लक्ष्मीपूजाको दिन छ । दैलेखी भूगोलको एउटा भिरमा घाँस काट्न जाँदा एक महिला सुत्केरी हुन्छिन् । आफू र आफ्नो वंश प्रतिनिधि ठानिएको पुरुष बच्चालाई सर्वशक्तिमान शासकको रूपमा स्थापित गराई आफ्नै विपरीत लिङ्गी सन्तानलाई नोकरसरह व्यवहार गर्ने पुरुषवादी एकात्मक चिन्तनको कुरूप सामाजिक परिवेशबिच ती महिलाले वनमै छोरी जन्माउँछिन् । शिकारीहरूले भेटेर उद्धार गरी घर पुर्याइदिन्छन् । घर खान्दानी छ । सुत्केरीको राम्रै स्याहारसहित बच्चाको न्वारान गरिन्छ । नाम राखिन्छ– पार्वती । थर त मल्ल हुँदै हो । यिनै पार्वती मल्ल म पात्र भई कथा वाचन गर्दछिन् । उनै हुन् यस उपन्यासकी मुख्य पात्र ।
उपन्यास खण्ड खण्डमा विभाजित छ । प्रत्येक खण्ड शीर्षकयुक्त छन् । पहिलो खण्डको शीर्षक छ– ‘शीतको थोपा’ । यस खण्डमा पार्वती मल्लको जन्म खान्दानी परिवारमा भए पनि पितृसत्ताको विभेदमा आफ्नै घरका छोरीहरूसमेत पर्ने दृष्टान्त देखाइएको छ । समयको मागअनुसार पार्वतीलाई विद्यालय जानबाट रोकिँदैन । उनी विद्यालय जान्छिन् । जाँच आउँछ, दिन्छिन् । अर्काको दैलो पोत्ने जात हो, जेसुकै गरोस् भन्ने मनोविज्ञानमा बाँचेको परिवार छ । नतिजा आउने दिन पार्वतीको कोही अभिभावक विद्यालय जाँदैनन् । एक्लै नतिजा पर्खिरहेकी पार्वती प्रथम भएर पुरस्कार ग्रहण गर्छिन् । घर फर्कंदा साथीहरू अभिभावकसहित देखेर पार्वती रुन्छिन् । उपन्यासकार यो आँसुलाई शीतको थोपासँग तुलना गर्छन् ।
‘बालवीर काकाको आँसु’ शीर्षकको दोश्रो खण्डमा धेरै मृत्युका घटनाहरू छन् । मानवीय त्रुटिका कारण हुने मृत्युहरू । शिकार खेल्न जाँदा शिकारीको बन्दुकले आफ्नै साथी ढल्छ । बिषालु जङ्गली च्याउ खाँदा परिवारै मर्छन् । छाउगोठमा महिलाको मृत्यु हुन्छ । यी सब मृत्युहरूले पाठकलाई दुखाउँछन् नै । तर त्योभन्दा बढी दुखाउँछ, रिन तिर्न नसकेपछि भएभरको जायजेथा सामन्तलाई जिम्मा लगाई गाउँ छोडेर हिँड्ने कथित दलित पात्र बालवीरको बहिर्गमनले । मृतकको शोकमा हैन, जीवितको उद्धारमा जीवनको ऊर्जा लगाउनु मानवको धर्म हो भन्ने सन्देश यहाँ छ ।
अर्को खण्ड हो– ‘अनौठो संसार’ । यस खण्डमा आइपुग्दा पार्वती ठुली भैसक्छिन् । एसएलसी दिइसकेपछि नतिजा नआउँदाको समय यहाँ छ । गाई चराउँदै जङ्गल र खोलातिर बित्दछन् दिनहरू । एकदिन, पार्वतीहरू खोलामा पौडी खेल्दै हुन्छन् । त्यसै बेला सबैका गाईवस्तु असाधारण तरिकाले दौडेर मान्छेनजिक आउँछन् । तर पार्वतीको लैनो गाई आउँदैन । त्यसलाई बाघले आक्रमण गरेर मारेको भेटिन्छ । मृत गाईको थुन गानिएर दुध झर्ला जस्तो देखिन्छ । पार्वती घर गएर बाच्छासित रुन्छिन् । यसबाट लेखकको भावुकता र प्राणीप्रतिको समदृष्टि अनुमान गर्न सकिन्छ ।
