प्रिय लेखक,
पुस्तक पढ्न मन लाग्छ तर पढ्न मन लागेका पुस्तक सधैं, समयमै हात पर्दैनन् । तपाईंको यो पुस्तक गत सालकै सेप्टेम्बर २८ मा पढ्ने अवसर पाएको थिएँ । राम्रो भने पनि, नराम्रो भने पनि पुस्तकमा केरमेट गर्ने, ससाना टिपोट गर्ने जस्ता पुस्तक मैल्याउने काममा दौडिरहन्छन् औंलाहरु । यो कोरोनाले जुराएको फुर्सदिलो समयमा टन्कण गर्ने समय जुर्यो, पाठक प्रतिक्रियास्वरुप ।
एउटी किशोर वयमा झुल्केकी केटीको डायरीलाई तपाईंले मीठो गरी प्रस्तुत गर्नु भएछ । अहिले बाल्यकालमा रहेकी मेरी आफ्नै हुर्किंदो छोरीको कथाजत्तिकै चाख मानेर एकै बसाइमा सकाएँ । मनभरि उसैको भावभङि्गमा नाचिरह्यो । पल्लबी उमेर ओढेर ~ टीन एज अर्थात तेह्र वर्षदेखि उन्नाइस वर्षसम्मको जिन्दगीका पारिलो समय । गुलाबी उमेरमा अभिभावकप्रति आउने चिड्चिडाहटले जिस्क्याइरह्यो । साथ हुने र दुरीमा बित्ने वैदेशिक रोजगारीका बिडम्बनापूर्ण समयको पाबन्दीहरुले, व्यावहारिक यथार्थहरुले, धेरै कुराहरुले चिमोटिरह्यो पुस्तक पढेर सिद्धिसकेपछिसम्म नै ।
लेखकको चुम्बकीय आकर्षणसँग परिचित गराउन त अघिल्ला कृति पनि सशक्त थिए तर यसमा विशेष रह्यो एउटी किशोरी पात्रको जीवन्त डायरी भएकाले पनि । त्यसभित्र थिए आजको पुस्ताको जोश, अनि कतै परिपक्व र कतै आवेशका निर्णय क्षमता.. । पुस्तान्तरका कारण, सामाजिक असहज सोचका कारण, ऋतु उर्फ ऋतुराज उर्फ बेदाम्शीको मनोभावनासँगै थुप्रै परिघटनाहरुले घोचिरहे, चिथोरिरहे । पिताज्यूको प्रत्यक्ष छहारी नहुनु पनि अर्को अमिलो यथार्थ देखियो । अभिभावकलाई छल्न काफी स्मार्ट देखिन्छन् अहिलेका पुस्ता । त्यसमाथि सुनौलो सपना समेट्ने भाग बोकेर पिता पर्देशिएका बेलामा, घरदेशमा सन्तान हुर्काउने जिम्मेवारी बोकेकी आमाको कोमल मनमा काफी परिपक्व लाग्थिन् रितुराज ! समय र परिवेश सँगै बद्लिरहेछन् संगत र स्वाभाव, जसरी बद्लिएका छन् उनका नाम ।
गुलाबी उमेरमा अभिभावकप्रति आउने चिड्चिडाहटले जिस्क्याइरह्यो । साथ हुने र दुरीमा बित्ने वैदेशिक रोजगारीका बिडम्बनापूर्ण समयको पाबन्दीहरुले, व्यावहारिक यथार्थहरुले, धेरै कुराहरुले चिमोटिरह्यो पुस्तक पढेर सिद्धिसकेपछिसम्म नै ।
हिमेश सरको इन्ट्री पछिको झन्डै दुई तिहाई कथाले छुट्टै औपन्यासिक वेगमा दौडायो । समाजको ऐना हो साहित्य । ‘लोलिता’, समाजले दोष थमाएको बदनाम चरित्र होस् वा आमा छोरी दुवैसँग दोहोरो सम्बन्ध बुन्ने पतित- दुराचारी पात्र हम्बर्ट ! यथार्थमा भए पनि मनोगत पात्र भए पनि, जुनै देश- जुनै समाजमा पाइन्छन्, त्यस्ता प्रवृत्ति । विश्व साहित्यको कृति ‘लोलिता’को प्रसँग घोलिएका छन्, सर्बतमा चिनीजस्तै गरेर। बेदाम्शीले लपक्कै बेरेकी छन् मनैमनमा ती पात्रलाई आफ्नै आमा र हिमेश सरसँग गाँसेर।
बढ्दो उमेर भित्रको तरङ्गित मन सँगसँगै लहराउँछिन् उपन्यास भरी उनी । कतै बोल्ड देखिन्छिन्, कतै कोमल । कतै अग्रगामी देखिन्छिन्, कतै शिथिल । कतै क्षमाशाली देखिन्छिन्, कतै भावुक ! विद्यालयमा चरित्रहीन केटीको बिल्ला भिराइएपछि आफैँसँग मनोवाद गर्छिन्, कसैको मन नदुखोस् भनेर पो प्रेम प्रस्तवमा हुन्छ भनेकी ! न भेट्नु, न घुम्नु, न एकान्तमा बिताउनु ! कसरी धोका भो ?
समाजको घटना – परिघटनामा, पर्दा अगाडि र पछाडिको फरक दृश्य छर्लङ्ग उघारिएका देखिन्छन् उपन्यासमा ।
लय भरिएको अनुप्रासयुक्त मिठास भरिएको छ पुस्तकभरि । जस्तो
– आत्तिएर फोन गरेँ, रित्तिएर कुरा गर्यो !
– अरुसँग तर्किएर बसें, आफूसँग अझै नजिकिएर बसेँ ।
– पुकार सुनिरहेँ, उपकार गरेनन् ।
– कपालसँग ओठले, कफीसँग जिब्रोले एक अनुच्छेद कुरा गरेपछि
लगायतका अरु थुप्रै थुप्रै विन्यासित वाक्यहरूले पाठकलाई तानिरहन्छ ।
यो कथामा मुख्य पात्रको गुलाबी उमेरले शीर्ष स्थान पाएको छ, सिङ्गो उपन्यासको शीर्षक बोकेर । तर फरक पात्रको फरक उपकथा पनि उत्तिकै रोचक छन्, विभिन्न वय र उमेर बोकेर ।
समग्रमा यो उपन्यासले पाठकलाई सोचमा डुबाउँछ, उमेरको विभाजनले:
– पल्लबी उमेर : बाल्यकालको अबोध, निश्चल समय
– गुलाबी उमेर : किशोर वयबाट यौवन चिहाउने स्वर्णिम समय
– मखमली उमेर : सिन्दुर पोतिएर जिन्दगीको मोड बदलने समय
– बैजनी उमेर : जिन्दगीले पढाएर चिन्तनशील र दार्शनिक बनाएको उमेर
– आसमानी उमेर : जिन्दगी भोगेर अध्यात्मतिर झुकेको उमेर
तपाइँले आसमानी उमेरबारे ‘सेतो धरती’ पस्किएर पुनः फन्को मार्दै ‘गुलाबी उमेर’मा पाठकहरूलाइ ल्याइदिनु भएको छ । अझै थुप्रै थुप्रै उमेरका कथाहरू तपाइँबाट सुन्न पढ्न पाइयोस् भन्ने कामना गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।