प्रविष्टि
बुधनको घोडी (२०७३) मन्दिरा मधुश्रीद्वारा लिखित फुटकर कथाहरूको सङ्ग्रह हो । मन्दिरा मधुश्री समसामयिक नेपाली कथा लेखनमा सशक्त ढङ्गले क्रियाशील नारी हस्ताक्षर हुन् । कथा आख्यानको एउटा भेद हो । जीवनको कुनै एउटा घटनालाई आख्यानका माध्यमबाट प्रस्तुत गर्दा कथा बन्दछ । वस्तुतः मानवजीवनको कलात्मक यथार्थताको अङ्कन आधुनिक कथामा हुन्छ  । कथामा जीवनको कुनै रोचक वा मार्मिक पक्षको उद्घाटन हुनुपर्छ । त्यसैले कथा जीवनको निकट हुन्छ,  बढीभन्दा बढी जीवनसापेक्ष हुन्छ । मन्दिरा जीवनका विविध पक्षलाई नजिकबाट अवलोकन, अनुभव र अनुभूत गरेर मार्मिक कथा लेख्ने कलामा सिपालु छिन् । यिनका कथामा समय र सामाजिक जनजीवनका मूलतःः जटिल, कष्टकर र हृदय विदारक, कटु यथार्थ चरित्र एवम् घटनाहरूको चित्रण सार्थक ढङ्गले भएको पाइन्छ ।

मन्दिराको प्रथम कथाकृति बुधनको घोडी अन्र्तगत पहिलो बिरेको सपना र रेडियोको समाचार तथा अन्तिम बाजी सहित जम्मा १५ वटा कथाहरू समावेश छन् । आयामका  दृष्टिले केही मध्यम र केही अलि लामो आकारका छन् यी कथाहरू । यीमध्ये सबैभन्दा सानो आकारको कथा बिरेको सपना र रेडियोको समाचार रहेको छ, यसको आयाम सात पृष्ठको मात्र छ । यसपछि नौ पृष्ठका दुईवटा मात्र कथा छन्..पुनरावृत्ति र विजेता । मासुको तिर्सना दश पृष्ठको छ भने आइमाई र अम्बाको बोट दुवै कथा एघार पृष्ठमा फैलिएका छन् । बाह्र पृष्ठको एउटा मात्र कथा छ , अंशवण्डा शीर्षकको । तेह्र पृष्ठका  कथाहरू तीनवटा छन्, मैले चिनेको शहर, सिट नं १२ तथा मध्यरात र खुल्ला झ्यालभित्रको उज्यालो । हाकिम म र त्यो साँझ तथा पानी परेको रात दुवै चौध पृष्ठका छन् । यसरी नै बाजी १५ पृष्ठमा विस्तारित छ । सङ्ग्रहको शीर्षकथा बुधनको घोडी सत्र पृष्ठमा विस्तारित छ भने आकारका दृष्टिले सबैभन्दा लामो कथा हो मम्मी, मलाई किन छोड्नु भाको ?  यो कथा बाइस पृष्ठमा फैलिएको छ , यसरी छोटोमा सात पृष्ठ देखि लामोमा बाइस पृष्ठसम्मका कथाहरू यस सङ्ग्रहमा समाविष्ट छन् ।

कथाहरूको परिचर्चा

डा.घनश्याम न्यौपाने परिश्रमी

बुधनको घोडी कथा सङ्ग्रहभित्रको पहिलो कथा बिरेको सपना र रेडियोको समाचार माओवादी जनयुद्धलाई पृष्ठभूमि बनाएर लेखिएको कथा हो । यसको आरम्भ र अन्तमा मात्र माओवादी जनयुद्धलाई सङ्केत गरिएको छ  भने मूल विषयवस्तुको कथानक अत्यन्त निम्न वर्गीय परिवारका दम्पती बिरे र वसन्तीको गरिबीसँग सम्बद्ध छ । माओवादी जनयुद्धका समयमा राज्यपक्षबाट आतङ्ककारीको हत्या भनेर निर्दाेष सर्वसाधारणलाई मारेका घटनाहरू समाचारमा निकै सुनिन्थे । यस कथामा पनि निरीह बिरे र वसन्ती त्यसरी नै मारिएका छन् र राज्यका समाचार माध्यमबाट  ज्यामिरे गाउँमा भएको सुरक्षा कारबाहीमा रतन र देवी उपनामका कथित दुईजना आतङ्ककारी कमाण्डरको मृत्यु भएको छ भनेर प्रसारण गरिएको छ । यस कथामा मूलतः विपन्नताको चित्रणका साथै प्रणयभाव र यौनाकर्षणको अभिव्यञ्जन  पनि अत्यन्त रोचक ढङ्गले गरिएको छ एवम् सैनिक हरूको बलात्कारी प्रवृत्तिको पनि उद्घाटन भएको छ । हाकिम, म र त्यो साँझ यस संग्रहभित्रको दोस्रो कथा हो । आत्मपरक शैलीमा लेखिएको यो कथा गरिबी, बेरोजगारी र जिम्मेवारीसँग जोडिएको छ । पिताको देहावसान र माताको विक्षिप्ततापछि घरव्यवहार चलाउन बाध्य भएकी एउटी युवतीको कौतूहलपूर्ण कथा हो यो । धेरै सरकारी, गैरसरकारी तथा अर्धसरकारी कार्यालयहरू र सङ्घ संस्थाहरूमा जागिरको याचना गर्दै भौँतारिएकी युवती म पात्र सबैतिरबाट निराश ह्ुँदै फर्किनु परेको अवस्थामा एकदिन एउटा निजी  व्यावसायिक फर्मको ढोका घचघच्याउन पुग्दछे। त्यहाँ उसको गन्तव्यले सार्थकता पाउँछ । तर जवान कार्यालय प्रमुख आफूप्रति बढी आकर्षित भएको र माया समेत गर्ने गरेको प्रसङ्गले म पात्र आशङ्कित हुन्छे । बाहिर त्यस फर्मका कर्मचारीहरूले हाकिम र म पात्रका बीच प्रेम भएको कुरा समेत गर्दछन् । यस्ता कुरा सुन्दा उसलाई अझ बढी असजिलो लाग्दछ । वास्तवमा आफ्नो हाकिम खराब चरित्रको हुनुपर्छ भन्ने मानसिक ठहरमा पुग्दछे म पात्र । तर पनि त्यो जागिर छाड्दा सजिलै अर्काे जागिर नपाइने हुँदा विवश भएर उसले हाकिमको विरोध गर्न सक्दिन । एकदिन साँझ हाकिमले उसलाई आफ्नो कोठामा बोलाउँछ र केही लुगा कपडा र शृङ्गारिक अलङ्कारहरूसहितको एउटा प्याकेट दिन्छ अनि लगाएर आउन आग्रह गर्दछ । म पात्र त्यसै गर्दछे । हाकिमले प्रेमपूर्वक उसलाई अँगालोमा लिन्छ  । म पात्र डराइरहेकी हुन्छे । अन्ततः हाकिमले उसलाई आफ्नी दिवङ्गत छोरीको रूपमा हेरेको र त्यो दिन छोरीको जन्मदिन परेकाले उसले मन पराउने लुगा र गहनाहरू दिएको अनि छोरीकै रूपमा स्वीकार गरेको कुराको रहस्योद्घाटन गर्दछ । यस कथामा नारी मनोविज्ञानको सुन्दर प्रयोग भएको छ । अन्तिम दिन म पात्रले आफ्नो अस्मिता रक्षाको लागि हाकिममाथि प्रहार गर्न भनेर लगेको चम्किलो छुरा अकस्मात् भुइँमा खसेको बडो रोचक प्रसङ्ग पनि यस कथामा रहेको छ ।

