आरम्भ
विश्वनाथ खनाल सामाजिक अभियन्ता हुन् । सहिदहरूको विरोधपत्र प्रकाशन भएपश्चात् उनको परिचयमा साहित्यिक व्यक्तित्व पनि थपिन आएको छ । गजल, हाइकु, मुक्तक, नियात्रा, संस्मरण, कविता आदिमा कलम चलाउने खनालको सर्वाधिक रुचिको क्षेत्र भने लघुकथा हो । चितवन साहित्य परिषद्को साधारण सदस्य ९२०५०० बाटर वाल्मीकि साहित्य सदनको कार्यसमिति सदस्यका रूपमा साहित्यिक गतिविधिमा संलग्न रहँदै आएका खनालको औपचारिक लेखकीय यात्रारम्भ भने वि.सं. २०५० बाट भएको देखिन्छ । लघुकथाबाटै लेखनयात्रा आरम्भ गरेका खनालको पहिलो फुटकर लघुकथा युद्धविराम हो । यो लघुकथा वि.सं. २०५० सालमा कर्मचारी सन्देश पत्रिकामा छापिएको थियो ।
विश्वनाथ खनाल सचेत लेखक हुन् । उनका लेखनमा सामाजिक आरोह अवरोहको सुन्दर तस्विर भेटिन्छ । सामाजिक अभियन्ताको व्यक्तित्व समेत रहेकाले खनालभित्र अन्याय, अत्याचार, विकृति, विसंगति, न्यायप्रणाली, शासनसत्ता, धर्म, संस्कृति, विश्वास, अविश्वास, प्रेम, मिलन, बिछोड आदिका सम्बन्धमा सूक्ष्म रूपमा केलाउने सामथ्र्य र कला विकसित भएको छ । यस आलेखमा खनालको सर्जक व्यक्तित्वको चिनारी दिने उद्देश्यले उनीद्वारा लिखित सहिदहरूको विरोधपत्र लघुकथा संग्रहलाई केलाउने जमर्को गरिएको छ ।
संग्रहमा सिद्धान्तको कसी
संग्रहको भूमिका खण्डमा लघुकथाकार खनालको एउटा प्रष्टोक्ति छ – “लघुकथाका मसिना सिद्धान्त र सूत्रहरू रटेर साहित्य लेखिंदैन भन्ने लाग्छ मलाई किनकि सिद्धान्तको क्रम सिर्जनापछिको हो । लघुकथाका केही आधारहरू समाएको छु मैले यसमा तर सिद्धान्तका साँचोमा यो पूरापूर फिट नहुन पनि सक्छ ।” यथार्थता यही हो । सिद्धान्तको अक्षर अक्षर रटेर साहित्य लेखिन्न । सिर्जनाले सिद्धान्तलाई निम्तो दिन्छ । हिजोको साहित्य र आजको साहित्यको धार हेरौं । विषयवस्तुमा साम्यता भए पनि लेखनधार हिजोभन्दा आज फरक छ । गुरुप्रसाद मैनालीले जस्तो लेखे विश्वेश्वरप्रसाद कोइरालाले त्यस्तै लेखेनन् र विश्वेश्वरप्रसाद कोइरालाले जस्तो लेखे मनु ब्राजाकीले त्यस्तै लेखेनन् । गुरुप्रसाद मैनालीले घटनाप्राधान्य कथा लेखे भने विश्वेश्वरप्रसाद कोइरालाले मनोवैज्ञानिक र अकथात्मक कथा लेखे । यस्तै मनुले अकथात्मकतालाई त समाए तर विधाभञ्जनलाई रोजे ।
दार्जलिङका साहित्यकार इन्द्रबहादुर राईले कथाको पारम्परिक आकारलाई बदले । एक जमाना थियो – दाँतेले लेखेजस्तै लेखे महाकाव्य हुन्छ नत्र हुँदैन भनिन्थ्यो । स्वतन्त्रतापूर्वक लेखन विचण मन नपराउनेहरूले यसलाई कत्ति स्विकारेनन् । नियोक्लासिकल प्रवृत्तिप्रति विद्रोह भयो । रोमान्टिकहरू जन्मिए । पन्ध्रौं शताब्दीतिर मेन्तेनले निबन्ध विधा जन्माए तर परम्परावादीहरूले त्यसलाई स्विकार गर्न सकेनन् । निबन्धलाई त त्यतिखेर बुद्धि नभएका मानिसले लेख्ने विधा भनेर लाञ्छित पनि गरियो । तर निबन्धको आजको परिभाषा नै फेरिएको छ । वैचारिक क्षमता भएका मानिसले मात्र निबन्ध लेख्न सक्छन् भन्ने मान्यता स्थापित भएको छ आज निबन्धमा । यसैले निर्धक्क भन्न सकिन्छ – सिद्धान्तको यात्रा सिर्जना पछि पछि हो अगाडि होइन । शक्तिशाली लेखकहरूको जन्मसँगै सिद्धान्तका मानकहरू फेरिन्छन् र फेरिनु पनि पर्छ ।
