साहित्य, कला अनि संगीत, यी चिजहरूको कुनै निश्चित भुगोल हुँदैन, न त कुनै सीमितता नै। एउटा सर्जकको हृदयमा जुन कुराको छाप बन्दछ त्यसैलाई सृजनाको माध्यमबाट प्रस्तुत गर्दा त्यो कतै साहित्य बन्छ, कतै कला त कतै संगीत ।
नेपाली कला, साहित्य र संगीतको लेख्य इतिहास त्यति पुरानो त नहोला तर यसको वर्तमान् फैलावट विराट छ। नेपाली भाषाको दर्बिलो सर्जकहरू नेपालको भौगोलिक सीमाभित्र जति छन् गुणात्मक हिसाबले सीमाबाहिरका सृजनाहरू पनि उत्तिकै अब्बल रहे र रहिरहेका वा आइरहेका छन्। सीमाबाहिर, विशेषगरी भारतको पश्चिम बंगाल नेपाली भाषी भारतीयहरूको मुख्य बसोबास स्थल हो। सिलिगुरी, गुवाहाटी, आसाम, मणिपुर, दार्जिलिङ, खर्साङ्, कालिम्पोङ जस्ता ठाउँहरूबाट नेपाली भाषाको कला, साहित्य र संस्कृतिको उन्नयनमा निरन्तर लागिरहने श्रष्टाहरूको सूची निक्कै लामो बन्दछ । तिनै सूचीमध्येमा पर्ने पछिल्लो वयको एउटा नाम हो, छुदेन काविमो । दार्जिलिङको कालेबुङका छुदेन पेसाले पत्रकार भए पनि नेपाली भाषाको आख्यान जगतलाई केही समयअघि मात्रै फातसुङ नामक औपन्यासिक कृतिको भेट दिएका छन् ।
फातसुङ एउटा समय रेखामा चक्का राखेर अहिलेसम्म निरन्तर गुडिरहेको दार्जिलिङको यात्रा कथा हो । भारतीय माटोमा आफूलाई गोरखा जाति भएको र आफ्नो लागि छुट्टै राज्य प्रमाणित गर्न दार्जिलिङले अहिलेसम्म थुप्रैपटक “माटोको लडाइँ” लडिसकेको छ । त्यही लडाइँले उठाएको “गोर्खाल्याण्ड” को माग र त्यो आन्दोलनभित्रका घात, प्रतिघात, बलिदान अनि आम नागरिकहरूको आम-सपनाको विषयलाई ज्यादै सिलसिलेवर ढंगले वर्णन गरिएको कृति हो फातसुङ।
सन् १९६८ मा सुभास घिसिङले दार्जिलिङ पहाडको समस्याहरूलाई उठाउने हेतुले “नीलो झण्डा” नामक राजनैतिक संगठनको स्थापना गरे । जसले पहिलोपल्ट सन् १९७९ अप्रिल २२ मा नेपाली भाषी भारतीयहरूका लागि दार्जिलिङ पहाड छुट्टै राज्य बनाइनुपर्छ भन्ने माग गर्यो। घिसिङले त्यसका लागि नीलो झण्डालाई सन् १९८० मा गोर्खा जनमुक्ति मोर्चाको नाममा रूपान्तर गरे । अलग गोर्खाल्याण्डको माग गर्दै उठेको आन्दोलनले सन् १९८६ देखि १९८८ का बीच रक्तपातपूर्ण निर्णायक संघर्ष गर्यो। करिब १२०० जनाले ज्यान गुमाए, कैयौँको घर-बास जलाइयो अनि असंख्य घाइते भए र थुप्रै बेपत्ता भए । तर सन् १९८८ अगष्ट २२ का दिन घिसिङले ‘दार्जिलिङ गोर्खा पार्वत्य परिषद्’ नामक अर्ध स्वायत्त निकाय गठनका लागि केन्द्र सरकार र राज्य सरकारसँग सम्झौता गरे। यो सम्झौतासँग असन्तुष्ट समूहले आन्दोलनलाई निरन्तरता दिइरह्यो भने एउटा समूह घिसिङसँगै लाग्यो।
