स्वरैकल्पना एवं जादुमयी र दन्त्यकथामा आधारित कथाहरू लेखिने परम्पराबाट उठेर सामाजिक यथार्थताको धरातलमा बसेर कथा लेखिने नेपाली कथा लेखनको परम्परा सय वर्षभन्दा पनि कलिलो । गुरुप्रसाद मैनाली र उनको समकालीन समयलाई सामाजिक कथा लेखनको प्रस्थान समय मानिन्छ क्यारे ! तर यो अवधिमा सामाजिक यथार्थताभित्र पनि विभिन्न आयामहरूमा लेखनको प्रयोग भइरहेकै छन् । ती सबै लेखनहरूले कहीँ न कहीँ छुन नसकेका वा छुटाइरहेका थुप्रै विषयहरूको धुलो टक्टक्याउन बाँकी नै छ। छोपिएका ती कथाहरूको भूमि भेट्न बाँकी नै छ । लेखिनुपर्ने, भनिनुपर्ने र सुनिनुपर्ने त्यस्तै कथाहरूको खाडलमा घाम पार्ने काम गरेको छ कथासंग्रह- “याम्बुनेर” ले।

पछिल्लो कालमा नेपाली पाठकहरूका लागि बिना थिङ नयाँ नाम होइन। अखबारी लेखन होस् या साहित्यिक लेखन, विभिन्न माध्यमबाट यो नाम आमपाठकहरूका अघिल्तिर नियमित रूपमा अद्यावधिक भइरहने नाम हो । तेस्रो कृतिका रूपमा याम्बुनेर बजारमा ल्याउनुभएकी थिङले यो कथासंग्रहको उत्पत्तिका बारे लेख्नुभएको छ, “वि. सं. २०५२ सालको अन्तिमतिर याम्बु नजिकैको बुढानिलकण्ठभन्दा माथिको तौलुङ्ग थुम्कोमा आइपुगेपछि थुम्कोमुनि गुजुमुज्ज परेको देखिने याम्बुप्रतिको धारणा र तौलुङ्ग आसपासको सामाजिक जीवनको भोगाइपछि याम्बुनेर आएको हो ।” उहाँको थप कथन छ, “टाढाबाट याम्बु नजिकै देखिने थुम्काहरू तिनै थुम्कामा आइपुग्दा त्यो याम्बु ती ठाउँहरूबाट त झनै टाढा रहेछ ।” हो, याम्बु नजिकका तिनै थुम्काहरू याम्बुबाट नजिक लागे पनि हकिकतमा कोसौं टाढा छन् शासकहरूको नजरमा, राज्यको नजरमा । र यही सत्यताको मुटुबाट प्रवाहित भोगाइहरूको स्रोत हो, याम्बुनेर।

याम्बुनेर, कथासंग्रहभन्दा बढी कथाहरूको मुहान हो भन्दा अत्युक्ति नहोला । नेपाली साहित्य लेखनको मूल प्रवाहले छुन मन नगरेका विषय र पात्रहरूको उठान मात्रै गरिएको छैन, ती विषयहरूले गिजोलिरहेको सामाजिक यथार्थ र राज्यले थोपरिरहेको सौतेलो व्यवहारका विरुद्ध भद्र विमतिसमेत पोखिएको छ ।

दिलिप बान्तवा

विभिन्न समयमा विभिन्न माध्यमबाट प्रकाशित भएका र केही नयाँ कथाहरू पढ्न पाइन्छ संग्रहमा । १३ वटा कथाहरूमा हरेक कथाहरूले फरक फरक दुखाइ, भोगाइ, अनुभूति र विषयलाई समातेका छन् । धार्मिक कुसंस्कारका विरुद्ध विद्रोह गर्ने आनि पेमाको कथा होस या धर्मकै परिधिका कारण कुँजिएको जुनेदोको प्रेम होस्, धर्म र संस्कारभित्र पनि मानवीय स्वतन्त्रता अपरिहार्य छ भन्ने विषयको पैरवी गरिएको छ।

