साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रेमालय: जहाँ प्रेम गर्न सिकाइन्छ

Chovar Blues Mobile Size

प्रेम के हो? के प्रेममा यौन जरुरी छ? सायद यिनै सामान्य प्रश्नहरुको जटिल उत्तर हो अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ ।

प्रेमालय एउटा उपन्यास मात्र नभएर यो विद्यमान समाजको यथार्थता हो । यो हरेक मानिसको जीवनमा कोही न कोही व्यक्तिप्रति जागरुक हुने शारीरिक तथा मानसिक अनुभूतिको सँगालो हो । प्रेमालय उपन्यासको मुख्य तात्पर्य—प्रेम केवल भावनाहरुको छाल हो, जुन न त कसैलाई पाउनुमा छ न त कसैलाई गुमाउनुमा नै ।

प्रेमालय उपन्यासको प्रतिद्वन्द्वि पात्र रिसभ सरले शुरुवात गर्नु भएको भिन्न खालको शैक्षिक संस्था हो जहाँ प्रेमको भाषा र विषय पढाइन्छ । प्रेमालयमा विद्यालयमा जस्तो विज्ञान, मानविकी र व्यवस्थापन संकायमा पठनपाठन गराइँदैन बरु मानिसको अनुभूति र अभिव्यक्ति, धोका र विश्वास र आकर्षण र प्रभावकारिताको विषयलाई प्राथमिकता दिइन्छ ।

कथाको प्रमुख पात्र सहजले गुराँसलाई कलेज पढ्दादेखि नै प्रेम गर्न शुरु गरेको हुन्छ । असहजता र शीतयुद्धबाट शुरु भएको सहज र गुराँसको सम्बन्ध अन्तत: प्रेममा परिणत हुन्छ । तर धेरै अघिदेखि गुराँस रिसभ सरसँग आत्मियता गाँसेर शारीरिक सम्बन्ध पनि राखिसकेकी हुन्छिन् । गुराँसको सहजसँगको प्रेम सान्दर्भिक र समकक्षी बीचको आकर्षण हो भने रिसभ सरसँगको प्रेम स्वतन्तत्राको पराकाष्टा ।

उपन्यासको अन्य पात्रहरु निराजन र राधा, रावण र सीता, वात्य सर र जानुका, गजमेर र वसन्त पनि उत्तिकै प्रेरक र रोचक छन् । हरेक पात्रहरुको कथा मनमा गढ्ने खालको छ । रिसभ सरले प्रेमको विषयमा तुलना गरेको विज्ञान र परमाणु र प्रेम र सम्बन्धको कुराहरु निकै रोचक र चाखलाग्दो छ । अन्तमा सहजले रिसभ सरको हत्या गरेर आफू पनि आत्महत्या गर्दछ । गुराँस जसले रिसभ सर र सहज दुवै सँगको प्रेमको रसास्वादन गरेकी हुन्छिन्, अन्त्यमा दुवै प्रेमीको मृत्युसँगै एक्लिन्छिन ।

उपन्यासको अन्त्यसँगै यसले पाठकलाई अन्य जटिल प्रश्नहरुसँग अवगत गराउँछ: मृत्यु प्रेमको अन्त्य गर्छ कि सम्बन्धमा मात्र पूर्णविराम लगाउँछ? के विवाह पश्चात प्रेम सम्बन्ध टुङ्गिएर शारीरिक सम्बन्धमा मात्र सीमित हुन्छ?

प्रतिक्रिया
Loading...