फातसुङ त्यहीँ आन्दोलनमा लागेका तिनै भुइँमान्छेहरूको सपनाको कथा हो । राजनीति गर्नेहरूले आम मानिसहरूलाई सपना देख्न सिकाउँछन्, त्यही सपनालाई पछ्याउन सिकाउँछन् र आफ्नो लक्ष्य भेट्न लागेपछि सबैलाई लत्याएर आफ्नै दुनो सोझ्याउन लाग्छन् । अनि ती भुइँमान्छेहरूका सपनाहरू त्यतै कतै रुमलिएर बस्छन्। हरेक कालखण्डमा भएका राजनैतिक परिवर्तनहरू यस्तै गरी चलेका छन्। आन्दोलनको लक्ष्य एउटा बताइन्छ तर सम्झौता अर्कैमा गरिदिन्छन् । जुन सम्झौताले आन्दोलनको पूर्ण सम्बोधन गर्न सक्दैन। फातसुङ त्यस्तै आन्दोलनले सपना देखाएर अन्ततः घरबारविहीन, सपनाविहीन, परिवारविहीन र बेपत्ता भएका योद्धाहरूको कथा हो। अर्थात् आफू जन्मिएको माटोलाई आफ्नै बनाउन गरिएको आन्दोलनको कथा हो।
पत्रकार भइसकेको कथा वाचक लामो समयपछि आफू जन्मिएको गाउँ आइपुग्छ, एउटा त्रासदिपूर्ण भूकम्पपछि। त्यही भूकम्पले आफ्नो बालसखा रिपदेनलाई बेपत्ता बनाएपछि उसका बारेमा समाचार बनाउनुपर्ने बाध्यतामा परेको उसलाई रिपदेनसँग छुट्टिनु अघिसम्मका सम्पूर्ण यादहरूले पुराना दिनहरूमा पुर्याइदिन्छन्।
कथामा कथा वाचकको “फ्ल्यास ब्याक” मा कथा वाचक, रिपदेन, राजु सर मुख्य भूमिकामा छन् भने “फ्ल्यास ब्याक” को अर्को फ्ल्यास ब्याकमा नोर्देन, नासिम, सूर्य दा, चिफ, रिपपन्दी, राजु सर आदिकै वरिपरि कथा घुमिरहन्छ। रिपदेनहरूको बाल्यकाल निक्कै कष्टसाध्य देखिन्छ। न्युनतम पूर्वाधारसहितको स्कुल छैन, सडक सुविधा, अस्पताल छैन। राजनैतिक पार्टीहरू चुनावमा गाउँ आइपुग्छन् र चुनाव सकिएको भोलिपल्ट बेपत्ता हुन्छन् । तर ग्रामीण बस्तीका मानिसहरूको जिन्दगी सँधै उस्तै गरी घस्रिरहन्छ। जातीय विभेदको जञ्जालले स्थानीय लेप्चा र दलितहरू प्रताडित छन् भन्ने कुरा एउटा बिहेमा गरिएको फरक भान्साको दृष्यबाट देखाइएको छ।
एक दिन रिपदेनहरूलाई पढाइरहेका राजु सर एकाएक बेपत्ता हुन्छन्, त्यहीबेला १९८६ सालतिरै बेपत्ता भएको रिपदेनको बाउलाई राजु सरले मारेको कुरा रिपदेनहरूले सुन्छन्। कथा वाचक र रिपदेन भागेर रिपदेनको फुपूको घर पुग्छन्। जहाँ रिपदेनको बाउको साथीसँग उनीहरूको भेट हुन्छ। रिपदेनलाई भन्दा कथा वाचकलाई रिपदेनको पीर लाग्छ, उसको बाउको बारेमा चासो लाग्छ र ती झुस्स कपाल दार्ही पालेका, खुट्टा खोच्याउँदै हिँड्ने बूढो मान्छेसँग रातभरी बसेर रिपदेनको बाउ र ८६-८८ को आन्दोलनको कथा सुनिरहन्छ।
नोर्देन र नासिम स्कुलका सहपाठी, नोर्देन गाउँबाट पढ्नका लागि सहर पसेका थियो। ऊ राजु सरसँग बस्थ्यो। एक दिन राजु सरको डेरामा पुग्दा नासिमले राजु सर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको कार्यकर्ता भएको थाहा पायो र सुन्यो आन्दोलन भन्ने नयाँ शब्द। त्यही आन्दोलनको तयारीमा राजु सर, नोर्देन लगायत अन्य मानिसहरू लागेको थाहा पायो। आफ्नो मिल्ने साथी नोर्देन नै आन्दोलित भएको पाएपछि नासिम पनि आन्दोलनमा होमियो। तर आन्दोलन के हो वा केका लागि ? उसलाई केही थाहा थिएन। उसो त नोर्देनलाई पनि थाहा त कहाँ थियो र !
