पिताजी बडो कुशल कथावाचक हुनुहुन्थ्यो ।

पख्नुस् है पाठकवृन्द, यस कथालाई अर्कै ठाउँबाट पो उठान गर्नुपर्छ कि !

हो, धम्मे दाइ कपडा सिलाउने काममा निक्कै सिपालु थिए । अँ, बरू यो उठान ठीक भयो कि ! हाम्रो गाउँभरि र अरू गाउँहरूमा पनि बाली उठाउने गरी कपडा सिलाउँथे उनी । सुलीकोटको अलिकति पूर्वबाट सुकिलो घाम, एक जुवा माथि उठिसक्ता पनि त्यसको ठीक तल पाङ्ग्राङ र अझै तल कालीगण्डकी क्षेत्र उज्यालो हुनै बाँकी रहेजस्तो–कम हरियो र बढी कालो वनभित्र लुकिरहेको प्रतीत हुन्थ्यो । तल गण्डकीको एकोहोरो स्वाँ आवाज आइरहन्थ्यो । यसको एकाध घण्टापछि मात्र चुचुरो उज्यालो भएका–उत्तरको माइको थान र उत्तरपश्चिमको हाँडीकोटको बीच गल्छेँडोबाट कुहिरो उठ्थ्यो र धम्मे दाइ हाम्रो पूर्वतिरको पिँढीमा आफ्नो कल अगाडि राखेर कपडा सिलाउन बस्थे ।

एउटा अव्याख्येय सौन्दर्य जस्तो, कुतूहलजस्तो, अलिअलि भयमिश्रित रोमाञ्च जस्तो, एउटा रहस्यमय निरन्तरता जस्तो, क्रीडामय बाल्यकाल गुजार्थ्यौँ हामी त्यस गाउँमा ।

“सुती कपडाका धेरै फाइदा छन्,” पिताजी भन्नुहुन्थ्यो, “यो जाडो–गर्मी दुवै अवस्थाका लागि हितकारी हुन्छ !”

नाक चुच्चो र लामो, फुलेका दाह्री र जुँगाको बीचमा हाँसिरहँदा देखिने अलि ठूला दाँतहरू, पातला–सेता रौँहरू भएको सानो कपाल, कालो फ्रेमसहितको चस्माभित्र तीक्ष्ण आँखाहरू, समग्रमा उज्यालो र निर्मल अनुहार, अलिकति बढेका सफा नङ सहितका पातला औँलाहरू, हातमा जयदयाल गोयन्का वा हुनमान प्रसाद पोद्दारद्वारा लिखित कुनै गीताप्रेसी पुस्तक भएको – ऋषिजस्तो देखिने मान्छेलाई हामी पिताजी भन्थ्यौँ ।

पूर्वतिरको पिँढीमा धम्मे दाइले कपडा सिलाउँदा त्यसको ठीक पश्चिमको पिँढीमा खाँबोको अडेस पारी सिरानी ढाडमा पारेर पिताजी बस्नुहुन्थ्यो ।

मेरा दौँतरीहरू – इन्दु, हरि वा दिवाकर दाइहरू सर्ट र हाफप्यान्ट लगाउँथै । ती आधुनिक कपडाहरूको मलाई पनि बडो रहर हुन्थ्यो तर पिताजी मेरा लागि भित्री हालेको भोटो तयार गरिदिनुहुन्थ्यो जुन मेरो घाँटीदेखि कुर्कुच्चासम्म पुग्ने “वन पिस” नै हुन्थ्यो । पिताजी बडो विश्वासपूर्वक भन्नुहुन्थ्यो, “यो हितकारी छ।”

“बाले त्यसै भन्नुहुन्न,” आमा पिताजीको अभिव्यक्तिमा समर्थन गरिहाल्नुहुन्थ्यो। अनि त अलिकति मन खुम्चिए पनि म भोटो लगाउन विवश हुन्थेँ । पिताजी अत्यन्त संवेदनशील मानिस भएकाले उहाँलाई के थाहा थियो भने भोटो मेरो प्रिय पहिरन होइन तर पनि भोटो तयार हुन्थ्यो र पहिलोपटक धम्मे दाइले नै कपडा मलाई लगाइदिन्थे र भन्थे–‘नाच ।’

