बाल्यकालमा निक्कै चाख लिएर पढेको पुस्तक हो, पण्डित जगन्नाथ गुरागाईंको ‘गुणरत्न माला’ । गाउँ घरतिर यो पुस्तक त्यतिबेला रामायण, महाभारत जत्तिकै लोकप्रिय थियो । बाले लय हालेर पढेको सुन्दासुन्दै यो पुस्तकका आधा जति श्लोक मलाई कन्ठै भएका थिए । पछि म आफैँ पनि त्यसै गरी लय हालेर पढ्न थाले । जति पढ्यो उति पढ्न मन लाग्ने यो पुस्तक चार कक्षा पुग्दा मैले पूरै कण्ठ पारेको थिएँ ।

पुस्तकमा सानासाना शीर्षकमा वर्गीकरण गरिएका धेरै जीवनोपयोगी मन्त्रहरु छन् । शिक्षाको महत्त्व, उद्योग व्यवसायमा हुनसक्ने व्यवधान र त्यसमा राख्नु पर्ने धैर्यता, सफलताका सूत्रहरु, इन्द्रिय नियन्त्रण, सन्तानका कर्तव्यजस्ता अनेक विषयलाई बडो सरल तरिकाले व्याख्या गरिएको छ ।

सानोमा यो पुस्तक मैले कति बुझ्थेँ थाहा छैन तर अहिले त्यस पुस्तकका श्लोकहरु सम्झँदा प्रत्येक श्लोकमा विलक्षण विशेषता भएको महसुस गर्छु ।

दुःख पर्‍यो भनेर सबैतिर विलौना गर्दै नहिँड्नु भन्दै कवि भन्छन् 

ए काकाकुल ! सावधान मनले एउटा कुरा सुन यता,
आकाशैभरि मेघ छन् तर पनि छैनन् एकैनासका ।
क्वै छन् पानी दिने नगर्जिकन नै कोही गर्जने मात्र हुन,
जो-जो पर्छ अगाडि त्यससित नरो जानेछ व्यर्थै वचन ।।

अर्को यो पंक्ति त सायद उनले एनआरएन कम्युनिटीलाई नै लक्षित गरेर लेखेका हुन् कि जस्तो लाग्ने 

के आफ्नो देश अनि के छ बिरानो देश,
जो आँटिलो छ उसलाई सबै स्वदेश ।
उत्साह जाँगर पराक्रमले डटेर,
निर्धक्क भै जहीँतहीँ गरी खान्छ वीर ।।

इन्टरनेटमा विक्रम सम्बत् २००० तिर प्रकाशित गुणरत्नमाला पाइँदोरहेछ । पछिल्लो समय त मञ्जरी प्रकाशनले समेत पुनः प्रकाशन गरेको छ । बेलाबेलामा म यसलाई पुनर्पाठ गरिरहेको हुन्छु। मलाई मनपर्ने पुस्तकहरूको सूचीमा यो पनि पर्ने गरेको छ ।