अरू धेरै उपन्यासहरूको भीडमा उभिन आइपुगेको अर्को उपन्यास हो ‘उबडखाबड’ । यसो किन भनिएको हो भने अचेल नेपाली साहित्यिक बजारमा तुलनात्मकरूपमा उपन्यासको खहरे नै उर्लिएको छ । यसो त उर्लिएको खहरे धेरैबेर टिक्दैन भन्छन् । झरनाजस्तो सधैं झरिरहँदैन खहरे । खहरे त कहिले उर्लिन्छ र कहिले सुक्छ पनि ।

पाठकले हाई नकाढी आद्योपान्त पढेको उपन्यासलाई सफल उपन्यासको दर्जा दिन कन्जुस्याइँ गर्नुपर्दैन । बीचबीचमा पानाहरू छोड्दै मुश्किलले छिचोल्नुपर्ने अवस्था आयो भनेचाहिँ भन्नुपर्छ, यस्तो उपन्यास त नलेखेकै बेस । स्मरणीय के छ भने कथालाई तन्काएर उपन्यास बन्दैन र उपन्यासलाई छोट्याएर कथा पनि बन्दैन । कथा बन्न कथातत्त्व हुनुपर्छ भने उपन्यास बन्न उपन्यासको तत्त्व हुनैपर्छ । साहित्यिक बजारमा उपन्यासकारलाई मात्रै लेखकको रूपमा चिन्ने परिपाटी पछिल्लो समय बढ्दै गएकाले पनि लेखकहरू उपन्यासतर्फ बढी आकर्षित भएका देखिन्छन् । टङ्क चौलागाईं यो आकर्षणले मात्रै उपन्यास लेखनमा प्रवृत्त भएका होइनन् भन्ने प्रमाण उनका अघिल्ला उपन्यास ‘जिरो कटेज’, ‘काठमाण्डू गीत’ र ‘टालटुली’ छन् ।

टङ्क चौलागाईंको ‘उबडखाबड’ उपन्यासले उठाएको मूलविषय भनेको जातीय विभेद, सामान्यभन्दा फरक मान्छेको जीवनसङ्घर्ष र सशस्त्र द्वन्द्वका क्रममा आर्मी र माओवादीको दोहोरो चेपुवामा परेका भुइँमान्छे हुन् । अलि विस्तारमा भन्नुपर्दा यस उपन्यासभित्र समाजमा विद्यमान असमानताको कथा छ । धनी र गरिबबीच बढ्दो असमानताको कथा छ । गरिबले आफ्नो सपना साकार पार्नका खातिर गर्नुपर्ने सङ्घर्षको कथा छ । सङ्घर्षको दौरानमा भोग्नुपर्ने अनेकौं दुख, पीडा, पीर, व्यथा र वेदनाको कथा छ । निर्मम र निर्दयी शासक र प्रशासकहरूको कथा छ र त्यो निर्ममता र निर्दयताको पीडा सहन विवश भुइँमान्छेहरूको कथा छ । समग्रमा सिङ्गो समाजको कथा छ ।

रत्न प्रजापति

यो उपन्यासमा तपाईं–हाम्रै कथा छ । यो उपन्यासमा हामीले अपनत्वको महसुस गर्नसक्छौं । मानिसको जीवनमा धेरै असमानताहरू छन् । मानिसले जीवनमा धेरै अग्ला र होचा बाटाहरू पार गर्नुपर्छ । तिनै अग्ला–होचा बाटा र असमानताहरू नै जीवनलाई सकारात्मक र नकारात्मक प्रभाव पार्ने खबडखाबड हुन् । कतै अग्ला र कतै होचा उबडखाबड छिचोल्दै अघि बढ्नसक्नु नै जीवन हो । उपन्यासले उत्पीडनको कथा बोक्दाबोक्दै पनि त्यसविरुद्ध विद्रोहको आवाज पटक्कै उठाउन नसक्नु खट्किने पक्ष हो ।

तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा लागेको राताम्मे पहिरनमा रङ्गिएका महिलाहरूको भीडको सन्दर्भबाट सुरु भएको उपन्यास तीजकै दिनमा दुर्घटनामा परेर अस्पतालमा निर्मलाको मृत्यु भई पशुपतिको आर्यघाटमा उनको शव जलाउन लगिएको सन्दर्भमा पुगेर टुङ्गिएको छ । उपन्यास पूर्वस्मृतिमा आधारित छ । गाउँमा हुर्केबढेको युवाले काठमाडौंका लागि सजाउने सपना र रहर, सपनाको सहर काठमाडौंमा आएपछि यहाँ टिक्न, बाँच्न र केही बन्नका लागि गर्नुपर्ने संघर्ष, अनि यही सपनाको सहर काठमाडौंले गाउँबाट आएको भुइँमान्छेलाई गर्ने आर्थिक, मानसिक र शारीरिक शोषणको चित्रणले उपन्यासलाई समसामयिक र सामाजिक यथार्थवादी उपन्यासको कोटिमा उभ्याएको छ । अनेक सपना र रहर बोकेर सपनाको सहर काठमाडौंमा आउने गाउँले भुइँमान्छेले अन्ततः यहाँ आएर भोग्नुपर्ने अन्तिम परिणतिलाई उपन्यासमा मार्मिक ढङ्गले उतारिएको छ ।

उपन्यासका मुख्य पात्रमा जीवन र निर्मला छन् । अरू धेरै सहायक पात्रहरूले उपन्यासलाई सहज गति दिन सघाएका छन् । केही पात्रहरूको कठोरता र निर्ममताले पाठकको मनमा जोश उत्पन्न गर्छ, आक्रोश पैदा गर्छ र घृणा पनि उत्पन्न गर्छ । त्यो कठोरता, निर्ममता र घृणासहितकाे निरङ्कुशताविरुद्ध उभिन पाठकमा पनि हुटहुटी जगाउँछ । यो उपन्यासको सफलताको द्योतक हो ।

दलित समुदायको जीवन नेपाली फिल्मको हिरो बन्ने सपना बोकेर काठमाडौं आउँछ । काठमाडौं छिरिसकेपछि लामो समय काठमाडौंमै बित्छ, अनेक समस्यासँग पौठेजोरी खेल्दै । सपनाको सहर काठमाडौं कति निर्दयी छ र कति अपरिचित छ भन्ने यथार्थ जीवनको जीवनसङ्घर्षले छर्लङ्ग पारेको छ । काठमाडौंमा मात्र एक छाक खान पनि कति सङ्घर्ष गर्नुपर्छ भन्ने यथार्थबोध जीवनले गरेको सङघर्षबाट हुन्छ ।

दशवर्षे सशस्त्र द्वन्द्वकालमा माओवादीका नाउँमा गरिब, झुत्रेझाम्रे भुइँमान्छेले देशको शासनव्यवस्थाबाट कति प्रताडित हुनुपर्यो भन्ने कथालाई साह्रै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । दारी पाल्ने, जुँगा पाल्ने, कपाल पाल्ने, झुत्रो लुगा लाउने, खानै नपाएर दुब्लाएको मरन्च्याँसे मान्छेले कहिले आर्मीबाट त कहिले माओवादीबाट सुराकीको आरोप खेप्नुपर्ने र अनेकौं सास्ती खेप्नुपर्ने अवस्थाको कारुणिक चित्रण छ । माओवादी र आर्मीको चेपुवामा परी धेरै मानिस न यता न उताका भएका छन् जीवन नेपालीजस्तै । दशवर्षे सशस्त्र द्वन्द्वले अर्थ–सामाजिक क्षेत्रमा जस्तै गम्भीर असर मुलुकको फिल्म क्षेत्रमा पनि परेको संकेत र्याम्बो र मिसाल पात्रको जीवनदशामार्फत् चित्रण गरिएको छ । मुख्य पात्र जीवन नेपाली पनि सबैभन्दा बढी पीडित छ त्यो मारबाट । भुइँमान्छे आर्मी र माओवादीको दोहोरो मारमा परेको चित्रणले पाठकमा एक किसिमको संवेदना र आक्रोश पनि पैदा गर्छ ।

