सत्र
रहिम खानले विस्तारै खप्ट्याएको खुट्टा खोले र बडो सावधानिपूर्वक नाङ्गो भित्तोमा अडेस लागे । उनी बडो सावधानीपूर्वक चल्दै थिए जुन देख्दा छातीमा च्यास्स दुख्थ्यो । बाहिर एउटा गधा कराउँदै थियो र कोही उर्दुमा चिच्च्याउँदै थियो । घाम अस्ताउन लागिरहेको थियो र थोत्रा घरहरूका भत्केका चिराहरूबाट रातो घाम टल्केको देखिन्थ्यो ।
यसले फेरि मलाई छोयो, त्यो पापी काम जुन मैले त्यो जाडो र आउँदो ग्रीष्ममा गरेको थिएँ । ती नामहरू मेरो दिमागमा गुन्जियो – हसन, शोहरब, अलि, फारजाना र सनाउबार । अलिको नाम रहिम खानले उच्चारण गरेको सुन्नु भनेको पुरानो, धुलैधुलो भएको, बर्षौंसम्म कसैले नबजाएको चक्काहरू थुपारेर राखेको बाकसबाट एउटा चक्का झिकेर बजाउनु जस्तै भयो । संगीत तुरून्तै बज्न थाल्यो, गुन्जिन थाल्यो । कानमा “ए बबालु आज तैँले कसलाई खाइस् ? कसलाई खाइस्, ए चिम्से बबालु ?” गुन्जिन थाल्यो । मैले मेरो मानसपटलमा अलीको उदास अनुहारको चित्र ल्याउन कोसिस गरेँ, उनका शान्त आँखाहरू देख्न कोसिस गरेँ, तर समय लोभी चीज पनि हुन सक्दो रहेछ । कहिले काहीँ यसले सम्पूर्ण वृतान्तहरू आफ्नै लागि चोरी गर्छ ।
“के हसन अझसम्म त्यही घरमा छ ?” मैले सोधेँ ।
रहिम खानले चियाको कप उचालेर आफ्नो च्यापच्याप सुकेको ओठमा जोडे र एक चुस्की लिए । अनि उनले आफ्नो भेस्टको अगाडिको खल्तीबाट एउटा खाम फुत्त निकाले र मलाई दिँदै भने, “यो तिम्रा लागि ।”
मैले त्यो बन्द खाम च्यातेर खोलेँ । खाम भित्र मैले यु रङ्गिन फोटोर र पट्याएर राखिएको एउटा चिठी फेला पारेँ । मैले पुरै एक मिनेट त्यो फोटो हेरे।
फोटोमा एउटा अग्लो मान्छे हरियो धर्के चपान (Chapan) र सेतो फेटामा फलामे गेटको अगाडि एउटा सानो केटोसँगै उभिएको थियो । देब्रेपट्टिबाट छड्के परेर आएको घामको किरणले उसको गोलो अनुहारको आधा भागमा छायाँ पर्यो । ऊ एक जोडी अघिल्ला दाँत नभएको थोते गिँजा देखाउँदै, आँखा खुम्च्याएर क्यामरातिर हेरेर मुसुक्क हाँस्दै थियो । यो अस्पष्ट रंगिन कोटोमा पनि त्यो चपान लगाएको मान्छेबाट सहजपना र एउटा आत्मविश्वासको गन्ध आइरहेको थियो । आरामले छातीमाथि हात बाँधेर, गोडाहरू नजोडिकन, टाउको अलि ठाडो पारेर उभिएको पोजबाटै त्यो सब देखिन्थ्यो । ऊ जसरी मुसुक्क हाँसेको थियो, सबैभन्दा बढी त ती कुराहरू त्यसमै झल्किन्थ्यो । फोटो हेरिसकेपछि जो कोही पनि यो निर्णयमा पुग्न सक्थ्यो कि यो त्यही मान्छे हो जसले आफूलाई संसारैले दया गर्छ भनी ठान्छ । रहिम खानले भनेको कुरा ठीकै थियो । गल्लीको भीडभाडमा हिँड्दा खेरी म ऊसँग ठोकिएको भए पनि म उसलाई चिन्ने थिएँ । त्यो फुच्चे केटो एउटा हातले बाबुको हालेर चिन्डे टाउको बाउको हिपमा टेकाएर नाङ्गै खुट्टा उभिएको थियो । ऊ पनि आँखा खुम्च्याएर ङिच्च हाँसिरहेको थियो । मैले चिठी खोलेँ | फारसीमा लेखिएको रहेछ । थोप्लो पनि नबिराई दिएको, नबिर्सेर गल्ती भएको ठाउँमा काटिएको, कुनै पनि शब्दहरू गोलमाल नगरिएको, तर सफाइ हेर्दाखेरि चिठी झन्डै बच्चाले लेखेको जस्तो थियो । मैले चिठी पढ्न थालेँ । यस्तो लेखिएको रहेछ :
करूणा सागर, कृपालु अल्लाहको नाममा, अमीर अगालाई मेरो हृदयदेखि नै श्रद्धा,
फारजाना जान, शोहरब र म प्राथना गर्छौं कि यो पछिल्लो पत्र तपाईंको हातमा परून्जेल, तपाईंको गाथमा आरम नै हुने छ र अल्लाहको आशीर्वादले तपाईंलाई ढाकि नै रहने छ । कृपया यो पत्र तपाईंलाई पुर्याइदिए बापत रहिम खान साहेबलाई मेरो न्यानो धन्यवाद सुनाइदिनु होला । मलाई आशा छ कि कुनै दिन मेरो हातमा हजुरले लेखेको चिठी पर्ने छ र अमेरिकामा तपाईंको दिनचर्या कसरी बितेको छ भन्ने बारेमा मैले पढ्न पाउने छु । सायद, तपाईंको एउटा फोटोले हाम्रा आँखाहरू पवित्र पार्ने छ । हामीसँगै हुर्केको, सँगै खेलेको, गल्लीहरूमा दौडेको बारेमा मैले धेरै कुरा फारजाना जान र शोहरबलाई बताइसकेको छु | हामी दुई जनाले कति बदमासी गरेर दुख दिने रहेछौँ भन्ने कथा सुनेपछि उनीहरू हाँस्छन् !
अमीर अगा,
हामी जवान छँदा अफगानिस्तान जस्तो थियो, त्यो अफगानिस्तान मरेको धेरै लामो समय भइसक्यो । अब यो देशमा दया भन्नै कहीँ कतै छैन र मारिनबाट कोही बच्न सक्दैन । सँधैभरि मारकाट । त्राश भन्ने कुरा गल्लीहरूमा, रङ्गशालामा, बजारमा, जताततै छ । यो हाम्रो जीवनको एउटा अभिन्न भाग भएको छ, अमीरल अगा । ती जंगलीहरू जसले हाम्रो मातृभूमिमा राज गरेका छन्, । मानबीय शिष्टता भन्ने कुराको कुनै मतलब छैन | अस्ति मात्रै म फारजाना जानसँग आलु र नान किन्नलाई सँगै बजार गएको थिएँ । उनले पसलेसँग आलुको भाउ सोधिन तर उसले सुनेन । मलाई लाग्छ र बहिरो थियो । त्यसपछि उनले अलि चर्को स्वरमा फेरि के सोध्न भ्याएकी थिइन् एउटा तालिब बतास झैं आइपुग्यो र उनको तिघ्रामा लौरोले हान्यो । उसले यति साह्रो जोडले हान्यो कि उनी लडिन् । ऊ चर्को स्वरमा चिच्च्याउँदै उनलाई सराप्दै भन्दै थियो कि दुर्गुण तथा सद्गुण मन्त्रालयले नारीहरूलाई चर्को स्वरमा बोल्न प्रतिबन्ध लगाएको छ रे । उनको गोडामा धेरै दिनसम्म रातो सुन्निएको घाउ बसीरह्यो, तर म उभिएर आफ्नी श्रीमतीलाई पिटिएको मुकदर्शक बनेर हेर्नु सिवाय के नै गर्न सक्थें र ? यदि मैले प्रतिकार गरेको भए त्यो कुकुरले मलाई गोली हानिदिन्थ्यो । अनि मेरो शोहरबको के हाल हुन्थ्यो होला ? सडक र गल्लीहरू पुरै भोका टुहुराहरूले भरिएका छन् । प्रत्येक दिन मैले आफू जीवीत भएकोमा अल्लाहलाई धन्यवाद दिन्छु यसको मतलब म कालसँग डराएको भन्ने होइन | कुरा के भने मेरी श्रीमती विधवा भएकी छैनन् र मेरो छोरो अनाथ भएको छैन ।
