हाम्रोबाट चार गल्ली पर मैले ओमारलाई देखेँ । ओमारको बुबा इन्जिनियर थिए र मेरो बाबाको साथी पनि । ओमार आफ्नो घर अगाडिको चौरमा आफ्नो भाइसँग फुटबल छक्याएर खेल्दै थियो । ओमार मान्छे असलै थियो । हामी चार कक्षामा सहपाठी थियौँ । उसले मलाई एकपटक रिफिल फेर्न मिल्ने कलम उपहार दिएको थियो ।
“मैले थाहा पाएँ अमीर तिमीले जित्यौ रे ।” उसले भन्यो |
“बधाइ छ ।”
“धन्यवाद । तिमीले हसनलाई यता कतै देखेनौँ ?”
“ए त्यो तिम्रो हजारालाई ?”
मैले टाउको हल्लाएर ‘हो’ भन्ने संकेत गरेँ |
ओमारले हेड गरेर बल भाइलाई दियो । “मैले सुनेको त्यो त चङ्गा छोप्न खुबै सिपालु छ रे ।” उसको भाइले हेड गरेर बल फर्कायो । “म सधैँ आश्चर्य मानेर सोच्छु उसले त्यो कसरी गर्न सकेको होला । मेरो मतलब, उसले ती स-साना चिम्से आँखाले कसरी देख्छ होला ?”
उसको भाइले खितिती गरेर बल पास माग्यो । ओमारले नसुनेफैँ गर्यो ।
“तिमीले उसलाई देखेनौं ?”
ओमारले चोर औँलाले पछाडि पटि्टबाट दक्षिण-पश्चिमतिर देखाउँदै भन्यो, “एकैछिन अगाडि त मैले दौडेर बजारतिर गइरहेको देखेको थिएँ ।”
म धन्यवाद भनेर फुत्त लागेँ । बजार पुग्दा घाम पहाडमा छेलिइ सकेको थियो | गोधुलि आकाश सुनौला गुलाबी रङको देखिन्थ्यो । केही बल्क परेको हाजि याकुव मस्जिदबाट मुल्ला आफ्ना भक्तजनहरूलाई ओढ्ने रग फालेर प्रार्थना गर्दै पश्चिमतिर शिर निहुर्याउन आग्रह गर्दै चिच्च्याए । हसनले दैनिक पाँचपटक गरिने प्रार्थना कुनै पनि विराउँथेन | हामी खेल्दा पनि उसले “एकैछिन है त“ भन्थ्यो, गएर इनारबाट पानी निकाल्थ्यो, हातमुख धुन्थ्यो र छाप्रोभित्र गायब हुन्थ्यो । एकैछिनपछि ऊ मुसुक्क हाँस्दै बाहिर आउँथ्यो । म कि पर्खालमा या रूखको हाँगोमा बसिरहेको हुन्थेँ तर आज मेरो कारणले गर्दा उसले रातको प्रार्थना छुटाउने भयो ।
व्यापारीहरूले दिनभरिको आफ्नो मोल-मोलाइको काम सकाइसकेका थिए र बजार खाली हुँदै थियो । म वारीपारी एक आपसमा जोडिएका टहराहरूको लाइनको बाचबाट हिलाम्य बाटो भएर जाँदै थिएँ, ती गुजुमुज्ज परेका टहराहरू जहाँ एउटामा ताजा कुखुराको मासु किन्न पाइन्छ भने त्यसमै जोडिएको अर्कोमा क्याल्कुलेटर पाइन्छ । पसल बन्द गर्दै गरेका बुचरहरू र कपडाका व्यापारीहरू, काँधमा रङ हालेका तरकारी, फलफूल पसलेहरू, थोत्रा-झुत्रे कपडाको पत्रै-पत्रमा बेरिएका लुला-लङ्गडा मगन्तेहरू र घट्दै गरेको भीडलाई छिचोल्दै म अघि बढेँ । तर मैले हसनको अत्तोफ्तो पाइनँ ।
खच्चरमा पाइन सीड र किसमिस लोड गर्दै गरेको एउटा बूढो व्यापारी छेऊ उभिएर मैले उसलाई हसनको हुलिया बताएँ । उसले नीलो फेटा बाँधेको थियो |
मेरो प्रश्नको उत्तर दिनुपूर्व ऊ टक्क अडिएर मलाई धेरै बेर नियाल्यो अनि भन्यो, “सायद मैले उसलाई देखेको हुनुपर्छ ।”
“ऊ कुन बाटो लाग्यो होला ?”
