उन्नाइस

फेरि मोटर लागेर वाकवाकी । जति बेला हामी “खिबर पास स्वागत गर्दछ’ भनेर लेखिएको, तर गोलीले छियाछिया पारेको सडक संकेतलाई छोडेर अघि जाँदै थियौं, मेरो पेट बटारेर मुखमा पानी आउन थाली सकेको थियो । केही चीज मेरो पेट भित्र बटारिएर हल्लिन थाल्यो । मेरो ड्राइभर फरिदले मलाई रिसाएर हेर्यो । उसका आँखाहरूमा म प्रति कुनै सहानुभूति देखिन्थेन ।

“के हामी झ्याल तल झार्न सक्छौँ ?” मैले सोधेँ ।

उसले एउटा चुरोट सल्कायो । उसका देब्रे हातको दुईवटा औँलाले चुरोट च्याप्यो भने बाँकी हत्केलाले स्ट्रीङ्ग समातेको थियो । उसको कालो आँखाहरूले बाटोमा नजर गाडिरहे भने ऊ अगाडितिर निउरी परेर दुई खुट्टाको बीचबाट एउटा पेचकस टिप्यो र मलाई दियो । मैले ढोकाको एउटा सानो प्वालमा पेचकस घुसारेँ जहाँ सिसा तलमाथि गराउने हन्डिल हुन्थ्यो, र सिसा खोल्नलाई पेचकस घुमाएँ ।

फरिदले फेरि एकपटक वास्तै नगरेका पारामा मलाई हेर्यो । यो हेराइमा अलिकति वैरभावको संकेत थियो । उ फेरि चुरोट तान्न लाग्यो । हामी जाम्नुद फोर्टबाट छुटेको बेलादेखि ऊ एकदर्जनभन्दा बढी शब्दहरू बोलेकै थिएन ।

“तासाकोर,” मैले मसिनो स्वरमा भने | मैले झ्यालबाट टाउको बाहिर निकालेँ र मध्यान्हको चिसो हावालाई अनुहारमा हिर्काउन दिएँ ।

पत्रे चट्टान र चुनढुङ्गाको पहराहरूको घुम्तीहरू पारगर्दै खिवरपासको आदिवासी जनजातिको वस्ती छिचोलेर जाँदा देखियो कि त्यो ठाउँ मेरा सम्झनामा जस्तो थियो त्यस्तै रहेछ । बाबा र मैले सन्‌ १९७४ मा त्यो उबडखाबड भएको ठूलो क्षेत्र पार गरेका थियौँ । गहिरो घाटीहरूको दायाँ बायाँ सुख्खा, दाह्रे चुचुरा भएका डरलाग्दा आकाश छुनेजस्ता पहाडहरू उभिएका थिए | ती दाह्रे चुचुरा माथि माटोको पर्खाल भत्केका पुराना गढीहरू थिए | मैले उत्तरतिरको हिउँले ढाकिएका हिन्दुकुश हिमालहरूमै आँखा गाडिरहन चाहन्थेँ, तर प्रत्येक पाली जब मेरो पेट हुँडल्न अलि कम हुन्थ्यो, ट्रकले अर्को घुम्तीमा फन्को मार्थ्यो र मलाई फेरि वाकवाक सुरु हुन्थ्यो ।

“एउटा कागती खाएर हेर्नुस्‌ त ।”

“के रे ?”

“कागती । मोटर लागेको कागतीले राम्रो गर्छ,“ फरिदले भन्यो ।

“म यो बाटो गाडीमा हिँड्दा सधैँ एउटा कागती लिएरै आउँछु ।

“पर्दैन, धन्यवाद,” मैले भनें । मेरो पेटमा एसिडिटी थपिने सोचाइले झन्‌ बढी वाकवाकी लाग्यो । फरिद दबेको हाँसो हाँस्यो ।

“मलाई थाहा छ कि यो अमेरिकन औषधि जस्तो राम्रो त हुँदैन तर यो मेरी आमाले मलाई सिकाएको एउटा पुरानो उपचारको तरिका हो ।”

उसलाई तताउन आइसकेको मौका गुमाएकोमा मैले पछुतो माने ।

“ए त्यसो हो भने सायद तिमीले मलाई २-४ वटा कागती दिन पर्छ ।’

उसले पछाडिको सिटमा रहेको एउटा कागजको झोला तान्यो र त्यसबाट कागतीको आधा टुक्रा निकाल्यो । मैले कागती टोके र केही मिनेट पर्खेँ । “तिमीले भनेको ठीकै रहेछ | मलाई अलि सन्चो भयो,“ मैले ढाटैँ । एउटा अफगानी भएकोले मलाई थाहा थियो कि अशिष्ट बन्नुभन्दा दुःखी बन्नु नै ठीक हो । म जबर्जस्ती गरेर मुस्कुराएँ ।

“पुरानो गाउँले चलाखी । आज भोलि बजारमा पाइने औषधिको कुनै जरूरी छैन,” उसले भन्यो । उसको स्वर रूखो होला होला जस्तो भयो | उसले प्याट्ट पड्काएर चुरोटको खरानी फ्याँक्यो र बडो मख्ख परेर पछाडि हेर्ने ऐनामा हेर्यो । ऊ दुब्लो घामले डढेर कालो अनुहार भएको, साँगुरो काँध भएको ताजिक मूलको मान्छे थियो । लामो घाँटीमा पिक्लीक्क देखिने रूद्र घन्टी दाह्रीले छोपिएको थियो जुन उसले टाउको घुमाएर यता उता हेर्दा मात्र देखिन्थ्यो । उसको पहिरन मेरो जस्तै थियो तापनि मलाई लाग्छ उसको लवाइ साँच्चिकै अलि अर्कै पाराको थियो – खैरो
परहिरन -फेटा माथि हातले बुनेको खस्रो खालको उनको ब्ल्याँकेट बेरेको र भेस्ट । शीररमा एकापट्टि अलिकति एकातिर ढल्काएको पाकोल जुन ताजिक हिरो (नायक) अहमद शाह मसुदको जस्तो लाग्थ्यो जसलाई ताजिकहरूले “पाँजशेरको सिंह भन्छन्‌ ।

