साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पेशागत अनुभवको सँगालोः मान्छेको मन

पुस्तक चर्चाः

वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माद्वारा लिखित “मान्छेको मन” पुस्तक मूलतः लेखकको पेशागत अनुभवहरुको संगालो हो । यसमा लेखकले करीब चार दशक मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्दाको आफ्नो भोगाइहरु प्रस्तुत गर्नुभएको छ ।
नेपाली समाजमा समग्र चिकित्सा क्षेत्र नै त्यति व्यवस्थित नभइसकेको र आम जनतामा आधारभूत स्वास्थ्योपचारको स्थिति पनि सहज र सरल नभएको पृष्ठभूमिमा मानसिक चिकित्सासमेत सर्वसुलभ रहेको छ भन्ने स्थिति छैन । बहुलाएर विक्षिप्त भई हिँड्नेलाई मात्र मानसिक रोगी भन्ने आम बुझाइ रहेको छ अझै पनि । हाम्रो समाजमा बहुलाएको व्यक्ति र उसको परिवारलाई हेर्ने दृष्टिकोण पनि त्यति राम्रो भइसकेको छैन । यस परिप्रेक्ष्यमा मानसिक रोगीको डाक्टरलाई हेर्ने नजर पनि फरक हुने भइहाल्यो । अझ आजभन्दा चार दशक अगाडिको समाजमै मानसिक चिकित्सक बन्छु र नेपालमै सेवा गर्छु भनेर अठोट गर्ने डा. शर्माको आँट कम साहसिक छैन ।
पुस्तकमा विभिन्न किसिमका मानसिक रोगीहरुसँगको अन्तरङ्ग अनुभवहरु प्रस्तुत गरिएका छन् । सँगसँगै पाठकले मानसिक रोगका प्रकारहरु, अवस्थाहरु र चिकित्सकीय व्यवहारहरुसँग समेत प्रसस्त रुपमा घुलमिल हुने अवसर प्राप्त गर्दछ । पुस्तकमा हाम्रो बुझाइको मानसिक रोगी नभैसकेको तर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विभिन्न व्यक्तिहरुको व्यवहारसँग साक्षात्कार हुन पाइन्छ । यस्तै एउटा प्रसङ्गमा एकजना युवा व्यवसायी हुन्छन् जसलाई बाटोमा कुनै चिज फालिएको देख्यो कि फर्केर हेर्न मन लाग्ने र त्यो के हो पत्ता लगाउनै पर्ने बानी हुन्छ । एकपटक तिनी साँझपख धुलिखेलबाट काठमाडौंतिर आउँदै हुन्छन् । साँगा भन्ज्याङ काटेर नलिञ्चोक ओह्रालोतिर लाग्दा भित्तामा केही कुरा देख्छन् र गाडी रोकेर झ्यालबाटै हेरेर हिँड्छन् । बोराजस्तो देखिने त्यो वस्तुलाई राम्ररी नहेरीकन हिँडेका उनको मनमा त्यसैको कुरा खेल्न थाल्छ । गाडीबाट ओर्लेर हेरेको भए हुने, किन हेरेनछु भनेर चिन्ता लाग्न थाल्छ । जति पर गयो उति कुरा खेल्न थाल्छ मनमा, वास्तवमा त्यो के थियो होला भनेर । त्यो भावना यति प्रबल हुन्छ कि घरमा गएर गाडी थन्क्याई कपडा फेरीवरी कोठामा बसिसकेको मान्छे फेरी कपडा लगाएर कसैलाई नभनीकन गाडी निकालेर त्यही नलिञ्चोकको उकालोमा पुग्छन् र त्यो चीज नियाल्न थाल्छन् । रातको समयमा नजिकै गई टर्च बालेर हेरेपछि उनी ढुक्क हुन्छन् कि त्यो वस्तु बोरा नै रहेछ ।
यस्तै वा अर्को रुपको समस्या भएका कैयौं मान्छेहरु हाम्रो समाजमा हुन सक्छन् । तिनीहरुको दैनिकी सामान्य रुपमै चलिरहेको हुन सक्छ । तीमध्ये कतिपय मानसिक चिकित्सकको सम्पर्कमै आइपुग्दैनन् । कतिपयलाई त आफूलाई मानसिक समस्या छ भनेर थाहा पनि हुँदैन । यी कुराहरुलाई पुस्तकमा प्रशस्त सम्बोधन गरिएको छ । किताब पढ्दापढ्दै मानसिक स्वास्थ्य र चिकित्साको बृहद आयाम तथा नेपालमा यसको अवस्थाको तस्बिर सजिलै बनिसक्छ ।
मान्छेको मनका कथाहरु समेटिएका छन् किताबको आधाभन्दा बढी हिस्सा ओगटेको पहिलो खण्डमा । तीन खण्डमा बाँडिएको पुस्तकको दोस्रो खण्डमा लेखकका आफ्नै कथाहरु छन् । यसमा लेखकको बाल्यकालदेखिको जीवनसंघर्षको कथा समेटिएको छ । र, अन्तिम खण्डमा मनका कुराहरु छन्, जसमा लेखकका निजी भावना, विचार तथा प्रसङ्गहरु समाविष्ट छन् ।
