जीवनको परिभाषा के हो ? यो प्रश्नको उत्तर हरेक मान्छेले आआफ्नै शैलीमा दिन सक्छन् । कसैले दुःखको पहाड नै जीवन हो भन्लान् । कसैले जीवन त खुसीको बहार हो भन्लान् । कसैले जीवन सुख र दुःखको च्यापबाट उम्रिएको रुख हो भन्लान् । तर, मलाई लाग्छ —जीवन सबैको एउटै खालको हुन नसक्नु नै यसको विशेषता हो ।
मान्छेहरूले आफ्ना छोराछोरीलाई कोही मान्छेको उदाहरण दिँदै त्यही मान्छेजस्तो हुनू भन्दै आशीर्वाद दिन्छन् । तर, तिमी तिम्रो आफ्नो परिचयमा रमाउन र बाँच्न सक्नू भनेर थोरैले मात्र आशीर्वाद दिन्छन् । मलाई मेरो बुबा र आमाले दिएको आशीर्वाद चाहिँ असल बन्नू भन्ने हुन्थ्यो । मलाई जीवनले सिकाएको कुरा नै आपूmमा खुला हृदय हुनु र इमानदार रहनु हो । म यही मार्गमा हिँडिरहेँ ।
प्रेम शाश्वत कुरा हो, मैले परिभाषा दिनु नै पर्दैन । प्रेमसम्बन्धी पनि धेरै मान्छेले आआफ्ना धारणा राखेका हुन्छन् । ती व्यक्तिपिच्छेका प्रेमसम्बन्धी धारणामा म सहीछाप गर्दिनँ । प्रेम त आपूmले अनुभूत गर्नुपर्ने कुरा हो । एउटा व्यक्तिले गरेको प्रेमको परिभाषा अर्को मान्छेको जीवनमा लागु नहुन पनि त सक्छ । गुरुप्रसाद मैनालीले लोग्नेस्वास्नीको झगडालाई परालोको आगो भनेर कथा लेखे तर इन्द्रबहादुर राईले लोग्नेस्वास्नीको झगडा परालको आगो मात्रै होइन यो त भुसको आगो पनि हो यसले विकराल रुप लिन्छ भनेर कठपुतलीको मन शीर्षकको कथा लेखे ।
प्रेम र विवाह फरक कुरा हुन् । विवाहको परिभाषा पनि सबैले आआफ्नै पारामा दिएका छन् । अरुले विवाहको परिभाषा जसरी बुझेका छन् मैले पनि त्यही बुझेको छु । मैले विवाह नगरी बस्ने सपना पनि देखेको थिएँ । साहित्यमै लाग्छु । कविता, गीत, मुक्तकमै म डुब्न चाहन्छु । एक्लो जीवन बिताउँछु भन्ने मेरो विचार थियो । नेपाली समाज र संस्कृतिलाई बोकेका कविताहरू लेख्छु । मेरो चाहना थियो— ‘मेरा कविता र गीतलाई सुन्ने वा पढ्ने मान्छेले आफ्नो अनुभूति प्राप्त गर्न सकुन् ।’ तर, हरेक मान्छेको जीवन निजी भए तापनि कति कुराहरू आपूmले सोचेर मात्र नहुँदो रहेछ जिन्दगीमा । गीत, कवितामा समाज र संस्कृतिको छाप भए जस्तै मान्छेमा पनि सामाजिक घेराले बाँधेको हुँदो रहेछ । मैले आपूmलाई समाजको अगाडि सामाजिक मान्छेको परिचयलाई प्रस्तुत गर्नका लागि आफ्नो निर्णयलाई तोडिदिएँ किनभने मान्छेको जन्म, विवाह र मृत्यु भनेका मान्छेका यिन्त्रणमा नहुँदा रहेछन् । विवाहको बन्धन मैले स्वीकार गरेँ ।
सत्र वर्षकै उमेरमा पनि मेरो घरमा मेरो विवाहको कुरा चलेको थियो तर त्यो प्रसङ्ग प्रसङ्गमा मात्रै सीमित रह्यो पूरा भएन । विवाह गर्न उमेर पुगेका केटा हुन् या केटी हुन् उनीहरूलाई अप्ठ्यारो परिरहन्छ । मान्छेहरूले बेलाबेलामा विवाहको कुरा निकालिदिन्छन् । किन विवाह नगरेको ? कोहीसँग सम्बन्ध पो छ कि ? आदि जस्ता साझा प्रश्न हुन्छन् विवाह गर्न उमेर पुगेका केटाकेटीका लागि । अझ विवाह गर्न केही ढिला हुनुपर्छ मान्छेले अनेक कुरा काट्न थाल्छन् । मलाई पनि त्यस्तै भएको थियो । साथीभाइ एवम् आफन्तले त यसले बिहे नगर्ने भयो भनेर ठोकुवा गरिसकेका थिए । साथी भाइहरूले त केके भनेर जिस्काउथे पनि ।
