परिच्छेद -१९
प्रात्जेन पहाडमा, जहाँ ऊ झण्डाको डण्डा हातमा लिँदै लडेको थियो, राजकुमार आन्द्रेइ बोल्कोन्स्की शरीरबाट रगतका धारा बगाउँदै बेहोश अवस्थामा पल्टिरहेको थियो । ऊ झिनो र टिठलाग्दो स्वरमा सानो बालकभैँ कहराइरहेको थियो ।
बेलुकीतिर ऊ हराउन छोड्यो र एकदम निःशब्द भयो । उसको बेहोशीको अवस्था कति बेलासम्म कायम रह्यो उसलाई थाहा थिएन । अचानक उसलाई आफू जिउँदै भएको र कपाल दुखेर असह्य पीडा भइरहेको महसुस भएर आयो । ‘यो विशाल आकाश कहाँ रहेछ, जो अहिलेसम्म मलाई थाहा थिएन तर आज भर्खर मात्र यसलाई देखेँ ?’ होस खुलेपछि उसले सोचेको यो पहिलो विषय थियो । ‘र म यस पीडाबाट पनि अनभिज्ञ थिएँ,’ उसले यो पनि सोच्यो । ‘हो त नि, अहिलेसम्म मलाई कुनै कुराको सम्झना छैन, मलाई केही थाहा छैन र म कहाँ छु त्यो पनि थाहा छैन ।’
उसले घोडाको टाप बजेको र मान्छेहरू फ्रान्सेली भाषामा बोलिरहेको आवाज सुन्यो । उसले आँखा खोल्यो । उसमाथि फेरि त्यही विशाल आकाश थियो, जहाँ लागेका बादलहरू झन् माथिमाथि उठिरहेका थिए, । ती बादलका बीच अनन्त आकाशको नीलिमा झल्किरहेको देखिन्थ्यो । उसले टाउको पनि घुमाएन र तिनीहरूलाई हेर्दा पनि हेरेन, जो घोडाका टाप र कुरा गराइको आवाज सुन्दा घोडामा आएर उसको नजिकै रोकिएका थिए ।
दुई जना सहायक अफिसरका साथ उसको नजिक आउने नेपोलियन नै थियो । घोडा चढेर रणमैदानमा दगुराउँदै, औगेस्द बाँधमा गोला वर्षा गरिरहेका तोपसेनालाई नेपोलियनले आक्रमण झन् कडा गर्ने अन्तिम आदेश दिएको थियो र आफूले मरेका र घाइते भएका मान्छेहरूको निरीक्षण गरिरहेको थियो ।
“यिनीहरू साँच्चैका बहादुर हुन् !” एउटा रसियाली मृतक ब्रिगेडियरलाई हेर्दै उसले भन्यो, जो उँधोमुन्टो लगाएर भुइँमा गडेको थियो, जसको गर्धन कालो भएको थियो
र दुवै हात ठाकठाकतै भएर तेर्सिएका थिए ।
“सम्राट्, तोपखानामा गोला सिद्धियो,” औगेस्दमा गोलाबारी गरिरहेको तोपखानाबाट फर्किरहेको एक जना सहायक अफिसरले सूचना दियो ।
“जगेडाबाट लिएर आउनू भन,” नेपोलियनले जवाफ दियो र केही पर राजकुमार आन्द्रेइको अगाडि गएर ऊ रोकियो जो झण्डाको डण्डा हातमा लिएर उत्तानो पल्टिरहेको थियो ।
(झण्डा भने विजय पुरस्कारस्वरूप फ्रान्सेलीहरूले लिएर गइसकेका थिए)
“यसलाई भन्छन् राम्रो मृत्यु ।” बोल्कोन्स्कीलाई हेर्दै नेपोलियनले भन्यो ।
“राजकुमार आन्द्रेइले यी शब्दहरू आफैलाई सम्बोधन गरेर भनिएका हुन् र यो भन्ने मानिस नेपोलियन हो भन्ने कुरा बुझ्यो । उसले यी शब्दहरू मुखबाट निकाल्ने मान्छेलाई “सम्राट” भनेर सम्बोधन गरेको सुनेको थियो । उसले यी शब्दहरू एउटा झिँगा भुन्भुनाएको आवाजको रूपमा सुनेको थियो । यी शब्दहरूमा चासो नराखेको मात्र होइन उसले यी शब्दहरू नै बिर्स्यो । उसको टाउको दुखेर फुट्ला जस्तो भएको थियो । उसलाई रक्तश्चावका कारण मरूँला जस्तो लागिरहेको थियो । र उसले आफूभन्दा धेरै टाढा र धेरैमाथि फेरि उही उदात्त र