मैले चिनेको शहर तेस्रो कथा हो बुधनको घोडी संग्रह अन्र्तगतको । प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको प्रस्तुत कथा मूलतः शहरी सभ्यताका नारीहरूको चरित्रोत्घाटनमा केन्द्रित छ । गाउँले शिक्षक म पात्र र युवती राधा फोन र चिठी पत्रका आाधारमा  आदर्श साथी बनेका हुन्छ । उनीहरू त्यो जमानाका पत्रमित्र हुन् उनीहरूका बीच भेटघाट भएको हुँदैन । एकदिन भेट्नका लागि समय र स्थान निर्धारण गर्दछन् उनीहरूले । म पात्र निर्धारण गरिएको स्थानमा यथा समयमा पुग्दछ र आफ्नी पत्रमित्र राधालाई प्रतीक्षा गर्दछ । कुनै नारी आएको देख्दा उसले आफ्नै साथी राधा आएकी हो कि भन्ने ठान्दछ । उसको मनमा अनेक भावहरू तरङ्गित हुन्छन् । प्रतीक्षामा छट्पटिँदै हुन्छ ऊ, उसका आँखा राधा आउने बाटोतिरै हुन्छन् । सुरुमा रातो टिसर्ट र निलो जिन्स पाइन्ट लगाएकी र केशराशि खुलै छाडेकी एउटी युवती आफूतिरै आएको देख्छ । ऊ नै राधा हुन सक्ने अडकल काट्दै र उसका अगाडि आफू गाउँले पाखे, झुत्रे झाम्रे भएको ठान्डै  हीनताबोधको अनुभूति गर्दछ । तर त्यो शहरी युवती कुनै अर्कै युवकको प्रतीक्षा गरिरहेकी हुन्छे । अन्ततः थ्यो युवती र उसको प्रेमीबाट अपमानित हुनुपर्दछ  म पात्रले । केटाले म पात्रमाथि हातपात समेत गर्न खोज्दछ ।  एकछिनपछि एउटी अधवैँसे महिला म पात्र भएतिर आउँदै गर्छे । म पात्रलाई ऊ नै राधा हो कि जस्तो लाग्दछ । उनीहरूका बिचमा सामान्य वार्ता हुन्छ । आखिर त्यो अधबैंसे महिला राधा नभएर मिरा नामकी देहव्यापारी भएको म पात्रलाई जानकारी हुन्छ । उसले म पात्रसँग समय र पैसाको मोलतोल गर्छे । म पात्र छाँगाबाट खसेजस्तो हुन्छ र उसको प्रस्तावप्रति असहमति जनाउँछ । आफ्नो प्रस्तावसँग असहमत म पात्रप्रति आक्रोशित हुँदै मिरा त्यहाँबाट हिँड्दछे । अन्तमा उसले राधालाई फोन गर्दछ । कुनै बच्चाले उठाएको फोनबाट राधा बिरामी भएर अस्पतालमा भएको जानकारी पाउँछ । यसरी रहस्योद्घाटनसहित यस कथाको अन्त भएको छ । यस कथामा नारीचरित्र र पुरुष मनोविज्ञानको प्रभावकारी ढङ्गले चित्रण भएको छ ।

यस सङ्ग्रहभित्रको चौथो कथा  हो पुनरावृित्त । अत्यन्तै मर्मस्पर्शी कथा छ यो । यस कथामा पनि प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भएको छ । त्यसैले कथावस्तुको द्रष्टाका रूपमा म पात्र रहेको छ । मुकुन्द सर नामक म पात्र अडिटर हो । पहिले आफू बसेको ठाउँ छोडेको बाह्र वर्षपछि  अडिटको सिलसिलामा त्यहाँ पुगेको म पात्र त्यहीँको चौकिदार बुढाको वासमा जान्छ ।  उसले त्यहाँ पहिलेको कुनै आकर्षण  देख्दैन । पहिलेका बोट बिरुवा, गाईवस्तु, केही नदेख्दा उसलाई उराठ लाग्छ । उसले चौकिदारकी छोरी माधुरीलाई सम्झन्छ । सर्वाङ्ग नाङ्गै भएर धारामा नुहाएकी एउटी सोझी किशोरी  माधुरीकी छोरी हो भन्ने कुरा उसले थाहा पाउँछ । माधुरी क्वाटरमा बस्ने एकजना कर्मचारी (साप) बाट गर्भवती भएकी, उसले पछि लिन आउँछु भनी छोडेर गएको तर लिन नआएको , त्यसै कारणले ऊ विक्षिप्त भएकी र अचानक हराएर नभेटिएकी,  अहिले आफूसँग उसैको गर्भबाट जन्मिएकी छोरी मात्र साथमा रहेकी भन्ने कुरा जानकारी पाएपछि म पात्र झसङ्ङ हुन्छ । आफूले माधुरीसँग गरेको कुकर्म  र हिँड्ने बेलामा उसले मलाई पनि लैजानु भन्दा पछि सारीचोलो, सिन्दुरपोते लिएर तिमीलाई बिहे गर्न आउँछु भनेर उम्केको घटना सम्झन्छ । तिनै विगतका घटना र दृश्यहरू अहिले पुनारावृत्त भएको म पात्रले अनुभूत गर्दछ । सर्वाङ्ग नाङ्गै नुहाएकी त्यो सोझी सानी नामकी किशोरी निश्चित रूपमा आफ्नै छोरी भएको उसलाई बोध हुन्छ ।  सानीले आफूलाई दिन ल्याएको पानीको लोहोटा समाउन खोज्दा चिप्लिएर भुइँमा खस्छ । खसेको लोहोटाको आवाजसँगै चौकिदार बूढा एकचाेिट हिक्क गर्छ र जीवनबाट बिदा लिन्छ । यसरी यस कथाको अन्त भएको छ । यसरी यस कथामा सोझासिधा नारी र भ्रष्ट पुरुष चरित्रको स्वाभाविक ढङ्गले चित्रण भएको छ ।