तामाङ्ग समुदायमा लामाको ठूलो इज्जत र प्रतिष्ठा छ। तर एक लामाको प्रतिष्ठाका लागि कति मान्छेले आफ्नो अस्तित्वको बलि चढाउनुपर्ने रहेछ भन्ने नेपथ्यको कहानी सुनाउने “आनि पेमा” कथामा घरकी माहिली छोरी आनि बन्नै पर्ने साँस्कृतिक मान्यतालाई निरन्तरता दिए पनि अन्ततः आनि भएकी म्हेन्दो गुम्बालाई त्यागेर आफ्नो स्वतन्त्र संसारको खोजीमा याम्बुतिर ओर्लन्छिन्। यसको अर्थ धार्मिक, साँस्कृतिक मान्यताहरूको विरोध गरिएको भन्दा पनि ती मान्यताहरूमाथि व्यवहारिक परिमार्जन गर्ने सुझाव दिइएको बुझ्न सकिन्छ।

सिकोफाइभ कथाको शीर्षकले देखाएको भन्दा फरक विषय उठान गरेको छ। मान्छेहरूले बाँच्नका लागि गर्ने संघर्ष, परिचयको लेपन, आत्मसम्मान जस्ता देखिँदा मसिना लाग्ने तर हरबखत बल्झिरहने मान्छेको मनोविज्ञानलाई केन्द्रमा राखिएको छ । छम्पेनी दिदीको लुकेको वास्तविकता र छोरीको आत्मसम्मानप्रतिको चनाखोपन, शिमान बूढाको द्धैध चरित्र र फुटानी जस्ता दृष्यहरू देखाउन २०४६ सालको जनआन्दोलनका छिटफुट तस्बिरहरू समेत राखिएको छ। सिकोफाइभ घडी र शिरमान थिङको हत्याका बीच छम्पेनी दिदी आफ्नी छोरीसहित गाउँ छोडेर हिँड्नुले एउटी आमा आफ्नो सन्तानको अस्तित्व रक्षाका लागि समाजमा कतिसम्म भिड्न सक्छिन् भन्ने कुरा देखाइएको छ भने बाबुविनाको सन्तान हुर्काउने आमालाई हाम्रै समाजले हेर्ने नजर पनि देखाइएको छ।

संग्रहको शीर्षक कथा याम्बुनेर संग्रह कै सिग्नेचर कथा हो । खासगरी लेखकले २०५२ सालपछि बिताएको समय, टेकेको भूगोल, देखेको दृष्य, त्यही भूगोलमा सुनेको अनेकौँ किस्साहरूलाई सिलसिलेवर रूपमा बुनिएको कथा हो, याम्बुनेर । विशेष गरेर तामाङ्ग समुदायमा शैक्षिक चेतना कम छ । सायद त्यो कारण आर्थिक उपार्जनसँग जोडिएला। आर्थिक रूपमा कम सम्पन्न यो समुदायमा जीविकाका लागि मनग्ये शारीरिक श्रम खेप्नु पर्छ। स्कुल जाने समय कहाँ पाउनु र ! फेरि यो समुदायको बाहुल्यता भएको भूगोलमा उस्तरी पायक पर्ने स्कुल पनि कहाँ छ र ! त्यसैले त्यहाँका मान्छेहरू सपना देख्दा पनि आफ्ना छोराछोरी कतै गएर राम्रो ज्याला पाउने मजदुरी गरिरहेको देख्छन् वा कुनै खाडी मुलुकमा सस्तो श्रम बेचिरहेको ।

सोममाया, लाली, सानू, साङ्मो, पुनमहरूको पनि सपनामा स्कुल रहेन । जंगल गएर दाउरा काट्ने, घरमा रक्सी बनाउने अनि ठेक्कामा अलि तलको फाँटतिर रक्सी ओसार्ने बिपना थियो भने घरजम गर्ने वा कतै गएर पैसा कमाउने सामान्य सपना । तर उनीहरूलाई त्यो सामान्य सपना देख्ने छुट पनि भएन। उनीहरूले पुस्तैनी दाउरा घाँस काटिरहेको आफ्नै घुर्‍यानको जंगललाई सरकारले निकुञ्ज तोकिदियो र उनीहरूलाई प्रशवे निषेध । राज्यले त्यहाँका जोताहा नागरिकलाई गरेको अन्याय थियो त्यो । दाउरा काट्न नपाएपछि रक्सी बनाएर बेच्दै चलिरहेको जीवनचक्रमा अवरोध आयो । झन् त्योभन्दा ठूलो आपत्त रक्सी बनाउनसमेत प्रतिबन्ध गरिएपछि आइलाग्यो । नेपालका अधिकांश जनजातिहरूको जातीय संस्कारमै अत्यावश्यक रहेको तथा उनीहरूको सभ्यतासँगै जोडिएर आउने रक्सीको उत्पादन र प्रयोगमा सरकारले बेला बेला गर्ने आँखीको कथा छ याम्बुनेरमा । सोममायाको माग छ, “सिल्प्याक रक्सी बेच्नेलाई कुनै कार्वाही छैन । गरिबलाई मात्र किन यस्तो गर्छौ ? हामीले गरेको गैरकानुनी भए कानुनी तरिका सिकाइदेउ, हामी भाँती पुर्‍यारै रक्सी बनाउँछौँ ।”