सैद्धान्तिक पाटोको नालीबेली र लेखकीय धारणाकै सेरोफेरोमा हेर्दा सहिदहरूको विरोधपत्र संग्रहभित्रका ८८ लघुकथा लघुकथाको बनिबनाऊ सैद्धान्तिक मान्यता तोडेर अगाडि बढेको छैन । लघुकथाको सिद्धान्त भन्छ – लघुता । मेरा विचारमा लघुताको अर्थ आकृतिमा मात्र होइन विषयक्षेत्रमा पनि हो । धेरै विषयको तानावाना वा घटनाहरूको जालो लघुकथाका लागि होइन । यसो भन्नुको अर्थ घटनाको एक पाते सुइरो पनि होइन लघुकथा । यस संग्रहभित्रका लघुकथाहरूको बाह्य आकृतिगत संरचना हेर्दा कम्तीमा एक पेजदेखि बढीमा दुई पेज भित्रका छन् । अधिकांश लघुकथा डेढ पेजभित्रको सापोनापोमा देखिन्छ । विषय लाघवका दृष्टिमा पनि लघुकथाहरू एक पाते संरचनामा ठिंगुरिएका छैनन् र घटनाका सघन जालाले उम्किनै नसकिने गरी गञ्जागोल भई जेलिएका पनि छैनन् ।
यस्तै लघुकथाको सिद्धान्त भन्छ – विचार प्रवाह तोक, सूत्रात्मक र साङ्केतिक लेख, आदि मध्य र अन्त्य छिटो छिटो ऊन, आकस्मिक अन्त्य देऊ, बन्द समापनभन्दा खुला समापनतिर जाऊ, छोटोमा पूर्णता रोज आदि आदि ।
लेखनमा विचार प्रवाहको भूमिका महत्वपूर्ण हुन्छ । विचार प्रवाह दिन नसक्ने लेखक र रचनाहरूले पाठकभित्र संवेदना उमार्दैन । सामान्य घटना वर्णन त जसले पनि गर्न सक्छ । सामान्य घटनाको फेहरिस्त मात्र साहित्य होइन । साहित्यकार त त्यो हो जसले घटनाहरूमा आफ्नो सटीक र तार्किक दृष्टि पेश गर्न सकोस् । विचार प्रवाहका कसीमा यस संग्रहभित्रका लघुकथाहरू प्रष्ट छन् । गलतलाई सही दिशामा हिंडाउने विचार प्रवाह यस संग्रहका लघुकथाहरूमा यत्रतत्र भेटिन्छन् । विचार प्रवाहका केही नमुना हेरौं –
– परतन्त्रको चौरासी व्यञ्जनभन्दा स्वतन्त्रताको भोक मीठो हुँदो रहेछ । (स्वतन्त्रता, पृ. ७३-७४)
– यो संस्थाको प्रमुख तपाईंहरू कि म रु पुच्छरले कुकुर हल्लाउने कि कुकुरले पुच्छर रु बैठकमा आसीन सदस्यहरूको अनायास हाँसोको फोहोरा छुट्यो र सदस्यहरूले भनिदिए – महामहिम, पुच्छर त कुकुरले नै हल्लाउने हो । (पुच्छर, पृ. ६३)
– जोखिम छ भन्दैमा जोखिम मोल्न नसके जीवन कहाँ चल्छ र सानू ? (जोखिम, पृ. १०१-१०२)
– यो घरमा सुविधाको सबैथोक छ तर मेरो अतीत सम्झाउने केही छैन जसको सहारामा म बाँच्न सकूँ । यो घर घरजस्तो छैन जुन एउटा घरमा हुनुपर्छ । (घरजस्तो घर, पृ. १८३-१८४)
– उनले लगत्तै जवाफ दिंदै भने – म मेरो भूमिका अनुसारको कर्तव्य निर्वाह गर्दै छु । मान्छेको भूमिका सधैं एकै रहन्न ।
– कतिपय यादहरूले मान्छेलाई तङ्ग्रिन दिंदैनन् तर जीवन त नदी हो । बगेको पानी र हातबाट फुत्किएको समय फर्काउने तागत मान्छेले पाएको छैन । (धोबी चरा, ३१-३२)