अनन्त आकाश देख्यो । उसलाई उक्त व्यक्ति उसको “नायक” नेपोलियन नै हो भन्ने थाहा थियो तर त्यस बखत उसले उडिरहेका बादलका साथ त्यो असीम तथा अनन्त आकाश र आफूबीच भइरहेको अवस्थालाई ध्यानमा राख्दा तुलनात्मक रूपमा नेपोलियनलाई एउटा तुच्छ र अणु बराबरको प्राणी ठान्यो । त्यस बखत आफ्नोनजिक आएर को उभिन्छ र के भन्छ भन्ने कुराको उसलाई कुनैअर्थ थिएन । उसलाई यस कुराले मात्र खुसी लागेको थियो कि उसका अगाडि मानिसहरू उभिइरहेका छन् र उसको इच्छा यो मात्र थियो कि उनीहरूले आवश्यक सहयोग गरेर उसलाई जीवनदान दिउन् । अहिले उसलाई जिन्दगी यति सुन्दर लागिरहेको थियो कि उसले यसलाई अकैँ दृष्टिले बुझ्न लागेको थियो । उसले चलफिर गर्न र मुखबाट बोली फुटाउन आफ्नो भएभरको शक्ति लगायो । उसले विस्तारै गोडा चलायो र यति क्षीण र कारूणिक ढङ्गमा करायो कि उसको आफै दया जागेर आयो ।
“ओहो, ऊ त जिउँदै रहेछ,” नेपोलियनले भन्यो । “यस तन्नेरी मान्छेलाई बोकेर घाउचोटमा मलमपष्टि गर्ने चौकीमा लैजाक ।”
यति भनिसकेपछि नेपोलियनले मार्सल लान्स भएतर्फ आफ्नो घोडा बढायो, जो लडाइँमा विजय प्राप्त गरेवापत बधाई अर्पण गर्न मुस्कुराउँदै सम्राट्तर्फ आउँदै थियो ।
त्यसपछि राजकुमार आन्द्रेइको दिमागमा केही कुराको सम्झना भएन । घाउ ड्रेसिङ गर्ने चौकीमा लग्दा स्ट्रेचरमा घ्याँचघुँच र घाउमा छुवाछूत भएको कारण उसको होस गुमिसकेको थियो । घाम अस्ताउने बेलामा, जब उसलाई अन्य घाइते रसियाली कैदी अफिसरसँग अस्पताल लगिँदै थियो, तब मात्र उसको होस खुल्यो । यस यात्रा क्रममा उसले अलिकति शक्ति प्राप्त गरेजस्तो अनुभव गर्यो किनभने ऊ यसो यताउति हेर्न सक्ने र केही बोल्न सक्ने अवस्थामा पुगेको थियो ।
होश खुल्नासाथ उसले बन्दी अफिसरहरूलाई लिएर गइरहेको फ्रान्सेली अफिसरले छिटोछिटो बोलिरहेको कुरा सुन्यो । “हामी एकछिन पर्खेर बसौँ । सम्राट् छिट्टै यतातिर आउँदै हुनुहुन्छ । यी बन्दीहरूलाई देखेपछि उहाँ धेरै प्रसन्न हुनु हुनेछ,” उक्त अफिसरले भन्दै थियो ।
“छ्या, यहाँ त हजारौँ रसियाली बन्दीहरू छन् अथवा भनौँ सम्पूर्ण रसियाली बन्दीहरू यहीँ नै छन् । बरू तिनीहरूलाई देखेर उहाँलाई दिक्क लाग्ला,” अर्को अफिसरले भन्यो ।
“यसले फरक पर्दैन तर उनीहरू भन्छन् कि सम्राट् अलेक्जेण्डरका सम्पूर्ण गार्डसेनाको सेना नायक नै उही हो,” सेतो बर्दी लगाएको घोडसेनाको एउटा रसियाली अफिसरतर्फ सङ्केत गर्दै पहिलो अफिसरले भन्यो । जमघटमा चिनजान भएको राजकुमार रेपनिनलाई राजकुमार बोल्कोन्स्कीले चिन्यो । कसँगै उन्नाइस वर्षको एउटा लक्का जवानका साथै घोडसेनाको एक जना घाइते अफिसर पनि थियो ।
नेपोलियन आफ्नो घौडा दगुराउँदै ऊनिर आएर रोकियो र बन्दीहरूलाई हेर्दै यिनीहरूमध्ये सबैभन्दा वरिष्ठ को हो भनेर सोध्यो ।
उनीहरूले कर्नेल राजकुमार रेपनिनको नाम दिए ।
“तिमी सम्राट् अलेक्जेण्डरको घोडसेना रेजिमेन्टको कमाण्डर हौ ?” नेपोलियनले सोध्यो ।