स्वाभाविक हो, यो उमेरमा प्रेम हुन्छ । यहाँ पार्वती सुवास भन्ने केटाको प्रेममा पर्छिन् । उनको साथी चन्द्रा दिपकसँगको प्रेममा पर्छिन् । कसैलाई बिनाकाम भेटिरहन मन लाग्छ भने त्यो प्रेम हो र प्रेममा परेको बेला अनेक बहानामा प्रेमी–प्रेमिका भेटिरहन्छन् । यहाँ पनि पार्वती, सुवास, चन्द्रा र दिपकहरू भेट्दैनन् मात्रै, रातै पनि बिताउँछन् । यो त भयो उमेरदारीले गर्ने स्वाभाविक प्रेमको चित्रण । यसभन्दा फरक प्रेम पनि छ यहाँ । गाउँमा एक जना कोढी छन् । उनको घर छैन, कटेरामा बस्छन् । एकदिन बिहान सबेरै, पार्वतीहरू पानी लिन जाँदा कोढीको कटेरामा अनौठो दृश्य देख्छन् । ‘माथि बज्यै’ भनिएकी (सायद माथि घर भएकी) बृद्धा कोढीलाई अँगालोमा बेरेर रुँदै हुन्छिन् । नातिनातिनासमेत भएकी बज्यैले कोढीलाई त्यसरी अँगालो हालेर रोएको देखाउनु प्रेमको अनन्ततामाथि लेखकको न्याय हो भन्न सकिन्छ । एकदिन कोढीको मृत्यु हुन्छ । कटेरानजिकै चिहान खनेर शव गाडिन्छ । केही समयपछि चिहानमा पीपलको बिरुवा देखिन्छ । पीपल तिनै बज्यैले रोपेको अनुमान गर्न घोत्लिनै पर्दैन । नवप्रेमीहरूलाई हामी पनि बुढा हुन्छौँ र त्यति बेला अहिले गरेको प्रेम बिर्सिंदैन (नदेखाउनु अलग कुरा) भन्ने सन्देश दिन प्रेमको यो सन्दर्भ सफल त छ नै, एक लेखकका हैसियतमा (मलाई) सकारात्मक ईष्र्यासमेत पैदा गर्दछ ।
अर्को खण्डको शीर्षक छ ‘जलमै हराए जलराशिका फोकाहरू’ । पार्वतीका हजुरबा गाउँका एक सामन्त हुन् । विभेदजन्य व्यबहारको असली कार्यान्वयन उनैले गराउँथे । गरिब निमुखाको बास उठाउन अप्ठेरो मान्दैनथे । घरमा छोराको जातलाई बेहद स्वतन्त्रता दिने र छोरीमाथि विभेद गर्ने काम पनि उनकै थियो । यसबाट पुल्पुलिएको पार्वतीको दाइ साइँदुवा भएर निस्केको थियो । एकदिन गाउँको मेलामा एक जनाको हात छिनाएपछि बेपत्ता भयो । चिना, जोखना अनेक हेराउँदा पनि कहीँ पत्ता लागेन । यसबिच हजुरबा बिते । व्यबहार बाको काँधमा आयो । बाको स्वभाव हजुरबाको झैँ सामन्ती थिएन । पार्वतीलाई माग्न कुटुम्ब आउँदा बेपत्ता छोरो फर्केर आउला, त्यतिन्जेलसम्म पठाउन मन छैन भनिदिए । जुन कुरा पार्वतीको इच्छाअनुकूल मात्र थिएन, प्रेममाथिको न्याय पनि थियो ।
एसएलसीको नतिजा आयो । पार्वती फेल भइन् । सुवास पास मात्र भएन, थप उच्च शिक्षा लिन गाउँ छोडेर सुर्खेत हिँड्यो । ऊसँगको बिछोडमा तड्पिरहेकी पार्वतीको मनमा त्यति बेला खुसी छायो, जति बेला बर्षौं बेपत्ता भएको दाइ फर्केर आइपुग्यो । पार्वती मात्र हैन बाआमा र गाउँघर नै खुसी बनाउँदै आइपुगेको पार्वतीको दाइले खुसीलाई धेरै दिन टिक्न भने दिएन । जाँडरक्सी, जुवातास र रन्डीबाजीको कुलतमा फसेर फर्केको उसले गाउँमा पनि त्यही व्यवहार गर्दा परिवारको खुसी पानीको फोका झैँ पानीमै बिलाएको प्रसङ्गसँगै बच्चालाई पुल्पुल्याउँदाको भयङ्कर नतिजा एकदमै स्वाभाविक ढङ्गले प्रस्तुत छ यहाँ ।