धेरै मान्छेका मनका कुरा भन्दाभन्दै लेखकले आफ्नै मनका कुरा पनि भनी भ्याउनुभएको छ । यसमा कुनै बनावटी पुस्तक हैन, लेखक स्वयंलाई पढिन्छ । भाषा यति सरल र सरस, र यति स्पष्ट छ कि पाठकले कृति पढेको हैन, कृतिकारसँग गफ गरिरहेको प्रतित हुन्छ । पाठक कान थापिरहेको हुन्छ, लेखक आफ्नो र अरु मान्छेको मनको पुन्तुरो फुकाउँदै गफिनुहुन्छ ।
गैह्र–आख्यान लेखनमा हुनुपर्ने महत्वपूर्ण कुरा हो– इमान्दार प्रस्तुती । लेखकले आफ्नो वा आफ्नो विचारको पक्षपोषण गर्ने कुरा मात्र होइन, कमजोरीहरुसमेत स्विकार्न सक्ने हिम्मत राख्नुपर्छ । यस पुस्तकमा लेखकले कतिपय प्रसङ्गमा आफ्नो कमजोरीका कुराहरु पनि निर्धक्कसँग समेट्नुभएको छ । एक प्रसङ्गमा आफ्नै क्लाइन्ट (बिरामी युवती) प्रति डाक्टर साबको आकर्षण भएको तथा उक्त युवती पनि त्यसरी नै आकर्षित भएको देखिएको बताइन्छ । पछि, तर, कुनै नराम्रो नहुँदै त्यो अवस्थालाई व्यवस्थापन गरेको कुरा लेखक बताउनुहुन्छ ।
धेरै डाक्टरहरुले जीवन र मरणबीचको झिनो रेखा नजिकबाट देख्नुभएको हुन्छ । मनोचिकित्सकहरुले पनि सन्तुलित र असन्तुलित मनबीचको त्यस्तै झिनो रेखा देख्नुहुँदो हो । हामी सामान्य मानिसलाई भयावह लाग्ने यस्ता कुरा वहाँहरुको लागि सामान्य दैनिकी बनिरहेको हुन्छ । चार दशकसम्म निरन्तर मनको उपचारमा लागिपरेका हस्तीको आफ्नै कलमबाट त्यै मनका विभिन्न आयामको चिरफार, उपचार र व्यवस्थापनका घटना÷ परिघटनाको कथाहरु प्रस्तुत भएका छन् प्रस्तुत पुस्तकमा ।
वास्तवमा मान्छेको मन नै होला संसारको सबैभन्दा अस्थिर र बेगवान कुरा । यस्तो मनको गुदी–बोक्रा केलाउने चिकित्सकको अनुभवको सार हो भनिदिँदा हुन्छ यो पुस्तकलाई । मानसिक रोगले सडकमै पुगेका वा आत्महत्या गर्ने स्थितिसम्मै पुगेका बिरामीहरुलाई उपचार गरेर सामान्य अवस्थामै ल्याइएका र अन्य यस्तै अनेक बिरामीहरुका प्रसङ्ग पाइन्छन् । त्यति मात्र होइन, सही उपचार नपाएका र औषधीलाई निरन्तरता नदिएका बिरामीहरुको वियोगान्त कथाहरु पनि यहाँ समेटिएको छ ।
मानसिक रोगहरु धेरै प्रकारका हुन्छन्– सिजोफ्रेनिया, डिप्रेसन, मेनिया, ओसिडी, एन्जाइटी, आदि । लेखक भन्नुहुन्छ– उपचार पनि एउटा कला हो । यो पुस्तक पढेपछि मानसिक रोगीप्रतिको बुझाइमा फरक आउन सक्छ । यहाँ हरेक दोस्रो व्यक्ति मानसिक रोगी हुन सक्छन् र यो असामान्य होइन । समयमै संयमताका साथ उपचार गरे यो रोग मज्जैले निको पनि हुन्छ । अर्को मैले थाहा पाएको कुरा के हो भने विद्युतीय झट्का (इलेक्ट्रिक सक) दिई गरिने उपचार औषधीद्वारा गरिने उपचारभन्दा धेरै गुना सुरक्षित र प्रभावकारी हुने रहेछ । हामीलाई चलचित्रहरुमा इलेक्ट्रिक सक लगाइको दृश्य कहालीलाग्दो रुपले देखाइने गरिएकोले त्यो एकदमै भयानक हुने सोच रहेको थियो ।
डा. शर्मा पुस्तकमा (अरु) मान्छेको मनका कुरा पनि गर्नुहुन्छ, आफ्नो मनका कुरा पनि गर्नुहुन्छ । त्यस बेलाको समाजमा पढ्न चाहने विद्यार्थीले झेल्ने समस्या पनि छन्, पेशागत जीवनका प्रतिस्पर्धा, खिचातानी र आफूलाई स्थापित गर्न गरेको अथक मेहनत र संघर्षका कथा पनि छन् ।
मलाई यस पुस्तकमा खट्किने कुरा चाहिँ के हो भने कतिपय प्रसङ्गमा, फलानो ठाउँको, फलानो थरको फलानो पदमा काम गर्ने व्यक्ति भनेर लगभग रोगीको परिचय खुल्ने गरी घटनाहरु उल्लेख भएका छन् । ती कुरामा गोप्यता राखिदिएको भए अझ राम्रो हुने थियो ।
समग्रमा पुस्तक एकदमै उत्कृष्ट छ र सबैलाई पढ्न सिफारिस गर्दछु ।
… …
पुस्तकको विवरणः
कृतिः मान्छेको मन
प्रकाशकः मञ्जरी पब्लिकेशन, पुतलीसडक
मूल्यः ने.रु. ४८५/–

 

धुम्बाराही, काठमाडौं

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...