भुवन कोइराला कथामा परिचित स्रष्टा हुन् । तिनै कोइराला अब भुवन ढुङ्गानाको नामबाट ‘परित्यक्ता’ उपन्यास लिएर आएकी छन् । प्रस्तुत उपन्यास साहित्यिक बजारमा हाल निकै चर्चा बटुल्न सफल कृति हो । छोरी मान्छे भएर जन्मेपछि बच्चा अवस्थादेखि नै परित्यक्त हुनुपर्ने र कतिपय अवस्थामा त जन्मनसमेत नपाई गर्भपतन गराउने प्रविधिमा प्रेरित समाजको कुरा उल्लेख गरिएको छ । आफू आमाकी छोरी हुनु र त्यही छोरी समयक्रममा आमा हुनुबिचको फरकपनलाई पनि देखाइएको छ ।
“जन्मेदेखि नै परित्यक्त छु ।” वाक्यबाट सुरु भएको उपन्यास यसै वाक्यमा गएर टुङ्गिन्छ । संरचनात्मक दृष्टिले दश परिच्छेद र १४० पृष्ठमा रहको प्रस्तुत उपन्यास महिलाकेन्द्रित समस्यामा छ भन्दा अत्युक्ति नहोला । मुख्य पात्र म न्वारनमा मन्दोदरी नाम राखिदिए पनि माया सहज लाग्ने भएकाले त्यही नामबाट अन्तसम्म उपस्थित छन् । बाल्यकाल वनारसमा बसी अध्ययन गरेकी माया सरस्वती पूजापछि सरस्वतीको मूर्तिलाई नदीमा सेलाउन लैजाँदा त्यसको आयु सकिएको कुराबाट जीवन नाशवान् छ भन्ने बुझेको बताउँछिन् ।
महिला आफ्नो शरीर योनिबाट निस्किएको रक्तस्रावमा प्रत्येक महिना जन्मिएको र प्रत्येक महिना मरेको कुरालाई शाश्वत सत्य मानेकी छन् । उज्यालो र अँध्यारोको भिन्नता पनि चरम सुख र चरम दुःखमा हुने कुरा गर्दै लुगाफाटाले परित्यक्त आदिमयुगकी ऋषिकन्या वा आदमकी इभजस्तै शरीर र मनबिचको रहस्यका धेरै कुरा थाहा पाएको क्षण भनेको चरम यौनसुख हो भनेकी छन् । सिलौटोको व्यापक परिधिमा त्यही सानो लोहोरो बढी प्रभावकारी हुने र फलदायी हुने कुराले फ्रायडियन सङ्केतलाई बुझ्नुपर्ने हुन्छ ।
छोरीलाई प्रायः लक्ष्मी वा सरस्वती भनिने तर किन दुर्गाका सहस्र उग्रभाव नमान्ने होला भन्ने प्रश्नमा धेरै अल्झिएको पाइन्छ । पुरुषलाई भु्रणहत्यारा, स्वार्थी र शोषक मानेको देखिन्छ । पुरुषले शोषण गर्न व्यभिचार, हिंसा–बलात्कार, कुटपिट गर्नै नपर्ने बरु एउटा लथालिङ्ग घर दिए पुग्छ (पृ.६०) भनेकी छन् । महिला भएकै कारण घरमा चुलो बलेको, मोलमोलाइमा सस्तो किनमेल भएको, छुट्टीका कार्यक्रमहरू बनेका, रेसम फिरिरीमा नाच्न तथा मनोरन्जन र सुविधाका कुरा सम्भव भएकाले महिला प्रेसरकुकरका रबरझैँ बनेर बन्द भई सबै कुरा पाक्न सकेको सङ्केत गरेकी छन् । उनी थप्छिन्, “माटोभित्र टुसाजस्तै पलाएर जन्मिएका छोराछोरी, बित्ता नापेर हिँड्ने गड्यौलाहरू अहिले उभिएर सर्पजस्तै फणा उठाएर आफैँलाई डस्न उद्यत हुन्छन्, अझै जसलाई आमाहरू स्तनपान गराइरहेछन् यो कस्तो विडम्बना ?”(पृष्ठ ६४); आधा आकाश हिंसाका लागि होइन, प्रतिरक्षाका लागि सुरक्षाफौज तयार भएको हेर्न चाहने उनी मानिसले आत्महत्या होइन, विचारले आत्महत्या गर्नेछ (पृ. ६८) ।
पुस्तकको आवरणमा देखाएको पातमा बेरिएको जिलेबीलाई मूल धागो बनाएर कथा उनेकी छन् । जिलेबीको स्वाद, माइतीको सम्झना फर्किने तर बाल्यकाल, र अन्य कुरा नफर्किने कुरा धेरै पटक उल्लेख गरिएको पाइन्छ । गिरिधर, अजय चौहान आदि स्कुले साथीहरूसँगको पुनर्मिलन तथा त्यसैको सेरोफेरोमा कथा घुमेको छ । स्कुलकी नृत्य शिक्षिका पूर्णिमा दिदी र आफ्नी दिदीसँगको छोटो सन्दर्भमा अन्त्यतिर थेल्स र प्लेटोका दार्शनिक पक्षतर्फ सामान्य सङ्केत गर्दै आफ्नो महिनावारी सुक्न लागेका बखतमा मनमा उब्जिएका सन्देहलाई रोचक पाराले पस्किएको पाइन्छ ।
समग्रमा उपन्यासकार भुवन ढुङ्गानाले महिलाकै समस्यामा केन्द्रित भएर कथालाई सरल ढङ्गले नै पस्केकी छन् । लघु आकारको यस उपन्यासले महिलाका समस्या र चाहनालाई बुझ्न धेरथोर मद्दत गर्ने देखिन्छ । मदन पुरस्कार गुठीले यस वर्षका उत्कृष्ट सात पुस्तकको सूचीमा ‘परित्यक्ता’ लाई समाविष्ट गर्नुले पनि यसको चर्चा अलि बढेको अनुमान गर्न सकिन्छ । वास्तवमा महिलाको समस्यालाई प्रस्तुत गर्न पुरुषको उग्र विरोध नै गर्नुपर्छ भन्ने होइन बरु सहकार्य र सहयात्राले सहज जीवनयापन गर्न र असल समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश पुस्तकबाट पाठकले ग्रहण गर्नेछन् । लेखकले जीवनको उत्तरार्धमा आएर पहिलो तर सशक्त लघु–उपन्यास दिएकी छन् । यस अर्थमा उपन्यास ‘परित्यक्ता’ एक पठनीय कृति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।