मेरो इच्छा छ कि तपाईंले शोहरबलाई भेट्न सके हुन्थ्यो । ऊ साह्रै असल छ रहिम खान साहेब र मैले उसलाई पढ्न लेख्न सिकाएका छौँ । त्यसैले र आफ्नो बाबु जस्तो मूर्ख बनेर हुर्कने छैन । विचित्रको कुरा उसले गुलेली पनि खेलाउन सक्छ । कहिलेकाहीँ म शोहरबलाई बजार घुमाउन लान्छु र चक्लेट किनिदिन्छु शार-ए-नाउ मा त्यो बाँदर नचाउने मान्छे अझै छ । संयोगले भेट भयो भने मैले उसलाई पैसा दिन्छु र शोहरबलाई देखाउन बाँदर नचाउन लगाउँछु । शोहरब कसरी हाँस्छ देख्न पाए दङ पर्नुपर्यो ! हामी दुईजना प्राय त्यो डाँडा माथिको चिहानमा हिँडेर जान्छौं । हामी दुईजना कसरी त्यो अनारको रूखमुनि बस्थ्यौँ र शाहनामा पढ्थ्यौं तपाईंलाई सम्झना छ त ? खेडेरीले पहाडै सुकेको छ त्यसैले धेरै बर्ष भो त्यसमा फल पनि लागेको छैन, तर अझै पनि शोहरब र म त्यसकै छायाँमा बस्छौं र मैले उसलाई शाहनामा पढेर सुनाउँछु । यो भनिरहन जरूरी छैन कि उसलाई सबैभन्दा मनपर्ने भाग चाहिँ त्यही आफ्नो जस्तै नाम भएको शोहरब र रोस्तम हो । अब छिट्टै उसले त्यो आफैँ पढ्न सक्ने छ ऊ प्रति म गर्व गर्छु । यस्तो छोरो पाउनु मेरो भाग्य हो ।
अमीर अगा,
रहिम खान साहेब साह्रै बिरामी हुनुहुन्छ । उहाँ दिनभरि खोक्नुहुन्छ र जब सर्टका बाहुलाले मुख पुछ्नुहुन्छ, अनि म त्यहाँ रगत देख्छु । उहाँको तौल पनि धेरै घटेको छ र म चाहन्छु उहाँलाई भनेर फारजानाले पकाएको शोरवा र भात उहाँले थोरै खाइदिए हुन्थ्यो, तर उहाँले एक दुई गाँस मात्र खानुहुन्छ र त्यो पनि मलाई लाग्छ फारजानाको मन राखिदिनलाई हो | म उहाँजस्तो प्रिय मान्छेको बारेमा साह्रै चिन्तित छु र उहाँका लागि दिनदिनै प्रार्थना गर्छु । उहाँ केही दिन भित्रै भेट्न पाकिस्तान जाँदै हुनुहुन्छ र ईन्साल्लाह, सुखद खबर लिएर फर्कनुहने छ । उहाँको हाल त देखेर म मनमनै डाएको छु । फारजाना र मैले फुच्चे शोहरबलाई नआत्तिचु रहिम खान साहेलाई अब छिट्टै सन्चो हुन्छ भनेर फुस्ल्याएका छौँ । अरू हामी के नै गर्न सक्छौं र ? र मात्र दश बर्षको छ र रहिम खान साहेबलाई मरिहत्ते गर्छ । तिनीहरू एकअर्कासँग साह्रै नजिक भएका छन् । रहिम खान बेलुन र बिस्कुट किनिदिन बजार लिएर जाने गर्नुहुन्थ्यो, तर उहाँ अहिले साह्रै कमजोर भएर सक्नुभएको छैन ।
