समूह वृत्ताकार बसेर नाचिरहेको देखेँ | देब्रे खुट्टाको घुँडाभन्दा तलको भाग काटेर फालिएको एउटा सानी केटी टालै टालो सिएको फोहोर चट्टाइमा बसेर अरू बच्चाहरूसँगै हाँस्दै ताली पड्काउँदै हेरेर बसेकी थिई ।

मैले फरिद पनि आफ्नो औँलाहरू नभएको हात छेउतिर झुन्ड्याएर तमासा हेरिरहेको देखेँ । मलाई वाहिदका छोराहरूको सम्झना आयो र ______ मैले केही महसुस गरेँ । शोहरबलाई फेला नपारीकन मैले अफगानिस्तान छाड्नै छैन । “ऊ कहाँ छ मलाई भन्नोस्‌ त,“ मैले भनेँ ।

जमामले मलाई एक टकले हेर्यो । उसले टाउको तलमाथि हल्लायो, एउटा सिसाकलम टिप्यो र औंलाको बीचमा राखेर घुमायो । “यसमा मेरो नाम नजोड्नुहोला ।’

“म बाचा गर्छु ।

उसले सिसाकलमले टेबलमा टकटक पार्यो । “तपाईंको बाचाको अलावा पनि मलाई लाग्छ म नगर्दै ठूलो पछूतो हुने छ तर सायद यो राम्रो कुरा हो । जे भएपनि म पापी नै हुँ, तर यदि शोहरबका लागि केही गर्न सकिने रहेछ भने —- म तपाईंलाई भन्ने छु किनभने मलाई तपाईं माथि विश्वास छ । तपाईंको हेराईमै निराशा छ । र लामै साय चुप लाग्यो । “यहाँ एउटा तालिब अधिकारी छ,” उसले मधूरो स्वरमा भन्यो । “ऊ एक या दुई महिनामा एक पटक आउँछ । उसले धेरै त होइन तर, नगद चाहिं लिएर आउँछ जुन कत्ति पनि नहुनुभन्दा बेसै हो ।’ उसका चुलबुले आँखा कता परे र फेरि परतिर गए । “प्रायजसो उसले एउटा केटी लिएर जान्छ, तर सधैं होइन ।’

“अनि तपाई उसलाई त्यो गर्न दिनुहुन्छ ? मेरो पछाडि उभिएको फरिदले भन्यो । जमानमाथि जाइलाग्ने उद्देश्यले उसले टेबलको फन्को मार्दै थियो |

” मसँग के नै उपाय छ र ?” जमामले झर्केर भन्यो । ऊ डेस्कबाट अलि पछि हट्यो ।

“यहांको डाईरेक्टर तपाईं त हो नि,फरिदले भन्यो । “तपाईंको काम भनेकै यी केटाकेटीको देखभाल गर्ने हो ।

“यो काम रोक्नलाई म केही पनि गर्न सक्दिनँ ।’

“तपाईं बच्चाहरू बेच्दै हुनुहुन्छ ।’ फरिद बम्क्यो ।

“फरिद, तिमी चुप लागेर बस त ! यो कुरा छोडिदेऊ !” मैले भनें, तर म ढिलो भैसकेको थिएँ । किनभने फरिद अचानक उफ्रेर टेबल नाघ्दै थियो । फरिदले उसमाथि झन्टिँदा जमान बसेको कुर्ची उछिट्टियो र फरिदले उसलाई भुइँमा अँचेटेर राख्यो । डाइरेक्टर छट्पटाउँदै निसास्सिएको आवाजमा चिच्च्याउँदै थियो । उसको खुट्टाले लागेर डेस्कको एउटा घर्रा उछिट्टियो र कागजहरू भुइँभरि लथालिङ्ग भए ।

म दौडेर टेबललाई फन्को मारेर हेरेँ अनि बल्ल देखेँ जमान किन चिच्च्याउन नसकेको रहेछ | फरिदले उसको घाँटी दबाउँदै थियो | मैले फरिदको कुममा दुवै हातले जोडले समाते र सकेसम्म बल गरेर तानेँ । उसले मेरो हात फुत्कायो । ‘ए अब भयो के छोड्देऊ !’ म चिच्च्याएँ, तर फरिदले तल्लो ओठ टोकेर दाह्रा किटेझैं थियो भने अनुहार रातो पिरो भएको थियो । “म यसलाई मारेरै छाड्छु तपाईं मलाई रोक्न सक्नुहुन्न । म यसलाई मारि नै दिन्छु,” ऊ रिसले आगो हुँदै हाँस्यो ।

“ए घोडा चढ्न छोड्‌ त !”