उसले मलाई तलदेखि माथिसम्म धेरै बेर चियायो र सोध्यो, ‘तिमीजस्तो मान्छेले यस बेला त्यो हजारालाई के खोजेर हिँडेको ?” उसले मेरो छालाको कोट र जिन्स पेन्टलाई बडो मन पराएर नियाल्यो । हामी त्यो जिन्सलाई काउव्वाई पेन्ट भन्ने गथ्यौं । अफगानिस्तानमा सेकेन्ड हेन्ड बाहेक अरू कुनैपनि चीज अमेरिकन हुनु भनेको सम्पन्नताको चिन्ह थियो |
“अगा मैले उसलाई खोज्नु छ ।”
“त्यो तिम्रो को पर्छ ?” उसले सोध्यो । उसको प्रश्नको मैले कुनै औचित्य देखिनँ, तर मैले बुझेँ कि म जति हतारिएको भए पनि उसले चाँडै केही भन्नेवाला थिएन ।
“छ हाम्रो नोकरको छोरा हो,” मैले भनेँ ।
बूढोले अचम्म मान्दै सेतै आँखीभौँ खुम्चाएर हेर्यो र भन्यो, ‘ए हो? यस्तो ख्याल राख्ने मालिक पाउनु त हजाराको भाग्य नै मान्नुपर्छ । यसको बाउले त घुँडा टेकेर तपाईंको गोडाको धूलो आँखीभौँले पुछे पनि हुन्छ ।’
“तपाईले मेरो प्रश्नको उत्तर दिने कि नदिने ?”
एउटा हात खच्चरमाथि टेकाएर दक्षिणतिर देखायो ।
“तिमीले भनेकोजस्तो केटा त मलाई त्यतैतिर दौडिएजस्तो लाग्छ । उसको हातमा एउटा नीलो चङ्गा थियो ।”
“हो र ?” मैले सोधेँ । तपाईंका लागि त हजार पटकभन्दा पनि बढी गर्न सक्छु भनेर उसले बाचा नै गरेको थियो । मेरो पुरानो असल साथी । पुरानो भरपर्दो साथी ! आफ्नो बाचा पूरा गर्न अन्तिम पटक मेरोलागि चङ्गा छोप्न दौडिँदै थियो ।
“अँ यति बेला त तिनीहरूले उसलाई समाति सके होलान् ।”
“कसले ?”
खच्चरमाथि अर्को बाकस लोड गर्दै बूढाले भन्यो ।
“ती अरू केटाहरू” उसले भन्यो । “जसले उसलाई लखेट्दै थिए । तिम्रै जस्तो लुगा लगाएका थिए ।”
आकाशतिर फर्केर लामो सास तान्दै बूढोले भन्यो, “ल दौडिहाल त मलार्इ नमाज गर्न बेर भइसक्यो ।”
तर म चाहिं बेतोडसँग हात हल्लाएर तलतिर दौडिसकेको थिएँ । केही मिनेट त मैले व्यर्थमा बजारको चक्कर काटेँ । सायद त्यो बूढो व्यापारीको आँखाले धोका दिएको पो थियो कि? उसले नीलो चङ्गा बाहेक अरू ठम्याएन पो कि ? त्यो चङ्गा कति बेला हात पर्ला भनेर प्रत्येक गल्ली र पसलहरूतिर हेरेँ, तर हसनको अत्तोपत्तो थिएन |
हसन फेला नपर्दै अँध्यारो पो हुने हो कि भनेर मलाई डर लागिरहेको थियो । मेरो अगाडि मास्तिर बोलेको आवाज सुनियो । म हिलाम्मे बाटो भाएको एकान्त ठाउँमा पुगेको रहेछु । यो बाटो बजारको बीचबाट बजारलाई चिरेर जाने मुख्य सडकको पल्लो छेउमा ९० डिग्री कोणमा जोडिएर वारपार भएर जान्थ्यो । म गाडीको चक्काले खाल्टो पारेको बाटोतिर मोडिएँ र आवाज आएकैतिर लागेँ । पाइलैपिच्छे मेरो बुट हिलोमा गड्यो र मेरै स्वाँ स्वाँ गरेको सास मेरोअगाडि कुईरो बन्यो । साँगुरो बाटो हिउँले भरिएको खोल्सोको वारीपट्टि समानान्तर भएर जान्थ्यो । सायद खोल्सोमा बर्खाको पानी बग्थ्यो होला । मेरो पारीपट्टि हिउँले लत्रिएका साइप्रेस (Cypress) हरू कच्ची घरका छानोहरूमा अडेस लागेका थिए । साँगुरो गल्लीहरूले छुट्याइएका धेरै
