स्पेनको राष्ट्रिय अभिलेखालयमा अज्ञात लेखकद्वारा लेखिएको नाटक एक प्रख्यात नाटककारको रहेको हालै पत्ता लागेको छ ।

पछिल्लो समय विकसित आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले प्राप्त सूचनाहरूको आधारमा यो नाटक स्पेनको सुनौलो युगका रूपमा चिनिने अवधिमा सन् १६३५ मा मृत्यु हुनुअघि लोपे डि भेगाले लेखेको हुनसक्ने अनुमान गरिएको हो । पछिल्लो समय एआई प्रविधिको गणना ठीक ठीक हुन थालेको छ ।

सत्रौँ शताब्दीमा स्पेनमा सांस्कृतिक विकास उच्च स्तरमा पुगेको थियो । त्यो बेला लोपे, सेर्भान्टेस, काल्डेरोन र भेलाजक्वेजजस्ता साहित्यकारहरूले उम्दा साहित्य सिर्जना गरेर साहित्य र संस्कृतिले ठूलो फड्को मारेको थियो ।

हालै पत्ता लगाइएको लोपेको नाटकमा प्रेम, ईर्ष्या, सामाजिक व्यवस्थाका कारण एक महिलाले आफ्नो लोग्नेका खातिर चढ्नु परेको बलिमाथि लेखेको एउटा सुन्दर नाटक रहेको राष्ट्रिय अभिलेखालयले जनाएको छ । त्यो बेला वियोगान्त नाटकहरूको बोलवाला रहेका बेला यो नाटक भने संयोगान्त रहेको अभिलेखालयले बताएको छ ।

यो नाटक कसरी पत्ता लगाइयो भन्ने पनि रोचक पक्ष छ । स्पेनको सुनौलो युगका इतिहासकार जर्मन वेगा र उनका अर्का साथी एल्भारो कुलरले प्राप्त पाण्डुलिपिहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स उपयोग गर्दै डिजिटाइज गरिरहेका थिए । ती डिजिटाइज संस्करणसँग पुराना लेखकका अन्य सिर्जनाहरू पनि सँगैमा दाँजिदै थियो । सन् २०१७ बाट शुरू भएको यो परियोजनाका लागि त्यो बेलाका १३ सयभन्दा बढी नाटकहरू छानिएका थिए र स्पेनको राष्ट्रिय पुस्तकालयले पनि सहभागिता जनाएको थियो । ती सबै नाटकहरूलाई डिजिटाइज गरियो । यसका लागि ट्रान्सक्राइबस नामक प्लेटफर्मको उपयोग गरिएको थियो । ती सबै डिजिटाइज गर्दा ३० लाखभन्दा बढी शब्दहरूलाई डिजिटाइज भएका थिए ।

ती सबै साहित्यलाई डिजिटाइज गरेपछि जम्मा २८ सय पुस्तक, ३५० लेखक, तिनको भाषा, शैली विश्लेषण गर्दा सो बेनामे नाटक लोपेको रहेको खुलेको हो ।

अध्ययनमा संलग्न वेगा भन्छन्, हामीले लोपे फेला पारेका हैनौँ । लोपे त पहिलेदेखि नै थिए, हामीले बल्ल पत्तो पाएका हौँ । लोपेका अन्य सिर्जनासँग तुलना गर्दा विश्लेषण टुलहरूले यो लेखनी लोपेको हुनसक्नेतर्फ इङ्गित गरेको थियो । हामीले अन्य विविध कुराको परीक्षण गर्दा त्यो इङ्गित सत्यताको नजिक रहेको पायौँ ।

नाटकमा प्रयुक्त घटनाक्रम, पात्रहरूका नाम, नाटकमा उपयोग गरिएको गेयात्मक पक्ष आदि हेरिएको थियो । तिनलाई कम्प्युटरको सिद्धान्तमा राखी विश्लेषण गर्दा सो कुराको खुलासा भएको हो । सो नाटक हेर्दा लोपेले जीवनको पछिल्लो समय विकसित गरेको शैलीसँग मेल खाएको वेगाको धारणा छ । यसलाई मितिमा ढाल्दा सन् १६२८ देखि १६३० को अवधिमा लोपेले लेखेको हुनसक्ने बताइएको छ ।

त्यो बेला स्पेन र फ्रान्सको संयुक्त दुस्मनका रूपमा बेलायत थियो । बेलायतीहरूलाई उछित्तो काढ्न यो नाटक सफल रहेको पनि वेगा बताउँछन् ।

‘स्पेनको राष्ट्रिय पुस्तकालयले यो नाटकलाई अपेक्षा गरिरह्यो,’ वेगा भन्छन्, ‘तर नयाँ प्रविधिले लेखक पत्ता लगाउन सहज अवस्था बन्यो । यो प्रविधि नहुन्थ्यो भने नजाने कहिलेसम्म यो नाटकको लेखकबारे हामी अनभिज्ञ नै रहन्थ्यौँ ।’

ला फ्रान्सेसा लउरा शीर्षकको यो नाटक त्यो समयको नियमअनुसार खासै आकर्षक नाटक शीर्षक नरहेको पनि वेगा बताउँछन् ।

एस्टो नामक एआई प्रविधि प्रयोग गरिएपछि र यो पत्ता लागेपछि यसको ख्याति बढेको छ । चार वर्षदेखि यसलाई अज्ञात डकुमेन्टहरू अध्ययन गर्न उपयोग गरिँदै आएको थियो ।

यसअघि पनि पहिले कहिल्यै थाहा नपाएको १७ औँ शताब्दीको द लेफ्टिनेन्ट नन नामक सत्य घटनामा आधारित नाटकका लेखक मेक्सिकोका जुवाँ रूइज डि अलार्कन रहेको यही प्रविधिले पत्तो लगाएको थियो । सो नाटकमा क्याटलिना डि इरउसोले कसरी एउटा कन्भेन्ट (भिक्षणुहरू बस्ने शिक्षालय)बाट भागेर अमेरिकामा पुगेर युद्ध लडी आफूलाई सशक्त रूपमा प्रस्तुत गरिन् भन्ने कथा छ ।

यो प्रविधिको सदुपयोग गरेर अज्ञात रहेका यस्ता अनेकन् पुस्तक तथा सिर्जनाका असली हकदारको पहिचान गर्न सहयोग पुग्ने वेगा बताउँछन् ।