साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अलिखित: आफ्नै माटोमा गुमनाम बाँच्नेहरूको दुर्दान्त कथा

दीलिप बान्तवा

 

“जुन समाजले विद्रोह गर्न सक्दैन, त्यो हराएर जान्छ वा नष्ट भएर जान्छ ।”

डा. ध्रुबचन्द्र गौतमको उपन्यास “अलिखित” को लगभग सारांश हो यो।  लगभग मात्रै यस कारण कि उपन्यासमा विद्रोह त भएकै छ तर त्यो विद्रोह, विद्रोहीहरूले नै बुझ्न सकेनन् | र ती सबै नष्ट भएर गए।

bahulako diary small and inside post

आजभन्दा झन्डै ४० वर्ष पहिले लेखिएको यो उपन्यासलाई वि. सं. २०४० सालमा मदन पुरस्कार दिइएको थियो । तर यस्तो भइदियो कि, उपन्यासको कथा लेखिएको मितिको ४० वर्षपछि पनि उहीँ र उस्तै छ, जहाँको कथा लेखिएको थियो ।

दीलिप बान्तवा

अर्थात् उपन्यास तराईको कुनै देहाती गाउँको कथाको सेरोफेरोमा लेखिएको छ। जहाँ गाउँको शासक बनेर जिम्दार/जमिन्दार बसेका छन्। उनका वरिपरि प्रसस्तै उनका चाकडिबाजहरू छन्। गाउँमा रैतिहरूलाई कज्याउन उनले कुनै कसर बाँकी राखेका छैनन्। आकाशमा घाम जुन रहेसम्म आफ्नो अवस्था यस्तै हो भन्ने मानेर वा आफ्नो जुनि नै यस्तै हो भन्ने मान्यतामा रैतिहरू आनन्द मानेर बसेका छन्। अलिकति सयल वा आराम पाए भने उनीहरू आफ्नो बानी बिग्रीने डरले नियमित लयमै रहन रुचाउँछन्। यही पृष्ठभूमिमा सो गाउँमा भौगर्भिक उत्खननका लागि काठमाडौंले खटाएका ११ जना युवाहरू सरकारी कर्मचारिका रूपमा गाउँ पुग्छन्।

कोही कहिल्यै तराई नझरेका, कोही कहिल्यै गाउँ नटेकेका र कोही त कहिल्यै काठमाडौं नछोडेका ती युवाहरूले तराईको सो देहाती गाउँमा देखेका कुराहरूमा केन्द्रीत छ कथा। ती युवाहरूले बढी देखे मात्रै, किनकि त्यहाँका मान्छेहरूको नियतिमा उनीहरू मुकदर्शक मात्रै बनिरहेको देखिन्छ।

मध्य तराईको विरगञ्जमा जन्मिएका लेखकले त्यही भूगोलको कथालाई अत्यन्तै मार्मिक बान्कीमा प्रस्तुत गरेका छन्। कथोपकथनका साथै दृष्यहरूलाई बिम्बमार्फत प्रस्तुत गर्दा थप प्रभावपूर्ण बनेको छ।

कथा खासगरि दुई गाउँबिचको अन्तरविरोधमा केन्द्रित छ। धरमपुर र बिरहेनपुर-बरेवा । अन्तरविरोध पनि के भन्नू र ! बरू धरमपुरले अर्को गाउँलाई गरेको उत्पिडनको साक्षी हो यो उपन्यास।

यी दुई गाउँहरू शासक र शाषितका रूपमा रहेका छन्। यथार्थमा यस्तो छ कि बिरहेनपुर-बरेवा गाउँ औपचारिक/आधिकारिक/कानुनी रूपमा अस्तित्वमा छैन कैँयौँ वर्षदेखि। त्यहाँमा मानिसहरू अनागरिक भएरै बाँचिरहेका छन्। अर्थात यो कथा हाम्रो सिमानाका तमाम नागरिकहरूको वर्तमानको कथा हो भन्न सकिन्छ।