अमीर अगा, हिजोआज मैले धेरै सपना देख्दै छु । फुटबल मैदानको घाँस रगताम्य भएको र त्यसमाथि झुन्ड्याएको लास सड्दै गरेको जस्तो कुनै कुनै कुनै त डरलाग्दो सपना हुन्छ । त्यस्तो सपनाबाट म स्वाँस्वाँ गर्दै खलखली पसिना काड्दै बिउँझन्छु, तर पनि धेरै जसो त म राम्रै सपना देख्छु र त्यसका लागि अल्लाहलाई धन्यवाद दिँदै प्रार्थना गर्छु । मैले सपनामा देखेको छु कि रहिम खान साहेबलाई अब सन्चो हुने छ । मैले सपना देखेको छु कि मेरो छोरो असल व्यक्ति बन्ने छ । ऊ एउटा स्वतन्त्र र महत्त्वपूर्ण व्यक्ति बन्ने छ । मैले सपना देखेको छु कि फेरि काबुलका गल्लीहरूमा लावला फूलहरू फुल्ने छन् , साभोभार हरूमा रबाब (Rubab) को संगीत बज्ने छन् र फेरि आकाशमा चङ्गाहरू उड्ने छन् । र मेरो सपना यो पनि छ कि कुनै दिन तपाईं हाम्रो बाल्यकाल बितेको ठाउँ काबुल हेर्न फर्किनुहुनेछ । यदि तपाईं आउनुभयो भने एउटा पुरानो बफादार साथीले पर्खिरहेको पाउनुहुनेछ ।
अल्लाह सधैँ तपाईंको साथमा होउन्
हसन
मैले चिठी दुईपाली पढेँ । चिठी पट्याएँ र अर्को एक मिनेट त्यो फोटो हेरेँ । दुवै खल्तीमा राखेँ । “उसलाई सन्चै छ ?’ मैले सोधेँ ।
‘त्यो चिठी म पाकिस्तान हिँड्नुभन्दा केही दिन अघि ६ महिना अगाडि लेखिएको थियो,“रहिमले भने । “त्यो रडीन फोटो मैले म हिँड्नुभन्दा अघिल्लो दिन खिचेको थिएँ । म पाकिस्तान आएको एक महिनापछि काबुलबाट मेरो एकजना छिमेकीको फोन आयो । उनले मलाई यो कथा फोनमा सुनाए । कथा यस्तो छ : मैले काबुल छोडे लगत्तै बजिर अकबर खानको एउटा ठूलो घरमा एउटा हजारा परिवार एक्लै बसिरहेको छ रे भन्ने हल्ला फैलिएछ । त्यो हल्ला हो वा होइन राम जाने, तर तालिबानको दाबी यही छ । एक जोडी तालिब अनुसन्धानका लागि आएछन् र हसनलाई केरकार गरेछन् । धेरै जसो छिमेकी र मलाई फोन गर्ने मान्छेले समेत हसनको समर्थन गरेर र म सँगै बसिरहेको हो भन्दा पनि तिनले मानेनछन् र हसनलाई ‘झूटो बोलेको भनेर आरोप लागाएछन् । तालिबले उसलाई झूटो बोलेको भनेर आरोप लगाएछन् । तालिबले उसलाई ऊ ढाँट होर हजाराहरूजस्तै चोर हो भनेछन् र साँझसम्ममा आफ्नो परिवार सहित निस्केर घर खाली गर्नलाई हुकुम दिएछन् । हसनले प्रतिवाद गरेछ । मेरा छिमेकीहरू भन्थे कि उनीहरूले त्यो ठूलो घरलाई यसरी हेरेछन् जसरी भोका ब्वाँसोहरूले एउटा भेडाको बथानलाई हेर्छेन् । मेरा छिमेकीले यसै भन्थ्यो । तिनीहरूले हसनलाई भनेछन् कि म फर्की नआउन्जेलसम्म त्यो घरको सुरक्षा गर्नलाई नै उनीहरू आउन लागेका हुन् । हसनले फेरि प्रतिवाद गरेछ । त्यसैले उनीहरूले उसलाई सडकमा लगेछन् –
‘है भगवान्, मैले लामो सास फेरे ।
र उसलाई घुँडा टेक्न लगाए —
“हे भगवान्, के सुन्न परेको?”