आइमाई बुधनको घोडी सङ्ग्रह अन्तर्गत पाँचौँ स्थानमा रहेको कथा हो । मूलतः नारीहरुले कुनै कुरा पनि मनमा लुकाएर राख्न सक्दैनन् भन्ने हाम्रो समाजमा परम्परित रूपमा चल्दै आएको मान्यतालाई बढो रोचक ढङ्गले प्रमाणित गर्ने उद्देश्यमा यो कथा लेखिएको छ । यो कथा तृतीय पुरुष दृष्टिबिन्दुमा आधारित छ । पहिलो समाख्याता रमेश छ , उसले आफ्नी श्रीमती उषालाई पल्लो घरमा बस्ने शोभा गोदावरी जाँदा बाइकबाट खसेको कुरा सुनाउँछ । यही कुरा हतारिँदै उषाले अलिकति बढाएर आफ्नी जेठानी रमालाई सुनाउँछे । रमाले यही कुरालाई अरू अतिरञ्जित गरेर पानी  भर्ने धारामा पुर्याउँछे । वकिल्नीले यही कुरालाई अझै बढाएर ललितालाई, ललिताले अझै बढाएर सरितालाई, सरिताले झनै बढाएर उर्मिलालाई, उर्मिलाले मास्टर्नीलाई र मास्टर्नीले स्कूलका स्टाफलाई सुनाउँदासम्म शोभाको पुरै चरिरत्र हत्या भएको हुन्छ । उसलाई देहव्यापारीसम्मको लाञ्छना लगाउँछन् र टोलका सम्पूर्ण महिला भेला भएर बिचरीलाई डेराबाट निकाल्ने निष्कर्षमा पुगेका  हुन्छन् । उषाकी नोकर्नी मङ्गलीले समेत यो कुरा पसल्नीबाट थाहा पाउँछे र घरमा गएर बृत्तान्त सुनाउँछे । बाहिर पत्रिका पढिरहेको रमेशले  उषा र मङ्गलीको संवाद सुन्दछ । यस्तो नचाहिँदो हल्ला सुनेपछि ऊ सिधै थापाको घरमा जान्छ जहाँ महिलाहरूको ठूलो भीड लागेको हुन्छ । सामान्य घटनालाई यसरी बढाएर, चढाएर एउटी बिधवा नारीको चरित्र हत्या गरेकोमा उसले आक्रोश व्यक्त गर्दछ र  गोदावरी बोर्डिंग स्कूलमा छात्रवृत्तिमा पढ्दै गरेको आफ्नो एक मात्र छोरो एक्सिडेन्टमा परेर टाउकोमा चोट लागेको हुँदा यस्तो दुःखको अवस्थामा उसलाई भेट्न जाँदै गरेकी शोभालाई आफ्नो मोटर साइकलमा चढाएर लग्दै गर्दा ऊ बाइकबाट खसेको कुरा बताउँछ । अन्ततः  सबै महिलाहरू लज्जित हुँदै एक अर्काको मुख हेराहेर गर्छन् । ठिक त्यसैबेला शोभा छोरालाई लिएर आउँछे । रमेशले शोभाको  छोराको अवस्थाबारे सोध्छ । तर कुनैै पनि महिला शोभासँग बोल्न सक्दैनन् । सबैका आँखा अपराधबोधले झुकिरहेका हुन्छन् । यसरी अत्यन्त रोचक र मार्मिक ढङ्गले यस कथाको समापन भएको छ ।

सिट नं १२ यस कृतिअन्तर्गतको छैठौँ कथा हो । प्रथम पुरुष दृष्टिविन्दुमा यात्रा संस्मरण शैलीमा लेखिएको यस कथामा एउटी युवती म पात्रका रूपमा रहेकी छ । यस कथामा नारी मनोविज्ञानको स्वाभाविक प्रयोग छ । कथाकी म पात्र युवती विद्यार्थी हो । ऊ काठमाडौँदेखि विराटनगरसम्मको यात्रामा हुन्छे । छोरी भएकीले हिँड्ने बेला आमाले उसलाई यात्रामा चनाखो हुन र आइमाई भएको सिट मिलाएर बस्न सुझाव दिन्छिन् । चौध नम्बर सिटको टिकट लिएर बसमा पसेकी युवती आफ्नो साथमा एउटा आकर्षक युवक परोस् भन्ने चाहन्छे । तर उसको साथमा एउटा झुत्रेखालको लोग्नेमान्छे पर्छ । उसप्रति घृणा उत्पन्न भएकोले युवती अगाडि पट्टि खाली रहेको १२ नम्बरको सिटमा सर्छे । यद्यपि आमाले १२ नं सिट नपार्नु भनेकी थिइन् । त्यो सीट अर्काे पुरुषको नाममा रहेकाले आएर दावी गर्छ । म पात्र उसलाई ११ नम्बरमा बस्न आग्रह गर्छे । दोस्रो पुरुष पनि उसले चाहेको जस्तो आकर्षक हुँदैन । रूपको घमण्ड भएकी म पात्रलाई भनेजस्तो पुरुषसँग सहयात्री बन्न नपाउँदा झनक्क रिस उठ्छ । यात्रामा उसको मनमा अनेक चाहना, तर्क र आशङ्काहरू उब्जिन्छन् ।  सँगै भएको पुरुषसँग प्रशस्त पैसा भएको र ऊ एउटा व्यावसायिक संस्थाको व्यवस्थापक हो भन्ने कुरा उसले जानकारी पाउँछे  । सुरुमा उसप्रति घृंणा उत्पन्न भए पनि ऊ सज्जन  र सहानुभूतिशील रहेछ भन्ने युवतीलाई बोध हुन्छ । अन्तमा उसको चरित्रबाट म पात्र प्रभावित हुन्छे । वस्तुतः पूरुषलाई हेर्ने नारी दृष्टिकोण यस कथामा अत्यन्त प्रभावोत्पादक ढङ्गले उद्घाटित भएको छ । सहयात्री पुरुषसँग छुट्टिँदाखेरिको म  पात्रको मनोविज्ञान उत्तिकै रोचक छ ।