सूत्रात्मकता र साङ्केतिकता लघुकथाको प्राण हो । लघुकथाले व्याख्या खोज्दैन सङ्केत र सूत्र खोज्छ । व्याख्यात्मकता मात्र मन पराउने लेखकहरूले लघुकथा रोज्नुहुन्न । सूत्रात्मकता र साङ्केतिकता प्रतीक प्रयोगबाट प्रकटित हुनसक्छ । हुनत प्रतीक कविताको शक्ति हो र आख्यानात्मकता लघुकथाको मियो हो । तर काव्यात्मकता र नाट्यात्मकता लघुकथाका बलिया सहयोगी हुन् । यसैले लघुकथालाई सूत्रात्मक र साङ्केतिक बनाउने शक्ति प्रतीक प्रयोगले दिन्छ भन्दा हुन्छ । यस दृष्टिले विवेच्य संग्रहका लघुकथाहरू मूल्याङ्कनमा खरो उत्रिएका छन् । यसले संग्रहलाई समकालीनहरूमा पृथक् पनि तुल्याएको छ । संग्रहका लघुकथाभित्रका केही नमना हेरौं –
– उषा आँखाबाट बगिरही । (भिसा, पृ. ५१-५२)
– हाम्रो प्रेम आलिङ्गनलाई पर क्षितिजको सूर्यास्तले अनुमोदन गरिरह्यो । (आलिङ्गन, पृ. ६४-६५)
– म कसैको प्रेमको फूलबारीमा मगमगाइसकेको छु । (आरम्भ, १३७–१३८)
– ऊ नदीजस्तै अविरल बगिरहेकी थिई । शिशिरमा जमेको हिउँ वसन्तमा पग्लेजस्तै उसका आँखा पग्लिरहेका थिए । (त्यसपछि कहिल्यै फर्किएन, पृ. १८५-१८६)
– मारियाले विस्तारै लाडिएर भनी – म कस्तो देखिन्छु ?
सहज भावमा भनिदिएँ – सुन्दर साकुरा फूलजस्ती । (आलिङ्गन, पृ. ६४-६५)
घटना खोज्नु, घटना पाउनु र घटना लेखिहाल्नु मात्र सफल लघुकथाकारको लक्षण होइन । घटना त अनगिन्ती छन् समाजमा । घटनाहरूका ताँतीसँग लेखक हरेकक्षण ठोक्किइरहन्छ । प्राप्त घटना मिहीन किसिमले बुझ्नु महत्वपूर्ण कुरा हो । घटनाको मिहीन बुनाइ नै साहित्य हो । हरेक साहित्यिक विधाका घटना बुन्ने तान फरक फरक हुन्छन् । त्यो लेखकले सही सही किसिमले परख गर्न जान्नुपर्छ । विधागत स्वभाव नचिन्दा कतिपय लेखकहरूले लघुकथाका नाममा अर्कैथोक लेखिरहेका हुन्छन् । अन्य विधामा जस्तै लघुकथामा पनि आदि, मध्य र अन्त्यको श्रृङ्खला रहन्छ तर छोटो र छिटो लेखन भएकाले लघुकथाको यो श्रृङ्खला अन्य विधाको भन्दा पृथक् हुन्छ । हठात् उठान, छिटो घटना विकास र आकस्मिक अन्त्य लघुकथाले खोज्छ ।
सहिदहरूको विरोधपत्र संग्रहभित्रका लघुकथाहरू घटनाहरू प्राप्त हुनासाथ सार्वजनिक हुने लालसाले मात्र लेखिएका हुन् भन्ने लाग्दैन । लेखकले टिपिएका घटनाहरूलाई यथेष्ट साहित्यिक न्याय दिन सकेको देखिन्छ । लघुकथाहरूमा आदि, मध्य र अन्त्यको बुनाइ स्वभाविक, प्रवाहमय र मिहीन छन् । तर पनि अन्त्यका दृष्टिले हेर्दा कतिपय लघुकथाहरू पूर्णता नपाएका हुन् कि भन्ने चाहिं लाग्छ ।
लघुकथा समापनका दुई तरीका प्रचलित छन् – खुला र बन्द । खुला समापनले पाठकलाई स्पेस दिन्छ । भनौं खुला समापन पाठकका लागि लेखकले दिएको गृहकार्य हो । पाठकीय ग्रहण क्षमताअनुसार लघुकथाको अर्थ बुझ्नका लागि खुला समापन उपयुक्त तरीका हो भनिन्छ तर बन्द समापन लेखकले लेखिदिएको प्राप्ति हो । हुनत बन्द समापन पनि नराम्रो होइन । लेखक के मा जोड दिन्छ भन्ने कुरा बन्द समापनबाट प्राप्त हुन्छ । लेखकको उद्देश्य एकातिर र पाठकीय ग्रहण अर्कोतिर हुने स्थिति रोक्न कतिपय लेखकहरू अन्जानमा नै बन्द समापन गर्छन् । यो बन्द समापनको टेक्निक भनेको सूचीकारको सीपजस्तै हो । कपडाको डिजाइन गर्दा कति खोल्दा राम्रो र कति खोल्दा भद्दा हुन्छ भन्ने कुरा कुशल सूचीकारको सीप र अनुभवले तय गरेजस्तै एउटा कुशल लघुकथाकारले पनि समापनमा कति खोल्ने र कति छोप्ने भन्ने कुशलता देखाएमा लघुकथाको स्तरीयता घट्दैन बढ्छ ।
