लक्ष्मण अर्याल

उनले पेशागत जीवन आरम्भ शिक्षण पेशाबाट गरे । भारतीय सेनामा जागीर खाए | कैयौं वर्ष अङ्ग्रेजी विषयको प्राध्यापन गरे । उनी नेपाली भाषा साहित्य अङ्ग्रेजीकै काँटमा हर्लक्क नबढे पनि गति भने राम्रै पक्डिएको देख्थे । मनभित्र एउटा इच्छा जाग्थ्यो — नेपाली भाषा साहित्यमा केही काम गरौँ तर कहिले पेशागत चटारो त कहिले प्रशासनिक पदीय दायित्वका झमेला । विभिन्न कुराले सोचेका कुराहरू सोचमै अडिन्थे । फुर्सदका समय पारेर उनी नेपाली साहित्यका बजारमा पस्थे, रमाउँथे र मनमनै केही गर्ने सोचमा दृढप्रतिज्ञ बन्थे । यही सोचलाई मूर्त रूप दिन वि.सं. २०५९ मा उनले साहित्यिक क्रियाकलापमा आफूलाई संलग्न बनाउन कविडाँडाको स्थापना गरे । त्रैमासिक पत्रिका चरैवेति (चि.जि.प्र.का.द.नं. १०३/)६६/६७) प्रकाशन र सम्पादनलाई निरन्तरता दिए । हो, यो परिचय नेपाली भाषा र साहित्यलाई माया गर्ने अङ्ग्रेजी विषयका अवकाश प्राप्त प्राध्यापक एल. बि. क्षेत्रीका हुन् ।

हक्की स्वभावका एल. बि. क्षेत्रीले आफ्नो परिचयलाई फराकिलो पार्दै लगेका छन् । प्रकाशक, सम्पादक र साहित्यिक अभियन्ता मात्र होइन कवि र कथाकारका रूपमा समेत उनको व्यक्तित्व फैलिंदो छ । साहित्यिक बिसौनी कविडाँडामा बेलाबेलामा काव्यमेला लाग्छ । उनी कहिले साहित्यिक क्षेत्रमा लागेका अभियन्ताहरूलाई एकै थलोमा जमघट गराउँछन् र काव्यवाचन गराउँछन् भने कहिले साहित्यकारका कृतिहरूको मूल्याङ्कनको गोष्ठी चलाउँछन् । चरैवेतिका माध्यमबाट नेपाली साहित्यको समसामयिक प्रवृत्तिलाई उनले मलजल गरिरहेका छन् ।

कथा संग्रह इन्द्रमायाको देशमा

त्रिशङ्कुको देशमा क्षेत्रीको पहिलो प्रकाशित लघुकथा संग्रह हो । मन पहिलेदेखि नै जागेको भए पनि २०६४ सालमा मात्र आएर यसले संग्रहका रूपमा मूर्तता पायो । २०७१ सालमा भीडमा हराएको मान्छे प्रकाशित भयो । यो कविताहरूको संगालो हो । यसै साल प्रकाशित भयो — दोस्रो कथा संगालोका रूपमा उनको इन्द्रमायाको देशमा । गोटा गन्तीमा तिन वटा कृति प्रकाशित भएकामा दुईवटा कथासंग्रह प्रकाशित गरेका क्षेत्रीको आख्यान विधामा बढी रूचि छ भन्दा फरक नपर्ला । हुनत कविका रूपमा पनि उनी एक हृदयसंवेद्य काव्यसर्जक हुन् । कथाकारका रूपमा उनी लघु आयामका अर्थपूर्ण कथा लेख्छन् । कथाकार एल.बि. क्षेत्रीका कथामा प्रचूर मौलिकता भेटिन्छ । रचनामा दार्शनिकताको सानो अंश भए पनि झल्काउनुपर्छ भन्ने उनको लेखकीय मान्यता हो । यो मान्यताले उनका हरेक कृतिलाई कुनै न कुनै रूपमा स्पर्श गरेको हुन्छ । साहित्यकार र राजनीतिज्ञका बीचमा उनी स्पष्ट फरक देख्छन् । यसै सन्दर्भमा उनी भन्छन् — “साहित्यिक सिर्जनाका लागि मानवीय मन भएकाहरूको हृदय अग्रसर भएरहन्छ भने राजनीतिक सिर्जनाका लागि मानवीय मन नभएका व्यक्तिहरूबाट बाधाव्यवधान भइरहन्छ । यो नै रहेछ मूलभूत फरक साहित्यकार र राजनीतिकारहरूका बीच । साहित्यकार स्वार्थरहित यात्रामा निरन्तर हिंडिरहन्छन् भने राजनीतिकार स्वार्थसहित यात्रामा रोक्किंदै हिंड्दै गर्छन् । रोक्किनुको कारण प्रष्ट छ — व्यक्तिगत स्वार्थ ।” अर्थपूर्ण सोचाइ राख्दै संकीर्णता, नकारात्मक सोच र अहमलाई त्याग्दै योजनाबद्ध तरिकाले हिड्ने र रोमान्टिक तरिकाले बाँच्न जान्ने हो भने जीवन जीवन जस्तै हुन्छ भन्ने अभिव्यक्ति दिने क्षेत्री क्लासिकल होइनन् रोमान्टिक हुन् ।