पेशावरमा फरिदसँग मेरो परिचय रहिम खानले नै गराइदिएको थिए | उनले मलाई भनेका थिए कि फरिद जम्मा २९ बर्षको छ, तर पनि उसको त्यो चाउरी परेको गम्भीर अनुहार देख्दा लाग्थ्यो ऊ आफ्नो उमेरभन्दा बीस बर्ष बढी बूढो छ । ऊ मजारुई-शरिफमा जन्मिएको रहेछ र फरिद दश बर्षको हुँदा उसको बाबु सपरिवार जलालाबाद बसाइ सर्दासम्म त्यहीँ बसेको रहेछ । उ चौध बर्षको उमेरमै आफ्नो बाबुसँगै शोरावी को बिरूद्धमा धर्मयुद्धमा होमिएको रहेछ । हेलिकप्टरबाट बम बर्षा भएर बूढो टुक्रैटुका नहुन्जेल उनीहरू पंजशेर उपत्यकामा दुई बर्षसम्म लडेका रहेछन्‌ । फरिदका दुई श्रीमती र पाँचजना छोरा छोरीहरू रहेछन्‌ । “उसका छोराछोरीहरू सात जना थिए,“ उदाश हेराइले हेर्दै रहिम खानले भनेका थिए, तर केही बर्ष अगाडि जलालाबादभन्दा ठीक बाहिर पट्टि भएको बारूदी सुरूङ्ग विस्फोटनमा परेर उसले आफ्ना २ वंटा कान्छी छोरीहरू गुमाएको रहेछ । त्यही विस्फोटनमा परी उसका गोडाका औँलाहरू क्षतविक्षत भएका रहेछन्‌ भने देब्रे हातको तीनवटा औँलाहरू गुमाएको रहेछ । त्यसपछि उसले आफ्ना स्वास्नी, छोराछोरीहरूलाई पेशावर सारेको रहेछ ।

“चेकपोइन्ट,’ फरिद भुत्भुतायो । एक छिनलाई वाकवाकी बिर्संदै छातीमा हात बाँधेर म अलि लत्रक्क परेर बसेँ, तर मैले कुनै चिन्ता नगरेको भए पनि हुन्थ्यो । दुईजना पाकिस्तानी मिलिसिया हाम्रो खटारा ल्यान्ड कुजरतिर आए र गाडी भित्र सरसर्ती हेरे र हातको इसाराले हामीलाई जान भने ।

रहिम खानले र मैले यात्राको तयारीमा बनाएको त्यो सूचिमा एक नम्बरमा फरिद नै थियो । त्यो सूचिमा डलर साट्ने काम, मेरो लुगा र पाकोल, हसन र शोहरवको रङीन फोटो र अन्तिममा सायद सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो छातीसम्म आउने कालो नक्कली दाह्री जुन तालीबानी शैलीको शरियासँग मेल खाने खालको थियो, लगायतका कुराहरू थिए | हाँसो लाग्दो कुरा त के भने म अफगानिस्तानमै छँदा पनि पाकोल कहिल्यै लगाएको थिइन | युद्धको खबर संप्रेक्षण गर्न आउने पश्चिमेली पत्रकारहरूलाई पाकोलको व्यवस्था मिलाइ दिने पेशावरको पाकोल बुन्ने विशेषज्ञको रूपमा परिचित एक जना मान्छेलाई रहिम खानले चिनेका रहेछन्‌ ।

रहिम खानले मलाई अझै अरू केही दिन आफूसँगै बसोस्‌ भन्ने चाहन्थे ता कि अझ व्यवस्थित तारिकाले योजना बनाउन सकियोस्‌, तर म जान्दथेँ मैले जति सक्दो चाँडो छोड्नुपर्ने थियो । कतै मेरो सोचाइ बदलिने त होइन भनेर म डराएको थिएँ । मलाई डर थियो कि म घोत्लिने छु, गहिरिएर सोच्ने छु, अप्ठ्यारो मान्ने छु, जे गर्दै छु त्यो ठीकै हो भन्ने ठान्ने छु र आफैँले आफैँलाई नजा भन्ने छु । अमेरिकाको सुखी जीवनको सम्झनाले कतै मलाई फिर्ता बोलाउने पो हो कि भन्ने कुराले म डराएको थिएँ । म आफैँ कतै त्यो गहिरो नदीमा हाम फालेर विगत केही दिनमा मैले सिकेका कुराहरूलाई बिर्से र नदीको पिँधमा पुग्न दिने पो हो कि भन्ने पनि डर लाग्यो । म डराएको थिएँ कतै मलाई पानीले बगाएर आफूले गर्नुपर्ने कर्तव्यबाट विमुख पो बनाउने हो कि । हसनबाट विमुख हुने पो हो कि भन्ने डर । त्यो विगतबाट भाग्ने ! डर जसले अहिले बोलाइरहेको थियो । र, यो प्रायश्चित गर्न पाउने अन्तिम मौकाबाट विमुख भइन्छ कि भन्ने डर ! त्यसैले सम्भावित त्यो सबै हुनबाट जोगिन म अफगानिस्तानतिर सोझिएको थिएँ । शोरायालाई म अफगानिस्तान जाँदै छु भनेर भन्नु मेरो रोजाइमा परेको थिएन । यदि मैले उनलाई त्यसो भनेको भए उनले अर्को फ्लाइटमा पाकिस्तान आउनलाई टिकट बुक गर्ने थिइन होला ।

