साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जीवनको मझधारका कवि भीष्म उप्रेती

प्रसङ्ग हो कवि भीष्म उप्रेतीको पछिल्लो कविताकृति “आधा उज्यालो” को । यसै पनि, जीवनको मध्यविन्दुमा उभिएर लेखिएको यस कृतिको शीर्षकले जीवनको मध्यरेखालाई सङ्केत गरेको छ । शीर्षकमा “उज्यालो” शब्द रहनुले कवि अहिलेसम्म बाँचिल्याएको जीवनप्रति सन्तुष्ट छन् र त्यसलाई उज्यालो ठान्छन् भन्ने कुरा बुझिन्छ ।

– महेश पौड्याल

bahulako diary small and inside post

यतिका वर्षसम्म
निरन्तर हिँडिरहँदा पनि
कहिल्यै आफ्नो हुन सकेन
आफू हिँडिरहेको बाटो ।
जहिले पनि
आफ्नो भन्नु त केवल
यात्रा मात्रै रहेछ ।

जिन्दगीको पचासौँ वसन्तमा टेकेपछि कवि भीष्म उप्रेतीले निकालेको निचोड हो यो । खूब घुमक्कड कविको छवि पनि बनाएका उनले देशविदेशका धेरै स्थानको यात्रा गरेको दृष्टान्त उनका अनेकौँ नियात्राले दिइरहेका हुन्छन् । जिन्दगीमै पनि अनेकन सजिलाअप्ठेराका बीच उनले “धारा उज्यालो” बाँचिसके, र आधा बाँकी छ । यी अविधात्मक र प्रतीकात्मक दुवै थरिका यात्राहरूमा बाटो भन्नु छुट्नुको पयार्य गरेछ । आफ्नो प्राप्ति भन्नु गर्न बाँकी कामको फेहरिस्त, भन्न बाँकी कुराको लामो सूची, फुलाउन बाँकी सपनाका कोपिलाहरू…यस्तै यस्तै । “देयर इजन्ट टाइम” शीर्षकको एउटा कवितामा कवि इलिन्योर फार्जियन भन्छिन्, वास्तवमा हामीसँग कामको सूची बनाउने मात्रै समय हुन्छ, पूरा गर्ने समय हुँदैन । यसरी हेर्दा, जीवन भन्नु सूची तन्काउँदै जानु पनि रहेछ ।

प्रसङ्ग हो कवि भीष्म उप्रेतीको पछिल्लो कविताकृति “आधा उज्यालो” को । यसै पनि, जीवनको मध्यविन्दुमा उभिएर लेखिएको यस कृतिको शीर्षकले जीवनको मध्यरेखालाई सङ्केत गरेको छ । शीर्षकमा “उज्यालो” शब्द रहनुले कवि अहिलेसम्म बाँचिल्याएको जीवनप्रति सन्तुष्ट छन् र त्यसलाई उज्यालो ठान्छन् भन्ने कुरा बुझिन्छ । अथवा, अब भोग्न बाँकी जीवनमा पनि उनले उज्यालोको कल्पना गरेका छन् भन्न सकिन्छ । यद्यपि पनि, सङ्ग्रहभित्र भने यदाकदा निराशाका तथा अँध्यारा पक्षका कुरा पनि विद्यमान नरहेको भने होइन ।

सारांश नेपालद्वारा २०७४ मा प्रकाशित यस पुस्तकमा जम्मा ५४ वटा कविता समाविष्ट छन्, जसलाई देश, प्रकृति, र मान्छे गरी तीन भागमा वर्गीकरण गरिएको छ । वर्गीकरणका यी शीर्षक नै कवि भीष्मका कविताका विषयवस्तु चिहाउने आँखिझ्याल हुन् । यसअघि आएका सङ्ग्रह हेर्ने हो भने पनि कवि भीष्म यिनै विषयवस्तुकै वरिपरि आफूलाई खोजिरहेका भेटिन्छन् ।

