गतवर्षको भदौ अन्तिम साता शैलेन्द्र अधिकारीले ‘उपन्यासको काम सकियो, अब चाँडै आउँछ’ भन्दा मलाई अचम्म लागेको थियो । उपन्यास लेखन अलि बढी साधनासँग सम्बन्धित छ । शैलेन्द्रको चञ्चलता देख्दा उपन्यास तयार भएको कुरा पत्याउन अलि गाह्रो प¥यो । जब विमोचनका लागि निम्ता आयो अनि नपत्याई भयो र ? लेखनकुञ्जमा निर्वेद विमोचनको कार्यक्रममा सहभागी भई पुस्तक किनेर ल्याए पनि पल्टाएको थिइनँ । आज पढ्छु भन्यो, भोलि पढ्छु भन्यो, पढ्ने समय भने मिलेकै थिएन । दुई बसाइमा निर्वेद आद्योपान्त पढेपछि लाग्यो – पुस्तक पढ्न ढिला गरिएछ ।
निर्वेद विरक्ति, वैराग्य, ग्लानि, घृणा तथा निराशा बुझाउने सञ्चारी भाव हो । यसले व्यक्तिका मनका चरम व्याकुलता, निरीहता, अकर्मण्यता तथा हीनताजस्ता संवेगका कारण उत्पन्न हुने भावलाई सङ्केत गर्छ । कष्ट, दरिद्रता, आफन्तजनको विरोधजस्ता कुराहरूबाट उत्पन्न हुने विकारसँग सम्बन्धित छ निर्वेद । साहित्यशास्त्रमा शान्त रसको स्थायीभावको रूपमा रहेको निर्वेदको मूलमा आध्यात्मिक तथा तार्किक विचार रहन्छ । सम्पूर्ण अभिलाषाहरूको त्याग निर्वेद हो । निर्वेद शब्दलाई हेरिसकेपछि अब शैलेन्द्र अधिकारीको उपन्यास निर्वेदको चर्चा गरौँ ।

प्रभाती किरण
उपन्यासका विभिन्न अङ्गहरूमध्ये कथानक र कथाकथनको विशिष्ट भूमिका रहन्छ । उत्कृष्ट विषय लिएर पनि कथा भन्ने ढङ्ग पुगेन भने त्यो उपन्यास पाठकको मनमा बस्न सक्दैन । वर्तमानमा नेपालीमा सबैभन्दा बढी स्रष्टाको ध्यान उपन्यास लेखनमा केन्द्रित छ । उपन्यास नलेखी साहित्यकार भइँदैन भन्ने मानसिकता बढेको छ । विगतमा उपन्यास लेख्ने थोरै थिए, पढ्ने धेरै थिए । अहिले लेख्ने पनि उत्तिकै बढेका छन् त्यसैले पाठकले छान्ने मौका पाएका छन् । शैलेन्द्र अधिकारी यही बजारी प्रतिस्पर्धाको समयमा निर्वेद लिएर उपस्थित भएका छन् । निर्वेदमा मूलतः दुई वटा कथानक जोडिएका छन् – एउटा आदित्यको अर्को नवराज अर्थात् निर्वाणानन्दको । काठमाडौँको पशुपति क्षेत्र, भारतको हरिद्वार तथा धादिङका केही क्षेत्रलाई परिवेशको रूपमा उभ्याइएको निर्वेदमा शैलेन्द्र अधिकारीले आफ्नै जन्मथलो आसपासका क्षेत्रलाई निर्वाणानन्दको जीवनी कथनका क्रममा उठाएका छन् ।
जीवनको सार के हो ? भन्ने प्रश्नको वरिपरि कथावाचक र कथाको नायकलाई खेलाएर सारमा जीवनको सार सुखप्राप्ति हो जो अमूर्त छ भन्नु नै यो उपन्यासको सार हो । कसैले सांसारिक मोहमायालाई सुख ठान्ला, कसैले यो झमेलाबाट मुक्त हुनुलाई । सम्पत्ति आर्जनलाई सुख मान्ने कि ज्ञान आर्जनलाई यस्तै द्वन्द्व मानवीय मनका उत्पादन हुन्, तिनै उत्पादनको व्यवस्थापानमा केन्द्रित छ निर्वेद ।