पाठकवृन्द, हो, अब यो चाहिँ ठीक ठाउँ हुन सक्छ, जहाँ अघिको वाक्य लेखेर कथा सुरु गर्न सकिन्छ –‘पिताजी बडो कुशल कथावाचक हुनुहुन्थ्यो ।’

नयाँ–नयाँ किसिमका कपडाहरू वा सुविधाहरूप्रति आकर्षित हुनु हामी बालबालिकाका निम्ति सहज स्वभाविक थियो तर पिताजी यस्ता कुराहरूको आकर्षणले मानिसलाई ठीक गन्तव्यमा पुग्न दिँदैन भन्ने विश्वास गर्नुहुन्थ्यो । धम्मे दाइ घरमा भएको अवधिमा कपडा–विषयक कथा भन्नु प्रासङ्गिक पनि भएकाले सायद पिताजीले यो कथा छान्नु भएको थियो ।

“डेनमार्कका तत्कालीन राजा अन्य विलासिताका साथै कपडाका बडो सौखिन थिए,” कथा सुरु भएको थियो, “राजालाई दिनहुँ नयाँ किसिमको आकर्षक पोसाक लगाउने इच्छा हुन्थ्यो । उनी प्रायः राजसभाका बैठकहरूमा भन्दा पनि आफ्नो निजी शृङ्गार कक्षमा राखिएको ठू्लो दर्पणअगाडि उभिएर पोसाक परिवर्तन गरिरहन मन पराउँथे।

त्यस राज्यमा गरिबी, भोकमरी, बलात्कार भ्रष्टाचार व्याप्त थियो । मानिसहरू झाडापखालासम्मको औषधी नपाएर मरिरहेका थिए । तर भ्रष्ट आफन्त र अनैतिक मन्त्रीहरूद्वारा घेरिएका नक्कले महाराजलाई यी कुनै कुराको पर्वाह थिएन । प्रजाहरूको वास्तविक दुरवस्था र राजाको ध्यानकर्षण विपरीत ध्रुवमा थिए। मन्त्रीहरू, राजपुरोहित, राजवैद्य, राजज्योतिष र विदेशी कूटनीतिज्ञहरू सम्मिलित सभामा समेत उनी अनुपस्थित रहन्थे । उनी त प्रायः दर्पणअगाडि दायाँ- बायाँ फर्केर आफ्नै छायाँ हेरी आत्मप्रशंसामा मग्न रहन्थे ।”

पिताजीको काखमा सिरकभित्र घुस्रिरहेको मलाई जाडो महिनाको तातोले लट्ठ्याउँदै थियो । खरको छानामाथि, आँपको रूखमाथि, आँगनमा छपाइएका ढुङ्गाहरूमा वर्षाको पानी बज्न थालेको थियो र पिताजीको कथावाचनको मधुर स्वरले अर्कै लोकबाट प्रतिध्वनित सङ्गीत जस्तो भएर मलाई कहिले विपना र कहिले सपनाको पिङमा झुलाइरहेको थियो ।

खै कतिखेरदेखि हो, अहिले म निकै राम्रो तर पुरानो राजदरबारभित्र पसेको थिएँ । मेरो हात समाएर मलाई हिँडाइरहेका मानिसलाई मैले सोधेँ, “तपाईँ को हुनुहुन्छ ?”