‘देश’ खण्डमा समाविष्ट कवितामा प्रकृतिको अन्वरत प्रवाहसँगै जीवनको कर्म चलिरहोस्, र देश निरत्तर उन्नत भइरहोस् भन्ने आकांक्षा प्रस्तुत गरिएको छ । ग्रामीण बिम्बहरूको आधिक्य रहेको यस खण्डका कवितामा खस्कँदो मानवीय मूल्यका कारण देश “राष्ट्रिय गीतमा मात्र बाँचेको छ” भन्ने उनको खेदपूर्ण निचोड छ (६) । देशलाई थुप्रै कवितामा मानवीकरण गरिएको छ, र देश भनिरहेको छ, “म तिम्रो देश÷जल्दाजल्दै पनि बाँकी रहेको ठाउँबाट÷तिम्रो लागि÷भोलिको उज्यालो दिन जन्माउन चाहन्छु” । “दृश्यचित्र” र “म तिम्रो देश” शीर्षकका कविताको निचोडलाई तुलना गर्ने हो भने देश भूगोल वा प्रकृतिका कारणले होइन, मान्छेको अकर्मण्यताका कारण फगत गीतमा सीमित हुँदै गरेका छ भन्ने पक्षमा कवि भीष्म उभिएको प्रतीत हुन्छ । उन्नतिमात्रै होइन, शान्तिको सम्बन्धमा पनि कविको ठहर यस्तै यस्तै छ । मान्छेले बनाएका मन्दिर, चैत्य र गुम्बामात्रै सक्षम छैनन् शान्ति स्थापनाका लागि । यसका लागि मान्छेभित्रको जङ्गबहादुर प्रवृत्तिको अवसान जरुरी छ । “स्वयंभूनाथ” शीर्षकको कवितामा स्वयंभू भन्छन्, “लामाहरूद्वारा उच्चारित मन्त्रहरू \र तिनैले बजाएका बाजाका धूनहरूलेमात्र\कहाँ दिन सकेका छन् शान्ति ?” (१०) । यसको अर्थ हो, यसरी चित्रित देशमा अझै पनि पूर्ण शान्ति र स्वतन्त्रता छैन । देशको भौतिकपक्ष अर्थात् जमिन र भूगोल छ, तर स्वतन्त्रता सोचेजस्तो छैन । त्यसैले, “स्वतन्त्रता” शीर्षकको कवितामा देश भन्छ, “म भने छु\तर तिमी छैनौ (११) । देशको गुनासो यो पनि छ, कि उसको राम्रो पक्ष सबै कागजमा सीमित गरियो र कैद गरियो बाक्साहरूमा । कल्पनाका दस्तावेजहरूमा अड्किएको छ देश । यी दस्तावेज अथवा कल्पनाको बाहिरपट्टि अलिकति बचेको छ वास्तविक देश, साना सहरको रूपमा । तर तिनै सहरहरू पनि असरल्ल तारहरूको जालोले कुरूप देखिन्छन् । ती तार, सहरी जीवनमा अनिवार्य अभिषाप हुन् — हुँदा पनि बेठीक, नहुँदा पनि बेठीक ।

“प्रकृति” खण्डभित्रका कवितामा कवि भीष्म उप्रेति प्रकृतिवादी कविलेजस्तो प्रकृतिको चित्रणमा सीमित छैनन् । उनी प्रकृतिभित्र मानवीय स्वभावका साम्यहरू खोज्छन्, अथवा प्रकृतिले मान्छेका लागि बोकिल्याएको सन्देश बटुल्छन् । उदाहरणका लागि “नदी” सृङखलाका कवितालाई हेर्न सकिन्छ । “नदी” मा उनी नदीलाई आनन्द र आह्लादको श्रोत मान्छन्, तर त्यतिमा अडिदैँनन् । थप्छन्, “नदीको कोमलता हृदयमा गएर बस्छ\र गतिशीलता मेरो गोडातिर सर्छ” (२०)। “नदीः दुई” एउटा वास्तविक घटनामा आधारित कविता हो, जसमा बाआमा नदीमा बगेपछि आफू एक्लै बँचेका एक बालकको दृष्टिविन्दु प्रस्तुत गरिएको छ । बाआमाको प्रतिबिम्बजस्तो लाग्ने नदी हेर्दा उसलाई “रिस पनि उठ्छ\माया पनि लाग्छ” (२२) । र यो स्वाभाविक पनि हो । “नदीः तीन” मा लक्ष्यमार्गमा दौडिरहेको नदीको दृष्टिबाट मान्छेकै कुरा बुनिएको छ, जसले बाटोका अवरोधहरूका बाजदूद शिखरको बाटोमा कतै रोकिनुहुन्न भन्ने सन्देश प्रवाह गरिएको छ भने “नदी:चार” मा नदीजस्तै गतिमान हुनु नै जीवित हुनु हो भन्ने निष्कर्ष अगाडि सारिएको छ । यसैबीच, कविले प्रकृति कहिलेकाहिँ कसरी मानव जीवन र सभ्यतामाथि जाइलाग्छ भन्ने कुराको पनि उल्लेख गर्न भुलेका छैनन् । तरै पनि, मान्छेले प्रकृतिसँगको आफ्नो सम्बन्ध र दूरीलाई सम्यक र सन्तुलित बनाइराख्यो भने प्रकृति जीवन र ज्ञानकै श्रोत हो भन्ने ठहर यस खण्डका कविताहरूमा गरिएको छ ।