यस छोटो समीक्षामा कथाकार एल.बि. क्षेत्रीको इन्द्रमायाको देशमा कथासंग्रहभित्र रहेका कथाहरूलाई चियाउने प्रयत्न गरिएको छ । रौंचिरा समालोचना गर्नुलाई यहाँ उद्देश्य बनाइएको छैन । कथा पढिसकेपछिका पाठकीय मस्तिष्कमा परेको छापलाई कथा विश्लेषणका आधार बनाइएका छन् ।

संग्रहभित्रको विचरण
(१) राष्ट्रनिर्माण : हाम्रा नेता स्वतस्फूर्त छैनन् । अरूबाट सञ्चालित छन् । कवि भूपिका पुरानो क्यारेमबोर्डका टुटेफुटेका गोटी जस्ता जो स्टाइगरद्वारा सञ्चालित हुन्छन् । तर जनताको नेतृत्वप्रति तीब्र असन्तुष्टि छ । कथामा छलफलका बीच फोन आउनु र फोनबाट सुनिएका निर्देशित विचारलाई आफ्नै रायका रूपमा पेश गर्ने मनसायले छलफलमा पस्नु स्टाइगरद्वारा सञ्चालित गोटीको नियति नै हो तर मोबाइल वार्ता टुंगिए पछि छलफलमा फर्किंदा हल खाली हुनु जनता नेतृत्वप्रति असन्तुष्ट छ भन्ने देखाउनु हो ।

कथा लघु आयाममा संरचित छ । कथामा जम्माजम्मी २६८ शब्द छन् । कथा प्रतीकात्मक छ । देश निर्माणको शैली मौलिक हुनु आवश्यक छ भन्ने विचार कथामा पाइन्छ । यो आयाम र प्रस्तुति दुबैका दृष्टिले लघुकथा हो ।

(२) रेमिट्यान्सको कथा : नेपाल बसेर विदेश हेर्दा त्यहाँको जिन्दगी वैभवपूर्ण छ तर वास्तविकता त्यस्तो होइन । जीवनका लागि संघर्ष स्वदेश र विदेश दुबैतिर छ । हामी ठान्छौं — संघर्ष हामीले मात्र गरेका छौं, दु:ख हामीले मात्र भोगेका छौं तर यो एकपक्षीय हेराइ हो । हाम्रा नीतिनिर्माताहरू रेमिट्यान्सले देश चलेको कुरा सगौरव गर्छन् तर रेमिट्यान्सका वास्तविक कथाव्यथा कस्ता छन् त्यो प्रति विश्लेषण गर्दैनन् । यी र यस्तै पक्षमा कथा केन्द्रित छ । कथाले सानो आयाममा धेरै कुरा भन्न खोजेको छ र भन्न सकेको पनि छ ।

कथा लघु आयाममा संरचित छ । कथामा ५२८ शब्द छन् । आयामका दृष्टिले यो छोटै भए पनि यो लघुकथा होइन कथा हो । कथाको वर्णनमा प्रभावकारिता छ । कथामा वर्तमान नेपालको प्रतिबिम्ब प्रतिबिम्बित छ ।

(३) दर्पदमन : घमण्ड राम्रो चिज होइन । शासनसत्तामा रहनेसँग घमण्ड होइन विचार हुनुपर्छ भन्नु दर्पदमन कथाको निचोड हो । कथाको अन्तिम अनुच्छेदमा शासक कस्तो हुनुपर्छ भन्ने कुरा व्यक्त छ । अन्तिम अनुच्छेदमा राजकुमारीको मुखबाट कथाकार यसो भनाउँछन् — “…. राजामा उच्च विचार हुनुपर्छ । यो जन्मको आधारमा होइन शिक्षाको आधारमा प्राप्त हुन्छ । … शारीरिक सुन्दरताभन्दा मन र मस्तिष्कको सुन्दरता धेरै माथि हुन्छ । …… देश हाँक्न मेरोजस्तो दृढ निश्चय र तिम्रो जस्तो निर्भीक मस्तिष्कको खाँचो हुन्छ ।”

लोककथा वा दन्त्यकथाको आधारबाट उठेजस्तो भान हुने दर्पदमन लघु आकारको कथा हो । कथाकी केन्द्रीय पात्र राजकुमारी परिवर्तनशील छ । परिवर्तनको वाहक पात्र कवि हो । विषयवस्तु सरल छ तर कथाले निर्देशित गर्न खोजेको कुरा सशक्त र गहन छ ।

