प्लेनबाट जेट ब्रिज (सुरूङजस्तो पुल) हुँदै एयरपोर्ट परिसरभित्र छिर्दा त मात्मा हतप्रभ भयो । त्यही स्थिति थियो पुण्यप्रसादको पनि । “म पछिल्लो पटक काठमाडौँ आउँदाको एयरपोर्ट र अहिले आउँदाकोमा कुनै समानता देखिएन । ल, खुल्ला आकाशमा झर्नुपरेन, बसमा पनि चढ्नुपरेन,” मात्माले ट्वाँ पर्दै भन्यो । हो नि भन्दै पुण्यप्रसादले समेत समर्थन जनाए ।
चारैतिर पल्याकपुलक मुन्टो घुमाउँदै आँखा चाक्लो पार्दै पुण्यप्रसाद बरबराउन थाले– बाप रे ! एम्स्टर्डम एयरपोर्टजतिकै विशाल रहेछ यो एयरपोर्ट । चारैतिर झिलिमिली । यात्रीहरूको भीडभाड पनि उत्तिकै । भौतिक संरचना त झनै अकल्पनीय ! काठमाडौँ हवाईअड्डा त हुनै सक्तैन । कहाँ स्कटलैन्डको चिटिक्क प्याकिङ गरिएको वाइन र कहाँ पुनः प्रयोग गरिएको पुरानो बोतलमा बिहारी ठर्रा ।”
“मोराहरूले नेपालको एयरपोर्टमा अवतरण गर्न ठाउँ नपाएर कलकत्तातिर ल्याएर झारेका हुन् कि क्या हो ?” पुण्यप्रसादले शङ्का जाहेर गरे । दुवैजना अताल्लिएर दायाँबायाँ हेर्न थाले । हडबडाउँदै सँगैको एकजना युवा यात्रीलाई पुण्यप्रसादले सोधे– “ऐ भइया ! हमनी के पिलेन कौन से कन्ट्रीमा लैन्ड किया है ? ई नेपाले के ही एयरपोर्टवा ह नु ?”
यात्री त आँखा तरेर उनलाई हेर्न थाल्यो, मानौँ उसलाई गिज्याउन खोज्दै छन् । बरबराउँदै ऊ लुइँलुइँ अगाडि बढ्यो ।
मात्मा पनि आश्वस्त थिएन । ठ्याक्क उसका आँखा अम्बानी एन्ड ग्याङसित जुधे । पछिपछि उनीहरू पनि आउँदै थिए । मन नलागे पनि ऊ सोध्न बाध्य भयो, “अम्बानी ! इज इट काठमाडौँ एयरपोर्ट ?”
“होइन मित्र, यो निजगढ एयरपोर्ट हो । तिमीहरू धेरै दिनपछि नेपाल आएजस्ता छौ । अचेल समुद्रपारिका सबै प्लेन काठमाडौँ नगएर निजगढ एयरपोर्टमै अवतरण गर्छन् । केही वर्षमात्र भएको छ, यो एयरपोर्ट सुरू भएको ।”
दुवैजना रनभुल्लमा परे । “लौ मार्यो, त्यसोभए काठमाडौँ पुग्न के गर्नुपर्ला ?” पुण्यप्रसादले सुधो मुहार लाउँदै सोधे ।
“डोन्ट वरी मित्र, किङ अम्बानी इज हियर,” अम्बानीले मात्माको कुममा हात राख्तै आश्वस्त गर्न खोज्यो । उसको आँखामा अंशमात्रको धुर्त्याइँ देखिएन ।
उनीहरू अम्बानी एन्ड ग्याङको पछिपछि लागे । अध्यागमन विभाग (इमिग्रेसन लबी) लेखिएको एक विशाल कक्ष थियो । कक्षमा सयौँ बन्द ढोकाहरू थिए । प्रत्येक ढोकाको छेउमा कम्प्युटर राखिएका थिए । यात्रीहरू तिनै कम्प्युटरअगाडि पुगेर कुन्नि कुनकुन बटन थिच्थे, छेउको गेट खुल्थ्यो र उनीहरू लुइँलुइँ बाहिरिँदै थिए ।
“लौ मार्यो, हामीले आगमन फारम कता पाउने हो ? फारम राखिएको कतै देखिएन । अध्यागमन फाँट अथवा फाँटमा बस्ने अधिकारी पनि कतै देखिएनन् । अब के गर्ने हो ?” मात्माका आँखा पुण्यप्रसादतिर फर्किए ।
पुण्यप्रसाद त झनै चिन्तित थिए– “डियर, यस्तो कम्प्युटराइज्ड मेकानिज्मबारे त मलाई केही ज्ञान छैन ।”
उनीहरू अलमलिएको देखेर अम्बानीले भन्यो– “तपाईंहरू किन अलमलिनुभएको ? लाइनमा लागेर कुनै एउटा कम्प्युटरसम्म पुग्नोस् न । कम्प्युटरमा आफ्नो पासपोर्ट नम्बरमात्र भर्नुपर्छ, अन्य कुरो कम्प्युटर आफैँले गर्नेछ ।”
यसो भन्दै अम्बानीले मात्मातिर फर्किँदै झटारो हान्यो– “मात्मा, तिमी त पढेलेखेका नागरिक हौ, तिमी पनि अलमलिन्छौ भने हामी नेपालीको खै के गति हुने हो !”