जसो घरहरू सबै माटोले बनेका छाप्राहरू नै थिए ।
मैलेफेरि एउटा गल्ली तिरबाट अघिभन्दा अलि चर्को आवाज आएको सुनेँ । म लुसुक्क गल्लीको मुखैमा पुगेँ । सास रोकेर मोडको वरिपरि चिच्च्याएँ ।
हसन मुठ्ठी कसेर, एउटा गोडा अघि र अर्को पछि गरेर उभिँदै कतैबाट पनि भाग्न नमिल्ने गल्लीमा “जे पर्ला देखा जायगा’ पारामा उभिइरहेको थियो | त्यो नीलो चङ्गा उसकै पछाडीको कवाडी र फोहरको थुप्रो माथि थियो । बाबाको मन जित्नलाई मेरो साँचो ।
हसनको बाटो छेकेर तीन तीनजना केटाहरू बसेका थिए, जुन त्यही दाउद खानले तखतापलट गरेको दिन त्यो पहाडमा हामीसँग ठ्याँठ्याँ गरेका थिए र हसनको गुलेलीले हामीलाई जोगाएको थियो । वली एक छेउमा, कमाल अर्को छेउमा र असिफ बीचमा | मेरो आङ्ग सिरिङ भयो र शरीर ककक्क परेजस्तो लाग्यो । असिफ बडो आरामले ढुक्क देखिन्थ्यो । उसले पित्तलको चुच्चे औँठी हातमा घुमाउँदै थियो । अर्का दुईजना केटाहरू बडो त्रसित भएर गोडाको भर फेर्दै हसनलाई र असिफलाई हेर्दै थिए । यस्तो लाग्थ्यो मानौं तिनीहरूले कुनै जंगली जनावरलाई घेरामा पारेका छन् | छेकेर राखेका छन् जसलाई असिफले मात्र तह लाउन सक्छ ।
“ए हजारा तेरो गुलेली खोइ त ?” पित्तलको चुच्चे औँठी हातमा घुमाउँदै भन्यो, “तैँले मलाई अस्ति के भनेको रे ? एक आँखे असिफ भन्नुपर्ला भनेको होइन ? ठीकै छ ल | कानो असिफ । बडो चलाख । साँच्चै चलाख | अनि फेरि लोड गरेको हतियार भिर्न पाउँदा चलाख बन्न सजिलै हुन्छ, होइन त ?”
मलाई लाग्यो मैले अझै सास फेरेको थिइनँ । मैले विस्तारै सास बाहिर फाले । हात गोडा सबै लुलो भयो । उनीहरू मसँगै हुर्किएको केटोतिर नजिकिँदै गरेको मैले रमिते बनेर हेरेँ | त्यही केटो जसको खुँड ओँठ मेरो पहिलो स्मृति थियो ।
“हजारा तेरो आजको दिन शुभ रहेछ, अमीरले भन्यो । ऊ मतिर पिठ्ँयु फर्काएर उभिएको थियो, तर म जान्दथेँ उसले दाह्वा किट्दै थियो । “मलाई आज यसलाई छोडिदिउँ जस्तो लाग्यो । ए केटा हो तिमीहरूको के विचार छ हँ ? ” “बडो दयालु,” कमालले थप्यो । “हामीसँग यसले अस्ति त बडो अभद्र व्यवहार गरेको थियो, तैपनि” । र पनि असिफ जस्तै बोल्न खोज्दै थियो तैपनि उसको आवाजमा कम्पन थियो । अनि मैले बुझेँ – ऊ हसनसँग कत्ति पनि डराएको थिएन । उ यस अर्थमा डराएको थियो कि असिफले अब हसनलाई के गर्ने हो भन्ने उसलाई थाहा थिएन | असिफले हातको इसाराले ल भैगो भन्ने संकेत गर्दै भन्यो, “बखसिदा” |
आजलाई माफ गरिदिएँ । पक्का । अलिसानो स्वरमा फेरि भन्यो, “हो त यो संसारमा स्वतन्त्र त कोही पनि छैन र मेरो माफीको तैँले सानो मूल्य चुकाउनु पर्छ ।”
“कुरा ठीकै हो” अलीले थप्यो ।
“हजारा तँ त भाग्यमानी रैछस्,” हसनतिर एक कदम अघि बढ्दै असिफले भन्यो । “किनभने तैँले आजमात्र त्यो नीलो चङ्गाको मूल्य तिर्नुपर्छ । यो सौदावाजी ठीकै हो, होइन त केटा हो?”