“_र उसको टाउकोमा पछाडि गोली हाने ।”
“हे राम ।”
“फारजाना रुँदै चिच्च्याएर आइछन् र उनीहरूलाई हातपात गरिछन् _”
“हे राम ।”
“उनलाई पनि गोली हाने । पछि उनीहरूले दावी गरे कि यो सब आत्मरक्षाका लागि गरिएको थियो”
तर मैले मात्र पटक पटक राम, राम, राम मात्र भन्न सकेँ |
मैले सन् १९७४ मा हसनको खुँडे ओठको सर्जरी गरिसकेपछि हामी हस्पिटलको कोठामा बसेको त्यो दृश्यको बारेमा सोचिरहेँ । बाबा, रहिम खान, अली र म हसनको बेडको छेउमा खाँदिएर उभिँदै हसनले सानो ऐनामा आफ्नो ओठ नियालेर हेरेको हामीले हेरेका थियौं, तर अहिले मभन्दा बाहेक त्यो कोठामा भएका मान्छे कित मरिसकेका थिए भने कोही मर्दै थिए ।
अनि मेरो आँखा अघि अर्को अभियो हरिङबोन (खुटेको) भेस्ट लगाएको एक जनाले आफ्नो क्लासनिकोभको नालले हसनको टाउको पछाडि अँठ्याइरहेको थियो ! गोली पड्केको आवाज मेरो बुबाको घर पछाडिको गल्लीसम्मै गुन्जिएर थर्कन्छ । हसन अलकत्रे सडकमा लत्रक्क परेर लड्छ । उसको बिनाप्रतिफलको बफादारी पूर्ण जीवन उसले लखेट्ने गरेको हावाले उडाएको चङ्गाझैँ उसैलाई छोडेर पर पर जाँदै थियो ।
“तालिबान घर भित्र पसे,” रहिम खानले भने । “बहाना के गरियो भने उनीहरूले बिनाअनुमति बसेको एउटा मान्छेलाई निकालेर घर खाली गराएका थिए । हसन र फारजानाको हत्यालाई आत्मरक्षाको मुद्दा बनाएर त्यतिकै सामसूम पारियो । त्यसको बारेमा कसैले पनि एक शब्द बोलेन । मलाई लाग्छ यो सब डरको कारणले भएको थियो | एक जोडी हजारा नोकरका लागि कोही पनि ज्यान खतरामा पार्न तयार थिएन ।”
“शोहरबलाई तिनीहरूले के गरे त ?” मैले सोधेँ । मैले थकित अनुभव गरेँ र लत्रक्क परेँ । रहिम खानलाई चर्को खोकीले समात्यो र धेरै बेरसम्म छोडेन । अन्तिममा जब उनले मास्तिर हेरे, आँखा रगत चुहिएला जस्तो र अनुहार रातो भएको थियो । “मैले सुनेको थिएँ कि ऊ कार्तेह-सेह मा कतै एउटा अनाथालयमा छ रे। अमीर जान _-” मात्र के भन्न भ्याएका थिए उनले फेरि खोक्न थाले । जब खोकी रोकियो उनी एकैछिन अघिको रहिम खानभन्दा बूढो देखिए मानौँ कि उनी प्रत्येक खोकाई सँगै झन् बूढो हुँदै गैरहेका थिए । “अमीर जान तिमीलाई मैले यहाँ बोलाएको किन हो भने म मर्नुभन्दा अघि तिमीलाई देख्न चाहन्थेँ, तर कुरा त्यति मात्र होइन ।”
