साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

“लेखककी स्वास्नी” र बागी बहस

Chovar Blues Mobile Size
दिलिप बान्ताबा

वि.सं. २०७० सालमा प्रकाशित उपन्यास “लेखककी स्वास्नी” प्रकाशनको पाँच वर्षपछि २०७५ सालमा मात्र पढ्ने मौका मिल्यो । इमान्दारीपूर्वक भन्ने हो भने उपन्यास लेखकको सार्वजानिक परिचय जानेपछि मात्र पढ्ने हुट्हुटी बढेको हो । हुन त, विभिन्न किताबहरु खोजी गर्ने क्रममा “लेखककी स्वास्नी”सँग थुप्रै खेप पुस्तक पसलहरुमा आँखा नजुधेको त होइन तर अहिले लाग्छ, त्यो समयमा किन आकर्षण गर्न सकेन होला मलाई? र आफैँ उत्तर दिन्छु- हामी अलि गिनेचुनेका नामी र वाहवाही बटुलिरहेका लेखकहरुको नियमित गन्थन मात्र खोजिरहेका हुने रहेछौँ । तिनले लेख्ने “कन्टेन्ट”हरुमा प्रायः हामी अभ्यस्त भइसकेका हुन्छौँ । अर्थात्, “होटलमा मेनु बुक पल्टाउँदा पल्टाउँदा गर्‍यो, अन्तिममा उही मम खाएर हिँड्यो”कै पारा हुने रहेछ । बानी परिसकेको लेखकहरुले हामीलाई दिने खुराकको स्वाद थाहा भइरहेको/भइसकेको हुन्छ, सायद त्यही भएर पनि त्यो स्वाद परिवर्तन गर्न चाहन्नौँ कि!

नेपालमै हुँदा आख्यानकार राजन मुकारुङको “पन्ध्रौँ गर्लफ्रेन्ड”को बारेमा सञ्चार माध्यमहरुमा चर्चा हुन थालेपछि लेखक प्रगति राईको बारेमा चासो गहिरिएको थियो । त्यसपछि केही पुस्तक पसलहरुमा “लेखककी स्वास्नी” खोजी गरियो तर पाउन सकिएन । रोजगारीको सिलसिलामा दक्षिण कोरिया आइपुगेपछि भने कवि शुष्मा रानाहँमाबाट अन्य पुस्तकहरुसहित प्राप्त भयो र पढ्ने धोको पूरा भयो ।

प्रगति राई नेपाली आख्यानको दुनियाँमा खासै प्रचलित नाम थिएन “लेखककी स्वास्नी” प्रकाशित भएताका । २०६२/६३ को आन्दोलन नेपाली समाजको लागि हरेक कोणबाट एउटा मानक मोड रह्यो । राजनैतिक परिवर्तन भन्नु मात्र, यथार्थमा त्यसले हाम्रो सामाजिक रुपान्तरण र सामाजिक चिन्तन शैलीदेखि लिएर परिवर्तनका मुद्दा र नाराहरुमा नै व्यापक फेरबदल गरिदिएको थियो । त्यही सिलसिलामा नेपाली साहित्यले समेत एउटा विशिष्ट मोड प्राप्त गर्‍यो त्यस बखत । धमाधम “युद्ध साहित्य”हरु प्रकाशित हुन थाले । कतिपय रौँ नै ठडिने जस्ता लाग्ने कहानी कसैका वास्तविक घटना पनि थिए होलान्, कतिले कल्पनाको लेप लगाएर अलि उजिल्याएका थिए होलान् । तर त्यो ट्रेन्ड निक्कै चल्यो संस्मरण, कथा, कविता, अनि उपन्यासकै रुपमा पनि । त्यस बखत थुप्रै नयाँ नामहरु उदाएका पनि थिए तर धेरैजसोले निरन्तरता दिन सकेनन् सायद । तर पनि लेखनको क्षेत्रमा महिला हस्ताक्षरहरु सशक्त भएर अगाडि देखिएको समय पनि त्यही थियो ।

त्यस सँगसँगै २०६३ को अन्तरिम संविधान अनि २०६४ सालको संविधानसभा निर्वाचन र आसपासको समय नेपाली राजनीतिमा केही नयाँ शब्दावलीहरुले प्रवेश पाए, जस्तै हो “समावेसी”, “समानुपातिक”, “संघीयता” अनि अलि पछि “पहिचान” इत्यादि । यी सबै विषयहरुको गोलचक्करमा नेपाली राजनीतिको एक दशक त्यत्तिकै बित्यो । रुपमा त्यो समय “वेस्ट” भएको देखिए पनि सारमा त्यो अवधि नेपालि समाज विकास र रुपान्तरणको हिसाबले अत्यन्तै उर्बर रह्यो । यी विषयहरुले साहित्यलाई उर्वर मात्र बनाएन, उसका माध्यमबाट राज्यले सदियौँदेखि उत्पीडनमा पारेको, बहिस्करण र सीमान्तकृत भनिएका समुदायहरुले आफूलाई चिन्ने मौका पाए ।