यस्तै लघुकथा आफैंमा पूर्ण छ स्वतन्त्र छ । यसो भन्दैमा लघुकथाका नाममा लेखिएका सबै रचनाहरू पूर्ण रचना बनेका हुन्छन् भन्न सकिंदैन ।
समापनका हिसावले विवेच्य लघुकथा संग्रहभित्रका लघुकथाहरूमा दुबै खाले समापन भेटिन्छ । बन्द समापन गरिएका लघुकथामा केही लघुकथालाई छाडेर अधिकांश लघुकथाहरू सफल छन् । केही लघुकथामा लेखकले अन्त्यमा धेरै खोलुवा नदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
लघुकथा आफैंमा पूर्ण प्रविधा हो । लघुकाया यसको चिनारी भए पनि कुनै विधाको परिपूरक विधा होइन यो । एउटा व्यावहारिक उदाहरण हेरौं – विशाल छ त्यसैले पीपल रुख हो र सानो छ यसैले आँप रुख होएन भन्न मिल्दैन । पीपल एक खाले प्रजातिको रुख हो भने आँप अर्को प्रजातिको । दुबै आफैंमा पूर्ण छन् । पीपलको अंश आँप र आँपको अंश पीपल होइन । यस्तै लघुकथा आफैंमा पूर्ण छ स्वतन्त्र छ । यसो भन्दैमा लघुकथाका नाममा लेखिएका सबै रचनाहरू पूर्ण रचना बनेका हुन्छन् भन्न सकिंदैन । यसलाई छोटोमा परिपूर्ण बनाउने काम भने लेखकको कुशलतामा निर्भर गर्छ । घटना जोर्ने र आफूले लेखेको पूर्ण लघुकथा हो भनी तुष्टि लिने हो भने अर्कै कुरा तर एउटा सफल, मानक, परिपूर्ण लघुकथा लेख्न लघुकथाकारले सीमान्त मिहिनेत गर्नुपर्छ । एउटा पूर्ण र सफल लघुकथा लेख्नु भनेको लेखकका लागि ठूलो प्रसव वेदना हो ।
विवेच्य संग्रहभित्रका लघुकथाहरू आफैंमा पूर्ण छन्, कथांश बनेका छैनन् लघुकथाहरू । लघुकथाहरूमा लघुकथाकारको यथेष्ट मिहिनेत प्रतिबिम्बित छ । सहिदहरूको विरोधपत्र, प्रजातन्त्र, आलुबखडाको बोट, निकाह, रेहाना, आलिङ्गन, स्वतन्त्रता, धोबी चरा, नाङ्गाहरूको सहर, नागपाडाकी दिदीजस्ता लघुकथाहरूमा लेखकको लेखकीय मिहिनेत देखिएको छ । संग्रहको धेरैजसो कथाहरूमा मानव जीवनको मनोरम रङ्गीन इन्द्रेणी भेटिन्छ । लघुकथाकारमा घटनालाई खिप्न सक्ने कुशलता देखिएको छ । भ्रष्टाचार, दुराचार, सामाजिक उच्छृङ्खल प्रवृत्ति, आर्थिक समस्या, प्रेमिल सम्बन्धहरू, व्यभिचार, बेरोजगारहरूका समस्या, कथनी र करनीमा रहेको फरक, राजनीतिका कुटिल दाउपेच, शैक्षिक तिकडम, तिकडम नजान्ने सीधासाधा नेपालीहरूको जीवनशैली, इमान्दार कर्मचारीहरूको पीडाजस्ता प्रसङ्गहरू लघुकथाका विषय बनेर आएका छन् । सङ्गति र विसङ्गतिका कथाहरू, पुरानो र नयाँ सबै खाले सन्दर्भहरूको समावेश आदिले पनि यस संग्रहका लघुकथाहरू सबै खाले विषयहरूको सामुहिक चौतारी बनेको छ । कतिपय लघुकथाहरूमा स्वैरकल्पनाको सुन्दर प्रयोग पनि भेटिन्छ । स्वैरकल्पनाको प्रयोगले प्रस्तुतिलाई सघन बनाउन मदत गरेको छ ।
पात्र र समाज
