यस गैरे
केही महिनादेखि हामी कोरोना भाईसको माहामारीबाट गुज्रिरहेका छौ । यो संक्रमणकालीन अवस्थामा मन मस्तिकले धेरै साथ दिदोरहेनछ । डर त्रास आशंकाका बिच मनलाई केहि राहत प्रदान गर्दो रहेछ पुस्तकको अध्ययनले । राम्रो र असल साथीको रुपमा मैले धेरै किताबलाई रोजे । कतिपय किताबहरु पढदै जाँदा त्यहाँ लेखिएका शब्दले मन छुन्छ । सुबिन भट्टराईद्घारा लेखिएको उपन्यास प्रिय सुफी पनि मेरो मनमा बस्न सफल भएको छ । आधुनिक युवायुवतीहरुको प्रेम र जीवनको भोगाईहरुलाई शब्दमा उतारी लेखकज्यूले पाठकको मन जित्नु भएको छ ।
प्रिय सदा, “सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ । जति ओखती खाँउ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ ।” यति चोटिलो वाक्य साधारणको मुखबाट व्यक्त हुनै सक्दैन । जसले सदाको जस्तो जीवन व्यतीत गरेको छ, उसको अन्तरमनबाट मात्र निस्किन्छ ।
यी हरफहरु पढ्दा म आफै सदा, सुफी र भास्कर कै अगाडिबाट जीवन्त हेरिरहेको अनुभव गरे र आखाँबाट तपतप धेरै पटक आँसुु झारे । बेलाबेलामा फोनको घण्टीले झसङंग बनायो तर आफैलाई पुनः सदा सँगै पाए । प्रिय लेखकज्यू, घरिघरि सदाले अनुभव गरेका घटनाहरुलाई आफनै अनुभव सँगै दाँज्दै पन्नाहरु पल्टाउँदै गरे । केही पीडा सदाका जस्तै यशोदाका पनि रहे जीवनमा, केही दुखाइहरु जीवन्त रहने गरी बसेका पनि छन । सदाको आकाङ्क्षा, सपना र प्रेमको चक्रव्यहु, निर्दयी भएर घुमिरहेको छ । यति धेरै चोटलाई सहेर वाच्न सक्नुमा सदाप्रति सलाम छ र सुफीको प्रेम सदा प्रति अनुकरणीय छ । त्यसैले प्रिय सुफी तिमी असल अभिभावकको प्रतिरूप हौ । तिमीप्रति नमन छ ।
सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन, जो वास्तविकतामा, दुरदुर सम्म पनि कहि नजर आउन्नन् ।
सदाले विपनाका कुरा सपनामा देखिन् र सपनाका कुरा विपनामा भोगिन् । यस्तो अन्तरसम्बन्धित घटनालाई लेखक सुविन भट्टराईले सदाको अर्थात आधुनिक महिला पात्रको मन पढेको र त्यसलाई दृश्यमा उतार्न सफल हुनुभएको छ ।
सुफीले भनेकी छिन्, “जिन्दगी सोचे जस्तो कसैको हुदैन तर जिन्दगीमा सोच्नै छाडनु चाहिँ कसैले हुन्न” । यसबाट सुफी पनि आफ्नो जिन्दगीबाट सन्तुष्ट नभएकी हुन् की भन्ने अनुमान रह्यो मेरो । पढ्दै जादा सुफीले जीवनलाई गहिरिएर बुझेकोे र प्रेमपूर्वक जीवनलाई बिताउन प्रयास गरेको देखिन्छ र सदालाई जिवनको मूल्य र महत्व सिकाईरहेकी हुन्छिन् । अन्तिममा सुफीकै प्रेमले सदालाई आत्महत्या गर्नबाट बचाएको र सुफीकै आग्रहमा सदाले उपन्यास लेखी चर्चित हुनुले निस्वार्थ प्रेमको प्रतिरुप नै सुफी भएकोले प्रिय सुफीले न्याय पाएको अनुभव गरे ।
जीवन आफनो लागि जिउने हो । सबभन्दा महत्वपूर्ण कुरा आफैले आफुलाई प्रेम गर्नु पर्छ, आफ्नो प्रेमले नै संसारलाई सुन्दर, हराभरा र अरुलाई खुसी दिन सकिन्छ । तबमात्र वास्तविक जिवनको अर्थ थाहा हुन्छ । यसै गरी ‘हरेक मानिस यात्री हो र उसको सबभन्दा मन मिल्दो सहयात्री ऊ आफै हुन्छ ।’ यस वाक्यले आजको समयको यथार्थ चित्रण गरेको पाए । मानिस हजाँरौको भिडमा पनि एक्लो बाचिरहेछ, स्वतन्त्रता खोजिरहेको छ सायद यही आधुनिकताको प्रारुप हो ।
“मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरु ज्यादा उनिन्छन ।” “सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन, जो वास्तविकतामा, दुरदुर सम्म पनि कहि नजर आउन्नन् ।” “धेरै आस गर्ने बानी भएपछि मान्छे आफ्नै मनको दास हुन्छ ।” यी वाक्यहरुले गुमिसकेको कुराहरुलाई फेरि पाउने अभिलाषाले भौतारिरहेको र चिन्तनगरि दुःखी भइरहने यथार्थलाई दर्शाएको छ ।
“प्रेम त यस्तो होस, जसले मानिसलाई ब्युझाओस तर नबिझाओस ।” “केही महिना ओछयान मात्र पर्नुपर्छ, कसले प्रेम गर्छ, कसले गर्दैन, सर्लक्क छुट्टिदो रहेछ ।” “कसैलाई पाउन सकिन्न भनेपछि मान्छेलाई झन उहि चाहिन्छ । कसैले आफ्नो जिवनमा ढोका थुनिदियो भने उसैको ढोका ढकढकाउन मन लाग्छ ।” “केही मानिस तक्दिरमा लेखिन्छन, केही मानिस तस्बिरमा भेटिन्छन ।” यी पंक्तिहरुले प्रेमलाई परिभाषित गर्न खोजेको छ । प्रेमले ब्यक्तिलाई सबल, उत्प्रेणा, स्वास्थ्य, जागरुक र प्रगति उन्मुखतर्फ लग्न सक्नुपर्छ । प्रेममा स्वतन्त्र अनुभव गर्न सक्नुपर्छ । प्रेम प्राकृतिक चिज हो । प्रेमलाई बन्धनमा बाँधिनु हुन्न, जब बन्धनमा बाध्छौ अनि प्रेमको अस्तित्व हराउछ ।
यहाँ सुफीले गरेको प्रेम पवित्र थियो तर भास्करको प्रेमले स्वार्थ देखाउछ । जब सुफी बिरामी पर्छिन, भास्करले उनको रोगलाई आफ्नो मायाले साथ दिएर निको बनाउनु पर्नेमा उनलाई छोडिदिन्छ । सुफीको प्रेमलाई अपमान गर्छ । भास्करको लागि प्रेम शारिरिक आर्कषण मात्र रहेको पुष्टि हुन्छ ।
सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ । जति ओखती खाँउ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ ।
प्रत्येक पन्नाहरु पल्टाउदै जादा, कथाले लुकेर रहेका नमिट्ठा अनुभवहरुलाई एकएक गरि केलाईरहेको पाए । किताबको आधापृष्ट पुगेपछि केहि आशाका किरणहरुले छोए जस्तैः “समस्या भन्ने चिज जत्रो देखिन्छ, मानिस त्यसको गुणन गरेर बाच्छन ।” “समस्या पहाड जत्रो होस, हिम्मत एकएक पाईला अघि बढाउछु भन्ने साहस मानिसमा हुनुपर्दछ ।” “मान्छे एउटै कारणले मरिदिन्छ । सोच्दैन, बाच्ने हजार कारण हुन्छन ।” “जिन्दगी तिमी आँशुको खहरे लिएर आऊ, म मुस्कानले सागर लिएर पर्खिउला ।” “संसारमा म फैलिएर बाँच्नेछु । यति फैलिनेछु कि संसार मेरालागि साँघुरो होस् । यति उड्ने छु कि आकाशको फैलावट मलाई कम लागोस् । यति हिड्ने छु कि मलाई बाटोहरुले नपुगोस् । यति बाँच्नेछु कि मलाई जिन्दगीले नअघाऊ ।” “प्रिय जिन्दगी आजबाट म तिमीलाई खुब प्रेम गर्नेछु ।” यी हरफहरुले हरेक ब्यक्तिको जीवनमा दुख पछि सुःख अवश्य आउँछ । यतिमात्र हो कि आफ्ना दुखाईलाई एउटा सिकाईको पाठ सम्झि आशावादी भएर अगाडी बढनुपर्दो रहेछ भनेर पुन सम्झाउछ ।
प्रिय सुफीमा यति यथार्थवादि र जीवन्त वाक्यहरु कोरिएका छन जसबाट जीवनदेखि निरास भएर बाचिरहेका, प्रेममा धोका पाएका, आफ्नो लक्ष्य बिर्सी संसारिक मोहमा फसिरहेका आजका हामी युवायुवतीहरुलाई सहि मार्गदर्शन दिइएको छ । अन्तिममा, यस उपन्यासले सदालाई एउटा सफल पात्रको रुपमा प्रस्तुत गरेको छ । बाल्यकालमा इर्ष्याको भावना देखाइए पनि सुफीले सदालाई दुखपर्दा पलपल साथ दिएकी छिन । आमाको ममता बोकेकी विशाल हृदय भएकी बहिनीको भेषमा आएकी सुफीे बौद्धिक ज्ञानले भरिपूर्ण छिन् । यिनै सुफीकै कारण सदा वास्तविक रुपमा सदा कै रुपमा परिचित हुन पुगिन् । यहाँ जस्तो सुकै बिषम परिस्थितीमापनि हरेक ब्यक्तिलाई परिवारको अनिवार्य साथ चाहिन्छ भन्ने पुष्टी हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।