हामीले सिमाना पार गरिसकेका थियौँ र गरिबीको चिन्ह जताततै देखिन्थ्यो । बाटोका दायाँबायाँ लहरै छास्सछुस्स स-साना गाउँहरू देखिन्थ्यो । भत्केका माटोका छाप्राहरूको चारवटा काठको खामोहरू र छानोका नाउँमा थोत्रो कपडा टाँगेको सिवाय अरू केही थिएन । मैले झुत्रो लुगा लगाएका केटा केटीहरू छाप्रो बाहिर एउटा फूटबलको पछि दौडिरहेको देखेँ । केही माईल पर गैसकेपछि एउटा जलाएर ध्वस्त पारिएको शोभियत ट्याङ्ग छेउ लाइनै बसेका कौवाहरू जस्तै एउटा भुन्ड बनेर केही मान्छेहरू टक्रयाकटुक्रुक बसेको देखेँ । तिनीहरूले ओढेको ब्ल्यांकेटको बीट हावाले हल्लाइरहेको थियो । तिनीहरूको पछिल्तिर एक जना खैरो रङको बुर्का ओडेकी आइमाई काँधमा एउटा ठूलो माटोको भाँडो बोकेर एउटा फोहर बाटो हुँदै माटोका छाप्रोतिर सोझिदै थिई ।

“अचम्म,” मैले भनें ।
“के ?”
“मलाई आफ्नै देशमा आउँदा आफूलाई पर्यटक जस्तो लागिरहेको छ । बाटोको छेउछेउ आधा दर्जन फुकिढल बाख्राहरू धपाउँदै हिंडीरहेको एउटा गोठालोलाई हेर्दै मैलै भने । फरिद दबेको हाँसो हाँस्यो । चुरोट फ्यालिदियो । तपाईँलाई अझैसम्म पनि यो देश आफ्नै देश जस्तो लाग्छ ?”

“मलाई लाग्छ मेरो मनको एउटा भागले त्यो सधैँ भन्ने छ, मैले सोचेभन्दा बढी आफ्नो बचाउ गर्दै भने ।

“बीस बर्ष अमेरिकामा बसीसकेपछि पनि,” बीच बल जत्रो आकारको खाल्टो जोगाउन गाडी एकातिर हुत्याउँदै उसले भन्यो ।

मैले टाउको हल्लाएर “हो” को इसारा गरेँ । “म हुर्कबढेको अफगानिस्तानमै हो ।

फरिद फेरि पनि दबेको हाँसो हाँस्यो ।
“तिमी किन हाँसेको ?”
“किन हाँसेको त्यसको कुरा छोडिदेऊ” उसले सुस्तरी भन्यो ।
“होइन, म जान्न चाहन्छु | किन तिमी हाँसेको ?”

पछि हेर्ने ऐनामा मैले उसको चम्किला आँखा देखेर बुझ ऊ केही भन्नेवाला थियो । “तपाईं जान्न चाहन्नु हुन्छ ?’ उसले उपहास गर्यो । “मलाई कल्पना गर्न दिनोस्‌ अगा साहेब । तपाईं सायद मालीले फलफूलका रूखहरूले भरिदिएको राम्रो करेसाबारी भएको ठूलो २ वा ३ तले घरमा बस्नुहुन्थ्यो होला । अझ चारदिवारी गेट या भित्र । तपाईंको बुबाले अमेरिकन कार चढ्नुहुन्थ्यो । तपाईंका नोकरहरू थिए र सायद ती हजाराहरू थिए होलान्‌ । शान्दार मेहमानी (भोज) दिँदाखेरी तपाईँका बा आमाले घर सजाउनलाई कामदारहरू लगाउनुहुन्थ्यो होला । अनि उहाँहरूका साथीहरू रक्सी खान आउँथे होलान्‌ र यूरोप र अमेरिका भ्रमणको गफ र म मेरो जेठो छोराको आँखाहरूनै बाजी राखेर भन्न सक्छु कि पाकोल ९ एबपयणि लगाएको जीवनमा पहिलो पाली हो । उमेर नै नपुगी सड्न थालेका बत्तिसे दाँत देखाउँदै ऊ मतिर हेरेर ङिच्च हाँस्यो । “म वास्तविकताको नाजिक पुगेँ त ?”

“तिमीले: यी कुराहरू मलाई किन सुनाउँदै छौ ?” मैले भने ।
“किन भने तपाईं जान्न चाहनुहुन्थ्यो,, उसले प्वाक भन्यो ।
उसले मलाई एउटा बूढो मान्छेतिर देखायो । फाट्रर चाल्नो झै भएको लुगा लगाएको त्यो मान्छे खुर्पीले खुर्केर जम्मा पारेको घाँस डूलो कुम्लो पारेर ढाडमा बोकेर लखर लखर फोहोरी सानो गोरेटोमा हिँड्दै थियो । साँचो अर्थमा अफगानिस्तान भनेको त्यही हो , अगा साहेब | मैले जानेको अफगानिस्तान त्यही हो । तपाईलाई थाहा होस्‌ पनि कसरी ? तपाईं यहाँ जहिले पनि पर्यटक । तपाईलाई यो सब थाहै थिएन ।”

रहिम खानले मलाई अफगानिस्तानमै बसेर युद्ध लडेका व्यक्तिहरूबाट न्यानो स्वागतको अपेक्षा नगर्नु भनेर सावधानी गराइसकेका थिए । ‘तिम्रो बुबाको बारेमा सुनेर म दुखी छु,“ मैले भनै । “म तिम्रो छोरीहरू र तिम्रो हातको बारेमा सुनेपछि साह्रै दुःखी छु ।

“त्यसको मलाई कुनै मतलब छैन,” उसले भन्यो । उसले चिन्ता व्यक्त गर्दै टाउको हल्लायो । ‘अनि जे भएपनि तपाईं यहाँ किन फर्केर आउँदै हुनुहुन्छ त ? बुबाको जग्गा जमिन बेच्नलाई हो ? खल्तीभरि पैसा कुम्ल्याएर आफ्नै आमा, त्यही अमेरिका फर्कने हो ?”

उसले सुइअँ गर्यो र चुरोट सल्कायो । केही बोलेन ।

“छेउतिर लगा त ।’

“के ?”

“के ?