गीत, कविता अथवा साहित्यका अन्य विधा लेख्न मुड आउनु परे जस्तै विवाहका लागि पनि मुड नै चल्नुपर्ने रहेछ । मेरो जीवनमा पनि भयो त्यस्तै नै । यता गयो किन बिहे गरिनस् ? उता गयो किन बिहे गरिनस् ? यी प्रश्नहरूका साझा उत्तर मैले बिहे गरिदिनुसँग जोडिएका थिए । र, मैले आफैसँग निर्णय गरेँ— ‘म बिहे गर्छु ।’
मेरो निर्णय एक कान दुई कान मैदान भयो । आफन्त, साथीभाइ र घरपरिवारका लागि मेरो निर्णय खुसीको पहाड बन्यो । म ४६ वर्षमा बेहुलो बनेँ । मेरो विवाहमा खुसी हुने मेरी आमा हुनुन्थेन । उहाँ २०२६ सालमै परलोक भइसक्नु भएको थियो । मेरो विवाह राजविराजकी २६ वर्षीया भैरवी बस्नेतसँग भयो । मेरी मिससेकी फुपू मेरा मामाले विवाह गर्नु भएको हुनाले उनैसँग विवाहको कुरा चल्दै गयो । सामान्य चिना मिलाउने काम भयो । कुरा चलेको करिब डेड हप्तामा नै मेरो बिहे भयो । मेरी श्रीमती पनि शिक्षित छिन् । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आइए उत्तीर्ण गरेकी छन् । साहित्यका छोराछोरी जन्माइरहेको म र मेरी श्रीमतीले दुई छोरा रूपेन्द्र र रमेन्द्रका बाबुआमा हुने सौभाग्य प्राप्त ग¥यौँ ।
मेरी मिसेसले मेरो मनोविज्ञानलाई बुझेकी छिन् । विवाहपछि कति मान्छेको सम्बन्ध राम्रो नभएको मैले सुनेको छु । साहित्यमा लागेका मान्छेहरूको पनि सम्बन्ध बिग्रिएको मैले देखेको छु । यस्तो किन हुन्छ ? सायद भोग्नेहरूलाई सबै थाहा होला । मैले त विवाह नै बूढो भएपछि गरेँ तर हामी श्रीमान् र श्रीमतीमा कहिल्यै पनि नराम्रो भएको थाहा छैन । आपूm राम्रो सोचको भयो भने अरुले पनि त्यही राम्रो सोच राख्छन् । मनदेखि नै सकारात्मक भावना हुने हो भने सम्बन्ध दिगो हुन्छ । लेखन एउटा तर घरमा र घरका मान्छेसँग चाहिँ फरक व्यवहार भयो भने त्यहाँ समस्या उत्पन्न हुन्छ । मान्छेले आपूmलाई जब बिर्सिन्छन् तब सम्बन्धको अर्थ पनि बिर्सिन्छन् ।
मेरो जीवनमा श्रीमतीको आगमन भएपछि लेखनमा मैले कहिल्यै बन्दी भएको महसुस गर्नु नै परेन । मान्छेहरू भन्छन्— ‘बिहेपछि लेखन ठप्प भयो यार । घरायसी व्यवहारले म त बन्दी भएँ । अब लेख्न सक्दिनँ, कतै हिँडडुल गर्न सक्दिनँ ।’
मेरो हकमा यस्तो कहिल्यै भएन र हुँदैन पनि । घरको वातावरण त आपूmले पोे बनाउने हो त । वैवाहिक जीवनको कुरामा भने म भाग्यमानी छु । मैले के लेख्छु भनेर मेरी श्रीमतीले विचार गर्छिन् । कोही कसैको बानी घरमा आएका श्रीमान्का साथीभाइलाई सम्मान नगर्ने हुन्छ । तर मैले मेरी श्रीमतीमा यस्तो कहिल्यै देखेको छुइनँ । घरमा आएका मेरा साहित्यिक मित्रहरूलाई सधैँ हाँसेर स्वागत गर्छिन् । चिया, खाजा दिनका लागि उनले कहिल्यै झन्झट मानिनन् । श्रीमतीको प्रशंसा गरेको होइन मैले यथार्थ बोलेको हुँ । वास्तवमा म बिहे गरेपछि झनै स्वतन्त्र भएको छु ।
एक पटक टेलिभिजनको अन्तर्वार्तामा सञ्चारकर्मी नरेश भट्टराईले सोधेका थिए— ‘भाउजूको यादमा अथवा भाउजूलाई हेरेर कति रचना गर्नु भयो ?’
