शीवा शाहद्वारा लिखित ऐतिहासिक आख्यान  ‘द अदर क्विन’को  नेपालीमा अनुवाद हो – कान्छा महारानी । त्यसो त इतिहासको त्यो कालखण्डलाई साहित्य र इतिहासका पाठकले विभिन्न पुस्तकमा पढिसकेका छन् । तर अचम्मको कुरा पढिसकें भनेकै कुरा पनि पूरै नवीन र रोचक लाग्छ कान्छा महारानी पढ्दै जाँदा । घटित घटनाको आधारमा निर्मित इतिहास पढे पाठकले । तर , त्यो इतिहास र हृदय हल्लाउने घटनाको प्ररम्भ अनि यही घटनाको कारण इतिहासको  निर्माण कसरी भयो भन्ने बुझ्न यो उपन्यास महत्वपूर्ण छ ।

तत्कालीन दरबारको कथा हो- कान्छा महारानी । दरबारकै भाषा र इतिहास पोतिएको यो उपन्यास पढ्ने हरेक पाठकलाई गगनसिंह र जङ्गबहादुरको प्रत्यक्ष संवाद सुनेको अनुभूति हुन्छ  ।  तत्कालीन  काठमाडौं उपत्यकाको सजीव चित्रण भेटिन्छ यस पुस्तकमा । उपन्यास पढ्दापढ्दै  बागदरबार र वसन्तपुर दरबार घुमिरहेका हुन्छन् पाठक । इतिहासकै कमजोर राजा राजेन्द्र र उनकी शक्तिशाली रानी  राजेन्द्रलक्ष्मीको हैकम नजिकबाट अनुभूत गर्छन् पाठकले । भारदारी सभादेखि कोतघरसम्म भित्रबाहिर गरिरहने पाठक कान्छा महारानी र गगनसिंहको अनौठो प्रेमबाट अभिभूत हुन्छन् ।

इतिहासलाई सूक्ष्म ढङ्गले कथामा उन्ने काम गरिएको छ उपन्यासभित्र । उपन्यासकी प्रमुख पात्र हुन् राजेन्द्रलक्ष्मी । उनकै सेरोफेरोमा घुमेको उपन्यास पढ्दै जाँदा हरेक पात्र उत्तिकै शक्तिशाली भएर उभिएको प्रतीत हुन्छ तर राजा राजेन्द्र निरीह भेटिन्छन् । दरबारमा जङ्गबहादुरको प्रवेशसँगै  उसको महत्वकांक्षी सपना हुर्किन थाल्छ । गगनसिंहको प्रेममा लिप्त कान्छा महारानी  र  युवराज सुरेन्द्रको द्वन्द्वलाई चरोमत्कर्षमा देखाइएको छ । राजेन्द्रलक्ष्मीको बढ्दो शक्ति र काँतर बन्दै गएका राजा राजेन्द्रप्रति पाठकको दया पलाउँछ ।

 

दरबारभित्रको यौन जीवन र  शक्तिसङ्घर्षलाई सुन्दर, कलात्मक र नाटकीय ढङ्गले उपन्यासमा प्रस्तुत गरिएको छ ।

मूल भाषा अङ्ग्रेजीमा लेखिएको उपन्यासलाई  नेपालीमा अनुवाद गर्दा पनि पाठकले  अनुवाद हो भन्ने सोच्नै सक्दैनन्  । यसरी उपन्यासभित्र अनुवादको कुनै छनक नभेटिनु नै  अनुवादक सगुना शाहको ठूलो सफलता हो । अनुवादकले आफ्नो सिर्जनात्मक  कलालाई उत्कृष्ट र कलात्मक रुपमा अनुवादको क्रममा प्रयोग गरेको भेटिन्छ । यसकारण पनि यो पुस्तक शब्दानुवादभन्दा पनि सिर्जनात्मक भावानुवाद हो ।

असाधारण महिला पात्रको ऐतिहासिक  कथा भेटिने यो पुस्तक नेपाली साहित्यको महत्वपूर्ण उपलब्धि हो ।