(४) अन्य : राजनीतिमा राम्रा मान्छे हाम्रा मान्छे हुनु पर्ने हो तर यसो नभई हाम्रा मान्छे राम्रा मान्छे हुन पुगेको छ । दक्षहरू अन्यमा परेका छन् वा भनौं पाखा लगाइएका छन् । यो कथा बिग्रिएको राजनीतिले खाएको हाम्रैजस्तो देशको कथा हो ।

आयामका दृष्टिले यो गद्यरचना लघुकथा हो । कथाले राजनीतिको भागबण्डामा अल्झिएको कुनै अमुक पार्टीको अलोकतान्त्रिक छविको धज्जी उडाएको छ । पार्टी सभापति र सभापतिकै समकक्षी ठुला नेताले आआफ्नो खल्तीबाट समानुपातिक उमेदवारको सूची निकालेर पढ्न थाल्नुले यही कुराको द्योतन गर्छ ।

(५) इन्द्रमायाको देशमा : कथामा दुई विदेशी र एक नेपाली नारीको उपस्थिति छ । कथामा प्रयोग भएका तिन पात्रहरू — इन्द्रमाया, नोरा र क्यान्डिका विश्व प्रसिद्ध लेखकका सिर्जनामा आएका चर्चित नारी पात्र हुन् । इन्द्रमाया कथाकार विश्वेश्वरप्रसाद कोइरालाका रचनाकी नारी चरित्र हो भने नोरा विश्वप्रसिद्ध नाटककार हेनरिक इब्सेनको डल्स हाउसकी नारी चरित्र हो । क्यान्डिका जर्ज बर्नाड शाकी रचनाकी पात्रा हो । यी तिनै जना सशक्त भूमिकामा छन् विश्वसाहित्यका स्तरीय सिर्जनाहरूमा । कथाकारले यी तिन चरित्रलाई आफ्ना कथामा प्रयोग गरेर एउटा नौलो प्रयोग गरेका छन् ।

कथाकार एल.वि. क्षेत्री लिखित यस कथाको कुरा गर्दा चरित्रको विकास छैन कथामा तर पनि पति र छोरी मध्ये एउटा मात्र रोज्ने विकल्पमा छोरी रोजेकी नेपाली नारी इन्द्रमाया नै कथाकी केन्द्रीय र आदर्श चरित्र हो भन्दा हुन्छ । कथाको शीर्षकमा इन्द्रमायाको नाम परेकाले पनि कथाकारले इन्द्रमायाकै सेरोफेरोमा कथा घुमाउन खोजेको स्प्रष्ट हुन्छ । कथामा तिन नारी चरित्रलाई खडा गरिए पनि विचार भने दुई छ । नोरा इन्द्रमायालाई आदर्श मान्छे । विचार मिलेपछि मात्र कसैलाई आदर्श मानिन्छ । यसैले कथामा एक विचार नोरा र इन्द्रमायाको हो भने अर्को विचार क्यान्डिकाको हो । नोरा र इन्द्रमाया नारी अस्तित्वका सवालमा एक छन् । नोरा र इन्द्रमाया नर्वेली नाटककार हेनरिक इब्सेनका नारी पात्रजस्तै हक्की छन्, गोपालप्रसाद रिमाल लिखित मसान नाटकको पात्र कृष्णकी पहिली पत्नीजस्तै सशक्त छन् — नारी अधिकारका पक्षमा । जो कमजोर छ त्यसैलाई रोज्ने विचारकी क्यान्डिका नोरा र इन्द्रमाया भन्दा फरक छ कथामा । महिलाले सहनशीलता देखाउनुपर्छ भन्ने क्यान्डिका र एउटा सीमासम्म (मात्र) हामीले सहनशीलता देखाउनुपर्छ भन्ने नोराबीच द्वन्द्व छ कथामा । कथाकारले वैचारिक द्वन्द्वमा क्यान्डिकालाई पराजित देखाएका छन् । कथाकार भन्छन् — “क्यान्डिकाको अनुहारमा पराजयको मलिनता थियो ।”

कथा छोटो छ तर स्तरीय छ । कथाकारले यसै कथाको शीर्षकलाई कृतिको शीर्षक बनाएबाट कथाकार पनि कथामा स्वयम् सन्तुष्ट छन् भन्ने अनुमान गर्न सकिन्छ ।