नदीका अतिरिक्त यस खण्डमा प्रकृतिका अन्य अवयवको पनि चित्रण छ, जसमा पनि कविले मान्छेबाट प्रकृतिलाई निरपेक्ष छोडेका छैनन् । “पानी” शीर्षकको कवितामा हेर्दा पानीमात्रै देखिने पानीका विविध रूप, तथा मान्छेका स्वाभावसँग त्यसको तादम्य प्रस्तुत गरिएको छ । क्षणभङ्गुर नै भए पनि हिउँ र बादलजस्ता प्राकृतिक अवयवहरू मान्छेका लागि असीम हर्षका श्रोत हुन् भन्ने कुरा पनि यसै खण्डका कवितामा छ । “रुखहरू” शीर्षकको कवितामा कवि लेख्छन्, जड भनिएका रुखहरूले आफू अचल भएर पनि मान्छेलाई जीवन दिइरहेका हुन्छन् । अहम प्रश्न यो छ रुखकोः “हामी उठ्यौँ र हिँड्यौँ भने\को हुनेछ जड?” (३१) । अर्को ठाउँ रूखहरू भन्छन्, उनीहरूलाई काटिन्छौँ भन्ने कुराको पटक्कै डर छैन । बरु डर यस कुराको छः“यत्तिका वर्ष लागेर बन्दै गरेको सभ्यता\एकाएक भत्कनबाट कसले बचाउला?” (३३) मान्छे र प्रकृतिको अन्तरसम्बन्धका सवालमा यो एउटा अहम प्रश्न हो ।

गाउँ कवि भीष्मको रुचिको विषय हो, सधैँभरि । उनले आफ्नो आख्यानमा लेखेका छन्, गाउँ र पहाड उनले आफ्नो कल्पनामा हजुरबाको विरासतको रूपमा पाए, र आफूभित्रको निर्मिति गाउँ र पाखापर्वतबाटै बढी निर्देशित छ भन्ने उनको ठहर छ । उनको कविताकारितालाई नियालेर हेर्ने हो भने, त्यहाँ अधिकांश स्थानमा गाउँ नै पोखिएको पाइन्छ । यो सङ्ग्रह पनि उनको गाउँमोहबाट मुक्त रहन सकेन । यहाँ उनको “गाउँ” शीर्षकको एउटा कविता छ, जसको निचोडमा कविसँगै गाउँको यात्रा गरिरहेकी उनकी छोरी भन्छिन्, “झोलाभरि किताब बोकेर स्कुल जानुभन्दा छ गाउँ जानु धेरै रमाइलो” (३५) । कतै कतै, प्रकृतिको चक्र मान्छेको दुःखप्रति बेखबर रहेकोमा गुनासो पनि पोखेका छन् उनले, र कतै प्रकृतिसँगको पूर्ण स्पर्शको सुख चाहेको पनि अभिव्यक्ति दिएका छन् । यो चाहना प्रकृतिवादी सिद्धान्तकार टेरी टेम्पेस्ट विलियम्सले भन्ने गरेको “इको इरोटिसिज्म” को निकट छ ।