गणेशप्रसाद लाठ

मात्मा त अक्क न बक्क भएको थियो । “हरे, उल्टोपल्टो हानियो भने लफडामा फसिन्छ कि ?” उसको ढुकढुकी बढेको थियो । तर अम्बानीलाई केही भनेन । आफ्नो दुर्बलता अरूका अगाडि किन उजागर गर्नुपर्यो ?
आफूहरू कम्प्युटरसम्म पुग्दापुग्दै आफूभन्दा अघिका यात्रीहरूको कामकार्बाही नियाल्दानियाल्दै उसले थुप्रै कुरा बुझिसकेको थियो । उसले पुण्यप्रसादलाई साउती गर्यो– “ए ! कुरा बुझेँ मैले, यी कम्प्युटरले नै इमिग्रेसन अफिसरको काम गर्दा रहेछन् । पासपोर्ट नम्बर भर्नेबित्तिकै कम्प्युटरको स्क्रिनमा सम्बन्धित यात्रीको फोटो, भिजा विवरण प्रकट हुँदोरहेछ । सम्बन्धित यात्रीले कम्प्युटरमास्तिर राखिएको सूक्ष्म स्केनरसित आँखा गडाउनुपर्दो रहेछ । कम्प्युटरले आँखाको रैटिना जाँच्दोरहेछ । आफ्ना दसै औँलाको छाप दिनुपर्दो रहेछ । सबैथोक ठीक छ भने छेउको गेट स्वतः खुल्दो रहेछ ।”
“क्या गजब । यस्तो टेक्नोलोजी त हाम्रो जेएपी एयरपोर्टमा त थिएन,” पुण्यप्रसादले मात्मातिर हेरेर अचम्म मान्दै भने ।
“खै के हो, के हो ? पप्पा त हरबखत एउटै रटान गर्थे– नेपाल गरिब मुलुक हो । खत्तम छ,” मात्माले अनौठो मुख बनाउँदै भन्यो ।
पुण्यप्रसादको ध्यान कम्प्युटर स्क्रिनको एक कुनामा गयो । “नेपाली आप्रवासी सङ्घबाट उपहारस्वरूप प्रदान” भनेर स्टिकर टाँस गरिएको थियो । यी कम्प्युटरहरू दानमा आएका हुन् भनेर उनले बुझे, तर केही भनेनन् ।
अध्यागमनको औपचारिकतापश्चात् उनीहरू झिटीगुन्टा सङ्कलन गर्ने क्षेत्रमा पुगे । त्यहाँ दुई दर्जनभन्दा बढी बैगेज कन्भेयरहरू लहरैसित जडान भएका देखिए । “ठम्याउनै नसक्ने गरी विशाल नै रहेछ, यो नयाँ एयरपोर्टको बैगेज क्लेम एरिया पनि,” बर्बराउँदै पुण्यप्रसाद दायाँबायाँ हेर्न थाले ।
अलि पर बैगेज कन्भेयर नम्बर २१ निर अम्बानी देखा पर्यो । उनीहरूले कुरा बुझिहाले । हस्याङफस्याङ गर्दै अम्बानी नजिक पुग्यो । “कहाँ अड्किनुभएको तपाईँहरू ? आधीभन्दा बढी यात्रीले आफ्नो झिटीगुन्टा बोकेर हिँडिसके,” अम्बानीले हाँस्तै भन्यो ।
“होइन, हामी त हिँड्याहिँड्यै छौँ, एकछिनका लागि बाथरूममात्र पसेका थियौँ,” पुण्यप्रसादले आफ्नो कमजोरी लुकाउँदै मुख खोले ।
‘छ्या, मैले यो अम्बानीलाई सुरूसुरूमा भेट्दा ठग हो भनेर शङ्का गरेको थिएँ, मोरो त सहयोगी नै रहेछ,’ मात्माको मनमा ग्लानिभाव उब्ज्यो । आफ्नो ग्लानिभावको भर्पाई गर्ने अभिप्रायले उसले अचम्म मानेजस्तो मुख बनाउँदै भन्यो– “अम्बानी ! यसभन्दा अघि म आफ्ना बा–आमासँगै काठमाडौँ आउँदा त एयरपोर्टमा आफ्नो लगेज पाउन घण्टौँ कुर्नुपरेको थियो । यहाँ त लगेज पो यात्रीलाई कुरेर बसेका छन् ।”
“अले, त्यो काठमाडौँ एअरपोर्टको कथा हो, यहाँको होइन । उहिलेका कुला खुइलिए । तपाईँ यतिखेल नयाँ नेपालमा हुनुहुन्छ,” धमिराले मुस्काउँदै सम्झाउने प्रयास गर्यो ।
