घर

एउटा डकर्मी अघि सर्यो र सोध्यो : घरका सम्बन्धमा हामीलाई बताउनुहोस्‌ ।

अलमुस्तफाले भन्यो :

नगरका पर्खालहरूभित्र घर बनाउनुभन्दा पूर्व आफ्नै कल्पनाको निर्जन प्रदेशमा त्यसको परिकल्पना गर।

किनभने जसरी साँझमा तिमी घर फर्कन्छौ, उसैगरी तिम्रो चिर-प्रवासी अन्तर्मन घर आउँछ ।

घर तिम्रो आफ्नै वृहत्‌ शरीर हो ।

यो घामको उज्यालोमा हुर्कन्छ, रातको निस्तब्धतामा निदाउँछ र सपना नदेखिरहन पनि सक्दैन । तिम्रो घरले पनि सपना देख्दैन र ? सपनामा सहर छोडेर लताकुञ्जहरू अथवा पर्वत शिखरहरूमा पुग्दैन र ?

एक कृषकले मुठ्ठीमा बीउ उठाएर खेतमा छरेझैं मैले तिम्रा घरहरू हातमा उठाएर जंगलमा र घाँसका मैदानहरूमा छर्न सके कति राम्रो हुन्थ्यो ।

भञ्ज्याङहरू तिम्रा मार्ग हुन्थे र हरियाली उपवनहरू तिम्रा गोरेटा हुन्थे भने तिमीहरू एक अर्कालाई अंगुरका लताकुञ्जहरू हुँदै खोज्न सक्थ्यौ र आफ्ना वस्त्रहरूमा माटोको सुगन्ध लिएर फर्कन सक्थ्यौ ।

तर यी कुराहरू आजै संभव छैनन्‌ ।

बाजे-बराजुहरूले भयवश तिमीहरूलाई ज्यादै नजिक एकट्ठा गरिदिए त्यो भय अझै केही काल बाँकी रहनेछ । अझै केही काल सहरका पर्खालहरूले तिम्रो घर र खेतलाई छुट्याउनेछ ।

अर्फालिजका जनताहरू हो, मलाई बताओ, तिमीहरूसँग यी घरहरूमा के छ, ढोका बन्द गरेर के कुराको रखबारी तिमीहरू गर्छौ ?

के त्यहाँ शान्ति छ ? त्यो स्थिर प्रेरणा जसले तिम्रो सामर्थ्य प्रकट गर्छ ?

के त्यहाँ स्मृति छ, त्यो चम्किलो गजूर जुन तिम्रो मनका शिखरहरूसम्म फैलिन्छ ?

के त्यहाँ सौन्दर्य छ, जसले हृदयलाई काठ र ढुङ्गाले बनेका चीज बस्तुहरूदेखि कैलाश पर्वतसम्म पुर्याउँछ ?

बताओ, तिम्रा घरहरूमा यी चीजहरू छन्‌ ?

अथवा के त्यहाँ केवल भोग र विलासको लालसा छ जो अतिथि बनेर घरभित्र घुस्छ, बिस्तारै आतिथेयी बनेर बस्छ र आखिरमा घरमूली बन्छ ?

हो, त्यसले तिम्रा महत्त्वाकांक्षाहरूलाई अंकुश र चाबुकद्वारा आफ्नो कठपुतली बनाउँछ, जसरी मानिस जंगली पशुहरूलाई पाल्तु बनाउँछ ।

त्यसका हात रेशमका छन्‌ तर हृदय पत्थरको छ । त्यसले थुम्थुम्याएर तिमीलाई सुताउँछ, बिछ्यौनाको छेउमा उभिई तिम्रो शरीरको गरिमाको उपहास गर्न ।

यसले तिम्रो स्वस्थ चेतनाको खिल्ली उडाउँछ र फुटेका भाँडाहरूजस्तै घाँसपात थुप्रिएको ठाउँतिर मिल्काइदिन्छ ।

वास्तवमा भोगको लालसाले आत्माका प्रबल भावनाहरूको हत्या गरिदिन्छ र ङिच्च दाँत देखाउँदै मलामी हिँड्छ ।

तर ए खुला आकाशका सन्तानहरू हो, विश्राममा पनि बेचैन रहनेहरू हो ! तिमीहरू यसको जञ्जालमा नपर, यसको अधीनमा नआऊ ।

तिम्रो घर जहाजको लंगर नबनोस्‌, बरु मस्तूली बनोस्‌ ।

त्यो घाउलाई ढाक्ने चम्किलो आवरण नबनोस्‌ बरु आँखालाई रक्षा गर्ने परेला बनोस्‌ ।

ढोकाबाट पस्नकै निम्ति आफ्ना पखेटाहरू नखुम्च्याऊ, दलिनमा ठोकिएला भनेर आफ्नो टाउको नझुकाऊ, भित्ताहरू चर्केलान्‌ र भत्केलान्‌ भनेर निस्फिक्री श्वास फेर्न नडराऊ ।

मुर्दाहरूले जीवितका निम्ति बनाएका चिहानमा नबस ।

सुन्दर र भव्य भए पनि घरले तिम्रो गोप्यता थाम्ने छैन न त तिम्रा तृष्णाहरूलाई आश्रय दिन सक्नेछ ।

किनभने जुन चीज तिमीभित्र असीमित छ, त्यो त आकाशको भवनमा रहन्छ । प्रभातको कुइरो त्यसको द्वार हो । रातको सङ्गीत र निस्तब्धता त्यसका झ्यालहरू हुन्‌ ।

मूल लेखकः खलिल जिब्रान ।

अनुवादः नेत्र आचार्य र पुष्प आचार्य ।