मम्मी मलाई किन छोड्नु भको ? यस बुधनको घोडी  अन्र्तगतको  सातौँ कथा हो । आकारका दृष्टिले सङ्ग्रहभित्रको यो सबैभन्दा लामो कथा हो । यस कथामा पत्रात्मक शैली अवलम्बन गरिएको छ । निरुले मुनालाई लेखेको चिठी नै यस कथाको मूल कथानक हो । राजन र निरुको पुरानो प्रेम प्रसङ्ग उनीहरूको बीच बिवाह हुन नसकेको प्रसङ्ग, निरुको अविवाहित जीवन र राजनसँगको एकरातको अवैध सहवासबाट  जन्मेकी छोरीको रहस्योद्घाटन, राजन र मुनाकी छोरीको दुर्घटनामा परी मृत्यु भएको घटना तथा तत्पश्चात् निरुले राजनबाट जन्मेकी आफ्नै छोरीलाई मुनासमक्ष चिठीसहित पठाएको प्रसङ्ग यस कथाका प्रमुख पक्ष हुन् । निरुले उसको बाबु राजन र मम्मी मुना हो भनि छोरीलाई बताउनु र निरुकि छोरीले मुनासँग “भन्नु न मुना आन्टि तपाइँ नै मेरी मम्मी हो” भनेर प्रश्न गर्दा मुनाले स्वीकार गर्नु जस्ता प्रसङ्ग यस कथामा अत्यन्त रोचक लाग्दछन् । विजय मल्लको कोही किन बर्बाद होस् भन्ने नाटकको अन्र्तवस्तुको सामान्य प्रभाव यस कथामा देखिन्छ । यस कथाले प्रेममा त्यागको भावनालाई सटीक ढङ्गले उठाइएको छ ।

यस सङ्ग्रहभित्रको आठौँ कथाका रूपमा समाविष्ट छ, मासुको तिर्सना । तृतीय पुरुयष दृष्टिविन्दुमा लेखिएको यस कथामा हाम्रो ग्रामीण समाजमा विद्यमान धनी र गरिब बीचको बिभेदलाई अत्यन्तै मार्मिक ढङ्गले चित्रण गरिएको छ । धनीहरूबाट गरिबहरूमाथि हुने शोषण र अमानवीय व्यवहारको उद्घाटन स्वाभाविक र विश्वसनीय घटनाहरूको माध्यमबाट भएको पाइन्छ । काले र सुन्तली यस कथाका अति निम्नवर्गीय पात्र हुन् भने गजेन्द्र साहु र साहुनी उच्च वर्गीय पात्र हुन् । गजेन्द्र साहुकोमा दाउरा चिर्न गएको कालेले चामलको भात खान पाउने आशा गरेको हुन्छ । साहुले दिउँसो खसीको मासु ल्याएकाले  साँझ मासु खान पाउने आशामा राति त्यहीँ बस्ने र भोलि बिहान पनि दाउरा चिर्ने मानसिकतामा हुन्छ ऊ । तर विडम्बना, उसले न त चामलको भात खान पाउँछ न मासु नै । बरु घरको कुकुरले नली हाड चपाएको देखेर उसको मुख रसाउँछ । अन्तमा मुखमा रसाएको थुक आफ्नो गरिबी र साहुप्रति घृणा दर्साउने भावमा पिच्च थुक्छ उसले । कथा यसरी टुङगिन्छ । यस कथामा  सामन्तहरूको शोषणयुक्त संस्कार र गरिबहरूको दयनीय अवस्थाको चित्रण अति नै मार्मिक ढङ्गले  गरिएको छ । मासुकोे लोभले काले राति  घर नफर्केर साहुकोमा नै बसेकोले कथाको शीर्षक सार्थक हुन पुगेको छ ।

अंशबन्डा बुधनको घोडीभित्रको नवौँ कथा हो । यस कथामा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग छ । हाम्रो समाजमा प्रायः बृद्ध अवस्थाका व्यक्तिहरूको स्थिति दयनीय हुन्छ । यस्तै असहाय स्थितिको चित्रण यस कथामा भएको छ । छोराछोरी सबैमा स्वार्थी भाव हुन्छ, बृद्ध अवस्थाका माता पिताका बारेमा उनीहरूको खास चिन्ता र दायित्व बोध हुँदैन भन्ने कुरालाई यस कथाले पुष्टि गरेको छ । सुब्बिनीको मृत्यु  पछि एक्लो भएका पचहत्तर वर्षका सुब्बाको घर लथालिङ्ग हुन्छ, उनी छोरा छोरीलाई बोलाएर अंशबन्डा गरिदिने निष्कर्षमा पुग्दछन् । छोराहरूमा मात्र होइन, छोरीहरूमा समेत स्वार्थी र लोभीपन देखा पर्दछ । अन्तमा सुब्बालाई पाल्ने जिम्मेवारी लिन कोही तयार हुँदैनन् । छोराछोरीको यस्तो व्यवहारबाट अत्यन्तै दुःखी भएका  सुब्बा अंशबन्डा गरिदिइसकेपछि कसैलाई जानकारी नदिई घरबाट निस्कन्छन् । यसरी कथा टुङ्गिन्छ । वास्तवमा यस कथामा सन्तानहरूको स्वार्थी मनोवृत्तिको चित्रण अत्यन्तै सार्थक ढङ्गले भएको छ । अंशबन्डा नै कथा वस्तुको मूल भाव भएकोले यस कथाको शीर्षक पनि सार्थक हुन पुगेको छ ।