(६) जवाफ : शैक्षिक अराजकताको राम्रो चित्रण छ कथामा । नेपालीमा एउटा उखान छ — हात्तीले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले हात्ती हल्लायो । आजको सन्दर्भमा यो उखान धेरै क्षेत्रमा चरितार्थ छ । शिक्षा क्षेत्रमा पनि यो उखानको सार्थकता भेटिन्छ । राजनीतिका नाममा शिक्षाक्षेत्रमा भएका नाङ्गो नाचलाई कथाकारले कथामा सुन्दर तरीकाले समायोजन गरेका छन् । काम गर्नेलाई काम गर्न नदिएर आफू राम्रोमा गनिने प्रवृत्तिको शालीन विरोध छ कथामा । कथाको विषय कथाकारले देखेको र भोगेको विगत हो । यसैले यो कथा संस्मरणात्मक छ । कथाको अन्त नाटकीय रूपले भएको छ । ६ वर्ष ६ महीना अघिको उद्दण्ड विद्यार्थीको आवाज र ६ वर्ष ६ महीना पछि फोनमा सुनिएको नरम आवाजका बीच मेल खाएको देखाएर कथाकारले समयले मानिसको स्वभावमा परिवर्तन ल्याउँछ भन्नेतर्फ सङ्केत गरेका छन् । यो कथा आजको भताभुंग समयको प्रतिबिम्ब हो । जम्माजम्मी ४६९ शब्दमा लेखिएको यो रचना लघु आयामको कथा हो ।

(७) उपहार : कथा मानवीय संवेदनाले चुलिएको छ । पदीय हिसावले ठुला मानिएकाहरू सानाका भावनाहरू बुझ्दैनन् । सानाका भावना बुझ्न मस्तिष्क होइन हृदय चाहिन्छ । कथाको सङ्केत यतैतिर हो । कथाका पात्रहरू मानवीर र रूपा सरलता र स्वच्छन्दताका प्रतिबिम्ब हुन् । यी दुईमा सलल बगेको नारायणीको प्रवाह भेटिन्छ । सैनिकहरूमध्ये केहीले कमीजको बाहुलामा सेतो फित्ता किन बाँध्छन् र यसको महत्व के हो भन्ने कुरामा अनभिज्ञ रूपा र सेतो फित्ताको महत्व बुझेको मानवीर दुबैमा सरलता र कपटशून्यता छ । यो कथाको विषय पनि कथाकारले देखेको र भोगेको विगत हो । नाइक (नायक), कमेज (कमिज), आइजा (आइज) जस्ता कथ्य भाषाको प्रयोगले कथालाई आकर्षक बनाएको छ । २७३ शब्दमा लेखिएको यो रचना लघुकथाको कोटिमा राख्न सकिन्छ ।

(८) स्वयमसेवक झपड : कथा दु:खान्त छ । दु:खान्त बन्नुमा झपडमा रहेको रक्सी खानै पर्ने लत कारण बनेर आएको छ । एक दिन कमाएर दुईतिन दिन बसी खाने रिक्साचालक झपडको यायावरी जीवनशैलीले जो कोहीलाई पनि आकर्षित गर्छ । झपड स्वच्छन्द छ । झपडको व्यवहारमा ऋणम् कृत्वा घृतम् पिवेत् भन्ने भावनाको प्रवलता छ । झपड सहयोगी छ यसैले आम मानिसको प्रिय छ । कथा यथार्थिक वृत्तमै घुमेको छ । उच्च ओहदामा पुगेका र सामाजिक आँखामा पर्ने कैयौं व्यक्ति पनि जीवनको कुनै विन्दुमा रक्सीको लतले सयपचासको याचक बनेको घटना हाम्रा वरपर प्रशस्त छन् । यसैले यो झपड व्यक्तिगत चरित्र होइन प्रतिनिधिमूलक चरित्र हो । कथाको उद्देश्य झपडको स्वयंसेवी चरित्र देखाउनुभन्दा पनि उसको स्वच्छन्द चरित्र देखाउनुतिर केन्द्रित भएकाले शीर्षकमा स्वयमसेवक विशेषण त्यति सामञ्जस्यपूर्ण लाग्दैन ।

(९) अध्ययन गर्न बाँकी छ : कथा श्रीमान् श्रीमतीको दैनन्दिन गतिविधिमा केन्द्रित छ । छोराछोरीहरू विदेशिएका शिक्षित परिवारको कथा हो यो ।

जीवन हुनुको मतलव यो गतिशील पनि छ । यसलाई हाँसेर जिउनुमा नै भलाइ छ । यहाँ श्रीमान् अर्थात् लेखकले एकाकी जीवन पनि हाँसेरै बाँच्ने सिद्धान्त अवलम्बन गरेका छन् । जसलाई उनले प्रसन्नताको सिद्धान्त भनी नामकरण गरेका छन् । लेखकहरूसँग बाँच्ने कला हुन्छ । यो कुराको सङ्केत पाइन्छ कथामा ।