निर्मलाबाट नूर अथवा नूरबाट निर्मला बन्न बाध्य पात्रहरू सहरमा प्रशस्त छन् । त्यसैले पनि काठमाडौं सहरलाई निर्दयी भनिएको होला, निर्मम भनिएको होला ।

फिल्मक्षेत्रको ग्ल्यामरले धेरैलाई आकर्षित गर्छ र गरेको छ । तर यसभित्र धेरै विसंगतिहरू छन् भन्ने यथार्थलाई उपन्यासले उजागर गरेको छ । जीवनजस्तै हिरो हुन यस क्षेत्रमा आकर्षित हुने युवाले गर्नुपर्ने संघर्ष र भोग्नुपर्ने पीडा, हिरोइन हुने सपना साँचेर यस क्षेत्रमा आकर्षित हुने युवतीले गर्नुपर्ने सम्झौतालाई पनि उपन्यासले उजागर गरेको छ । जीवनले भोगेको आर्थिक शोषण र धोका, नुर उर्फ निर्मलाले भोगेको शारीरिक शोषण फिल्मक्षेत्रका विकृत पाटा हुन् भने पसलमा उधारो खाएर फिल्म ५१ दिन चलाउने सपना देख्ने फिल्मकर्मीका व्यथा र विवशता पनि छन् । जिउन र केही पाउनका लागि झूटको सहारा लिनुपर्ने बाध्यतालाई नुर पात्रमार्फत् प्रस्तुत गरिएको छ । ग्ल्यामरमा जमेकी र कुनै दिन रेष्टुरेन्टमा नाङ्गै नाच्ने नुर नै निर्मला हुन् । निर्मलाबाट नूर अथवा नूरबाट निर्मला बन्न बाध्य पात्रहरू सहरमा प्रशस्त छन् । त्यसैले पनि काठमाडौं सहरलाई निर्दयी भनिएको होला, निर्मम भनिएको होला । जहाँ महिलामात्रै होइन पुरुष पनि बलात्कृत हुन्छन् । हिरो बन्ने सपना बोकेर काठमाडौं पसेको जीवन नेपाली बलात्कृत भएको छ पुरुषबाटै । ऊ भन्छ, ‘अगाडि पनि पछाडि पनि भत्भती पोलिरहेको छ ।’ (पृष्ठ १३९)

यसो त द्वन्द्वकालको विषयलाई लिएर धेरै कथा लेखिएका छन् । धेरै उपन्यास लेखिएका छन् । नाटक पनि लेखिएका छन् । निबन्ध पनि लेखिएका छन् । डलरवादी देशीविदेशी एनजीओहरूले पनि दर्जनौं प्रतिवेदन र वृत्तचित्रहरू पनि तयार पारेका छन् । त्यसैले टङ्क चौलागाईंले लेखेको यो उपन्यासलाई बिलकुलै नयाँ र नौलो कथावस्तुको भनेर भन्नु आवश्यक लाग्दैन । यद्यपि उनको लेखनशैली र प्रस्तुति रोचक छ्, आकर्षक छ । पाठकलाई अविश्रान्त डो¥याउने खुबी उनको लेखनीमा छ । उपन्यासका बीचबीचका पाना छोड्दै अगाडि बढ्नुपर्ने बाध्यताबाट मुक्त छ यो उपन्यास । द्वन्द्वकालका कथावस्तुमा लेखिएका अरू धेरै कृतिहरूको माझमा उभिन आइपुगेको यो उपन्यास विषयवस्तुको दृष्टिकोणले कुनै नयाँ र नौलो नभए पनि प्रस्तुतिका दृष्टिकोणले चाहिँ पक्कै नयाँ र नौलो छ है ।