लघुकथा सामाजिक घटनाहरूकै आधारमा उनिएको हुन्छ । अयथार्थ घटना र पात्र सफल लघुकथाको प्राण बन्न सक्दैन । लघुकथा मात्र होइन साहित्यका विधाहरूमा कपोलकल्पनामा खडा गरिएका घटना र पात्र भन्दा देखिएको सुनिएको भोगिएको घटना र पात्र जीवन्त हुन्छ । जीवन्त घटना र पात्रले लघुकथाको जीवन्तता समेत स्थापित गर्छ । आजको युग र साहित्यको वहावलाई हेर्ने हो भने हिजोजस्तो नारीको नखशिख वर्णन गरेर, मान्छे र उसको समाज नमिसाई विशुद्ध प्रकृतिको वर्णनमा छताछुल्ल भावुकता मात्र पोखेर, कोरा सिद्धान्तको वमनवेदान्त ओकलेर सफल साहित्य बन्दैन भन्ने कुरा अघोषित रूपमै भए पनि स्थापित भइसकेको छ ।
विवेच्य संग्रहका लघुकथामा विविध सामाजिक पात्रहरू भेटिन्छन् । कथामा हुँदा खाने र हुने खाने दुबै खाले चरित्रहरूको उपस्थिति भेटिन्छ । लघुकथाकार हुने खानेभन्दा हुँदा खानेहरूकै पक्षधर बनेका छन् । मध्यमवर्गीय चरित्रहरूको उपस्थिति पनि संग्रहमा बाक्लो छ । राम्रा नराम्रा दुबै खाले चरित्रहरू संग्रहका लघुकथाहरूमा आएका छन् । यहाँका चरित्रहरू कतै काल्पनिक त कतै यथार्थिक धरातलका छन् । कतै मृत पात्रहरू पनि जीवित बनी आएका छन् र तिनले स्वैरकाल्पनिक रङ भरेका छन् लघुकथामा । यहाँका पात्रहरू कतै मित्रतामा घात गर्छन् भने कतिपय पात्रहरू सदाचार सिकाउँछन् । कतिपय कथाका पात्रहरूमा वैयक्तिक र अधिकांश कथामा सामुहिक प्रतिनिधित्व गर्नसक्ने पात्रको प्रयोग गरिएको छ । विशेष गरी मनोवैज्ञानिक विषयका लघुकथामा पात्रहरू वैयक्तिक किसिमका छन् । कतिपय लघुकथाका पात्रहरूको चेतनास्तर ज्यादै न्यून छ भने कतिपयको मध्यम र उच्च छ । चेतनास्तरका दृष्टिले अधिकांश लघुकथाहरूमा मध्यम खाले पात्रहरूकै प्रयोग ज्यादा छ । कतिपय लघुकथामा द्वैध चरित्र बोकेका पात्रहरू पनि छन् । तिनीहरू समाजसँग एक कुरा र व्यवहारमा अर्कै कुरा गर्छन् । जस्तै उदाहरणका लागि कथनी र करनी शीर्षकको लघुकथाको पात्र टुकाराम प्रत्यक्षमा वलि प्रथाको विरोध गर्छ भने परोक्षमा वलि प्रथाकै पृष्ठपोषण गर्छ । भूमिकाअनुसारको कर्तव्य निर्वाह गर्छु भन्ने टुकारामको अभिव्यक्ति यस्तै खाले द्वैध भूमिका निर्वाह गर्ने पात्रको रूपमा चित्रित हुन्छ ।
विदेशी समाज लघुकथामा उतार्दा अस्वाभाविक नदेखिई मौलिक बनेको छ । लघुकथाको आँखीझ्यालबाट हेरिएको समाजको दृश्य व्यापक हुँदैन ।
यस्तै स्वदेशी र विदेशी दुबै खाले पात्रहरूको प्रयोग संग्रहमा गरिएको छ । अधिकांश लघुकथाहरू स्वदेशी पात्र र पृष्ठभूमिका छन् भने संग्रहका आलुवखडाको बोट, रेहाना, आलिङगन, आमा, प्रस्थानविन्दु जस्ता लघुकथाहरूमा विदेशी पात्र र पृष्ठभूमि आएका छन् ।
सिर्जनामा आएका पात्रहरू ती पात्र मात्र हुँदैनन् तिनीहरू समाज पनि हुन्छन् । सिर्जनाहरूका पात्रमा समाज र समाजभित्र पात्रहरू फेला पर्छ । यस हिसाबले हेर्ने हो भने यस संग्रहका अधिकांश लघुकथाहरूमा नेपाली समाज छ भने केही लघुकथाहरूमा विदेशी समाज पनि भेटिन्छ । स्वदेशी समाजमा पनि विविधता छ – गाउँ, सहर, हिमाल, पहाड, तराई सबैको प्रतिनिधित्व भएको छ । यहाँको समाजभित्र पढेलेखेका पनि छन् र नपढेका पनि । अति