“हो, यो पूरै न्यायसंगत छ ।” कमालले भन्यो ।
म उभिएकै ठाउँबाट पनि हसन डराएको उसको आँखामा प्रस्टै देखिन्थ्यो, तर पनि उसले टाउको हल्लाउँदै भन्यो, “यो खेल अमीर अगाले जित्नुभएको हो र यो चङ्गा मैले छोपेको हो । जाल झेल नगरीकनै | यो चङ्गा उहाँको हो ।”
“वफादार हजारा । कुकुरजस्तै बफादार”, असिफ रन्क्यो ।
कमाल डर मिस्रित उत्तेजित हाँसो हाँस्यो ।
“तर तैंले उसका लागि ज्यान दिनुभन्दा पहिला यो सोच – के उसले पनि तेरा लागि यसै गरी ज्यान दिन्छ ? घरमा पाहुना आएको बेला उसले तँलाई खेलमा मिसाउँदैन, किन होला ? यसको बारेमा तैँले कहिल्यै सोचेको छस् ? वरिपरि कोही नभएको बेलामा मात्र ऊ तँसँग खेल्छ किन होला ? हजारा, म तँलाई बताउँछु, किन हो | त्यो किनभने उसका लागि तँ एउटा नराम्रो घरपालुवा जन्तुभन्दा बढी केही होइनस् । तँ उसको लागि दिक्क हुँदा खेलाउने वस्तु र उसको रिस उठ्दा लात हान्ने वस्तुभन्दा बढी केही होइनस् । अरू केही बढी हुँ भन्ने ठानेर आफैँलाई मूर्ख नबना ।
“अमीर अगा र म साथी हो,” रातो अनुहार पार्दै उसले भन्यो ।
“साथी रे ?” असिफले हाँस्दै भन्यो | “बिचरा मुर्ख । कुनै दिन तँ सपनाबाट झल्यास्स ब्यूँझिन्छस् अनि थाहा पाउनेछस् ऊ कस्तो साथी हो । ऐलेलाई चुप लाग ल यो कुरा अब सकियो | पैले हामीलाई त्यो चङ्गा दे त ।”
हसनले निउरिएर एउटा ढुङ्गा टिप्यो ।
“असिफ तर्सियो । एक कदम पछि सरेर भन्यो, “हजारा तँलाई अन्तिम मौका छ ।”
हसनले ढुङ्गो ताकेर जवाफ दिन खोज्दै थियो ।
“तँ जे चाहन्छस् त्यही ।” असिफले कोटको बटन खोल्यो, कोट फुकाल्यो, विस्तारै मिलाएर पट्यायो र पर्खालमाथि राख्यो । मैले मुख खोलेर झन्डै केही भन्नै लागेको थिएँ । झन्डै । यदि मैले त्यो भनेको भए मेरो बाँकी जीवनले अर्कै मोड लिन्थ्यो होला, तर मैले भनिन । मात्र लुत्रुक्क परेर हेरिरहेँ ।
असिफले हातको इसारा गर्ने वित्तिकै बाँकी दुईजना परपर लागे र घेरो मारेर हसनलाई थुने ।
“मैले सोच बदलेँ,’ असिफले भन्यो । “हजारा म त्यो चङ्गा तँलाई नै दिन्छु । म त्यो तँलाई नै राख्न दिन्छु ता कि म अब के गर्दै छु भन्ने कुरा सधैँ त्यसले तँलाई याद दिलाओस्” अनि र जाइ लाग्यो । हसनले हानेको ढुङ्गा असिफको निधारमा बज्रियो |
चिच्च्याउँदै असिफले हसनलाई झम्ट्यो । हसन भुइँमा पछारियो । वली र कमाल असिफलाई मद्दत गर्न दौडे । मलाई चसक्क भो | मुठ्ठी टोक्दै आँखा चिम्लेँ ।
एउटा सम्झना:
के तिमीलाई हसनले र तिमीले एउटै आमाको दूध खाएको हो भन्ने कुरा थाहा थियो ? अमीर अगा के त्यो तिमीलाई थाहा थियो ?-उनको नाम सकिरा थियो । उनी गोरी, नीलो आँखा भएकी बामीयानकी हजारा महिला थिइन र उनले तिमीलाई बिहेमा गाउने पुराना गीतहरू गाएर सनाउँथिन् मानिस भन्छन् कि एउटै आमाको दूध खाएकाहरूको बीचमा दाइभार्इको नाता हुन्छ / के त्यो तिमीलाई थाहा थियो ?
