क्याटरिन एबर्ट 

गोएचमेज परिवार

अचेलका बालबालिका बहुभाषी वातावरणमा हुर्किरहेका छन् । विशेषज्ञहरू भन्छन्, बालबालिकाले दुई वा दुईभन्दा बढी भाषा बोल्नु भनेको तिनको बौद्धिक विकासमा फड्को मार्नु हो तर बहुभाषी शिक्षाका लागि अहिलेसम्म भने संसारमै कुनै सटीक रणनीति बनेको छैन ।

अढाई वर्षका एनरिके बैठक कोठाको भुइँमा बसिरहेको छ र रंगीन त्रिकोण, वृत्त र चौकोर आकृतिहरूले भरिएको एउटा तस्बिरयुक्त किताबलाई एक टक हेरिरहेको छ ।

उसको आमा फ्रान्सेली मूलकी हो र अामाले फ्रान्सेली भाषामा सोध्छेः रातो त्रिकोण कहाँ छ ? एनरिके मुस्कुराउँदै रातो त्रिकोणमा औँला राख्छ । यो देखेर एनरिकेका स्पेनीस पिता खुआन कोअर्स खुसी हुन्छन् र पुनः स्पेनी भाषामा सोध्छन्ः पहेँलो वृत्त कहाँ छ ?

एनरिके लगभग चिच्याउँदो स्वरमा सही जवाफ दिन्छ ।

एनरिके आफ्ना माता‑पिता र आठ महिनाकी सानी बहिनी एलिससँग स्पेनको राजधानी म्याड्रिडमा बस्ने गर्छन् । एनरिके र एलिस संसारभरिका ती बालबालिकाजस्तै छन्, जसले दुई वा दुईभन्दा बढी भाषा जानेर हुर्किरहेका छन् ।

उनीहरूका आमाबुवा प्रायः स्पेनी बोल्छन् तर आमा बुरात चाहिँ दुवै सन्तानसँग फ्रान्सेलीमा कुरा गर्छिन् । जबकि बुवा उनीहरूसँग स्पेनी भाषामा कुरा गर्छन् । विशेषज्ञहरूले यस किसिमको दृष्टिकोणलाई एक व्यक्ति एक भाषा भन्छन् । यो बहुभाषी शिक्षामा स्थापित कयौँ तरिकाहरूमध्ये एक हो ।

जर्मनीको फ्रैंकफर्टमा बस्ने येलिज गोएचमेजले परिवारसँग बहुभाषा बोल्ने अलि बेग्लै तरिका चयन गरेकी छन् । उनी र उनका पति टर्कीमा जन्मिएका थिए । त्यसैले जर्मनीमा छोरीहरूसँग कुराकानी गर्दा तुर्कीमा बोल्छन् । जेठी छोरी सात वर्षकी छ र कान्छी मिला चार वर्षकी । येलिज भन्छिन्, घरबाट टाढा, डे केयरमा, स्कुलमा र आफ्नो खाली समयमा मेरा छोरीहरू जर्मन बोल्छन् । विशेषज्ञहरू यस किसिमको भाषा सिक्ने तरिकालाई ‘घरबाट टाढा भर्सेस घरमा’ भन्ने गर्छन् ।

बहुभाषिकताका लागि कुनै नियम छैन
गतिविधिमा आधारित एउटा शैली पनि छ सिकाइको । जस्तो तपाईं पारिवारिक भेटघाटमा मातृभाषामा कुरा गर्न सक्नुहुन्छ । भेटघाट र व्यवसायमा अंग्रेजीमा कुराकानी गर्न सक्नुहुन्छ । जाति विशेषसँग भेट्दा ती भाषामा कुराकानी गर्न सक्नुहुन्छ । त्यस्तै जब बिहान केटाकेटीहरू कपडा लगाउँदै हुन्छन् र उनीहरूलाई स्कुल जानुभन्दा अघि खाजा खुवाइँदै हुन्छ, उनीहरूसँग नयाँ भाषामा कुरा गर्न सक्नुहुन्छ । अचेल प्रायः चिनियाँ भाषा सिकाउने लहर चलेको छ र यस्तोमा तपाईंले छोटोमीठो समयमा केटाकेटीसँग नयाँ सिकाइरहेको भाषामा कुरा गर्न सक्नुहुन्छ । अनि, बेलुकी अर्कै भाषा सिकाउने रहर पूरा गर्न सक्नुहुन्छ ।