सङ्ग्रहको तेस्रो र अन्तिम खण्ड “मान्छे” हो । माझिमाथि लेखिएका दुई कविताले माझी र ताल अथवा नदीबीचको अनुन्याश्रित सम्बन्ध, र त्यस सम्बन्धमा यदाकदा आइपर्ने अप्ठेको पनि स्वाभाविक आनन्द पस्केका छन् । “सपना” शीर्षकको कवितामा मान्छेको आयुको अन्मित बिन्दुसम्म सपनाको साथ रहिरहने तर्क गरिएको छ । मौनताको सौन्दर्य, खस्कँदो मानवीय मूल्य र बढ्दो वस्तुकरण, बृद्ध हुनुको बोध, पूर्वदीप्ति, परिवर्तित समयमा अवरुद्ध दिनचर्या, मातृप्रेम, श्रमको महत्ता आदि विषयमा कविता लेखिएका छन् ।

उच्च हिमाली जीवनका सुखदुःख यस खण्डको एउटा सुन्दर पक्ष हो । यस भूगोलका विविध पक्षलाई कवि भीष्मले अपरम्परित ढङ्गबाट हेरेको छन् । “प्रणाम” शीर्षकको कवितामा कविले हिमालका अक्करे भीरहरूमा निर्वाद भारी बोकिरहने खच्चडलाई देवतातुल्य मान्दै प्रणाम गर्ने निर्णय गरेका छन् । “समानता” शीर्षकको कवितामा खच्चड र भरियाहरूबीचको साम्य दर्शाइएको छ । उनकै शब्दमा उकालो, ओरालो, अलिअलि सम्म, झल्याकझुलुक समथर, फेरि उकालो र फेरि ओरालो रहेको यस भूभागमा मान्छेको जीवन पनि खच्चडकै जस्तो छ ।

यस खण्डका कतिपय कविताहरू दृश्य र यथाथबीचको भेद र जीवन र जगतबारेका केही दार्शनिक सत्यको उत्खनमा कविले खर्चेका छन् । “छाया” शीर्षकको कवितामा भन्छन्, “हुन त यो छाया पनि मेरै हो\तर म भने छायाको होइन” (७४) । श्रमिकसँग मूलभूत कुरा आर्जन गर्ने जागिर भए पनि शक्षिाजस्तो भविष्यको प्रत्याभूति किन्ने सामथ्र्य हुँदैन भन्ने कुरा “चिया पसलको केटो” मा वर्णित छ । तर पनि, श्रमिकहरू काम गर्दागर्दै सुन्दर सपना पनि बुनिरहेका हुन्छन् भन्ने उनको तर्क छ । विश्वासको हकमा उनी भगवान्भन्दा मन र आस्थालाई सर्वोपरि ठान्छन् । “इच्छा” भन्ने कवितामा भन्छन्, “यही एउटा कुरा छ सग्लो उभिएकोः मन र आस्था” (७९)। यसै खण्डमा छन् “ढोका” शीर्षकमा लेखिएका पाँच सुन्दर कविता । कतै ढोकालाई अन्त्यहीन यात्राका नयाँ नयाँ फाटक मानिएको छ भने कतै सिर्जनाको पर्याय । कतै ढोका सहस्र संभावनाको रूपक अलङ्कार बनेर उभिएको पाइन्छ । “ढोका चार” मा ढोका बनाउने मान्छे आफैँ ढोका बनेको प्रसङ्ग छ, जुन आफैँमा निर्माता र निर्मितिको ऐक्याको एक उच्च सिद्धान्त हो । अर्को अर्थमा, अरुका लागि ढोका निर्माण गर्ने मान्छे आफू सधैँ ढोकैमा रहन्छ, ढोकै बनिरहन्छ भन्ने पनि हो । यसरी हेर्दा, यो ‘माध्यम’ अथवा ‘साधन’ मा केन्द्रित कविता हो, जो आफू प्रक्रियामा सामेल त हुन्छ, तर परिणाममा अनुपस्थित रहन्छ । “ढोका पाँच” ठूला दरबार, अड्डा र कार्यलयको ढोका हो, जससम्म आम मान्छेको पहुँच छैन ।