सामान्य सिपाहीको रुपमा दरबार छिरेको चतुर खेलाडी हो जङ्गबहादुर राणा ।

ऐतिहासिक घटनाक्रमको  भावभूमिमा लेखिएका अरू पुस्तकको तुलनामा कान्छा महारानी नितान्त  भिन्न लाग्छ । यो पुस्तकले पाठकलाई ऐतिहासिक घटनाक्रमको पिँधमा पुर्याउँछ । दरबारभित्र शक्तिसङ्घर्षको उदगम विन्दु , राजा राजेन्द्रको अदूरदर्शिता र अविवेकी पन  अनि  युवराज सुरेन्द्र शाहको उदण्ड स्वभाव र चरित्रहीन क्रियाकलाप मात्र नभएर शक्तिको केन्द्रमा रहेकी राजेन्द्रलक्ष्मीको अनौठो कथा छ ।

सामान्य सिपाहीको रुपमा दरबार छिरेको चतुर खेलाडी हो जङ्गबहादुर राणा । उसले कसरी आफू जोगिएरै कान्छा महारानीदेखि युवराज सुरेन्द्रसम्मलाई प्रयोग गर्छ भन्ने देखाइएको छ उपन्यासमा । सुरुमै कान्छा महारानीद्वारा मन पराएको पात्र हो जङ्गबहादुर । शक्तिशाली हुने सपना देखेको ऊ कान्छा महारानीको भित्री इच्छा र कामवासनालाई बुझेपछि गगनसिंहलाई अघि सार्छ ।  आफ्नै साथी गगनसिंहलाई कान्छा महारानीको यौन तृप्तिको लागि प्रयोग गर्ने जङ्गबहादुरले कसरी राजा राजेन्द्र,  युवराज सुरेन्द्र र कान्छा महारानीसँग सन्तुलित सम्बन्ध राख्छ भन्ने देखाइएको छ । कान्छा महारानीको कृपाले काजी पदमा पुगेको जङ्गबहादुर दरबारलाई बुझेर चलेको पात्र हो ।

दरबारभित्रको अन्तरिक सङ्घर्षका कारण कोपभाजनमा परेका कैयौँ भाइभारदार र मुलुकको दुर्दशालाई उपन्यासभित्र यथार्थ ढङ्गले प्रस्तुत गरिएको छ । सत्ताकै वरिपरि रहन चाहनेहरूको व्यक्तिगत स्वार्थ र चुलिँदै गएको महत्वकांक्षाले कसरी सिङ्गो देश अनिर्णयको बन्दी बन्यो र ओरालो बाटो लाग्यो भन्ने कुरालाई उपन्यासमा मार्मिक रुपमा   देखाइएको छ ।

१०४ वर्षे राणा शासनको सुरुवातको कथा बोलेको उपन्यासमा  दरबारभित्र लुकेर रहेको विषय , अबैध सम्बन्ध अनि महारानीहरूको शक्तिसङ्घर्ष   र ईर्ष्याको उत्कर्ष रूप भेटिन्छ । शत्रुको एक एक कमजोरी बुझेर अघि बढेको जङ्गबहादुरभित्र प्रतिशोधको भावना हुर्किनुमा दरबारकै दोष देखाइएको छ । शुत्रुको कमजोरीलाई उचित समयमा प्रहार गर्ने क्षमता भएको जङ्गबहादुरलाई दरबारले चिन्न नसक्नुले नै राणा शासनको उदय र दरबारको दुर्गति  सुरु हुन्छ  ।

जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्यु , युवराज सुरेन्द्रको कुलत र चरित्रहीन प्रवृत्ति , राजा राजेन्द्रको गुम्दै गएको साख र काँतर स्वभाव अनि कान्छा महारानीको परपुरुषसँगको सम्बन्धमा जेलिएको दरबारको भित्री घटनालाई  उपन्यासमा आकर्षक तरिकाले देखाइएको छ ।