आन्दोलनको पहिलो प्रहरमा पोस्टर टाँस्ने काम सकेपछि नोर्देन, नासिमहरूको भेट सूर्य दासँग भयो। सूर्य दा, सानोतिनो नेता थिए। उनी शाहसी कुरा गर्थे। आँटिलो बोल्थे। ल्याण्ड्का लागि ज्यान दिने कुरा गर्थे। एकै छिनमा रिसको पारो शिखरमा पुग्थ्यो। उनीसँग बोल्न अरू मान्छेहरू सितिमिति हिम्मत गर्दैनथे।
सूर्य दाको समूहले सबै गाउँ र बस्तीमा हरियो झण्डा अर्थात् गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको प्रचार प्रसार गरे । भोक, तीर्खा, थकानको पर्वाह नगरी आन्दोलनका लागि प्रचार गरिरहे, दिनरात एक गरेर । नासिम, नोर्देनहरूले स्कुल जानै छाडे, आन्दोलनकारीहरूको खोजीमा सिआरपिएफ (Central Reserve Police Force), प्रहरी र सिपिएम (कम्युनिस्ट पार्टी मार्क्सवादी) का कार्यकर्ताहरू यत्रतत्र थिए। आन्दोलनमा सहभागी कार्यकर्ताहरू सबैबाट छलिएर आ-आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए।
आमसभाको दिन सबैको निर्धारित जिम्मा थियो । नोर्देन, नासिम, सुर्य दा लगायत सबै सभामा सहभागी हुन आउनेहरूलाई व्यवस्थित गर्न खटिएका थिए। तर धारा १४४ का कारण आन्दोलनमा सहभागीहरू सभा स्थलसम्म पुग्न पाएनन् । बीच बाटोमै झडप भयो । गोली चल्यो । १३ जना आन्दोलनकारी मारिए । बीबीसीले समेत त्यो दिनलाई ब्ल्याक सन्डे भनिदियो। त्यही आन्दोलनमा नासिमले मन पराएको रचेलाको पनि चोला उठ्यो । यो घट्नापछि आन्दोलनकारीहरूको मथिंगल हल्लियो। मनस्थितिमा अनेकौँ उतारचढावहरू आए। आफ्ना नेताहरू के गर्दैछन्, त्यसको पत्तो थिएन। नोर्देनहरू क्याम्पमा बसेर आफ्ना पट्यारलाग्दा समयहरू गुजारिरहेका थिए। एकाएक चिफ आएर बन्दुक बनाउने ऐलान गरे, जसले सबैको मनमा एक तमासको उत्साह भरिदियो।
चिफ अर्थात् कालू, अर्थात चन्द्रसिंह । पढाइमा निक्कै कमजोर कालू बदमासीमा कहलिएका थिए। पढाइ छोडेर पल्टन लागे। पल्टनको कडा अनुशासनमा टिक्न नसकेपछि गाउँ फर्किए। ६८ सालमा ठूलो वर्षातसँगै बाढी पहिरोले दार्जिलिङलाई कोत्रैकोत्रा बनायो। घरको दुःख खप्न नसकेपछि कालु आफ्नो परिचय बदलेर फेरि भर्ती गए र चन्द्रसिंह सुब्बा बने। उनको बलिष्ठ ज्यान देखेर बक्सिङ खेल्न लगाए अफिसरले । १४ वर्ष पल्टनमै बक्सिङ खेलिसकेपछि एक दिन आफ्नो सर्भिस बुक हराए । फौजीमा यसको निक्कै ठूलो सजाय हुन्थ्यो। उनी पीरमा थिए, त्यहीबेला एउटा पत्रिकामा देखे, “घिसिङले दार्जिलिङमा अलग राज्य माग्ने..”