सङ्ग्रहको अन्त्यतिर दार्शनिक गहिराइका तीन कविता छन् जसले हिमाल आरोहणका विविध पक्षलाई भावभूमि बनाएका छन् । “महानिद्रा” मा हिमाल आरोहण गर्दा दिवङ्गत भएकाहरूको दृष्टिविन्दु प्रस्तुत गरिएको छ, जसमा उनीहरूमध्यको एउटा प्रतिनिधि आवाज भन्छ, “मलाई निदाउनु छ शताब्दी लामो निद्रा” (८८)। हिउँसँग एकाकार हुनुको यथार्थमा ऊ गौरवबोध गरिरहेछ । भनिरहेछ, “हिमालको प्रेमपूर्वक बिच्छ्याइदिएको काखमा\पल्टेको मात्र छु ।” (८९) । “चोमोलुङ्मा” शीर्षकको कविता जीवनका आवश्यकताहरूलाई सम्बोधन गर्न हिमाल आरोहण गर्न बाध्य एक स्थानीयको मनोदशा चित्रण गरिएको छ, जसमा ऊ भन्छ, “म तिमीभन्दा अग्लो भएको होइन \ म विजेता हुन शिखरमा उभिएको होइन” (९१), जसले विनम्रताको पाठ सिकाएको छ, र आफ्नो आस्था र जीवनको श्रोतप्रति नतमस्तक हुने संस्कार बाँडेको छ । सङ्ग्रहको अन्तिम कविता हो “मृगतृष्णा”, जुन हिमालमा प्राण गुमाएका कुनै आरोधीकी गृहिणीको दृष्टिविन्दुबाट लेखिएको छ । विधवा गृहिणीसँग न कतै जाने सामथ्र्य छ, न बसिरहने आँट छ । हिमालबारे रुमानी कल्पनामा सबै अल्झिरेको बेला हिमालको यो कालो र कारुणिक पक्ष यस कविताले खोतलेको छ ।
यसरी एउटा बिसौनीमा पुगेको छ कवि भीष्म उप्रेंतीको आधा उज्यालो । यी तमाम कविताको सूक्ष्म अध्ययनबाट यो स्पष्ट हुन्छ, कि भीष्म उप्रेती एक ललित कवि हुन्, जो कोमलभन्दा कोमल, र कठोर भन्दा कठोर विषयलाई पनि लालित्यपूर्ण ढङ्गले समाउँछन् । प्रेम, आह्लाद, असन्तुष्टि, दुःख वा आक्रोशः सबै भावहरूमा उनको कवि संयमित छ, र कविताले माग्ने कलाको बुनियादमा आत्मविश्वासपूर्ण ढङ्गले उभिएको छ । कवितामा प्रकृति बलियो बिम्ब हो, तर त्यो मान्छेसँग सम्बद्ध कुनै यथार्थको उद्घाटन गर्नका लागि हो, निरपेक्ष रूपमा कुनै प्रतिकृवादी कविको कविताको निरन्तर्यकै लागि मात्रै होइन । उनको कवितामा बालक, बृद्धवृद्धा, किशोर किशोरी, नव–यौवना, नव–विवाहित जोडी वा अधबैँसे सबै प्रकारका पात्र छन्, र सबै लय, मनोदशा र भावका कविता छन् । यस अर्थमा, उनको “आधा उज्याले” पढिरहँदा पाठक आफ्नै जीवनका विभिन्न पढाउ हुँदै अगाडि बढिरहेको अनुभूति गर्न सक्छ । छोटा, छरिता हरफ, सरल भाषा, गाम्बेसीका बिम्ब, र जीवनसँग सन्निकट अनुभूतिहरूमा कुँदिएको यी कविता आमभाष्यमा अप्रतीम काव्यिक अभिव्यक्ति हुन् । पढेपछि लामो समयसम्म मस्तिष्कमा यिनले एउटा मधुर झन्झाहट छोडिरहन्छन् ।