“ह्यान्स ख्रिस्चियन एन्डरसन,” तिनले भने । मलाई तिनको नाउँ अनौठो र अप्ठेरो लाग्यो ।

तिनी नाक चुच्चो परेका, पातला, पुरानो खालको कोट र गलबन्दी बेरेजस्तो घाँटीमा मात्र बेरिने टाई लगाएका गोरा मानिस थिए । तिनको निधारको देब्रेपट्टिबाट टुपीसम्मै तालु खुइलिएको थियो र कानमाथि बाँकी रहेको कपाल चाहिँ लामो तर घुम्रिएको थियो ।

“यो कुन ठाउँ हो ?” मैले सोधेँ ! सबैकुरा नयाँ, रहस्यमय र रोमाञ्चक थियो तर सम्भवतः तिनको अनुहारमा देखिने सज्जनताले हुनसक्छ– मलाई डर लागिरहेको थिएन ।

“यो डेनमार्कको ऐतिहासिक दरबार हो,” तिनले भने, “यहाँ तिमीलाई एउटा नाटक हेर्नका निम्ति तिम्रा पिताजीले नै पठाउनुभएको हो। तिमी नाटकप्रेमी, कथाप्रेमी बालक हौ अतः तिमीलाई मेरो कथामा नाटक हेर्ने अवसर प्राप्त होस् भन्ने उहाँको इच्छा छ ।’’

“ए,” मैले भनेँ । मेरो इच्छा र मनोविज्ञानका प्रति पिताजीको यति सूक्ष्म चासो छ भन्ने बोधले म निकै खुसी भएँ र पिताजीप्रति कृतज्ञ भएँ ।

—————

एउटा दृश्य यस्तो थियो :

(दरबारको मूलद्वारमा द्वारपाल उभिएको छ र त्यहाँ दुई नवागन्तुक अधबैंसेहरू आइपुग्छन् । भोटो, सुर्वाल, पटुका, फेटा र चुच्चे जुतामा तिनीहरूको व्यक्तित्व सुन्दर देखिन्छ ।)

अधबैँसे १: (द्वारपालसँग) “हामी नयाँ–नयाँ डिजाइनका आकर्षक कपडाहरू बनाउने दूरदेशबाट आएका जुलाहा हौँ, यसै वर्ष हामीले एउटा अद्भुत र सुन्दर पोसाकको आविष्कार गरेकाले महाराजको दर्शन गरी सो कुराको निवेदन गर्ने अभिलाषाले यहाँ आएका हौँ।”

अधबैँसे २: “अनि हामीले हालसालै के थाहा पायौँ भने यस देशका महाराज नयाँ–नयाँ र महङ्गो पोसाक, गाडी र विमानको सौकिन होइबक्सन्छ। गाडी र विमान त उहाँले धेरै ठाउँमा पाइबक्सेला तर हामीले बनाउने जस्तो पोसाक महाराजले यस पृथ्वीमा कतै पाइबक्सने छैन।”

अधबैँसे १:  “यद्यपि यो ज्यादै महङ्गो छ तर अभूतपूर्व छ ।”

(द्वारपाल नवागन्तुकहरूलाई रोकिन इसारा गर्दै भित्र जान्छ र पर्दा बन्द हुन्छ ।)

 

अर्को दृश्य यस्तो थियो :

(राजाका अगाडि उनै दुई जुलाहाहरू हात जोडेर उभिएका छन्। राजाले मुकुट लगाएको छ र राजदण्ड पनि लिएको छ।)

राजा :  “मैले तिमीहरूको प्रस्तावबारे मेरो द्वारपालबाट सुनेँ तर  यस पोसाकका विशेषताहरूबारे तिम्रै मुखबाट पनि केही सुनूँ ।”

जुलाहा १ : “महाराज ! यो पोसाक निकै महङ्गो हुनेछ र अभूतपूर्व रूपमा विशिष्ट हुनेछ, भव्य र सुन्दर हुनेछ ।”

जुलाहा २ : “महाराजका लागि हामीले तयार गर्ने यस पोसाकको जुन अर्को विशेषता छ – त्यो पनि अद्भुत छ ।”

राजा: “जस्तो कि ? भन भन ।”

जुलाहा २ : “जस्तो कि, यो पोसाक ती व्यक्तिहरूले देख्न सक्ने छैनन् जो वास्तवमै मूर्ख छन् र आफूहरूले गरिरहेको कामका निम्ति अयोग्य छन् ।”