बुधनको घोडी कथा सङ्ग्रह अन्र्तगतको दसौँ कथा हो पानी परेको रात । गरिबीको अत्यन्त कारुणिक विषयवस्तुमा यो कथा लेखिएको छ । दुःखीगरिबहरूलाई प्रकृतिले पनि सताउँछ भन्ने सारवस्तु यस कथामा पाइन्छ । तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको यस कथामा ऊ, उसकी जहान, उसकी नवजात छोरी र पाङ्ग्रे कुकुर पात्रका रूपमा रहेका छन् । अघिल्लो वर्षको वर्षाको पहिरोमा आफ्नी जहान र छोरीलाई गुमाएको उसको साथमा एउटा पाङ्ग्रे कुकुर मात्र हुन्छ र अर्काे वर्षको वर्षामा उसकोे पनि पहिरोले यसरी नै जीवन लिन्छ । पहिरोमा ऊ र पाङ्गे सँगै पर्दछन् । कथाभित्र गरिबीका विविध चित्रहरू रहेका छन् ।  यस कथामा मानवेतर पात्र पाङ्ग्रे  कुकुरको प्रयोग भएकाले अतियथार्थवाद पनि प्रभावित देखिन्छ । मध्य रात र खुल्ला झ्याल भित्रको उज्यालो यस कथा सङ्ग्रहभित्रको एघारौँ कथा हो । यस कथामा नारी मनोविज्ञानको अत्यन्त सुन्दर र स्वाभाविक प्रयोग छ । प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएको यस कथाका बनोट र बुनोट दुवै प्रभावोत्पादक छन् । एकालापीय भाषाशैलीमा लेखिएको यस कथामा नारी म पात्र रहेकी छ । उसले जसको बारेमा चित्रण गरेकी छ त्यो पात्र पनि नारी नै छ । यस कथामा वर्णित पात्र बुकुनी पुलिसकी स्वास्नी हो । ऊ दुई वर्षकी छोरी साथमा लिएर घरमा एक्लै बस्छे । एकदिन मध्य रातिमा निद्रा नलागेर छटपटिएकी म पात्रले बुकुनीको कोठामा झ्याल खुल्लै रहेको र बत्ती बलिरहेको देख्छे । यस्तो देख्दा म पात्रका मनमा अनेक अनेक राम्रा नराम्रा कुराहरू खेल्न थाल्दछन् । उसको मन शङ्का, तर्क र अनुमानले निकै तङ्ंगित र विचलित हुन्छ । यहाँसम्म कि बुकुनीले कोठामा कुनै परपुरुषलाई बोलाएकी हो कि भन्ने कल्पना पनि म पात्रले गर्दछे । ऊ निदाएकी हुन सक्छे, बलेको बत्तीबाट आगलागी पो हुने हो कि भन्नेसम्मको त्रास पनि उसको मनमा उत्पन्न हुन्छ । चिच्याएर बुकुनीलाई बोलाऊँ जस्तो पनि उसलाई लाग्छ । तर मध्यरातको बेला चिच्याएर बेलाउन उचित ठान्दिन । यसरी म पात्र छटपटाउँदा छटपटाउँदै बुकुनीको कोठाको बत्ती निभ्छ र अन्धकार छाउँछ । यसरी एकालापमा कथा टुङ्गिन्छ ।

यस कथा सङ्ग्रहभित्रको बाह्रौ कथा हो बिजेता ।  तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको यस कथामा निम्न तहका कर्मचारीको मनोविज्ञानको सुन्दर विश्लेषण गरिएकोे छ । सुरा र सुन्दरीको मस्ती लिन पाइने झमेलको साँझपखको रमाइलो बाहिरबाट धेरैचोटि देखिरहेको त्यो निम्न तहको कर्मचारीको मनले त्यहाँको खास मजा लिन चाहन्छ । तर बिना पैसा त्यहाँ पस्नुको अर्थ छैन भन्ने पनि उसले बुझेको छ । श्रीमती छोराछोरीलाई घरमा कहिल्यै चाहेजस्तो खान लाउन दिन नसकेको कर्मचारीले केही पैसा जोहो गर्दछ र झमेलमा पस्ने निर्णय गर्दछ । घरमा श्रीमतीलाई आज  एउटा भव्य पार्टी खान जानु छ, बेलुका मेरो सलागि खाना बनाउनु पर्दैन भनेर ऊ अफिसतिर  लाग्दछ र अफिस सकिएपछि सिधै ऊ झमेल तिर पस्तछ । त्यहाँ मेनु देखिसकेपछि उसले अकस्मात् घर सम्झन्छ  अनि बेहरासँग साथीलाई लिएर आउने बहाना गरी त्यहाँबाट निस्कन्छ । चोकमा पुगेर मासु, फुटि, चाउचाउ, आइसक्रीम, बिस्कुट, कोकाकोला र फलफूल किनि घरतिर लाग्दछ । घरमा अव्यक्त खुसी छाउँछ । झमेलमा खर्च गर्न लगेको बाँकी पैसा पनि उसलेश्रीमतीको हातमा राखिदिन्छ र सबैले मन परेको लुगा किनेर लगाउनु भन्छ । गलत बाटोमा लाग्न थालेको कर्मचारीलाई दायित्व बोध गराएर कथाकारले यस कथाका माध्यमबाट निम्न तहका कर्मचारीलाई राम्रो सन्देश दिएकी छन् । अभाव यस कथामा पनि छ तर स्वभाव राम्रो हुनुपर्छ भन्ने शिक्षा दिन सफल यस कथाको मुख्य पात्र कर्मचारीले आफ्नो कुमार्गतिर अनुधावित मनलाई जितेको छ र गलत दिशाबाट मुक्ति पाएको छ । त्यसैले प्रतीकात्मक रूपमा शीर्षक सार्थक छ ।