नोर्देनहरूको क्याम्पमा नयाँ केटाहरूको प्रवेश पनि उत्तिकै चल्दै थियो। तर उनीहरूको समूहलाई सिआरपिएफ, एनबिको समूह र सिपिएमको कार्यकर्ताहरूसँग खतरा थियो।
नर्थइष्ट इन्डियाबाट नेपाली भाषीहरू लखेटिइरहेका थिए। हरेकको दिमागमा असुरक्षाको डर थियो। यही परिवेशमा कालू उर्फ चन्द्रसिंह पल्टन नफर्कने गरी दार्जिलिङ फर्किए र माटोका लागि, आफ्नो जातिका लागि लड्ने प्रण गरे। उनी घर फर्किएपछि एनबी सरसँग भेटिए र पार्टी कार्यालय दार्जिलिङ पुगे। उनीहरूलाई कार्यालयमै हमला गर्न पुगेका सिपिएम कार्यकर्ताहरूलाई चन्द्रसिंहले उल्टै पिटेर लखेटे। त्यसपछि भने उनी एकाएक चर्चामा आए । सँगै घिसिङका दाहिने हात मात्र भएनन् जीभीसी (Gorkha volunteer Cell) को चिफ बनेर कालेबुङ फर्किए।
यही बिन्दुबाट एनबी सरको असन्तुष्टि सुरू भयो । उनले छुट्टै जीभीसी गठन गरे मात्रै होइन, चन्द्रसिंह अर्थात् चिफहरूको समूहसँग दुस्मनी नै बढाए।
सूर्य दासँगै नासिम, नोर्देनहरू फौजी तालिम लिन थाले, त्यसैबेला नोर्देन रिपपन्दीसँग प्रेममा पर्यो। घरिघरि रिपबन्दीसँग भेट्न नोर्देन क्याम्पबाट हराउँथ्यो। तालिम सँगसँगै क्याम्पमै बन्दुक बनाइन्थ्यो। तर त्यहाँ बनाइएको बन्दुक सही भएन। अर्थात् चलेन।
दार्जिलिङ आन्दोलन र दमनको रापले थिलोथिलो भएको बखत आन्दोलनमा विभिन्न विभाजनहरू देखिन थाले। एनबी सर छुटेर अर्कै संगठन बनाएर लागेका थिए भने कोही नेताहरू सिपिएमसँग नजिकिँदै थिए। नोर्देनहरूको क्याम्पमा नयाँ केटाहरूको प्रवेश पनि उत्तिकै चल्दै थियो। तर उनीहरूको समूहलाई सिआरपिएफ, एनबिको समूह र सिपिएमको कार्यकर्ताहरूसँग खतरा थियो। यस्तो समयमा उनीहरूलाई आफ्नो दरिलो उपस्थिति जनाउनु थियो । त्यसैले सिआरपिएफको जवानहरूबाट बन्दुक खोस्ने, उनीहरूको गाडिमा आगजनी गर्ने, बम पड्काउने प्रयासमा लागे भने तोपले टिस्टा खोलाको पुल उडाउने असफल प्रयाससमेत गरे। त्यसको प्रतिक्रिया स्वरूप आन्दोलनकारीहरू र तिनको घर परिवारको खोजी गर्दै पक्राउ र आगजनी हुन थाल्यो । कसैका घर जले, कसैका परिवार मारिए, कसैका काम गर्ने ठाउँहरू भत्काइए। राजनैतिक वृत्तमा गोर्खाल्यान्ड आन्दोलन अब काउन्सिलमा गएर सम्झौता गरिने हल्ला चल्न थाल्यो। तर नोर्देनहरूको समूह भने आन्दोलन रोक्ने पक्षमा थिएन। उनीहरूका चिफ अर्थात् चन्द्रसिंह आफ्नै नेताहरूले समेत सम्झौता गर्न खोजे उनीहरूलाई नि नछाड्ने प्रतीज्ञा गरिरहे।