राजा : (एकछिन घोत्लिएर) “आहा, यो त गज्जब कुरा भन्यौ, पोसाकको भव्यता त छ नै,  त्यसबाहेक यसै पोसाकको माध्यमबाट मैले आफ्ना मन्त्री र कर्मचारीहरूमध्ये को–को मूर्ख र आफ्ना कामका निम्ति अयोग्य छन् भन्ने पनि त थाहा पाउने भएँ।”

जुलाहा २ : “हो महाराज, प्रस्ट छ, जुन मन्त्रीले या कसैले यो कपडा देख्ने छैन, त्यसलाई उसको पदबाट हटाउन महाराजलाई कुनै दुविधा हुने छैन।” (मन्त्रीहरूतिर हेरेर ऊ खिस्स हाँस्छ। राजाले खुसी भएर मन्त्रीहरूतिर हेरेको र मन्त्रीहरूले मुखामुख गरेको देखिन्छ ।)

जुलाहा १ : “महाराज, फेरि बिन्ती गरेँ, यो निकै महङ्गो हुन्छ, केही सामग्री हामीलाई तत्काल उपलब्ध गराइपाऊँ – जस्तै : एक भारी रेसमको धागो र एक धार्नी जति सुनको मसिनो तार सुरुमै आवश्यक हुन्छ।”

राजा : “त्यसको फिक्री नगर, त्यो तत्काल उपलब्ध गराइनेछ।”

—————–

“उठ् त ,”  पिताजी मलाई हल्लाइरहनुभएको थियो— ‘यसरी सुतेर के सुन्छस् त कथा ?” वहाँले भन्नुभयो ।

“नाइँ, म सुनिरहेको छु त,” मैँले भनेँ, “एन्डरसनले भन्ने कथा र हजुरले भन्ने कथा उही त हो, अलिअलि फेरिएला, एन्डरसनले आफ्ना पिताजीबाट कस्तो सुनेका थिए कुन्नि!”

“कपडाको त्यो अद्भुत विशेषता एक कान, दुई कान र मैदान भएको थियो, ठूला-साना सबैलाई थाहा भएको थियो,” पिताजीले पुनः भन्नुभयो, “जो मुर्ख छ र आफ्नो काममा अयोग्य छ त्यसले त्यो कपडा देख्न सक्तैन, अर्थात् इमानदार र बुद्धिमान् व्यक्तिले मात्र त्यो देख्न सक्छ भनिएको थियो।

दरबारको उत्तरपश्चिम कुनामा रहेको एउटा निकै ठूलो कोठामा ती दुई जुलाहाहरूलाई तान राख्ने र कपडा बुन्ने सुविधा दिइएको थियो र ती जुलाहाहरू दिन नभनी रात नभनी काम गरिरहेका छन् भन्ने खबर राजाले पाइरहेका थिए ।

“नव वर्षको समारोहमा म ती कपडाहरू लगाएर जानेछु, सुन!,” राजाले आफ्ना विशिष्ट सल्लाहकारसँग भने, “तिमी राजसभाका सर्वश्रेष्ठ बुद्धिमान् पनि हौ, एकचोटि जाऊ र कपडा बुनाइको निरीक्षण गर ।’’

यसैगरी केही मन्त्रीहरूलाई पनि पठाइएको थियो र सबैले त्यस अद्भुत कार्यको प्रशंसा बोकेर आएका थिए।

तर ती कुनैले पनि त्यो कपडा देख्न सकेका थिएनन् यद्यपि आफूले देख्न नसकेको रहस्यलाई प्रत्येकले आफैंभित्र गोप्य राखेर बुद्धिमान् भएको स्वाङ गरेका थिए।

नववर्षको दिन जुलाहाहरू कपडा लिएर महाराजको दरबारमा आफैँ पुगे। उनीहरूले राजाको शृङ्गारकक्षमा पुगेर राजाले लगाइराखेको पुरानो कपडा फालिदिए अनि लगत्तै नयाँ अद्भुत कपडा लगाइदिए ।