“छेउतिर लगेर रोक भनेको ह्या !” मैले भनेँ । “मलाई उल्टी आउन लाग्या छ ।’ ट्रक पिचको छेउको ग्राभलमा रोकिनै पनि नभ्याउँदै म फुत्त झरे ।

मध्यान्ह ढल्किन लाग्दासम्म भू-बनोटको दृश्य घामले पाकेका चुचुरा र नाङ्गो चट्टानी पहराहरूबाट परिवर्तन भएर अलि बढी हरियो, बढी दुर्गम दृश्य देखिन थाल्यो । मुख्य पास लाँडी कोटल (Landi Kotal) झरेर शिनवारी क्षेत्र छिचोलेर लाँडी खाना (Landi Khana) सम्म पुग्दा ओरालो नै थियो । हामी टोर्खाम भन्ने ठाउँबाट अफगानिस्तान पसेका थियौँ । बाटोको दायाँबायाँ मैले सम्झेको भन्दा अलि थोरै सल्लाका रूखहरू थिए र धेरै जसो नाङ्गै थिए, तर पनि खिबर पास काटेर त्यत्रो लामो र असाध्यै कठिन यात्रापछि फेरि रूखहरू देख्न पाउँदा रमाइलो लागेको थियो । हामी जलालाबादको नजिकै पुग्दै थियौं जहाँ फरिदको एउटा भाइ थियो जसको घरमा हामीले रात बिताउने भयौँ ।

हामी जलालाबाद पुग्दा घाम डुबिसकेको चाहिँ थिएन । जलालाबाद नाङ्गरहार ९लबलनबचजबच राज्यको राजधानी हो, जुन सहर, कुनै समयमा फलफूल र न्यानो मौसम (हावापानी) को लागि प्रसिद्ध थियो । फरिद सहरको मध्य भागका ढुङ्गे घरहरू र ठूल्ठूला भवनहरूलाई पछि छोड्दै अघि बढ्यो । त्यहाँ मेरो सम्झनामा रहे जस्तै धेरै ताडीका रूखहरू थिएनन्‌ । केही घरहरू छानै नभएका भित्ताहरू र माटोको थुप्रो हुने गरी ध्वस्त पारिएका रहेछन्‌ ।

फरिदले ल्यान्ड कुजरलाई एउटा साँगुरो ढुङ्गा नछापेको बाटोतिर घुमायो र सुकेको नाली छेउमा लगेर रोक्यो । म गाडीबाट ओर्लिएँ, जिऊ तन्काएँ र लामो सास तानेँ । पैले पैलेका दिनहरूमा जलालाबाद वरिपरिको पानी लाग्ने सम्मो फाँटहरू भएर हावा बग्थ्यो जुन फाँटमा किसानले उँखु लगाउँथे र सहरको हावा:नै मीठो वास्नाले भरिन्थ्यो । मैले मेरा आँखाहरू बन्द गरेँ र त्यो मिठासको खोजी गरेँ । मैले त्यो पाइन ।

“अब हामी जाऔं,“ फरिदले झोकिँदै भन्यो । हामी भत्केका माटोका पर्खालहरूको छेउका नाङ्गा लहरेपिपलका रूखहरूलाई पछि छोड्दै त्यही फोहोरो बाटो हुँदै मास्तिर लाग्यौं । फरिदले मलाई एउटा थोत्रो एक तले घरतिर लिएर गयो र काठको ढोकामा ढकढकायो ।

एक जना नीलो आँखाहरू भएकी, सेतो स्कार्फले टाउको ढाकेकी तरुनी आइमाईले ढोकाबाट फुत्त टाउको बाहिर निकालिन्‌ । मलाई पहिला देखेपछि उनी झस्किइन्‌, तर फरिदलाई देखेपछि भने उनका आँखाहरू उजेला भए । ‘सलाम अल्लाएकुम, काका फरिद ।’

“सलाम, मरियम जान,” फरिदले नमस्कार फर्कायो र उनलाई यस्तो चीज दियो जुन चीजबाट उसले मलाई दिनभरि बन्चित गरेको थियो – एउटा न्यानो मुस्कान । फरिदले उनको निधारमा चुम्बन गर्यो। म फरिदको पछि लागेर त्यो सानो घर भित्र पस्दा उनले मलाई अलि त्रसित नजरले हेर्दै हामीलाई बाटो छोडिदिइन्‌ ।

माटोको होचो छानो, पुरै नाङ्गो माटोका भित्ताहरू भएको त्यो घरमा उज्यालो भन्ने कुरा कुनामा राखिएको मात्र एक जोडी लाल्टीनबाट आएको थियो | हामीले जुत्ता खोल्यौँ र भुइँमा ओछ्याइएको परालको गुन्द्रिमा टेक्यौँ । बिट उध्रेको ब्ल्यांकेटले ढाकिएको डसना माथि भित्तामा अडेस लागेर तीनजना केटाहरू गोडा खापेर बसेका थिए । चौडा काँध भएको, लामो दाङ्ी पालेको एकजना मान्छे हामीलाई स्वागत गर्न उठ्यो । फरिद र उसले अंकमाल गरे र चुम्बन साटासाट गरे | फरिदले मलाई त्यो मान्छे आफूनो ठूल्दाई वाहिद भनेर परिचय गरायो | “उहाँ अमेरिकाबाट आउनुभएको हो, बूढी औँलाले मतिर देखाउँदै उसले वाहिदलाई भन्यो | उसले हामीलाई एक्लै छोडेर ती केटाहरूलाई स्वागत गर्नपट्टि लाग्यो |

वाहिद मसँगै भित्तामा अडेस लागेर ती केटाहरूको सामुन्ने बस्यो जुन केटाहरूले उसलाई घेरा हाल्दै काँधमै चढेका थिए | मैले पर्दैन भन्दा भन्दै पनि वाहिदले मलाई बस्न अलि सजिलो होस्‌ भनेर एउटा केटोलाई ब्ल्यांकेट ल्याउन अह्राए भने मेरियमलाई चिया ल्याइदिन पठाए । वाहिदले पेशावरदेखि खिबर पास हुँदै जलालाबादसम्मको मोटरको यात्राको बारेमा सोधे ।

“मलाई लाग्छ बाटोमा तपाईंहरूसँग दोज्दहरू जम्काभेट त भएन,” उनले भने । खीबर पास पैलेपैले त्यसको प्राकृतिक भू-बनोटका लागि ऊ डाँकाहरूका लागि पनि त्यति नै कुख्यात थियो । डाँकाहरूले यात्रीहरू लुट्ने एउटा थलो नै बनाएका थिए । मैले उसको प्रश्नको उत्तर दिनु अगावै उसले आँखा सन्कायो र ठूलो स्वरमा भन्यो, “कुन दोज्द (डाँका) को बुद्धि बिग्रेको छ र मेरो भाइको जस्तो थोत्रो गाडी लुट्न समय खर्चोस्‌ ?

