विशेषगरी कवितामा राम्रो दखल भएका कवि एवं निबन्धकार भीष्म उप्रेतीका कविता, निबन्ध र नियात्राका डेढ दर्जन पुस्तक प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित उप्रेतीको पछिल्लो कृतिको रूपमा निबन्धसङ्ग्रह ‘तपाईंको पहाड कहाँ हो’ आएको छ । पुस्तकमा आत्मपरक र व्यक्तिपरक गरी जम्माजम्मी सत्र वटा निबन्ध सङ्गृहीत् छन् ।
आत्मपरक निबन्ध आफ्ना भावना, अनुभव र अनुभूतिहरूलाई कलात्मक आवरण लगाएर खुलेर लेख्न पाइन्छ । तर व्यक्तिपरक निबन्धमा त्यो छुट हुँदैन । अझ व्यक्तिपरक निबन्धमा चाकडीको आरोप लाग्ने जोखिम पनि हुन्छ । यसमा जति बढी कलात्मक आवरण लगायो, उति बढी चाकडीको आरोप लाग्छ । तैपनि उप्रेतीले त्यो जोखिम उठाएरै कवि मोहन कोइराला, समाचोलक तारानाथ शर्मा, कवि मञ्जुल, कवि शशी भण्डारी, निबन्धकार रुद्र खरेल र कवि कृष्णभूषण वलका बारेमा निबन्ध लेखेका छन् । कसैका बारेमा लेख्नु र विशेषगरी आफूभन्दा ठूला अथवा प्रतिष्ठित व्यक्तित्वका बारेमा लेख्नु ती व्यक्तित्वप्रति सम्मान जनाउनु हो र श्रद्धा अनि आदर प्रकट गर्नु हो । तर हाम्रो दोषी आँखाले त्यसलाई पनि चाकडी नै देख्छ । कसैलाई खुसी पार्न मात्रै उसका बारेमा बोल्ने वा लेख्ने हो भनेर सोचिन्छ ।
सङ्ग्रहको पहिलो निबन्ध ‘सपनाको कुरा’ कला र विचारपक्षका दृष्टिकोणले निकै सशक्त निबन्ध हो । यसमा कलात्मक अभिव्यक्ति त छँदैछ, विचारपक्ष पनि निकै सशक्त छ । कलात्मक अभिव्यक्तिका कारण यो निबन्धमा कविताको रसास्वादन समेत गर्न सकिन्छ । ‘सपना सिर्जनाको स्रोत हो, जीवनको आधार हो । सपना आविस्कारको जननी हो, भावनाहरूको खेल्ने संसार हो । सपना अठोट हो, मान्छेहरूको विश्वास हो । सपना प्रेरणा हो, प्रेम र गन्तव्यसम्म पनि हो ।’ कति गम्भीर र मननीय विचार छ, जसले जीवनको शाश्वततालाई बोलेको छ ।
‘सपनाले भाँचिएको लयलाई जोड्छ, अल्मलिएको बाटोलाई निश्चित दिशा दिन्छ । सपनाले सपना देख्न सिकाउँछ अनि अरू पनि सपनाहरूलाई बोलाउँछ… ।’ ‘…आफ्नो सपनाको आलोकमा आफ्नो गन्तव्य देख्नु र जीवनमा भाँचिएको लयलाई जोडेर उपलब्धिहरूको सिँढी हाल्दै माथिमाथि पुग्नुमा जस्तो आनन्द अरू केमा छ ?’ कलात्मकता र विचारपक्षको दृष्टिकोणले सङ्ग्रहकै उत्कृष्ट निबन्ध हो ‘सपनाको कुरा’ ।
सङ्ग्रहको दोस्रो निबन्ध ‘मौनताको भाषा’ विशेषतः राजनीतिलाई इङ्गित गरिएको र राजनीतिलाई व्यङ्ग्य गरिएको अर्को सशक्त निबन्ध हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा जनता नै महान् हुन् र हुनुपर्छ भन्ने लेखकको मान्यता हो । जनता भएर जनतालाई आदरणीय ठानेका छन् लेखकले । किनभने जनता भएर नै देश छ । जनता भएर नै हरियाली, प्रकृति र प्रेमको अर्थ छ । जनता भएर नै राजा, महाराजा तथा शासक छन्, शासन र शासनका पद्धति छन् । तर जनता भएकै कारण छल, बल र स्वार्थको महल भएकोमा लेखकलाई पीडा छ । जसले जसरी पनि अथ्र्याउन सक्ने, जसले जसरी पनि प्रयोग गर्न सक्ने, जसले जसरी पनि छाम्न, छुन र भेट्न सक्ने हुन थालेपछि जनता वास्तवमा अनौठो विषयवस्तु बनेकोमा चिन्ता छ लेखकलाई । यो स्वाभाविक पीडा हो, चिन्ता हो । एउटा गम्भीर लेखक हुनुको गुण हो यो पीडा र यो चिन्ता ।