भगवान् निवास कथा अन्य कथाको तुलनामा विषयका हिसाबले औसत छ। यद्यपि पात्रहरूको संघर्ष, सरकारी कर्मचारीहरूको काम गर्ने प्रवृत्ति, गाउँघरलाई विस्तारै सहरले गर्दै गरेको संक्रमणसँगै तामाङ समुदायमा नयाँ घर बनाएपछि गरिने संस्कारहरूको व्याख्या गरिएको छ। लामाले दावा तामाङ नाम राखिदिए पनि बाउआमाले भगवान् नामाकरण गरिदिएका भगवान् तामाङले साउदी अरबमा दुख गरेर कमाएको पैसाले चिटिक्कको घर बनायो तर नयाँ घरमा सर्ने सामाजिक संस्कार गरेकै दिन भूकम्प आइदियो, त्यो भूकम्प शनीबारको दिन थियो।

आयाम कथा पनि विषयवस्तुका हिसाबले अन्यको तुलनामा फरक कथा लाग्यो । आधुनिक समयको व्यस्त दिनचर्या, अन्य कथा पात्रहरूको तुलनामा सचेत र सुकिला पात्रहरूको प्रयोग र बिरलै भेटिने प्रसँगहरूले यो कथालाई अलि फरक बनाएका हुन् । याङ्जी र सुरजको नजाँनिदो प्रेमकथा र कथाको “ह्याप्पी इन्डिङ्ग” । अन्य कथाहरूमा पात्रहरूलाई उनीहरूकै दुखको हालतमा छोडिदिने कथाकारले यहाँ भने पात्रहरूलाई एउटा “मञ्जिल” दिएका छन् । सायद कथाकारको प्रयोग हो कि ! यद्यपि एउटा “सस्पेन्स” भने अन्तिममा मात्रै खुलेको छ । कथाले कमसे कम आजको समयमा हामी अलिकति खुला हृदय र मानसिकता लिएर बाँच्नुपर्छ भन्ने सिकाउँछ।

“घडी फूल” अपरिपक्व प्रेम र विवाहका लागि हतारमा गरिने निर्णयले दिने प्रत्युत्पादक सम्बन्धको कथा हो। कथाको दृष्यमा वि. सं. २०४५-५० कालीन हेटौंडा देखाइएको छ। आठ कक्षा पढ्दापढ्दै वीरगन्जतिरको नेवार केटासँग हेटौंडाकी तामाङ्नी केटी पुतलीले गरेको अन्तर्जातीय विवाहले पुतलीलाई प्रेम दिएन । एउटी सुन्दर छोरी जन्माइन् र कमाइन्, यावत् खालका पीडा र अदृष्य दर्दहरूसँगै प्राणघातक रोग टिबि । पारिवारिक टोकसोले उनी रक्स्याहा भएकी थिइन् । उनको त्यही बानीले टिबिको नजिक पुगिन्। रोगको पहिचानपछि घरबाट लखेटियो । माइतीको शरण परिन् । अनेकौँ कोसिस गरे माइतीले आफ्नो बुताले भ्याउँदो, तर केही सीप चलेन । छोरीको मुख हेर्ने अन्तिम ईच्छासमेत पूरा हुन नपाई पुतलीको चोला उठ्यो । जाँदाजाँदै उनको प्रेमी र पछि भएका श्रीमानले दिएको डिजिटल घडी जडित कलम कथा वाचकलाई दिएर गइन् । प्रश्न उठ्छ, त्यस्तरी माया गरेर उपहार दिने प्रेमीले विवाहपछि किन उपेक्षा गरे ? पुतली किन रक्सीको लती बनिन् ? श्रीमानको घर परिवारले किन बेवास्ता गर्‍यो ? के अन्तर्जातीय विवाह गरेकै कारण त्यस्तो गरेका हुन् या केही अरु कारण ? यो विषय खुट्याउने काम सायद पाठकलाई नै छोडिएको होला ।

