‘हिटलर र यहूदी’ यात्राको वृतान्तको शैलीमा रचिएको उपन्यास हो ।

यसमा कथाको प्रमुखपात्र क्यान्सररोगको उपचारार्थ इङ्ल्यान्ड जाने क्रममा भएका घटनाहरुको बेलिविस्तार—बम्बईमा जहाजबाट सुरु भएको यात्रा विभिन्न बन्दरगाह हुदै इङ्ल्याण्ड गएर उपचार गराएर अङ्गेजी साहित्यको हस्ति विलियम सेक्सपियरको गाउँ स्ट्राटफोर्डको भ्रमण, हिटलरको देश जर्मनीको वर्लीनमा हिटलरको चिहान, खण्डहर, सन्टले राजमार्ग—हानोवरमा बन्दि शिविर, ग्यासच्याम्बर, फ्रन्सको पेरिसको संक्षिप्त यात्रा र अन्तमा यहूदीहरुको ईश्वरप्रदत्त मुलुक इजरायलमा प्रवेशको सङ्गालो हो हिटलर र यहूदी ।

यस उपन्यास मुख्यत: दुई कुराको परिधिभित्र घेराबद्ध छ । एक, दोस्रो विश्वयुद्बले भग्नावशेष बनाएको संसार र यसले यहूदी जातीलाई पुर्याएको असर । दुई, आर्य—संस्कृतिमा निहित अध्यात्मवादी दर्शन र वास्तविकताको अन्तरद्वन्दको मनोविश्लेषण ।

एकातर्फ नारायण, लियोनार्ड र डा. सुनिल भट्टाचार्य जो युद्धको यथार्थतालाई कुनै काल्पनिक घटना जस्तो मानेर यसको पक्षधर भईरहे । अर्कोतर्फ गोल्डवर्ग, थियोडोरा, ईल्जा जसलाई युद्धको चोटको खाटाले विस्मयकारी क्षण बिर्सिन खोज्दा पनि याद दिलाईरह्यो ।

अपूर्ण भएको कारण यस उपन्यासले यहूदीहरुको भुमिमा गई उनीहरुको मनस्थिति सूक्ष्म अन्वेशण गर्न नसकेको भान भने अन्त्यमा निश्चय नै हुन्छ ।

कृति भित्रका केहि स्मरणीय संवादहरु :

नारायणजी — प्रिय नेपाली मित्र, शब्द, त्यसको अर्थ र अर्थको ज्ञान—तीन तत्व छन्, मान्छेको बुझाइमा ।

नारायणजी — यो विराट ब्रह्मान्ड समुन्द्रमा क्षण क्षण असंख्य विश्वको प्रलय संहारकारी ज्वार आएको बुझ्दा बुझ्दै सहानुभूतिको अश्रुबिन्दुको के अर्थ हुन्छ र ?

डा. भट्टाचार्य — ज्ञान चैतन्यको समष्टि रुप हो, जसको एउटा अत्यन्त स्वल्प अङ्ग मात्र छ, बुद्बि । चैतन्यका सहस्र अङ्ग छन् — बुद्बि सहज वृत्ति, इन्द्रियानुभाव, भावना, सपना, स्वप्नहीन निन्द्रा, तन्द्रा, तन्मात्रा आदि आदि अनेकानेक पत्रैपत्र परेको । यी सबै अङ्गको स्वस्थ स्थितिमा सहयोग गरीकन प्राप्त भएको तत्त्व हो, ज्ञान ।