उपन्यासले मुलुकमा प्रजातन्त्र, गणतन्त्र अथवा लोकतन्त्र नामका जुनसुकै शासनप्रणाली आए पनि भुईंमान्छेको जीवनमा त्यसले कुनै सकारात्मक प्रभाव पार्न नसकेको र कुनै सुधार ल्याउन नसकेको तीतो यथार्थलाई धेरै–थोरै उतारेको छ । शक्ति र सम्पत्ति सधैं टाठाबाठाकै हातमा पुग्ने गरेको क्रुर यथार्थलाई पनि उपन्यासले उजागर गरेको छ । जति दुख र संघर्ष गरे पनि गरिब सधैं गरिब नै रहने र धनी झन्झन् धनी बन्दै जाने अहिलेको अर्थ–सामाजिक यथार्थलाई पनि उपन्यासले उतारेको छ । हिजोको निरंकुश शासनप्रणालीमा मात्रै होइन, अहिलेको लोकतन्त्रमा पनि गरिब र धनीबीचको असमानता घट्न सकेको छैन । जति दुख र संघर्ष गरे पनि देशका गरिब जनता अहिले पनि जहाँको त्यहीं छन् । लोकतन्त्रको दुहाई दिइए तापनि जातिय विभेदको अन्त्य हुन सकेको छैन । जातिय विभेद, छुवाछुत र जातिय हिंसा अहिले पनि उस्तै छ । जातिय विभेद र छुवाछुतको चरम अवस्थाले गर्दा अहिले पनि धेरै नवराज बिक, सेते दमाई, मनवीरे सुनार, अजित मिजार, शिवशंकर दास, संगीता परियार, अस्मिता सार्कीहरूले जातिय हिंसाको शिकार हुनुपरेको छ । यस्तै जातिय विभेद अहिले पनि भोग्दैछन् धेरै जीवन नेपालीहरू । यस्तै सामाजिक असमानता र उबडखाबडको वकालत यो उपन्यासले गरेको छ ।

उपन्यासभित्र पात्रका केही कथनहरू निकै मार्मिक पनि छन् । मुख्यपात्र जीवनका यी कथनहरूले दिमाग झन्न पार्छन्, ‘के झुत्रेमुत्रे जति सबै माओवादी हुन् ? के दलित हुनु माओवादी हुनु हो?’ (पृष्ठ ५२) । ‘के गरिब हुनु, असहाय हुनु बिराम हो ?’ (पृष्ठ ५६) । ‘पुरानो लुगा लगाउने मान्छे देख्नेबित्तिकै शङ्का गरिहाल्नुपर्ने, दुब्लो पातलो भयो भन्दैमा शङ्का गरिहाल्नुपर्ने । लामो जुँगा पाल्यो भन्दैमा आतङ्ककारी भनिहाल्नुपर्ने । हामीलाई बाँच्ने अधिकार छैन यो देशमा ?’ (पृष्ठ ६२) ‘थुख (सुख) मा हुर्किका केटाकेटी मात्तिन सिक्छन् । दुःखमा हुर्किका केटाकेटी काम गर्न सिक्छन् ।’ (पृष्ठ ७४) । यसैगरी सहरकी घरभेटी साहुनीको निम्न अनुभवी कथनले सहरको तीतो यथार्थ पोख्छ, ‘मलाई थाहा छ बाबु, सहरले तिमीजस्ताको प्राण चुस्छ ।’ निकै मार्मिक लाग्छन् यी कथनहरू, जसले वर्तमान र वर्तमानमा बाँचिरहेका मानिसको जीवन र जीवनको यथार्थबोध गर्न मद्दत गर्छन् ।

कथाले मागेकै भए पनि कतिपय अपाच्य शब्दहरूको प्रयोगले भने पाठकलाई असहज महसुस पनि गराउन सक्छ । साथै हिरो बन्ने सपना देख्ने मुख्य पात्र जीवनलाई लठेब्रोको रूपमा प्रस्तुत गरिनु अलि अस्वाभाविक लाग्छ ।