विपन्न पनि छन् र सम्पन्न पनि । मध्यम वर्ग बढी नै छ । पढेलेखेकाहरूमा पनि इमान्दारिता क्षयीकृत छ । झ्यापुराम प्रजा (प्रजातन्त्र, पृ. २७०) जस्ता अपठित र सीधासाधा पात्र पनि छन् कथाहरूमा । संग्रहका लघुकथाहरूमा देखिएको संस्थागत भाँडभैलो, वैदेशिक रोजगारी र त्यसले उब्जाएको पीडा, सरकारी कार्यालयका कारिन्दाहरूले सामान्य सेवाग्राहीलाई दिएको दुःख यी सबै नेपाली समाजकै छविचित्र हुन् । यस्तै वैदेशिक पात्र र समाजप्रयोगमा पनि विविधता छ । कतै इजायलको समाज छ भने कतै जापानको, कतै लन्डनको समाज छ त कतै खाडी मुलुकको । विदेशी समाज लघुकथामा उतार्दा अस्वाभाविक नदेखिई मौलिक बनेको छ । लघुकथाको आँखीझ्यालबाट हेरिएको समाजको दृश्य व्यापक हुँदैन । तर संकेत भने प्रष्ट पाइन्छ । लघुकथाकारले संग्रहका लघुकथाहरूमा विविध समाजको राम्रो फोटोग्राफी उतारेका छन् ।
अन्य कुरा
साहित्यकारहरूले यौनलाई पनि आफ्ना साहित्यिक रचनाहरूमा समावेश गर्ने गरेका छन् । यौन विषय साहित्यमा नियन्त्रित रूपमा प्रयोग हुनु नराम्रो होइन तर रचनामा यौन अनियन्त्रित रूपले प्रयोग हुन थाल्यो भने त्यसले असाहित्यिक धार समात्छ । छाडा यौन साहित्यको धमिरा हो तर यसैलाई उच्च साहित्यिक जलप लगाएर प्रस्तुत गरियो भने त्यसले रचनालाई सौन्दर्यता प्रदान गर्दछ । विवेच्य संग्रहभित्रका लघुकथाहरूमा पनि यौनिक विषयले यदाकदा स्थान पाएका छन् । तर छाडा छैनन्, बिम्बात्मक छन्, जस्तै उदाहरणका रूपमा संग्रहभित्रको कल्पना लघुकथालाई हेरौं – कल्पना लघुकथाको पात्र चुरेटा अलिबक्स हो । सरकारी अफिसरको खाली गोठमा भाडामा बस्ने ऊ श्रीमतीका साथ चुरा बेच्ने काम गर्छ । अलिबक्स प्रष्ट नेपाली बोल्छ तर उसकी स्वास्नी हिन्दी मिसाएर बोल्छे । उनीहरू नेपाली हुन् या होइनन् थाहा छैन । अलिबक्सको कमजोरी रक्सीको सेवन हो । ऊ रक्सी खान्छ र खाएका बेला स्वास्नी कुट्छ । ऊ पिएका बेला चर्को हल्ला गर्छ र उसकी स्वास्नी कहिले कता र कहिले कता शरण लिन पुग्छे । नयाँ वर्षको दिन घरपट्टी साहु विदामा घर आउँदा अलिबक्सले रक्सी खाएर बबाल ग¥यो । उसकी स्वास्नीले भागेर ज्यान जोगाई । भोलिपल्ट बिहान अलिबक्सले घरपट्टी साहुनीसँग “डेरा सर्छु” भन्यो । कारण अलिबक्सले “कहाँ गएकी थिइस्” भनेर स्वास्नीलाई सोध्दा “साबलाई मालिस गर्न गएको ढीलो भयो उतै सुतें” भनेकी थी । साहुनीले घरपट्टी साहुको नियतमा शंका गरिन र उल्टै भनी – “किन चिन्ता गर्छस् । रात परेपछि मालिस गर्न आइज न ।” यो सीधा सीधा यौन आमन्त्रण थियो साहुनीको । अन्तमा कथाकारले कथालाई यसरी टुङ्ग्याए – “उसले (अलिबक्सले) आयशालाई बिर्सियो । घरपट्टी साहुनीलाई मालिस गरिरहेको कल्पना मात्रले पनि उसमा दिनभर उमङ्ग आइरह्यो ।”