एक रात नोर्देन हरायो । क्याम्पमा ड्युटी गर्दागर्दै हराएकोले उसलाई सिआरपिएफ वा एनबिका मान्छेले उठाएर लगेको आशंका गरियो । नोर्देनलाई बोङ्बस्ती पुर्याइएको खवर आएपछि खोजीमा टोली हिँड्यो। अपहरणमा परेको आशंका गरिएको नोर्देन रिपपन्दीको घरमा थियो । अर्थात् अरूले थाहै नपाई रिपपन्दीसँग उसको त छोरा जन्मिइसकेछ ।
केही समयपछि नोर्देनले रिपपन्दी र छोरालाई आफ्नो घर पुर्यायो र आफू आन्दोलनमा होमियो। आन्दोलनकारीहरू आक्रमणमा पर्ने र मारिने क्रम जारी थियो । चिफले बन्दुक किन्न सूर्य, नासिम र नोर्देनलाई नक्सलबारी पठाए ।
नोर्देन, सूर्य, नासिमहरू घाइते भएर छुट्टिएपछि गोर्खाल्यान्डको आन्दोलन पनि घाइते भयो, लङ्गडो भयो र दार्जिलिङमा अलग राज्य होइन गोर्खा पार्वत्य परिषद् (Gorkha Hill Council) बन्यो ।
अन्य तीन जना सहयोगीसहित एउटा गाडीमा बन्दुक किन्न हिँडेका उनीहरूको यात्राबाटैमा सिआरपिएफ र एनबिको मान्छेहरू देखेपछि अन्तै मोडियो। लुक्दै, भाग्दै, ज्यान जोगाउँदै भोक, तीर्खा, निद्रा सहँदै निरुद्देश्य हिँड्दै गर्दा एउटा डेरा जस्तो ठाउँमा पुगे। उनीहरूले बोकेको पैसा झरीले भिजिसकेको थियो। उनीहरूसँग अब हिँड्नलाई बाटो थिएन, दगुर्नलाई साहस थिएन र पुग्नलाई कुनै लक्ष्य बाँकी थिएन। अनकन्टार कुहिरोभित्र एकोहोरो हिँडिरहेका उनीहरूले कुहिरो हटेपछि थाहा पाए, त्यो ठाउँ नाजोक रहेछ ।
डेरामा एक जना बूढा मान्छे थिए । केही खाने कुरा दिए तर उनैले झेली पाराले सबैलाई पक्राउ गराए । उनीहरू एनबिको समूहको कब्जामा परिसकेका थिए । कुटपिट र कठोर यातनापछि अन्यलाई छोडेर सूर्य, नोर्देन र नासिम जोखिम उठाउँदै भागे । पछि पछि उनीहरूलाई लखेटिरहेका थिए । रेली खोलाको छाँगाबाट तीनै जना हामफाले । लगातार पानी परेकोले रेली खोला उर्लिएको थियो । सूर्य एकैछिनमा पारी पुगेर उकालो दौडिन थाल्यो, नोर्देन खोलामा पस्यो तर बाढीले बगाउन थाल्यो । नासिम भने खसेको ठाउँमा जुत्ता छेडेर खुट्टामा ढुङ्गा छिरेपछि अघि बढ्न सकेन । तर लखेट्न आउनेहरू भने छाँगाबाट हामफाल्न आँट गरेनन् । अलि तलसम्म बगेपछि नोर्देन खोला किनारमा निस्क्यो। ज्यान जोगाउन खुट्टा खोँच्याउँदै बगरै बगर दौडिरह्यो । ती तीन जनाको त्यही भेट नै अन्तिम थियो ।
“नोर्देन, सूर्य, नासिमहरू घाइते भएर छुट्टिएपछि गोर्खाल्यान्डको आन्दोलन पनि घाइते भयो, लङ्गडो भयो र दार्जिलिङमा अलग राज्य होइन गोर्खा पार्वत्य परिषद् (Gorkha Hill Council) बन्यो,” लेखक छुदेनले मुख्य कथाको अन्त्य यसरी गरेका छन् ।
नोर्देन अर्थात् रिपदेनका बाउ थिए उनी । अनि आन्दोलनको सारा कथा सुनाउने मान्छेचाहिँ को थिए त ? यो रहस्यले अन्तिमसम्म पच्छ्याइरहन्छ ।