एउटा सम्झनाः
“प्रत्येक बच्चाहरुलाई १/१ रूपियाँ मात्रै प्रत्येकलाई १/१ रूपियाँ र म सत्यको पर्दा खोल्ने वाला छु।” त्यो बूढो मान्छे पर्खालमा अडेस लागेर बस्छ / उसका ती नदेख्ने आँखाहरू गहिरा जुम्ल्याहा गल्छीभित्र गाडिएर बसेका पग्लेका चाँदीका डल्ला जस्ता छन् / लैरोको गरमा कृप्रिएको ज्योतिषीले आफ्ना गाँठाँगुँठी परेर चाउरिएका हातहरू चाउरिएका गालाहरुमा दल्छ / अँजुली हाम्रो अगाडि तेर्स्याउँछ । “सत्य कुरा भन्नलाई धेरै त किन माग्न पर्यो र एउटाको एक रूपियाँ होइन त ? उसका चाउरिएका हत्केलामा हसनले एक रुपियाँ खसाली दिन्छ / म पनि मेरा सिक्का खसालिदिन्छु ।” ती महान; दयालु: क्षमावान अल्लाहको नाममा भन्दै त्यो बूढो ज्योतिषी फुस्फुसाउँछ । उसले पहिला हस्नको हात आफ्नो हातमा लिन्छ र उसको हत्केलामा डरलाग्दो नंग्राले घुमाई घुमाई कोतरेर मसार्छ । अनि ती औँलाहरुले हसनको अनुहार र अनि हावामा तैरिँदै उसका गालामा र कानमा कोर्तछन् । ती ठेला परेका खस्रा औँलाहरुले हसनको आँखाहरू छुन्छन् / हात त्यहीँ रोकिन्छन् । एकछिन अल्मलिन्छन् । बुढोको अनुहारमा एउटा छायाँ परेर फुत्त हरायो । हसन र म मुखामुख गर्छौ । बूढोले हसनको हात समातेर त्यो रुपियाँको सिक्का उसकै हातमा राखिदिन्छ । ऊ मतिर फर्केर स्रोध्छ “ए युवा साथी तिमीलाई केही सोध्नु छ ।” पर्खालको पारिपट्टि एउटा भाले बास्छ । बुढोले मेरो हात समाउन हात लग्काउँछ र म आफ्नो हात पछि तान्छु ।
एउटा सपना
म हिउँआँधीमा हराएको छु । सिरेटो सुसाउँदै मेरो आँखामा हिउँको वर्षा गर्छ । म हिउँको पत्रमा लडखडाउँछु । म सहयोगको लागि चिच्च्याउँछु तर हावाले मेरो आवाज नसुनिने परिदिन्छ । म स्याँस्याँ गर्दै । हिउँमा पछारिन्छु र हिउँमै हराउँछु र हावा मेरो कानमा सुइँकिरहन्छ । हिउँले मेरा पदचिन्हहरु मेटाएको म हेरिरहन्छु तर यसपालि एउटा मन्द जवाफ । म आँखा छोप्छु र कसोकसो टुसुक्क बस्छु । हल्लिरहेको हिउँको पर्दा बाहिर म केही रङ फर्र गरेको; केही हलचल देख्छु । एउटा परिचित आकार प्रष्टिन्छ । एउटा हातले मलाई पुग्न सोज्छ । म हत्केलामा समानान्तर गहिरो घाउहरुबाट तपतप रगत चुहेर हिउन्नै रक्ताम्य भएको देख्छु । एउटा त्यो हातलाई समात्छु र अचानक हिउँ गायब हुन्छ । हामीहरु एउटा हरियो चौरमा उभिइरहेका छौँ र हामी माथि बादलको झल्को तैरिरहेको छ । म आकाशतिर हेर्छु र सदा आकार हरियो, पँहेलो; रातो र सुन्तला रङका चङ्गाहरुले भरिएको देख्छु । मध्यान्हको घाममा तिनीहरू टल्किएका छन् ।