“म स्क्वाड्रन कमाण्डर थिएँ,” रेपनिनले उत्तर दियो । “तिम्रो रेजिमेन्टले इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गरेको कुरा मान्नै पर्छ,” नेपोलियनले भन्यो ।
“मजस्तो सैनिकका निम्ति तपाईंजस्तो महान सेनापतिले गरेका प्रशंसा नै सबभन्दा ठूलो पुरस्कार हो,” रेपनिनले भन्यो ।
“मैले तिमीलाई यो पुरस्कार खुसीले दिएको हुँ । अनि तिमीसँगै बसेको त्यो लक्का जवान केटो को हो नि ?” नेपोलियनले सोध्यो ।
राजकुमार रेपनिनले लप्टन सुख्तेलेनको नाम लियो “सुख्तेलेनतर्फ हेर्दै नेपोलियनले भन्यो, “हामीहरू जस्तासँगै सेखी गर्ने यसको उमेर अझै भएको छैन ।
“उमेर र साहस भन्ने कुरा छुट्टाछुट्टै हुन्” दिक्क माने जस्तै गरेर सुख्तेलेनले भन्यो ।
“गजबको जवाफ दियौ तन्नेरी, मैले मानेँ तिमीलाई,” नेपोलियनले भन्यो । “तिमीले जीवनमा धेरै ठूलो उन्नति गर्ने छौ ।”
सम्राट्का सामु पेश गरिएका युद्धबन्दीहरूको सूचीमा राजकुमार आन्द्रेइ बोल्कोन्स्की आकर्षणको एउटा केन्द्रविन्दु नै भयो । नेपोलियनको मनमा उसलाई युद्धक्षेत्रमा कतै देखेजस्तो लागेर आयो र त्यसैले गर्दा उसले उसलाई “तन्नेरी” शब्द प्रयोग गरेको हुनु पर्दछ । र उसलाई पहिलो पटक देखेको स्मृतिस्वरूप उसको मानस्पटलमा ऊ कहिल्यै नमेटिने किसिमले अङ्कित भएको पनि हुनु पर्दछ ।
“हे बीर योद्धा । तिमीलाई कस्तो छ ?” नेपोलियनले राजकुमार आन्द्रेइलाई सोध्यो । पाँच मिनेटपछि आफूलाई बोकेर लगिरहेका सिपाहीहरूसँग राजकुमार आन्द्रेई कुरा गर्न सकेको विय तर अहिले नेपोलियनका सामु सोझै आँखा जुधे पनि ऊ केही बोल्न सकिरहेको थिएन ।
यस बखत उसले देखेको र बुझेको अग्लो, दयालु र न्यायपूर्ण आकाशका तुलनामा, स्वर्थ, घमण्ड र विजय उन्मादका कारण उन्मत्त भएको आफ्नो नायक नेपोलियनको व्यक्तित्व उसलाई यति तुच्छ लागेर आयो कि उसले उसको प्रश्नको उत्तर नै दिन सकेन ।
वास्तवमा त्यो कठोर र उच्च विचारधाराका तुलनामा, जो अत्यधिक रक्तश्रावका कारण भएको शक्तिक्षय, पीडा, यातना र मृत्युनिकटताको चेतनाका फलस्वरूप उसको मनमा उत्पन्न भएको थियो, उसलाई सबथोक निरर्थक र तुच्छ लागिरहेको थियो । नेपोलियनका आँखामा हेर्दा राजकुमार आन्द्रेइले, अहिले महानताको निरर्थकता कसैले बुझेर नेपोलियनका जीवनको निरर्थकता र त्योभन्दा पनि ठूलो कुनै जीवित मान्छेले बुझ्न र व्याख्या गर्न नसक्ने मृत्युका निरर्थकता बारे मात्र सोच्यो ।
सम्राट् पनि उसको उत्तर नै नपर्खेर अर्कोतर्फ फर्क्यो र घोडा अगाडि बढाउँदै आफ्नो एक जना अफिसरलाई भन्यो “यिनीहरूको राम्रोसँग हेरविचार गर्नू र यिनीहरूलाई मेरो सैनिक निवासमा लिएर जानू । मेरो निजी चिकित्सक डा. लारीले उनीहरूको घाउचोट जाँच गरेर उचित उपचार गर्ने छ । फेरि भेटौंला राजकुमार रेपनिन,” यति भन्दै उसले आफ्नो घोडा सर्पट कुदाउँदै अगाडि बढायो ।
नेपोलियनको अनुहारमा आत्मसन्तोष र आत्मप्रसन्नताको भाव स्पष्ट रूपमा झल्किरहेको थियो ।