यसरी कल्पना लघुकथामा यौनिक विषयको समायोजन सभ्य साहित्यिक किसिमले गरिएको छ । अलिबक्स रक्सी खान्थ्यो । कथाले यही भन्छ तर उसको यौन चरित्रका बारेमा कथा बोलेको छैन । स्वास्नीको यौन चरित्रमा उसले शंका भने गरेको छ र त्यसले अलिबक्सलाई खाएको पनि छ । यसैले ऊ घरसाहुनीसँग डेरा सर्छु भनिरहेको छ । रक्सी खाएका बेला अलिबक्सले स्वास्नीसँग “तँलाई (आयशालाई) माया गरेर मैले धोका खायो” भनेको छ । यौनिक मामलामा आयशाको चरित्र कमजोर छ भन्ने अलिबक्सलाई पहिलेदेखि शंका भएकाले उसको आयशा प्रति आक्रोश हुनसक्छ यो अभिव्यक्ति । उसकी स्वास्नीको “म साबलाई तेल मालिस गर्न गएको ढीला भयो । आएन साबकैतिर सुत्यो” भन्ने खुलासाले उसको शंका ठीक भएको थाहा पाएर अलिबक्सले “म डेरा सर्छु” भनेको पनि हुनसक्छ । तर साहुनीबाट उसले “किन चिन्ता गर्छस् रात परेपछि मालिस गर्न आइज” भन्ली भनेर सायद कल्पना गरेको थिएन । साहुनीको यौन आमन्त्रणको अभिव्यक्तिले अलिबक्सको स्वास्नी आयशाप्रतिको आक्रोश साहुनीलाई मालिस गरिरहेको कल्पनामा रूपान्तरित हुन पुगेको छ । अलिबक्सको चिन्ताको रूपान्तरणले लघुकथाले साहित्यिक उच्चता प्राप्त गरेको छ । पाठकले यो लघुकथालाई भद्दा यौन मजाकका रूपमा ग्रहण गर्दैन ।
आन्दोलनकारी लघुकथामा राजनीतिमा लाग्नेहरूले वीरबहादुर जस्ता सोझासाझा जनतालाई आन्दोलनमा ढुङ्गा हान्ने मेसिन बनाउने प्रवृत्तिको अन्त्य राजनीतिमा भएको छैन र लघुकथामा यसको समाधान के भन्ने पनि देखिंदैन ।
यस्तै संग्रहभित्रका कतिपय लघुकथाहरूमा गम्भीर समस्याको उठान गरिएको छ तर समाधान बोलिएको छैन । जस्तै कल्पना लघुकथामा पारिवारिक समस्या उठाइएको छ तर सुल्झिएको छैन । सेटिङ लघुकथाले नेपाली समाजमा सेटिङ मिलाउने र भ्रष्टाचार गर्नेहरूको कथालाई उजागर गरेको छ । यो हाम्रो समाजको ठूलो समस्या हो । यो विकासको वाधक पनि हो तर यो सामाजिक समस्याको निदानको उपाय बारे लघुकथा मौन छ । राज्य आतङ्क लघुकथामा राजनीतिक समस्या छ तर यसबाट जनमानस उम्किन सक्ने कुनै चर लघुकथामा भेटिंदैन । राफेल कान्छा लघुकथामा सामाजिक समस्यालाई पेसा बनाई खाने हुमनाथ जस्ता मानिसहरूलाई दण्डको दायरामा ल्याउन लघुकथाकार उदासीन छन् । आन्दोलनकारी लघुकथामा राजनीतिमा लाग्नेहरूले वीरबहादुर जस्ता सोझासाझा जनतालाई आन्दोलनमा ढुङ्गा हान्ने मेसिन बनाउने प्रवृत्तिको अन्त्य राजनीतिमा भएको छैन र लघुकथामा यसको समाधान के भन्ने पनि देखिंदैन । समस्याको प्रस्तुति र यसको समाधानका विषयमा यस्तो भन्न सकिन्छ कि लघुकथाकारले समस्याको पूर्ण समाधान गर्ने होइन । यसको जिम्मेवारी त सम्बन्धित निकायको नै हो । पूर्ण समाधानको खुलस्त बाटो भनिदिंदा साहित्य आदर्शमय बन्न जान्छ । अनि जे छ त्यही व्यक्त गर्नु मात्र पनि घटना वर्णन मात्र हुन जान्छ । यसैले मलाई के लाग्छ भने साहित्यकारले आफ्ना रचनामा दिशानिर्देश गर्न सक्नुपर्छ । कहीं न कहीं सानो चरबाट नै सही उज्यालाको सङ्केत भने लघुकथामा देखिनुपर्छ ।