जोगीको जीवन कस्तो हुन्छ भन्ने कुराको अध्ययनका लागि आश्रम पुगेको आदित्यले आश्रमको जीवनबाट धेरै कुरा सिक्यो । निर्वाणानन्दको जीवनकथा पढेपछि ऊ मानसिक रूपमा विचलित भयो । निर्वाणानन्द अर्थात् नवराज परिवारमा माया नपाएको छोरो, असफल प्रेमी, जीवनबाट हार खाएर सन्न्यास ग्रहण गरेको पात्र, सन्न्यास जीवनमा आदर्श गुरुको रूपमा परिचय बनाउँदै गरेको, आश्रमको उत्तराधिकारी बन्न सक्ने व्यक्ति आखिरमा किन समाधिस्थ भयो ? उपन्यासमा खोजिने कुरा यही हो । यही विषयको सेरोफेरोमा शैलेन्द्रले शब्दका सुन्दर बान्कीहरूद्वारा विषयको उठान गरेका छन् । विषयको व्यवस्थापन, पात्रहरूको क्रियाशीलता तथा प्रस्तुति आकर्षक छ ।
आदित्यको कथा रैखिक ढाँचामा बगेको छ भने निर्वाणानन्दको कथा वृत्तकार्य छ । आदित्यले जोगीको जीवन बु¤न आश्रममा पुग्न अनेक उपाय ग¥यो । काठमाडौँको मात्र नभएर हरिद्वारको आश्रम र त्यहाँको परिवेश नियाल्न तथा सन्तजीवन बु¤न अवसर पायो । ऊ जसलाई पढ्न चाहन्थ्यो, जसको साथ लागेर हरिद्वार पुगेको थियो ऊ चप्पलमा विलय भएको दृश्य हेरेर स्तब्ध भयो । कोही हुँदा र नहुँदा कसैलाई फरक पर्छ कि पर्दैन भन्ने कुरा उसले हरिद्वारको आश्रममा देख्यो । त्यहाँ सन्न्यासीहरू आत्मकेन्द्री थिए, उनीहरूलाई कोही हुनु र नहुनुले फरक पर्दैनथ्यो । निर्वाणानन्द आश्रममा नभेटिँदा कसैलाई कुनै असर परेन । सन्न्यास ग्रहणको अर्थ बु¤दै गरेको आदित्यले जब निर्वाणानन्दको ल्यापटपमा उसको कथा पढ्यो । उसले समाधि लिनुको कारण हे¥यो त्यसपछि जीवनसँग हारेर मृत्युवरण गर्ने होइन जीवनको सुन्दरता अनुभूत गर्ने निर्णयमा पुग्यो । यो नै निर्वेद उपन्यासको बलियो पक्ष हो ।
जोगीको जीवनको बारेमा जोगी नबनीकन अध्ययन गर्न चाहने व्यक्ति सोचेजस्तै जोगी बनेन तर जोगीको जीवनको सम्पूर्णपक्ष खोतल्यो । जीवनबाट हार खाएर मोक्षका लागि, मुक्तिका लागि अझ भनौँ निर्वाणका लागि सन्न्यास ग्रहण गरेको व्यक्ति त्यसमा पनि टिक्न सकेन र आत्मिक मात्र होइन कायिक रूपमै विलीन भयो । यहाँ सम्झनुपर्ने कुरा उपन्यासको जीवनदृष्टि के हो ? भन्ने हो । संसार भुलभुलैया हो, भ्रम हो त्यसैले सांसारिक मोहजालबाट मुक्त नभई मुक्ति मिल्दैन भन्ने पूर्वीय दर्शनको सेरोफेरोमा रहेर संसार आपूmले जे सोच्यो त्यही हो, जस्तो सोच्यो त्यस्तै हो त्यसैले हाम्रो दर्शनले सिकाउने ‘अहम् ब्रह्मास्मी’ आफैँ ब्रह्म भएपछि आफ्नो जीवनको निर्णय गर्ने जिम्मेवारी पनि आफ्नै हो । जीवनलाई जसरी बुझिन्छ त्यसरी नै बाँच्ने हो । आफ्नो जीवन आफैँले कोरेको राजमार्ग हो, यसमा कुन गतिमा कसरी गाडी कुदाउने भन्ने निर्णय पनि आफ्नै हुन्छ । शैलेन्द्रले निवार्णानन्दले लिएको समाधि र आदित्यले रोजेको सांसारिकता देखाएर ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ चरितार्थ गरेका छन् ।