नजिकै ट्रलीहरू लामबद्ध गरेर राखिएका थिए । मात्माले झिटीगुन्टा हाते ट्रलीमा राखेर ट्रली धकेल्न खोज्यो । “अरे, यो धकेलुवा गाडी होइन, बटन थिचेपछि आफैँ गुड्न थाल्छ,” धमिराले जानकारी गरायो– “यता हैन्डलमा भएको यो बटन तपाईँले थिचे पुग्छ । टल्ली बिस्तारै गुड्न थाल्छ । जहाँ लैजाने हो, त्यतातिल हैन्डल घुमाउँदै जानोस् ।”
“पैदल हिँड्ने मन छैन भने पनि टल्लीको फेदतिल हेल्नोस् नि । एकजना मान्छे उभ्न सक्ने प्लेटफल्म उल्टो पालेल ठड्याइएको छ । त्यसलाई घोप्ट्याउनोस्, त्यसैउपल उभिन पनि सक्नुहुन्छ । यो टल्ली बडो दमदाल छ, यात्रु ल समान दुवैलाई समेत गुडाउँदै लैजान सक्छ,” धमिराले खित्त हाँस्तै तोते स्वरमा थप जानकारी दियो ।
मात्माले ट्रलीको प्लेटफर्मलाई ठीक पारेर हैन्डलमा जडित बटन थिच्यो । ट्रली साँच्चिकै सामान्य गतिमा गुड्न थाल्यो । बटनबाट हात हटाउनेबित्तिकै ट्रली टक्क रोकियो । क्या गजब, यस्तो बैट्री–अपरेटेड ट्रली त मैले सानफ्रान्सिस्कोमा पनि देखिनँ,” पुण्यप्रसादले हर्ष प्रकट गरे ।
“नेपाल अविकसित मुलुकहरूको क्लबमा सबैभन्दा जेठो देश हो, भन्छन् सबैजना । कुन्नि मैले त बुझ्न सकिनँ, कस्तो गरिब देश हो नेपाल ?” अचम्म मानेजस्तो मुख बनाउँदै मात्माले भन्यो ।
पुण्यप्रसादका आँखा ट्रलीको हेन्डलमा लेखिएका शब्दमा टिकेका थिए– “मित्रराष्ट्र जापानबाट सप्रेम उपहार प्राप्त ।” उनले यसपटक पनि मुख थुनेका थिए, तर लेखिएका शब्दबाट आँखा हटाउन सकेका थिएनन् । धमिराले उनको मन ठम्याइसकेको रहेछ । “दाजु, हाम्लो देश दानदातव्यबाट चल्ने देश हो । तल यसपटक जापानीहलुले साल्है कन्जुस्याइँ गले, टल्ली त दिए, तल गुडाइदिने मान्छे दिएनन्,” उसले हाँस्तै तोते गुनासो पोख्न पनि भ्यायो ।
बाहिरी गेटतिर हिँड्दै गर्दा एक कुनामा बाक्लै भीडभाड देखियो । उदास, क्लान्त अनुहार भएका मानिसहरूको भीडभाड । माथि भित्तामा बोर्ड झुन्ड्याइएको थियो– डेड बडी कलेक्सन काउन्टर, शव सङ्कलन स्थल ।
“यो कस्तो खाले काउन्टर हो ?” मात्माले अचम्म मान्दै सोध्यो ।
“सुनौलो भविष्यको खोजीमा बिदेसिएका तर स्वयम् नै अतीतको पोको भएर कफिनमा फर्किएकाहरूको सङ्कलन काउन्टर हो । दिनहुँ दर्जनजति कफिन आउँछन्, आफन्तहरू रीतपूर्वक टैक्स बुझाएर लैजान्छन् । भीडभाड तिनै आफन्तहरूको हो,” फिस्स हाँस्तै अम्बानीले जवाफ फर्कायो । उसको हाँसोमा अनौठो तिक्तता थियो ।
“अरे, लाश बुझ्न पनि टैक्स तिर्नुपर्ने ?” पुण्यप्रसादले आँखा चाक्ला पार्दै सोधे ।
“टैक्स त तिर्नैपर्छ नि, सर । अन्यथा यो देश कसरी चल्नु ? नागरिक जीवित होस् अथवा मुर्दा, टैक्स तिर्नु हरेक नागरिकको कर्तव्य होइन र ? प्रत्येक कफिनको धेरै होइन, एक हजार डलर त हो । एउटै परिवारको एकभन्दा बढी कफिन छ, भने पच्चीस प्रतिशत छुट पनि छ,” अम्बानीले सम्झाउने प्रयास गर्यो ।
मात्मा र पुण्यप्रसाद हतप्रभ भई त्यही काउन्टरतिर घोरिएर हेरिरहे । धमिराले मुख खोल्यो– “हाम्लो सल्काल साल्है उदाल छ । विदेशबाट अङ्गभङ्ग भएल फल्किएकाहलुसित कुनै पनि पल्कालको टैक्स लिँदैन, शतपल्तिशत छुट ।”
मात्माले मनको हुटहुटी थाम्न सकेन, “बाफ रे ! यो अलि अनौठो भएन ?”