अम्बाको बोट प्रकृतिलाई शीर्षक बनाएर लेखिएको यस सङ्ग्रहभित्रको तेह्रौँ कथा हो । यस कथामा प्रथम पुरुष दृष्टिविन्दु प्रयोग भएको छ । त्यसैले म पात्र नै समाख्याता छ । म पात्रको साथमा एउटा कुकुर पात्र पनि छ । म पात्रका दुवै छोरा प्रवासमा छन् । दशैँ नजिकै आएको बेला वृद्ध म पात्रले प्रवासमा रहेका आफ्ना छोरालाई सम्झिरहेको हुन्छ । यसपटक उनीहरूले आउने कुरा पनि गरिरहेका छन् । त्यसैले उसको मन अलिक पुलकित पनि भएको हुन्छ । घरको परिसरमा अम्बाको बोट छ र अम्बा पाकेका छन् । छिमेकी केटाकेटीहरूले माग्दा पनि बूढा म पात्रले दिन सकिरहेको छैन । ऊ दशैँको प्रतीक्षा अत्यन्तै उत्सुक भएर गरिरहेको हुन्छ । तर अन्ततःः दशैँकै दिन जेठो छोराले एउटी क्रिस्चियन महिलासँग बिहे गर्नेभएकाले आउन असमर्थ भएको खबर गर्छ नेटका माध्यमबाट । यस्तो सूचनाले बूढालाई असह्य हुन्छ । उसले आवेगमा आएर अम्बाको बोट ढालिदिन्छ । बाहिरका केटाकेटीहरू आएर खुसी हुँदै अम्बा टिप्छन् । उनीहरूले मिठो मानेर खाएकोमा म पात्रलाई अपारको आनन्द प्राप्त हुन्छ् । अम्बाको काटिएको ठुटोमाथि कुकुर गएर तुक्र्याउँछ । केही दिनपछि ठुटोबाट थुपै्र मुजुराहरू पलाएको देख्दा म पात्रको चेतनाले सुस्तरी अन्तर्मन छाम्छ । कथा यसरी समापन हुन्छ । वस्तुतः यस कथामा हाम्रो समाजमा बृद्धहरुको अवस्था दयनीय छ, उनीहरू असहाय छन् भन्ने देखाएको छ । साथै आजका सन्तान विदेशतिर आकर्षित छन् र धर्म परिवर्तन गर्दै स्वसंस्कृति र परम्परामाथि प्रहार गर्दै छन् भन्ने वस्तुगत यथार्थलाई समेत यस कथामा अत्यन्तै प्रभावकारी ढङ्गले प्रतिविम्बन गरिएको छ । कुकुर पात्रसँगको मुक संवाद तथा यसको पात्रवत् प्रयोगबाट पनि यो कथा अतियथार्थवादको निकट देखिन्छ ।

बुधनको घोडी यस सङ्ग्रहको शीर्ष कथा हो । सङ्ग्रहभित्र चौधौँ स्थानमा रहेको यो कथा तृतीय पुरुष दृष्टिविन्दुमा  लेखिएको छ । यसमा मानवेतर पात्रका रूपमा घोडा र घोडी प्रयोगमा छन् । तर बुधनको घोडी भने मुख्य पात्रका रूपमा नै रहेको छ । यस कथाको कार्य पीठिका चितवनको सौराहा टाँडी मेघौली रहेको छ । चरम गरिबीको अवस्थाले ग्रस्त जीवनको यथार्थलाई यस कथामा प्रतिविम्बन गरिएको छ । समाजमा केही आफ्नै वर्गका पनि निर्दयी अमानवहरू हुन्छन् जसबाट सोझासिधा असहायहरू प्रताडित हुनुपर्दछ र परिस्थितिले पनि उनीहरूलाई नै घात गरेको हुन्छ भन्ने भावलाई यस कथामा अत्यन्त मार्मिक ढङ्गले चित्रण गरिएको छ । आफ्नो घोडी करिस्मामाथि हरियाको घोडा सलमान उक्लेको देखेर यस कथाको पात्र बुधन अत्यन्तै खुसी हुन्छ । अब उसको करिस्मा बाट बछेडा जन्मनेछ र त्यसबाट उसको भाग्य सप्रिनेछ भन्ने सपना देख्छ बुधनले । तर उसलाई डर पनि लागेको हुन्छ, कतै हरियाले आफ्नो सलमानबाट बाल लागेको थाहा पाएर त्यसको रकम त माग गर्दैन भनेर । अन्ततः थाहा हुन्छ र हरियाले रकम माग गर्दछ । तर तिर्ने हैसियत हुँदैन बुधनको । तैपनि तिर्ने वाचा गर्छ । हरियालाई बुझाउन रकम अपुग भएकाले एक दिन बुधनले गर्भिणी करिस्मालाई विदेशी पर्यटकहरू आएको बेला जबर्जस्ती टाँगामा नार्छ । यात्रु धेरै भएकाले करिस्मा टाँगा तानेर कुद्न सक्दैन र उभिन्छ । बुधनले आक्रोशित भएर कोर्रा हान्छ तर पनि करिस्मा  हिँंड्न सक्दैन । बुधनले बल गरेर जबर्जस्ती हिँडाउँछ । भोलिपल्ट विरामी करिस्माले समय नपुगेको कालो कालो प्राणहीन बछेडा जन्माउँछ । त्यही मौकामा दुःखित भएको बुधनले हरियलाईा पाँच छ जनाको जमात लिएर पैसा माग्न आउँदै गरेको देख्छ । उसले गोजीमा राखेको पैसा छाम्छ अनि घरी हरियातिर त घरी करिस्माको निर्जीव बछेडातिर हेर्छ । वास्तवमा यस सङ्ग्रहभित्रको साँच्चिकै मार्मिक र हृदयविदारक कथा हो बुधनको घोडी ।

बुधनको घोडी सङ्ग्रहअन्तर्गतको पन्ध्रौँ अर्थात् अन्तिम कथा हो बाजी । यस कथाको विषयवस्तु मूलतः प्रणय र यौन मनोविज्ञानमा आधारित छ । युवक र युवती यस कथामा पात्रका रूपमा रहेका छन् । केटा र केटी यदि एउटै कोठामा एकान्तमा छन् भने उनीहरू बीचमा यौनाकर्षण हुन्छ र समागम पनि हुन्छ भन्ने केटाको भनाइमा असहमति जनाउँदै यस्तो नहुन पनि सक्छ भन्ने तर्क अगाडि सार्छे केटीले । यसै क्रममा एक दिन राति केटी केटाकोमा पुग्छे र घरकाले आफ्नो विहे अरू कसैसँग गरिदिने भएको बनावटी कुरा बनाउँदै तुरुन्तै आफूसँग विहे गर्न दबाव दिँदै उसलाई अँंगालोमा कस्छे । केटाले तत्काल आफू विहे गर्ने अवस्थामा नभएको कुरा बताउँछ । यस्तै यस्तै कुरा गरेर उनीहरूको रात बित्छ  रातमा एउटै कोठामा एकान्तमा बस्दा पनि केटा यौन कार्यमा सहभागी हुन सक्दैन । यसरी मनोविज्ञानलाई आधार बनाएर केटीले बाजी जित्छे । कथा तार्किक छ र समस्या उत्पंन्न भएको अवस्थामा, दबावमा वा मानसिक तनावको अवस्थामा पुरुषहरू सहजै यौनसंसर्गमा संलग्न हुन असमर्थ हुन्छन् भन्ने मनोवैज्ञानिक तथ्यको उद्घाटन भएको छ यस कथामा । केटीले बाजी जितेकी छ । त्यसैले कथाको शीर्षक पनि सार्थक भएको छ ।