मैले हाँसेर उत्तर दिएको थिएँ— ‘मेरी मिसेसलाई हेरेर तिमी आहा क्या राम्री छौ, तिमी यस्ती राम्री, उस्ती राम्री छौ भन्दै गीत, कविता र मुक्तक मैले लेखेको छैन । अझै भनौँ न, मेरी मिसेसको प्रशंसा गर्दै लेख्ने चेष्टा नै गरिनँ । हुन त मान्छेले यसरी पनि आफ्ना सिर्जना त गर्छन् । रूप, शरीरको प्रशंसा गरेर कविता, गीत पनि लेख्छन् । मैले त्यसरी लेखेँ भने त्यो मेरो मात्र कुण्ठा होला, अरूलाई मन नपर्न सक्छ । साहित्य भन्ने कुरा त लेखकले लेखेपछि पढ्ने पाठकले पनि त्यहाँ आपूmलाई पाउन सकून् भन्ने मेरो अभिमत हुन्छ । आफ्नी मिसेसको प्रशंसा र माया त मनमा नै भइहाल्छ नि । म कल्पनाको शक्तिलाई यथार्थसँग ढाल्न चाहन्छु । मिसेसलाई पनि मेरो कल्पनाशक्ति नै मन पर्छ । उनको चाहना पनि मेरो श्रीमानले आफ्ना साहित्यिक रचनामा मेरो बारेमा लेखिदिनुहोस् भन्ने नै छैन ।’
मेरी मिसेसलाई पनि मसँगै राखेर गरेको अन्तर्वार्तामा नरेशले मेरो कल्पनाशक्तिको तारिफ गर्दैमेरी मिसेससँग प्रश्न साधेका थिए यसरी —
‘भाउजू, रत्न दाइ कवितामा हार्ड, गीतमा एकदमै सफ्ट हुनुहुन्छ तर तपाईँसँग चाहिँ कस्तो हुनुहुन्छ ? यति ठूलो साहित्यकर्मीको जीवन चाहिँ कस्तो छ ?’
मेरी मिसेसले पनि हाँसेर यसरी उत्तर दिएकी थिइन्—‘उहाँ लेखनमै व्यस्त रहनु हुन्छ । घर मैले चलाएकी छु । उहाँको लेखनमा मैले कहिल्यै पनि बाधा गरेकी छुइनँ । मलाई थाहा छ उहाँ लेख्नकै लागि जन्मिनु भएको हो । उहाँको परिचय पनि लेखनमै छ । उहाँले लेखेका गीत, कविता एवम् मुक्तहरू मलाई सुनाउनुहुन्छ । मलाई पनि सुनेर आनन्द लाग्छ । उहाँ एउटै शब्दका लागि धेरै समय घोटिइरहनु हुन्छ । चार, पाँच वटा डाइरी अगाडि हुन्छन्, तिनैमा घोत्लिइरहनु हुन्छ । यहाँनेर मिलेन, त्यहाँनेर मिलेन भनेर एकोहोरो रूपमा लागेको देखेर मलाई यो साहित्यमा कलम चलाउन कठिन हुँदो रहेछ भन्ने लाग्छ ।
उहाँका रोमाण्टिक गीतहरू मलाई ज्यादै मनपर्छ । म कहिलेकाहीँ उहाँलाई प्रश्न पनि सेध्ने गर्छु—‘तपाईँले यति राम्राराम्रा रोमाण्टिक गीत लेख्नु भएको छ । म तपाईँको जीवनमा आउनु भन्दा पहिले तपाईँको कुनै केटीहरूसँग सम्बन्ध चाहिँ थिएन ?’ उहाँ हाँस्दै भन्नु हुन्छ— ‘हत्केलामा गीत लेखिदिनू भनेर आउनेहरू त कति थिए कति । तर म लभ गर्दै हिँडिनँ ।’ वास्तवमा उहाँले भने अनुसार उहाँलाई प्रेमप्रस्ताव राख्ने केटीहरू धेरै थिए रे । तर उहाँको बानी नै फरक खालको छ । केटीहरू घुमाउँदै समय काट्ने उहाँसँग फुर्सद नै भएन । केटीहरूले पठाएका प्रेमप्रस्ताव उहाँका लागि महत्त्वको विषय नै भएनन् । फेरि उहाँको स्वभाव कडा खालको छ । बिहे भएको यत्रो वर्ष भइसक्दा पनि यस्ता केटीहरूको विषयमा मैले कुनै शङ्का गर्नै परेन । साँच्चै भन्नु पर्दा उहाँको चरित्रमा प्रश्न गर्ने ठाउँ छैन । उहाँ चोखो मान्छे हुनुहुन्छ उहाँकै गीतजस्तै ।
