साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

“समयको आवाज” र मेनुकाः एक विश्लेषण

नेपाली छन्द कविताको क्षेत्रका मेनुका चापागाइँ “मेनू” को नाम नयाँ होइन । युवा वयमै उनका दुई सङ्ग्रह प्रकाशित छन् — “सालिक बोलिरहेछ” (२०७३) तथा “समयको आवाज” (२०७५) । कविताको फााटमा २०७४ सालमा विश्वव्यापि छन्द कविताको भिडियो प्रतियोगिता तथा २०७५ सालमा नेपाल प्रज्ञाप्रतिष्ठाने सालाना गर्ने गरेको राष्ट्रिय कविता प्रतियोगितामा तृतीय पुरस्कार पाएसँगै उनको कविताकारिताको राष्ट्रिय र अन्तराष्ट्रिय अनुमोदन भइरहेको कुरा प्रस्ट छ । उनको कविताफाँटमा जुन प्रकारको बलियो उदय भएको छ र सुरुवाती दिनमै जुन प्रभावकारिता देखिएको छ, त्यसबाट नेपाली छन्द कविताका पाठक र पारखीहरूको उनीमाथिको आशा र विश्वास उच्च हुनु स्वाभाविकै हो । तर, कविहरूको भीडमा, विशेष गरी छन्द कविहरूको समूहमा देखिने गरेका दोषहरूबाट उनले आफूलाई मुक्त राख्नु जरुरी छ ।

यस समीक्षामा मेनुका चापागाइँको कविता सङ्ग्रह “समयको आवाज” लाई आधार मानेर उनको शक्ति, समाथ्र्य तथा उनले ध्यान दिनुपर्ने केही कुरालाई निर्मम तरिकाले राखिएको छ । कर्मण्यवाधिकारस्ते माः फलेषु कदाचन ।

bahulako diary small and inside post
महेश पाैड्याल

(क) शक्ति र सामथ्र्य

१. छन्दमा महारथ

भारतीय उपमहाद्वीपमै मरणासन्न भइरहेको छन्द परम्परालाई नेपाली कविहरूले अक्षुण्ण रोखेका छन् । यसमा युवा हाँचका छन्द कविहरूले यसमा प्राण भरेका मात्रै छैनन्, यसलाई वाचाल पनि बनाएका छन् र पाठकसम्म पु¥याएका पनि छन् । यस हाँचका कविहरूमा मेनुका चापागाइँको नाम एक महत्त्वपूर्ण नाम हो । उनको कविताकारिताको विशेषता के छ भने, यिनमा कतै पनि छन्द भङ्ग भएको, गण संरचना बिग्रिएको अथवा भाषिक त्रुटिका कारण व्याकरण, अर्थ, गति, यति वा लय भङ्ग भएको भेटिँदैन । संरचनाका दृष्टिले उनका छन्द कविता लगभग पर्फेक्ट छन् । “समयको आवाज” मा उनले प्रयोग गरेका छन्द हुन्ः उपजाति, भुजङ्गप्रयात, स्रग्धरा, शार्दूलविक्रीडित, पञ्चचामार, मालिनी, शिखरिणी, दुतपद, इन्द्रवज्रा, दिक्पाल, स्रग्विणी, तोटक र मन्दाक्रान्ता । यी लोकप्रिय र नेपाली छन्दकविताको फाँटमा अधिक प्रयोग हुँदैआएका छन्द हुन् र प्रभावशाली छन् । छन्द कवितामा संरचनागत निखारका लागि शब्दको ठूलो भण्डार, सङ्गीतको चेत, गति, यति र लयको ज्ञान तथा शास्त्रीय सूत्रहरूको स्पष्ट जानकारी आवश्यक हुन्छ, जुन मेनुका चापागाईंमा यथेष्ठ छ भन्ने प्रमाण उनका यी कविता हुन् ।