म केही पनि बोलिन । मलाई लाग्छ उनी अब के भन्न जाँदै थिए भन्ने पहिल्यै बुझिसकेको थिएँ ।
“म चाहन्छु तिमी काबुल जाऊ र शोहरबलाई यहाँ लिएर आऊ, ” उनले भने ।
उचित शब्दको खोजीमा मैले संघर्ष गर्नुपर्यो । हसनको मृत्युको बारेमा कुरा गर्न मैले मुस्किलले समय पाएँ ।
“कृपया मेरो कुरा सुन । मैले यहाँ पेशावरमा थोमस र बेट्टि क्याल्डवेल नाम गरेका अमेरिकन जोडीलाई चिनेको छु । उनीहरू किश्चियन हुन् र तिनीहरूको एउटा सानो च्यारिटी अर्गनाइजेशन चलाउँछन् जुन उनीहरूले व्यक्तिगत चन्दा दाताको भरमा थामेका छन् । अधिकतम उनीहरूले त्यहाँ आफ्ना आमा बुबा गुमाएका अफगानी बच्चाहरूलाई खाने बस्ने व्यवस्था गर्छन् । मैले त्यो ठाउँ देखेको छु । त्यो ठाउँ सफा र सुरक्षित छ । केटाकेटीहरूको राम्रो हेरविचार गरिन्छ र श्रीमान श्रीमती क्याल्डवेल एकदम दयालु मान्छे छन् । उनीहरूले मलाई भनिसकेका छन् कि शोहरब आउँछ भने उसलाई त्यो घरमा स्वागत छ र ”
“रहिम खान तपाईंले यो ख्याल ख्याल भनेको त होइन ?”
“बच्चाहरू साह्रै कमजोर हुन्छन् अमीर जान । काबुल पुरै असाह्य बच्चाहरूले भरिइसकेको छ र म चाहन्न कि शोहरब पनि फेरि एउटा त्यस्तै होस् ।’
“रहिम खान म काबुल जान चाहन्न | म जान सक्दिनँ !” मैले भनेँ ।
“शोहरब साह्रै चलाख केटो छ । हामीले उसलाई यहाँ माया दिने मान्छेसँग राखेर नयाँ जीवन र नयाँ आशा दिन सक्छौं । थोमस अगा असल मान्छे छन् र बेट्टी खान्नुम साह्रै दयालु छन् । बच्चासँग उनले कस्तो व्यवहार गर्छिन् देख्न पाए तिमी दङ्ग पर्थ्यौ ।’
“म नै किन जान पर्यो ? तपाईंले यहाँ कसैलाई पैसा दिएर पठाउन सक्नुहुन्न ? यदि पैसाले अड्किएको हो भने बरू म नै तिरौँला ।’
“यो पैसाको मामला होइन, अमीर !” रहिम खान गर्जे | “म मर्न लागेको मान्छे हो र मेरो बदनाम नगरियोस् ! पैसाको बारेमा मसँग कहिल्यै त्यस्तो कुरा हुँदैन, त्यो तिमीले याद राख । अनि तिमी नै किन त ? मलाई लाग्छ तिमी नै किन जान पर्ने भन्ने कुरा हामी दुवैलाई थाहा छ, छैन त ?”