आफू पनि यो देशका ती सुकिलामुकिला जत्तिकै हैसियत र नागरिक अधिकार पाउनुपर्ने मान्छे हौँ, अधिकार प्राप्तिका लागि सामूहिक आवाज लिएर उठ्नुपर्छ भन्ने चेतनाको विकास भयो । सँगै आफ्नो परिचय स्थापित गर्नका लागि अरुको भर पर्ने नभई आफ्नो मौलिक सभ्यता र त्यससँग आधारित पहिचानलाई रक्षा गर्नुपर्छ भन्ने सचेतता पलाउन थाल्यो । तर एकातिर यो सुखद् विषय राजनीति तथा साहित्य र कलाको मूलधारमा स्थापित भइरहेको भए पनि सँगसँगै हिँडिरहेको लैँगिक समस्या र त्यसभित्रका निक्कै फराकिला आयामहरुलाई भने खासै वास्ता गरिएन मूलधारबाट । हो, त्यही परिपूरक विषयमाथिको भद्र छलफलको रुपमा उपस्थित छ, “लेखककी स्वास्नी” ।

sagarmani mobile size

स्कुलले आयोजना गरेको एउटा कविता प्रतियोगिताको प्रतिस्पर्धी नुमा र प्रतियोगिताको निर्णायक भएर पुगेको सुशान्त बीचमा भएको चिनापर्चीबाट शुरु भएको कथा यात्राको गाडी बीचको समय “स्किप” गरेर लगभग १७ वर्षपछिको समय रेखामा चक्का राखी अगाडि बढेको छ । त्यस बीचमा उनीहरुको विवाह भएर दुई छोरीसहित काठमाडौको अस्तव्यस्तामा आफ्नो जीवनचक्र बल्लतल्ल घिसार्दै गरेको कथामा जोडिन्छ । त्यो समय नेपाली राजनीतिको समयरेखामा संविधानसभाको चुनाव सम्पन्न भएर तातो बहसका रुपमा उठेका समावेसी, समानुपातिक, संघीयता, पहिचान जस्ता शब्दहरुको घुमाउरी खेल चलिरहेको छ ।

सुशान्त आफूलाई अब्बल लेखक प्रामाणित गर्न चाहन्छन् । उनले लेख्दै गरेको उपन्यासमा यी सबै मुद्दाहरु स्थापित गर्दै देशलाई संघीयतामा रुपान्तरण गर्ने अठोटसहित साहित्यिक भेलामार्फत राजनैतिक नारा उराल्न चाहन्छन् । यता नुमा भने दैनन्दिनको पारिवारिक समस्यालाई समाधान गर्न अनेक उपाय गर्छिन् । उधारो चलेको जिन्दगीमा हरेक इच्छा र आकांक्षाहरुलाई समेत उधारोमै थन्काएर नगद वास्तविकता बोकेर परिवारको एकतर्फी भार उठाइरहेकी छन् ।

लोग्ने लेखक र समसामयिक राजनैतिक चिन्तक भएकाले त्यो भार आफूलाई स्वभाविक भएको ठान्छिन् उनी । यस बीचमा काठमाडौँको अभावग्रस्त जिन्दगीले भोग्नुपर्ने सबैखाले परिस्थितिहरुको सामना गर्नुपर्छ उनीहरुले । मध्यम वर्गीय परिवारको एउटा बागी चिन्तन सहितको “होल टाइमर” लेखक अनि पारिवारिक जिम्मेवारीको भारले गर्दा आफूभित्रै मुर्झाइरहेको एउटा सचेत र क्रूर वास्तविकताको विरुद्धमा उम्लिरहेको जुनून् बोकेकी श्रीमती र सो परिवारले काठमाडौँ जस्तो शहरमा भोग्नु परिरहेको जिन्दगी तथा मनोविज्ञानको कथा हो, “लेखककी स्वास्नी” ।

लेखक लोग्नेको व्यक्तिगत जिन्दगी र करिअरलाई सफल बनाउन निस्फिक्री सहयोग गरिरहेकी श्रीमतीलाई समाजले हेर्ने दृष्टिकोणबाट बागी विचारको बिजारोपण हुन्छ । “के श्रीमतीहरुले सधैँ श्रीमानको सफलतामा रमाएर बस्नु मात्र सबै थोक हो? उनीहरुको आफ्नो अस्तित्व र पहिचान कहाँ छ? त्यो अस्तित्व र पहिचान महिलाले किन नपाउने…?” जस्ता आम प्रश्नहरु उठ्न थाल्छन् श्रीमतीको मनमा । हाम्रो समाजले छोरीलाई जहिल्यै पनि दोस्रो दर्जाको व्यवहार गर्‍यो, अधिकार र कर्तव्य दुवै पाटोमा । अधिकारविहीन बनायो र कर्तव्यबाट पनि विमुख पार्‍यो । नत्र अंश र वंशको सवालमा किन सधैँ छोरीहरुको याद गरिएन? सृष्टिको सिंगो भार थामेको महिलालाई हटाएर पुरुषलाई मात्र किन हर्ताकर्ता बनायो यो समाजले?