कथामा वर्णन गरिएको घटना सामान्य नै हो तर यसले जे दिन खोज्यो त्यो अर्थपूर्ण छ । हामीले लैङ्गिक समानताका नाममा आज जे नारा दिंदैछौं त्यो कतै अपुरो त छैन भन्ने शंकालाई कथाकारले यहाँ अलि स्वतन्त्र छाडेका छन् । कथाकार यहाँ श्रीमतीको आग्रह टार्न नसकी पछि लाग्ने क्रममा निष्कर्ष वाक्यका रूपमा भन्छन् — “हाम्रो समाजलाई पुरुष प्रधान भनिन्छ तर यस बारे गहिरो अध्ययन गरी लैङ्गिक समानताको परिभाषा खोज्नु अत्यन्त आवश्यक छ ।” यो वाक्य भलै मजाकको रूपमा आएको किन नहोस् तर यसले नाराका रूपमा मात्र चल्ने गरेका समानताका अर्थले समाज बदल्दैन भन्ने अर्थलाई ध्वनित गर्न पुगेको छ । आकारप्रकार आदि सबैका दृष्टिले यो लघुकथा हो ।

(१०) रहर : रहर एउटा बाध्यताको कथा हो । संघर्षपूर्ण जीवनगाथा, दायित्वबोध र रहरका बीचको त्रिपक्षीय द्वन्द्वले कथा सशक्त बनाएको छ । टाढा हुँदा नजिकको चाहना, नजिक भएपछि पलाउने रहर यो जीवनको पाटोलाई कथाकारले औधी मीठो शैलीमा व्यक्त गरेका छन् यहाँ । प्रकाशसँग सँगै बस्ने चाहनामा चाहिंदैन बाला, मलाई सुनको रहर पनि छैन भनेर त्याग गर्ने रजनीमा प्रकाशको सामीप्यता पछि पुन: रहर पलाउनु अन्यथा होइन । यो त जीजीविषाको सूत्र नै हो ।

रहर एउटा प्रतिनिधि कथा पनि हो । यसमा रहरका लागि विदेशिन बाध्य भएका आम नेपालीहरूको रहर प्रतिबिम्बित भएको छ । सामान्यतया रहर पछि पनि फेरी रहर पलाउनुलाई उच्च महत्वाकाङ्क्षा भन्न सकिएला तर यहाँका रहर ज्यानमारा रहर नभएर आधारभूत रहर बन्न पुगेका छन् । बनोट बुनोट सबैका दृष्टिले यो कथा उच्च कोटिको ठहर्छ ।

(११) सोझो मान्छे : सोझो मान्छे लघु आयाम र नाटकीय झड्काका दृष्टिले लघुकथा हो । यो सोझै गतिमा छ । सामान्य भेटघाट, खानपिन, रङ्गरमाइलो कथाका सामान्य वर्णन नै हुन् तर कथामा सोझो मान्छेभित्रको बाङ्गोपन थाहापाउँदा पाठकका मानसिकतामा यसले राम्रै झड्का दिन्छ । मान्छे रहस्यले भरिएको प्राणी हो । एउटा कोणबाट मात्र यसलाई बुझ्न खोजियो भने त्यो गलत हुन्छ भन्ने भावना प्रवाहित गर्नमा कथा सफल छ ।

(१२) शिक्षक आनन्द : फोहोरी राजनीतिले थिलथिल्याएको शैक्षिक क्षेत्रको कथा हो — शिक्षक आनन्द । सफा राजनीतिले राम्रा मान्छे हाम्रा मान्छे भन्नुपर्नेमा हाम्रा मान्छे राम्रा मान्छे भन्दा सबै क्षेत्र समस्याग्रस्त बनेका छन् । यहाँ पनि यही समस्या छ । शिक्षकको योग्यता नाप्ने निकाय विद्यार्थी होइनन् अर्कै छ तर यहाँ शिक्षकको योग्यताको कसी विद्यार्थीले लगाउँछन् । यो पनि आफ्ना खेमाका मानिसहरूको रोजगारीका सुरक्षाका लागि ।

कक्षामा पसेर एक वाक्य पनि पुरा गर्न नपाउँदै राजनीतिको माखेजालोमा परेका कौशलेन्द्रमा हिनताबोध छैन । उनी राजीनामा दिएर समुस्कान घरतिर लाग्छन् । यस्तै राजनीतिका साथ पाएका शिक्षक आनन्दका ओठमा हीनताबोध हुनुभन्दा पनि मुस्कान फुल्छन् तर यी दुईको मुस्कानमा फरक छ । कौशलेन्द्रको मुस्कान स्वाभिमानको हो भने आनन्दको मुस्कान विजयको मुस्कान हो ।

कथाले शैक्षिक समस्याको चुरो पक्डेको छ । समस्यामूलकता, छोटो आकार, यथार्थिक प्रस्तुति यस कथाका प्राप्ति हुन् ।

(१३) मिठो हाँसो : आजको व्यस्त समाज र व्यस्त मान्छेको कथा हो — मीठो हाँसो । मुक्तकीय झड्का नभेटिने यस कथामा खुसी हुनका लागि फुर्सद कुर्नु पर्दैन ससाना फुर्सदिला पलहरूमा पनि खुसी भेट्न सकिन्छ भन्ने आसय छ । मध्यमवर्गीय जीवनशैलीमा देखिने निस्सासिंदो हतार कथाको एउटा पाटो हो भने पारिवारिक सहकार्य अर्को पाटो हो । पारिवारिक सहकार्यमा मात्र जीवन फूल कोपिलाउँछ र फक्रन्छ कथाले पक्डेको आशय यही हो ।

