दसैँ र तिहारको कोशेलीका रूपमा भर्खरै बजारमा आएको कथा सङ्ग्रह ‘सम्पूर्ण आकाश’ नारीको आत्मबल बढाउने औषधिका रूपमा देखिएको छ । वर्षौँदेखि जबर्जस्ती दबाइएका नारी स्वर, उनीहरूको चाहना अनि नस्वीकारिने अस्तित्वमाथि धावा बोल्ने प्रयास यो कथामा सङ्ग्रहित कथाका पात्रहरूले गरेका छन् ।
यसमा भएका २५ वटा कथामध्ये सबैजसोले कुनै न कुनै रूपमा नारीलाई होच्याइने प्रवृत्तिमाथि औँला ठड्याएका छन् । महिलाको पनि पुरुषको जत्तिकै अधिकार हुने सवालमा वकालत गरेका छन् । अनि समान अवसर पाउँदा महिला पनि कुनै कुरामा पछि पर्दैनन् भन्ने दाबी पनि गरेका छन् । कथाका पात्रहरूले यस्ता दाबीलाई मूर्तरूपमै प्रमाणित पनि गरेर देखाइदिएका छन् ।
पूर्णरूपमा नबुझिकन प्रेमका नाममा स्वार्थमा बेरिन पुग्नु, हेपाइलाई महिलाको भाग्य नै यस्तै हो भनेर सहेर बस्नु, हिंसालाई आफैँ चूपचाप सहनु तथा चाहिने भन्दा बढी सरल र इमानदार हुनु महिलाका कमजोरी हुन् भन्दै कथाका पात्रहरूले कतिपय अवस्थामा महिला आफैँ पनि यसतर्फ सचेत रहन आह्वान गरेका छन् । यस अर्थमा कथाले महिलाको अधिकार दाबी गर्दै आफ्नो अडानमा दृढ रहन आग्रह गर्दा कमजोरीमाथि पनि ख्याल राख्न सुझाउनु राम्रो पक्ष हो ।
अन्य कथाकारका कथामा झैँ यो कृतिमा पनि माया/प्रेम, घर/व्यवहार, दुःख/सुख जस्ता विषयवस्तुमै घुमेका छन् पात्रहरू । तर विषयवस्तुले उठान गरेका पक्षचाहिँ पृथक छ । अर्थात क्षणिक मनोरञ्जनका लागि मात्र लेखिएका लाग्दैनन् कथा । अनि ‘पढ्यो सकियो’ को अवधारणाबाट पनि यी कथा मुक्त देखिन्छन् ।
पढिसकेपछि दिमागमा घुमिरहने अनि आफू पनि यसबाट केही सिक्नुपर्छ र सकिन्छ पनि भन्ने सन्देश दिन कथाहरू सफल छन् । यस अर्थमा पनि सम्पूर्ण आकाशमा विचरण गर्ने कथाकार ज्ञवालीको आकाङ्क्षा सही लाग्छ ।
कथा सङ्ग्रहको सबै भन्दा अगाडि लेखिएको भूमिका ‘कथाको कथा’ ले यो सङ्ग्रहमा समावेश कथाहरू कथाका शास्त्रीय तथा सनातनी साँचोमा नउनिएको दाबी गर्छ । अनि कथामा हुनुपर्ने विषयवस्तु, पात्र, शैली, सन्देश आदिको सैद्धान्तिक घेरा पनि मतलव नगरिएको उल्लेख गर्छ । देखिएका र भोगिएका कुरालाई उतारेको र आफ्नो विचारमा त्यही कथा भएको दाबी पनि छ ।
यसरी हेर्दा सैद्धान्तिक पक्ष, शास्त्रीय ढाँचा अनि कुनै कुनामा बस्ने कुनै विज्ञले कोरिदिएका सीमारेखाभित्र यी कथा अटेका छन् कि छैनन् भनेर हेर्नुपर्ने आवश्यकता रहेन । कथाले उठाएका विषयवस्तु र तिनले दिन खोजेका सन्देश महिलाको आत्मबल बढाउन केन्द्रित छन् । बस्, यत्ति बुझे हुन्छ यी कथा पढ्दा ।