उपन्यासको पठन रोचक छ । पाठकलाई अन्त्यसम्म तानिराख्ने आकर्षण छ । कथावस्तुमा कुनै नवीनता नभए पनि प्रस्तुतिमा नवीनता छ । वर्णनमात्रै होइन बौद्धिकता पनि छ । सपनाको सहर काठमाडौंमा गएर हिरो बन्ने एउटा दलित समुदायको जीवन नेपालीको सपनादेखि माओवादी द्वन्द्व, त्यसले सिर्जेको अर्थ–सामाजिक समस्या, राजा फाल्न भएको संयुक्त जनआन्दोलनका केही पक्षसम्मलाई उपन्यासले समेटेको छ । सामाजिक असमानताप्रतिको विद्रोहदेखि राजनीतिक चेतसम्म उपन्यासमा भेटिन्छ । गरिबका लागि आपत्का बेला अरू कोही नभए पनि आफ्नै कर्मक्षेत्रका सहकर्मीहरूले साथ दिन्छन् भन्ने कुरालाई पशुपतिको आर्यघाटमा निर्मलाको शव कुरिरहेको जीवनलाई सहयोग गर्न सुटिङबाट फर्किएका मल्ल सर सन्तेसँग सिधै पशुपति आएको सन्दर्भ उल्लेख गरेर उपन्यासकारले आफ्नो कर्मक्षेत्रलाई तुच्छ हुनबाट जोगाउन सफल भएका छन् ।

हास्यरसको भरपुर उपयोग गर्दै अन्त्यमा वियोगमा टुङ्गिएको छ उपन्यास । स्वाभाविकरूपमा वियोगले पाठकलाई दुखी बनाउँछ । अस्वाभाविकरूपमा भएको निर्मलाको मृत्यु र जीवनले भोग्नुपरेको आर्थिक, सामाजिक र मानसिक पीडाले संवेदित तुल्याउँछ । कथाले मागेकै भए पनि कतिपय अपाच्य शब्दहरूको प्रयोगले भने पाठकलाई असहज महसुस पनि गराउन सक्छ । साथै हिरो बन्ने सपना देख्ने मुख्य पात्र जीवनलाई लठेब्रोको रूपमा प्रस्तुत गरिनु अलि अस्वाभाविक लाग्छ । उसले बोल्दा हरेक पटक पहिलो शब्द मात्रै अशुद्ध बोल्ने र बाँकी सद्दे मान्छेले जस्तै शुद्ध बोलेको देखाउनु पनि अलि अस्वाभाविक लाग्छ । यदि जीवन लठेब्रो नै हो भने उसले बोल्ने हरेक शब्द अशुद्ध हुन्छ ।

दुखको सागरमा डुबेका जीवन र निर्मलाको प्रतीकात्मक स्वरूपमा बनाइएको आवरण आकर्षक छ । झट्ट हेर्दा डरलाग्दो पनि छ । तर डरलाग्दो आवरण भएको उपन्यास पढ्नमा भने रहरलाग्दो छ । जीवनमा आइपर्ने नाटकीय मोडहरू र उबडखाबडहरूलाई उपन्यासले उधिनेको छ । हरेक मानिसको जीवन उबडखाबडयुक्त हुन्छन् । यही शाश्वत सत्यलाई उपन्यासले उजागर गर्न खोजेको प्रतीत हुन्छ । पाँच अध्यायको यो उपन्यास एक–दुई बसाइमै आद्योपान्त पढ्न भ्याइन्छ ।

पुस्तकः उबडखाबड
विधाः उपन्यास
लेखकः टङ्क चौलागाईं
प्रकाशकः शिखा बुक्स
संस्करणः पहिलो, २०७७
पृष्ठः २३८
मूल्यः रु. ३५०/-