उसले ती तीनजना मध्ये सबैभन्दा सानो केटालाई अङ्गालो मारेर भुइँमा लडाएर आफ्ना राम्रा हातले उसका करङमा काउकुति लगायो । फुच्चे खितिति गर्दै लात्तीले हान्न थाल्यो । “कम्तिमा पनि म सँग त कार छ । हाँस्दै फरि भन्यो । तिम्रो गधा आजभोलि कस्तो छ त ?”

“तिम्रो कार भन्दा मेरो गधा नै चढ्न सजिलो छ ।”

“खार खारा मिसनासाह” (Khar Khara Mishnassah) फरिदले तुरून्तै जवाफ दियो । मतलब “गधा चिन्न गधा नै हुनु पर्छ ।” उनीहरू सबै हाँसे र मैले पनि साथ दिएँ । पल्लो कोठामा आइमाईहरू बोलेको सुनेँ । मैले आफू बसेको कोठाको आधा मात्र भाग देख्न सकेको थिएँ | मेरियम र खैरो रङको हिसाब लगाएकी एक जना बूढी आइमाई मधुरो स्वरमा बोल्दै कित्लीबाट एउटा भाँडोमा चिया खन्याउँदै थिए । मेरो अनुमानमा ती बूढी आइमाई मेरियमकी आमा थिइन्‌ |

“अनि तपाईं अमेरिकामा के काम गर्नुहुन्छ, अमीर अगा ?” वहिदले सोध्यो ।

“म लेखक हुँ, मैले भनेँ । मैले सोचेँ कि मेरो उत्तर सुनेर फरिद खुतखुत हाँसेजस्तै लाग्यो ।

“लेखक रे ?” बडो प्रभावित हुँदै फरिदले भन्यो । “के तपाई अफगानिस्तानको बारेमा लेख्नुहुन्छ ?”

‘अँ मैले लेखेको छु, तर आजभोलि चाहिँ छैन,” मैले भनेँ | मेरै ए सिजन्स फर यासेज’ भन्ने अन्तिम उपन्यास एउटा विश्वविद्यालयको प्राध्यापकको बारेमा छ जो आफ्नो श्रीमती आफ्नै एकजना विद्यार्थीसँग सुतेको भेट्टाएपछि एउटा फिरन्तेको झुन्डमा मिसिन जान्छ । यो त्यति नराम्रो किताब थिएन । एउटा समीक्षकले त यसलाई “राम्रो किताब भनेको थियो भने अर्कोले त अझ ‘मन्त्र मुग्ध पार्ने भन्ने शब्दहरू प्रयोग गर्न भ्याएको थियो, तर अचानक म ती शब्दहरूले गर्दा किंकर्तव्यविमूढ भएको थिएँ । म चाहन्थेँ कि वाहिदले त्यो किताब के को बारेमा थियो भनेर नसोधोस्‌ ।

“सायद तपाईंले फेरि अब अफगानिस्तानको बारेमा लेख्नु पर्छ,” वाहिदले भन्यो । “संसारलाई बताई दिनोस्‌ कि तालिबानले हाम्रो देशलाई के गरिरहेका छन्‌ ।”

“अँ म त्यस्तो होइन -___ म त्यस्तो खालको लेखक होइन ।’

“हो र” सहमतिको टाउको हल्लाउँदै लाजले अलि रातो अनुहार पारेर वाहिदले भन्यो | “तपाईंलाई राम्रोसँग थाहा छ । तपाईंलाई मैले सल्लाह दिन पर्दैन

ठीक त्यसै बेला सानो थालमा चियाको भाँडो र दुईवटा कप लिएर मेरियम र त्यो अर्की आइमाई आए । म ससम्मान अभिएँ, हात छातीमा राखेर शिर भुकाएँ ।

‘सलाम अल्लाएकुम’ मैले भनेँ ।

ती आइमाई ले पनि शिर झुकाइन जसले अनुहार ढाक्नलाई हिजाब बेरेकी थिइन्‌ । “सलाम” मुस्किलले सुनिने झिनो स्वरमा नमस्ते फर्काइन्‌ । हामीले कहिल्यै आँखा जुधाएनौँ । म जब उभिएँ उनले चिया खन्याइदिइन्‌ ।

ती महिलाले वाफ आउँदै गरेको चियाको कप मेरो अगाडि राखिदिइन्‌ र कोठाबाट निस्किइन्‌ । उनी कोठाबाट बेपत्ता हुँदा उनका नाङ्गा गगोडाहरूले कति पनि आवाज निकालेनन्‌ । म बसैँ र कालो कडा चियाको चुस्की लिन थालेँ । त्यसपछिको त्यो निस्पट्ट शान्तिलाई वाहिदले तोड्यो ।

“अनि तपाईंलाई अफगानिस्तानमा केले फर्काएर ल्यायो त ?”
“सबै मान्छेलाई अफगानिस्तान के ले फर्काएर ल्याउँछ, मेरो प्यारो भाइ ?” फरिद वाहिदसँग सोध्दै थियो भने उसका घृणा भरिएका नजरले मलाई एकटकले हदै थिए ।

“भयो अब चुप लाग ।” वाहिद झोक्किँदै भन्यो ।
सँधैँभरि त्यही एउटै चीजले त हो नि, फरिदले भन्यो ।
“जग्गा बेच, घर बेच, पैसा कुम्लो पार मुसा भागे झैँ भाग | अमेरिका फर्क अनि त्यो पैसा छुट्टी मनाउन मेक्सिको सपरिपार जाऊ र खर्च गर ।’
“फरिद !” वाहिद गर्ज्यो । उसका छोराछोरी र फरिद पनि झसङ्ग भए |
” तैले आफ्नो मर्यादा बिर्सिइस्‌ ? यो मेरो घर हो | अमीर अगा आजको रात मेरो पाहुना हुनुहुन्छ र मैले तँलाई मेरो यस्तरी अपमान गर्न दिन्नँ !”