निर्वेदमा जीवनका विविध पाटाहरू समेटिएका छन् । सहरी जीवनको कोलाहल, विनिमयमा आधारित प्रेम, आश्रमको सात्विक जीवन, ग्रामीण जीवनका अनेक रङ, बाल्यकालीन चञ्चलता यसका सौन्दर्य हुन् । कथावाचन सुललित छ । पात्रहरूको जुलुस लगाएर कथालाई बोझिलो बनाइएको छैन । छोटा वाक्य, संवादको प्रचुरता, कथानकको मिश्रित प्रस्तुति, कथ्य भाषा प्रयोगको मोह शैलेन्द्रका प्राप्ति हुन् । गजल, कविता र समालोचना लेखिरहेको मान्छे यसरी सूक्तिपूर्ण भाषामा कथावाचन गर्न सक्दो रहेछ भन्ने कुरा उपन्यास पढेपछि थाहा हुन्छ ।
नेपाली उपन्यासमा केही नामहरू हस्तक्षेपकारी भूमिकामा थिए । केहीले उपन्यासको नाममा यौन र आँसु बेचे । केही जात र क्षेत्र लेख्नमा मस्त रहे । केही विनिर्माणको नाममा अनेक उपद्रो गर्नमा लागे । खासमा एउटा लेखक आफ्नो लेखनमा इमानदार हुनुपर्छ । भौतिकवादको विद्यार्थी शैलेन्द्र अधिकारीले पूर्वीय दर्शनलाई केन्द्रमा राखेर उपन्यास लेख्दै गर्दा आफ्नो दृष्टिकोण बिर्सिएका छैनन् । निर्वेदमा आदित्यलाई मुखपात्र बनाएर उसको माध्यमबाट आफ्नो विचार प्रस्तुत गरेका छन् । आदित्यलाई सांसारिक जीवनमा अझ सङ्घर्षको, द्वन्द्वको बाटो रोजाएका छन् ।
यति हुँदाहुँदै पनि उपन्यास पढिसकेपछि केही कुरा छुटेको जस्तो लाग्छ । भौतिकवादी स्रष्टाले नवराजको पिताको मनमा डेरा जमाएर बसेको भ्रम चिर्न सक्नुपथ्र्यो त्यो भएको छैन । कुनै मोडमा पुत्रप्रतिको आफ्नो व्यवहारका कारण पितामा ग्लानि देखाएको भए सुनमा सुगन्ध थपिन्थ्यो । निर्वाणानन्दको कथामा कतैकतै मुक्त प्रसङ्गहरू पनि आएका छन् । निर्वाणानन्दले समाधि लिए । कारण जे माने त्यो अलि कमजोर जस्तो देखिएको छ । जुन ग्लानि उनमा देखाइएको छ त्यसलाई चरममा पु¥याउन सकिन्थ्यो । त्यसो त उनी ‘अहम् ब्रह्मास्मी’ बु¤दै गरेका पात्र हुन् । आदित्यको कथालाई निर्वाणानन्दको भन्दा बढी न्याय मिलेको छ ।
केही सीमाहरू रहे पनि शैलेन्द्र अधिकारीले नेपाली आख्यानको क्षेत्रमा पहिलो उपन्यासबाटै गहकिलो पाइला चालेका छन् । ठाउँठाउँमा निर्माण गरिएका सूक्तिहरू, विचारहरू ओजपूर्ण छन् । उपन्यास पढ्न सुरु गरेपछि राख्न मन नलागोस् । पाठकलाई त्यस्तो बनाउने उपन्यासमा प्रयोग हुने भाषा र कुतूहलतापूर्ण प्रस्तुतिले हो । यसमा शैलेन्द्र अब्बल देखिएका छन् । मुद्राराक्षसले भने कतैकतै सताएको छ । हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनेझैँ यो शैलेन्द्रको आख्यान लेखनको पहिलो पाइलाले लामो यात्रा तय गर्ने कुरामा म ढुक्क छु ।
पुस्तक : निर्वेद
लेखक : शैलेन्द्र अधिकारी
विधा : उपन्यास
प्रकाशक : शिखा बुक्स
पृष्ठ : २५१
मूल्य : रु. ३५०



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