बाउआमा मर्दा छोरीले किन काजकिरिया गर्न नपाउने? विवाहपछि किन श्रीमतीको मात्र थर फेरिनुपर्ने? लोग्नेको घर जानुपर्ने? यस्ता खाले जो हाम्रो पितृसत्तात्मक परम्पराका बागी सवालहरु हुन्, तिनलाई साना साना घट्नासहित उधिन्ने प्रयास गरिएको छ । समाजमा छोरी हुर्काउनु डाकाहरुको समूहमा झोलाभरी पैसा बोकेर एक्लै हिँड्नु जस्तै संकट छ, जो जतिबेला जहाँबाट पनि लुटिने खतरा हुन्छ भन्ने मनोविज्ञान यो समाजले हुर्काइदिएको छ । किनकि छोरीलाई निरीह बनायो यही समाजले । अधिकारविहीन भएपछि जो कोही आफैँ निरीह बन्न पुग्छ । यहाँ कुनै केटा र केटी बीचमा अनैतिक सम्बन्धको कुरा बाहिर आयो भने सम्पूर्ण दोषको भार केटीले खप्नुपर्छ, केटालाई खुल्लमखुल्ला हिँड्ने छुट छ । त्यसको अर्थ ऊ यो समाजको सुप्रिम हो त्यो केटीभन्दा भन्ने देखिन्छ, जुन सिलसिला सदियौँदेखि चलेको छ ।

छोरी मात्र भएका बा-आमाहरु जिन्दगीको उत्तरार्द्ध सम्झिदै खुम्चिएर बाँच्नुपर्छ, छोरा नभएकोमा समाजले हेर्ने तीखो आँखाबाट बाँच्न हम्मेहम्मे पर्छ । त्यसैले यस्ता सवालहरु जसलाई हाम्रो समाजले हमेशा आँखा चिम्लेर बस्ने गरेको छ, यिनलाई समकालीन साहित्यले समेटोस्, महिलाहरुका विरुद्धमा भइरहेका नियमित र निरन्तर हिंसाविरुद्ध आफ्ना लेखक श्रीमान् र उनको समूहले केही लेखोस्, बोलोस् भन्ने चाहना जब बेकार हुन्छ नुमाको, त्यही समयबाट उनी आफ्नो मनभित्र बलिरहेको हरेक खाले असमानता विरुद्धको आगोलाई दम दिन थाल्छिन् र बहसमा लाग्छिन्, “छोरिलाई अंश र बंशको अधिकार चाहिन्छ ।”

पुस्तकको तेस्रो पेजबाट कथा प्रारम्भ भएपछि २२६ पेजभित्र समेटिएको उपन्यास घट्नाभन्दा पनि विषय केन्द्रित छ । सामाजिक रुपमा पिछडिएका र राजनैतिक मूलधारभन्दा निक्कै पर रहेका समुदायलाई राज्यले समतामूलक हैसियत निर्माण गर्न सक्षम बनाउनुपर्छ भन्ने आवाज मुखरित छ । यहाँनिर सायद विषयमा केन्द्रित हुँदै गरेको भएरै हो या कसरी अलिकति अस्वाभाविक लाग्ने पक्षसमेत देखिएको छ । नुमा खोटाङको ब्रिटिस लाहुरेकी छोरी अनि सुशान्त भने सुनाम अर्थात दर्जी (दलित) ।

र, दुवैको भेटघाटको समयरेखा हिसाब गर्दा २०४७/४८ सालतिर हुन पुग्छ । त्यो समयमा अन्तरजातीय विवाह त्यो पनि दलित र गैरदलित बीचमा असम्भव नभए पनि अत्यन्तै जटिल पक्कै थियो । त्यो जोडीले परिवार र समाजबाट बेहोर्नुपर्ने बुहार्तन निश्चय नै कल्पना भन्दा फरक हुन्थ्यो । धेरै कुराहरु बीचमा फ्ल्यासब्याक गरेर पुराना कुराहरु जोडिएको भए पनि सो विषय निक्कै नै अपेक्षित रहन्थ्यो तर त्यो विषयमा उपन्यास मौन छ । सायद मुख्य कथाले पनि विशेष गरि महिलाको मुद्दालाई केन्द्रमा राखेको भएर होला, दलित समस्यालाई खासै छोएको पाइएन । शीर्ष चरित्र “लेखक” स्वयं दलित भएकाले त्यस विषयलाई मिहिन रुपमा उठाउन सकेको भए अझ “सुनमा सुगन्ध” हुन्थ्यो कि!

प्रतिक्रिया
Loading...