सार कथन र मूल्याङ्कन

आधुनिक नेपाली कथा साहित्यको आठ दशकभन्दा लामो परम्परित इतिहास छ । यस अन्तरालमा विविध धारा, उपधारा तथा कालखण्ड वा चरणहरूमा अनेकौैं शक्तिशाली कथाकारहरू उदायका छन् र स्थापित भएका छन् । यसै क्रममा केही यस्ता नारी कथाकारहरू पनि देखिएका छन् जसको उपस्थितिले नेपाली कथाको उचाइ बढेको दृष्टिगत हुन्छ । यस्ता नारी कथाकारहरूमा पारिजात, देवकुमारी थापा, भागीरथी श्रेष्ठ, माया ठकुरी, सीता पाण्डे प्रभृतिको योगदान उल्लेख्य छ । समसामयिक धारामा पनि केही सशक्त नारी कथाकाहरूको उदय भएको छ । यसै परम्परामा आफ्नो पृथक् पहिचानसहित देखिएकी कथाकार हुन् मन्दिरा मधुश्री । विक्रमीको पचासको दशकसँगै साहित्यिक यात्रा सुरु गरेकी मन्दिराको अन्य विधाका सापेक्षेतामा कथाकारिता नै बढी सबल र प्रभावकारी देखिन्छ । बुधनको घोडी यिनले नहतारिएर आफ्नो लेखनको स्तरले परिपक्वता प्राप्त गरिसकेपछि मात्र प्रकाशित गरेकी हुन् । यद्यपि पत्रपत्रिकाहरूमा प्रकाशित फुटकर कथाहरूका माध्यमबाट आफ्नो परिचय दिइसकेकी भए पनि यस कृतिका माध्यमबाट नै मन्दिरा नेपाली कथा साहित्यको परम्परामा पृथक् पहिचान बनाउदै जोडिन आएकी छन् । बुधनको घोडीअन्तर्गतका पन्ध्रवटै कथाहरू सशक्त र प्रभावोत्पादक छन् । अन्तर्वस्तु र रचनाशैली दुबै दृष्टिले यस कृतिमा सङ्कंलित कथाहरू कमजोर लाग्दैनन् । वस्तुतः ः प्रयोगशीलताभन्दा पनि परम्परित शैली र शिल्पमा  लेखिएका यस सङ्ग्रहभित्रका कथा संवेदनशील भावनात्मकताले बढी प्र्रभावित लाग्दछन् । यी कथाहरूका परिवेश वा कार्यपीठिका रूपमा शहर, गाउँ, पहाड, तराई र भित्री मधेश रहेका छन् । नेपालको पहाड र तराईको धरातल नै समग्रमा यी कथामा चित्रित परिवेश हो । सबैजसो यी कथामा पाठकमनलाई आकर्षित गर्ने खुबी छ । कथाको मूल प्रसङ्गलाई जोडिएर आएका उपकथाहरूको माध्यमबाट उत्कर्षमा पु¥याउन सक्षम देखिन्छिन् कथाकार मन्दिरा ।

वस्तुतः सामाजिक यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद एवम् अतियथार्थवादका पृष्ठभूिममा लेखिएका छन् बुधनको घोडीभित्रका कथाहरू । यौन मनोविज्ञानको यथास्थानिक सहप्रयोगले पनि यी कथामा स्थान पाइको छ । पुरुषको भन्दा पनि बढी नारी मनको यौनिक भाव यी कथाका पात्रहरूको माध्यमबाट मुखरित भएको पाइन्छ । हरेक कथामा उत्सुकता जगाउने शैली देखिन्छ भने प्रत्येक कथा कुनै न कुनै विश्वासिला, रोचक र मार्मिक घटना तथा प्रसङ्गले बुनिएका देखिन्छन् । पुरुष र नारी बिचका आकर्षण र विकर्षणजन्य भाव द्योतन गरिएका कथाहरू पनि यस कृतिमा भेटिन्छन् । पात्रहरूमा परिवेश अनुकूल मनोद्वन्द्वको सफल प्रयोग भएको छ  तर आक्रोश, घृणा र वितृष्णाका चरमावस्थामा पनि पात्रहरूमा विद्रोह चेत भने देखिँदैन । हाकिम, म र त्यो साँझ तथा बाजी बाहेक अरू सबै कथाको अन्त्य अप्रिय अर्थात् दुःखद रूपमा भएको पाइन्छ । निम्न वर्गीय दाम्पत्य जीवनमा आत्मीयता र जटिलता, सन्तानबाट टाढिएका वृद्ध पात्रहरूको एकलत्व, सहाराहीनता र निस्सारता एवम्ं उदासीपनको चित्रण यी कथामा अत्यन्त मार्मिक र स्वाभाविक ढङ्गले भएको पाइन्छ । यी कथाभित्रका पात्रहरू कोही परिस्थिति अर्थात् नियतिको मार, कोही प्रकृतिको प्रहार तथा  कोही मानवीय दुव्र्यवहारबाट पीडित र प्रताडित देखिन्छन् । यस्तैै यस्तै जीवनमा आइपर्ने हृदयविदारक घटना र प्रसङ्गहरूले यी कथा यथार्थमा साँच्चिकै मर्मस्पर्शी बन्न पुगेका छन् । मानव जीवनका सुखमयभन्दा पनि दुःखमय घटनाका अन्र्तवस्तुको उद्घाटन यी कथामा भएको पाइन्छ । कतिपय कथामा अन्त्यपछि पनि कुनै प्रसङ्ग थपिएको भेटिन्छ । खास गरी संवेदनात्मकताका कारण यी कथा बढी हृदयस्पर्शी बनेका छन् । कथा रचनामा आदि, मध्य र अन्त्यको राम्रोसँग संयोजन गरिएको छ । कथाको शीर्षक चयनमा पनि सार्थकता देखिन्छ । यी कथाका शीर्षकहरू एकपदीयदेखि पञ्चपदीय सम्मका छन् । पुनरावृत्ति, आइमाई, अंशबन्डा, विजेता र बाजी जस्ता एकपदीय, मासुको तिर्सना, अम्बाको बोट र बुधनको घोडी जस्ता द्विपदीय, मैले चिनेको शहर, पानी परेको रात जस्ता त्रिपदीय तथा बिरेको सपना र रेडियोको समाचार, हाकिम, म र त्यो साँझ, मम्मी मलाई किन छोड्नु भको तथा मध्य रात र खुल्ला झ्यालभित्रको उज्यालो जस्ता पञ्चपदीय शीर्षकका कथाहरू यसभित्र छन् भने मम्मी, मलाई किन छोड्नु भको ? कथा मात्र प्रश्नजन्य वाक्यात्मक शीर्षकको छ ।