छोटो संरचना, जीवनको यथार्थपरक हेराइ कथाका प्राप्ति हुन् भने निरस अन्त्य कथाका सीमा हुन् ।

(१४) आँखा त मेरा पनि : बेरोजगारी समस्या, देशबाट पलायन हुँदै गरेका युवा र आफ्ना सन्तानलाई स्वदेशमै राख्न नसक्दा पीडा बोकेर बाँच्न विवश अभिभावकहरूको मर्मलाई छोएको छ यस कथाले । छोराबाट उपहारमा पाएको मोवाइलको कर्कश घण्टीलाई छोराकै मधुर आवाज ठान्ने आमाको संवेदनाले पाठक द्रवीभूत बन्छ कथामा । कथाको आरम्भ र विकास त सामान्य घटना नै लाग्छन् तर कथाको अन्त्य चोटिलो छ । प्रवाहमय भाषा, समाजका हरेकलाई स्पर्श गरेर बहने विषय, छोटो संरचना र प्रभावोत्पादक शैली यस कथाका प्राप्ति हुन् । लघुकथाका लागि वृहद् कथानक र फराकिलो परिवेश चाहिंदैन भन्ने मान्यतामा यो कथा खरो उत्रिएको छ ।

(१५) रूपान्तरण : रूपान्तरण लघु आकारको कथा हो । संस्कृतिका नाममा थोपरिएका गलत संस्कारहरूको यस कथामा विरोध छ । गलत संस्कारहरू बदलिनुपर्छ — यो कथाको सन्देश हो तर सांस्कृतिक विरासतका रूपमा आएको संस्कार एकैचोटि बदलिंदैन । यसलाई बदल्न नयाँ पुस्ताका व्यवहारले पनि सघाउँछन् । यस कथाको बुहारी पात्राले यदि जातिपातिको संस्कारमा हुर्किएको पुस्तालाई जबरजस्ती बदल्न खोजेको भए दुई पुस्ताबीच द्वन्द्व स्थायी हुन्थ्यो तर बुहारीले त्यसो गरिन । बुहारीको मायाले, ममताले, संस्कारले, विवेकले पुरानो पुस्ताको संकीर्ण हृदय परिवर्तन भयो । द्वन्द्व बिना पनि समाज परिवर्तन गर्न सकिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । कथाको सफलता पनि यहीं देखिन्छ ।

सन्देशात्मकता, सरलता र भाषिक प्रवाहमयता कथाका सवल पक्ष हुन् ।

(१६) आज मैले एउटा निर्णय लिएकी छु : वाक्यात्मक शीर्षक भएको यो कथा पुरुष प्रधान समाज बिरुद्धको सामाजिक आवाज हो । रवीन्द्र र प्रकाश त्यही समाजका प्रतिनिधि पुरुष चरित्र हुन् जो नारीप्रति असहिष्णु छन् । त्यस्तै आमा कलावती र छोरी सुष्मा पुरुषहरूको दमन सहन विवश नारीहरू हुन् । सुष्मा नयाँ पुस्ताकी नारी चरित्र हो तर उसमा क्रान्तिको साहस छैन । समस्याबाट भाग्न खोज्ने पिन्चे र पलायनवादी बनाएकाछन् कथाकारले सुष्मालाई । आमा कलावतीमा भने क्रान्तिचेत छ जो आफ्नो समयमा पुरुष दासता र उत्पीडनप्रति बोल्न नसके पनि छोरीप्रति भएको अत्याचारले उसमा क्रान्तिसाहस पलाएको छ । कलावतीकै साहसबाट उसको पति रवीन्द्र पनि जागेको देखाएर कथाकारले समस्या मात्र होइन समाधानको सङ्केत पनि गर्न भ्याएका छन् कथामा ।

कथा आकारका दृष्टिले छोटो छ भने चेतनाप्रवाहका दृष्टिले बलियो छ ।

(१७) सिमाना : नेपालबाट भारत प्रवेश गर्ने सीमामा कुनै समयमा देखिने गरेका तनावलाई सिमाना कथाको कथ्य विषय बनाइएको छ । यहाँ कथाकारले गाँस र कपासका लागि सङ्घर्ष गर्न हिंडेका नेपालीहरूका समस्यालाई जीवन्त रूपमा पस्किएका छन् ।