गल्ली फोहर मैलाको थुप्रेले भरिएको थियो । ईटाको थुप्रोको बीचमा र सिमेनटको स्ल्याबमा जताततै साइकलका टायर, लेबल उप्केका बोतलहरू, च्यातिएका म्यागजिनहरू र पहूलिएका पत्रिकाहरू छरिएका थिए । छेउपटि्ट प्वाल परेको खिया लागेका फलामे चुलो पर्खालमा ढल्किएर अडिएको थियो, तर फोहरको थुप्रो बीच दुईवटा चीजहरू थिए जसलाई मैले नहेरिरहन सकिनँ – एउटा चाहिँ त्यही नीलो चङ्गा, त्यही खिया लागेको चुलो छेउ पर्खालमा अडिएर बसेको थियो भने अर्को चाहिँ हसनकी खैरो जिनको पायन्ट ईटाको टुक्राहरूको थुप्रो माथि फ्यालिएको थियो ।
“मलाई थाहा छैन,” अली भन्दै थियो । “मेरो बुबा भन्नुहुन्छ यो पाप हो ।” उसको स्वर एकैचोटी डर, उत्तेजना र घरमर मिस्रित सुनिन्थ्यो । हसन छातीले भुइँमा टेकेर घोप्टो परेर लडिरहेको थियो । कमाल र अलीले उसका एकेकवटा पाखुरा समाती बटारेर उसको पछाडि ढाडमा च्यापेर राखेका थिए । असिफ हिउँ-बुटले हसनको गर्धनमा टेकेर उभिइरहेको थियो ।
“तेरो बाउले थाहै पाउँदैन,” असिफले भन्यो । “र एउटा सोमत नभएको गधालाई पाठ सिकाउनु कुनै पाप होइन ।”
“खै मलाई त थाहा छैन ।” अली बर्बरायो
“तैयार भएर बस,” असिफले भन्यो । उसले कमाल, तिर फर्किएर सोध्यो, “तेरो के विचार छ त ?”
“म …..अँ ………………..”
“यो मात्र हजारा न हो,” असिफले भन्यो । “म मात्र के चाहन्छु भने तिमीहरु नामर्दले यसलाई तल अठ्याएँर राख्नु । तिमीहरू यति त गर्न सक्छौ नी?”
अलि र कमालले टाउको हल्लाएर ‘हुन्छ” भने ।
उनीहरू सङ्कट मुक्त (releived) देखिन्थे ।
असिफ हसनको पछि घुँडा टेकेर बस्यो, उसको हिपमा हात राखेर नाङ्गो चाकलाई उचाल्यो । एउटा हात हसनको ढाडमाथि राखेर अर्को हातले आफ्नो पेटीको कब्जा खोल्यो । जिन पायन्टको फस्नर खोल्यो । कट्टु तल सार्यो । हसनको पछाडि आफूलाई सोझ्यायो । हसनले प्रतिकार गरेन । उसले नाइनास्ती पनि गरेन । उसले अलिकति टाउको घुमायो र मैले झ्वास्स उसको अनुहार देखेँ । मैले उसको अनुहारमा आत्मसमर्पण देखेँ । पहिला पनि मैले उसको यस्तो अनुहार देखेको थिएँ । उसको हेराइ असाह्य भेडाको जस्तो थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।