धमिराले हाँस्दै फर्कायो, “केको अनौठो हुनु हजुल ? केही सालअघिसम्म कफिनमा कुनै टैक्स थिएन, बलु कफिनमा आउनेहलुको पलिवाललाई आल्थिक सहयोग पनि दिइन्थ्यो । पछिपछि सल्कालको उदाल्ताको दुलुपयोग हुन थाल्यो, कफिनको गन्ती जथाभावी बढ्न थाल्यो । अनि सल्कालले पनि के गलोस् ल ?” मात्मा थप बहस गर्न चाहेन, केही नभन्दै अगाडि बढ्यो ।
“तिमीहरू, काठमाडौँ रेलमा जाने हो कि सटल बसमा अथवा टैक्सीमा ?” अम्बानीले हिँड्दाहिँड्दै सोध्यो ।
“खै, हामीलाई त खास ज्ञान भएन, वी आर फस्ट टाइम इन दिस एयरपोर्ट । सस्तो र सुन्दर र आरामदायी जुन हुन्छ, त्यसैमा जाने,” मात्माले सुधो मुख लाउँदै फर्कायो ।
“त्यसोभए ट्रेन नै ठीक हुन्छ । तिमीले भनेजस्तो त हुने नै भयो, चाँडै पनि पुगिन्छ,” अम्बानीले दाहिने हातको औँठालाई थम्स अपको मुद्रा दिँदै निर्णायक स्वरमा भन्यो ।
उनीहरू ट्रलीसहित विशाल लिफ्टमा पसे । एउटा लिफ्ट थियो र ! लहरै चारवटा थिए । जसले जुन लिफ्टमा ठाउँ पाए त्यसैमा पसेका थिए । लिफ्टभित्र समेत चिल्लो स्टिलको प्लेटमा कुँदिएको थियो– ‘मित्रराष्ट्र दक्षिण कोरियाबाट उपहारस्वरूप प्राप्त ।’ पुण्यप्रसाद लेखिएको पढेर मुस्काए, तर मुखले केही भनेनन् ।
भुइँतल्लामा पुगेर उनीहरूले हाते ट्रली त्यागेर बैट्री कारमा चढ्नुपर्ने भयो । रेलवे स्टेसन पुग्न दस मिनेट पनि लागेन । अम्बानी, “ल मात्मा, झिक त बीस हजार रूपियाँ ।”
मात्मा छक्क पर्यो । उसले भन्यो, “केका लागि ?”
अम्बानीले भन्यो, “तिमीहरू दुवैजना जाने होइन काठमाडौँ ?”