कथा वाचकले रिपदेनको हराएको बाउको कथा बिहान हुनेबेलासम्ममा सुनिसक्छ । रिपदेन भने आनन्दले निदाउँछ । भोलिपल्ट बिहान उनीहरू घर फर्किए । घर आएको पर्सिपल्ट कथा वाचक पढ्नका लागि सहर गयो, रिपदेन गाउँमै छुट्यो । त्यसपछि उनीहरू कहिल्यै भेटिएनन् । आज १५ वर्षपछि आफ्नो त्यही साथीको मृत्युको खबर सङ्कलन गर्न पत्रकार बनेर गाउँ आएको छ ।
यसरी फातसुङले दार्जिलिङलाई राजनैतिक संक्रमणको त्यो दारुण अवस्थामा पुर्याएको एउटा समयलाई देखाएको छ । उपन्यासमा भाषिक आञ्चलिकताको प्रयोग सजीव छ । दार्जिलिङे लवजमा राखिएका संवादहरू जीवन्त छन् भने पात्रहरूको मनोदशा, परिस्थितिको विश्लेषण गर्न प्रयोग गरिएको भाषा र शैली मनमोहक छ । कथा वाचनको शैलीले पाठकलाई तानिरहन्छ । अर्थात् शब्दहरूको प्रयोगले हरेक दृष्यहरूलाई सजीव बनाइदिन्छन् । उपन्यासको स-साना उपकथाहरूमा राखिएका प्रेम प्रसंगहरू अत्यन्तै सुन्दर छन् । रिपपन्दी र नोर्देन, नासिम र रचेला, सूर्य दा र पुनम एकआपसमा बेजोड प्रेम गर्थे तर देखाएर गरेनन् । त्यो प्रेम उनीहरू महसुस गर्न सक्थे । त्यो सुखद् प्रेम थियो ।
समग्रमा यो उपन्यास ती भुइँमान्छेहरूको सपनाको कथा हो जसलाई धारा १४४ र गाउँमा आउने पानीको धाराको बीच फरक थाहा पाएका छैनन् । त्यो समयमा गोर्खाल्याण्ड आन्दोलनको रक्तरञ्जित सपनाहरूको कारुणिक पटाक्षेप भएको कथा बोकेको फातसुङ पढिरहँदा एक दशक लामो सशस्त्र संघर्ष बेहोरेको नेपाली समाजसमेत कताकता भेट्न सकिन्छ । आन्दोलनको नेतृत्वकर्ता र आन्दोलित सर्वसाधारणका मनोविज्ञानहरू कति फरक हुँदारहेछन् । अर्थात् ठूला ठूला सपना देखाइने आन्दोलनहरूको अन्त्य कसरी हुने रहेछ भन्ने दृष्टान्त भने हर समाजका लागि “कमन” हुने रहेछ भन्ने कुरा भेटिन्छ।
आन्दोलनले सबै रूप देखाउँछ भन्ने कुरा बुढाथोकीको छोरीमा देखाइएको छ । आन्दोलनमा लागेको रामप्रसाद सहिद भएपछि उसको जहान बुढाथोकीको छोरीको अवस्था आन्दोलनको दारुण दृश्य हो ।
स्थानीय लेप्चा भाषाको शब्द “फातसुङ” को अर्थ “माटोको कथा” हो भनेर लेखकले प्रष्ट्याएका छन् । अलिकति खट्किएको कुराचाहिँ वास्तवमा गोर्खाल्याण्ड अर्थात् गोर्खालीहरूको आफ्नो भूमि वा माटोको आन्दोलन किन गरियो/गरिँदैछ भन्ने विषय भने प्रस्ट पारिएको देखिएन । यो आन्दोलनभन्दा अगाडि दार्जिलिङ अत्यन्तै शान्त, सुखी र सुन्दर थियो । सबै मान्छेहरू खुसी थिए भन्ने व्याख्या लेखकले गरेका छन् । नेपाली भाषीहरूलाई राज्य सरकारले लखेट्न लागिएको कुराबाट आन्दोलनको सुरूवात भएको देखिन्छ। तर उनीहरूलाई किन लखेट्न खोजिएको हो भन्ने स्पस्ट देखिएन । अर्को कुरा लगभग तीन दशक पश्चिम बंगालमा सत्ता सञ्चालन गरेको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) लाई राजनैतिक दल नभएर कुनै ग्याङ जस्तै लाग्नेगरी देखाइएको छ ।