फरिदले मुख खोलेर झन्डै केही भन्ने आँटेको थियो, फेरि के सोच्यो कुन्नि केही पनि बोलेन । र भित्तामा घ्याच्च अडेस लाग्यो, एकै सासमा केही भुत्भुतायो र त्यो राम्रो चाहिँ गोडा माथि त्यो कुरूप गोडा खाप्यो । उसका सशंकित आँखाहरूले मलाई एकोहोरो हेरिरहे ।

“हामीलाई माफ गरिदिनोस्‌, अमीर अगा,” वाहिदले भन्यो ।
बचपन देखिनै मेरो भाइको मुख उसको दिमाग भन्दा एक कदम अघि छ।’
“गल्ती त साँच्चिकै मेरो हो, फरिदको खाउँला जस्तो हेराइ सँगै हाँस्न कोसिस गर्दै मैले भनेँ । “मैले झर्को मानेको होइन । यहाँ अफगानिस्तानमा मेरो के काम छ भन्ने कुरा मैले उसलाई बताइदिएको भए हुन्थ्यो । म आफ्नो जायजेथा बेच्नलाई आएको होइन | म एउटा केटालाई खोज्न काबुल जाँदै छु ।’

एउटा केटो रे ?” छक्क पर्दै वाहिदले मेरो शब्द दोहोर्यायो ।
“हो | मैले मेरो सर्टको खल्तीबाट त्यो रङीन फोटो निकालेँ । मरिसकेको हसनको फोटो देख्दा मेरो मुटुमा फेरि अर्को चोट लाग्यो । मैले फोटो हेर्नै सकिनँ । फोटो मैले वाहिदलाई दिएँ । उसले फोटो नियालेर हेर्यो । उसले घरी मलाई घरी फोटो हेर्यो । “यो केटो?”

मैले टाउको को इसाराले “अँ भने ।
“यो हजारा केटो ?”
” हो ।”
” यो केटाको तपाईंसँग के सम्बन्ध छ त?”
” यसको बाबु मेरा लागि सर्वस्व थियो । फोटोमा भएको मान्छे त्यही हो । ऊ अहिले मरिसकेको छ ।”
वाहिदले आँखा झिम्क्यायो । “ऊ तपाईंको साथी थियो ?”
मेरो अन्तरआत्माले त ‘हो’ भन्न चाहिरहेको थियो । म बाबाको गोप्य रहस्य पनि जोगाइदिन चाहन्थेँ, तर झूट त धेरै नै भइसकेका थिए । “ऊ मेरो सौताने भाइ थियो ।’ मैले घुटुक्क थुक निलेँ । “मेरो अबैध सौताने भाइ,“ मैले थपैँ । मैले चियाको कप घुमाएँ । कपको समाउने हेन्डिल खेलाएँ ।

“मैले निदीखुदी गर्न खोजेको होइन ।”

“तिमीले कौ निदीखुदी गरेका छैनौ,” मैले भने ।

“त्यो केटोलाई तपाईंले कै गर्नुहुन्छ त ?”

“म उसलाई पेशावर लिएर जान्छु । त्यहाँ उसलाई हेरचाह गर्ने मान्छे छन्‌ ।’

वाहिदले फोटो मलाई फिर्ता दियो र आफ्नो मोटो हात मेरो काँधमाथि राख्यो ।
“तपाईं एउटा सम्मानित व्यक्ति हुनुहुन्छ, अमीर अगा । एउटा सच्चा अफगान ।’ मेरो मुटु सिरिङ भयो ।

“आजको रात मेरो घरमा तपाईंलाई राख्न पाउँदा म गौरवान्वित भएको छु” वाहिदले भन्यो । मैले उसलाई धन्यवाद दिएँ र छवास्स फरिदतिर हेरेँ । फरिद अहिले गुन्द्रीको उध्रेको बिटलाई घोसेमुन्टो लगाएर हेरिरहेको थियो ।

अलिबेर पछि मेरियम र उनकी आमाले तात्तातो २ कचौरा सागसब्जीको शोरवा र दुईवटा रोटी लिएर आए । म दुखी छु किनकी हामीले तपाईंलाई मासु टक्र्याउन सक्दैनौं, वाहिदले भन्यो । “अहिले मासु किनेर खान तालिबानले मात्र सक्छन्‌ ।”

“हेर्दा त यो गजब छ । मैले भनें । थियो पनि । मैले अलिकति उसलाई दिएँ र केही बच्चालाई, तर वाहिदले भन्यो कि परिवारका सबैले हामी आउनु अगावै खाइसकेका रहेछन्‌ । फरिदले र मैले सर्टको वाउला माथि सार्यौँ, शोरवामा रोटी चोप्दै हातैले खायौ ।

