साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘भोकको लय’भित्र नवराजहरूको प्रतिविम्ब

Chovar Blues Mobile Size
भोकको लय कविता संग्रह

फेरि एउटा समाचार मिडिया/संजालहरूमा भाइरल भएर आएको छ- “एक उच्च जातकी युवतीसँग प्रेम गरेको निहुँमा प्रेमी दलित युवकको हत्या !”
उफ् ! बारम्बार हृदय हल्लाउने गरी समाचार आइरहन्छन् मात्र आइरहन्छन् । शताब्दी लज्जाबोध गरिरहेछ । ठीक यही समय पढिरहेको छु मैले, कवि कृष्ण विश्वकर्माको कविताकृति “भोकको लय” । कृष्णहरूले भोकको लय कहिलेसम्म लेखिरहने ? जातीय छुवाछूतले निम्त्याएको सिलसिलेवार हत्या कहिले रोकिने ? यी झन्झन् दोहोरिरहँदै आइरहेका घटनाहरूले यो प्रष्ट हुन्छ कि, हाम्रो समाज अझै यथास्थितिवादबाट बाहिर निस्किरहेको छैन । इतिहासले खनेको गहिरो एउटा वर्ग विभेदको खाडल छ यहाँ- अझै पुरिएको छैन । रूढिवादी परम्परा यथावत् उस्तै छन् गाउँ-समाजमा ।
र त भोकको लयभित्र कवि लेख्छन्-

मलाई
एउटै कारणले सहर मन पर्छ ।

भर्खरै
एकजोडी चखेवाचखेवी गाउँबाट लखेटिएको छ
बाहिरी परतमै सही सहरले शरण दिएको छ ।

…….!

( गाउँ र रूढिहावाको विरासत )

sagarmani mobile size

कहिलेसम्म चखेवाका जोडीहरू लखेटिरहनुपर्ने ? कहिलेसम्म नवराजहरूको दुखान्त कथा भोगिरहनुपर्ने ? यस्ता अनगिन्ती घटनाहरूका बाबजुद अगर कोही अन्तरजातीय दम्पतीहरू छन् त समाजमा अपहेलित भएर बाँच्न विवश छन् । यसरी जब मानसिक यातना र दर्दले बिछिप्त बनाउँछ मान्छेलाई, हामी भगवान खोज्दै मन्दिरको ढोका ढकढक्याउन पुग्छौँ । हेक्का होस् — मन्दिर तिनैहरूको हो, “देउता ” तिनैहरूको हो, जसले धर्मको आवरणमा व्यापार गरिरहेका छन् । धार्मिक ग्रन्थहरूको आडमा अन्धविश्वासको बीउ रोपेर परम्पराको खेती गरिरहेका छन् । अन्ततः हामीले के पायौँ देउताको दैलोमा पुगेर ?
जान्दछन् कवि छद्मभेषीहरूको अनुहार र खबरदारीको भाषामा सतर्क गराउँछन्-

ढोका —
विभेदको फलामे चिउरा हो
निषेधको सूचक हो
पर्दा पछाडिको पर्दा हो
जञ्जीर हो अनि बन्दीको पासो पनि हो ।

( ढोका )

यहाँ जातीय दम्भमा जघन्य अपराध हुँदै आइरहेको छ । कथित उपल्लो जात भनिनेहरूबाट अन्तरजातीय प्रेमको खिल्ली उडाइन्छ । छुवाछूत, विभेद-दलन, अत्याचार शब्दमा मात्रै गैह्रकानुनी भएको छ । केवल संविधानको पन्नामा शब्द संशोधन गर्दैमा जातीय अहंकार संशोधित नहुँदोरहेछ । र त हरेकपटक राज्यबाटै कमजोर बनाइन्छ दलितहरूलाई विभाजित गरेर दलितहरूको मुद्दा ।

मिठाई रहेछ नारा — लोभ्याइरहन्छ
अफिम रहेछ नारा — मत्याइरहन्छ
हतियार रहेछ नारा — टुक्राइरहन्छ

( नाराभित्रको नारा )

जसले बनाए खुकुरी-खुँडा । जसले बनाए भरुवा बन्दुक । उनैले बनाएका हतियार समातेर नालापानीको युद्धमा वीर गोर्खालीहरू अंग्रेजसित युद्ध गरे ।
इतिहासमा नाम लेखियो । तर हतियार बनाउने विश्वकर्माहरूको कथा गर्भभन्दा बाहिर नआएकोमा, अपहेलित हुनुको पीडाबोध छ कविलाई —