सन्तान जन्मिएपछि पनि आफूले रमाइलो मात्र गरेको भनेर ख्यालख्यालमा उडाइदिने, बिहे भइसकेपछि काम गर्ने मानिस भित्र्याएको रूपमा लिने, अरूका अगाडिसमेत आफ्नै श्रीमतीलाई खिल्ली उडाउने र त्यसैमा रमाउने, यिनीहरू जस्तोसुकै अपराध गरे पनि सहन्छन् र प्रतिवादमा उत्रन सक्दैनन् भन्ने भ्रम पाल्ने अनि उनीहरूका लागि बोलिदिने, लडिदिने सहारा कोही नभएका ठान्ने पुरुष मनोवृत्तिलाई कथाका पात्रहरूले दनक दिएका छन् । यो कथाको सुदृढ पक्ष हो ।
सिर्जनाशीलतालाई कथाका पात्रहरूले बढी नै महत्त्व दिएका छन् । अनि अहिंसात्मक सोच यसको अर्को विशेषता हो । आफूलाई जसले हेपिरहेको छ, जसले यातना दिइरहेको छ, जसले अस्तित्व स्वीकार गरिरहेको छैन, उसलाई सकेसम्म आफू अब्बल भएको प्रमाणित गरेर देखाइदिने र त्यति गर्दा पनि नभए मात्र अन्य कदम चाल्ने कथाका पात्रहरूको शैली आकर्षक लाग्छ ।

शोभा ज्ञवाली
समग्रमा भन्नुपर्दा नेपाली समाजका मध्यमवर्गीय महिलाले भोगिरहेका अर्थात उनीहरूमाथि लादिएका तर बाहिर भने छरपस्ट हुन नसकेका पीडा र त्यसमाथि विजय अनि विजय प्रयासका उपज हुन् यो सङ्ग्रहका कथा । जसले ठूलो समुदायका महिलाले ठूलै घरभित्र भोगिरहेका समस्या उजागर गर्छ मद्दत गर्छ । अनि भित्रभित्रै हुँडलिइरहेका यस्ता पीडाको व्यवस्थापनका प्रयास मात्र हैन, यसो हुन नसक्दा आइपर्ने समस्याहरूलाई पनि देखाइदिएको छ । यस अर्थमा समस्याको औषधि पनि हो यो पुस्तक ।
नागरिक दैनिक र परिवार मासिकमा प्रकाशित कथाहरूको यो सङ्गालो यसमा समावेश रङ्गीन चित्रहरूका कारण पनि आकर्षक छ । कथा नै पिच्छे समावेश सान्दर्भिक यस्ता चित्रले एकातिर आँखालाई मनोरञ्जन दिलाएको भान हुन्छ भने अर्कोतिर कथाको विषयवस्तु बुझ्न पनि सघाउँछ । प्रायः नेपाली कथा सङ्ग्रहमा नदेखिने यो प्रचलन समेटेर सङ्ग्रहले आफूलाई थप विशेषतायुक्त बनाएको छ ।
मञ्जरी प्रकाशनले छापेको यो पुस्तक महिलाका लागि त उपयुक्त छ नै, साथै मध्यमवर्गीय समाजभित्र उकुसमुकुस भइरहेका महिलाका व्यथा जान्न चाहने र व्यवस्थापनका तरिका थाहा पाउन चाहनेहरूका लागि पनि निकै उपयुक्त लाग्छ । बजारमा सबैतिर उपलब्ध यो किताब फोनमार्फत माग गरेमा घरैमा ल्याइदिने व्यवस्था छ भने इ–बुक डाउनलोड गरेर पनि पढ्न सकिने व्यवस्था प्रकाशकले मिलाएको छ । जुन यस सङ्ग्रहको अर्को राम्रो पक्ष हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