२. सूक्तिमयता

सूक्तिमयता मेनुका चापागाइँको कविताकारितको एउटा सुन्दर पाटो हो, यद्यपि यो अलि कम छ । उनी यस्तै यस्तै सूक्तिहरूको जगमा काव्यिक उत्कर्ष भेट्न सफल हुने छिन् भन्ने विश्वास लिन सकिन्छ । छन्द कविता लेखिरहँदा अधिकांश कविहरूमा लघुगुरु र गणहरूको संरचना मिलाउन खोज्दा कथ्यपक्ष दुर्वल हुन जाने र कविता सिर्जना कम र पुरानो कुराको नयाँ “व्यवस्थापन” बढी हुँदै गएको सर्वत्र देखिँदै गरेको सन्दर्भमा यस्ता सूक्तिमय हरफहरूले कविताको प्राणप्रतिष्ठा बढाएका हुन्छन् । यहाँ थोरै छन्, तर सुन्दर छन् । केही उदाहरण यस्ता छन्ः

यी सृष्टिकर्ता कति पौरखी छन्
कर्तव्य आफ्नो रति बिर्सिंदैनन्
(मनको यात्रा)

छुरी छेक्नलाई छुरी नै उठाई
कहाँ शान्ति भेटिन्छ मान्छे ढलाई ?
(दायित्व)

जिन्दगी प्रेममा जेलिने यन्त्र हो
कर्मका शक्तिले चम्किने तन्त्र हो
(प्रेम र जिन्दगी)

यौटा जीवन दीप हो क्षणिक यो मुर्दा बनी निभ्दछ
यौटा दीप जलेर कान्ति नछरे त्यो दीप बेकार छ ।
(चिता बोलिरहेछ)

३. विषय–वैविद्य

मेनुको कविताको भावभूमिलाई दृष्टिगत गर्दा उनले आफूलाई विविध विषयहरूभित्र परिपक्व बनाउँदै लाने चेष्टा गरेको बुझिन्छ । मनोवेग, स्वदायित्वबोध, देशप्रेम, व्यथितिको विरोध, जन्मस्थानको माया, आत्मचिन्तन र सुधार, एकताको पक्षधरता, जागरणको अपिल, पश्चात्ताप, सहिदहरूप्रतिको उच्च आदर भाव, गोठालाको सम्मान, सत्ताधारीको गलत क्रियाकलापको विरोध, बृद्ध बाआमाको पीडा, स्वतन्त्रताको वकालत, छद्म व्यवहारको विरोध, मानवीय चरित्रको क्रमिक स्खलन, चाडपर्व, अर्ती–उपदेश, जीवनको क्षणभङ्गुरता आदिको चिन्तन, बालकहरूप्रतिको पे्रमभाव, आँट र बलको महिमागान तथा कवि हुनुको दायित्वबोध तथा भाषाप्रेम आदि विषय यस सङ्ग्रहले समेटेको छ । यी कथ्यहरूको मूल्याङ्कन गर्ने हो भने कवि मेनुकाको भावायतन वैयक्तिक, सम्बन्धात्मक र भावप्रधान विषयहरूमै केन्द्रित छ । उनले यी विषयहरूलाई समेट्नका लागि आमा, छारी, प्रेमी, बालबालिका, गुरु, सहिद, देशभक्त, नेता, दुस्मन, परदेशी आदि पात्रहरूको मनेविज्ञान अथवा उनीहरूको सामाजिक स्थानलाई आधार बनाएकी छिन् । यी विविध वय र परिस्थितिका मानिसहरूको मनमस्तिष्कको परख गर्न सक्नु उनको सुन्दर काव्यिक खुबी हो ।

४. सकारात्मक सन्देश

मेनुका चापागाईंको यो सङ्ग्रहले विविध सकारात्मक सन्देशहरूको पुञ्ज हो । यसमा गल्तीको प्रायश्चित्त गर्न, देशलाई माया गर्न, आँट गर्न, बाआमालाई माया गर्न, धैर्य गर्न, मिहिनेत गर्न, देश छोडेर नजान, गए पनि फर्केर स्वदेशमै आउन, असहायलाई सहयोग गर्न, भ्रष्ट र अत्याचारपूर्ण राजनीति र शासनव्यवस्ताको विरोध गर्न, बालबालिकालाई प्रेम गर्न, संस्कृतिको संरक्षण गर्न, समाजिक सञ्जालको समुचित प्रयोग गर्न, स्वर्थ भुलेर समता र प्रेमका लागि काम गर्न, उच्च काव्यिक रचना गर्न र भाषालाई प्रेम गर्न यी कविताले अपिल गरेका छन् ।