समस्याहरूको समाधान आत्तिएर हुँदैन शालीनता र भद्रताले समस्याको समाधान खोज्न सकिन्छ तर सबै ठाउँमा यो पद्धतिले काम गर्दो रहेनछ । यहाँ महिला पात्रको रौद्रताले समस्या सुल्झिएको देखाइएको छ । यदि यस कथाका पात्रहरूले समस्यालाई जीहजुरीमा टुंग्याउन खोजेका हुन्थे भने अनुमान गर्न सकिन्छ पक्कै तिनीहरू एउटा दुश्चक्रमा फस्थे । कथाले सबै समस्याको समाधान एउटै ढाँचाबाट हुन सक्दैन भन्ने देखाएको छ ।

तात्कालिक र दीर्घकालिक दुबै समस्यातर्फ कथाले सङ्केत गरेको छ । राहदानी बिनाका दुबै पात्र सीमामा पक्डिंदा त्यसबाट फुत्किनु पर्ने अवस्था तात्कालिक समस्या हो भने सीमा पारि जान राहदानी चाहिन्छ भन्ने ज्ञान हुँदाहुँदै त्यसतर्फ सचेत नदेखिनु दीर्घकालिक समस्या हो । यो दीर्घकालिक समस्या पात्रहरू आफैंले निम्त्याएको समस्या हो ।

सम्वादमा स्थानीयता, समस्यामूलकता, सरलता, यथार्थता कथाका प्राप्ति हुन् भने कथात्मक संरचनामा आवश्यकताभन्दा बढी सङ्कुचन कथाका सीमा हुन् ।

(१८) हतारमा : हतारमा सामाजिक मनोविज्ञानमा आधारित कथा हो । आजका मान्छेहरूसँग समय छैन । सधैं हतपत, सधैं हतार मान्छेहरूको दैनिकी बनिरहेको छ । हतारमा पनि फेरी मान्छेमा अर्को प्रवृत्ति जोडिएको छ — विस्मरण । विस्मरण बुढ्यौलीको सङ्केत हो जसले सङ्कटमा सङ्कट थपिदिन्छ तर पनि जीवन त बाँच्नुपर्छ नै कथाको म पात्रले झैं । कथामा रमरम हास्य र व्यङ्ग्य छ । सङ्क्षिप्तता, मनोवैज्ञानिक यथार्थता, सरलता कथाका वैशिष्ट्य हुन् ।

(१९) अधिकार : परम्परागत पुरुषसत्ताका बिरुद्धमा नारी बिद्रोह देखाउनु अधिकार कथाको विषय हो । कथाको विद्रोही नारी चरित्र सुष्मामा इब्सेनको डल्स हाउसकी नायिकाको प्रतिच्छाया देखिन्छ । अझ भनौं रिमालकृत मसान नाटककी नायिकाको प्रतिबिम्ब झल्कन्छ सुष्मामा । पुरुषले जे गरे पनि हुने अधिकार र नारीले बिराउनै नहुने कर्तव्यका बीच हुर्केको सामाजिक अन्यायको विरासत भत्काउन कथाकारले गरेको प्रयास प्रसंशनीय छ ।

कथाको आयाम संक्षिप्त नै छ तर संक्षिप्तताले कथाको अर्थगत विस्तृति र उचाइलाई घटाएको छैन । कथा पाठकलाई पुरापुर सन्तुष्टि दिन सफल छ ।

द्वन्द्वात्मकता, कुतूहलता, सघन संवादात्मकता, प्रस्तुतिको तिखोपन, विषयवस्तुको गहनता यस कथाका प्राप्ति हुन् ।

(२०) सङ्गीता : भविष्यप्रति सचेत सङ्गीता र उन्मुक्त वातावरणमा बाँच्न चाहने बलेलाई पात्र बनाएर लेखिएको यस कथामा कथाकारको सहानुभूति सङ्गीताप्रति छ तर पनि कथाकारले सङ्गीतालाई आफ्नै मेसोमा डोर्‍याएका छैनन् । सङ्गीता उसकै पति बलेको पछिपछि लाग्न विवश छ । चेतनाको विकास हुँदाहुँदै पनि सङ्गीताले परम्परा तोड्न सकेकी छैन । लाग्छ — कथाकारले त्यो परम्परा तोडाउनुपर्थ्यो । सङ्गीताले जित्नुपर्थ्यो र बले सङ्गीताको विचारमा डोरिनुपर्थ्यो ।

पूर्वदीप्ति शैलीमा कथा हिंडेको छ । सोचाइहरू वर्गअनुसार फरक फरक हुन्छन् । कथाले पक्डिएको चुरो यही हो जस्तो लाग्छ । खलाँसीको सपना ड्राइभर हुने हुन्छ । उसले अर्को संभावनाको क्षितिज देखेको हुँदैन । हो, यहाँ बलेले देखेको समकक्षीहरूको सपना कतारभन्दा पर पुगेको छैन । यसैले ऊ पनि कतार परको सपनामा आफूलाई पुर्‍याउन सक्दैन । अझ पत्नी सङ्गीताको विचारमा डोरिनु भनेको उसको पुरुषत्वको अहममा चोट पुग्थ्यो होला सायद । यसैले उसले स्वतन्त्रतामा बाँच्न चाह्यो र बाँच्यो पनि ।