“ड्राइभरका आँखा” शीर्षकको कथामा भने आँखामा देखिने सबै भावहरूको अर्थ हामीले सोचे जस्तो हुँदैन भन्ने जिकिर गरिएको छ। मान्छेले कुनै दृष्यमाथिको धारणा बनाउँदा त्यसअघि उसका सामुन्ने घटेका घट्नाहरूको आधारमा तय गर्दछ । कथामा श्याममायालाई पनि त्यस्तै भयो । मर्चा बेच्ने साहुजीले श्याममायामाथि गरेको अस्लिल हर्कतका आधारमा ट्रक ड्राइभरले ऐनामा हेर्दा पनि उहीँ मर्चा व्यापारीको झझल्को आइरह्यो श्याममायालाई जसले गर्दा उनीहरूको समूहले साइकलबाट स्कुल जाने निधो गर्‍यो । उरन्ठेउलो उमेरमा आउने स्वभाविक चकचक अनुसार साइकल रेस गर्दा दुर्घट्ना भयो । श्याममायालाई उनै ट्रक ड्राइभरले उठाएर त्यही ट्रकबाट मेडिकल दौडाए। ट्रकमा जाँदै गर्दा ड्राइभरले सुनाएको दर्दभरी कहानीले श्याममायालाई ग्लानिबोध गरायो। यो कथामा विशेषत: किशोरीहरूको मनोविज्ञान तथा उनीहरूप्रति हुने अनेकौँ हर्कत र ती हर्कतका बारेमा आफूमा आउने विभिन्न तर्कनाहरूलाई रोचक र स्वभाविक ढंगले बुनिएको छ।

“गंगारामको साइकल” स-साना कथाहरूको मिसमास कथा हो। हेटौंडाकै दृष्य कैद गरिएको यो कथामा बाल्यकालका उट्पट्याङ्, बाउ आमासँगको सम्बन्ध, साथीसँगको सामुहिकतासँगै अलिकति छालाको रङ अनि थोरै वर्गीय प्रेम भेट्न सकिन्छ। तर सबिनाको त्रैमासिक परीक्षा सकिएपछिको खाली समयमा साइकल चलाउन सिक्नेक्रममा घटेको दुर्घटना केन्द्रीय कथा हो। सबिनाको घरमा डेरा गरी बस्ने गंगाराम चौधरि हेटौंडा औधोगिक क्षेत्रको मजदुर हो, उहीँ गंगारामको साइकलको कथा हो यो । सो दुर्घटनापछि दोषमुक्त हुन सबिनाले निक्कै प्रयास गरिन्। मनमा अनेकौँ तर्कना आए। तर अन्ततः गंगाराम हेटौंडा बजार छोडेर देहाततिर लाग्यो, सबिनालाई एउटा प्रेमिल सन्देश छोडेर ।