लघुकथाकारले यस संग्रहका कतिपय लघुकथाहरूमा विकृति र विसंगति प्रति व्यङ्ग्यको तीखो झटारो पनि हानेका छन् । बाँच्न गाह्रो छैन, पुच्छर, नाङ्गाहरूको सहर लघुकथाहरूमा व्यङ्ग्य सघन बनेको देखिन्छ । बाँच्न गाह्रो छैन लघुकथामा स्वैरकल्पनाको प्रयोग गरिएको छ । यस लघुकथामा मृत्यु हुन एक वर्ष बाँकी रहेको दीर्घमानलाई यमदूतहरूले भुलवश यमराजसामु उपस्थित गराएको र चित्रगुप्तले दीर्घमानलाई तिमी फर्कनु पर्ने भयो भनेको प्रसङ्ग छ । लघुथाको अन्तमा दीर्घमानले चित्रगुप्तलाई भनेको छ – “चित्रगुप्तज्यू, मैले भोग्न बाँकी रहेको मत्र्यलोक मेरै देशका नेताका उमेरमा टाँसिदिनू । तिनीहरू आजन्म बाँच्न चाहन्छन् र तिनलाई त्यहाँ बाँच्न गाह्रो पनि छैन ।” यो दीर्घमानको अभिव्यक्तिमा धारिलो व्यङ्ग्य छ । यस लघुकथाको अगाडिका प्रसङ्ग सामान्य छन् तर दीर्घमानको छोटो अभिव्यक्तिमा राजनीतिक विकृतिका धेरै पाटाहरू उजागर भएका छन् । पुच्छर लघुकथामा संस्था प्रमुखले अर्काको गोटी बनेर हुने नहुने काम गरेको प्रसङ्ग छ । यस लघुकथामा पुच्छरले कुकुरलाई होइन कुकुरले पुच्छरलाई हल्लाउनु स्वभाविक हुने तर्कमा व्यङ्ग्य निहित छ । यस्तै नाङ्गाहरूको सहर लघुकथामा आफन्त भेट्न गाउँबाट सहर गएका धनमायाका बुढाबुढीको प्रसङ्ग छ । धनमायाका बुढाबुढी सहर पुग्दा युवतीहरूले छोटा लुगा लगाएको देखेर आश्चर्यमा परेकी धनमाया भन्छे – “यो त नाङ्गाहरू बस्ने सहर रछ ।” लघुकथाको प्रसङ्ग छोटा लुगा भए पनि धनमायाको भनाइको सङ्केतले सहरियाहरूको जीवनशैलीको धज्जी उडाएको छ ।
संग्रहका कतिपय लघुकथाका पात्रहरूमा समस्या खपेर बस्ने प्रवृत्ति छ भने कतिपय लघुकथाका पात्रहरू विद्रोही छन् । विद्रोह, झक्कुप्रसाद, कलुवा जस्ता लघुकथामा विद्रोह बलियो बनेर देखिएको छ । सामाजिक समस्याको चर्को दवावले पात्रहरूलाई विद्रोही बनाएको छ । लघुकथाका पात्रमा देखिएको यस्ता विद्रोह प्रति पाठकको पूर्ण सहानुभूति रहेको देखिन्छ ।
भाषा प्रयोगका दृष्टिले यो संग्रह उत्तम र मध्यमकै सेरोफेरोमा छ भने लघुकथाहरूमा शीर्षकको प्रयोग सान्दर्भिक नै देखिन्छ । लघुकथाहरूमा गरिएका पात्र प्रयोग स्वभाविक छन् । लघुकथाकारमा घटनालाई खिप्न सक्ने कुशलता देखिएको छ । सङ्ग्रहका लघुकथाहरूमा विचार पक्ष प्रवल बनेर आएका छन् । संग्रहमा विषयको विविधता छ । गाउँ, सहर सबैतिरका विषयलाई समेटिएको छ । संगति र विसंगतिका घटनाहरू पनि संग्रहभित्र अटाएका छन् । सामाजिक मनोविज्ञान, व्यक्तिगत मनोविज्ञान आदिलाई पनि कुशलतापूर्वक सजाइएको छ । जीवनका आरोह र अवरोहहरूको कुशल समायोजन पनि लघुकथाहरूमा गरिएका छन् ।
अन्तमा
समग्रमा सहिदहरूको विरोधपत्र लघुकथा संग्रह पठनीय र संग्रहणीय संग्रह बनेको छ । लेख्नु मात्र लेखकको परिचय होइन । लेखिएका रचनाहरूमध्ये संग्रहका लागि छनोट गर्नु र छनोटमा परेकालाई कुशलतापूर्वक छाँटकाँट मिलाउनु पनि लेखकीय दायित्व हो । लघुकथाकारले लघुकथाहरूको लेखन, चयन र सम्पादनमा राम्रो मिहिनेत गरेका छन् । पहिलो संग्रहमा नै लघुकथाकार सफल भएका छन् । दिनको छेकछन्द बिहानीको आगमनले नै बताउँछ भनेझैं लघुकथाकार खनालको सफल लघुकथाकार व्यक्तित्वको छनक उनको पहिलो संग्रहले प्रष्ट देखाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।