यस्तोमा कयौँ अभिभावकले कुन विधि आफ्ना सन्तानका लागि नयाँ भाषा सिकाउन उत्तम हुन्छ भन्ने पत्तो पाउन सकिरहेका छैनन् । तर शोधले के पत्ता लागेको छ भने बहुभाषाी शिक्षा कुनै रणनीतिमा आधारित वा निर्भर हुँदैन ।

ब्रेमेन शहरस्थित सिटी युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका प्राध्यापक विबके सार्फ रेथफेल्ट भन्छिन्, ‘खासमा बालबालिकालाई धेरै भाषा सिकाउने एउटै मात्र उपाय भनेको बेग्लाबेग्लै तरिका अपनाएर बढीभन्दा बढी प्रेरित गर्नु नै हो । यो बाहेक खास शैली वा नियम वा उपाय छैन ।’

उनको भनाइ छः ‘अभिभावकहरूले बालबालिकाहरूसँग बढीभन्दा बढी बेग्लाबेग्लै विषयमा नयाँ भाषामा कुरा गर्नुपर्छ । हुन त यसमा कडा नियम बनाउनुपर्छ भन्ने छैन तर बालबालिकासँग भाषाका कुरा गर्दा सजिला र उनीहरूलाई रूचि लाग्ने विषयमा कुराकानी गर्दा उत्तम हुन्छ । उनीहरूले बढी सहज हुने विषयमै केन्द्रित हुनुपर्छ ।’

कोअर्स भन्छन्, ‘फ्रान्सेली र स्पेनी भाषा हामीलाई कुरा गर्न सहज र स्वाभाविक लाग्छ । यी भाषामा मेरा छोरीहरू किनै सहज पनि देखिन्छन् ।’ गोएचमेजको भनाइ छ, ‘टर्कीको भाषामा हामीले हाम्रो भावनालाई राम्रोसँग व्यक्त गर्न सक्ने भएकाले मेरा सन्तानसँग म यसैमा कुरा गर्छु ।’

भाषा गोलमाल गर्नु ठीक होला त ?

कोअर्स बुरातको परिवार

 

रेथफोल्डका अनुसार, भावनाहरू व्यक्त गर्न र सहज अनि अन्तरंगता प्रदान गर्नु सबैभन्दा जरूरी कुरा हो । उनी भन्छिन्, ‘यसको अर्थ, एक भाषा शिक्षाक हुनु होइन बरू अभिभावकहरूले सन्तानसँग कसरी भावनात्मक सम्बन्धहरू बनाउँछन्, त्यसबारेमा हो ।’ आमाबाउले कुनै खास भाषासँग सहज महसुस गर्ने भएकैले टाँस्सिनु पर्छ भन्ने छैन ।’

रेथफेल्टको सुझाव छ, ‘परिवार भाषाका मामिलामा लचिलो हुनुपर्छ र आवश्यकता र बुझाइका हिसाबले भाषालाई बेलाबेलामा परिवर्तन गरिरहनु पर्छ ।’ यसो गरे अभिभावकले दिने दबाब कम हुन्छ र बालबालिकाका लागि सिक्ने मज्जा कायम रहन्छ । बुरात र कोअर्सको परिवारमा दुई भाषा राम्रैसँग बोल्छन् । कोसँग फ्रान्सेली र कोसँग स्पेनी बोल्ने भन्ने बाध्यता हुँदैन । कहिले आमा र बुवाको भाषा एकअर्काभन्दा फरक पनि हुनसक्छ र जब आमाबुवाले एकअर्काको भाषा परिवर्तन गर्छन्, छोरीहरू रमाउन थाल्छन् ।