हातखुट्टा काटियोस् । आँखा फुटोस् । कान चुँडियोस् । केही छैन, मान्छे अलिअलि खुसीसँगै बाँच्न सक्छ तर सपना नटुटोस् । नत्र मान्छे जिउँदो लास बन्छ ।
उपन्यासको कथा अनुसार १९८६-८८ को समयमा समेत सिपिएम सत्तासिन भएको एक दशक बितिसकेको थियो । चिफ, सूर्य दा लगायत नोर्देनहरूको समूहमा मान्छे कुट्ने, बदला लिने र माटोको लागि मर्न तयार हुने कुरा मात्रै भएको देखिन्छ। उनीहरू एउटा राजनैतिक संगठनको कार्यकर्ता थिए, त्यसकारण राजनितिक सचेतताका विषयहरू छलफलमा आएको भए राम्रो हुन्थ्यो जस्तो लागिरह्यो । बढी रक्सी मात्रै खाइरहे, टिस्टाखोलाको पुलमा तोप हानेपछि भाग्न नसकेका राजु सर कता बेपत्ता भए या अर्कै गुटमा गए ? त्यो देखिएन । के उनी आन्दोलनका गद्दार थिए या भगौडा ? उनी रिपदेनहरूको स्कुलमा फेरि देखिएका छन् । त्यो बीचमा उनको कथा छुट्दा खल्लो लाग्यो। आखिर सूर्य दा र नोर्देन रेली खोला तरेर सकुशल गएका हुन्, त्यसपछि उनीहरू किन बेखबर भए त ? आन्दोलन मोडिएकोले विरक्त लागेर हो वा उनीहरूको ज्यान नै रहेन ? यो प्रश्नको जवाफ भने लेखकसँग मात्रै होला ।
गोर्खाल्याण्ड आन्दोलनले खासमा दार्जिलिङका ती भुइँमान्छेहरूको जीवनमा कुनै तात्विक भिन्नता ल्याएन । दमन, उत्पीडन मात्रै खप्नुपर्यो । सर्वसाधारणका लागि आन्दोलन उपलब्धिविहीन भयो । केही खास नेताहरू सुविधा उपभोग गर्ने ठाउँमा पुगे । त्यहाँ पुग्न नसक्ने नेताहरू फेरि पुग्ने प्रयासमा लागिरहे । तर आन्दोलनमा ज्यान माया मारेर लाग्नेहरू कति बेपत्ता भए, कति घाइते भएर मर्नु न बाँच्नुको दोसाँधमा छन्, जीवन गुजाराका लागि कैयौँले टिस्टा र रेली खोलाको बगरमा दिनभर गिट्टी कुटिरहेका छन् । अनि साँझमा नोस्टाल्जिक हुँदै सपनाविहीन रात काटिरहेका छन् । फातसुङको लगभग निष्कर्ष हो यो । तसर्थ फातसुङले गोर्खाल्याण्ड आन्दोलनले प्राप्त तथा उपलब्धिहरूलाई उल्लेख गर्न अलि कञ्जुस्याइँ गरेको हो कि भन्ने लाग्छ।
छुदेन लेख्छन्, “हातखुट्टा काटियोस् । आँखा फुटोस् । कान चुँडियोस् । केही छैन, मान्छे अलिअलि खुसीसँगै बाँच्न सक्छ तर सपना नटुटोस् । नत्र मान्छे जिउँदो लास बन्छ,” के त्यो समय गोर्खाल्याण्डको सपना टुटेको थियो त ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।