‘दायाँ फर्किबक्स्योस् महाराज,’ भने ।

‘बायाँ फर्किबक्स्योस् महाराज,’ भने ।

कपडा तानतुन पारेको, मिलाएको झैं पनि गरे।

तर राजाले आफूलाई चरम नाङ्गो देखे । त्यहाँ उनले पनि कुनै कपडा देखेनन् । उनको सातो उड्यो । के उनी मात्र मूर्ख थिए ? आफ्नो कामका निम्ति अयोग्य थिए ? सल्लाहकार, मन्त्री आदिले देखेको भनेर जुन कपडाको भव्य सौन्दर्यको वर्णन गरेका थिए, त्यही कपडा राजाले नदेख्नु उनका निम्ति ज्यादै ठूलो लज्जाको विषय थियो र राजाले कसैसँग पनि भन्न सक्ने विषय थिएन ।

“महाराज कस्तो लाग्यो त हाम्रो आविष्कार ?” जुलाहाले सोध्यो ।

“हँ ? अँ अँ,  कपडा निकै राम्रो र अद्भुत नै लाग्यो,” महाराजले भने ।

नववर्षको समारोह हेर्न सडकमा निस्केका हजारौँले महाराजलाई एकैचोटि देखे र आश्चर्यचकित भए – राजाको शरीरमा कपडाको धरोसम्म थिएन ।

तर सबैले मन्त्री र सल्लाहकारहरूले जस्तै भनिरहेका थिए – आहा ! यस्तो राम्रो पो कपडा !’

कसैलाई मुर्ख र अयोग्य साबित हुनु थिएन ।

जोनाथन नाम गरेको नागरिकले आफ्नो फुच्चे छोराले पनि त्यो भीडबाट राजालाई देखोस् भन्ने लागेर उसलाई आफ्नो काँधमाथि चढाइराखेको थियो ।

“बाबा, राजा त नाङ्गै छन् त!”‘फुच्चेले सजिलैसँग कराएर भन्यो ।

“के भन्छ यो ?” जोनाथनले डराएर हप्कायो।

छेउमै उभिएका दुई युवतीले खितित्त हाँसेर भने, “ठिकै त भन्दै छ!”

“के भन्छ यो बच्चा – सुन है,” एउटा बूढो सेतै दाह्री फुलेको मानिसले भन्यो, “बच्चाले झूटो बोले होला त ?”

बिस्तारै त्यहाँ हाँसोको फोहोरा छुट्यो–हजारौँ मानिसहरू एकैचोटि हाँसिरहेका थिए । राजा बीच सडकबाट हिँडिरहेका थिए । महिलाहरूको ठूलो समूहबाट नाराबाजी भएझैँ सुनियो– ‘नकच्चरो राजा नाङ्गै !’

राजाले आफ्नो शरीर हेरे – त्यो बिल्कुल नाङ्गो थियो।

जुलाहाहरू सुन र रेसमको भारी लिएर हिँडिसकेका थिए ।”

————

पिताजी बितेको धेरै वर्ष भयो, एन्डरसन त अझै अगाडि बिते। म आफैँ पनि बूढो हुन लागेँ । दुई जुलाहाहरूको चम्किलो, चतुर अनुहार, तिखा–छरिता जुँगाहरू र छटेल आँखा मैँले झन्डै बिर्सिसकेको थिएँ । अस्ति मात्र हो, जागिरबाट फर्किँदा ठीक त्यस्तै अनुहारहरू महाराजगञ्ज दरबारदेखि बालुवाटार दरबारसम्म भित्र बाहिर गरिरहेको देखेँ। मलाई भयानक डर लाग्यो–मेरो प्रार्थना छ–ती दुवै दरबारहरूबाट नयाँ–नयाँ राजाहरू कपडा लगाएरै निस्कून्।