राजकुमार आन्द्रेइलाई बोकेर लग्ने सिपाहीहरूले उसले लगाएको घाँटीको सुनको प्रतिमा झिकेर लिएका थिए, जो उसलाई उसकी बहिनी मेरीले लगाइदिएकी थिई । तर बन्दीहरूप्रति सम्राटको यति राम्रो र मायालु व्यवहार देखेपछि उनीहरूले त्यो प्रतिमा हत्तपत्त फर्काइदिए ।
राजकुमार आन्द्रेइले आफूलाई यो प्रतिमा कसरी र कसले लगाइदियो भन्ने थाहा भएन तर मसिनो सुनको सिक्रीसहित यो प्रतिमा बर्दीबाहिर उसको छातीमा अचानक झुण्डिइरहेको देखियो।
“किति राम्रो हुने थियो,” राजकुमार आन्द्रेइले उक्त प्रतिमा हेर्दै सोच्यो, जो उसकी बहिनीले अत्यन्त भावविभोर हुँदै श्रद्धापूर्वक उसको घाँटीमा लगाइदिएकी थिई, “कति राम्रो हुने थियो, यदि सबै चिज यति स्पष्ट र यति सरल हुने भए, जति स्पष्ट र जति सरल राजकुमारी मेरीलाई लाग्दछ । यो जीवनमा कहाँ र कसको सहयोग माग्न जाने त्यो थाहा पाउन सके कति मजा हुने थियो, र मृत्युपछि अर्थात् चितामा सुतेपछि को र के नै चाहिन्छ र, जसको आशा गरौं । यति बेला मैले यदि “हे भगवान् मलाई दया गर” सक्ने भए मलाई थियो तर मैले यस्ता बिलौना कोसँग गरूँ,कि त्यो अपरिभाषित र दुर्बोध शक्तिसँग गरूँ जसलाई मैले सम्बोधन गर्न नसक्ने मात्र होइन शब्दमा प्रकट गर्न पनि असमर्थ छु । जो सर्वशक्तिमान छ वा शून्य छ” उसले आफूले आफैलाई भन्यो, “कि त्यो भगवानसँग भनूँ, जो मेरीद्वारा सिलाइएको यस जन्तरभित्र अवस्थित छ ?” यहाँ मैले बुझेको सबै चिजको निस्सारता र कुनै दुर्बोध्य तर अत्यन्त गरिमामय वस्तुको महिमाबाहेक अरू केही पनि सत्य छैन ।”
स्ट्रेचर अगाडि बढिरहेका थियो । हरेक धक्कामा राजकुमार आन्द्रेइलाई असह्य पीडा हुन्थ्यो । उसको ज्वरो बढ्दै गयो र बेहोश भएर बर्बराउन थाल्यो । लडाइँभन्दा पहिलेको रात, उसको बाबु, श्रीमती, बहिनी र भावी छोराप्रतिको मृदु प्रेम, र तुच्छ नेपोलियनको तुच्छ स्वरूप र यी सबैभन्दा बढी उच्च र अनन्त आकाश- यिनीहरू नै त्यो बेहोसी अवस्थामा उसको सपनामा आइरहेका थिए ।
बाल्ड हिलको आफ्नो घरको सुख र शान्त जीवनको पनि उसलाई त्यस सपनामा सम्झना भयो । ऊ त्यस सुखमय जीवनको स्वर्गीय आनन्द प्राप्त गर्दै थियो, जब कि अचानकसँग भावनाहीन, अति सङ्कीर्ण र अरूको दु:खमा सुखको अनुभव गर्ने तुच्छ नेपोलियन उसका आँखाअगाडि आयो अनि शङ्का र यांतनाका दिनहरू सुरु भए- उसलाई केवल अनन्त आकाशले मात्र शान्तिको आश्वासन दिइरहेको थियो । बिहानीपख सबै सपना उडेर विस्मृतिको अँध्यारो र शून्यतामा बिलाए । नेपोलियनको निजी डाक्टर लारीको भनाइअनुसार यस्तो अवस्थामा उसको बाँच्नेभन्दा मर्ने सम्भावना धेरै थियो ।
“यो मानिस एकदम स्नायुविकार भएको र पित्त बढेको रोगी हो तसर्थ ऊ बाँच्न सक्तैन,” डाक्टर लारीले घोषणा गप्यो ।
बाँच्ने आशा मारिएका अन्य घाइतेहरूसँगै राजकुमार आन्द्रेइलाई पनि स्थानीय मान्छेहरूको रेखदेखमा छोडियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।