म त्यो आलोचना किन भनेर बुझ्न चाहन्थिनँ, तर बुझेँ । मैले यो सबै चाहिने भन्दा बढी नै बुझेँ । “मेरो अमेरिकामा श्रीमती छ, एउटा घर छ, जागीर छ र परिवार छ । तपाईंलाई थाहा छ कि काबुल एउटा खतरायुक्त ठाउँ हो र तपाईं मलाई सबै कुरा खतरामा __ लागि परोस् __ म रोकिएँ ।
“तिमीलाई थाहा छ; रहिम खान बोले, कि एक पाली तिमी हाम्रो वरिपरि नभएको बेला तिम्रो बाबा र म बोल्दै थियौं र तिमीलाई थाहा छ कि ती दिनहरूमा उहाँ सधै तिम्रो बारेमा कति चिन्ता लिनुहुन्थ्यो । म सम्झन्छु उहाँले मलाई भन्नुभाथ्यो ‘रहिम जुन केटो आफ्नो खुट्टामा आफैँ उभिन सक्दैन, त्यसले कसैको भलो गर्न सक्दैन । म सोच्छु ‘कतै तिमी त्यस्तै मान्छे त भएका छैनौ ?”
नजर झुकाएँ ।
“म तिमीसँग के अनुरोध गर्दै छु भने कमसेकम एउटा मर्न लागेको बूढाकत्र चाहना पूरा गरिदेऊ,” उनले बडो गम्भीर मुद्रामा भने ।
मेरो बारेमा उपर्युक्त टिप्पणी गरेर उनले जुवा खेलेका थिए । उनले सर पत्ति फाले । अथवा मैले त्यती बेला त्यस्तै ठाने । उनका शब्दहरू हामी दुई बीच अनिश्चित बनेर हावामा तर्लङ्ग झुन्डियो, तर उनले कम्तिमा पनि अब के भन्ने भनेर थाहा पाइसकेका थिए । म अझै उपयुक्त शब्दको खोजीमा थिएँ र त्यो कोठामा लेखक पनि म नै थिएँ । अन्तिममा त्यसको समाधान मैले यसरी गरेँ : “सायद बाबाले ठीकै भन्नुभएको थियो ।”
म साह्रै दुःखी छु अमीर कि तिमी त्यस्तो सोच्दा रहेछौ ।’
मैले उनको अनुहारमा हेर्नै सकिनँ । तपाई यस्तो सोच्नुहुन्न?”
मैले यस्तो सोच्ने भए तिमीलाई यहाँ बोलाउने नै थिइनँ ।’
म मेरो स्वयंवरको औंठी खेलाउँदै बसें । “तपाईंले मेरो सधैंभरि अति बढी उच्च मूल्यांकन गर्नुभएको छ, रहिम खान ।’
“र तिमी सँधैभरि आफैँप्रति अति बढी कठोर बनेका छौ ।’
उनी एकछिन अकमकाए । ‘तर कुरा अर्कै छ । त्यो तिमीलाई थाहा छैन ।’
“कृपया रहिम खान”
“सनाउबार अलिकी पहिलो श्रीमती थिइनन् ।
म भस्याङ्ग हुँदै उनीतिर हेरेँ ।
“उसको बिहे पहिले पनि एक पटक जोघोरीतिरकी एक जना हजारा आइमाईसँग भइसकेको थियो । यो तिमी जन्मनुभन्दा धेरै अघिको कुरा हो । तिमीहरूको वैवाहिक जीवन तीन बर्षसम्म चल्यो ।”
“अनि यसको अरू कुरासँग के सम्बन्छ छ त ?”