‘प्रजातन्त्र र मूल्यमान्यता भएको ठाउँमा सबैभन्दा आदरणीय र प्रिय शब्द हो जनता । तर त्यही नभएपछि यो शब्द ज्यादै सस्तो र बेवारिसे बन्दो रहेछ ।’ लेखकको सार्वजनिक चिन्ता हो यो । ‘जनता दुई दिन बढी बाँच्ने आशाको त्यान्द्रो समातेर तुइनमा झुण्डिएर नदीमा खसिरहेका छन्, तर जनताको नाममा एउटा पुल बन्दैन । जनताको नाममा एउटा बाटो सम्याइँदैन, एउटा उद्योग स्थापना हुँदैन । टुसुक्क बसेर एकछिन मुस्कुराउने कुनै पार्क बन्दैन ।’ प्रजातन्त्र, लोकतन्त्र हुँदै आएको गणतन्त्रप्रतिको व्यङ्ग्य र वितृष्णा हो यो लेखकको । यस्तो व्यङ्ग्य र वितृष्णा आमजनतामा बढ्दै गएको सार्वजनिक अभिव्यक्ति पनि हो यो । ‘…जनताले सिन्दुर लगाएर पठाइदिएका ठूला मान्छेहरू यिनै निर्धाहरूलाई सपना बेचेर आफू बलियो सुरक्षा र न्यानो ओछ्यानमा सपना देख्न बानी परेका छन् ।’ ‘…स्वर्ग स्वयं आएर छपक्क बसिदिएको यो देशमा नर्क भनिएको ठाउँमा गरिने व्यवहार र दैनन्दिनीहरू भइरहेका छन् ।’ लोकतान्त्रिक गणतन्त्रमा आमजनताले भोगेको तीतो यथार्थका अभिव्यक्ति हुन् यी । ‘अहिले जनताहरू आफूमाथि गिर खेल्नेहरूको विरुद्धमा एक जुट हुन मौन छन् । जनताहरू अनुष्ठानपूर्वको मौनतामा छन्, ब्रतमा छन् । सबै कुराको सीमा भएजस्तै मौनताको पनि सीमा हुन्छ । त्यो भत्कियो भने के हुन्छ ? अब देशका नेताहरूले बुझून् र मनन गरून् । लेखकको आग्रह यही हो ।
सङ्ग्रहको अर्को सशक्त निबन्ध हो ‘तपाईंको पहाडा कहाँ हो ?’ पुस्तकको नामाकरण पनि यही निबन्धबाट भएकाले लेखकका लागि यो निबन्ध विशेष भएको बुझ्न सकिन्छ । ढुङ्गा र माटोको ढिस्कोमात्रै पहाड होइन । पहाडमा बनीबुतो गरी बस्ने मानिसहरूको समुच्च पनि पहाड नै हो । तर देशमा बढ्दो राजीतिक, आर्थिक र सामाजिक बेथितिले पहाडमा पहाड टिक्नसक्ने अवस्था छैन । त्यसैले पहाडबाट धेरै पहाडले बसाइँ सरिसके सहर र सदरमुकाम हुँदै राजधानी सहरसम्म र कतार, कुवेत, मलेसिया, साउदी अरब र बहराइन आदि खाडी मुलुकसम्म पनि । सुनिँदैछ खाडी मुलुकहरूमा बर्सेनि नेपालको पहाड नै खडा हुँदैछन् । यसै गरीगरी पहाड रित्तियो भने नेपालको परिचय कसरी दिने हामीले ? चिन्ता बढेको छ ।
तपाईंको पहाड कहाँ हो भनेर सोध्नेलाई कहिले ताप्लेजुङको फूलबारी, कहिले झापाको शनिश्चरे–३ कालीस्थान त कहिले झापाको अर्जुनधारा–७, कालीस्थान हो भनेर आफ्नो वतन बताउने र आफ्ना ती वतनहरूप्रति गर्व गर्छन् लेखक । आफ्नो पहाडको वतनप्रति निकै गर्व पनि गर्छन् । तर आफ्नो जन्मस्थानमा भन्दा दर्जनौं बढी वर्ष बिताएको ठाउँ, जहाँ बसेर आफूलाई योग्य र सक्षम मान्छे बनाएको र जुन ठाउँले शान र मान दिलायो, जसले शान र मानका साथ बाँच्नलायक बनायो, जसको काखमा वर्षौंदेखि निश्चिन्त लुटुपुटु गरिरह्यो, उसको चाहिँ पटक्कै गुणगान नगाउनु र पटक्कै माया नलाग्नु अलिकति कृतघ्नता भएन र ? लेखकलाई यो निबन्ध पढ्ने पाठकको प्रश्न हुनसक्छ यो । बरालिँदाबरालिँदै सात समुद्रपारिसम्म पुगेका र बरालिने बानी नै लागेका लेखक अन्ततः सधैं भौतिक रूपले बरालिन सम्भव हुँदैन र कहीं न कहीं त जरा गाड्नैपर्छ भनेर राजधानी सहरमै जरो गाडेका लेखकले त्यो सहरको अलिकति पनि गुणगान नगाउनुलाई यो त हजम भएन नि भन्न सक्दैनन् र पाठकले ? पहाडबाट आएर काठमाडौंमा बस्ने, काठमाडौंकै खाने, पिउने र सबथोक काठमाडौंमै बसेर प्राप्त गर्ने, अनि अन्त्यमा त्यही काठमाडौंलाई गाली गर्नेहरूकै भीडमा लेखक मिसिनु राम्रो भएन है !