“गन्धे झार” माओबादी जनयुद्धको त्यो कालखण्डको कथा हो जतिबेला “बाँचे मुक्ति मरे शहीद” को नारा बोकेर युवा विद्यार्थीहरू युद्धमा होमिइरहेका थिए। चिनीमाया त्यही समयको एउटा हरकले झसंग भएकी छिन् । सर्वहारा वर्गको दिपेश थापा स्कुलमा भएको एउटा कार्यक्रमपछि अखिल क्रान्तिकारिको कार्यकर्ता हुँदै नेता हुन्छ। तर दिपेशले अखिल क्रान्तिकारी, माओबादीको विद्यार्थी संगठन भएको कुरा पछि मात्रै थाहा पायो। एउटा युद्धमा दिपेशको प्रिय नेता मारिएपछि हतास भएको ऊ युद्ध छोडेर जान चाहन्थ्यो। तर एउटा भीडन्तमा दिपेश मारिएको खबर रेडियोले दियो। चिनीमायामा छटपटी बढ्यो। त्यही दिपेश त थियो जसले चिनीमायालाई पहिलोपटक पोष्ट्कार्ड पठाएथ्यो २०५६ सालको नयाँ वर्षमा। यतिखेर ११ वर्षे छोरोसहित त्यो समयको कथा सुनाइरहेकी चिनीमायाले अचानक फेसबूकमा दिपेशलाई भेटिन् जो यतिखेर मलेसियामा छ। तर योभन्दा बढी कथाले प्रस्ट बनाउँदैन। दिपेश मारिएको खबर कसरी फैलियो, ऊ युद्धबाट कसरी पलायन भयो ? इत्यादी सवालहरू स्वभाविक हुनेछन्। माओबादी विद्रोह कालमा वीरतापूर्वक लड्ने योद्धाहरू, लडाइँ लडेर सकुशल बाँच्नेहरूको अनेकौँ कथाहरू छन् तर ज्यान उत्सर्ग गर्ने अठोट लिएर लडाइँमा लामबद्ध भएकाहरू पनि लडाइँको चरित्र, जीवनप्रतिको मोह वा अन्य कुनै कारणले लडाइँबाट विमुख हुने लडाकुहरूको लाइन पनि सानो त थिएन नै। त्यस्तै लडाकुहरूको प्रतिनिधि पात्र हो दिपेश । दिपेशभन्दा अझ दर्दनाक समय बाँचिरहेका तत्कालीन लडाकुहरूका कहानी त योभन्दा नि सुनी नसक्नुका छन् । लेखी नसक्नुका छन्।

“आइतिमाया” तामाङ समुदायको एउटा साँस्कृतिक कथा हो । लुतो फाल्ने दिन अर्थात् साउने सक्रान्ती मनाउने तरिका, आवश्यक सामग्रीको जोहो गर्ने तरिकाको वरिपरि घुमेको कथामा फेरि पनि पुस्तौँदेखि चहारेको जंगलमा सेनाहरूको अतिक्रमणपछि तामाङ समुदाय खुम्चिएर बस्नुपरेको, आतंक बोकेर जंगल पस्नुपरेको अवस्थाको वर्णन छ। सँगै आइतिमाया र दावाबीचको मनोवैज्ञानिक झगडा र अटल प्रेमलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

“जुनेदो” अव्यक्त प्रेमको अर्को कथा हो । सीता र जुनेदो स्कुले सहपाठी । शैक्षिक भ्रमणमा खिचिएको एउटा फोटोको आधारमा उनीहरूमाथि प्रश्न उठ्यो। प्रश्नको निराकरण गर्न खोज्दा जुनेदो एकाएक हरायो । जुनेदो मुसलमान समुदायको मान्छे, सीता पण्डितकी नातिनी । एउटा सामान्य फोटोको कारण प्रेमी प्रेमिका भनी प्रचार गरिएपछि सिताले जुनेदोलाई भाइटीकामा निम्ता गरिन् तर जुनेदो आएन, किन ? त्यही किन, को उत्तर खोज्न वर्षौँपछि उनीहरू काठमाडौंमा भेटिएका हुन् । एकअर्काको “फ्ल्यासब्याक” कहानीमा कथा सुनाइएको यो कथामा खासगरी जातीय-धार्मिक अन्तर्विरोधको विषय मन्द गतिमा उठाइएको छ । सीता र जुनेदोमा आ-आफ्नो धार्मिक मान्यताका कारण आफैंलाई ढाकेर राखे र आवरणमा अर्कै रूप देखाइरहे । तर वास्तवमा उनीहरूको मनमा अरू नै कुरा खेलिरहन्थ्यो । आज अविवाहित सिताका अघिल्तिर विवाहित जुनेदो (जोसँग दुई जना छोराछोरी र श्रीमती छन्) बसेर आफ्ना मनमा भएका सम्पूर्ण भनोभावहरू साटिरहेका छन् । तर अब तिनको खास अर्थ छैन । साँच्चै यही भएर भनिएको होला सही समयमा, सही कुरा गर्नुपर्छ भनेर ।