जब म खाँदै थिएँ, ख्याउटे, मैलो अनुहार, आर्मी कट काटेको खैरो कपाल भएका वाहिदका तीनैजना छोराहरूले बडो लोभी आँखाले मेरो नाडीको डिजिटल घडीलाई घरिघरि जुल्क्याईरहेको देखेँ । सबैभन्दा कान्छोले आफ्नो दाइको कानमा केही कानेखुसी गर्यो । दाइ चाहिँले अँ को इसारामा टाउको हल्लायो र मेरो घडी एक टकले हेरिरह्यो । सबैभन्दा जेठो चाहिंले अघि पछि हल्लिएर आँखा मेरो घडीमै गाडीरह्यो । मेरो अनुमानमा उसको उमेर त्यस्तै बाह्र बर्ष जति हुँदो हो । खाना खाएर माटोको भाँडाबाट मेरियमले खन्याइदिएको पानीले हात घोइसकेपछि एउटा हाडिया (उपहार) दिनलाई अनुमति मागे । उसले पर्दैन भन्यो, तर मैले ढिपी कसेँ उसले मन नलाई नलाई अनुमति दियो । मैले मेरो नाडिबाट घडि खोले र तीनओटा मध्ये सबैभन्दा कान्छोलाई दिएँ । उसले डराई डराई मसिनो आवाजमा ‘तासाकोर (धन्यवाद)” भन्यो ।

“यसले तिमीलाई संसारको कुनै पनि सहरको समय बताउन सक्छ,” मैले उसलाई भनेँ । केटाहरूले बडो सिष्टतापूर्वक टाउको हल्लाए पालै पालो घडि लिँदै लगाएर विचार गरे तर एकैछिन पछि घडीप्रति उनीहरूको कुनै रूचि देखिएन र घडि गुन्द्रिमाथि मिल्किएर बस्यो ।

“तैँपाईले मलाई भनेको भए हुन्थ्यो, पछि फरिदले मलाई भन्यो । हामी दुईजना वाहिदकी स्वास्नीले ओछ्याइदिएको परालको गुन्द्रीमा एकै ठाउँमा पल्टिएका थियौँ ।
“तिमीलाई के भन्ने ?
“त्यही तपाईं अफगानिस्तान किन आएको भन्ने कुरा के |”
मैले भेटे देखिनै जसरी रूखो पाराले र मसँग बोलिरहेको थियो त्यो अलि कम
हुँदै थियो ।
“तिमीले सोधेकै थिएनौँ,” मैले भनें ।
“तपाईंले मलाई भनेको भए हुन्थ्यो ।
“तिमीले सोध्दै सोधेनौं ।
ऊ मेरो मुखमा हेर्न कोल्टे फर्क्यो । दुबै हात खुम्च्याएर टाउकोमुनि राख्यो । “सायद म तपाईंलाई त्यो केटो खोज्न मद्दत गर्न सक्ने छु ।
“धन्यवाद, फरिद,” मैले भनेँ ।
“कुरै नबुझि प्वाक्क बोलिहाल्नु मेरो गल्ती हो ।”
मैले लामो सास फेरेँ | “चिन्ता नगर | तिमीले थाहा पाएको भन्दा तिमीले भनेको कुरा नै बढी सही थियो |

उसका दुवै हातहरू पछाडि लगेर खस्रो डोरीले नाडीबाट रगतै चुहिएला जस्तो गरी तन्काएर बाँधिएका छन्‌ । उसका आँखामा कालो कपडाको पट्टि बाँधिएको छ । ऊ टन्न भरिएको नबग्ने नालीको छेउ सडकमा घुँडा टेकिरहेको छ । उसको टाउको लुत्रुक्क परेर उँधोमुन्टो लागेको छ । प्रार्थना गर्न हल्लिँदा उस्का घुँडा खस्रो भुइँमा धसारिन्छन्‌ रगत चुहिएर पेन्ट बाहिर देखिन्छ । मध्यान्ह घर्किसकेको छ र उसको जीउको लामो छायाँ ग्रयाभेलमा देखिन्छ । उसले साउती स्वरमा केही भनिरहेको छ । म नजिक नजिक पुग्छु । हजार पालीभन्दा पनि अझ बढी ऊ भन्दछ ।
तपाइँका लागि हजार पालीभन्दा पनि बढी । ऊ अघि पछि हल्लिन्छ । उसले टाउको उठाउँछ । मैले उसको माथिल्लो ओठमा हल्का दाग देख्छु ।

त्यहाँ हामी मात्र छैनौँ ।
मैले पहिला बन्दुकको नाल देख्छु । अनि उस्को पछाडि उभिरहेको मान्छे । कालो फेटा र हरिङबोन मेस्ट लगाएको मान्छे अग्लो छ । उस्को अगाडि आँखामा पट्टि बाँधेर घुँडा टेकाइरखिएको मान्छेलाई यस्ता आँखाले हेर्छ जुन आँखामा विशाल गुफाको जस्तो रित्तोपना बाहेक केही पनि छैन । ऊ एक कदम पछि हट्छ र बन्दुकको नाल उठाउँछ । घुँडा टेकिरहेको मान्छेको टाउकोको पछाडि बन्दुकको नाल टेकाउँछ । एकैपटक मधुरो हुँदै गरेको घाम नालमा पर्छ र टिलिक्क टल्कन्छ ।

कानको जाली फुट्ला जस्तो गरी राइफल पड्किन्छ ।
उसले बन्दुक उत्तानो पार्दा म त्यस्को नाल जतातिर सर्दै छ त्यतै नजर घुमाउँछ । नालको मुखबाट पुत्पुत निस्किरहेको धुवाँको मुस्लोको पछाडि म एउटा अनुहार देख्छु । त्यो हरिङ्बोन भेस्ट लगाएको मान्छे म नै हुँ ।