‘बरालिनलाई के नै चाहिन्छ र ?’ मा लेखक विचारमा बरालिएका छन्, गम्भीरतामा बरालिएका छन् । देशचिन्तामा बरालिएका छन् । अनि बरालिंदाबरालिँदै भन्छन्, ‘पटकपटकको आन्दोलन गरेर नाम जेसुकै दिए पनि हामी नेपालीले ल्याएको त प्रजातन्त्र नै हो । प्रजातन्त्रको केन्द्रमा कानुनको शासन सँगसँगै मानव अधिकार हुनुपर्दछ, मान्छेको स्वतन्त्रता र आकांक्षाले निर्विघ्न हुर्कन र फैलन पाउने वातावरण हुनुपर्दछ… । हाम्रा प्रतिभाहरूले फैलन पाउनेछन्, विभिन्न क्षेत्रहरूमा सिर्जनात्मकताको वृद्धि हुनेछ । मानिसहरूले अझ बढी सपना देख्नेछन् र तिनलाई प्राप्त गर्न अझ बढी प्रयत्न गर्नेछन् । एउटा अपूर्व हलचल र गतिले यो जमेको समयलाई भत्काइदिनेछ र समयले फेरि आफ्नो गति भेट्नेछ र सबैतिर गत्मियता देखिनेछ । यसले सुतेकाहरूलाई पनि उठाउनेछ, उठेकाहरूलाई हिँडाउनेछ, हिँडेकाहरूलाई कहीं न कहीं अवश्य पु¥याउनेछ । आन्दोलन गर्दै छातीमा गोली, ढाडमा पुलिसको लात्ती र डण्डा थापेकाहरूको सपना पनि यत्ति नै हो । तर समय त फेरि पनि एकै ठाउँमा फन्फनी मात्रै पो घुम्न थाल्यो त । फेरि राजाहरूकै जयजयकार मात्र ।’ यहाँ पनि लेखकको मन बरालिएको छ देशपीडामा । नेपाली हुन चाहँदा घोर अपमानित, लज्जित हुन वा एक्लो नितान्त एक्लो हुन तयार हुनुपर्ने स्थिति बनेकोमा झन् चिन्तित छन् लेखक । तब उनी स्वाभिमानी व्यक्तिलाई कुनै कुनामा मिल्काएर नाथाथरि कुराहरू दिमागमा बोलाएर बरालिन थाल्छन् । स्वाभाविक लाग्छ उनी बरालिएको पनि ।
‘अनुवादको अनुभव’ मा एक भारी तीतामीठा र मननीय अनुभवहरू छन् अनुवाद गर्दा र आफ्नो कृति अनुवाद हुँदाका । कृतिले अनुवादको पखेटा हाल्न थालेपछि टाढाटाढा अर्कै भाषा, अर्कै संस्कृति, भूगोल एवं सभ्यता माझमा अनुभूति एवं भावनाहरूले सुरक्षित उड्न पाउने अनुभव पनि यसमा छ ।
‘एक रात घोरेपानीमा बसेर’ निबन्ध मात्रै होइन, यात्रानिबन्ध हो यो । घोरेपानी यात्राको रमाइलो वर्णन छ यसमा । राजनीतिले बिगारेको देशमा युवा जति देशलाई सराप्दै कामको खोजीमा विदेसिएपछि पाखापखेराहरू र गाउँहरू रित्तिँदै गएको दुखेसो पनि छ यसमा ।
सधैं देखिरहनेलाई केही न केही । तर पहिलो पटक देख्नेलाई त्यही चिज विशेष लाग्छ । हो, त्यस्तै हो हाम्रो वसन्तपुर पनि । हाम्रा लेखकलाई केही नलागेको वसन्तपुर स्लोभेनियाली कवि ग्रेगोर प्रेकलाई विशेष लाग्यो । हाम्रो सम्पदाको विशेषता पनि हामीलाई अरूले बुझाइदिनुपर्ने, अरूले नै सिकाइदिनुपर्ने । कस्तो विडम्बना । हो, यस्तै विडम्बनाका भावना छन् ‘कविताको खोजी’ मा । अब कोठामा बसेर कविता लेख्नुको काम छैन । दृश्यहरू, घटनाहरू, मानिसको जीवनका उतारचढाव र मनोवेगहरूको अध्ययन एवं अवलोकन गरेर मात्र कविता लेख्नुपर्छ भन्ने मान्यतालाई उजागर गरिएको छ यो निबन्धमा । हो, कुनै पनि कुरालाई भित्री आँखाले गहिरिएर हेरेको दिन त्यो सिर्जना बन्दछ ।