“बाप रे ! त्यहीँ काठमाडौँ पुग्न एक जनालाई दस हजार रूपियाँ ? मेरो पालामा वीरगन्जबाट काठमाडौँ गइयो भने एक सय लाग्थ्यो, अहिले पाँच सयभन्दा बढी लाग्नु नपर्ने ।” पुण्यप्रसादले हत्तपत्त यसो भन्दा अम्बानीले आफ्नो हाँसो रोक्न सकेन ।
“दाजु ! तपाईंले कुन इतिहासको कुरा गर्नुभएको ? उहिलेका कुरा खुइलिएको छ कहिले हो कहिले ! आजको जमानामा सय रूपियाँमा फुटपाथे चिया पनि पाइँदैन । चियाको के कुरा गर्नु, सडकमा बसेर माग्नेले पनि सय रूपियाँ लिन मान्दैन । तपाईँहरू सटल बसमा जाने हो भने चार हजार मात्र लाग्छ तर समय दोब्बर लाग्छ । टैक्सी त झनै महँगो छ, कम्तीमा चालीस हजार तिर्नुपर्छ । तपाईँहरू विदेशी पासपोर्टधारी पर्नुभयो, अन्यथा भ्याट र सेवा शुल्क पनि जोडिन्थ्यो,” अम्बानीले हाँसो रोक्दै भन्यो ।
“स्विमिङ पुलमा छिरिसकेपछि पानीसित डराएर भएन,” मात्माले मुख बिच्क्याउँदै एक डलरबराबर नेपाली रूपियाँ दुई सयको हिसाब लगाउँदै दुई सय डलर बुझायो । टिकट भेन्डिङ मेसिनमा अम्बानीले दुई सय डलर छिराएर कुन्नि कुनकुन बटन थिच्यो, दुईटा टिकट लिपिस्टिक क्रिम पाउडर लगाएर फुत्त बाहिर आए ।
“लौ, हजुर, अतिथिहरूका टिकट त भए । हामी पनि लाग्छौँ आफ्नो बाटो,” भन्दै बिदा माग्ने अभिप्रायले अम्बानीले दुवै हात जोर्यो ।
“किन ? तिमी हामीसँगै जाने हैन र ?” पुण्यप्रसादले अचम्म मान्दै सोधे ।
“होइन दाजु, हामी सडक बाटोबाट जाने । उतैबाट गाडी आएको छ,” हात जोड्दै अम्बानी उल्टो दिशातिर हिँड्यो । केही सेकेन्डमै ऊ पुनः फर्कियो । “ल ! मैले त तिमीहरूलाई मेरो फोन नम्बर दिनै बिर्सिएँछु । नेपालमा कुनै काम परे मलाई सम्झनू,” भन्दै उसले आफ्नो भिजिटिङ कार्ड दुवैजनातिर अगाडि बढायो ।
नेपाली कागजमा बनाइएको कार्डको रङरूप आकर्षक थियो । नामः अम्बानी नेपाली, जी.एम., पुण्यपवित्र निर्माण कम्पनी प्रा.लि. भनेर लेखिएको थियो । फोन नम्बर र इमेल आइडी त हुने नै भए ।
“वाओ, तिमी त ठूलो मान्छे रहेछौ । तिम्रो विषयमा मैले अनाहकमै न्यून मूल्याङ्कन गरेछु,” मात्माले प्रसन्नता व्यक्त गर्दै भन्यो ।
अम्बानी लजायो ।
“बिचराहरूलाई के थाहा यो कार्ड त फगत हात्तीको देखाउने दाँतजस्तै हो,” मनमनै गम्यो उसले ।
“केको ठूलो मान्छे हुनु ! सप्पै ईश्वरको कृपा हो,” हाँस्तै जबाफ फर्कायो अम्बानीले ।
लगत्तै पुण्यप्रसादले समेत आफ्नो भिजिटिङ कार्ड अम्बानी र धमिरालाई दिँदै भने– “मित्र धमिरा, ए सरी धर्मराज ! खै, तिम्रो सम्पर्कसूत्र त मैले पाइनँ नि ।” धमिराले पाकेट छाम्दै भन्यो– “खै, मेलो काल्ड त सकिसक्याजस्तो छ, अम्बानीकै काल्डमा मेलो मोबाइल नम्बल टिप्नू नि ।” कार्डको हैसियत नभएको धमिराले झुटो बोलेर आफ्नो इज्जत जोगायो ।
“अनि सबैको सम्पर्कसूत्र माग्ने, आफ्नो चाहिँ लुकाएर राख्ने ?” अम्बानीले झटारो हान्यो ।
“ए हे, अँ त नि ! झन्नै भुलेको !” मात्माले हाँस्तै फर्कायो ।
“पेपर कार्ड त मैले बनाएको छैन । बरू तिमीले मेरो क्युआर कोड स्क्यान गरे हुन्थ्यो नि । फोन नम्बर सुरिनामी हो, तर नेपालमा समेत मज्जाले काम गर्छ । केही गरी सम्पर्क भएन भने ह्वाट्सअपमा मैसेज गर्नु, म फोन फर्काइहाल्छु । अमेरिकातिर आयौ भने सुरिनाम पनि छिर्नु है ?” यति भन्दै मात्मा आफ्नो मोबाइलको स्क्रिन चलाउन थाल्यो ।