हामीलाई जसरी एक ठाउँबाट अर्को ठाउँमा सुलभ बाटोको आवश्यकता पर्छ, त्यसैगरी जिन्दगीको लक्ष्यमा अघि बढ्न पनि सुन्दर मार्ग आवश्यक पर्छ । यही विचारमा सहमत भएर धर्म सापकोटा राजुले ‘बाटो’ शीर्षकको कथासङ्ग्रह बजारमा ल्याएका छन् । बाटोको बारेमा उनको भनाइ एकदम मीठो छ, ‘कुनै बाटोमा पैतालाले टेक्छन्, कुनै बाटोमा आँखाले त कुनै बाटोमा मनले टेक्छन् ।’ यो पुस्तकलाई युरेका पब्लिकेशनले बजारमा ल्याएको छ । यसमा पन्ध्र कथाहरु समावेश छन् ।
यस अघि ‘बुद्धिमानीको परीक्षा’ बालकथा संग्रह र ‘बहिर्गमन’ लघुकथा संग्रह प्रकाशित गरिसकेका लेखकको यो तेस्रो कथा कृति हो । समयसामयिक विषयवस्तुलाई लेखकले कथाको रुप दिएका छन् । विकसित देशमा गएर सुख पाउने सपना देखेका मानिसले भोगेको तीतो यथार्थलाई सापकोटाले यस पुस्तकमार्फत प्रस्तुत गरेका छन् । लेखक स्वयं पनि विदेशी जीवन बिताइरहेका छन् । नारी उत्पीडनका कथा मात्र पढिरहेका पाठकले पुरुष उत्पीडनका कथाको स्वाद पनि पाउनेछन् ।
विवाहेत्तर सम्बन्धको कारण वैवाहिक जीवनमा ल्याउने खटपटीलाई ‘प्रेम सन्देश’ शीर्षकको कथामा उल्लेख गरेका छन् । श्रीमतीको जन्मदिनमा श्रीमानले किनिदिएको मोबाइल श्रीमतीले जतन गरेको देख्दा श्रीमान अत्यन्त खुसी देखिन्छन् तर रहस्य अर्कै हुन्छ । अरु कसैसँग प्रेम सम्बन्ध चलिरहेकाले श्रीमानले थाहा पाउने डरले उनले मोबाइल ओगटेकी हुन्छिन् तर सत्य सधैँ लुक्दैन । जसका कारण श्रीमान र श्रीमतीबीचको भावनात्मक सम्बन्धमा दरार पैदा हुन्छ ।
साधारण भाषाशैलीमा लेखिएका धर्मका कथाहरु मर्मस्पर्शी छन् । ‘चार्ली द ग्रेट’ शीर्षकको कथाले बाल्यकालमा आमाबुबाको माया नपाएको पात्रको संवेदनशीलताको चित्रण गरेको छ । बाबुआमाले डिभोर्स गरेपछि छोराछोरीले भोग्ने पीडालाई ओकलेको छ । यो कथाको मुख्य पात्रले सोही कारण आफ्नी श्रीमतीसँग मन नमिले पनि सन्तानले दुःख पाउँछन् भनेर डिभोर्स दिन चाहँदैन ।
लेखक सापकोटाका सबै कथाहरुले समाजको यथार्थको उत्खनन गर्ने प्रयास गरेका छन् । ‘सानिमा’ शीर्षकको कथा पनि एकदम मार्मिक छ । आफ्नी आमाको मृत्यु भएपछि निराश बनेकी बालिकाको मनोदशालाई कथामा चित्रण गरिएको छ । सानिमाले दिएको मायालाई उनी आमाको जस्तै महसुस गर्छिन् । दिदीकी छोरीको लागि सानिमाले पनि आफ्नो प्रेमी छोडेर भिनाजुसँग बिहे गर्छिन् तर उनले कहिल्यै पनि सानिमालाई आमाको जस्तो स्थान दिन सक्दिनन् ।
धर्म राजुका कथाहरु पढ्दा वर्तमान समाज जीवन्त रुपमा उभिइरहेको आभास हुन्छ । पेपर म्यारिज गर्दाको बेफाइदालाई ‘मुस्कान नेपाल’ शीर्षकको कथामा देखाइएको छ । लण्डन जाने लोभमा साथीलाई आफ्नी श्रीमतीसँग कागजी बिहे गर्ने अनुमति दिँदा श्रीमानलाई धोका हुन्छ । ख्याल ख्यालको बिहे वास्तविकतामा परिणत हुन्छ । बच्चा पनि जन्मिन्छ । नारी पात्रले दुइटा श्रीमानको थर राख्न अप्ठयारो लागेर छोरीलाई आफ्नै थर दिएर जन्मदर्ता बनाइदिन्छे । विदेश जाने लोभमा मानिसले गरेको गल्तीलाई कथाको प्रमुख विषयवस्तु बनाइएको छ र त्यसले निम्त्याउने समस्यालाई पनि दर्शाइएको छ ।
यो पुस्तकमा समावेश भएका कथाहरुले पुस्तकको शीर्षकलाई सार्थकता प्रदान गरेका छन् । कथाका पात्रले वर्तमान समाजको वास्तविकताको प्रतिनिधित्व गरेका छन् । लेखकले पाठकलाई सामाजिक कुरीति फैलाउने गलत बाटोमा नहिँड्न प्रेरित गरेका छन् । समग्रमा कृति पठनयोग्य छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।