कथा आकारमा छोटो छ । पूर्वदीप्ति शैलीले कथालाई संग्रहका अन्य कथाभन्दा पृथक् र आकर्षक बनाएको छ ।

(२१) बाबुजिनी : बाबुजिनी कथाको शीर्षक अनौठो खालको छ । बाबु शब्दमा जी प्रत्यय लागेर बनेको बाबुजी शब्दमा पुनः बाबुजीकी पत्नी भन्ने अर्थमा नी प्रत्यय थपिंदा बाबुजीनी (काजीबाट कजिनी, डाक्टरबाट डाक्टरनी भएजस्तै) बनेको रहेछ भनेर बुझ्न कथा नै पढ्नुपर्छ । कथा संस्मरणात्मक छ । मानिस भविष्यप्रति जति जिज्ञासु हुन्छ त्यति नै अतीतप्रति पनि मोह राख्छ । यो कथा अतीत प्रेमको राम्रो उदाहरण हो । अतीतप्रतिको अतिशय मोह स्वच्छन्दतावादीहरूको खास विशेषता हो । प्राकृतिक राजधानी सिमलालाई परिवेश बनाइएको यस कथाले सैनिक जीवनका रमाइला क्षणहरूको पटाक्षेप गरेको छ । यो परिदृश्य कथाकारले देखेको परिदृश्य नै हुनुपर्छ । यसैले कथाले बढी नै सत्यताको आभाष गराउँछ ।

प्रवाहमय भाषा कथाको सशक्त पक्ष हो । कथाले खुल्दुली जगाउँछ तर कथाको अन्त्य पाठकीय धारणा अनुरूप बनेको छैन । कथाका अन्य पक्षहरू भने सशक्त छन् ।

(२२) उसले फेरी एउटा सपना बुन्नु छ : आयामका दृष्टिले संग्रहकै लामो कथा हो यो तर कथाको औसत आकार भने छोटै छ । आर्थिक रूपमा विपन्न वर्गका मानिसहरूको कथा अनि व्यथा छ यसमा । कथा वाचनको शैली चित्ताकर्षक छ । कथाको शीर्षक वाक्यात्मक छ । प्रायः रचनाको शीर्षक वाक्यात्मक राखिंदैन तर यो शीर्षक यस कथाका लागि भने सुहाएको छ ।

संग्रहभित्रका कथाहरूमध्ये यो कथा सर्वाधिक सफल कथा हो । एउटा सञ्चित सपना चकनाचूर हुँदा जीवनलाई निरन्तरता दिंदै पुनः अर्को सपना बुन्नुले आशावादिता जीवन हो भन्ने अर्थ ध्वनित हुन पुग्छ कथामा । आशा जीवन हो तर आशाको लोप सायद मृत्यु नै होला । कथाकारले जीवनवादी कथा लेखेका छन् । यसैले यो कथा सफल छ । यो कथाको कोटि उच्च हुनुको अर्को कारण पनि छ — त्यो हो यसको प्रस्तुतीकरण । कथाको प्रस्तुतीकरणमा भएको नौलो प्रयोगले कथालाई सशक्त र जीवन्त बनाएको छ ।

अन्तमा, यस सङ्ग्रहभित्र जम्माजम्मी २२ कथाहरू सङ्ग्रहित छन् । सबै कथाहरूको आयाम संक्षिप्त नै छ तर केही कथाहरू लघुकथा छन् भने केही कथाहरू आयामगत संक्षिप्तता भइकन पनि कथा बनेका छन् । कथाहरूमा भोगिएका, देखिएका, सुनिएका घटनाहरूले बढी प्रश्रय पाएको देखिन्छ । कतिपय कथामा वर्णनात्मकता भेटिन्छ भने कतिपय कथाहरू सम्वादात्मक छन् । कथाहरूको प्रस्तुतिमा परम्पराको साभार निरन्तरता छैन । परम्पराको क्रमभङ्गताको बाङ्गाटिङ्गा बाटाहरूमा कथाहरू डोरिएका छन् । लेखकहरूको सबै लेखनहरूले उच्चताको सगरमाथा छोएको हुँदैन । यो कुरा कथाकार एल.बि. क्षेत्रीका कथामा पनि लागु हुन्छ । केही नगण्य कथाहरूलाई छाडेर उनका कथाहरू उत्कृष्ट ढङ्ग र ढाँचाकै छन् । आफ्नै शैली र बेग्लै स्वादका कथाहरू लेख्ने एल.बि. क्षेत्री कथाकारका रूपमा सफल छन् । सरलता, प्रवाहमयता, यथार्थपरक प्रस्तुतीकरण, संक्षिप्तता, मौलिकता आदि कथाकार एल.बि. क्षेत्रीका कथागत वैशिष्ट्य हुन् ।