(ख) सीमाहरू

१. परम्परित विषय र पुनरावृत्तिदोष
मेनुकाले माथि उल्लेखित विविध विषयमा कविता लेखेकी भए पनि विषयवस्तुलाई हेर्ने उनको दृष्टि आम मानवीय दृष्टिकोण ने हो । उनले चलनचल्तीका विषयमा, साधारण, रैखिक र अविधात्मक अभिव्यक्तिहरूका कविता लेखिरहेकी छिन् । कविताको उत्कर्ष त्यसको सूक्तिमयतामा हुन्छ र नवीन रहस्योद्घाटनमा हुन्छ । त्यसले बोकेर ल्याउने नयाँ अर्थमा हुन्छ । त्यसको शब्दविधान, छन्द, गणविधान, बिम्व वा प्रतीकको प्रयोग सबै सबै कविताका उपकरण हुन् । यी उपकरणको आडमा, कुनै कविले स्थापित भइसकेको, सर्वस्वीकृत वा सार्विक सत्य, अथवा साधारण न्युजपेपर रिडरले देश र राजनीतिबारे बनाएको अवधारणामै कविता बनायौँ भने उक्त कविताको ओज कमजोर हुन जान्छ । आमाले सन्तानलाई गर्ने माया र उनीहरूबाट गर्ने अपेक्षा, देशवासीले देश वा जन्मभूमिप्रति गर्ने गौरव, राजनीतिले गर्ने भ्रष्टाचार र अन्याय आदि विषयमा केही नयाँ दृष्टि, विश्लेषण वा तर्क चाहिन्छ । नत्र, कविताको तेजोबध हुन्छ र त्यो गम्भीर विमर्शमा जाँदैन । कविता लेख्नका लागि चयन गरिएको विषयले नै त्यसमा नवीनता अथवा अविष्कारको संभावना छ वा छैन भन्ने बुझाउँछ । उदाहरणका लागि, शीर्षक नै “सहिदप्रति” भएपछि त्यसमा कविले सहिदको महानताको गुणगान गर्छ, र उनीहरूले देशका लागि गरेको बलिदानीको गरिमामण्डन गर्छ भन्ने कुरा बुछिन्छ । कविलाई सुन्तुष्टि त दिन्छ र पाठकलाई सहिदको सम्झना त दिलाउँछ, तर कविताको पटमा त्यसले नयाँ कुनै पनि ईंटा थप्दैन । यसमा यसरी सोच्नुपर्छ — सहिदको महानताको कुरा स्थापित भइसक्यो । अब नयाँ कविले, केही नयाँ पाटो थप्नु छैन त्यो विषय भने नलेख्दा पनि खासै आकाश खस्दैन । कुमारी विषय कति छन् कति ! र अर्को कुरा, सहिदबारे चलनचल्तीको बुझाइलाई चुनौती दिने गरी पूरक वा व्यतिरेकी केही कुरा छैन भने, त्यस कविताले न्याय गर्दैन । त्यो अब सिर्जना हुन सक्दैन । त्यो फगत पुरनरावृत्ति हो, अथवा कुराको नयाँ “व्यवस्थापन” हो । आखिर, सहिदको महानतामाथि दर्जनौँ कविता छन् देशमा । फगत अर्को छन्दमा उही कुरा पस्कनुको खासै तुक हुँदैन । यो एउटा उदाहरण हो, र यति नै काफी छ ।
भन्नुको तत्पर्य, यस्ता कविताले बौद्धिक पाठकलाई खासै न्याय गर्दैनन् । कविताको पठनपाठन, अध्ययन, अध्यापन र विमर्शमा डुबेका पाठकले उनका अधिकांश कवितामा पुरावृत्ति दोष भेट्टाउँछ । आखिर, राजनीतिले देश लुटेर खोक्रो पा¥यो भन्ने भावावेश, सबै एक हौँ, जुटौँ भन्ने आह्वान, राम्रो बन्नु अथवा गरिबको सेवा गर्नु भन्ने उपदेश, मेरो गाउँ, आमा र देश सबैभन्दा प्यारो, म पाखुरा बजाएर खान्छु तर झुक्दिनँ भन्ने आदि कुरामा नयाँपन बाँकी छैन, यद्यपि तिनले छुन त छुन्छन् । छुनु कविताको गन्तव्य होइन । नवीनताका साथ छुनु चाहिँ हो । आम मान्छेले सत्ता र राजनीतिले सबै स्वाहा पारेको कुरा गर्छ । एउटा संयमित चिन्तकले सत्ता र राजनीतिले खेलेको सकारात्मक भूमिकाको पनि अन्देखा गर्दैन, र समस्या छ भने, त्यसको मर्मकथाको उत्खनन र विश्लेषण गरेर अगाडिको बाटो देखाउँछ । अथवा, आलोचनाकै पनि नयाँ कुनै आयाम देखाउँछ । छन्द र गणविधानको ज्ञानको आडमा आम–आदमीको बुझाइ र पुनारो तर्कको पुनरावृत्तिले कविताको प्राणप्रतिष्ठा गर्छ भन्ने मलाई लाग्दैन । कविता जन्माउला, कवित्व उठाउँदैन । अझ छन्द कविता पुराना र परम्परित विषयको पुनरप्रयोग बढी हुने आरोप लागिरहेको बेला झनै सचेत हुनु जरुरी छ ।
मेनुकाको यस सङ्ग्रहमा पनि विषयवस्तुको पुरावृत्तिको दोष धेरै ठाउँमा छ । केही उदाहरणसहित अझै स्पष्ट भनौँ—