“ब्याड भाले” चप्पल लगाउनु पनि आर्थिक सपन्नताको सूचक मानिने समयको कथा हो । कथाकारलाई यही कथाले बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करणमा प्रथम स्थानसमेत दिलाएको थियो । मुख्य पात्र स्याङ्म्हेन्दोभन्दा ६ वर्ष जेठो लोग्ने इरमान लामो समयदेखि बेखबर छ। कसैले वीरगन्जमा रिक्सा चलाउछ भन्छन्, कसैले कास्मीरमा स्याउ टिप्ने काम गरेको सुनाउँछन् । तर बिहेको ३ महिनादेखि बेपत्ता इरमानको ४ वर्षसम्म खुटखबर छैन । माइतीमा दाइले इरमानको खबर र चप्पल दुबै ल्याइदिने आश्वासन दिएका थिए । त्यही खुसीमा माइती पुगिन् । कास्मीर पुगेको इरमानले स्वास्नी कुरूप भएको कारण घर नफर्किने खबर लिएर दाइ आएका थिए । तर स्याङ्म्हेन्दोलाई थाहा थियो इरमानमा लोग्नेमान्छेमा हुनुपर्ने गुणहरूको अभाव थियो, उसले आफ्नो कमजोरी लुकाउन आफूलाई कुरूप भनेको सह्य भएन । इरमानको खबरसँगै दाइले ल्याइदिएको चप्पलले भने उनलाई बिछट्टै खुसी दिलायो।

घरमा भएको ब्याड भाले कतै हराएको थियो। कुखुराहरूलाई अण्डा कोरल्नका लागि भालेको जरुरत थियो। माइतबाट आमाले ब्याडका लागि भाले दिएर छोरीलाई बिदा गरे। तर मनमा अनेकौँ तर्कनासँगै पहिलोचोटि चप्पल लगाएर सिक्दै हिँडेकी उनी घर पुग्दा ब्याड भाले मरिसकेको थियो । यो कथा केही मनोवैज्ञानिक छ। धेरै जातीय संस्कार र संस्कृतिको झलक दिइएको छ। प्रायः जनजाती समुदायमा चेलीबेटीलाई पेवा दिने चलन छ। कुखुरा, बाख्रा, सुँगुर वा रक्सी बनाउने अन्न इत्यादी। पेवा दिइएको चिजबाट जति आम्दानी हुन्छ त्यो सबै उनकै हुने चलन छ। साथै तामाङ संस्कृतिमा चाहिँ बिहे गरेर जाने चेलीलाई पनि पेवा दिइने रहेछ, यो कथाले त्यही कुरा भन्छ। अर्को कुरा, हाम्रो समाजले निर्माण गरिदिएको सामाजिक मान्यतामा टिक्न नसकेको इरमान जसको पुरुषत्वमाथि स्याङ्म्हेन्दोले प्रश्न उठाएकी छिन्। तर उनको प्रश्नभन्दा इरमानको आरोपलाई हाम्रो समाजले सही ठान्छ । इरमान साँच्चै स्याङ्म्हेन्दोले भने जस्तै थियो वा उसको अर्को कुनै सम्बन्ध भएर स्वास्नीलाई बेवास्ता गरेको थियो ? योबारेमा कथा मौन छ । सायद इरमानमा जैविक समस्या नै थियी भन्ने तर्क स्थापित गर्न खोजिएको हो कि ! स्याङ्म्हेन्दोले समाजको मान्यतालाई भत्काइन्, उनले नामर्द भनिएको इरमानलाई नपर्खी मर्द भनिने अर्कैसँग बिहे गरिन् । स्याङ्म्हेन्दोको यो कदम सामाजिक नियमको नाममा हुने असामाजिक बन्धनका विरुद्ध भद्र विद्रोह हो ।

संग्रहको अन्तिम र संवेदनशील कथा हो “सिफनको फेरो”। कुनै समय राजा महाराजाहरूको दरबारमा भेटिका रूपमा चढाइने याम्बु आसपासका तामाङ चेलीहरूको जोवन केही दशकअघिसम्म बम्बैका पहेँला बंगलाहरूमा लिलाम हुन्थे । त्यसो त अझै पनि कैयौँ चेलीबेटीहरू नयाँ नयाँ बम्बैहरूमा विवशताले, आवश्यकताले, बाध्यताले आफूलाई बेचिरहेकै छन् । यही विषयको उठान गरिएको यो कथाको उद्गम थलो पनि एउटा सामान्य तामाङ समुदाय नै हो । घरको मूलखाँबो बाउको दुर्घटनापछि परिवारको हेरचाहका लागि सेर्मोले गाउँ छाडिन्, आफ्नी आङीका साथ। आङीको विश्वासमा सपनाको क्षितिज छुन हिँडेकी सेर्मो बम्बैको पहेँलो बंगलामा बेचिइन्।