“म यसलाई मारेरै छाड्छु !” उसको बोलिबाटै मैले बुझैँ कि यदि मैले तुरून्तै केही गरिन भने आँखै अगाडि पहिलो हत्या देख्नुपर्ने छ ।

“बच्चाहरूले हेरिराखेका छन्‌ , फरिद | के गरेको ? बच्चाहरूले हेरिराखेका छन्‌,’ मैले भनें | मैले समातेको ठाउँमा उसको काँधको मांशपेसी अरठ्ठ भएको थियो भने एक क्षण त मलाई लाग्यो कि उसले जमानको घाँटी अँठ्याउन कुनै पनि हालतमा छोड्ने वाला छैन । उसले टाउको घुमायो र अनि बल्ल बच्चाहरू देख्यो । बच्चाहरू एक अर्काको हात समातेर ढोकै छेउ चुपचाप रमिता हेरेर उभिएका थिए भने, कोही त रूँदै थिए । मैले फरिदको शरिर अलि धोल्लो भएको जस्तो माने । उसले घाँटी अँठ्याउन छोड्यो र उभियो । उसले भुइँमा पसारिएको जमानको मुखमा हेर्यो र प्याच्च मुखभरि थुकिदियो | अनि उ ढोका भएतिर गयो र ढोका बन्द गर्यो ।

जमान लड्खडाउँदै उठ्यो, बाउलाले ओठमा लागेको रगत अनि गालामा लागेको थुक पुछ्यो । खोक्दै, स्वाँस्वाँ गर्दै बिर्के टोपी लगायो, चस्मा लगायो र अनि बल्ल सिसा चर्केको देख्यो र चस्मा फुकाल्यो । उसले दुवै हातले मुख छोप्यो । अलि बेर सम्म कोही केही बोलेन ।

“उसले शोहरबलाई एक महिना अघि लिएर गयो,” अनुहारबाट हात नै नहटाइकन अन्तिममा रून्चे स्वरमा जमानले भन्यो ।

“तँ आफूलाई डाइरेक्टर भन्न लाज लाग्दैन ?” फरिदले भन्यो ।

जमानले मुख छोपेका दुवै हात तल झार्यो । ‘मैलै तलब नपाएको ६ महिनाभन्दा बढी भइसक्यो । म टाट पल्टेको छु किनभने मैले मेरो सारा जीवनको कमाइ यही अनाथालयमा खर्च गरेको छु | मेरो आफ्नो भन्ने सबै चीज वा मेरो पैतृक सम्पत्तिको अंश सबै बेचेर यही भगवानले पनि त्यागेको ठाउँमा लगानी गरेको छु | के मेरा पनि पाकिस्तान र ईरानमा आफन्त छैनन्‌ भन्ने ठान्नुहुन्छ ? म पनि अरूजस्तै भागेर जान सक्थेँ, तर मैले त्यसो गरिनँ । म यहीँ बसेँ | यी बच्चाहरूकै कारणले गर्दा म यहीँ बसेँ ।” उसले ढोकातिर देखायो । “यदि मैले उसलाई एउटा बच्चा दिन इनकार गरेँ भने उसले दशवटा लान्छ । त्यसैले उसलाई एउटा बच्चा लैजान दिन्छु र धर्म र पाप छुट्याउने जिम्मा अल्लाहकै नाममा छोडिदिन्छु | मैले मेरो स्वाभिमानलाई तिलाञ्जलि दिन्छु र उसको त्यो मूला फोहोर पैसा __ घिनलाग्दो पैसा दिन्छु । अनि त्यही पैसा लिएर म बजार जान्छु र केटाकेटीहरूका लागि खानेकुरा किनेर ल्याउँछु |

फरिदले नजर तलतिर गर्यो ।

“उसले लगेको बच्चाहरूलाई के गरिन्छ त ?” मैले सोधेँ ।

जमानले दुईवटा औँलाले आँखाहरू मिच्यो । “कहिलेकाहीँ तिनीहरू फिर्ता आउँछन्‌ ।”

“ऊ को हो त ? हामी उसलाई कसरी फेला पार्न सक्छौँ ?” मैले भनेँ ।

“भोलि गोजी स्टेडियममा जानुस्‌ तपाईंले उसलाई मध्यान्तरमा देख्नुहुनेछ | उसले कालो चस्मा लगाएको हुनेछ ।” उसले आफ्नो फुटेको चस्मा हातमा लियो र हातमा घुमाइरह्यो । “म चाहन्छु तपाईंहरू अहिले जानुस्‌ । बच्चाहरू डराएका छन्‌

उसले हामीलाई बाहिर सम्म पुर्याइदियो ।

जब ट्रक विस्तारै अघि बढ्यो, मैले जमामलाई साइड भ्यू मिररमा ढोकामै उभिइरहेको देखेँ । एक हुल केटाकेटी उसलाई घेरेर उसको सर्टको फेरो समातेर उभिइरहेका थिए । मैल देखेँ कि उसले चस्मा लगाएको रहेछ ।

 

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...