साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘प्रपञ्च’ किन लेखेँ ?

 

प्रकाश कोइराला

जनकपुरको बसाई, उखरमाउलो गर्मी । वि. सं. २०६५/०१/३० मा ‘आरुआरती’ खण्डकाव्य लोकार्पणपश्चात् गोरखापत्र राष्ट्रिय दैनिकमा समाचार आएपछिको उत्साह। बिहान र दिउँसो बोर्डिङ स्कूलहरूमा नेपाली, गणित र विज्ञान जुन विषय मिल्छ त्यही पढाउँदै पेटको जोहो गरिरहेको अवस्था। साथै, औपचारिक अध्ययनको लागि चर्को संघर्षको उस्तै अवस्था ।
यतिकैमा एकदिन रा. रा. ब. क्याम्पस, नेपाली विभाग प्रमुख स्थिरप्रसाद पराजुली गुरुले भन्नुभो, “महान् कवि पछि बन्दै गर्नू, उपन्यास लेख । काठमाडौँका प्रकाशकले छापिदिनेछन् र पकेट खर्च पनि दिनेछन् ।”
वश मेरो मनमा भूत चढ्यो, उपन्यास लेख्ने । लेख्ने त लेख्ने के, लेख्ने र कसरी लेख्ने भन्नेबारे मनमा अनेक मन्थनपश्चात् अठोट गरेँ– उपन्यासभित्र उपन्यास शैलीको उपन्यास लेख्ने । वृत्ताकारीय शैलीमा लेख्ने । आफ्नै जनकपुर अञ्चलभित्रका कथा लेख्ने । मेरो पहिलो छनोटमा रामेछाप जिल्ला पर्यो ।
रामेछाप जिल्लाको ऐतिहासिक, सामाजिक परिवेशबारे अध्ययन र सोधखोज गरेँ । वास्तविक जीवनका पात्रहरूबारे खोज गरेँ । प्रेम गरेको अपराधमा गाउँबाट विस्थापित बन्न बाध्य भएर मधेस झरेका जोडीहरूको कथाले मेरो मनमा चस्स छोयो । यसरी उपन्यासभित्र आधा कथा रामेछाप र सिन्धुली जिल्लाका छन् भने आधा कथा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका समावेश छन् । पञ्चायतकाल, बहुदल, सशस्त्र द्वन्द्वकाल, मधेस आन्दोलन र गणतन्त्रसम्मको कथानकलाई कथाभित्र कथा भन्दै पूरा गरेँ । सामाजिक यथार्थवाद, विसंगतिवाद, अस्तित्ववाद, सामाजिक मनोवैज्ञानिक यथार्थवाद र फ्रायडवादी यौन मनोविज्ञानको फ्लेभरमा भनिएका उपन्यासभित्रका पाठकहरूका जीवन संघर्ष समेटिएको घटना प्रधान उपन्यास तयार भो २०६६ सालभित्र तर जनकपुर बसेर उपन्यास छाप्ने बाटोप्रति म अनभिज्ञ थिएँ ।
वि. सं. २०७१ मा म काठमाडौँ बस्न आएँ । विद्यालय स्तरका मेरा गुरु राजेश थापाले उपन्यासको पाण्डुलिपि पढिसकेपछि भन्नुभो, “इतिहास धेरै समेटिएको छ तर नयाँ इतिहास पनि त होइन यो । कथा र शैली शिल्प राम्रो भए पनि इतिहासको वर्णनलाई धेरै नै छोट्याउनुपर्छ ।”
हो, यही बिन्दुबाट प्रपञ्च पुनर्लेखनको थालनी शुरुभो । वि. सं. २०७२ मा आर्थिक जोहो गर्न विज्ञान शिक्षक बनेर धादिङ पुगेँ । अध्ययनको भोक ज्यूँका त्यूँ थियो । जागिर छोडेर २०७३ मा पुनः काठमाडौँ फर्किएँ र अधुरो अध्ययन जारी राखेँ । २०७४ दशैंतिहारसम्ममा ‘प्रपञ्च’को पुनर्लेखन पूरा गरेँ ।
२०७४ मंसिरदेखि प्रपञ्चको पाण्डुलिपि प्रकाशन गृहहरूमा कतै १४ महिना त कतै ७ महिना यताउता भौँतारिइरह्यो । कसैले पिडिएफ फाइल लेखक मित्रहरूसँग आदानप्रदान गरेर दुरुपयोग गरिदिए त कसैले पाण्डुलिपि नै हराइदिए । धन्न एकप्रति मसँग सुरक्षित थियो । धेरै पटक रातभरि रोएर बसेँ । सुरुमा उपन्यासको नाम “मुटुकी राजकुमारी” थियो । धेरै लेखकहरूले नाम फेर्न सुल्झाएको कारण सुहाउँदो नाम खोजेर “प्रपञ्च” जुराएँ । प्रकाशन गृहहरूको सुझावअनुसार काटछाँट गरेर ५५००० शब्दहरू हटाएँ, उपन्यासभित्रका । तर छाप्नको निम्ति उल्टो पैसा बुझाउनुपर्ने वा रोयल्टी नलिनुपर्ने शर्तहरू अघि सारिएपछि म पाण्डुलिपि फिर्ता लिन बाध्य भएँ । अन्त्यमा बिएन पुस्तक संसारले प्रपञ्च प्रकाशन गर्ने भयो । यतिबेलासम्म दुई वर्ष अरुनै प्रकाशन गृहमा भौतारिइसकेको थिएँ । अत्यन्त सास्तीका बीच मेरो उपन्यासकार बन्ने रहर पूरा भयो ।
वि. सं.२०७६ फागुन २४ गते शनिबार प्रपञ्च लोकार्पणको क्रममा मैले आफूले पाएको हण्डरप्रति खुलासा गर्दै आक्रोश पोखेको मन्तव्य नाइस नेपाली लिटरेचर नामक युट्युव च्यानलले प्रसारण गरेपछि मनकारी पाठकहरू र जिल्लाबासी शुभचिन्तकहरूले ‘प्रपञ्च’बारे चासो व्यक्त गर्दै पढेर यसको भाषाशैली, कथाशिल्प र इमान्दार प्रस्तुतीकरणको मुक्तकण्ठले प्रशंसा गरे । विमोचन कार्यक्रममा वक्ताहरुले पनि केही सुझावसहित उत्साहजनक अभिव्यक्ति दिएकाले मलाई लाग्यो, प्रपञ्च राम्रै बनेछ । उपन्यास विमोचन सँगसँगै कोरोना भाइरसको महामारीबाट बच्न देशमा लकडाउन सुरु भयो । प्रपञ्चले बजारमा आफ्नो उपस्थिति देखाउनै लाग्दा अर्को प्राकृतिक ठक्कर खानुपर्यो । तथापि लकडाउनपछि प्रपञ्चले आफ्नो शाख बढाउने नै छ भन्ने विश्वास मलाई लागेको छ ।

प्रतिक्रिया
Loading...