अब्बास, सेर्मोको ग्राहक। उनीहरू बिचमा भौतिक दूरी मात्रै छोटिएन, मनको दूरी पनि हट्यो । प्रेम भयो। तर एक्कासि अब्बास हरायो। सेर्मोले पहेँलो बंगला छोड्न पाइनन्। बरु केही समयपछि बंगलामा चल्ने धन्दाको मालिक्नी भइन्। दुई वर्ष मालिक्नी भएपछि नेपाल आइन्। जिन्दगी चलिरहेकै थियो। एकदिन अब्बास नेपाल आयो, सेर्मोको खोजीमा। उनीहरूको प्रेमले सार्थकता पायो।

सेर्मो बिरामी परिन्। चोला उठ्यो। तर अब्बास कतै गएन। सेर्मोको यादमा बसिरह्यो। तामाङ संस्कृति अनुसार सेर्मोका लागि गरिने सबै संस्कार गर्‍यो। सेर्मोले लगाएको सिफनको साडी समाएर नोस्टाल्जिक हुँदाहुँदै अब्बासको पनि श्वास बन्द भयो।

यो कथाले लामो समयदेखि चलिरहेको महिला बेचबिखनको “र्‍याकेट” लाई सरल ढंगले प्रस्तुत गरेको छ । सेर्मोको बाल्यकाल, सेर्मोको समाज, सामाजिक चिन्तन र मान्यताहरूको व्याख्या ज्यादै सुन्दर छ । तर कथाको मुख्य भाग बम्बै पुगेपछि सेर्मोको बुहार्तनमा भने लेखकले ज्यादै हतारमा कथालाई अगाडि बढाएको भान पर्छ । सेर्मोले बिताएको पीडादायी क्षणहरूमा उनीभित्रको आवेग, परिवारको याद र छट्पटी, आङीप्रतिको आक्रोश, आफूलाई आइपरेको बाध्यात्मक स्थितिका बारे सेर्मोको मनोवादहरू पनि आएको भए कथा अझ जीवन्त हुन्थ्यो कि !

अब्बास र सेर्मोको प्रेमलाई निक्कै आदर्श प्रेमका रूपमा अर्थ्याउन खोजिएको छ। यो दृष्यले भने बेचिने चेलीहरूले खप्नु पर्ने अँध्यारो पक्षलाई ढाकिदिएको हो कि जस्तो लाग्यो। अब्बास जस्ता पात्रहरू मात्र नभएर अब्बासको विपरीत पात्रहरू पनि अपेक्षित थिए जस्तो लाग्छ।

लेखकको तर्क छ, “लेखनमा हरेक लेखकका आ-आफ्नै सिमितताहरू हुन्छन् ।” सायद ती सिमितताहरू भोगाइमा भर पर्छन् क्यार। अधिकांश कथाहरू लेखकले नजिकबाट छोएका, भोगेका, देखेका दृष्यहरू हुन भन्न अल्मलिनुपर्दैन । प्रत्येक कथाका दृष्यहरू लेखकको तेस्रो चक्षुबाट निर्माण गरिएको आभास हुन्छ । स्वभाविक दृष्यहरू र तीसँग स्वभाविक रूपमा जोडिने पात्रहरूको निर्माणले कथाहरू कथाभन्दा माथि उठेका छन् । छोटा वाक्यहरू, सरल भाषा शैली, आञ्चलिक बिम्बको प्रयोगले कथाहरूलाई सम्प्रेष्य बनाएको छ।