Land Swap हुनुअघि भारत-बंगलादेशको विवादित भूमिका नागरिकहरू वा भनौँ नेपालले हाल दाबी गरिरहेको लिम्पियाधुरा, लिपुलेकतिरका नागरिकहरूको स्थिति जस्तै । उल्लेखित ठाउँका नागरिकहरूको सामाजिक स्थिति र कानुनी अधिकारका कुराहरू कतिसम्म असान्दर्भिक हुन्छन/हुनसक्छन् भन्ने कुरा यो उपन्यासको कथाले प्रष्ट पारेको छ । अझ अर्को कुरा त धरमपुर गाउँ जो कानुनी रूपमा अस्तित्वमा छ उसले बिरहेनपुर गाउँलाई आफ्नो रैती ठान्छ । त्यहाँका घरहरूमा आगो झोस्न, लुटपाट मच्याउन वा जुनसुकै हदको अमानविय हर्कत गर्न धरमपुरबासीलाई छुट छ वा भनौँ त्यो उनीहरूको अधिकार हो।

बिरहेनपुरले कानुनी रूपमा आफ्नो अस्तित्व नै नभएपछि कहाँ गएर न्याय मागोस् ?  त्यसका लागि त्यहाँका मान्छेहरूलाई न त सोच्ने तागत नै छ न त फुर्सद र चेतना नै । बरू उनीहरू त दोर्हनतल पोखरीको गर्भमा भासिएको भनिएको अगणितीय धन प्राप्त गर्न लालयित देखिन्छन् | जसका बारे पुस्तान्तरित किंवदन्तिमा सुन्दै आईरहेका छन् र सोही धन प्राप्तिमा उनीहरू त्यो पोखरीमा डुबुल्की मार्न तम्सिन्छन् बरू ।

धरमपुरका जिम्दार विश्वनाथको नेतृत्वमा दबाइएको बिरहेनपुर-बरेवा गाउँमा आफ्नो वर्तमान नियतिभन्दा पर सोँच्ने अधिकार कसैलाई छैन। त्यसैको अपवादमा ईनरहवा, सुनरहवाहरू अगाडि आउँदा जिम्दारको निशानामा परे। समग्रमा गरिबी, अभाव, अशिक्षा, अन्धविस्वास संगसंगै गुमनाम बाँचिरहेको बिरहहेनपुर-बरेवा गाउँ एकदिन एक्कासी भौतिक रूपमै हराउँछ अर्थात भनौँ  भूगोल मात्रै बाँकी छोडेर त्यहाँका पशुतुल्य बाँचिरहेका मानिसहरू बेपत्ता हुन्छन्, वा पारिन्छन्? कथाले निस्कर्ष त दिएको छैन तर भौगर्भिक उत्खननका लागि गाउँ पुगेको टोलिले भने निस्कर्ष निकाल्छ कि संघर्ष नगर्नेहरू केवल नामेट मात्रै भइरहन्छन् | त्यसैले व्यवस्थित संघर्ष गर्नुपर्दछ।

चार दशकअघिको यो कथालाई आज पनि नेपालको नक्सामा राखेर हेर्ने हो भने फेरबदल भएको पाइन्न। चालीस वर्ष समय छोटो त हुँदै होइन। चीन, जापान, कोरिया वा थुप्रै समृद्ध मुलुकहरू चालीस वर्ष (सन् १९६० देखि २००० सम्म) कै अवधिमा अकल्पनीय बिकासको फड्को मार्न सफल भएको तस्विर हाम्रै सामुन्नेमा छ। तर हाम्रो स्थिति चालीस वर्षमा पनि उस्तै देखिन्छ।

किनभने यहाँ कैँयौँ धरमपुरहरूले बिरहेनपुर-बरेवाहरूलाई उस्तै गरी कज्याइरहेका छन् भने एउटा बिहेभोजमा गाईको मासु पकाएको अत्तु थापेर एक जना विरोधी मुसलमानलाई ठेगान लगाउने जिम्दार विश्वनाथको उत्तराधिकारीहरू सर्वात्रै देख्न सकिन्छ यतिखेर पनि। भूगोलमा बसेर पनि देशको नक्साभित्र परिचयबिहिन बाँचिरहेका गाउँहरू अनगिन्ती भेट्न सकिन्छ आज पनि।