इतिहास  उही हो वर्षौदेखि पटक पटक लेखिएको पढिएको र सुनिएको । तर , त्यो इतिहास कसरी निर्माण भयो भन्ने मसिना  र  छुटाइएका कुराहरूलाई नवीन ढङ्गले देखाउनु यो उपन्यासको विशेषता र महत्वपूर्ण पक्ष हो ।

गलत बाटोबाट यौन , प्रेम र शक्ति आर्जन गरेकी कान्छा महारानी  ( राजेन्द्र लक्ष्मी)  कसरी पतनको बाटोमा पुगिन् भन्ने कुरा उपन्यासकारले निकै रोचक र स्वादिलो तरिकाले पस्किएकी छिन् । यथार्थमा यो कृति भावानुवाद नभएर सिर्जनात्मक अनुवाद हो । प्रस्तुत उपन्यासमा अनुवादकको सिर्जनशीलताको पूर्ण रुपमा प्रयोग भएको छ ।

रगतले आफ्नो रङ देखाउँछ भनेझैँ सहोदर दिदीबहिनी बडामहारानी र कान्छा महारानीको रूपमा दरबार छिरेपछिको अन्तरद्वन्द्व,  ईर्ष्या, छल र महत्वकांक्षाको भित्री कथा उपन्यासमा भेटिन्छ ।

पढ्दै जाँदा पाठकले प्रस्तुत उपन्यासमा अतितको एउटा तिलस्मी कालखण्ड भेट्छन् । त्यही कालखण्डमा गाँठो परेर बसेको कथालाई फुकाएकी छिन् उपन्यासकारले ।

आत्मवृत्तान्त शैलीमा लेखिएको ‘कान्छा महारानी’ इतिहासको आख्यानीकरण हो ।  रगतले आफ्नो रङ देखाउँछ भनेझैँ सहोदर दिदीबहिनी बडामहारानी र कान्छा महारानीको रूपमा दरबार छिरेपछिको अन्तरद्वन्द्व,  ईर्ष्या, छल र महत्वकांक्षाको भित्री कथा उपन्यासमा भेटिन्छ । त्यस्तै काँतर  राजाको कारण रानीमा बढ्दै गएको शक्ति र उन्माद मात्र देखाइएको छैन राज्यको सार्वभौम सत्तामा रानीको हस्तक्षेप र यही मौकामा भाइभारदारले उठाएको फाइदा पनि उपन्यासमा देखाइएको छ ।

इतिहासकै चतुर खेलाडी जङ्गबहादुरको उदय र प्रभावको कथा  निकै रोचक देखिन्छ । त्यस्तै दरबारभित्रै बोलिने भाषा र संस्कारलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । दरबारभित्रै भनिने  बडामहारानी,  माइला महारानी र कान्छा महारानी जस्ता भाषाकै आधारमा प्रस्तुत पुस्तकको नाम पनि कान्छा महारानी राखिएको छ ।
उपन्यासमा आफ्नै कारण काँतर र निरीह बनेका राजा राजेन्द्रभन्दा शक्तिशाली देखिएकी रानी कान्छा महारानी हुन् । उपन्यासकार र अनुवादक दुवैलाई  दरबारीया बोलीचाली र पुर्ख्यौली इतिहासको बारेमा राम्रो जानकारी भएकै कारण पनि यो उपन्यास अरू जीवन्त बन्न सकेको देखिन्छ ।

एक वाक्यमा भन्दा ऐतिहासिक घटनामा कल्पनाको रङ भरेर प्रस्तुत उपन्यास नितान्त नवीन रुपमा प्रस्तुत गरिएको छ । उपन्यासको कलात्मक भाषा र घटनाले उपन्यास सकिएको पत्तै हुन्न पाठकलाई । अन्तत; एउटा ऐतिहासिक , सुन्दर  र पठनीय कृतिको रुपमा नेपाली साहित्यमा भित्रिएको पुस्तक हो, ‘कान्छा महारानी’ ।