अर्को शीर्षक छ– ‘मृगतृष्णा’ । यस खण्डमा पार्वतीको दाइले जुवा खेलेर आमाको सुनधरी सिध्याउँछ । सम्झाउँदा बालाई पिट्छ । बाआमाको मन हो, सुधार्नै प्रयास गर्छन् । सुध्रिने आसमा बिहे गरिदिन्छन् । सुध्रिनु त परै, बुहारीकै बेहाल बनाइदिन्छ । उनी दुब्लाएर दयालाग्दो बन्छिन् । दशा त्यत्तिमै सकिँदैन । अर्काको स्वास्नी भगाएर ल्याउँछ । बाआमाले जारी तिरिदिनुपर्छ । जारी ल्याएको श्रीमतीको हालत पनि जेठीकै जस्तो बनाइदिन्छ ।
‘अँधेरी रात र विरही धुन’ शीर्षकको खण्डमा पार्वतीकी साथी चन्द्रा (दिपकसँग प्रेम गर्थी) लाई अभिभावकको गोप्य स्वीकृतिमा कुटुम्बले लतार्छन् । अनिच्छित नै भए पनि उनको बिहे हुन्छ । जसको परिणाम दिपकको हृदयघात भई मृत्यु हुन्छ । यता पार्वतीलाई बाबुसरहको फुपाजु माग्न आउँछन् । पार्वती बुवासमानको मान्छेलाई बाबुकै आदर गर्छु, अब एक शब्द पनि कुरा अघि बढ्यो भने मर्छु भन्छिन् । दुुष्ट दाइले पैसा लिएर वचन दिएको हुन्छ । बहिनीको व्यवहारले रिसाउँछ । ऊ पार्वतीलाई पिट्न थाल्छ । छुट्याउन जाँदा बुवाको हातै भाँचिदिन्छ । काम्रो बाँधेकै अवस्थामा पार्वती, बुवा र आमाले घर छोड्छन् ।
‘गाउँको सम्झना’ शीर्षकमा अर्को खण्ड छ । यसमा घर (दैलेख) बाट हिँडेका पार्वतीहरू सुर्खेत पुगेर मीतबाको घरमा बस्न थाल्छन् । क्याम्पस पढ्न सुर्खेत नै गएको सुवाससँग अनेक असजिलोबिच पार्वतीको भेट हुन्छ । त्यतिन्जेल देशमा जनयुद्धले बृहत् रूप लिइसकेको हुन्छ । पार्वतीका आफ्नाहरू भटाभट युद्धमा होमिन्छन् । प्रेमी सुवास र साथी चन्द्रा छापामार बनेर भूमिगत बन्छन् । चन्द्रा त नाबालक छोरा नै छोडेर हिँड्छे ।
‘कथित जनयुद्ध, चन्द्रा र मेरो जीवन’ शीर्षकको अर्को खण्डमा पार्वतीलाई भेट्न चन्द्रा आउँछे । उनीहरूको भेटमा पाठक पनि भावुक बन्न बाध्य भइन्छ । यहाँ पार्वतीले बोलेको एउटा संवाद छ– ‘चन्द्रा ! म अघि मरेँ भने मेरा बाआमा तेरा जिम्मा । बाँचेँ भने तेरो सन्तान मेरो जिम्मा ।’ शालीन शैलीमा साथीलाई मरे पनि छोराको पिर नगर् भन्ने आशयको संवाद हो यो । तर मृत्यु कसैको सापेक्षतामा हुँदैन । अनपेक्षित रूपमा पार्वतीको बुवाको मृत्यु हुन्छ । चन्द्रा भने राज्य पक्षबाट पक्राउ पर्छे ।