गल्ती गर्न अनुमति
रेथफेल्ट भन्छिन्, ‘हामीले फरक भाषा बोल्दा कहिलेकाहीँ गरिने गल्तीलाई महत्त्व दिँदैनौँ । गल्ती हुनु स्वाभाविक हो । तर बालबालिकाहरू भाषा सिक्न माहिर हुन्छन् र भलै कहिलेकाहीँ गलत वाक्य वा उच्चारण सुने वा बोले भने पनि पछि उनीहरूले स्वतः सच्याइहाल्छन् ।

घरमा मातृभाषा बोल्ने कि नबोल्ने भन्नेबारे त्यति धेरै कडा नियम गोएचमेजले बनाएकी छैनन् किनभने घरमा स्कुले पढाइ जारी रहेका बेला आफ्ना सन्तानले पाठ्यपुस्तक पढ्नुपर्दा जर्मनीमै कुरा हुनसक्छ । अरू बेला टर्कीकै मातृभाषा बोलिहालिन्छ भनेर उनले कडाई गर्दिनन् ।

बालबालिका गर्भमा नै रहँदा निस्कने ध्वनिबाटै भाषाको अन्तर थाहा पाइसकेका हुन्छन् । यस्तोमा द्विभाषिक शिक्षाले उनीहरूलाई कुनै हानि गर्दैन । त्यसो त केही बालबालिकालाई अन्य भाषा सिक्न निकै कठिन हुन्छ । ५ देखि ८ प्रतिशत बालबालिकामा आफ्नो मातृभाषाभन्दा अन्य भाषा सिक्न कठिन हुन्छ । यो भनेको केही बालबालिका सिकाइमा कमजोर हुन्छन्, तर पछि उनीहरूले उमेर बढ्दै जाँदा त्यो कमजोरी सच्याउन वा सुधार्न सक्छन् । उनीहरूलाई नयाँ भाषा सिक्न समय लागेको होइन, बरू पहिलो भाषामा चाहिने आवश्यक सूचना लिन समय लागेको हो । जब त्यो सूचना पर्याप्त हात पर्छ, त्यसपछि अर्को भाषा सिक्न उनीहरूलाई पनि समय लाग्दैन ।

बहुभाषी बालबालिकालाई सिक्न समय कम लाग्छ
कुनै एकलभाषा सिकेको बालबालिका आफ्ना आमाबुवासँग एउटै भाषा, मानौँ नेपालीमा दिनमा चार घण्टा कुरा गर्न सक्छ । यस्तोमा द्विभाषी बच्चा पनि आमाबुवासँग चार घण्टा कुरा गर्न सक्छन् । एक पटकमा उसले नेपाली, नेवारी वा अंग्रेजीमा बोल्न सक्छ । यस्तोमा उसले अन्य बालबालिकाको तुलनामा बढी शब्द सिक्ने गर्छ ।

केही विशेषज्ञहरूका अनुसार, बहुभाषी शिक्षाका केही हानि र केही फाइदा पनि हुन्छन् । जस्तो गोएचमेज भन्छिन्, ‘मेरा सन्तान सजिलै मेरा आफन्तहरूसँग टर्कीमा कुरा गर्न सक्छन् । टर्कीमा हजुरबा‑हजुरआमासँग कुरा गर्दा उनीहरूले सम्पर्क भाषा प्रयोग गरिरहेका हुन्छन् । अन्यत्र जर्मन भाषामा कुरा गरिरहेका हुन्छन् । यसले उनीहरूको विभिन्न संस्कृति र जीवनशैलीमा अरूको तुलनामा बढी पहुँच र बुझाइ हुन्छ । यसले उनीहरूलाई थप स्मार्ट, तीक्ष्ण बनाउँछ ।’

कुनै बालबालिकाले पहिले नै दुई भाषा सिकिसकेका छन् भने उनीहरूले तेस्रो भाषा सिक्न अझ सहज हुन्छ । अभिव्यक्ति हुबहु हुन सक्दैन भन्ने उनीहरूले पहिल्यै बुझिसकेका हुन्छन् र नयाँ सिक्दा उनीहरूले सहज रूपमा लिन्छन् ।