बुधनको घोडीभित्रका अधिकांश कथाहरूमा पुरुषहरूप्रति कथाकारको दृष्टिकोण सकारात्मक देखिन्छ । केही कथामा पुरुषहरूको चरित्रको परीक्षा लिइएको छ र तिनलाई बचाइएको छ । वस्तुतः पुरुषप्रति नकारात्मक ढङ्गले प्रहार गर्नुभन्दा पनि तिनको अस्तित्वको रक्षा गरिएका धेरै प्रसङ्गहरू यी कथामा भेटिन्छन् । पुनरावृत्तिमा बाहेक अधिकांश कथामा पुरुषलाई धोकेबाज, बलात्कारी र स्वार्थी प्रकृतिको देखाइएको छैन ।  बरू इमान्दार र सहयोगी भावनाका चरित्रका रूपमा प्रस्तुत गरिएको छ । यसरी नै नारी अस्मिताको प्रतिरक्षाका प्रसङ्गहरू पनि यी कथामा भेटिन्छन् । मैले चिनेको शहर शीर्षकको कथाका माध्यमबाट नागर सभ्यताका आधुनिक नारीहरूको भ्रष्ट चरित्रको उद्घाटन गर्न भने कथाकार पछि परेकी छैनन् । वस्तुतः आफुले देखेको र भोगेको समाज, घटना र चरित्रहरूलाई कथाकार मन्दिराले आफ्ना कथाहरूका प्रतिविम्बन गरेकी छन् । कथाको आरम्भबाट नै कौतूहल जगाउने र अन्तमा रहस्योद्घाटन गर्ने शैलीले मन्दिराका कथा बढी रोचक र प्रभावकारी बनेका छन् । कतै कतै निबन्ध र कविताहरूमा जस्तै भावुकताको मुखरण हुनु पनि यिनका कथाको आफ्नोपन हो । गरिबी, शोषण, उत्पीडन सामाजिक विकृति, विसङ्गति, प्रणय, स्वार्थी मानवीय प्रवृत्ति, सहिष्णुता, आत्मीयता, सहयोगी भावना, यौन मनोकाङ्क्षा, देहव्यापार, विपरीत लिङ्गी आकर्षण, मनोद्वन्द्व, घृणाभाव जस्ता विविध मानवीय अवस्था र स्वभावहरू यी कथामा भेटिन्छन् । यी कथाहरूका माध्यमबाट जीवन र जगत्को सूक्ष्म ढङ्गले अध्ययन र उद्घाटन गर्ने सन्दर्भमा कथाकार मन्दिरा सक्षम देखिएकी छन् । समग्रतः यी कथामा मानवीय जटिलता, दुखद दुरवस्था, विभेद तथा अप्राप्तिहरूको व्यापकता रहेको पाइन्छ । यस सङ्ग्रहभित्रका कथाका पात्रहरू वर्गीय छन् र खासगरी निम्न वर्गीय पात्रहरू बहुलता छ र ती कर्मशील छन् । तर क्रान्तिकारी चरित्रका भने छैनन् । वास्तवमा धेरैजसो पात्रहरूलाई निरीह र हतभागी देखाइएको छ । यस्ता पात्रहरू हाम्रै नजिकका र हामीले देखेबुझेका प्रतीत हुन्छन् भने समाज र घटनाहरू पनि आफ्नै निकटका लाग्दछन् । यसर्थ सामाजिक यथार्थका दृष्टिले नेपाली कथा परम्परामा कथाकार मन्दिराको उपस्थिति अर्थपूर्ण लाग्दछ ।

समापन
बुधनको घोडी समकालीन नेपाली परम्परामा उदीयमान कथाकार मन्दिरा मधुश्रीको पहिलो साहित्यिक कृतिका रूपमा प्रकाशित पन्ध्रवटा खास खास कथाहरूको सङ्कलन हो । आयामका दृष्टिले मध्यम र दीर्घ आकारका यस सङ्ग्रहभित्रका सबै कथाहरू रोचक र मार्मिक विषयवस्तुहरूमा संङ्ेन्द्रित छन् । प्रत्येक कथाहरू पाठकमनमा उत्सुकता पैदा गर्ने खालका कौतूहलसम्पृक्त छन् । विशेषतः अधिकांशं कथामा निम्न वर्गीय जीवनको जटिलता, विद्रृुपता, विसङ्गति र विपरीत परिणतिको चित्रण भएको पाइन्छ । भाषाशैलीका दृष्टिले यी कथाहरू सरल छन् भने साहित्यिकताको सघन संयोजन छ । यी कथामा कथा सङ्गठनका उपकरणहरूको यथोचित प्रयोग गरेको पाइन्छ । संवाद वा कथोपकथनले यी कथामा यथेष्ट स्थान पाएको छ । कुनै कुनै कथामा कतैकतै परिवेश र गतिको सन्तुलन नभएको आभास पनि हुन्छ । तर कथावस्तुको रोचक तन्तुले पाठकमन तानिन्छ । यी सबै कथाहरू उद्देश्यमूलक छन् । शैली रचनाका दृष्टिले यी कमजोर लाग्दैनन् । यसर्थ यो कथा सङ्ग्रह समसामयिक नेपाली परम्परामा आफ्नै प्रकारको विशिष्ट पहिचानसहित एउटा उपलब्धिका रूपमा आएको छ । निष्कर्षतः मन्दिरा मधुश्रीलाई पहिलो कृति नै भए पनि यसले सक्षम कथाकारका रूपमा उभ्याएको छ भन्दा फरक पर्दैन ।