यो संग्रह वा यहाँका कथाहरूलाई कुनै समूह वा समुदायले आफूइतर देख्छ भने त्यो नजर आफैंमा एकलकाँटे छ। यहाँका पात्रहरू कसैलाई गाली गर्दैनन्, विरोध गर्दैनन् वा कसैको अस्तिव र उपस्थितिमाथि धावा बोल्दैनन्। बरु आफ्नो संस्कृति र मान्यताप्रति अडिग छन्। आफ्नै सभ्यतामा रमाएका छन्। आफ्नै दैनिकीमा अभ्यस्त छन्। बरु आफ्नो युगौँदेखिको पहिचानलाई कुल्चन खोज्ने प्रवृत्ति र शक्तिहरूलाई आफ्नो चिनारीबोध गराएका छन्। अर्थात् याम्बु यानकि राज्यसत्ताको एकलापले ओझेल पार्न खोजेको समुदायको सह-अस्तित्वबिना याम्बु याम्बु रहिरहन सक्दैन भन्ने बोध गराउन उद्यत छन्।

केही छोटा र केही लामा कथाहरू पढिरहदा कथामा प्रयुक्त शैलीले पाठकलाई कथाभन्दा बढी आफ्नै वरपरको दृष्यहरूको झझल्को आइरहन्छ। आफूसँगै ठोक्किएका, भेटिएका पात्रहरू भेट्छन् । कथाका केही टर्निङ्गहरूमा राजन मुकारुङ्गलाई पनि भेटिन्छ । शैलीका हिसाबले, वाक्य गठनका हिसाबले। अधिकांश कथाहरू शिखर (क्लाईमेक्स) बाटै सकिएका छन् । कथासँगै शिखरमा चढेका कतिपय पाठकहरूले फेदी झर्ने बाटो नभेट्न सक्छन्। कतिपयले लेखकले कोरेको बाटोभन्द फरक बाटोबाट ओर्लन सक्छन्। सायद कथाको अन्त्य गर्ने जिम्मा पाठकलाई नै छोडिएको होला । अलिकति खट्किएको विषयचाहिँ भौगोलिक रूपमा याम्बुभन्दा उच्च ठाउँमा रहेर पनि याम्बुनेरको जीवन किन याम्बुको लागि महत्वहिन भयो अर्थात् याम्बुको आँखाभन्दा तल परेको हो भन्ने तथ्यमाथि कथाहरू “साइलेन्ट” छन्। आफ्ना भोगाइहरू मात्रै बोलिरहेका छन्, कुन कारणले त्यो भोगाइमा पुग्नुपर्‍यो भन्ने जरा पनि पहिल्याइदिएको भए याम्बु नदेख्ने पाठकहरूले पनि बुझ्ने थिए कि !

मचाहिँ कथा पढ्दा पात्रभन्दा बढी पात्रको भोगाइ र अनुभुतिमा हराउँदो रहेछु । दृष्यहरूले बढी छोइदिने रहेछन्। तर यो संग्रहको दिपेश, सोममाया, पुतली, छम्पेनी, गंगाराम जस्ता पात्रहरू सम्झनामा रहिरहने पात्र बने । केही कथाहरूलाई औसतमा राख्ने हो भने बाँकी कथाहरू यो समयका लागि अत्यन्तै मजबुत कथाहरू हुन् । संस्कृती, मूल्य र मान्यताहरू गतिशील हुनुपर्छ, सापेक्षित रूपमा समयानुकूल संरक्षण र परिमार्जन गर्दै अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ। अर्कोतिर सबै खाले संस्कृतिसँग समभाव राख्न सके मात्रै सभ्य समाजको विकास हुनसक्छ भन्ने तर्कलाई समेत जोड दिइएको छ । गंगारामको साइकल, जुनेदो, आयाम कथाहरूको सूक्ष्मतामा यी कुराहरू भेट्न सकिन्छ।

तसर्थ याम्बुनेरका कथाहरू कथा मात्रै नभएर कथा लेखनका स्रोतहरू हुन्। कथाका नवीन विषयहरू हुन्। यसमा उठाइएका र कतै कथा सुनाउदा सुनाउँदै छुटेका विषयहरूमा कैयौँ कथाहरू लेखिनुपर्छ, तिनको पुरक कथाहरू जन्मनुपर्छ । दिपेशहरूको सपना जोडिनुपर्छ, सोममायाहरूको प्रश्नको उत्तर व्यवस्थाले दिनुपर्छ। स्याङ्म्हेन्दोहरूलाई आक्षेप लगाउने समाज भत्काइनुपर्छ।