मेनुकाः माटोमा पसिना बगे लहरिँदै फल्छन् सुनैका गुटी
देवकोटाः माटो हो हुन त तथापि गहिरा आँखा हुने सज्जन
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ।

मेनुकाः के होला यस लोकमा सहजले दम्भी सपार्ने विधि
मेरो आँट तँ सोच् र पोख् कलमले यी मूर्खको औषधि
जगन्नाथ गुरागाइँः दम्भी पाप लुकाई मर्छ विचरो हा नाम नामै भनी
(फरक श्लोकमा) सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मुर्खको

मेनुकाः मेला नै त रहेछ जीवन घडी एक्लै रमाएँ किन?
के नै लान्छ र देहले सँगसँगै मुर्दा बनेको दिन

कैखर रत्नागिरवीः जर जमीं जेवर कुछ न साथ जाएगा
खाली हात आया हैं, खाली हात जायेगा
(अरूतिर पनि, कवितामा, गीतमा, भजनमा धेरै सुनिएको कुरा हो यो ।)

मेनुकाः आफ्नै बन्धु भुटेर बाँच्नु भवमा खै सार नै के छ र?
गीताः आफन्त मारी रणमा के भलो हुन आउला
आततायी पनि बन्धु मार्नाले पाप लागला

मेनुकाः थोपा एक बनेर जुट्छ जलको खोलो बनी बग्दछ
लोकोक्तिः एक थुकी सुकी । सय थुकी नदी ।

मनुकाः यो चोला छ तयार सुत्न पथमा निर्लज्ज भोको बनी
बेची खान्नँ कदापि राष्ट्र जननी भोकै परे तापनि ।
गोपाल योञ्जाः म आगो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न
….मेरो शिर उडाए बरू त्यो सहन्छु तर कोई पराया ले टेके सहन्न.