“जायजन्म भएन र तीन बर्षपछि उसले खोस्तको (Khost) एक जना मान्छेसँग बिहे गरी । ऊ तिरबाट उसका तीनवटा छोरी जन्मे । मैले तिमीलाई त्यही कुरा भन्न खोजिरहेको छु ।”
मैले बुझैँ उनी के भन्न गइरहेका थिए, तर म अब बाँकी कुरा सुन्न चाहन्थिन । क्यालीफोर्नियामा मेरो जीवन आरामदायी थियो – तेर्सो छानो भएको भिक्टोरिया शैलीको सुन्दर घर, असल श्रीमती, आशलाग्दो लेखन पेशा, मलाई माया गर्ने आफन्तजन सबै कुरा । मलाई यो सब टाउको दुखाउने कुरा चाहिएकै थिएन ।
“अली नपुंसक थियो,” रहिम खानले भने ।
“होइन, ऊ थिएन । अली र सनाउवारलाई छोरो हसन जन्मेको थियो, थिए र ? तिनीहरूको हसन थियो ___।”
“होइन, अमिर तिनीहरूको सन्तान जन्मेको थिएन, रहिम खानले भने ।
“थियो त !”
“होइन अमीर तिनीहरूको थिएन ।
“अनि को..”
“मलाई लाग्छ तिमी जान्दछौ को हो ।”
म छाँगाबाट खस्दै गरेको मान्छे जस्तो भएँ जुन मान्छे झारपात र ब्ल्याकबेरीको झ्याङ्ग समातेर अड्कियो र माथि आइपुग्दा रित्तै हात आयो । कोठा नै तलमाथि दायाँबायाँ हल्लिएजस्तो लाग्यो । “हसनलाई यो कुरा थाहा थियो त ? मेरो आफ्नै जस्तो पनि नलाग्ने सुकेको ओठहरू चलाउँदै मैले भने । रहिम खानले आँखा बन्द गरे । टाउको हल्लाएर छैन भन्ने इसारा गरे ।
“रन्डीका छोराहरू,” म भुत्भुताएँ । जुरूक्क उठे । “सिमा झ्याँक्ने रन्डीका छोराहरू !” म रिसले च्याँठ्ठीएँ । “तिमीहरू सबै फटाहा हौ सिमाझ्याँक्ने रन्डीका छोराहरू !”
“कृपया बस त, “ रहिम खानले भने ।
“तपाईले यो कुरा कसरी म बाट छिपाएर राख्न सक्नु भएको ? उसबाट पनि किन लुकाउनुभएको ?” म च्याँठिएँ ।
“कृपया अमीर जान ठन्डा दिमागले सोच । यो बडो लाजमर्दो अवस्था थियो । मान्छेले कुरा काट्थे होलान् । उहाँको विगतमा जे जे थियो, उहाँ जे हुनुहुन्थ्यो, त्यो उहाँको सम्मान र नाम नै थियो र यदि मान्छेले त्यसमाथि शङ्गा गरेर कुरा काटेको भए ___ ? हामीले त्यो कुरा कसैलाई भन्न सकेनौं । पक्कै पनि तिमीले यो देखेका छौ ।’ उनले मतिर हात लम्काए, तर मैले उनको हात पन्छाइदिएँ । ढोकातिर सोझिएँ ।
‘अमीर जान कृपया नजा त ।
मैले ढोका खोलेँ र उनीतिर फर्किएँ । “किन ? अब तपाईंले मलाई के नै सुनाउन बाँकी छ र ? म अड्तीस बर्षको भएँ र आज बल्ल थाहा पाएँ कि मेरो सारा जीवन सिमा झयाँक्ने झुटै झुटमा बितेको पो रैछ । अव तपाईंले बितेका नराम्रा कुराहरूलाई चोख्याउन के नै भन्न सक्नुहुन्छ र ? क्यै पनि सक्नुहुन्न । तपाइँले सिन्कोसम्म पनि भाँच्न सक्नुहुन्न !” यति भन्दै म अपार्टमेन्टबाट रन्केर बाहिर निस्केँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।