भारतको बम्बइमा १९ जून १९४७ मा जन्मेका अहमद सल्मान रुश्दी जो सल्मान रुश्दीमा रुपमा प्रख्यात छन, आफ्नो चौथो उपन्यास ” द सटानिक भर्सेस” सन् १९८८ मा प्रकाशित भएपछि विश्वब्यापि चर्चाको पात्र बने, यो उपन्यासमा मुश्लिम धर्मका गुरुको चरित्र हत्या भएको भन्दै जब ईरानका धार्मिक नेता आयातुल्ला खोमेनीले मृत्यु दण्डको ” फतवा” जारी गरे ।
यसको लगत्तै यसले विश्वब्यापि ध्यान आकर्षण गर्यो । कट्टरपन्थी मुश्लिमहरुले खोमेनीको समर्थनमा आफ्नो मत जाहेर गरे भने अभिव्यक्ति स्वतन्त्रताका पक्षधर पश्चिमा राष्ट्रहरुले रुश्दीको वचाउ गरे । यही पुस्तक र रुश्दीको कारण ईरानसँगको कुटनैतिक सम्बन्ध कतिपय मुलुकले विच्छेद गर्न समेत पछि परेनन् । रुश्दीको प्राण रक्षाका लागि बेलायत सरकारले निकै ठूलो धनराशी खर्च गर्नुका साथै सुरक्षा प्रबन्ध गरेको थियो, भारतमा जन्मे पनि उनी बेलायती नागरिक भएका कारण ।
त्यसो त ” द सटानिक भर्सेस” को विवाद हुनुअघि उनका दुई उपन्यास पनि विवादास्पद भएका थिए । उनको ” मीडनाइटस् चिल्ड्रेन” भारतको स्वतन्त्रताको पृष्ठभूमि रहेको छ र यो उपन्यासमाथि मुद्दा समेत परेको थियो ।
त्यसै गरी “शेम” उपन्यासमा पाकिस्तानको पृष्ठभूमि छ र यो पनि उत्तिकै बिबादास्पद बनेको थियो ।
तर यी पूर्बबर्ती २ उपन्यासको बिबाद भन्दा ” द सेटेनिक भर्सेस” को विवाद विराट थियो र यसले विश्वलाई नै प्रभाव पारेको थियो । उनी आफैं पनि लुक्दै भाग्दै ज्यान जोगाउनु पर्ने स्थितिमा पुगेका थिए । उनको यो पुस्तक कैयन् देशका कैयन शहरमा सार्बजनिक रुपमा जलाईए । यो पुस्तक प्रकाशन, अनुवाद लगायतमा संलग्नहरुलाई भौतिक आक्रमण गरियो, गम्भिर घाइते बनाइयो तथा कतिलाई मारियो पनि । १३ जुलाई १९९१ मा जापानी अनुवादक हितोशि इगाराशीलाई टोक्यो नजिकै हत्या गरिएको थियो । इटालेली अनुवादक एटोरे काप्रओलोलाई मिलानको उनकै घरमा ३ जुलाई १९९१ मा अनेक पटक छुरी हानेर गम्भिर घाइते तुल्याएका थिए । नर्वेली प्रकाशक वीलीयम निगार्डलाई ११ अक्टोवर १९९३ मा ओश्लोमा तीन पटक गोली हानिएको थियो । गोली प्रहारबाट उनको ज्यान जोगिए पनि उनले कैयन् महिना अस्पताल बस्नु परेको थियो । २ जुलाई १९९३ मै तुर्की अनुबादक अजिज नेशिनलाई लक्षित गरी शिवासको होटल हादिमकमा आगो लगाइएको थियो र सो आगलागीबाट ३७ जना हताहत भएका थिए। यति हुँदाहुँदै पनि रुश्दी ११ अगस्त १९९३ मा लण्डनको बिश्व विख्यात रङ्गशाला वेम्बली स्टेडियममा पहिलोपल्ट सार्बजनिक रुपमा देखा परेका थिए ।
रुश्दीको हत्या गर्नेलाई २० लाख डलरको ईनाम घोषणा गरिएको थियो । पछि यो रकम बढाएर २५ लाख डलर पुर्याइयो, त्यसपछि २८ लाख डलर र सवभन्दापछि ३३ लाख डलर पुर्याइएको छ ।
कतिपय देशमा प्रतिबन्धित ” द सटानिक भर्सेस” अझै पनि कतिपय देशमा यथावत प्रतिबन्धित नै छ भने कतिपय देशमा फुकुवा भएको छ । तर प्रतिबन्धित भए पनि ती मुलुकहरुमा स्मगलिङ गरेर पुस्तक पुर्राईएको छ र विश्वब्यापि पाठक बढ्ने क्रम जारी छ । शुरुमा यो पुस्तक भारतमा प्रतिबन्धित भएको थियो भने वेलायतमा सार्वजनिक रुपमा जलाइएका थिए ।
भारतको मुम्बई र बेलायतको किङ्गस कलेज क्याम्ब्रिजमा शिक्षित रुश्दी क्याम्ब्रिजबाट कानून अध्ययन गरेका पिता अनिश अहमद रुश्दी र शिक्षिका नागिन भट का छोरा हुन् र हुन् कश्मिरी मुशलमान ।
रुश्दीले ४ पटक विहा गरे । उनकी पहिली श्रीमती क्लारिसा लाउड थिइन् र उनीसँग सन् १९७६ देखि १९८७ सम्म दाम्पत्य जीवन कायम रह्यो । उनकी दोश्री श्रीमती अमेरिकी उपन्यासकार मरिन विगिन्स हुन् । उनीहरुले १९८८ मा बिहा गरे र १९९३ मा पारपाचुके गरे । उनको तेश्री विहा एलिजावेथ वेष्टसँग १९९७ देखि २००४ सम्म टिक्यो । रुश्दीले चौथो विहा भारतीय अमेरिकी नायिका, मोडेल तथा रियालिटी शो कि प्रश्तोता पद्म लक्ष्मीसँग भएको थियो । तर यो विहा २ जुलाई २००७ मा अन्त भयो ।
उनको पहिली पत्नीवाट सन् १९७९ छोरा जाफर भएको थियो भने तेश्री श्रीमतीवाट १९९७ मा छोरा मिलान भएको थियो ।
उनको ” मीड नाइट चिल्ड्रेन्सले १९८१ को बुकर पुरस्कार पाएको थियो । यो उपन्यासलाई बुकरले २५ औं तथा ४०औं वार्षिकोत्सवका अवसरमा पनि पुरस्कृत गरेको थियो । त्यस्तै उनले गोल्डेन पेन अवार्ड, पेन पिण्टर प्राइज, हान्स क्रिश्चियन एण्डरसन लिटरेचर अवार्ड, अष्ट्रियाको स्टेट प्राइज फर लिटरेचर, स्वीस फ्रिथिंकर्स एवार्ड, हार्भर्ड युनिभर्सिटीबाट आउट स्टैण्डिङ लाइफ टाइम एचिभमेण्ट इन कल्चरल ह्युमानिजम , सेण्ट लुइस लिटरेरी अवार्ड लगायतका मान, सम्मान, पुरस्कार आदि पाएका छन् । तर यी सब भन्दा माथि यिनले विश्वब्यापि पाठक पाएका छन्, यो सवभन्दा ठूलो पुरस्कार हो ।
उनी अहिले अमेरिकाको न्यूयोर्क शहरको म्यानहाटनमा बस्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।