ती ११ जना शिक्षित र सचेत युवाहरूले त्यो गाउँमा केही परिवर्तन ल्याउन सक्थे, जागरुक बनाउन सक्थे, तर कर्मचारीहरू आफूलाई तोकिएको कामबाहेक अन्य झमेलामा फँस्न चाहन्नथे | त्यो बेला भन्नू मात्रै होइन अहिले पनि यो प्रवृति त जिवितै छ। नत्र भने बिरहेनपुर-बरेवा किन परिचयबिहिन गाउँ भयो ? राष्ट्रियताबिहिन कसरी बनाइयो ? भन्ने कुराहरू पनि उत्खनन् गर्न सक्थे ती ११ जनाले र तिनको हैसियतले सो गाउँलाई परिचय दिलाउन नि सक्थे | तर एउटी बिरही महिलाले आफूमाथिको अत्याचार खप्न नसकी गाउँलाई सरापेको  आधारमा  परिचयबिहिन भएको किंवदन्तिमै ११ जनाले पनि सदर गरेको देखिन्छ ।

नेपाललाई सतिले सरापेको  किंवदन्ती सुनाएर हामी कहिल्यै पनि समृद्ध बन्न सक्दैनौँ भन्ने पौराणिक खालको मान्यता स्थापित गर्न खोजे जस्तै पुरै गाउँ नै आफ्नो दु:खको अन्त्यका लागि दोर्हन्तल पोखरीमा डुबेको अदृष्य-दृष्य स्वीकार गरिएको छ। अर्को कुरा मान्छेहरूमा चेतनाको जलपले मात्रै फरक देखिने हो, नत्र अन्तर्मनको मनोदशा भने उस्तै हुन्छ भन्ने तर्क पनि गर्न खोजिएको देखिन्छ । नत्र भने उत्खननका लागि आएक ११ जना युवाहरूमध्येका एक युवाले आफूलाई पनि दोर्हन्तलमा समाधिस्थ गर्नुपर्ने थिएन होला ।

भुपु जिम्दार वर्तमान प्रधानपञ्च बनेर गाउँको मुख्तियारी चलाए जस्तै हामी कहाँ पनि जिम्दारीप्रथाबाटै प्रधानपञ्चहरू बने, उनै जिम्दारहरू पञ्चायतपछि गाविस अध्यक्ष बने, आज तिनै गाउँपालिकाको हर्ताकर्ता भएका छन् । व्यक्ति फेरिए, पुस्ता फेरिए तर प्रवृति उस्तै छ। सत्तामा हुनेहरू आफूले प्रयोग गरेका मान्छेहरूको उपादेयता सकिएपछि तिनैलाई दुत्कार्छन् भन्ने पनि देखियो । जिम्दार विश्वनाथ कै निर्देशनमा आफ्नै विस्वासपात्रकी छोरीलाई बेपत्ता बनाइदिए। अहिले हाम्रोमा पनि त कञ्चनपुरकी निर्मला पन्त होऊन् वा भोजपुर प्याउलीका तीन जना बालबालिका होऊन् । तिनका अत्याचारिहरू कतै यतै घुमिरहेका होलान् तर तिनका परिवार आफ्नो ठेगानाबाट अन्तै सर्न बाध्य छन् | जसरी बिरहेनपुर-बरेवा आफूमाथिको अन्याय खप्न नसकेर कतै अलप भयो।

समग्रमा अलिखित त्यतिबेलादेखि यतिबेलासम्मका ती मानिसहरूको कहिल्यै नलेखिने दर्दको कथा हो ,जो मान्छे भएर मान्छे जस्तै जुनी बाँच्न पाएका छैनन् । र एउटा यस्तो दलिल पनि हो, जसले भन्छ, “जुनसुकै युग वा समयमा होस् वा व्यवस्थामा त्यहाँ जरुर शासक र शिषित वर्ग विद्यमान हुन्छ ।”

यो कुरालाई ती ११ जना भौगर्भिक उत्खननकर्ताहरूले भेटेका एउटै प्रयोजनका तर फरक फरक वर्गहरूले प्रयोग गर्ने वस्तुहरूबाट दर्शाउन खोजिएको छ।

 

प्रतिक्रिया
Loading...