२. एकाङ्गी दृष्टिकोण

एकाङ्गी दृष्टिकोण यस सङ्ग्रहका कविताको अर्को दोष हो । यसबाट कविले जनसुनी विषयलाई काव्यिक विवेकको फिल्टरबाट चालेर प्रस्तुत गनुपर्ने प्राज्ञिक बोधलाई हतारोमा बिर्सेको बुझिन्छ । आम मान्छे राजनीतिलाई सम्पूर्णतामा नकार्छन्, विरोध गर्छन् । सबै राजनीति त्यस्तो कहाँ हुन्छ? अर्को, भावनाको बहावमा दुस्मनलाई निमिट्यान्न पारिदिन्छु भनेर भन्छन् । “तेरो नाश हुने छ यो समयका मौका त्यही खेलले” भनेर आफूलाई एक तिलस्मी पात्र बनाइरहँदाको व्यवहारिकता कति छ? व्यवहार र यथार्थ कहाँ त्यस्तो हुन्छ? फेरि, विदेश नजाऊ, सबै फर्क यतै भनिरहँदा छुन्छ छुनलाई । तर सत्य कहाँ त्यति सजिलो छ? सबै मान्छे चाहेर बिदेखिएका होइनन् । बिदेशिनुको विभीषिका वा बाध्यताको चर्चा बढी जरुरी छ र गम्भीर प्राज्ञिक चिन्तन र सामाजिक अथवा आर्थिक विश्लेषणको माग गर्ने सिर्जनाले यस्ता आमसोचाइ चिरेर, सत्य र यथार्थको नजिक पुग्ने, अथवा त्यसको वैकल्पित व्याख्या वा समाधानको बाटो खन्ने हो भने कवितामा बौद्धिक बहस गर्न सकन्छ ।

२. विवदास्पद तर्कहरू

मेनुकाका कवितामा प्रश्न उठाउन मिल्ने, विवादास्पत उक्ति पनि उत्तिकै भेटिन्छन् । उदाहरण हेरौँः

जवान बन्छ किन्तु ऊ स्वभाव लिन्न मानव
चढेर मात द्रव्यको छिटै बनिन्छ दानव । (बालक)

— प्रश्नः सबै बालक यस्तै हुन्छन् र?

प्रेमका नेत्रमा मोज हो जिन्दगी (प्रेम र जिन्दगी)

— प्रश्नः यहाँ प्रेमलाई वासनाको पर्यायको रूपमा हेरिएको छ । प्रेम फगत मोज हो र?

आगो निभ्छ छिटै यहीँ समयका साहित्यको भेलले (आह्वान)

— पश्नः साहित्यको आफ्नै सीमा हुन्छ । साहित्यले, हदै गरे, सचेत गराउने हो ।

यहाँ बिक्छ बोली सधैँ जालझेल
हिँडे सत्य बाटो बिगारिन्छ खेल (यो के अचम्म?)

— प्रश्नः सधैँ, सबैमा यस्तै छ त? राम्रा मान्छेको अवमूल्यन भएन?

मेरो जीवन यो बितेछ नबुझी के हो भनी जीवन
मात्रै भोगविलासनिम्ति धनमा सुम्पेर पापी मन (आत्मसमीक्षा)

— प्रश्नः कति नै बाँचेकी छन् र जीवन । सबै “बितेछ” भन्नलाई? कल्पनामा भन्न नसकिने होइन, तर त्यसको विश्वासनीयताको पनि परख हुन्छ ।

 

३ शब्द, अर्थ र हिज्जेका दोष

खस्रा शब्दले गण विधान मिलेर पनि छन्दको ललित वातावरण र सङ्गीतमा खलल पु¥याएको छ । औँल्याइएका शब्दलाई यहाँ कमाभित्र राखिएको छ —

— श्रद्धा चढाएँ मनको घडाको
“पोको” फुकाएर सुभावनाको (मनको यात्रा)

— “खोले खाऊँ” म आफ्नै रगत र पसिना सन्चिँदै खान पाऊँ
— “पात्ले, ढाल्ने, धयेँरो”, कटुस खयरले लास मेरो जलाऊन् (छाप छोडूँ म यस्तो)
— “ठसठस” जिउ उस्तै घाँस, विष्टा पारेर । (गोठालो)
— तितरबितर “दाह्री” काट्नलाई बितेको (गोठालो)
— “टुप्पी मुढेका” पद छन् “गिँडेका” (गुरुको अर्ति)
— हावा “हुस्से” छिनभर त्यहीँ खेल्न थाले लडाइँ (रविले चुमेपछि)