‘केवल सम्झना मात्र’ मा २०७२ वैशाख १२ गतेको भूकम्पका बेला देशबाहिर बसेर गरिएको सम्झना, अनुभूति र ऐतिहासिक सम्पदाको धरोहर धरहरा भूकम्पले भत्किँदाको पीडाको अभिव्यक्ति छ । लोमान्थाङ यात्राको वर्णन र गणतन्त्र आउनुअघिका श्री ५ बाहेकका नेपालका अरू चार राजाहरूमध्ये मुस्ताङी राजालाई भेटेको वर्णन छ ‘बूढो राजा, जीर्ण दरबार र नयाँ सपना’ मा । यद्यपि यो यात्रानिबन्ध भएकाले यसमा अघिल्लो निबन्धहरूमा जस्तो विचारपक्ष र कलात्मकताको सघनता छैन । विवरणको विस्तृति छ । अघिल्ला निबन्धजस्तो त्यति सशक्त पनि लाग्दैन । तर लोमान्थाङ नपुगेकाहरूलाई त्यहाँको वस्तुस्थितिको जानकारी उपयोगी नै लाग्छ ।
बालापनको नोस्टाल्जिया छ ‘सम्झना’ मा । ‘तपाईंको पहाड कहाँ हो’ मा काठमाडौंको अलिकति पनि गुणगान नगाउने लेखकले ‘टेको’ मा चाहिँ मज्जैले काठमाडौंको गुणगान गाएका छन् । ‘गा¥हो र निराश भएको क्षणमा समेत मलाई आमाले जस्तो बाँच्न ढाडस र प्रेरणा दिएको छ यस सहरले । त्यसैले यस सहरको अग्घोरै माया लाग्छ ।’ यसरी काठमाडौं सहरको माया व्यक्त गरेका छन् । २०७२ साल वैशाख १२ र त्यसपछिका भूकम्पका परकम्पहरूले क्षतविक्षत भएको काठमाडौं सहरका टेकोमा अडेका घरहरूले लेखकलाई निकै संवेदनशील बनाएको वर्णन छ यो निबन्धमा । काठमाडौं सहर पुरानो सभ्यताको नमूना पनि हो । त्यसैले एउटा सभ्यता नै टेकोमा अड्नुपर्ने अवस्था पीडादायी छ । हाम्रो विचारमा समेत टेको लागेको अनुभूति छ लेखकमा ।
आत्मपरक निबन्ध जस्तै अरू व्यक्तिपरक निबन्ध पनि विचार र कलापक्षको दृष्टिकोणले पनि सबल छन् । लेखकको सबल र गहन विचार, कलात्मकता र सुन्दर अभिव्यक्तिले गर्दा पुस्तक निकै पठनीय बनेको छ । यो पुस्तकको अध्ययनबाट पाठकले निबन्धसाहित्यको भरपुर आनन्द लिन सक्नेछन् ।
यति गहकिलो पुस्तकमा भएका केही मुद्राराक्षसले गर्दा अर्थको अनर्थ हुनसक्ने सम्भावना पनि छन् । ‘सय वर्षअघि’ हुनुपर्नेमा ‘यस वर्षअघि’ भएको छ (पृष्ठ २४), ‘पातलिएजस्तै’ हुनुपर्नेमा ‘तापलिएजस्तै’ भएको छ (पृष्ठ ५९), ‘केही पनि बाँकी थिएन’ हुनुपर्नेमा ‘केही पनि बाँकी थिए’ भएको छ (पृष्ठ ८४), ‘दिमागले भेट्यो भने’ हुनुपर्नेमा ‘दिमागले भेट्यो भने भने’ भएको छ (पृष्ठ १०६), ‘कहिले त्यही पनि छानिन्नथेँ’ हुनुपर्नेमा ‘कहिले त्यही पनि छानिन्थेँ’ भएको छ (पृष्ठ ११५) ।

पुस्तक: तपाईंको पहाड कहाँ हो ?
विधा: निबन्ध
लेखक: भीष्म उप्रेती
प्रकाशक: शिखा बुक्स
संस्करण: पहिलो, २०७५ चैत्र
पृष्ठ: १७५
मूल्य: रु. २५०/–