‘रुन जन्मिएकी म’ शीर्षकको अर्को खण्डमा पार्वतीको दाइको असामयिक मृत्यु हुन्छ । आमा र पार्वती घर फर्किन्छन् । घरमा आमाको पनि मृत्यु हुन्छ । पार्वती भदैनीसँग बस्न थाल्छिन् । त्यो पनि एकदिन पोइला जान्छे । जताततैबाट एक्लिएकी पार्वती फेरि गाउँ छोड्छिन् ।
‘फूलमती, आशाको दियो र दुःखको उत्खनन्’ शीर्षकको अर्को खण्डमा राजापुरको परिवेश छ । त्यहाँ दिदीभिनाजुको घरमा बस्ने क्रममा फुलमती नामकी थरुनीसँग पार्वतीको मित्रता हुन्छ । फुलमती औपचारिक शिक्षा नलिएकी तर बौद्धिक कुरा गर्छे । पाठकलाई यो अस्वाभाविक लाग्न सक्छ । संयोग त के भैदिन्छ भने जनयुद्धमा हिँडेको सुवास यही गाउँमा आएर बसेको हुन्छ । फुलमतीकै घरबाट बेपत्ता भएको हुन्छ । फुलमतीसँगै सम्बन्ध बनाएको आरोपमा पार्टीले कारबाही गर्दा ऊ भागेको सन्दर्भ उल्लेख छ ।
थारु जातिको सामाजिक र मनोवैज्ञानिक स्थितिको चित्रण गर्दै जनयुद्ध, मधेस आन्दोलन र कैलाली घटनाको सन्दर्भलाई ऐतिहासिक दस्ताबेजका रूपमा रहने गरी आख्यानको भाषामा लोभलाग्दो गरी प्रस्तुत गरिएको यस खण्डमा सुर्खेतबाट छुटेपछिको चन्द्राको कथा पुरा गर्न लेखकले फरक प्रयोग गरेको देखिन्छ । धामीलाई हेराएर चन्द्राको आत्मा बोलाइन्छ । आत्माले आफू मरिसकेको र बच्चाको ख्याल गरिदिन आग्रह गर्छ । जुन प्रयोग आकर्षक देखिए पनि अदृश्य शक्तिमाथिको विश्वास स्वाभाविक लाग्दैन ।
‘दुःख र पापको भरिया’ शीर्षकको अर्को खण्डमा भिनाजुका भाइहरू भट्टीमा बसेर पार्वतीको कुरा काट्छन् । ‘माल’ भन्दै अपमान बोल्छन् । पार्वतीले सुन्छिन् । असह्य पीडा हुन्छ । त्यहाँ बस्न मनै लाग्दैन । पार्वती गाउँ फर्किन्छिन् । गाउँमा पनि स्वास्नीले छोडेकाहरूले आँखा लाउँछन् । विकल्प नभएपछि अपमानित भएर पनि बाँच्नै पर्ने नियतिबिच एकदिन अचानक दार्जिलिङ भ्रमणको संयोग जुर्छ । पार्वती दार्जिलिङ जान्छिन् । संयोगवश सुवास त्यहाँ भेटिन्छ । तर बोलाउँदा बोल्दैन, तर्केर हिँड्छ । वेदनाले खग्रास भएर गाउँ फर्केकी पार्वती सांसारिक मायामोहबाट निवृत्त भई सन्यास ग्रहण गर्छे । तर, ध्यानमा लीन हुँदा भगवानको दर्शन हैन, सुवासको चित्र प्रकट हुन्छ ।
‘मुक्ति’ शीर्षकमा उपन्यासको अन्तिम खण्ड छ । यसमा सन्यासी अवस्थामै पार्वतीले बगरमा बेवारिसे नवजात शिशु भेट्छिन् । आमा बन्ने सपनासँगै शिशुको उद्धार गर्दै गृहस्थीमा फर्किन्छिन् । टुहुराले भोग्ने गरिबीको चरम दुःख भोग्दै चन्द्राको छोरा पनि आइपुग्छ । पार्वती उसको पनि आमा बनिदिन्छिन् । छोरामा छोरा, छोरीमा छोरी भएर पनि मनभरिको तृष्णाले पार्वती आफूलाई पूर्ण ठान्न सक्दिनन् । सायद यो तृष्णा सुवासको उपस्थितिले मात्र मेटिने छ । जुन यो जुनीमा असम्भव भैसकेको छ ।
