१४. हिमानीको निम्तो

अर्को साता उनीहरूले घरबाट निस्कनै नपाएर नमजासँग बिताए । बाले पनि रुपियाँ हराएर आउनुभएछ । आमाको अनुहार त्यो साताभरि बादल लागेझैँ भइरह्यो । किनभने साबुन नपाएर मैला लुगा धुन पनि सक्नुभएन । घरमा अन्नको पनि निकै खाँचो भयो । केटाकेटीहरूलाई भनेजस्तो दूध, फुल, मिठाई पनि खान दिन सक्नुभएन । पैसाको निकै खाँचो भयो ।

अलिकति कुखुरा पाल्न पाएको भए केटाकेटीहरू फुल त खान पाउने थिए राती आमा-बाले कुरा गर्नुभयो ।

“त्यसो त एकदुईओटा गाईबाख्रा पाल्न सके पनि केटाकेटी दूध खान्थे’ बाले दु:खी भएर भन्नुभयो ‘तर के गर्नु नसकेर त हो । आफूलाई बगैँचा गोड्न कोदालो एउटा खाँचै छ । किनौँ भन्दा किन्न सकेको होइन । तरकारी मात्र बनाउन पाएको भए पनि त महँगो किन्नुपर्ने थिएन ।’

अझ नमजा कुरा त के भने लुगा च्याते, मैल्याए भनेर आमा कति दिन केटाकेटीसँग बोल्नु नै भएन । बाले त झन्‌ उनीहरूलाई गाली पनि गर्नुभयो ।

बाले यसरी कहिल्यै हप्काउनुभएको थिएन । गीताले साह्रै चित्त दुखाई । उसले सकी नसकी च्यातिएका लुगाहरू तुनतान गरी । त्यतिखेर उनीहरूलाई हिमानी र भकुन्डे भाइको खुबै सम्झना भयो तर उनीहरू घरबाट उम्कनै पाएनन्‌ ।

बिचरी हिमानी !… हामी भेट्न नजाँदा उनीहरू पनि कति दुःखी भए होलान्‌ गीताले भनी ।

नभन्दै उतापट्टि भकुन्डे भाइ र हिमानी पनि छट्पटाइरहेका थिए ।

“के भयोहोला अमर-गीतालाई’ हिमानी सधैँ भकुन्डे भाइसँग सोध्थी । अनि उनीहरू दिनभरि बाटो हेर्थे ।

“टोड्के हुचिललाई चिट्ठी दिएर पठाऔँ न’ आखिरमा हिमानीले सुझाउ दिई । अनि एउटा चिठ्ठी लेखेर भकुन्डे भाइ तल ओर्ल्यो ।

“के भन्न आयौ ?’” हुचीलले सोध्यो ।

‘हुचील भाइ ! हेर न धेरै भयो केटाकेटीहरू आएनन्‌, तिमी आज राती सिकार जाँदा यो एउटा चिठ्ठी अमरलाई दिएर आइदेऊ न ।’

हुचील चिठ्ठी च्यापेर ढोका-सोका लगाएर उड्यो । अमरको घर पुग्दा अमरहरू सुतिसकेका थिए । ऊ झ्यालबाहिर आलुबखडाको हाँगामा बसेर नमिठो स्वरमा कराउन थाल्यो- किर्र किर्र किर्र !

त्यो नमिठो स्वरले अमरहरू बिउँझे । उनीहरू आत्तिँदै ओछयानबाट उफ्रेर उठे । गीताले डराउँदै भनी ‘के कराएको त्यो दाइ ? कस्तो… कानै खाने स्वर ।’

अमर झ्यालमा गयो । गीता र आशिष पनि झ्यालमा गए । हुचील अझै कराउँदै थियो । अमरले झ्यालबाट हेर्यो । रातको अँध्यारोमा हाँगामा कुरूप र डरलाग्दो हुचीलका अँगारजस्ता आँखा देखेर ऊ एकदम तर्स्यो। ऊ भन्डैझन्डै झ्यालबाट खसेको । तर झ्यालको डन्डीले उसलाई रोक्यो अनि हुचीलले पनि चिठ्‌ठी झ्यालबाट भित्र खसालेर छुचुन्द्रा मुसाका खोजिमा उड्यो ।

“त्यसले के खसालेर गयो ?’ अमरले भन्यो ‘बत्ती बाल्‌ बाल्‌ गीता !’ गीताले मैनबत्ती बाली । त्यही हिमानीको चिट्ठी थियो । अमरले चिट्ठी पढ्यो-

प्रिय अमर, गीता, आशिष !

तिमीहरूसँग भेट नभएको धेरै भयो । हामीलाई धेरै न्यास्रो लागेको छ। तिमीहरू रिसायौ कि ? किन नआएका ? तुरुन्तै आऊ । बादलमाथि मनचिन्ते धरती छ। हामी त्यहाँ जाऔँला र आफूलाई मन परेको कुरा लिऔँला । आऊ है ?”

तिमीहरूका साथी
                                                                                                                         हिमानी र भकुन्डे भाइ

चिठ्ठी पढेर अमरहरू खुबै रमाए । गीता त रमाएर झन्डै उफ्री । “वा !… कस्तो विचित्रको धरती ! म त त्यहाँ गएर कुखुरा ल्याउँछु । आमाले कुखुरा पाल्ने भन्नुभा’छ ।”

“म त एउटा गाई ल्याउँछु, बाले गाई पाल्ने भन्नुभा’ छ” अमरले भन्यो ।

तुरुन्त आशिषले भन्यो “बालाई त तरकारी रोप्न कोदालो चाहिया’छ । म त कोदालो ल्याउँछु ।”

“तर हामीले त्यस बादलमाथिको धरतीमा कहिल्यै नजाने भनेको होइन ?… त्यहाँ के छ के छ!… कुन सङ्कटमा परिने हो’ अमरले भन्यो । तर गीताले एकदम लाडे भएर भनी “अँ, दाइ ! त्यहाँ त मनचिन्ते धरती छ रे अहिले । मन लागेको कुरा पाइने । अँ नाइ । जाने… जाने… ।’

‘ल, ल भइगो त्यसरी नकराऊ ।… आमा बा उठ्नुहोला अहिले । …अहिले राती नै छ । भोलि बिहान विचार गरेर जान परे जाऔँला । अहिले गएर सुत’ अमरले अलि हप्काएझैँ भन्यो । अनि सबै गएर फेरि सुते । तर राम्ररी निद्रा किन लाग्थ्यो र ! गीता त घरिघरि ‘वा ! मनचिन्ते धरती कस्तो होला त्यो धरती !’ भन्दै यो कोल्टो र ऊ कोल्टो गर्न थाली । अरूले पनि ओल्टोकोल्टो गर्दै रात काटे । रातभर त्यही मनचिन्ते धरतीका बारे मनमा कुरा खेलाउँदै उज्यालो तुल्याए ।