गोर्खाली पहिचानको धरोहर
सिरुपाते खुकुरी
तर, उसको आरनको कथा
अझै अज्ञात गर्भमै कैद छ ।

( फलाम पिट्ने मान्छे )

ई.पू. ३००० देखि १५०० सम्मको अवधि अघिको मानव समाजको अध्ययनले भन्छ — उतिबेला धर्म र जाति प्रथाको विकास भएको थिएन । देवीदेउताको पूजा अराधना गर्ने परिपाटी थिएन । त्यतिबेलाका मानिसहरूको दिनचर्या जीवनका आवश्यकताहरूको परिपूर्ति गर्नुमै बित्दथ्यो । समयक्रममा, मानव सभ्यताको विकास हुँदै गयो । छट्टुहरूले वर्ग विभाजन गर्न थाले । अलौकिक शक्तिको पूजा गर्ने प्रचलन बनाइयो । ईश्वरीय चिन्तनको अवधारणा बनाउँदै जान थालियो । मानिसहरूलाई जातजातिमा विभक्त गरेर शोषण गर्न थालियो । विभिन्न कुरीति, कुसंस्कार, अन्धविश्वासलाई परम्परागत मान्यता दिन थालियो ।
यसरी शक्तिशाली वर्गहरूले कमजोर वर्गहरूलाई शोषण दमन गर्ने सिलसिला आज पनि यथावत् छ । यही अन्धविश्वास, अन्धपरम्परा र नकारात्मक चिन्तनको हावीपनले आज पनि यहाँ नवराजहरू विभत्स किसिमले मारिन बाध्य भएका छन् । जातीय छुवाछूतजस्तो घिनलाग्दो प्रथा हराइसकेको छैन । जसलाई तोड्न दलितहरूले अब मुठ्ठी उठाउन जरुरी छ भनेर कविले यहाँ वर्ग संघर्षका लागि कवितामार्फत् आवाज बोल्छन्-

चट्याङ लेखूँ , हावाहुरी लेखूँ
जब उस्तै देख्छु
बाटो मुनिका फूलहरूको सासना
हुन्डरी लेखूँ, बारूद लेखूँ लाग्छ ।

( एक टुक्रा रित्तो कागज )

कविले उठाएका मुद्दालाई विषयान्तर गर्न कतिले उनलाई जातीयताको ट्याग भिराउन पनि सक्छन् । विखण्डनकारीको बात लाग्न सक्छ । तर कवि फराकिलो विचार बोक्छन् । जहाँ कुनै भेदभाव नहोस् । उचनीच नहोस् । यही उच्चचेत र सहअस्तित्व उनको एक मात्र ध्येय देखिन्छ-

उनीहरूको आँगनमा म खेल्न पाऊँ
मेरो आँगनमा उनीहरू गर्वले खेलून्
नहोस् बीचमा कुनै विभेदका पर्खालहरू ।

( मेरो आर्तनाद र आग्रह )

•••

‘भोकको लय’भित्र समावेश एकाउन्न वटा कविताहरूमा सिलसिलाबद्ध किसिमबाट सीमान्तकृत वर्गहरूको, किनारीकृत वर्गहरूको, उत्पीडित वर्गहरूको दबिएको-दबाइएको आवाज उठाइएको छ । कविले उठाएको मुद्दा उत्तिकै सान्दर्भिक र जायज छन् । कविता लेखनमा कविको अनुभव, अनुभूति र बौद्धिक मिश्रणले कविको सामाजिक चिन्तन र वैचारिक चेत उच्चकोटीको देखिन्छ भने कवितापछि कविताहरूमा शब्दहरू दोहोरिनु, चलनचल्तीमा आइसकेका विम्व/उपमाहरू प्रयोग हुनु, भाषिक शिल्प-सौन्दर्य र कवित्वमा खाँदिलोपनको अभाव देखिनु कृतिको कमजोर पक्ष देखिन्छ । यद्यपि, दुविधा छैन, समकालीन कविहरूमा जातीयताको मुद्दालाई सिर्जनात्मक बनाएर बुलन्द आवाज उठाउने कृष्ण विश्वकर्मा यो समयका प्रखर र सशक्त कवि हुन् ।

प्रतिक्रिया
Loading...