यहाँ कथामा ट्वीस्ट आउँछ । यो जुनीमा भेट्ने आशा मारिएको सुवास अकस्मात् गाउँ आइपुग्छ । तर रोगले ग्रस्त भएर आएको ऊ पार्वतीसँग भेट्न नपाउँदै मृत्युवरण गर्छ । पार्वती सुवासको लागि अन्तिम उपहार फूलको माला उन्छिन् । माला बोकेर रुँदै रुँदै सुवासको मृत शरीर भेट्न हिँड्दा उपन्यास सकिन्छ ।
यो उपन्यास प्रेमकथा मात्र हैन, प्रेमकथा पनि हो । लामै समयको कथा हो तर सानो आकारमा भन्न सक्नु प्रेमप्रकाशको क्षमता हो । सिलसिलेवार बग्ने सबै घटनाहरू घटेकै झैँ लाग्ने उपन्यासमा बिम्बहरू प्रयोग मात्र भएका छैनन्, चित्ताकर्षक पनि छन् । ‘जलमै हराए जलराशिका फोकाहरू’ शीर्षकको सन्दर्भलाई उदाहरणको रूपमा लिन सकिन्छ । यसमा उखानहरूको सान्दर्भिक प्रयोगसँगै स्थानीय जनबोलीको उच्चारण संवादहरूमा जस्ताको तस्तै आउँछन् । सम्बन्धित भूगोलका लोकलयहरू पनि पुस्तकमा समेटिएका छन् । उपन्यासको अर्को आकर्षण भाषाशैली हो । छोटा र छरिता वाक्यहरूले उपन्यासलाई झर्कोलाग्दो हुनबाट पुरै बचाएको छ । उपन्यास पढिसक्दा प्रेमप्रकाश मल्लभित्र अथाह कथाको भण्डार मात्र हैन, बेजोड लेखन शिल्प पनि देखिन्छ । यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी हुनु सबै लेखकहरूको साझा विशेषता हो भन्न हिच्किचाइरहनु पर्दैन । ‘झरेको पात’मा पनि केही कमजोरीहरू छन् ।
माथि नै भनियो कि उपन्यासले लामो समयको कथा भन्छ । लामो समयमा थुप्रै पात्रहरूको जन्म र मृत्यु हुनु अस्वाभाविक हैन । यहाँ केही पात्रहरूको मृत्युलाई सामान्यीकरण गरे झैँ लाग्छ । गहन भूमिकामा स्थापित गरिएका पात्रको मृत्युलाई घटनाका रूपमा नभई समाचारका रूपमा प्रस्तुत गरिएको छ । त्यसै गरी एक पात्रको अपुरो कथा पुरा गर्नको लागि धामीको कैरन ल्याउनुलाई रूढिवादमाथिको समर्थन बुझ्दा रिसाउन मिल्दैन । पुस्तकमा केही श्लोक र कविता पनि साभार छन् । जसले पुस्तकलाई आकर्षक देखाउन मद्दत गरे पनि लेखकको जाँँगरमाथि प्रश्न उठाउँदैन भन्न सकिन्न । तर यस्ता अलिअलि कमजोरी सबै लेखकका किताबमा भेटिन्छन् ।
अहिले डिजिटल जमाना हो । सामान्य लेख, रचना र फुटकर कवितासमेत फेसबुक, ट्वीटर र युट्युबतिर राखेर विज्ञापन गरिन्छ । यस्तो बेला प्रेमप्रकाश मल्ल ‘झरेको पात’ लिएर आएका छन् । जसले वर्तमान कर्णाली (प्रदेश) को एउटा चित्र मात्र बोकेको छैन, बिहानले दिनको संकेत गर्छ भन्ने स्थापित मानकमाथि प्रश्नसमेत उठाएको छ । आख्यान विधामा प्रेमप्रकाशको यो पहिलो कृति भएर पनि पहिलो हुनुको आलोकाँचोपन कतै भेटिँदैन । यस्तो सशक्त पुस्तक डिजिटल हल्लाहरूभन्दा पर देखिन्छ । तर जसले पढ्छ, ऊ हल्लिन्छ । तसर्थ बिनाहल्ला शान्तपूर्वक आउने आँधी जस्तै लाग्छ ‘झरेको पात’ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।