भाषागत त्रुटि र अर्थको पुरावृत्ति पनि कतै कतै भेटिएको छ ।

— मिलौँ बन्धु आऊ न आमा “बँचाऊँ” — (दायित्व) । यहाँ “बचाऊँ” हुन्थ्यो । फेरि, मिलेर गर्ने कुरो भएको हुँदा यो “बचाऔँ” हुनुपथ्र्यो ।
— शिल्पीले पथमा बसी दिनदिनै जुत्ता सिलाए पनि । “शिल्पी” को अर्थ जुत्ता सिलाउनेमा सङ्कुचन गरिएको ।
— मेरो आँट तँ सोच् र पोख् कलमले यी मूर्खको “औषधि” (आँट) । यहाँ “औषधि” लाई बिगार्नुपर्ने केही थिएन ।
— भर्दै भाव मिठा “समान महझैँ” यी छन्दका श्लोकमा । (पाइरहूँ हौसला) । यहाँ, “समान” र “झैँ” को एउटै अर्थ हुन्छ । एउटा आएपछि अर्को जरुरी हुँदैन । गण मिलाउन अरू नै केही सोच्नुपर्ने थियो ।
— खेतालमा पनि श्लोकमा डुबिरहुन कण्ठस्थ होस् ओठमा । (पाइरहूँ हौसला) । “कण्ठस्थ” र “ओठमा” एकै ठाउँ आउनु पुनरावृत्ति दोष हो ।
— प्रेम यो अस्त्र हो जिन्दगी “जोडने” (प्रेम र जिन्दगी) । “जोडने” हुनुपर्ने थियो । त्यसले, स्रग्विणीले माग्ने रगण बिगार्दैनथ्यो ।
— नहून् कदापि कष्टमा युवा र वृद्ध “शैशव” (कामना) । यहाँ “युवा” र “वृद्ध” नाम हुन् । यिनको साजमा विशेषण “शैशव” उभिन सक्दैन ।

केही पूरक विषय

१. मनको यात्रा, दायित्व, मेरो घर, यो के अचम्म भो, भ्रूणको विन्ती, गुरुको अर्ती, श्रमान् सुन्नुहोस्, सन्तान, कामना, आहवान, घर फर्क युवा आदि कवितामा उपदेश छ । कहिले छोड्ने होला कविहरूले उपदेश दिन?

२. कलिलै उमेर छ । कविता भर्खरै पाठकसमक्ष पुग्दैछन् । माथिका त्यत्तिका दोषहरू छँदैछन् । कविताले पुष्ट आकार दिन पनि बाँकी नै छ । गुरुकै वाणीमा सही, कविता यस्तो हुनुपर्छ भनेर लेखिएको छ कविता । आफ्नो काव्यिक महत्त्वाकांंक्षाका बारेमा “पाइरहूँ होसला” शीर्षकको कवितामा भनिएको छ — “रानो बन्न सकूँ कुनै समयमा साहित्यको घरको” अथवा “हाम्रा वेदऋचासमान बनिऊन् ती श्लोक यो लोकमा ।” रानो र वेदका ऋचाको महत्त्वाकांक्षा, अहिले नै, हतारो पो भयो कि?

३. एउटा “बिराएछु बाटो” शीर्षकको कवितालाई अपवाद मान्ने हो भने, देश, समाज, परिवेश वा जगतमा भएको सम्पूर्ण व्यथितिका लागि काविले आफूबाहिरेको — कुनै सरकार, राजनेता, प्रेमी, कुनै महाशय अथवा काल्पनिक नै सही अर्को व्यक्ति वा अवयवलाई जिम्मेवार मानिएको छ । तर, चिन्तनै गर्ने हो भने, हामी कविकलाकारले पनि देशको व्यथितिमा कतै न कतै, प्रत्यक्ष र परोक्ष रूपमा भूमिका खेलेका हुन्छौँ । इमान्दार काव्यकारिताका लागि त्यसको स्वीकृतिसहित आउनुपर्ने हुन्छ, र त्यसका लागि सपाट गालीगलोज र अर्तीउपदेशको पुरानो बाटो त्यागेर नयाँ, प्रतीकात्म, वक्र र परोक्षा शैली अवलम्बन गर्नु जरुरी छ ।

प्रतिक्रिया
Loading...