म च्याँठिदै उठेँ, तर आवाज घाँटीमै अड्कियो ।
म बाहिर निस्कँ । अर्घचन्द्रको चाँदी जस्तै सेतो जूनेली रातमा उभिएँ र माथितिर फर्किएर नौलाखे ताराहरू हेरेँ । चुक जस्तै अँध्यारोमा झ्याउकिहरूको झ्याइँझ्याइँ आउँदै थियो भने रूखका पातहरू हल्लाउँदै सर्र हावा चल्यो । मेरो नाङ्गो गोडामुनीको जमिन चिसो थियो र अहिले अचानक सीमा पार गरेर यत्रो पर आइसकेपछि मलाई लाग्दै थियो कि म घर फर्केर आएको थिएँ । यत्रा वर्षपछि फेरि म एकपटक घर फर्केर आएर आफ्नो पुर्ख्यौली भूमिमा पाइला टेकेको थिएँ । यो त्यही भूमि थियो जहाँ मेरो जिजुबुबाले सन्‌ १९१५ मा काबुलमा फैलिएको हैजाको महामारीले उहाँलाई लैजानुभन्दा ठीक एक बर्ष अगाडि तेस्रो श्रीमती विहे गर्नुभएको थियो । उनले उहाँका लागि एउटा छोरो पाइदिएर अघिल्ला दुईवटा श्रीमतीले गर्न नसकेको काम पूरा गरिदिएकी थिइन्‌ । यो त्यही भूमि थियो जहाँ मेरो हजुरबुबा राजा नादिर शाहसँग शिकार खेल्न जानुभएको थियो र एउटा हरिनको सिकार गर्नु भएको थियो | मेरी आमा यही माटोमा स्वर्गे हुनु भएको थियो । र, यही माटोमा मैले मेरो बाबाको माया पाउनलाई कठिन संघर्ष गरेको थिएँ ।

म एउटा घरको माटोको पर्खालमा अडेस लागेर बसेँ । जसरी मेरो त्यो पुरानो मातृभूमिप्रति अचानक नाता जोडियो त्यसले म आश्चर्यमा परेँ । त्यो ठाउँ बिर्सनलाई र आफू पनि बिर्सिइनलाई मैले त्यो ठाउँ छोडेर गएको धेरै भइसकेको थियो । मेरो घर त्यति परको एउटा भूमिमा थियो जुन ठाउँ म अडेस लागेर बसेको माटोको पर्खाल पारि सुतिरहेका मानिसका लागि अर्कै तारापुञ्ज होकि जस्तो लाग्न सक्छ । म सोच्थेँ कि मैले अर्ध चन्द्रको उज्यालोमा उभिँदा मैले टेकेको अफगानिस्तानले गीत गाइरहेको जस्तो मलाई अनुभूति भयो । सायद अफगानिस्तानले पनि मलाई बिर्सिसकेको थिएन |

म पूर्वतिर हेर्दै रमाइलो मान्दै सोचेँ कि ती हिमालहरूमन्दा माथि त्यतै कतै काबुल अझै जीवित छ । “सानफ्रान्सिस्को कोनिकल”को १५ नं. पेजमा एपीद्वारा प्रेसित समाचारको हेडिङको काबुल जस्तो नभएर वा मेरो पुरानो सम्झनाको जस्तो नभएर, यो साँच्चै अझै अस्तित्वमै थियो | ती हिमाकहरूको पश्चिमपट्टि त्यतै कतै त्यो शहर निदाइरहेको थियो जहाँ मेरो खुडेँ भाइ र मैले चङ्गा उडाउने गर्थ्यौं । त्यतै माथितिर कतै मैले सपनामा देखेको त्यो आँखामा पट्टि बाँधिएको मान्छे औचित्यहिन् मृत्युवरण गरेको थियो । मैले फेरि एकपटक तिनै हिमालहरू पारिपट्टि एउटा कुरा रोजेको थिएँ । र, अहिले एक चौथाइ शताब्दी (२५ बर्ष) पछि त्यही रोजाइले गर्दा मलाई फर्काएर यो माटोमा ल्याइपुर्याएको थियो ।

जब म घरभित्र पस्नै आँटेको थिएँ, घर भित्र मान्छे बोलेको आवाज सुनेँ । मैले चिनेँ एउटा स्वर वाहिदको थियो ।

बच्चाहरूलाई खानेकुरा केही पनि छैन ।

‘हामी भोकै छौँ, तर हामी जंगली होइनौं । उहाँ हाम्रो पाहुना हो ! मैले के गर्नुपर्ने थियो त ?” तनावपूर्ण स्वरमा उसले भन्यो |

भोलि केही खानेकुरा खोज्नुपर्छ ।” उनको स्वर रोएजस्तै सुनिन्थ्यो ।
“मैले के खुवाउने ..”

म लुसुक्क परतिर गएँ । मैले बल्ल कुरा बुझेँ ती केटाहरूले घडीलाई बेवास्ता किन गरेका रहेछन्‌ । तिनीहरूले घडीतिर कत्ति पनि हेरी राखेकै थिएनन्‌ । तिनीहरूले मेरो खानाको थालतिर मात्रै हेरिराखेका थिए ।

भोलिपल्ट सबेरै हामीले विदाइको अभिवादन गन्यौं । मैले ल्यान्डकुजरमा चढ्नुभन्दा ठीक अघि वाहिदलाई अतिथि सत्कारका लागि धन्यवाद दिएँ । उसले आफ्नो पछिल्तिरको एउटा सानो घरतिर देखायो । “यो घर तपाईंकै हो,’ उसले भन्यो । उसका तीनवटै छोराहरू ढोकैमा उभिएर हामीलाई हेर्दै थिए । त्यो घडी सबैभन्दा सानो चाहिंले लगाएको थियो । घडी उसको छोटो नाडीमा तुर्लुङ्ग भुन्डिएको थियो ।

जब हामी अघि बढ्यौँ, मैले साइड-भ्यू मिररमा हेरेँ । ट्रकका चक्काले उडाएको धूलोको बादलमा पुरिएर वाहिद आफ्ना छोराहरूसँगै उभिएको थियो । मेरो दिमागमा के कुरा आयो भने यदि ती केटाहरू अर्कै संसारमा हुन्थे भने कारको पछि पछि दगुर्नै नसक्ने गरी भोकाएका हुने थिएनन्‌ ।

त्यस बिहान सखारै, जब म ढुक्क थिएँ कि मलाई कसैले पनि हेरसराखेको छैन, मैले यस्तो काम गरेँ जुन मैले छब्बीस बर्ष अगाडि एकपटक गरेको थिएँः कच्याककुचुक पारेर एकमुठी नोटहरू चकटी मुनि राखिदिएँ ।