लेखन उहाँको आत्मसन्तुष्टि हो, चित्त बुझाउने ठाउँ पनि हो । उहाँलाई परिवार र साहित्यमा एउटा रोज्नु प¥यो भने कुन रोज्नु हुन्छ भनेर प्रश्न सोध्ने हो भने उहाँले परिवार होइन साहित्य नै रोज्नु हुन्छ किनभने साहित्यको क्षेत्रमा उहाँले धेरै कुरा भोगिसक्नु भएको छ र लेखिसक्नु भएको छ । दुनियाँले रत्नशमशेर थापा भनेर चिन्छन् । यो परिचय स्थापित गर्नका लागि सानोतिनो मेहेनतले त काम गर्दैन । उहाँको चर्चा, नाम अनि जुन ख्याति छ त्यो कुरा नै मेरो लागि सन्तुष्टिको कुरा हो ।
उहाँका साथीहरू सबै पियक्कड हुनुहुन्थ्यो रे । भूपी शेरचन र नारायणगोपालको बारेमा उहाँले सधैँ कुरा गर्नु हुन्छ । उहाँले भनेको सुन्दा त म छक्क पर्छु । भूपी शेरचन र नारायणगोपालसँगै हिँड्दा, बस्दा उहाँले कहिल्यै पिउनु भएनछ । उहाँले यो रक्सी भन्ने कुरा पिउन सिक्नु नै भएन । उहाँको राम्रो बानी भनेको हरेक कुरालाई मनले नै कन्ट्रोल गर्न सक्नु हुन्छ । यदि कन्ट्रोल नगर्ने हो भने त्यो अल्लारे बेलामा साथीहरूको लहैलहैमा लागेर जाँड रक्सी पिउनु पर्ने हो नि तर उहाँ गर्न नहुने र खान नहुने कुराबाट टाढै रहनु हुन्छ । यो कुरामा म एकदमै भाग्यमानी छु । चुरोट चाहिँ पिउने उहाँको आदत छ । तर, खास चुरोटले उहाँलाई असर गरेको छैन । जाँड रक्सी नखाएकै कारण उहाँ आजसम्म पनि निरोगी जीवन बाँचिरहनु भएको छ । उहाँ घुम्न जान भन्दा पनि घरैमा बसेर पढ्न र लेख्न रुचाउनु हुन्छ । उहाँको चाहना र इच्छा विपरीत गएर म घुम्न जाऔँ पनि भन्दिनँ । कसैको भोज एवम् निम्तो मान्न चाहिँ हामी जान्छौँ । उहाँ आस्तिक हुनुन्छ, धर्मकर्म पनि गर्नुहुन्छ तर हरेक दिन मन्दिर जाने, धर्मकर्मका नाममा तडकभडक उहाँ कहिल्यै गर्न चाहनु हुन्न । धर्मकर्म भनेको पवित्र मनले पो गनु पर्छ त भन्ने उहाँको विचार छ ।‘
हो म यस्तै समयको बाटो हिँडिरहेको छु । हरेक बिहान उदाएको घाम हेर्दा बढ्ने खुसीको क्षेत्रफल घाम अस्ताउँदा, डरले खुम्चिन थालेको छ अचेल ।
(थापाको प्रकाशोन्मुख संस्मरण “घुम्तीमा नआऊ है” बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।