यी कवितालाई अद्योपान्त पढसक्दा पाठकको मनमा उठ्ने केही सम्भावित प्रश्नहरू भने होलान् नै । उनीहरू भन्लान्, किताब छोडेर प्रकृति वा गाउँ पढ्दा बढी कुरा बुझिन्छ भन्ने त रुसो, वर्डस्वर्थ, वा देवकोटाले पनि भनेकै हुन् । यो कुराको पुनरावृत्ति हुने कविता किन लेखे कवि भीष्मले? दोस्रो, “हिमालहरू यसरी नै उठिरहून्” भनिसकेपछि “शिर ठाडो पारेर” भन्नु जरुरी थिएन । शब्दको थप मितव्यतिताको एउता सुन्दर मौका यहाँ गुम्यो कि? भावको झट्का र घनत्वसँग उठेको “देश” शीर्षकको कविता “अखण्ड भइरहोस् मेरो देश, अनन्तसमम्म” भन्ने एउटा आदर्श तर कर्ममाण्डी पटाक्षेपमा किन अवतरित भएको होला? “दृश्यचित्र” शीर्षकको कविताको बीचमा कवि लेख्छन्, “सबभन्दा सस्तो आज मान्छे भएको छ\र त्यो भन्दा सस्तो भएको छ देश । सगरमाथा र बुद्धको नाममा\गर्व गर्नुले कत्ति पनि अर्थ राख्दैन आज ।” यी अविधात्मक, सपाट र क्लिसेजस्ता लाग्ने हरफ लेखिरहँदा भीष्मउप्रेतीभित्रको ललित कवि कता अल्मलिएको हुँदो हो? “स्वतन्त्रा” शीर्षकको कविताभित्र “मेरो लक्ष्य” र “मेरो गन्तव्य” भन्ने दुई हरफ छन् । एउटैले चल्ने थियो काम । “रङ्गहरूसँगै आउँछ खुशी” शीर्षकको कविताभित्र “बालकको निर्दोषिताजस्तै नीलो रङ” भनिएको छ, तर बालकको निर्दोषिता र नीलो रङमा तादम्य खुल्दैन । आखिर, नीलो निर्दोषिताको प्रतीकको रूपमा सर्वस्वीकृत रङ पनि त होइन । यसै कविताको अन्तिम दुई हरफ यस्ता छन्ः “रङहरू आउँदा केवल रङ मात्रै आउँदैनन्\रङहरूसँगै आउँछ खुसी ।” यो अन्तिम हरफले कविताको बहुअर्थी सम्भावनालाई बन्द गरिदिएको छ, र सीमित बनाइदिएको छ । अघिल्लो हरफ पढेपछि पाठकले बुझिहाल्छ, कि रङ्हरू थप केही लिएर आउँदा रहेछन् । र सार्विक सत्य त यो पनि हो, रङहरू खुसीमात्रै लिएर आउँदैनन् । यदाकता रङहरू दुःखका बाहक पनि हुन् ।

एउटा कवितको शीर्षक छ “नयाँ वर्ष २०६६” जसमा यो २०६६ कै कविता हुनुपर्ने कुनै प्रसङ्ग छैन । यसलाई “नयाँ वर्ष” मात्रै नाम दिइएको भए यसको सार्वकालिकता बढी हुने थियो ।

यी सामात्य र नगण्य टिप्पणी हुन्, जसमा तर्क गर्न सकिन्छ । यिनलाई कतैतिर थाति राखिदिने हो भने, आफ्नै आन्तिरिक शक्ति र सौन्दर्यको जगमा यो कवितासङ्ग्रह बुलन्दीका साथ उभिन सक्छ । कवि भीष्म उप्रेतीको दशकौँ लामो काव्यकारिताको यो पछिल्लो पडाउ हो । उनी विषयहरूमा प्रयोगशील छन्, र क्रमशः मान्छे र जीवनको अन्तर्यतिरै उन्मुख छन् भन्ने कुराको प्रमाण पनि हो । साना साना, तर गहिरा जीवनभेदी विषयहरूको बाटो हुँदै उनी जीवनकै रहस्यको नजिक पुग्ने कोशिस गरिरहेका देखिन्छन् । कविताको एउटा छुट्टै निनाद, स्निग्ध लाग्ने प्रकृतिबाट टिपिएका बिम्ब र प्रतीक, र मान्छेका आवाजहरूको अभिव्यञ्जना उनका काविताको पहिचान हो । आफू पनि घुमिरहने, र पाठकलाई पनि घुम्ती–भञ्ज्याङ, हिमाल, तराई, पहाड, कुना, कन्दरा, वन–उपवन र नदी किनारतिर हिडाउन सफल उनका कविताको प्रवाह अनुभूतिबाट जीवनबोधतिर लक्षित भएको देखिन्छ । अस्तु ।

प्रतिक्रिया
Loading...