प्रिय आख्यानकार नगरकोटीज्यू,
मैले हजूरको प्रकाशित कृतिहरुको अक्षर पनि नछुटाई पढेको छु। अघिल्ला दिनहरुका हजूरको कृतिहरुको प्रारुपले म निकै मुग्ध भएको थिएँ तर ‘ज्ञ’ले हजूर पनि कतै बजार र प्रकाशकको शिकार हुनु भयो कि जस्तो लाग्यो।
यो कुरा जरुरी थिएन कि हरेक ८|९ महिनामा नयाँ पुस्तक प्रकाशन गर्नै पर्छ। जरुरत त हजूरले आफ्नो अघिल्ला कृतिहरुले प्राप्त गरेको श्रद्धा र पाठकको तपाईं प्रतिको आकर्षणलाई स्थिर र स्थायी राख्नु थियो।
प्रिय लेखकज्यू, तपाईं त नेपालीहरुको बहुमूल्य रत्न हुनुहुन्छ। अचानक बदलिने काठमाडौँको मौसमले तन बिथोल्छ, तपाईंका शब्दहरुले दिमाग खल्बलाउँछ तर म चिन्तित छु नगरकोटीज्यू, कतै हजूरले आफ्नो पकड गुमाउनु भएको त छैन ? हजूर आख्यानमा आफ्नो पृथक् र उत्कृष्ट छवि बनाइसक्नु भएको लेखक हुनुहुन्छ। अरुको लहैलहै र बहाकाउबाट आफूलाई जोगाएर सधैँ पृथक् भइरहनुस्। साथीहरुले त कुरुपलाई पनि सुन्दर बनाइदिन्छन्, हजूरको कमी-कमजोरीलाई पनि ताकत साबित गरिदिन्छन्, त्यसैले वास्तविकता आफ्नो शत्रुमार्फत पहिचान गर्नुहोस्।
श्रद्धेय आख्यानकारज्यू,
अरुको वास्ता नगरी लेख्नुको के अर्थ? लेखकले त पाठकको चाहना बुझ्नुपर्छ, मर्ममा प्रहार गर्नुपर्छ, हैन र ? तपाईंले पाठकको वास्ता नगरी आख्यान रचना गर्दा कहीँकतै पाठकले पनि हजूरको वास्ता गरेनन् भने के होला ? कम्तिमा ‘ज्ञ’ मेरो लागि मीठो भूल भयो। मैले मेरो प्यारो लेखक, अरुभन्दा पृथक् आख्यानकारको कमजोरी औँल्याउने मौका पाएँ । तर आशा गर्छु, अर्को पटकमा भने मैले मेरो प्यारो आख्यानकारका शब्दहरुमा पहिले जसरी नै रमाउन पाउनेछु।
उही तपाईंको,
‘द स्ट्रेन्जर’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।